Friday, April 3, 2015

सत्य र असत्य, असल र खराब तथा सुन्दर र कुरूपका बीचको सङ्घर्ष निरन्तर जारी रहन्छ - मोहन वैद्य‘किरण’

माओवादी कम्युनिष्ट केन्द्र निर्माण र रुपान्तरणको सवाल


हामीले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याई माओवादी कम्युनिस्ट केन्द्रका रूपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय लिंदै आएका छौं । क्रान्तिकारी कम्युनिस्टहरूको एकता आजको ऐतिहासिक आवश्यकता हो । परन्तु, यो काम विचारधारात्मक तथा राजनीतिक एकताबाट मात्रै सम्भव छ ।
हामी सिद्धान्तनिष्ठ एकताको पक्षमा छौं । आज एकथरी मानिस यस्ता छन्, जसले जसरी पनि पार्टी एकता हुनैपर्दछ भन्ने कुरा गर्दछन् । यो नितान्त गलत चिन्तन हो ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद र संशोधनवादका बीच गठबन्धन कायम गरिएको हुन्छ र त्यस स्थितिमा फुटलाई टार्नै सकिदैन ।
क्रान्तिकारी कम्युनिस्टहरूका बीचको एकताको कुरा गर्दा सिद्धान्त र राजनीतिको प्रश्नलाई प्राथमिक स्थानमा राख्नुपर्ने हुन्छ । विचारधाराको प्रश्नलाई पन्छाएर पार्टी एकताको कुरा गर्न नै सकिंदैन ।
साथै, आज अर्काथरी मानिस पनि छन्, जसले पार्टी एकताको पूरै विरोध गर्दछन् । यो पनि गलत चिन्तन हो । सिद्धान्त र राजनीति मिलेको अवस्थामा पार्टी एकता गर्नैपर्ने हुन्छ पार्टी एकताबारे हामी दुवै प्रकारका अतिवादबाट बच्नै पर्दछ । यहाँनेर पहिलो अतिवाद बढी हानीकारक रहेको छ ।
अब हामी पूर्वाग्रह, सङ्कीर्णता र उदारता सबैखाले रोगबाट मुक्त हुँदै जानु पर्दछ । देश, जनता र क्रान्तिको हितका निम्ति हामी उक्त सैद्धान्तिक राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा एकताबद्ध हुनै पर्दछ ।
हाम्रो पार्टी नेकपा–माओवादीले पार्टी एकताका लागि आवश्यक सैद्धान्तिक÷राजनीतिक आधारहरू प्रस्तुत गर्दै आएको छ, ती आधारहरू यी हुन्: (१) माक्र्सवाद–लेनिनवाद– माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्ने । (२) नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने । (३) संसद्वादलाई अस्वीकार गर्ने (४) सामाजिक क्रान्ति र रूपान्तरणको लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने । (५) पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने । (६) जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरूप सङ्गठन सञ्चालन गर्न राजी हुने । क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माणका लागि यी अनिवार्य सैद्धान्तिक–राजनीतिक आधार हुन्, र जसले यी आधारहरूलाई स्वीकार गर्दछ, त्यससित पार्टी एकता हुन सक्तछ ।
यद्यपि हामीले सैद्धान्तिक र राजनीतिक रुपमा एकअर्काको विरोध र आलोचना पनि गरिरहेका छौं । यस अर्थमा हामीहरूमा एकअर्काप्रति तीक्तताका अनुभूति पनि छन् । परन्तु, हामीले यी कुरालाई अस्वाभाविक ठान्नु हुँदैन, सच्चा कम्युनिस्टहरू आलोचना र विरोधदेखि डराउँदैनन् । वस्तुतः अब हामी पूर्वाग्रह, सङ्कीर्णता र उदारता सबैखाले रोगबाट मुक्त हुँदै जानु पर्दछ । देश, जनता र क्रान्तिको हितका निम्ति हामी उक्त सैद्धान्तिक राजनीतिक तथा साङ्गठनिक मान्यताका आधारमा एकताबद्ध हुनै पर्दछ । क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्माण विचारधारात्मक सङ्घर्षका बीचबाट नै हुनसक्दछ ।
विचारधारात्मक रूपान्तरणको प्रश्न : 
हामी कम्युनिस्ट हौं । परन्तु, हामी सामन्तवाद, साम्राज्यवाद र संशोधनवादद्वारा घेरिएको समाजमा छौं । हामीमा वर्गसमाजको प्रतिबिम्बमा रूपमा विजातीय विचारधाराको प्रभाव परेको हुन्छ । हाम्रो चिन्तनशैली, जीवनशैली र कार्यशैलीमा कैयौं कमी–कमजोरी पैदा भइरहन्छन् । यसस्थितिमा हामी सर्वहाराकरणको प्रक्रियाबाट निरन्तर अगाडि बढ्दै जान, माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा विचारधारात्मक, सांस्कृतिक तथा भावनात्मक रूपमा रूपान्तरित हुन आवश्यक छ ।
समाजमा विद्यमान वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्ष कम्युनिस्ट पार्टीमा प्रतिबिम्बित हुन्छ र पार्टीमा विचारधारात्मक सङ्घर्ष वा दुईलाइन सङ्घर्ष चल्ने गर्दछ ।
पार्टीमा चल्ने यसप्रकारको सङ्घर्ष कुनै बेला सरल र कुनै बेला अत्यन्तै पेचिलो हुने गर्दछ । पार्टीमा चल्ने विचारधारात्मक सङ्घर्षलाई एकता–सङ्घर्ष वा आलोचना र रूपान्तरणको पद्धतिद्वारा हल गरिन्छ र गर्नुपर्दछ ।विचारधारात्मक सङ्घर्षको क्षेत्रमा विभिन्न विचार तथा प्रवृत्तिहरूका बीच प्रतिस्पर्धा चल्ने कुरालाई स्वागत नै गर्नुपर्दछ । प्रतिक्रियावादीहरूले आफ्ना विरोधी विचारहरूलाई दबाउने काम गर्दछन् र त्यसको हामीले विरोध गर्नुपर्दछ । विचारधारात्मक क्षेत्रको सङ्घर्षलाई दमन र करकाप होइन, बहस र तर्कको पद्धतिद्वारा हल गर्नुपर्दछ ।
विचारधारात्मक सङ्घर्षको प्रकृति दीर्घकालीन हुने गर्दछ । जबसम्म समाजमा वर्ग हुन्छन् र तिनका बीच सङ्घर्ष चल्छ, त्यो बेलासम्म विचारधारात्मक सङ्घर्ष चलिनै रहन्छ । वर्गसङ्घर्षको दीर्घकालीन प्रकृतिअनुसार दुईलाइन सङ्घर्षको प्रकृति पनि दीर्घकालीन नै हुने गर्दछ । विचारधारात्मक क्षेत्रमा सत्य र असत्य, असल र खराब तथा सुन्दर र कुरूपका बीचको सङ्घर्ष निरन्तर जारी रहन्छ । यसै सङ्घर्षको प्रक्रियामा सत्य, असल र सुन्दर विजयी बन्दै जान्छन् । माक्र्सवाद पनि यसरी नै विजयी बन्दछ ।
हामी दुनियाँ बदल्न चाहने शक्ति हौं । दुनियाँ बदल्न चाहने शक्ति स्वयम् आफै बदलिनुपर्दछ । आफू बदलिन तयार नहुने मानिसले दुनियाँ बदल्न पनि सक्तैन । आफू स्वयम् बदलिन र दुनियाँ बदल्नका लागि आज हामीमा दृढ सङ्कल्प र क्रान्तिकारी साहसको आवश्यकता छ ।


www.ratopati.com बाट साभार 

No comments:

Post a Comment