महाभूकम्प - २०७२ बैसाख १२ 
विभिन्न संचार माध्यम र सामाजिक संजालहरूबाट साभार गरिएका तश्वीरहरू













































































































==================================================================


शनिबार भएकाले छोराछोरी दुवैजना घरमै थिए । भर्खरै नयाँ कक्षा सुरु भएपनि स्कूल जान आउन सुरु भैसकेको थियो ।
गाउँमा चैते धान गोड्ने सिजन सुरु भैसकेको छ । छोराछोरी सानै छन्, काममा सघाउने अरु कोही छैनन् घरमा । बालीनालीका सबै काममा अर्मपर्म चल्छ । भूकम्प आउने दिन मेला अलि टाढा थियो । घरबाट मेला पुग्न करिब १ घण्टै समय लाग्थ्यो ।
छरछिमेकका करिब १०/१२ जना दिदीबहिनीहरु मिलेर खेतमा धान गोडिरहेका थियौं । करिब १२ बज्नै लाग्दा एक्कासी जमिन हल्लिन थाल्यो । चराचुरुङ्गीहरु चिच्याउँदै आकाशभरी उड्न थाले । वरिपरीका रुखहरु बेस्सरी हल्लिए । डरलाग्दो आवाजसँगै रुखका हाँगाहरु भाँचिन थाले । भीरका ढुंगाहरु त्यसैगरी एकाएक गुल्टिए । के हुन लागेको हो कसैले पत्तै पाएनौं ।
मेलामा भएका सबैको होस हवास उड्यो । कता भाग्ने कता जाने केही मेसो भएन । भूकम्प लामो समयसम्म आईरहेकाले सबैजना भाग्न खोज्यौं । जति भाग्न खोजेपनि पाईला अगाडी सरेनन् । खुट्टा उचाल्यो की यता र उती हल्लि हालिन्थ्यो, भाग्न खोज्दा खेतमै गुल्टियौं । न दौडन सकियो न थचक्क बसेर हेर्न नै । अति भएपछि सबैको रुवावासी चल्न थाल्यो ।
लगातार दुई मिनेटसम्म मज्जाले झ्याँकेपछि, भूकम्प केही मथ्थरियो । म अत्तालिएँ । घरमा रहेका साना साना छोराछोरी सम्झिएँ । डाँको छोडेर रुन मन लाग्यो । विदेशमा रहेका श्रीमानलाई सम्झिएँ । माईतीका बुबाआमालाई केही नहोस् भनेर भगवानको नाम जप्न थालेँ । सारा ज्यान लुगु लुग कामिरहेको थियो ।
झर्लक्क छोराछोरीको अनुहार सम्झिएँ । कतिबेला घर पुगेर मुख देखुँला भन्ने मात्रै लागिरह्यो । त्यसपछि पनि भूकम्प गई नै रहेको थियो । त्यत्रो एकघण्टाको बाटो हिँडेर म मेलाबाट कसरी घर पुगेँ होला, आफैंलाई थाहा छैन ।
घर पुग्दा उराठलाग्दो थियो । कसैका घर सद्दे थिएनन् । बिहान छोडेर जाँदा स्वर्गजस्तो मेरो गाउँ, फर्किँदा ठेगानमा थिएन । आकाशभरी धूवाँ र धूलो मडारिएको थियो । नमिठो गन्ध आईरहेको थियो । घरमा च्यापिएकाहरु चिच्याईरहेका थिए । कोही घर बाहिर बारीमा बसेर डाँको छोडिरहेका थिए ।
यो सबै मलाई सपना जस्तै लाग्थ्यो । छोराछोरी खोजेँ, बाबु मलाई देख्दानाथ झम्टिन आयो, धन्न केही भएनछ । छोरी खोज्न थालेँ, साथीको घरमा खेल्न गएकी थिई । घरको पाली भत्केर चोट लागेछ । गाला र कम्मरमा लागेको चोटले भुईबाट उठ्न सकिरहेकी थिईन । वल्तिर पल्तिर भएकाहरुले समातेर कच्ची बाटोसम्म ल्याएर छाडिदिएछन् ।
दुवैजनालाई भेटेपछि, अगाँलोमा गर्ल्याम्म बाँधेर रुनुसम्म रोएँ । अरुको हालत पनि त्यस्तै थियो । कतारमा रहेका श्रीमानलाई फोन गर्न खोजेँ । नमस्तेको टावर थिएन । एनसेलले घरी घरी काम गथ्र्यो, बोल्न बक्के छुटिरहेको थिएन ।
बल्लतल्ल फोन लाग्यो । उहाँले फोन उठाउनासाथ फेरी डाँको छाडेर रुन आयो । राम्ररी कुरा बुझाउनै सकिन । नेपालमा भूकम्प आएको खबर पहिले नै थाहा पाईसक्नुभएको रहेछ, उहाँले । म डाँको छोडेर रोएपछि, उहाँले पनि मन थाम्न सक्नुभएन । फोनमै एकछिन रुवाबासी चल्यो ।
अब २, ३ दिनमा नेपाल फर्किन्छु भन्नुभएको छ । त्यसपछि बुबाआमालाई फोन गरेँ । दुवैजना सकुशल हुनुहुँदो रहेछ । गाउँमा परिवारको कोही न कोही गुमाएका धेरै छन् । म र मेरा परिवार भाग्यमानी रहेछौं । छोरीलाई चोट लाग्नुबाहेक धन्न अरु कसैलाई केही भएन ।
गाउँका सबैजना बाटोमै बसेर रात गुजारियो । बिहान गाउँमा हेलिकोप्टर गयो । अनि हामीसहित घाईते भएकाहरुलाई पोखरा ल्याईयो । यहाँबाट फर्किएपछि अब कहाँ गएर बस्ने, के खाने केही थाहा छैन ।
(भूकम्पपछि ध्वस्त भएको गोरखाको बारपाक गाविस–५ की सरिना घलेसँग नेपाल रिपोर्टस् का लागि नवराज ढुङ्गानाले गरेको कुराकानीको सम्पादीत अंश । भूकम्पमा परी घाईते भएकी घलेकी ९ बर्षीय छोरी एलिशाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।)
http://www.nepalreports.com बाट साभार