परालको जुत्ता लगाएर भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्दा (भरियाको बयान, भिडियो लिंकसहित)
धनबहादुर गोले
९१ वर्ष, चित्लाङ (राणाहरुको गाडी बोक्ने भरिया)
(राणाकालिन समयमै काठमाडौं उपत्यकामा पहिलोपटक गाडी भित्रिएको थियो तर सडकबाट होइन मान्छेको काँध चढेर । गाडी बोक्नेमध्येका एक या दुई जना भरिया मात्र जीवित होलान् । तामाङ भाषाको छारगोङमा मासिक (अङ्क १०५, वैशाख २०७०)का सल्लाहकार एवं लेखक रविन्द्र ग्यावक तामाङले गाडी बोक्ने भरियाहरुको खोजमा चित्लाङसम्मको यात्रा गरेका थिए । उनले काठमाडौं थानकोट चुनिखेलमा गाडी–भरिया सानो माहिला लो तामाङलाई भेटे । तर, अशक्त बिरामी भएकोले कुराकानी गर्न सम्भव भएन । मकवानपुरको चित्लाङमा पुगेर गाडी बोक्ने अर्का भरिया धनबहादुर गोले तामाङसँग भने अन्तरङ्ग कुराकानी गरेका थिए । प्रस्तुत छ नेपालको इतिहास र विकासको सन्दर्भमा रोचक र उत्तिकै महत्वपूर्ण कुराकानी– सम्पादक)
तपाईंको नाम, थर के हो, उमेर कति भयो ?
धनबहादुर तामाङ, थर गोले र बाघवर्षको भएकोले उमेर ९० ? (उमेर गणना गर्ने) भन्दा बढी ? भयो होला ।
तपाईं चित्लाङमा कहाँ बस्नुहुन्छ ?
म अहिले भण्डारखर्कमा रहेको नातिनीको घरमा बस्छु ।
गाडी बोक्ने काममा कसरी पुग्नुभयो ?
हामी २०/२१ वर्षको हुँदो हुँ । गाउँमा सरकारी गल्ला आएको थियो । राणा शासक श्री ३ महाराजले चढ्ने गाडी बोक्नका लागि युवाहरु भेला हुनुपर्यो भनेर सरकारी उर्दी भयो । अनि हामी युवाहरु उर्दी मुताविक सरकारी मानिससामु भेला भयौं । यसपछि गाडी बोक्नका लागि छनौट भयौं ।
सरकारी मानिसहरुले गाडी बोक्नका लागि भरियाहरुको छनौट गर्ने कसरी गरिन्थ्यो ?
उनीहरुले बलियो छ छैन हेर्थे । अनि अविवाहित हो कि होइन भनेर सोध्थे । ६ फिट अग्लो छ कि छैन भनेर हेर्थे । यति भएपछि उनीहरुले सकभर तामाङ, नभए नेवार जातिलाई खोज्थे । नभए मात्र अरु…
गाडी बोक्न कहाँ जानुपर्थ्यो ?
राणा शासकका कर्मचारीहरुले छनौट भएका हामीलाई नाइके भेट्न भीमफेदी पठाउँथे ।
भीमफेदीमा पुगेर गाडी बोक्नुभन्दा पहिले के गर्नुपर्थ्यो ?
गाडी बोक्न छनौट भएपछि हामी सबैभन्दा पहिले भीमफेदी पुग्यौं । अनि नाइकेले हामीलाई टोकन दिन्थ्यो । सोही टोकन नम्बरअनुसार हामीलाई गाडीको विभिन्न नम्बरहरुको समूह तोकिन्थ्यो । यस्ता नम्बरहरुमा ३२, ६४ र ९६ पर्थे । नम्बरअनुसारको गाडी जिम्मा लिएपछि हामीले गाडीका चक्का झिक्थ्यौं । अनि गाडीमा नोल लगाएर काँधमा बोक्थ्यौं ।
नाइकेले गाडीहरु कसरी बोक्न लगाउँथे त ?
हरेक गाडी बोक्न एकजना नाइके तोकिएको हुन्थ्यो । नाइकेले हामीजस्ता पहिलोपल्ट गाडी बोक्ने भरिया भए ३२ मोडलको गाडी बोक्ने समूहमा पठाउँथ्यो । दोस्रो चोटिको भए ६४ नम्बरको गाडी बोक्ने समूहमा पठाउँथ्यो । त्यसपछि मात्र ९६ मोडलको गाडी बोक्ने समूहमा पठाउँथ्यो । हरेक गाडी बोक्न एकजना नाइके र आवश्यक सङ्ख्याका भरियाहरु खटिन्थे ।
३२, ६४ र ९६ नम्बरको गाडी भनेको कस्तो गाडी हो ?
३२ नम्बर भनेको सानो गाडी हो । यो गाडी ८/८ जना भरियाले बोक्नुपर्थ्यो । अनि ६४ नम्बरको गाडी भनेको मझौला खालको गाडी हो । यो गाडी १६/१६ जना भरियाले बोक्नुपर्थ्यो । त्यसै गरी ९६ नम्बर भनेको सबभन्दा ठूलो गाडी हो । यो गाडी २४/२४ जना भरियाले काँधमा नोल लगाएर बोक्थे ।
गाडी कहाँबाट, कसरी आउँथ्यो ? तपाईंलाई केही थाहा छ ?
गाडी ? कोही बेलायतबाट त कोही जर्मनबाट आउँछ भन्थे । हामीलाई थाहा भएअनुसार भारतको कलकत्ताबाट गाडी रक्सौल ल्याइन्थ्यो । अनि ती गाडी अमलेखगञ्जसम्म नेपाली रेलबाट ल्याइन्थ्यो । यसपछि गुडाएर नारायणीसम्म ल्याइन्थ्यो । अनि नारायणी नदीमा गाडीलाई डुङ्गामा राखेर तारिन्थ्यो । त्यसपछि भीमफेदीसम्म गुडाएर ल्याइन्थ्यो । अनि हामीले चक्का झिकी बोकेर थानकोटको चुनिखेलसम्म पुर्याउँथ्यौं । अनि थानकोटबाट पुनः चक्का फिट गरेर गुडाउँदै काठमाडौं पुर्याइन्थ्यो ।
मेरो सम्झनाअनुसार ३० वटा जति गाडी बोकियो होला । काँध खोल्सने गरी राणाहरुले चढ्ने गाडी हामीले धेरै बोके पनि गाडी चढ्ने सौभाग्य भने २०१५ सालतिर मात्रै काठमाडौंमा जाँदा भयो । मैले गाडी बोकेको देखेर मन पराएर तीनतीन जनासँग प्रेम विवाह भयो ।
काठमाडौं ल्याइपुर्याउन कति दिन लाग्थ्यो ?
पहाडको गोरेटो–घोडेटो बाटाका उकाली–ओराली, भीरपहरा अनि घुम्तीहरुमा गाडी बोक्न अचाक्ली गाह्रो हुन्थ्यो । तर पनि निकै दुःखले धेरै भरियाहरुले मिलेर बोकिन्थ्यो । हामीले गाडी सानो भए सात दिनमा, मझौला भए १० दिनमा र ठूलो भए बढीमा १२ दिनसम्ममा भीमफेदीबाट बोकेर थानकोट पुर्याउँथ्यौं । (भीमफेदीदेखि काठमाडौंसम्म राणाहरुको गाडी बाेक्ने धनबहादुर गोलेसँग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस्)
गाडी कुन बाटो भएर बोक्नुहुन्थ्यो ?
मकवानपुरको तात्कालीन सदरमुकाम भीमफेदीदेखि बोकेर चिसापानी, देउराली, कुलेखानी, बज्रबाठ, सिम्लाङ, मार्खु, चित्लाङ, चन्द्रागिरी भञ्ज्याङ हुँदै काठमाडौंको गोदाम–चुनीखेलसम्म गाडी पुर्याउँथ्यौं । बीच बाटाघाटाहरुमा मानिसहरुले खानेपानीको व्यवस्था गरेका हुन्थे ।
गाडी बोक्ने काम गर्दाको बिर्सन नसक्ने कुराहरु केके छन् त ?
पहिलो कुरा हाम्रो देशमा आएको पहिलो गाडी नै बोकियो । दोस्रो कुरा, भारी बोक्ने साथीहरुमा धेरै तामाङहरु थिए । केही मात्र नेवार थिए, त्यो पनि बलामीहरु मात्र थिए । तेस्रो कुरा, हामी गाडी बोकेर जहाँजहाँ पुग्थ्यौं त्यहाँत्यहाँ गाडी बोकेको हेर्ने तमासेहरु हुन्थे । भनौं, एक खालको ठूलै जात्रै लाग्थ्यो । गाडी सोझो बाटोमा बोक्न त गाह्रो हुन्थ्यो भने झन् घुम्तीहरुमा त अत्यन्तै कठीन हुन्थ्यो । १२/१२ दिनसम्म ठाउँठाउँमा बिसाएर गाडी बोक्नुपर्थ्यो । बीच बाटैमा बास हुन्थ्यो । बास बसेकै ठाउँमा खाना पकाएर खानुपर्थ्यो । भरियाहरुको खानेकुराको बन्दोबस्त भने नाइकेले गर्थ्यो । त्यतिखेर अहिलेको जस्तो राम्रा जुत्ता थिएन । हामी परालको जुत्ता लगाउँथ्यौं ।
गाडी बोके वापत तपार्ईहरूले के पाउनुहुन्थ्यो ?
खासै केही पाइँदैनथ्यो भन्दा पनि हुन्छ । किनभने, त्यसबखत राणा सरकारको सेवा नै ठूलो थियो । भन्थे, पहिलेपहिले भरियाहरुले गाडी निःशुल्क नै बोक्नुपर्थ्यो रे । पछिपछि बिस्तारबिस्तार केही पैसा दिइन्थ्यो रे, तर यति नै भन्ने थिएन । हामीले बोक्दा ५ आना पायौं । पछि एक रुपैयाँसम्म पाएका थियौं ।
तपाईहरुलाई गाडी बोक्न जान जबरजस्ती गरियो वा गरिएन ?
खासै गरेनन् । त्यसबखत गाडी बोक्ने रहर नै हुन्थ्यो । किनभने, गाडी बोक्नेहरुलाई गाउँघरमा मात्र नभै राणाहरुले पनि सम्मानको दृष्टिकोणले हेर्थे । गाउँघरका ठूलाठालुहरु मान गर्थे । युवतीहरुले माया गर्थे भने साहुहरुले पनि ऋणधनका लागि पत्याउँथे ।
तपाईंहरुले बोकेको गाडी चढ्ने राणा शासकहरुलाई देख्नुभयो ?
एकपटक नेपाल दरबारमा जुद्धशमसेरलाई हामीले देख्यौं । उनले हामीलाई ‘मैले चढ्ने गाडी बोकेर ल्याएको’ भनेर स्याबासी मात्र होइन साठी आना इनाम नै दिएका थिए ।
तपाईंले कुनकुन सरकारको गाडी बोक्नुभयो ?
चन्द्रशमसेर, भीमशमसेर, जुद्धशमसेर, पद्मशमसेर, मोहनशमसेर, त्रिभुवन र महेन्द्र सरकारसम्मको गाडी बोक्यौं होला ।
घरजम कहिले गर्नुभयो नि ?
मैले गाडी बोकेको देखेर मन पराएर तीनतीन जनासँग प्रेम विवाह भयो ।
प्रेमिकाहरुको नाम, थर सम्झना छ त ?
पहिलो स्याङतान थरकी नाम… (नाम बिर्सनुभएछ), दोस्रो रुम्बा कि साहिँली र तेस्रो जिम्बा थरकी थिई काली ।
तपाईंले कति वटा जति गाडी बोक्नुभयो ?
मेरो सम्झनाअनुसार ३० वटा जति गाडी बोकियो होला ।
तपाईंसँग गाडी बोक्ने भरियाहरु को को थिए ? नाम सम्झना छ ?
अलिअलि छ । गाडी बोक्ने तामाङ भरियाहरु त थुप्रै थिए । भीमफेदीका कोदे घिसिङ मेरो नाइके थिए । भरियाहरुमा मार्खुका कुलबहादुर घिसिङ, तसर्पुका फूलबहादुर बमजन, सरवाङका देवबहादुर थिङ र मार्खुका लेखबहादुर घिसिङ साथी थिए ।
उहिले र अहिलेको चित्लाङमा के फरक छ ?
उहिले नेपालबाट मधेस झर्ने मोटरबाटो थिएन । सबै जनता, कर्मचारी, राणा परिवार, श्री ३ सरकार, देशीविदेशी पाहुनाहरु चित्लाङ भएर कोही पैदल, कोही घोडामा, कोही हात्तीमा त कोही मानिसद्वारा ताम्दानमा बोकिएर ओहरदोहोर गर्थे । राणाहरुले घोडा, हात्ती राख्ने तबेला र आराम गर्न ससाना दरबार बनाएका थिए । सबै तीर्थयात्रा, बन्दव्यापार यहींबाट हुन्थ्यो । त्यसैले चित्लाङ पहिले गुल्जार थियो । अहिले त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग खुल्यो । सबै मानिस गाडीबाट हिँड्न थाले । यहाँका स्थानीय मानिस मात्र हिँड्छन् । केही स्थानीय गाडी चल्छ । त्यसैले चित्लाङ अहिले सुनसान मात्र होइन्, बिरानो भएको छ ।
खाना र बासको कस्तो व्यवस्था थियो ?
पहिले चित्लाङ भएर मानिसहरु हुलका हुल मधेस जाने–आउने गर्थे । मानिसहरु बास बस्न चित्लाङबासीका घरघरमा पुग्थे । त्यस्ता बटुवाहरुले आफैले खानेबस्ने व्यवस्था गर्थे । बास बस्नेहरुका लागि बाटोको घरले त खाली ठाउँमात्र दिए हुन्थ्यो । मानिसहरु सबै आफन्तझैं दुईतीन वर्षमा फर्केर आउँदा पनि बोलेर सन्चो–बिसन्चो सोध्थे ।
राणा आउँदा चित्लाङबासीले के गर्नुपर्थ्यो ?
जब गाउँमा राणाहरु आउँथे चित्लाङबासी सबैले सक्नेले केही न केही कुरा पुर्याउनुपर्थ्यो । राणाहरुले बस्नका लागि दरबारहरु नै बनाएका थिए । राणाहरु मधेस शिकार खेल्न जाँदा होस् या अन्त कतै विदेश जाँदा, चित्लाङमा बनाएका दरबारमा बस्थे । मह, घिउ मात्र होइन उनीहरुका लागि गोल र दाउरा पनि लगिदिनुपर्थ्यो । राणाका घोडा वा हात्ती ल्याएको छ भने त्यसका लागि पनि घाँस र अन्नहरु पनि पुर्याउनुपर्थ्यो ।
तपाईंले गाडी बोक्नुभो तर गाडी चाहिँ कहिले चढ्नुभो ? गाडी चढ्दा कस्तो अनुभव भयो ?
गाडी आँखाले प्रत्यक्ष देखें । काँध खोल्सने गरी राणाहरुले चढ्ने गाडी हामीले धेरै बोके पनि गाडी चढ्ने सौभाग्य भने २०१५ सालतिर मात्रै काठमाडौंमा जाँदा भयो । गाडीमा आरामसित सुतेर हिँड्न पाइने रहेछ । त्यसैले श्री ३ महाराजहरुले गाडीका लागि यत्रो मरिहत्ते गरेका रहेछन् भन्ने पनि पछि थाहा भयो ।
घरमा बस्दा केके गर्नुहुन्छ ?
बिहान–बेलुका खेतबारीका सामान्य काम गर्छु । दिनमा बाँसको डोको, डालो, धुम र नाङ्लो बनाउँछु । नाति–नातिना, पनाति–पनातिनी हेर्छु ।
९० वर्षको भैसक्नुभयो । अहिले के गरेर जीवन गुजारा गर्नुहुन्छ ?
तपाईंको स्वास्थ्य त एकदमै राम्रो छ नि ?
बिहान सके पनि नसके पनि खेतबारीमा चहार्ने, दिनमा नसुत्ने, बरु वस्तुभाउ हेर्न निस्कने, नभए पनि फुर्सद छ भनेर त्यसै नबस्ने, केही न केही गरेर बिताउने, बेलुकीपख पनि हिँड्ने गर्छु । उहिले त काम पनि बढी गरिन्थ्यो । खुब माछा–मासु खान्थें । अहिले त गुन्द्रुक, ढिँडो, दालभात खान्छु । हरेक दिन जाँड वा रक्सी जे पाउँछु, सो पनि छोड्दिनँ । पिइनै रहन्छु । मलाई गाडी चढ्न मन लाग्दैन । आवश्यक परे भारी बोकेर थानकोटसम्म पनि पुग्छु ।
स्वस्थ रहने अरु केही उपाय छ ?
रउसे हुनुपर्छ । चिन्ता लिनु हुँदैन, मजाले हाँस्नुपर्छ । गीत गाउने–नाच्ने जस्ता मनोरञ्जनात्मक कार्य गरेर जीवन बिताउनुपर्छ ।
चित्लाङमा त तपाईंको नाम अर्कै रहेछ नि ?
के भन्ने खै, राणाहरुको गाडी बोकेकोले होला । मलाई गाडी बोक्ने बूढा भनेर बोलाउँछन् ।
तपाईंलाई आउने कुनै गीत सुनाइदिनुस् न ।
ल सुन्नुहोस् :
उँभो त पर्छ डाँडो लेक
तल त सम्मो मधेस हो
त्यो मधेसमा म जाँदा
तरकारी खाने घिरौंला
कालले साँचेर खाएन भने
मौका पर्वमा मिलौंला
मौका पर्वमा भेटौंला ।
(धनबहादुर गोलेसँग अन्तर्वार्ताका लागि व्यवस्था मिलाइदिन भक्तपुर एफएमका सञ्चारकर्मी मोहन दोङ, गायक राजकुमार दोङ, चुनिदेवी माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक मेगेन्द्र लामा थिङ, चित्लाङबासी चन्द्र रुम्बा तामाङ र चित्लाङ तामाङ युवा समितिले सहयोग गरेको थियो ।)
www,esamata.com बाट साभार
No comments:
Post a Comment