Friday, April 24, 2015

भैरवनाथबाट बेपत्ता नम्बर ५

माधव ढुङ्‌गेल |


फोटो :पाटन भिन्छेबहालस्थित निवासमा शुक्रबार अष्टराज बज्राचार्य। तस्बिर: प्रजित ताम्राकार
माओवादी सशस्त्र द्वन्द्वका बेला भैरवनाथ गणबाट सेनाले बेपत्ता पारेको भनिएको सूचीमा ५ न बरमा नाम भएका अष्टराज बज्राचार्य पाटनमा भेटिए। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त को कार्यालयले बेपत्ता भनेका ४९ जनामध्ये लमजुङका बालकृष्ण श्रेष्ठ विदेश गएका छन् भने नुवाकोटकी निर्मला भण्डारी र जनक कुँवर सकुशल छन्।
 
'मरेर सहिद हुनेहरू
जिएर त हेर, जिउन झन् गाह्रो छ'
 
कवि भूपी शेरचनले लेखेको कविताको यो अंश पाटन, भिन्छेबहालका अष्टराज बज्राचार्यको जीवनमा हुबहु लागू हुन्छ। उनीसँगै भैरवनाथ गणमा थुनिएका धेरैजनाको अहिलेसम्म पत्तो छैन।
 
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले निकालेको 'सन् २००३ मा महाराजगन्ज ब्यारेकमा राखेपछि बेपत्ता पारिएकाको सूची' मा अष्टराजको नाम क्रमसंख्या ५ मा छ। 
 
बेपत्ता भए भनेर कराउने एमाओवादीले न उनलाई खोजेको छ, न बेपत्ता बनाउने आरोप लागेको सरकारी संयन्त्रलाई नै उनीबारे चासो छ। उनी अहिले तामाको हस्तकला व्यापार गरेर परिवार धान्दैछन्।
 
महाराजगन्जस्थित भैरवनाथ गणमा दुई महिना अत्यन्त कष्टकर जीवन गुजारेर पनि बाँचेका उनले लगनखेलस्थित राजदल गणमा पाँच महिना बिताए। ओएचसीएचआरले आफूलाई 'बेपत्ता नं. ५' मा सूचीकृत गर्दा उनी छुटिसकेका थिए। 
 
परिवारमा त्रास अहिले पनि बाँकी छ। अन्नपूर्णकर्मी उनलाई खोज्दै भिन्छेबहाल पुग्दा अष्टराज घरमा थिएनन्। उनकी पत्नीले नेवारी भाषामा उनका साथीलाई पतिको नम्बर नदिन आग्रह गरिन्। 
 
मित्रले उनकै मोबाइलबाट अष्टराजको मोबाइलमा फोन लगाएर कुरा गराए र उनीसँग भेटको समय मिलाइदिए। बल्लतल्ल छुटेका उनी जब बेपत्ताकै सूचीमा सार्वजनिक भए, त्यसपछि उनलाई थप आपत् आइलाग्यो। 
 
सूचीमा नाम भएको थाहा पाएकै दिन उनी छाउनीस्थित ओएचसीएचआर कार्यालय पुगे। 'म जीवित छु, किन बेपत्ताको सूचीमा राखेको? मलाई फेरि अप्ठेरो हुने भो', उनले संकटकालीन समय सम्झँदै भने, 'म जीवितै छु भन्दा त त्यो अफिसका मान्छे झसंग भएर तर्से।'
 
दुई महिना भैरवनाथ गण र पाँच महिना राजदल गणमा थुनिएर छुटेका अष्टराजको नाम बेपत्ताको सूचीमा सार्वजनिक भएपछि फेरि सेना उनलाई लिन भिन्छेबहाल पुग्यो। राजदलमा तारेख खेपिरहेका अष्टराजले भने त्यो थाहा पाएर ओएचसीएचआरमा फोन गरे। उनलाई लिन तत्कालै राष्ट्रसंघको गाडी सुन्धारा गयो र उद्धार गर्‍यो।
'मसँगै हिँड्ने साथी सिन्धुपाल्चोकको नवराज विकलाई पैसा हिनामिना गरेको भनेर त्यो बेला पार्टीले नै मा:यो। त्योबेलाको अनुशासन अहिले माओवादीका ठूला नेताको हकमा पनि लागू हुनुपर्दैन?'
सेनाले अष्टराजको खोजी जारी राख्यो तर उनी भने बेलायती दूतावासमा काम गर्ने एक कर्मचारीको बालुवाटारस्थित निवासमा राखिए। 'बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको भतिजाको घर भन्थे, घरवाला यहाँको दूतावासको ठूलै कर्मचारी थिए। 
 
उनको नाम जोन भन्थे। त्यहाँ लगेर राखे', अष्टराज सम्झन्छन्, 'सेनाले खोजेको खोज्यै थियो, राष्ट्रसंघलाई भने फेरि बेपत्ता पार्ला भन्ने डर रहेछ, त्यसैले त्यहाँ लुकाएर रा यो।' यसैबीच उनी बार एसोसिएसन लगिए, एउटा मुद्दा दायर पनि गरियो।
 
फेरि बालुवाटारमा विदेशी बस्ने एक घरमा राखिएका उनलाई त्यो बसाइ सेनाको हिरासतभन्दा पनि गाह्रो भयो। औपचारिक शिक्षा नपढेका उनलाई अंग्रेजी भाषा आउँदैनथ्यो। 'एक्लै बस्नुपर्थ्‍यो। 
 
खानेकुरा प्रशस्त थियो, मन लागेको कुरा पकाएर खाए हुन्छ भन्थे तर आधुनिक भान्सामा मलाई केही पनि चलाउन आउँदैनथ्यो। केही पकाउन जान्दिनथें', उनी सम्झन्छन्, 'सबै खानेकुरा हेरेर बस्थें, भोक लाग्दा खान पाउँदैनथें।
 
सुत्दा पनि हावा भर्ने अग्लो खाट थियो। जिउ गाडिने हुनाले पसिना आउँथ्यो। निद्रा नै लाग्दैनथ्यो। फेरि ओएचसीएचआरमा फोन गरेर खाना पकाउन पनि सकिनँ, सुत्न पनि सकिनँ, म बस्न सक्दिनँ भनें।'
 
त्यहाँका कर्मचारीले मलाई भने, 'तपाईं घर जान सक्नुहुन्न। बेपत्ता पार्‍यो भने बर्बाद हुन्छ। त्यहीं बस्नुस्।' विदेश जाने हो भने पठाइदिने भनियो तर पार्टीको मायाले उनले त्यो पनि स्वीकारेनन्।
 
'म पार्टीमा लागेको थिएँ, साथीहरू लिन आउँछन् भनेर विदेश पनि गइनँ', उनले सुनाए। फेरि पाँच दिन बालुवाटारको त्यही घरमा बसे। त्यसबेला एक साथी विजयकान्त बज्राचार्यले मात्र भेट्न पाउँथे उनलाई।
'मलाई पार्टीमा बोलाउने नेताहरूले कि मेरो बिग्रेको काम र मैले भोगेको यातनाको क्षतिपूर्ति दिलाउन सक्नुपर्छ। कि हामीलाई पार्टीमा लगाउने बेला भनेजस्तै आदर्श काम गरेर देखाउन सक्नुपर्छ। प्रचण्डलाई राजाको जस्तो ठाँट र सुखसयल गर्ने पैसा कहाँबाट आयो?'
नौ दिनपछि बार एसोसिएसन लगियो उनलाई। बारका प्रतिनिधिसहित उनलाई राजदल गण लगियो। ओएचसीएचआर र बारका प्रतिनिधिले त्यहाँका मेजरसँग कुराकानी गरे। मेजरले अब सेनाले दु:ख नदिने बताएपछि घरमा लगेर उनलाई छाडियो। उनी भन्छन्, 'यूएनको मानवअधिकार अफिसले गल्ती भएको महसुस गरेको छ।'
 
२०६० भदौ ११ गते राति साढे १२ बजे घरबाटै पक्राउ परेका अष्टराज ०५३ सालमै माओवादीको नेवा: मुक्ति मोर्चामा लागेको बताउँछन्। 'म जन्मँदै गरिब मान्छे, काम गरेर खाने। काम नगरेको दिन खान नपाउने थिएँ। 
 
माओवादी नेताले क्रान्तिपछि तल्लो वर्गको अवस्था राम्रो हुने, गरिब मजदुरको दिन खुल्ने बताउनुभो', अष्टराज भन्छन्, 'दीलिप महर्जन, पवनमान श्रेष्ठले भनेको कुरा सुनेर तामाको हस्तकलाको काम छाडेर माओवादीमा गएको थिएँ।'
 
टोलमै घेरा हालेर पक्रेको सेनाले उनलाई सीधै भैरवनाथ गण पुर्‍याएको थियो। 'आँखामा पट्टी बाँध्यो, हातखुट्टा पनि बाँधेर चल्नै नसक्ने गरी पाता फर्काएर लडायो। अनि शारीरिक र मानसिक यातना दिए', उनी स झन्छन्, 'मार्न लाने भनेर गाडीमा हालेर यताउता लान्थे, तेरो परिवार पनि मार्छु भन्थे। 
 
सुतिरहेका बेला पनि आएर बेस्सरी कुट्थे। कात्तिकमा पानी परेको एकरात खुला चौरमा नांगै बाँधेर छाडे, म ठण्डीले बेहोस भएछु। कतिबेला त्यहाँबाट लगे, थाहा भएन।'
 
त्यसबेला भैरवनाथ गणभित्र भएको सोधपुछबारे उनले भने, 'पार्टीमा लागेको हो कि हैन? मैले नेवा: मुक्ति मोर्चामा लागेको हो भनें। हतियारचाहिँ थिएन, छैन भनें।' 
 
उनका साथीहरू पुल्चोकका सूर्यमान महर्जन, भोलढोकाका रामचन्द्र महर्जन, बुङ्मतीका अनुमान श्रेष्ठ, कृष्णमान महर्जन, सुरेन्द्र खड्गी, मच्छेनारायण महर्जन, हरिसिद्धिका प्रेम महर्जन सबैलाई त्यसै रात समातेर उहीं पुर्‍याइसकिएको रहेछ।
 
अरूले भनेजस्तो करेन्ट लगाउने, पानीमा चोपलेर पिट्ने यातना आफूले भोग्नुनपरेको बताउँदै उनले थपे, 'भैरवनाथमा दुई महिना त यस्तो गर्‍यो कि दालभात खान दिँदा पनि ट्वाइलेटको लोटाले पानी दिन्थे, दाल हालिदिन्थे। नुहाउन पनि पाइएन। फेर्ने लुगा पनि थिएन। जुम्राले नटोक्ने पाउडर दिन्थे। त्यो लगाएकाले अहिले पनि जीउभरि दादजस्तो दाग छ।'
 
एक रात उनलाई मार्न लैजाने भन्दै सेनाले गाडी चढायो। उनीसहित सुरेन्द्र खड्गी, अनुमान श्रेष्ठ, कृष्णमान श्रेष्ठ र प्रेम महर्जनलाई लगनखेलको राजदल गण पुर्‍याइयो। त्यसपछि भने खान राम्रो पाए। यातना पनि भोग्नु परेन। पाँच महिना त्यहाँ थुनिएर उनी ०६० चैत मसान्तमा तारेखमा छुटे। 
 
पत्नी नीलशोभाले बुझेर ल्याइन्। 'घरबाट लगेको बेला भुँडी भएको मोटे थियो। ल्याउँदा त मैलो, दाह्री नै दाह्री भएको दुब्लो थियो। मान्छे नै हैन जस्तो लाग्थ्यो', नीलशोभाले भनिन्।
 
अष्टराज पक्राउ पर्दा नीलशोभा चार महिनाकी सुत्केरी थिइन्। जेठो छोरा पनि सानो थियो। पति खोज्न उनी मानवअधिकार आयोग, आईसीआरसी कहाँ पुगिनन्। सघाउने कोही थिएन। 
 
नेपाली भाषा अलिअलिमात्र बोल्नसक्ने उनले भनिन्, 'छिमेकीले पनि घरमा नआऊ भन्थे। हामीलाई पनि शंका गरेर समाउँछ भन्थे। सानो बच्चा थिए, कमाउने मान्छे पनि छैन। पैसा पनि थिएन।'
 
दसवर्षे माओवादी सशस्त्र द्वन्द्वमध्ये अष्टराज आठ वर्ष युद्धमा होमिए। उनी अहिले सम्झन्छन्, 'मसँगै हिँड्ने साथी सिन्धुपाल्चोकको नवराज विकलाई पैसा हिनामिना गरेको भनेर त्यो बेला पार्टीले नै मार्‍यो। त्यो बेलाको अनुशासन अहिले माओवादीका ठूला नेताको हकमा पनि लागू हुनुपर्दैन?'
 
माओवादीमा लागेका कारण 'बेपत्ता' सूचीमा परेका, यातना भोगेका, घरबार र व्यापार पनि डुबाएका अष्टराज अहिले राजनीतिमा छैनन्। उनी पाँच टुक्रा भएको कुनै माओवादीमा पनि छैनन्। 
 
कांग्रेस-एमाले पनि भएका छैनन्। 'सर्वहारावादी भन्ने त्याग नगर्ने, ग्रहणमात्र गर्ने? मोजमस्ती मात्र गर्ने नेता भएको पार्टीसँग घृणा लाग्यो', उनी भन्छन्, 'अघिल्लो चुनावमा सँगै काम गरेको राजकाजी महर्जन उठेकाले सघाएको थिएँ। अब छाडें।' यसपटक एमाओवादीका उम्मेदवारको विपक्षमा आफू लागेको उनले ढाँटेनन्।
 
तल्लो तहका कार्यकर्तालाई मुक्ति को सपना देखाउने नेताहरूले सत्तामा पुग्नेबित्तिकै कमिसनखोर र टेन्डरवालाई पार्टीमा प्रवेश गराएकाले वितृष्णा जागेको उनले बताए। 
 
'जो युद्धकालमा दु:ख गरेर आयो, त्यो सहायक कार्यकर्ता भयो। कांग्रेस, एमाले, राप्रपाबाट आएका गुण्डा पृष्ठभूमिका मान्छे मुख्य कार्यकर्ता बन्न पुगे, त्यसैले छाडें', उनले भने।
 
अष्टराजले पुरानै पेसा तामाको माने बनाएर बेच्ने कामलाई निरन्तरता दिएका छन्। लगातार पट्टी बाँधेर धेरै दिन राखेका कारण आँखा कमजोर भएको छ। लगातार औषधि हाल्दा पनि आँखाको दृष्टि पूर्ववत् भएको छैन। 
 
यातनाले ढाड दुख्ने, हात झम्झमाउने समस्या छ तर पनि उनी आर्थिक उपार्जनमा लागेका छन्। माओवादीमा लाग्नुअघि जस्तो आफ्नै कारखाना नभए पनि साथीभाइको सरसहयोगमा पुरानै व्यापारलाई निरन्तरता दिएका छन्। अहिले उनी भिन्छेबहालमै घर बनाउनसक्ने अवस्थामा फर्केका छन्।
 
अहिले पनि माओवादी पार्टीका कतिपय नेताले फोन गरेर पार्टीमा सक्रिय हुन भन्ने गरेको तर आफूले अस्वीकार गरेको उनले बताए। 'पुराना कार्यकर्ता भनेर समाजमा देखाउन प्रयोग गर्ने कोसिस गरेका मात्र हुन्, मैले समर्थन गर्ने हो भने माओवादी हराउन सक्नेमा लाग्छु', उनले आक्रोश पोखे, 'मलाई पार्टीमा बोलाउने नेताहरूले कि मेरो बिग्रेको काम र मैले भोगेको यातनाको क्षतिपूर्ति दिलाउन सक्नुपर्छ। 
 
कि हामीलाई पार्टीमा लगाउने बेला भनेजस्तै आदर्श काम गरेर देखाउन सक्नुपर्छ। अहिले प्रचण्डलाई राजाको जस्तो ठाँट र सुखसयल गर्ने पैसा कहाँबाट आयो? त्यसबेला नवराज विक भन्ने मेरो गरिब साथीलाई जसरी आर्थिक हिनामिनाको आरोपमा पार्टीले मार्‍यो, त्यही नियम ठूला नेताको हकमा लागू हुनुपर्छ।'

www.annapurnapost.com बाट साभार 

No comments:

Post a Comment