Thursday, April 30, 2015

जंगबहादुर राणालाई राजा सुरेन्द्रले हप्काएछन्, “तँ खसलाई म छोरी दिन्छु !” - दिनेशराज पन्त


जंगबहादुर राणालाई राजा सुरेन्द्रले हप्काएछन्, “तँ खसलाई म छोरी दिन्छु !”

जंगबहादुरभन्दा कमसेकम पाँच–सात पुस्ताअघिदेखि नै कुँवर लेख्न सुरु गरेको देखिन्छ । जंगबहादुरका पिता बालनरसिंहले कुँवर लेख्थे । उनीभन्दा अघिका रणजित्, रामकृष्ण र अहिमानसिंहले कुँवर लेख्ने गरेको पाइन्छ ।
इतिहास अध्ययन गर्दा थाहा हुन्छ, शासनमा लामो समयसम्म टिक्ने एउटा माध्यम वैवाहिक सम्बन्ध पनि रहँदैआएको छ । लिच्छवि राजा शिवदेव (द्वितीय)को भारतका राजपरिवारमा बिहे भएको थियो । उनका छोरा जयदेव (द्वितीय)को पनि भारतसँग वैवाहिक सम्बन्ध कायम भएको थियो । पृथ्वीनारायण शाहको पनि पहिलो बिहे मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीसँग भएको थियो । पहिलो विवाह सफल नभएपछि दोस्रो विवाह काशीका रजपुतकी छोरीसँग भएको थियो ।
स्वाभाविक रुपमा जंगबहादुरलाई पनि राजपरिवारसँग वैवाहिक सम्बन्ध गाँस्ने इच्छा नहुने कुरा भएन । उनले राजा सुरेन्द्रविक्रम शाहसमक्ष यस्तै वैवाहिक सम्बन्ध गाँस्ने प्रस्ताव राखेछन् । राजाले उनलाई होच्याउँदै भनेछन् रे, ‘तँ खसलाई म छोरी दिन्छु !’ विक्रम संवत् १९०३ मा प्रधानमन्त्री भइसकेका जंगबहादुरलाई राजा सुरेन्द्रले यसरी होच्याएका थिए ।
surendra-jangabdr-feature
राजा सुरेन्द्र शाह र ज‌ंगबहादुर राणा
उनै जंगबहादुरले भारत चितौडका राजपरिवारसँग जोडेर राजा सुरेन्द्रबाट लालमोहर गराएर राणा लेख्न सुरु गरे । चितौडका राजाहरु मुसलमानसँग युद्ध लडेका कारण प्रख्यात छन् । महाराणाप्रताप पनि चितौडकै राजा हुन् । गोरखाका राजा राम शाहले पनि गोरखा राज्य सम्पन्न भएका बखत आफूलाई चितौडका राजवंशसँग जोडेका थिए । जंगबहादुरले वंशावली बनाएर आफूलाई चितौडसँग जोडेका थिए । राजा सुरेन्द्रले उनीहरुलाई राणा भन्नू भनेर ‘श्रीमद्राजकुमार कुमारात्मज’ भनेर लालमोहर गरिदिएका थिए । यो कुरा विक्रम संवत् १९०५ सालको हो ।
जंगबहादुरका वंशका यतिले मात्र ‘राणा’ लेख्न पाउने भनेर सीमा पनि तोकिएको थियो । जंगबहादुर राणाले पनि जीवनभर कुँवर राणाजी लेख्ने गरेका थिए । पछि कुँवर लेख्न छोडियो ।
जंगबहादुर ‘राणा’ बनेपछि राजपरिवारसँग वैवाहिक सम्बन्ध गाँसियो । राजा पृथ्वीवीरविक्रम शाह जंगबहादुर राणाका आफ्नै नाति हुन् अर्थात् आफ्नै छोरीका छोरा हुन् । यसरी शाह राजखलकसँग सम्बन्ध जोडेर पनि राणाहरुले १०४ वर्ष शासन टिकाएका हुन् ।
पछिल्लो चरणसम्म पनि राणा र शाहहरुबीच वैवाहिक सम्बन्ध कायमै छ । राजा वीरेन्द्रविक्रम शाह र राजा ज्ञानेन्द्रवीरविक्रम शाह जुद्धशमशेर राणाका आफ्नै पनातिहरु हुन् । जुद्धशमशेरका छोरा हरिशमशेरका छोरी इन्द्रराज्यलक्ष्मीका छोरा हुन् श्री ५ वीरेन्द्र र श्री ५ ज्ञानेन्द्र ।
जंगबहादुर राणाका जगतजंगको बिहे राजा सुरेन्द्रवीरविक्रम शाहकी छोरीहरुसँग भएको थियो । जंगबहादुर राणाकी ‘बडामहारानी’ हिरण्यकुमारी चौतरिया खलकी छोरी हुन् । राणाहरुको यो विवाह कूटनीतिले पनि उनीहरु शासनमा टिक्न सकेका हुन् ।
इतिहासकार पन्त प्राज्ञ हुन् ।

www.esamata.com बाट साभार 

No comments:

Post a Comment