Tuesday, March 24, 2015

माओवादी एकताबारे - ऋषिराज बराल

एकताको नारामा विसर्जनवादको अभ्यास

Baral 3







ऋषिराज बराल
यतिबेर मुलुक असाध्यै जटिल अवस्थामा छ । हिजो हामीले महान् जनयुद्धका क्रममा आर्जित गरेका समग्र सौन्दर्यमूल्यहरू ध्वस्त पारिएका छन् । देशी–विदेशी प्रतिक्रियावादी वर्ग महान् जनयुद्धको त्यो गरिमामय १० बर्से इतिहासलाई कालो इतिहासको रूपमा चित्रित गर्न उद्यत् रहेको छ र बलिदानको बाटो रोज्ने महान् योद्धाहरूलाई अपराधी प्रमाणित गर्ने तारतम्य रच्तैछ । यस्तो बेला ती प्रतिक्रियावादीहरूको पाखण्डपनको विरुद्ध सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुनु आवश्यक छ ।
नेपाली माओवादी क्रान्ति बडो सङ्गीन अवस्थाबाट गज्रिरहेको छ र यसले एकपल्ट पुनः व्यापक एकता र बृहत् आन्दोलनको माग गर्दछ भन्ने कुरामा विवाद छैन । परन्तु एकता कोसित र केकालागि भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ र मूल कुरा पनि यसैमा निहित छ । को हुन् सच्चा माओवादी त्यसको प्रस्ट परिभाषा र पहिचानबिना एकताबद्धताको कुरा गर्नु भनेको बालुवाको घर बनाउनुजस्तै हो । होहल्ला गर्नु र सिद्धान्तनिष्ट एकता गर्नु अलग कुरा हुन् । 
विश्व माओवादी क्रान्ति यतिखेर दोहोरो मारमा परेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूबाट प्रहार हुनु अस्वाभाविक होइन । परन्तु माओवादको आवरणमा माओवादी आन्दोलनलाई नै ध्वस्त पार्ने जुन काम भइरहेको छ, यो साँच्चिकै गम्भीर विषय छ । आज एकताबद्धताको कुरा गर्दा यो पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ । यति मात्र नभएर एकताबद्धताको कुरा गर्दा नेपालको माओवादी आन्दोलनलाई यस्तो वृशृङ्खलताको स्थितिमा पुर्याउन ककसको, कहाँकहाँ केकस्तो भूमिका रह्यो, त्यसको पनि निर्मम समीक्षा गर्नु आवश्यक देखिन्छ । यो समीक्षामा नरमगरम कोही पनि अछुतो रहने स्थिति छैन ।
समयक्रममा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सबै कुरा प्रस्ट भइसकेका छन् । नेपाली जनताले महान् जनयुद्धमार्फत आर्जन गरेका समग्र वैचारिक, राजनीतिक, फौजी र सांस्कृतिक मूल्यलाई देशीविदेशी प्रभुहरूलाई सुम्पेर आत्मसमपर्ण गर्ने प्रचण्ड–बाबुरामहरूको नेपाली क्रान्तिप्रतिको गद्दारीका कारण नेपालको माओवादी आन्दोलनले अकल्पनीय रूपमा वैचारिक विचलन र सङ्गठनात्मक विसर्जनको स्थिति भोग्नु परेको हो । तिनले नेपाली मुक्तिकामी जनतालाई मात्र धोका दिएका छैनन, भारतीय फासिवादी सत्ताका विरुद्ध जीवनमरणको निर्मम लडाइँ लडिरहेका भारतीय माओवादीहरूका विरुद्ध सोनियाँ गान्धीलाई चिठी लेखेर आफ्नो जनविरोधी र राष्ट्रघाती कुरूप अनुहार पनि प्रदर्शित गरिसकेका छन् । प्रचण्ड–बाबुराम समूहमा कतिपय इमानदार कार्यकर्ता होलान्, परन्तु, नेतृत्व तह र सङ्गठनात्मक दृष्टिले एकीकृत नेकपा (माओवादी) क्रान्तिप्रति गद्दारी गर्ने समूहको रूपमा स्थापित भएको छ र वैचारिक र राजनीतिक दृष्टिले नवप्रतिक्रियावादका पतन भइसकेको छ । नयाँ जनवादी क्रान्ति र वर्गीय प्रश्नलाई त्यागरे डलरवादी जातीयतावादीहरू र मधेसका सामन्तहरूसितको उसको बढ्दो उठबस र गठजोडले पनि यसै कुराको द्योतन गर्दछ ।
वैचारिक र राजनीतिक दृष्टिले पतन भइसकेपछि प्रचण्ड समूह अहिले आफ्नो अस्तित्व रक्षाका लागि एकताको होहल्ला गर्दैछ र हातमा सुनको सिक्री लिएर लोभी बाहुनलाई आकर्षित गर्ने बूढो बाघको कथाको पुनरावृत्ति गर्दैछ । यसप्रति हामी चनाखो हुने कुरा त छँदैछ । यसका साथै यतिखेर क्रान्तिको करा गर्ने तर व्यवहारमा कहिल्यै अघि नसर्ने सारसङ्ग्रहवादी अकर्मण्यतामा फसेकाहरू हातमा सुनको सिक्री लिएको बूढो वाघको वाक्छलप्रति लालायित भइरहेको स्थिति पनि हामी अनुभूत गरिरहेका छौँ । यसप्रति पनि त्यत्तिकै गम्भीर हुनु आवश्यक छ ।
नयाँ जनवादी क्रान्ति परित्याग गरेको र वैचारिक र राजनीतिक रूपबाट धेरै पर पुगिसकेको प्रचण्ड समूहसित एकता गर्नु भनेको वैचारिक र साङ्गठनिक दृष्टिले विसर्जनवादलाई अँगाल्नु हो र यो भनेको नेपाली क्रान्तिप्रतिको अर्को किसिमको गद्दारी हो । वर्गीय प्रश्नबाट असम्पृक्त पारेर नेपालको माओवादी आन्दोलनलाई तहसनहस पार्न थालिएको अवस्थामा एकताका नाममा हुनथालेका विचारविहीन नाना थरीका नाटक र अभ्यासप्रति पनि हामी त्यत्तिकै सजग हुनु आवश्यक छ । जात, क्षेत्र, लिङ्गको उखरमाउलो सँगै अहिले फेरि उमेरवादको उखरमाउलो आरम्भ भएको छ । यस्ता विसङ्गतिबाट माओवादी आन्दोलनलाई जोगाउने हो भने क्रान्तिकारीहरूले कतिपय साँधसिमाना र पर्खालहरू भत्काउनु आवश्यक छ र नयाँ प्रतिबद्धताका साथ मालेमाको झण्डालाई माथि उचाल्नु आवश्यक छ । यस कार्यमा बौद्धिक–सांस्कृतिक क्षेत्रको अहम् भूमिका रहने कुरा पनि प्रस्ट छ ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीति ऊर्जा र उत्प्रेरणा दिन सक्नुपर्दथ्यो, त्यो हुनसकेको छैन । अध्ययन–चिन्तनप्रति भन्दा भीडतन्त्रमा रमाउने प्रवृत्ति युवा पुस्तामा विकसित हुँदो छ । माओवादी आन्दोलनका लागि यो शुभसङ्केत होइन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो निकै खतरनाक छ । ‘नवसंशोधनवाद’ सितको मेलमिलापले माओवादी आन्दोलनमा थप अन्योल र भ्रम मात्र उत्पन्न गर्ने छ । ‘पोलिटिक्स इन कमाण्ड’ मा कतै विमति छैन । तर माओले, भनेझैँ राजनीतिले गलत बाटो लिएमा अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनैपर्ने हुन्छ र यतिबेर सांस्कृतिक–बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ । मालेमाको रक्षाका लागि समयले एकपल्ट फेरि विद्रोहको झण्डा उठाउन हामीलाई आह्वान गरेको छ ।
माओवादी आन्दोलन भनौँ सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा विमति छैन । तर यो भावना र भावुकताको रहर र लहड हुन सक्तैन । भीडतन्त्र जम्मा गर्नु र सिद्धान्तनिष्ट बोल्सेविक पार्टीको निर्माण गर्नु एउटै कुरा होइन । समयले नयाँ आधारमा नयाँ एकताको माग गरेको कुरा सही हो । एकताबद्धताको कुरा गर्दा आधारभूत रूपमा तलका बुँदामा प्रस्ट हुनु आवश्यक छ : १. मार्क्सवाद– लेनिनवाद– माओवाद नेपाली क्रान्तिको निर्देशक सिद्धान्त हो । २. नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो । ३. ‘क्रान्तिका तीन जादुगरी हतियार’ नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र ४. नेपाली क्रान्ति वर्गसङ्घर्षको (यसलाई एकीकृत वर्गसङ्घर्ष पनि भन्न सकिन्छ) बाटो भएर अघि बढ्छ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्छ । यी आधारभूत पक्षका साथै यताका दिनमा नेपाली समाजमा सहरीकरण बढ्दो रूपमा भए पनि अझै पनि नेपाली क्रान्तिमा गाउँ नै आधारभूत र प्रधान पक्ष हो र बाह्य शक्तिका दृष्टिले भारतीय विस्तारवाद नै नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख दुस्मन हो भन्ने कुरामा पनि हामी प्रस्ट हुनु जरुरी छ ।
यिनै आधारभूत पक्षहरूका आधारमा नै हामी एकताबद्धताका साथ जान सक्छौँ । अन्यथा यसले विसर्जनवादसिबाय केही निम्त्याउने छैन ।

चैत ३, २०७१

साभार - www.thenextfront.com
==================================================

फेरि एकताको होहल्ला

new photoऋषिराज बराल
आजभोलि नेकपा- माओवादीसित सम्बद्ध एकथरी मान्छेहरू प्रचण्ड समूहसित एकता हुँदैछ भनेर होहल्ला गर्न थालेकाछन् । ”विना सर्त एकता हुँदैछ” भनेर समेत हल्ला गरिएको कुरा मोफसलका साथीहरूले सुनाउने गरेका छन् । विप्लवजीहरू नजाउन्जेल यो होहल्ला प्रचण्डहरू गर्दथे l अहिले यसको चटारो बुद्धनगरतिर सरेको देखिन्छ । तर विगतमा पार्टी किन फुट्यो, खासगरेर विप्लवजीहरूले ”सम्बन्ध विच्छेद” गर्नुपर्ने स्थिति किन आइपर्यो भन्ने कुराको समीक्षा गर्नु चाहिं उनीहरू आवश्यक ठान्दैनन् ।

हामीले मूलरूपमा लड्ने भनेको प्रतिक्रियावादी सत्ताकै विरुद्ध हो । तर कहिलेकाहीँ प्रतिक्रियावादी सत्ताका लागि लड्ने भनेको पार्टी नै आफ्ना लागि प्रतिक्रियावादी सत्ताझैँ आक्रामक बन्दो रहेछ र त्यसका विरुद्ध आफुसित जेजस्ता हतियार छन्, उठाउनु पर्दोरहेछ । नेकपा–माओवादीको पोखरा बैठकपछि जेजस्तो स्थिति उत्पन्न भयो, खासखास पात्रहरूमाथि जे–जस्तो प्रवृत्तिको प्रदर्शन गरियो, त्यसले यस किसिमले सोच्न र निष्कर्ष निकाल्न बाध्य हुनुपरेको स्थिति छ ।
यो प्रवृत्ति माओवादी पार्टीको चितवन कार्यालय बिक्रीप्रकरणमा अझ खुलेर आयो । हुकुमी शैलीमा कमरेड अनिलमाथि गरिएको कारबाही यस प्रवृत्तिको उच्च रूप थियो । सत्य के हो भने यो प्रवृत्ति पनि नेकपा–माओवादी विभाजनसित सम्बद्ध एउटा प्रमुख कारकतत्व बन्यो । प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि क्रान्तिकारी कार्यदिशा तय गरेर अघि बढ्नुको सट्टा प्रचण्ड–बाबुरामलाई गाली गरेरै हामीले आफुलाई क्रान्तिकारी साबित गर्ने प्रयास गर्यौं । रमाइलो कुरा के छ भने आजभोलि प्रचण्डसित उठबसका नयाँनयाँ अध्यायहरू आरम्भ हुनथालेका घटनासन्दर्भहरू सतहमा आउनथालेका छन् । अमुकअमुक ठाउँका अमुकअमुको बसाइ र स्याम्पेननका बोतलहरू रित्तिएका सूचना पनि आउनथालेका छन् ।
हाल नेकपा, माओवादीका महासचिव बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ को दस्ताबेज त्यसमा पनि कार्यदिशाप्रति मेरो पूर्ण विमति रह्यो र रहेको छ । गत माघमा भएको नेकपा–माओवादीको राष्ट्रिय भेलामा कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेजको कतिपय पक्षप्रति मेरो सहमति भए पनि कार्यदिशाप्रति मेरो सहमति रहेन । गत महाधिवेशनदेखि नै मेरा फरक मत थिए र अहिले आएर ती झन् बढेका छन् । सातौँ महाधिवेशनको स्पिरिटबाट पार्टी पछि फर्केको भन्ने मेरो ठहर छ । मेरो भिन्न मत पार्टीमा सुरक्षित रहेको कुरा राष्ट्रिय भेलामा पनि प्रस्ट पारिएको हो । दुई लाइन सङ्घर्ष निरन्तर चल्ने प्रक्रिया भए पनि फरक मतका कमरेडहरूप्रति गरिएको व्यवहार हेर्दा पार्टीमा एकछिन पनि बस्न सक्ने अवस्था थिएन र भिन्न शैलीमा त्यो प्रवृत्ति यथावत रहेको कुरा मैले महसुस गरेको छु ।
कुरा त हामी सामूहिकताको गर्छौँ, तर हरहमेसा आफ्नो अस्तित्वका लागि चिन्तित भइरहन्छौँ । हामी एकअर्कासित तर्सिएका छौँ र आतङ्कित छौँ । हामी आफ्नो कुर्सीका लागि त अत्यन्त चिन्तित भयौँ, तर सारा जीवन क्रान्तिकारी आदर्शका लागि सुम्पेका असारे काका कमरेडको क्रान्तिकारी उत्साह र समर्पणभावको सम्मान गर्दै उचित जिम्मेवारी दिनुपर्छ भन्ने कुरा सोच्न र बुझ्न हामीले सकेनौँ, उल्टै प्रताडित गर्यौं । जुझारु युवा नेता अनिल कमरेडमाथि दुस्मनका झैँ व्यवहार गरियो, अपराधीका झैँ लखेटेको लखेटै गरियो । क्रान्तिकारी युवा पङ्क्तिलाई संरक्षित र प्रोत्साहित गर्दै कसरी नेतृत्व तहमा विकास गर्नेमा भन्दा कसरी आसेपासे, भाइभतिजा र श्रीमतीहरूलाई टुप्पीमा तानेर माथि ल्याउने भन्नेमा हाम्रो चिन्ता र चिन्तन केन्द्रित रह्यो । हरहमेसा हामी गणितीय हिसाबमा अलमलियौँ । विधानले मतदानबाहेक सबै अधिकार वैकल्पिक केन्द्रीय सदस्यलाई प्रदान गरेको अवस्थामा पनि गत असारमा भएको केन्द्रीय समतिको बैठकमा दस्ताबेजमाथि छलफलको त कुरै छाडौँ, फरक मतको दस्ताबेज पढ्नसमेत वैकल्पिक केन्द्रीय सदस्यले सानोतिनो लडाइँ नै लड्नुपर्यो । वैकल्पिक केन्द्रीय सदस्यलाई अछुतका झैँ असाध्यै अपमानपूर्ण व्यवहार गरियो । यो सबै सम्झेर ल्याउँदा एउटै घरमा एकछिन पनि बस्ने स्थिति थिएन । फलस्वरूप नेकपा–माओवादीभित्रको एउटा महत्वपूर्ण हिस्सा नयाँ पार्टी निर्माण गर्नेतिर लाग्यो ।
विडम्बनाको विषय के छ भने विप्लवजीहरू पार्टीबाट अलग हुने स्थिति किन र कसरी उत्पन्न भयो भनेर गम्भीर समीक्षा हुनसकेको छैन । हिजोका २ वर्ष प्रचण्ड–बाबुरामलाई गाली गरेर बिताएझैँ गाली पुराणको नयाँ अध्याय आरम्भ भएको छ । अन्तर्विरोधलाई सही किसिमले सञ्चालन गरेको भए, सही किसिमिले पार्टी सञ्चालन गरिएको भए, फरक मत राख्नेबित्तिकै दुस्मनका झैँ व्यवहार नगरिएको भए र भित्रैदेखि पार्टीलाई एकताबद्ध गरेर लाने इच्छाशक्ति देखाएको भए विप्लवजीहरू छुट्टिने स्थिति नै बन्ने थिएन । कमजोरीको यो पाटोबाट मूल नेतृत्वमा रहेका कमरेडहरू पन्छिन मिल्दैन । फरक मत के थियो भन्ने कुरा व्यवस्थित किसिमले तल पुग्ने र बहसछलफल हुने स्थिति नै बनेन । अहिले दुवै पक्षले प्रकाशित गरेको दस्ताबेजमा प्रचण्डसित सम्बन्ध विच्छेद गरेको लगत्तै दुई लाइन सङ्घर्ष आरम्भ भयो भनेर लेखिएको छ । केही कुरा सङ्केतात्मक रूपमा आए पनि प्रस्ट रूपमा दुवै दस्ताबेजमा दुई लाइन सङ्घर्षको मूल चुरो के थियो भन्ने कुरा उल्लेख गरिएको छैन । एकले अर्कालाई दोषी प्रमाणित गर्न मात्र खोजिएको देखिन्छ ।
आरम्भदेखि नै दुई लाइन सङ्घर्ष थियो भने नेतृत्व तहले समयमै यसलाई व्यवस्थापन गर्ने काम किन गरेन भन्ने पश्न उठ्नु स्वाभाविक छ । नेतृत्व तहमा भएका बहसछलफलहरू तलसम्म नलैजानु गम्भीर गल्ती थियो । पोलिटब्युरोभन्दा तल त पार्टी नै होइन रहेछ भनेर बुझ्नुपर्ने अवस्था रह्यो र अब यो अवस्था स्यायी समितिको नामको अकर्मण्य टोलीमा स्थानान्तरित भएको छ । वैकल्पिक सदस्यहरूको हैसियत साक्षी किनारामा सदरमा सीमित रह्यो । राष्ट्रिय भेला स्थगित गरेपछि विशेष महाधिवेशनको मिति नतोक्नु अर्को गल्ती थियो । यसले वैचारिक अन्योल, उकुसमुकुस, अराजकता र सङ्गठनात्मक भद्रगोलको स्थिति उत्पन्न भयो । यी पक्षहरू नै पार्टी फूट र विभाजनका थप कारक तत्वहरू बने ।
कमरेड किरण र कमरेड विप्लवको दस्ताबेजको तुलनात्मक अध्ययन गर्ने अवसर कार्यकर्ताले पाएनन् । विप्लवको सिङ्गो दस्ताबेज सिकारु मान्छेले लेखेको निबन्धजस्तो र कार्यदिशा अमूर्त छ । अझ सम्बन्ध विच्छेदका लागि जेजस्तो प्रक्रिया अवलम्बन गरियो, यो थप रहस्यमय छ । र पनि विभाजनको स्थिति उत्पन्न हुनुमा नेतृत्वको बागडोर समालेका कमरेडहरू नै मूलरूपमा जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ । स्थितिलाई गम्भीरतापूर्वक लिन सकेको भए, महाधिवेशनको मिति तोक्ने र दस्ताबेजलाई तलसम्म लैजाने अवस्था रहेको भए फूटको सम्भावना कम थियो र यत्रो शक्तिको क्षयीकरण पनि हुँदैनथ्यो । यथार्थतः दुई लाइन सङ्घर्षमा निषेधात्मक द्वन्द्ववाद प्रयोग गरियो । यसको जिम्मेवारी माथिल्ला कमरेडहरूले लिनैपर्ने हुन्छ । यस अर्थमा समस्या विचार र सङ्गठन परिचालनमै हो । जो जति ठूलो जिम्मेवारीमा छ, पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व पनि उसैको हुन्छ । यताका दुई वर्षको समग्र समीक्षा नगरी अब अगाडि बढ्ने कुराले गति लिन गारो छ ।
प्रचण्डसित सम्बन्ध विच्छेदपछि यताको समयले थुप्रै कुरा देखाएको छ । विप्लवजीका कमजोरी रहेनन् भन्ने होइन, तर मूल समस्या मूल जिम्मेवारी लिएका कमरेडहरूमै रह्यो । कार्यदिशालाई थप समृद्ध नपारेसम्म, फरक मत राख्नेलाई सिध्याउनै खोज्ने प्रवृत्ति नरोकिएसम्म र कार्यकर्तालाई उसको योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने प्रवृत्तिभन्दा दासत्व प्रवृत्तिमा रमाउने संस्कृति नहटेसम्म पार्टीमा पहिरो जाने क्रम रोक्न गारो हुन्छ । पार्टीले ऊर्जा दिने हो पीडा होइन । नेतृत्वले उत्प्रेरणा दिने हो, प्रतिशोध लिने होइन । सत्य के हो भने हामीले नयाँ पार्टीको स्वरूप त दियौँ, तर ‘प्रचण्ड मानसिकता’ बाट चाहिँ मुक्त हुनसकेनौँ । नेताहरूमै आत्मकेन्द्रित व्यक्तिवादको विकराल स्वरूप देखापर्यो । फलस्वरूप गुटवादी प्रवृत्ति हाबी भयो । नेतृत्व तहबाट क्रान्तिकारी आशावादको निर्माण हुनसकेन । पार्टी तदर्थवादी चिन्तनबाट अघि बढ्नसकेन ।
अहिले फेरि एकताको होहल्ला हुनथालेको छ र यसमा प्रस्ट हुनु जरुरी छ । क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डहरूसित ६ बुँदे सर्त छ र सच्चिएर आए मात्र एकता हुनसक्छ भन्ने निर्णय छ । यो भनेको सैद्धान्तिक सहमति मात्र नभएर व्यवहारमा पनि सच्चिने भनेको हो । विप्लव समूहलाई चाहिं घरबाट रिसाएर गएको परिवारको सदस्यका झैँ “ढोका खुला छ फर्केर आऊ” भनिएको छ । त्यसैले पनि नेकपा–माओवादीको सबैभन्दा नजिकको शक्ति र पार्टी भनेको विप्लव समूह नै हो । कतिपय कुरा विरोधाभासपूर्ण भए पनि जुझारु कार्यकर्ताको एउटा उल्लेखनीय पङ्क्ति विप्लव समूहसित छ भन्ने कुरा हामीले बिर्सनु हुन्न । यस अर्थमा हाम्रो सहकार्य र एकताको प्राथमिकता विप्लव समूहसित नै हुनुपर्छ । नयाँ पार्टी गठन गरेर क्रियाशील भएको पार्टी घर फर्क भनेर लुसुक्क ढोकाभित्र छिर्दैन भन्ने कुरा बुझ्नु आवश्यक छ । यो हात मिलाउने मार्क्सवादी तरिका पनि होइन ।
प्रस्ट कुरा के हो भने मधेसका सामन्त र डरलवादी–पहिचानवादीहरूलाई वरिपरि राखेर सत्ता बार्गेनिङ गर्ने र दिल्ली पुगेर भारतीय सत्ताधारीका सामु लम्पसार पर्ने प्रचण्ड–बाबुरामहरूसित होइन, नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध समूहसित एकताको पहल हुनुपर्छ । विप्लवहरूसित अछूतका झैं व्यवहार गर्नु र प्रचण्डको नारामा समाहित भएर उसकै कार्यकर्ताझैँ बनेर जुलुसमा उफ्रिनु भनेको पुच्छरवादी हुनु हो । यो भनेको विसर्जनवाद नै हो र यस किसिमको चिन्तनलाई मुर्दाबाद भन्नैपर्छ । पुच्छरवादी प्रवृत्तिले आन्तरिक अकर्मण्यताको स्थिति र इच्छाशक्तिको अभावका साथै वैचारिक टाटपल्टाइलाई मात्र द्योतन गर्छ । यो यथार्थप्रति गम्भीर नहुने हो भने, कार्यकर्ताको मानसिकताको ठीक ढङ्गले विश्लेषण र संश्लेषण नगर्ने हो भने पहिरो जानबाट रोक्न सकिने स्थिति हुँदैन । नेपाली क्रान्तिप्रति गद्दारी गर्ने र नयाँ जनवादी क्रान्तिबाट धेरै पर पुगेका प्रचण्डहरूप्रतिको मोह माओवादी आन्दोलनका लागि निकै घातक छ र हुन्छ भन्ने यथार्थलाई गम्भीरतापूर्वक लिई अहिलेको अवस्थामा सबैभन्दा नजिकको शक्ति विप्लव समूह भएकाले लाज नमानी उसित सहकार्य र एकताको प्रयास गर्नुपर्छ । यसमा दुवै समूहका इमानदार र क्रान्तिकारी नेता तथा कार्यकर्ताले पहल गर्नु आवश्यक छ । यसैमा पार्टी र सिङ्गो माओवादी आन्दोलनको हित छ ।

०००
साभार - www.thenextfront.com

===========================


ड्रपबक्समा राखेको एउटा चिठी

Baral NPऋषिराज बराल
मित्रहरू !
प्रचण्डले क्रान्तिप्रति गद्दारी गरे भन्ने निष्कर्षका साथ मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा हामीले २०६९ सालमा प्रचण्ड समूहका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनायौं l केही दिन चहलपहल गरे पनि फेरि भित्रभित्रै सरकारमा जाने रकमी खेलभित्र कार्यकर्ता अल्मल्याउन थालेपछि बिस्तारै दुई लाइन सङ्घर्ष सुरु भयो l २०७० सालमा पोखराको केन्द्रीय समितिको विस्तारित बैठकसम्म पुग्दा आन्तरिक अन्तर्विरोध खुलेरै देखापर्यो l त्यस बैठकमा कडाइका साथ प्रस्तुत हुने अनिल शर्मा, ऋषिराज बरालहरू पार्टी कारबाहीको पहिलो निसाना बने l अनिल कमरेडलाई जिम्मवारीविहीन बनाएर कार्यालयमा राखियो र बराललाई The Next Front मा पार्टी नीतिविरूद्ध लेखेको भनी एक शब्द पनि नसोधी सार्वजनिक रूपमै चरित्र हत्या गरियो l मैले लेखेको टिप्पणी यस्तो थियो :

Before the CC meeting some of the senior members, who used to project themselves close to General Secretary were pleading for the participation in the CA election. Those who were pleading for the participation in the CA election, have come out from the dark cavern. This meeting has brought them in the daylight. This decision has done a great damage also for them, who were in the position to register the party in the Election Commission. Not only this, the dirty game of party re-unification, played in the closed room, also has ended. The revolutionaries have got victory over such bad tendencies.

सरल र सहज किसिमले मिलाउन सकिमे कुरालाई योजनाबद्ध किसिमले जटिल बनाइयो l पोखरा बैठकको निर्णयबाट आत्तिएकाहरूले ममाथि बन्चरो प्रहार गरे l कारबाही गर्ने यस्तो हुकुमी शैलीप्रति सहमत नभएकाले म कुनै पनि उत्तर दिने पक्षमा थिइन l दिनैपरे यस किसिमको दिन्छु भनेर लेखेको, तर त्यतिबेर सुरक्षित राखेको यो प्रतिक्रियालाई अब बाहिर ल्याउने समय भएको छ भन्ने मलाई लागेको छ l यो आलेख आफैंमा एउटा ऐतिहासिक साक्ष्य हो भन्ने पनि मेरो ठहर छ । यसलाई मैले ”ड्रपबक्समा राखेको एउटा चिठी” को संज्ञा दिएको छु l
=================================================================================================================================================================================
श्रद्धेय अध्यक्ष तथा पिबिएम कमरेडहरू !
हृदयदेखिकै अभिवादन
युद्धका भीषण मोर्चाहरू लडेर पनि ”अयोग्य लडाकु” को ट्याग भिर्न बाध्य जनयुद्धको एउटा वीर योद्धाका झैँ पार्टी जीवनको करिब २५ बर्से इतिहासमा वैकल्पिक केन्द्रीय सदस्यको ट्याग भिर्न ”योग्य” मैले अहिले तपाईंहरूबाट एउटा गजबको पुरस्कार पाएको छु, यसका लागि सर्वप्रथम म तपाईं कमरेडहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । सानातिना पुरस्कार त युद्धकालमा पनि पाएको थिएँ, तर यो पुरस्कार ऐतिहासिक नै छ । देशी-विदेशी प्रतिक्रियावादीहरू र सबैखाले अवसरवादका विरुद्ध हिजोका दिनदेखि लडेको लडाइं, अझ यताका दिनमा The Next Front मार्फत नेपाली जनताको मुक्तिका लागि क्रान्तिकारीहरूले गरेको सङ्घर्षलाई विश्वव्यापी गरेवापत, मेरो योगदानको उचित मूल्यांकन गर्दै श्रद्धेय पिबिएम कमरेडहरूले मलाई जुन सुन्दर पुरस्कार दिनु भएको छ, यसको जति बखान गरे पनि कम हुन्छ । यसका लागि म तपाईंहरूप्रति हृदयदेखि नै नतमस्तक छु । यस ‘पावन’ घडीमा म तपाईंहरूको उत्तरोत्तर प्रगति तथा समृद्धिको कामना पनि गर्दछु ।

अहिले भित्र, बाहिर चर्चा छ The Next Front को . र, चर्चा छ लेख्दै गरेको यो पात्रको पनि । असहिष्णुताको पोतो बोकेर अहिले उज्यालोमाथि कालो पोत्न खोजिएको छ । खुलेर भन्नुपर्दा केही व्यक्तिहरूले मेरा/हाम्रा विरुद्ध मोर्चा खोलेका छन्, तिनले मेराविरुद्ध अहिले बन्चरो नै उझ्याएका छन्। गजबको फैसला सुनाइएको छ ममाथि : ”दि नेक्स्ट फ्रन्टमा पार्टीको नीति र नेतृत्वमाथि अनर्गल प्रचार गरेको हुनाले ऋषिराज बराललाई दण्डको कसुरदार ठहर्याइएको छ ।”

दुख लाग्ने तर, एउटा रमाइलो कुरा । यस्तो निर्णयमा हस्ताक्षर गर्ने एकजना कमरेडलाई कसरी यस्तो निर्णय गर्नुभयो भनेर सोधेँ । मैले यस्तो जवाफ पाएँ : ”आफूले त्यो रचनाको त के कुरा वेबसाइट पनि आजसम्म हेरेको छैन, के लेखिएको छ, त्यो पनि थाहा छैन, यस्तो छ रे भन्ने मात्र सुनेको हुँ।” गजब अनुभूति हुन्छ : कसले गर्छ, यस्तो निर्णय, कसरी हुन्छ पिबिका नाममा यस्ता निर्णयहरू ! यही नै हो त हामीले भन्ने गरेको लेनिनवादी संगठनात्मक पद्धति ? l पटक्कै होइन । यहाँ मार्क्सवादलाई टाउको तल र खुट्टा माथि पारेर झुन्ड्याइएको छ ।
निकै उत्साहित थिएँ म पोखरा बैठकपछि । बैठकको स्पिरिटलाई जस्ताको तस्तै लेखें-त्यतिसम्म लेख्नु उचित हुन्छ भनेर, सबै कुरा रहस्यमय किसिमले पत्रिकामा आइसकेकै थिए । अलिअलि अंग्रेजीमा ज्ञान भएकाले त्यसलाई अंग्रेजीमा लेखेर अन्तराष्ट्रियकरण गरेँ The Next Front मार्फत । पार्टीकै माध्यमहरू पार्टीकै विरुद्ध लागेको देखिएकाले त्यसको पनि ‘चौतारी’ स्तम्भमार्फत एकाध टिप्पणी गरेको थिएँ । वास्तवमा यो निहुँ मात्र थियो । भयग्रस्त मानसिकताको द्योतक हो ममाथिको प्रहार, यो पोखरा बैठकको प्रतिशोध थियो । यो पराजित र कुण्ठाग्रस्त मानसिकताको परिचायक थियो । पार्टीभित्र कसरी सुदृढ एकता कायम गर्ने भन्दा पनि कसरी प्रतिशोध लिने भन्ने भावना प्रबल बनेपछि चौतर्फी भद्रगोल उत्पन्न हुनु स्वाभाविक हुन्छ ।

वैचारिक सङ्घर्ष, बहस र छलफलका ढोका बन्द गरेर र यसप्रति डण्डा बर्साएर धेरै दिनसम्म सत्यबाट मान्छेलाई विमुख गराउन सकिदैन । हुकुमी शासन र सामन्तवादका विरुद्ध हामी हिजोदेखि नै लड्दै आएका हौँ । कम्युनिस्ट आन्दोलन नयाँ सामन्तहरू जन्माउने कारखाना होइन र हुन सक्तैन । ऋषिराज बराल सङ्घर्षको आफ्नै इतिहास निर्माण गरेर यहाँसम्म आइपुगेको हो । ऊ आफ्नै क्षमता र आत्मसङ्घर्षले उभिएको मान्छे हो, कसैले टीका लगाएर र टुप्पी समातेर भर्याङ चढाएको मान्छे होइन । क्रान्तिका लागि लड्ने/मर्ने हो, कसैको दयाको पात्र बन्ने अथवा गुलामी गर्ने संस्कृति बरालसित कहिल्यै रहेन र हुने पनि छैन । दासत्व संस्कृतिमा रमाउनेहरू आफू पनि त्यही गर्छन् र अरूबाट पनि त्यसैको आशा गर्छन् । गलत कुरालाई सही भनेर, आत्मस्वाभिमानलाई बन्धक राखेर शीर निहुराएर हिंड्नु भनेको एकहिसाबले मर्नु हो । मरेको छाती लिएर हिंड्नुको के अर्थ ! अनुशासनको डन्डा लगाएर कसैमाथि धावा बोल्न सकिएला, तर उसको विचारलाई धस्त पार्न सकिने छैन । मान्छेलाई बोल्न पनि नदिई गरिएका हुकुमी फैसला मान्य हुनसक्तैन र छैन पनि । प्रोत्साहनका दुई शब्द व्यक्त गर्न नसक्नेहरूलाई प्रताडित गर्ने अधिकार पनि छैन । पार्टीले ऊर्जा दिने हो, पीडा होइन । नेतृत्त्वले उत्प्रेरणा दिने हो, प्रतिशोध लिने होइन ।

पोखरा बैठकको निर्णयले थुप्रैलाई आतंकित तुल्याएको छ । कायरहरूको मुटुले ढ्यांग्रो ठोकेको छ । तिनीहरू जनयुद्ध पदावलीदेखि पनि आतंकित हुनथालेका छन् । अहिलेको लडाइँ यही पोखरा बैठकको सेरोफेरोमा केन्द्रित छ । पोखरा बैठकको स्पिरिटभन्दा बाहिर गएर आफूले कतै लेखेको र बोलेको छैन र त्यो प्रतिबद्धताबाट आफू विचलित हुनेवाला पनि छैन । वास्तवमा ती कार्यकर्ता र नेताहरू जो पोखरा बैठकको निर्णयमा दृढताका साथ उभिएका छन्, तिनलाई तर्साउनु र आतंकित पार्नु अहिले एक थरीको धन्धा नै भएको छ । पोखरा बैठकपछि कतिपयहरू अमुकअमुक ”उग्रपन्थीहरू” लाई ठीक पार्नुपर्छ भनेर नामसूची नै लिएर हिंडेका छन् भन्ने कुरा पनि चर्चाको विषय बनेको छ । हामी सबैलाई थाहा भएको कुरा हो–क्रान्ति र मुक्तिको कुरा गर्नेहरू संसोधनवादीहरूका दृष्टिमा सदैव उग्रपन्थी ठहरिन्छन् ।

जनयुद्ध पदावलीको उच्चारण गर्नु पनि अपराध हुन थालेको छ आजभोलि । कसैलाई चाँहि छाडा साँढे जसरी छोड्ने र कसैलाई चाहिं छिसिक्क पनि बोल्न नदिने तानासाही प्रवृत्ति यतिबेर हामीकहाँ हाबी हुनथालेको छ । पार्टिका माध्यमहरू एकपछि अर्को बन्द गरेर र भएकाहरू पनि लथालिङ्ग पारेर हाइसन्चोमा सुतेकाहरू क्रान्तिकारी कार्यदिशाको पक्षमा उभिएका माध्यमहरूलाई एकएक बहाना बनाएर बन्द गर्न चाहन्छन् भन्ने कुरा प्रस्ट छ । अहिले ‘दि नेक्स्ट फ्रन्ट’ र बराल(हरू) माथिको प्रहार यसैको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । ‘दि नेक्स्ट फ्रन्ट’ माथि मात्र होइन, अरू माध्यमहरूलाई पनि आतंकित पार्ने दुष्प्रयास आरम्भ भइसकेको कुरा यताका घटना-सन्दर्भहरूले देखाएका छन् । हामीसित भएका माध्यमहरूलाई व्यवस्थित गरेर योजनाबद्धताका साथ कसरी विरोधीहरूविरुद्ध जुध्ने र पार्टीको नीति, योजना र कार्यक्रमहरूलाई सहयोग पुर्याउनेमा भन्दा कोटरीवादमा खेल्ने र रमाउने आदत बसिसकेपछि असहिष्णुता र निषेधात्मकताबाहेक दिलदिमागमा अरू केही आउँदैन । अहिले भएको यही हो ।

केही व्यक्तिहरू हीनत्वभाव र कुण्ठाले आक्रान्त हुन्छन्, ती बुद्धिजीवी-फोबियाग्रस्त हुन्छन् । ती बौद्धिक बहस-छलफल र अध्यन-चिन्तनबाट संत्रस्त्र हुन्छन् र आफ्ना कमजोरी र सीमाहरू-अनुभववाद, व्यवहारवाद र अकर्मण्यतालाई ढाकछोप गर्न हैसियतको डण्डा प्रयोग गरेर थर्काउने र तर्साउने गर्छन् । नेता हुनुको अहम् त हुन्छ उनीहरूमा, विगतको एउटा बिम्ब पनि हुन्छ, तर भित्र खोक्रो भइसकेको हुन्छ र ती हरहमेसा आतंकित मानसिकतामा हुन्छन् । यो एउटा सार्वभौम वैचारिक प्रश्न हो र यसबाट हाम्रो आन्दोलन असंपृक्त छैन ।

विचार र विवेकको तहबाट भन्दा आक्रोश, कुण्ठा र बदलाभावको तहबाट आएका एकलौटी फरमानहरूप्रति प्रश्न उठ्नु स्वाभाविक छ । कम्युनिस्ट आन्दोलन कसैको मौजा होइन र नेतृत्त्व पनि कसैको बपौती होइन । समयले सबैको सफलता र असफलताको हिसाबकिताब राख्दैआएको छ र भोलि पनि राख्नेछ । कोटरीको घेराबन्दीमा रमाउन थालेपछि इतिहास मात्र बाँकी रहन्छ भन्ने कुराको हेक्का राख्नु आवश्यक छ । इतिहासले मात्र पुग्दो रहेनछ । चुनौती त वर्तमानसित छ । प्राविधिक निर्णय स्वीकार्नु एउटा कुरा हो र श्रद्धा र आदरभाव अर्को कुरा हो । पार्टीमा रहेका सबै किसिमका क्षमताहरूलाई वैज्ञानिक किसिमले व्यवस्थित गरी क्रान्तिमा लगाउने भन्ने चिन्ता र चिन्तनले भन्दा आफ्नो स्थान गुम्ने हो कि भन्ने भयले आक्रान्त भएपछि मान्छेलाई आफ्नै छायाँले पनि आतंकित तुल्याउदो रहेछ । कुण्ठा, हीनत्वभाव र प्रतिशोधी मानसिकता र हुकुमी चिन्तनले ग्रस्त मान्छेहरूले कसरी क्रान्तिको नेतृत्त्व गर्न सक्छन् ! मनोविज्ञान खल्बलिएपछि र विश्वासका आधारहरू भत्किएपछि गाह्रो हुने रहेछ श्रद्धाको आयाम विस्तार हुन ।

पार्टीको सातौँ महाधिवेशपछि मैले एउटा लेख लेखेको थिएँ: ”महाधिवेशन : उत्साहहीन निष्कर्ष” । यो पनि त्यतिबेर निकै चर्चाको विषय बनेको थियो । यसलाई लिएर पार्टीभित्र केहीले प्रश्न उठाएका थिए भन्ने पनि सुनेको थिएँ । मैले प्रस्टताका साथ भनेको थिएँ :
”दीर्घकालीन जनयुद्ध र युवाहरूको सन्दर्भ आउने बित्तिकै आतङ्कित हुने प्रवृत्तिले आगामी दिनमा कसरी आन्दोलनको अगुवाइ गर्न सक्छ भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ ।…’प्रस्टताका साथ भन्नुपर्दा महाधिवेशन एउटा औपचारिकता पूरा गरेर समाप्त भएको छ । यस महाधिवेशनले कार्यकर्तामा जुन किसिमको ऊर्जा र उत्साह प्रदान गर्नुपर्थ्यो, त्यो हुनसकेन l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन । जनवादी केन्द्रीयताको अर्थ अलिअलि त हामीलाई पनि थाहा छ । यसैका नाममा धैरैपल्ट हामी प्रचण्डसित लडेका हौँ । पार्टीलाई क्रान्तिकारी निरन्तरता दिने हो भन्ने थुप्रै कुरामा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउनु आवश्यक छ । अण्डाको ठाउँमा माटाका डल्ला राखेर जति ओथारो बसे पनि चल्ला निस्कने स्थिति हुँदैन ।”

मैले प्रस्टताका साथ के पनि भनेको थिएँ भनें :
”नयाँ पार्टी अब ”‘दीर्घकालीन जनयुद्ध’ र ‘जनयुद्धको जगमा जनविद्रोह” मा विभाजित भएको छ र यसलाई उमेरगत राजनीतिको परिणाम मात्र ठान्नु वा न्यूनीकरण गर्नु भूल मात्र हुनजान्छ । अहिलेको अवस्थामा नेतृत्वको उपल्लो पङ्क्तिको विकल्प छैन । तर सम्मान र विश्वास फरकफरक कुरा हुन् । विश्वासको अर्थ शङ्का पनि हो । नयाँ ढङ्गको पार्टी पुरानै ढङ्गले चल्न गारो छ भन्ने कुरालाई हाम्रा श्रद्धेय कमरेडहरूले गम्भीरतापूर्वक लिनु चाहिँ आवश्यक छ ।”

यहाँसम्म आइपुग्दा मैले उठाएका प्रश्नहरू सही थिए भन्ने कुरा समयले पुष्टि गरिसकेको छ । पोखरा बैठकपछि उपल्लो तहका नेताहरूले आफैंले आफ्नो सम्मानका आधारहरू घटाउंदैगएका छन् l हामी अलग हुनुको सार्थकतालाई पुष्टि गर्ने हो भने अब नयाँ किसिमले सोच्नु जरूरी छ । हामीले नयाँ पार्टीको स्वरूप त दियौँ, तर ‘प्रचण्ड मनासिकता’ बाट भने मुक्त हुनसकेनौं । कार्यकर्ताको योग्यता, क्षमता र क्रियाशीलताका आधारमा जिम्मेवारी दिनेभन्दा गुटवाद हाबी भयो l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन, तदर्थवादी चिन्तनबाट पार्टी अघि बढ्न सकेन । नेताहरू हरहमेसा आफ्नो कुर्सी गुम्ने हो कि भन्ने भयले आतंकित भएको स्थिति छ ।

जुन किसिमको परिदृश्य बैठकमा देखियो, त्यसबाट तपाईं बडे कमरेडहरू बैठकका निर्णयहरू लागु गर्न इमान्दार हुनुहोला भन्ने कुरामा मलाई त्यतिसारो विश्वास छैन । तर म दृढ छु । अहिले आफूलाई प्रदान गरिएको ”नयाँ” र ”ऐतिहासिक पुरस्कार” लाई शिक्षा, अनुभव र चुनौतीका रूपमा लिएर पोखरा बैठकका निर्णयको कार्यान्वयनको पक्षमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछु । साथै पार्टीलाई क्रान्तिकारी दिशामा एकताबद्धताका साथ अघि बढाउन बाधक तत्त्व कोटरीवाद र अकर्मण्यतावाद भएकाले यसका विरुद्ध अलिकति पनि विचलित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाइरहने दृढता पनि व्यक्त गर्दछु ।
साउन १०, २०७०
ऋषिराज बराल
वैकल्पिक केन्द्रीय सदस्य
नेकपा-माओवादी
साभार - www.thenextfront.com

No comments:

Post a Comment