Wednesday, March 4, 2015

किसुनजीले कर्ल गर्लसँग पनि सेक्स गरे, सेक्सभन्दा गफ धेरै दिए- विजयराज पाण्डे


bijaya-kumar


किसुनजीका विषयमा इमान्दारीपूर्वक लेख्न मलाई सजिलो छैन । किनभने म उनलाई मन पराउँछु । जब पत्रकार कुनै नेताप्रति व्यक्तिगत रुपले आशक्त हुन्छ, उसको लेखनी बस्तुगत रहन सक्दैन ।
किसुनजीका विषयमा म कहिल्यै वस्तुगत हुन चाहिनँ, भइनँ र त्यो तथ्य लुकाइनँ पनि ।
मार्क टलीजस्ता विश्वस्तरीय पत्रकारले लेखेका छन्, एक पत्रकारका रुपमा मलाई राम्ररी थाहा छ, कुनै नेताविशेषका प्रति मैले कुनै अनुराग वा द्वेष राख्नुहुन्न । तर म यो स्वीकार गर्नबाट आफूलाई रोक्न सक्दिनँ, दक्षिण एसियाली एक विलक्षण नेता कृष्णप्रसाद भट्टराईलाई काठमाण्डुका मतदाताले निर्वाचनमा अपमानित गरेको देखेर मेरो मन उदास भयो । गिरिजाबाबु र किसुनजीबारे मजाकमा टलीले भने, गिरिजाप्रसाद अल लेग नो हेड, माई फ्रेण्ड कृष्णप्रसाद अल हेड, नो लेग । कृष्णप्रसाद भट्टराई न मेरा निम्ति कुनै सन्त थिए , न म उनको तुलना कुनै महानायक वा महाराजासित गर्न चाहन्छु । सकसुनजीको निष्ठा राजनीतिबाट प्रभावित भएर उनीसँग नजिकिएको झुठो दाबी पनि गर्न चाहन्नँ ।
म नजिकिएँ किन भने त्यही टोलमा हुर्किएँ, जहाँ उनी बस्थे । बखुन्डोलको त्यो गल्लीमा बस्ने अरु सबै बच्चाले झैं मैले पनि सुरुमा उनलाई मामा भनेर बोलाउँथें । किसुनजी आफ्ना भान्जा ध्रुुवजीको छिंडी कोठामा बस्थे । कोठा पनि के भन्नु, दुलोजस्तो थियो । दिउँसै बत्ती बाल्नुपर्ने । सम्पत्तिको नाममा उनीसँग टिनको एउटा ट्याँका थियो । अनि एउटा छाता । माटोको एउटा सुराही । सुराहीको पानीमा माटोको गन्ध आउँथ्यो ।
किसुनजीको हातबाट एक पैसा गोटा पर्ने नरिवल पिपी पाएको सम्झन्छु । नरिवल पिपीबाट सुरु भएको संगत प्रधानमन्त्री निवासको ह्विस्की हुँदै बाडेगाउँ आश्रमको गंगाजल प्रसादसम्म अविच्छिन्न चल्यो ।
जीवनमा एकपटक पनि किसुनजीले मलाई यसो लेखिदिनुस्, लेखाइदिनुस् भनेनन् । मैले पनि मलाई यसोउसो गरिदिनुस् कहिल्यै भनिनँ । आश, त्रास र लोभबाट हमेसा मुक्त रहे कृष्णप्रसाद भट्टराईसँग मेरा सम्बन्धहरु । मैले किसुनजीबाट प्रेमबाहेक कुनै कुरा अपेक्षा गरिनँ । उनले मलाई प्रेमबाहेक केही दिएनन् । किसुनजीको पार्थिव शरीरमा शिर नुहाउँदा म बालखझैं भक्कनो छाडेर रोएँ ।
बखुन्डोलका केटाकेटीबीच त्यति लोकप्रिय किसुनजीसित टोलका ठूलाबडाहरुचाहिं अलि तर्केर हिंड्थे । उनीसँग बोलेको राजाका सिआइडीले देखे जागिर जान्छ भनेर तर्केका रे ।
राजाहरुको पञ्चायतमा किसुनजी १४ वर्ष जेल बसे । बिपी, पुष्पलाल लगायत नेता भारत निर्वासमा गए । गिरिजाबाबु नजाने कुरै भएन । किसुनजीले नेपाली माटोमै बसेर संघर्ष गर्ने कठोर मार्ग रोजे । उनलाई दरबारियाहरुले अराष्ट्रिय तत्व घोषित गरे । २०४६ मा प्रजातन्त्र पुनस्र्थापित भएपछि केही वामपन्थीले उनलाई विदेशी दलाल भने । तर देहावसानको केही वर्षपछि किसुनजीले तिनै दरबारिया र बामपन्थीबाट महान राष्ट्रवादीको सर्टिफिकेट पाए ।
निरन्तर फेरिँदै जाने यी उपाधिसित किसुनजीलाई कुनै मतलब थिएन । न उनी कसैले विदेशी दलाल भन्दा फिस्स परे, न कसैले राष्ट्रवादी बिल्ला टक्र्याउँदा मख्ख भए ।
किसुनजी आफू भगवानबाहेक कसैप्रति उत्तरदायी नरहेको बताउँथे । मेरो जीवन र आयु मबाट होइन, परमात्मा स्वयंबाट निर्धारित छ । ममा भएका कमीकमजोरी मात्र मेरा हुन् । किसुनजीको जीवनलाई गहिरिएर हेर्ने हो भने उनलाई बलियो प्रभाव परेको विषय अध्यात्म नै रहेछ । मृत्युपूर्वका दुईतीन वर्षहरुमा मसँग कयौंपटक भने, अब म सब थोकबाट मुक्ति चाहन्छु । मरेपछि त जो कोही पनि मुक्त हुन्छ, किसुनजी जीवित छँदै मुक्ति चाहन्थे । त्यसैले त मर्ने बेलामा समेत उनको मुखबाट मुस्कान हराएन । उनलाई थाहा थियो, जीवन एक नाटक हो । नाटकका लागि भगवानले जजसजसको जेजे रोल निर्धारण गरेका छन्, त्यसैलाई सबले राम्ररी निभाउनुपर्छ । किसुनजीले आफ्नो रोल खुसीखुसी निभाए ।
चिकित्सक भरत रावत भन्थे, शरीरमा ठूलो पीडा छँदाछँदै मुहारमा मुस्कान ल्याउन सक्ने दुर्लभ बिरामी हुन् किसुनजी । आफूले संगत गरेका नेतामा किसुनजी मलाई सबैभन्दा जीवन्त लागे । अराजताको हदसम्म स्वस्फुर्त मानवीय । आफ्नो मुल कर्तव्यमा बाहेक किसुनजी अरु कुनै कुरामा गम्भीर भएनन् ।
नेपालका अधिकांश ठूला मान्छे आफ्नो कर्तव्यपालनमा हल्काफुल्का हुन्छन्, बाँकी सबथोकमा गम्भीर । किसुनजी चाहिं कर्तव्य र निष्ठामा गम्भीर, बाँकी सबथोकमा हल्ला र मजाकिया । हास्यरस किसुनजीको अभिभाज्य अंग थियो ।
विजयबाबु सेन्स अफ ह्युमरको सहारा नभएको भए, यत्तिका वर्ष, यति धेरै अन्याय सहेर कसरी बाँच्थें र ? , मैले राजाहरुको के बिगारेको थिएँ, त्यत्तिका वर्ष जेल कोचिदिए । राजाहरुसित लड्दालड्दा प्रजातन्त्र आएपछि आफ्नै साथीहरुले छुरा घोपे । त्यो पनि सहें । आफैंले बनाएको पार्टीबाट चुपचाप अलग भएँ । आफ्नैहरुसित पनि के लडाइँझगडा गर्नु भनेर पन्छिएँ ।
कहिलेकाहीं लाग्छ, नेपालजस्तो ठाउँमा इमान्दार र निष्ठावान मानिसले जुन दुःख पाउँछ, त्यसलाई हल्का गर्न या ऊ पागल हुनुपर्छ, या त जँड्याहा या हास्यरसी जोक्कर ।
किसुनजी आफ्ना वास्तविक र काल्पनिक दुवैथरि कमजोरीप्रति आफैं ठट्टा गर्ने आत्मबल राख्थे । कहिलेकाहीं आफ्ना इनर सर्कलमा सेक्सका विषयमा रस लिईलिई चर्चा गर्थे । प्रदिप गिरीले एक संस्मरणमा भनेका छन्, मैले साँचो अर्थमा महान मानेका प्रेमीहरु पनि फरक खालका छन्, गान्थी, अब्रामह लिंकन र कृष्णप्रसाद भट्टराई । एकपटक जेलमा छँदा मैले उहाँलाई सोधें कति स्त्रीसँग तपाईंको सम्बन्ध भयो ? उहाँले भन्नुभयो, धेरैसँग पो भयो त । म सभामुख छँदा थुप्रै कल गर्लसँग पनि गएको छु । किसुनजीले वेश्यागमनको सौन्दयर्दात्मक पक्षबारे मलाई भन्नुभयो । उहाँले उनीहरुलाई वेश्याका रुपमा नमानेर प्रेमिकाका रुपमा सम्मान गर्नुभयो । मलाई लाग्यो प्रेम सम्मानको अर्को नाम हो । किसुनजीले व्यक्तिगत सम्बन्ध र प्रेमिकाबारे सार्वजनिक रुपमा बोल्न कहिल्यै रुचाउनुभएन । तर उहाँको सम्पूर्ण स्वभावमा उहाँको ठट्टा, निसंगता, वैराग्य, हाँसो हेर्नोस, कुनै कुण्ठा भएको मान्छे त्यस्तो ठट्टा र रमाइलो गर्न सक्छ ?
तर अहिलेका नेताहरु वास्तविक अर्थमा प्रेमी नभएकाले नै उनीहरुले समाजमा हिंसा र पाखण्डतालाई प्रोत्साहन दिएका छन् ।
सत्ताभोगीहरुले अलिकति प्रेम गरे, अलिकति उपन्यास पढे, अलिकति संगीत सुने हाम्रो राजनीतिक सुध्रिने थियो ।
प्रदिप गिरीको संस्मरणको तुलनामा मेरो अनुभव अलि भिन्न छ । किसुनजीसँग सेक्सबारे बात मार्ने साहस मैले निकै पछि मात्र प्राप्त गरें । ती दिनहरुमा किसुनजीको जवानी बितिसकेको थियो ।
उनी सेक्सको बढाइचढाइ गफ मात्र दिने मान्छेजस्तो मलाई लाग्यो । आफूलाई बडा पेग छोटा मेम चाहिन्छ भन्ने खुसवन्त सिंहको गफजस्तै । खुसवन्त ज्यादै अनुशासित तरिकाले मदिरापान गर्थे । तर उनले लेखेको पढ्यो भने ठूलै जँड्याहा हुन् भन्ने भ्रम पर्छ ।
किसुनजीले एक दिन भने, हेर्नुस् बाबु जवानीमा धेरै मोज गरियो । तर आजभोलि खाटबाट उठ्न पनि सहारा चाहिन्छ । जो मानिस खुदै खडा हुन सक्दैन, उसको कसरी खडा होला ? यति पनि सोच्न नसक्ने पत्रकार छन, समाज छ । यति भनेर एकदिन रोकिए । फेरि अर्को मनले सोच्छु यस्ता हल्लाले मलाई फाइदा नै गरेको छ । ओछ्यानबाट मुस्किलले उठ्ने, राम्ररी हिंड्न पनि नसक्ने अवस्थामा पनि मलाई सेक्सका लागि योग्य त ठानिएको छ । किसुनजी अथेन्टिक मानिस भएकाले उनको ठट्टा र गम्भीरता दुवै सक्कली थिए । उनको क्रोध र मुस्कान दुवै असली थिए । असली थिए, त्यसैले आभायुक्त थिए । संसारमा आजभोलि अथेन्टिक मानिसको संख्या घट्दो छ । रबरले बनेका सिन्थेटिक मानिस बढ्दैछन् ।
जसले जता तन्कायो उतै तन्किने । अथेन्टिक मानिस त्यो हो जसको मनमा जेजस्ता भाव उत्पन्न हुन्छन् । ठीक त्यस्तै भंगिमा उसको मुहारमा झल्कन्छ । भाव मानिसको मनमा उत्पन्न हुन्छ । भंगिमा मुहारमा उत्पन्न हुने कुरा हो । अथेन्टिक मानिसको भाव र भंगिमा बीच कुनै विरोधाभास हुँदैन ।
प्राध्यापक डिपी भण्डारीको टिप्पणी छ, विशाल चिन्तन भएको कुनै पनि मानिसलाई संकीर्ण चिन्तन भएको समाजले बुझ्न सक्दैन । किसुनजीले भोग्नुपरेको राजनीतिक, सामाजिक र बौद्धिक कठिनाइ पनि त्यस्तै विरोधाभासपूर्ण अवस्थाको द्योतक हो । अबको ५० वर्षपछि नेपालमा जन्मनुपर्ने नेता किसुनजीको जन्म धेरै छिटो भएको हो । मेरो अग्रज पुस्ता र मेरै पुस्ताका केही पत्रकार र समीक्षकले जानेर नजानेर कृष्णप्रसाद भट्टराईलाई हमेसा जोकरका रुपमा प्रस्तुत गरे ।
किसुनजी जोक गर्थे, तर जोकर थिएनन् । समयले प्रमाणित गर्यो, किसुनजी होइन, असली जोकर त ती रहेछन् जसजसले किसुनजीलाई विदूषक प्रमाणित गर्ने प्रयास गरे । मलाई सन्तोष छ, नेपाली पत्रकारिताको पछिल्लो पुस्तामा । सम्झन्छु मनोज दाहाल, किरण भण्डारी, सुदीप श्रेष्ठजस्ता पत्रकारको पुस्तालाई जसले नेपाली इतिहासको त्यो अलौकिक धरोहरलाई आफूले चिन्ने कोसिस गर्यो र जनतालाई पनि चिनाउने प्रयास गर्यो । ८ पुस २०६८ शनिबारका दिन बिहानी मेरा निम्ति ठूलो खुसी लिएर आयो । नागरिक दैनिकमा किसुनजीको ठूलो मुस्कुराउँदो तस्वीर छापिएको थियो । मेरो आलेखलाई मुख्य समाचार बनाइएको रहेछ । मैले दिएको शीर्षकचाहिं अखबारले बदलिदिएको रहेछ । आफ्नो आलेखमा कसैले एक शब्द पनि मलाई नसोधी परिवर्तन गरेको म सहन गर्दिनँ भन्ने कुरा मैले काम गरेका सबै सम्पादकलाई थाहा छ । तर, त्यस दिन मैले दिएको शीर्षकको सट्टा जुन हेडलाइन राखिएको थियो, त्यो पढेर मेरा आँखा खुसीले रसाए । देखिने किसुनजी, नदेखिने किसुनजी । मेरो लेखको हेडालइन पायो भनेर म रोमाञ्चित भएको थिइनँ ।
एक अलौकिक व्यक्तित्वलाई नेपाली पत्रकारिताले यथोचित स्थान दिएको देखेर भावुक बनेको थिएँ ।
हेडलाइनमा आउँदैमा कुनै घटना वा मानिस ठूलो हुँदैन । सही मानिस, सही तरिकाले सही प्रसंगमा, सही शब्दका साथ हेडलाइनमा आयो भने पत्रकारिता स्वयं गौरवान्वित हुन्छ ।
शीर्षक राखेका रहेछन्, सन्तोष शर्माले । युवा पत्रकार सन्तोष शर्माले कति सहजतापूर्वक किसुनजीको जटिल व्यक्तित्वको अप्ठ्यारो गाँठो चार शब्दमा फुकालेर राखिदिए । म चमत्कृत भएँ ।
हो, किसुनजीभित्र दुईवटा मानिस एकैसाथ बस्थे । एउटा देखिन्थ्यो, अर्को देखिन्नथ्यो । राजनीतिक प्राणी कृष्णप्रसाद भट्टराई र अध्यात्मिक साधक वितरागी किसुनजी । यी दुई परस्पर विपरीत चरित्रले गर्दा उनीभित्र हमेसा भयानक द्वन्द्व थियो । हुन त हरेक मानिसभित्र एकैपटकमा दुई वा धेरै मानिस बस्छन् । सिद्ध सन्त अवस्थामा पुगेका एकाकार ज्ञानीबाहेक हरकोही मानिस पत्रपत्रमा विभाजित छ ।
धेरथोर मनतातो द्वन्द्व त हामी सबैभित्र छ । किसुनजीभित्र चाहिं त्यो द्वन्द्व पूर्ण विकसित अवस्थामा थियो । मनतातो होइन, उम्लिरहेको अवस्थामा । यो द्वन्द्वलाई देख्न वा बुझ्न सजिलो थिएन । एक राजनीतिक प्राणीका रुपमा किसुनजीको मनमा पनि कुनै आमनेता झैं राजनीतिक महत्वाकांक्षा थिए । तर यी महत्वकांक्षा पूर्तिका निम्ति उनी अरु नेताझैं जुनसुकै हदसम्म तल खसेर सम्झौता गर्न तयार थिएनन् ।
उनका निम्ति साध्य मात्र होइन, साधनको पवित्रताले पनि उत्तिकै महत्व राख्थ्यो । सत्ताका निम्ति उनी एक हदभन्दा तल ओर्लन कहिल्यै तयार भएनन् । न कुनै देशीका अगाडि, न विदेशीका अगाडि । सत्ताको लोभ नेता कृष्णप्रसाद भट्टराईको मनमा पनि थियो । तर भित्र रहेको आध्यात्मिक साधकले किसुनजीलाई एक हदभन्दा तल झर्न दिँदैनथ्यो । राजनीतिले झार्न खोजे पनि अध्यात्ले रोक्थ्यो । त्यसैले मनमा द्वन्द्व थियो । यो द्वन्द्वका कारण फरकफरक अवस्थामा किसुनजीका अलगअलग रुप देखिए । एकातिर राजासित समर्पर्ण नगर्ने आग्नेय चट्टानजस्तो कठोरता, अर्कातिर करुणा र त्यागको कोमलता । राजनीतिमा सन्तजस्ता र आध्यात्ममा राजीतिज्ञजस्ता देखिए किसुनजी । राजनीति र अध्यात्मवादबीचको द्वन्द्वमा किसुनजीभित्र रहेको राजनीतिक प्राणी मर्यो भनेको होइन, हार्यो भनेको मात्र हो । मरेको भए त किसुनजी यत्तिका वर्ष राजनीतिमा सक्रिय नै हुने थिएनन् ।
राजनीति उनका निम्ति कुनै रणनीति मात्र थिएन । उनको राजनीति निष्ठाबाट निःसृत थियो । यो निष्ठाको श्रोत आध्यात्मिक चेतना थियो । बडेबडे काँग्रेसी नेताहरु दरबारले दिएको कागजमा साइन गरेर राजाको जेलबाट छुटे । किसुनजीले त्यसो गर्नुसाटो जलै रोजे । यस्तो गर्ने आत्मबल उनलाई अध्यात्मले दिएको हो, राजनीतिक रणनीतिले होइन । आध्यात्मिक चेतना किसुनजीका निम्ति प्राथमिक थियो । रणनीति दाउपेच दोयम । त्यो नभएको भए गणेशमान सिंहले दिएको गाण्डिव बोकेर गिरिजाप्रसाद कोइरालासहित उनको अन्तरघाती समूहलाई उहिल्यै छिन्नभिन्न पारिदिन्थे भट्टराईले । त्यसपछि न बाँस रहन्थ्यो । न बज्थ्यो बाँसुरी । ०५१ मा किसुनजीले त्यो गरेको भए आज देश र काँग्रेस कसरी अगाडि बढ्थे भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
ल्याकत र साहस नभएर उनले गिरिजाबाबुलाई क्षमा गरेका होइनन् । यो आध्यात्मिक साधक राजा महाराजाहरुसित लड्न सक्थ्यो । तर आफैंले स्थापना गरेको पार्टीभित्र रडाको मच्चाउन सक्दैनथ्यो । त्यसैले अपमान र अन्तरघातको कालकुट विष पिएर राजनीतिबाट एक्लै किनारा भयो ।
विजयबाबु जीवन कहिलेकाहीं बडा कठोर विकल्पसहित प्रस्तुत हुन्छ । एक अंग्रेजी कथन छ, सिंक विद प्रिन्सिपल अर स्विम विद स्क्राउन्डल्स । सिद्धान्तसँगै डुब्ने या ठगहरुसित पौडेर ज्यान जोगाउने ? त्यस अवस्थामा तपाईं के रोज्नुहुन्छ किसुनजी ? दुवै विकल्पमा मेरो ज्यान जाने निश्चित छ । सिद्धान्तसित बसे डुबेर मरिहाल्छु । ठगहरुसित पौडेर ज्यान जोगाए अन्तरआत्माले मलाई बाँच्न दिँदैन । जे गरे पनि म मर्ने । सुनेर हामी दुई मस्त हाँस्यौं । त्यस अवस्थामा तपाईंचाहिं के गर्नुहुन्छ विजयबाबु ? तपाईंजस्तो मानिसलाई के ढाँट्नु । भगवान छन् कि छ्रनन् म यसै भन्न सक्दिनँ । तर ठगहरु पक्कै छन् । भगवानसँग मेरो भेट त मरेपछि होला । तर ठगहरुलाई त अहिल्यै, दिनहुँ नमर्दै बेहोर्नुपर्छ । म त उनीहरुसित पौडेर जोगाउँछु होला, किसुनजी ।
विजयबाबु, आफ्ना कमजोरीको इमान्दार स्वीकारभाव बलियो मानिसको प्रमाण हो । देहावसानपूर्वका चारपाँच वर्ष किसुनजी राजनीतबाट अलग रहे । त्यो समय किसुनजी देशको बदलिँदो यथार्थसित अपरिचित थिए । र्मनिरपेक्षता, संघीयता, र गणतन्त्रलाई उनले आयातित पोशाक भनेको वक्तव्य आयो । यो पक्का हो, किसुनजी संवैधानिक राजतन्त्रलाई हृदयबाटै स्विकार्थे । जनताको सर्वोच्चतालाई उनी राजाभन्दा माथि मान्थे ।
किसुनजी राजसंस्थाप्रति आस्थवान रहेपनि, पूर्वराजा ज्ञानेन्द्रले किसुनजीको देहावसानपछि एकपटक बाडेगाउँ आउने पाउकष्ट गरेनन् । दरबारले मरेका किसुनजीको कुनै उपादेयता देखेन होला । बाँचेका बेला राजाहरुले वर्षौं यो संवैधानिक राजतन्त्रवादीको नियति सम्झेर बेलाबेला घोत्लिन्छु म ।
सबथोक नियती हो, विजयबाबु , नियती । परमात्माले सबथोक लेखेर पठाएका छन् । आज पनि किसुनजीको कानमा प्रष्टै छ । मानिसको जीवनमा हरथोक पहिल्यै लेखिएका छन् । भने मानवीय प्रयासहरुको के मूल्य रह्यो त किसुनजी ?
जसको कर्ममा लेखिएको हुँदैन । उसले प्रयास पनि उल्टो दिशामा गर्छ । किसुनजीको यो भनाइसँग म पूरा सहमत हुन सक्दिन । हुन त मलाई पनि लाग्छ । कतिपय कुरा पूर्वजन्मको संस्कारले लेखिएर आउँछन् ।
पूर्वजन्म वा परमात्मा आदिमा विश्वास गर्नुहुन्न भने त्यसलाई माक्र्सवादी भाषामा वस्तुगत वातावरणीय परिस्थिति भन्दा फरक पर्दैन ।
कोही जन्दमै सुविधाजनक देशमा जन्मन्छ । कोहिचाहिं गरिब देशको पनि सबैभन्दा दरिद्र घरमा जन्म लिन पुग्छ यो किन ?
पुल्चोकमा ध्रुव भान्जाको छिंडीबाट किसुनजी शिवराम प्रसाईंको खुमलटार घर सरे । यसैबीच कविता भट्टराई किसुनजीको सहायक पदबाट बिदा भइन् र अमिता कपाली छिरिन् । किसुनजीजस्तो प्रज्ञावान र सभ्य मानिसको जीवनमा अमिताजस्तो कर्कशा र अपठित नारी आइन्, परमात्माको लीला । अमिताले राम्रो के गरिन भने किसुनजीको जीवनलाई नियमित बननाइन । मदिराबाट बूढालाई टाढा राखिन्, खानपान र स्वास्थ्यमा हेरचाह गरिन् । होइन भने अन्तर्घातका कारण चुनाव हारेपछिका दिनमा किसुनजी अध्याधिक पियक्कड भइसकेका थिए । कहिले त दिउँसै जिन खान्थे । यो मेरो जीन आयो भने मुख गनाउँदैन । अमिताले बडोनिमर्मतापूर्वक किसुनजीलाई मदिराबाट टाढा गराइन् । ह्विस्की उपहार दिए आएको एउटा मान्छेलाई खेद्दै अमिताले त्यसको सिसी नालीमा फालिदिई । अमिताले खराब पनि धेरै गरी । किसुनजीको जीवनका पछिल्ला दिनहरुमा उसले कतिपय पुराना मानिसलाई ढोका थुनिदिई । भेट्नै दिइनँ । किसुनजीका धेरै शुभचिन्तकले चित्त दुखाए ।
हुन त मृत्युपूर्वका दुईतीन वर्ष किसुनजी नितान्त एक्लै बस्न चाहन्थे । अमितासँग पनि मुस्किलले बोल्थे । कहिलेकाहीं त कयौं दिनसम्म बोलेनन् । अमिता मलाई भन्थी, तपाईं आइदिने गर्नुस् न । तपाईंलाई देखेर बोल्नुहुन्छ । म गइरहन नसक्ने । किसुनजी बाडेगाउँ आश्रम सरेपछि निकै टाढा पनि भयो । पछिल्ला वर्षहरुका दरबारले आफ्नो स्वार्थ निम्ति किसुनजीको उपयोग गर्न खोज्यो । उपयोग गरेजस्तो गरेर दुरुपयोग गर्न खोज्यो भन्नु यथार्थ हुनेछ । किसुनजीका निम्ति संवैधानिक राजतन्त्र आस्था थियो, दरबारका निम्ति किसुनजी राजनीतिक गोटी ।
दोश्रो जनआन्दोलनको दबाब बढ्दै गएपछि राजाले आफ्नो मन्त्रिपरिषद्को भारी किसुनजीको टाउकोमा हाल्ने दाउ गरे । पशुपतिभक्त महर्जनको अमितासित राम्रै सम्बन्ध थियो । राजाले त्यो माध्यम प्रयोग गरे भन्ने मेरो अनुमान छ । आन्दोलन चलिरहेको थियो, किसुनजी त्यसबेला शरदसिंह भण्डारीको घरमा बस्थे । आन्दोलन गतिमान भएपछि एक दिउँसो पूर्णबहादुर खड्काको फोन आयो उनी, दीपकुमार उपाध्याय, शरदसिंहजस्ता मानिस किसुनजीलाई भित्री मनबाटै सहयोग गर्थे ।
विजयजी बूढालाई मर्नेबेला बिगार्न थाले । प्रधानमन्त्री बनाउने प्रस्ताव आएको छ । बाहिर अवस्था कस्तो छ, किसुनजीलाई थाहा नै छैन । तपाईंले उहाँलाई सम्झाउनुपर्यो ।
मैले के सम्झाउने आफ्नो नेतालाई आफैं भन्नुस् न प्रधानमन्त्री नखानुस् भनेर । उहाँसँग हामी त्यसरी कहाँ कुरा गर्न सक्छौं र ? मैले आजसम्म किसुनजीलाई यो गर्नुस् र यो नगर्नुस् भनेर कहिल्यै भनेको छैन । यो पटक भन्नुस् । पूर्णबहादुर खड्काको फोन आएको केही घण्टापछि अमिताको फोन आयो । हस्याङफस्याङ गर्दै भनी, ‘लौन विजय के गर्ने ? किसुनजीलाई प्रधानमन्त्री दिने अफर आएको छ । बिहान पशुपतिभक्त महर्जन आएका थिए ।’ ‘अहिलेको अवस्थामा कुनै हालतमा हुँदैन अमिता । सिचुएसन ठीक छैन । उहाँ एक्लैले थाम्न सक्ने स्थिति छैन । किसुनजीको इतिहास बिग्रन्छ ।’ अमिताको तर्फबाट कुनै जवाफ आएन । घरमा आएको प्रधानमन्त्री पदलाई फर्काउन कसलाई मन लाग्छ र ? अमिता किसुनजीकी शुभचिन्तक थिई । कुनै बेला नेपाल विद्यार्थी संघकी कार्यकर्ता थिई । तर मानवजन्य लोभबाट मुक्त थिइन । म उसको अवस्था बुझ्न सक्थें अतः भनें, ‘फोन किसुनजीलाई देऊ ।’ कुन्नी किन हो अरुलाई जे जस्तो व्यवहार गरे पनि अमिता मसँग सरल ढंगले प्रस्तुत भई । ‘किसुनजीले साँच्चिकै मन पराउने मानिसहरुलाई मैले छेकेर छेक्न सक्छु र ?’ भन्थी । त्यस दिन पनि तुरुन्तै फोन दिई । ‘अरे बाफरेबाफ विजयबाबु कस्तो हुनुहुन्छ ? ह्वाट अ ज्वय टु लिसन यू । ‘म त ठीकै छु । तर तपाईं ठीक नहुन पनि सक्नुहुन्छ किसुनजी ।’ यो के भनेको विजयबाबु । किसुनजी गम्भीर स्वरमा बोले । ‘आजसम्म मैले तपाईंलाई कुनै राजनीतिक सल्लाह दिइनँ । आज धृष्टता गर्न चाहन्छु । यो खबतमा प्रधानमन्त्री पद खानुभयो भने तपाईंको इतिहासमा धब्बा लाग्नेछ । हामी पनि समाजमा मुख देखाउन लायक रहने छैनौं । राजनीतिक दललाई बाहिर सडकमा राखेर तपाईं प्रधानमन्त्री हुन दरबार नपस्नुस् । बरु राजालाई पनि सम्झाउनुस् । दलहरु पनि तपाईंको नेतृत्वमा आउँछन् भने बेग्लै कुरा हो । होइन भने नो नो एण्ड नो टु प पोष्ट अफ पीएम ।’
एकछिन उताबाट कुनै जवाफ आएन । त्यसपछि किसुनजीको प्रष्ट आवाज आयो । ‘आई गट योर प्याइन्ट’, विजयबाबु । तपाईंलाई भारतमुखी भन्ने आरोप लगाइन्छ, कसरी खण्डन गर्नुहुन्छ ? २०४८ तिरको कुरा । नेपाल टेलिभिजनकी रिपोर्टरले किसुनजीलाई प्रश्न गरी । ‘खण्डन किन गरौं ? भारतमुखी त हामी हुँदै हौं नि, जमिनको बनोट नै भारततिर ढल्किएको छ । नेपालका सबै नदीको प्रवाह अन्तमा भारततिरै पुग्छ । भएको कुरा किन खण्डन गरौं नानी ? त्यसपछि नेपाली कम्युनिष्ट पार्टीहरुलाई थप मसला के चाहियो र ? कृष्णप्रसाद भट्टराईको नाम अगाडि भामु विशेषण जोडिन थालिन थाल्यो । भारतमुखी कृष्णप्रसाद भट्टराई । २०४७ मा प्रधानमन्त्री भएपछि भारत भए किसुनजी । धेरै नेपाली प्रधानमन्त्री भारत गएका छन् । तर किसुनजीजस्तो स्वाभिमानसाथ कोही गएनन् होला । किसुनजीलाई राष्ट्रपति भवनमा राखिएको थियो । उनी बसेको कोठाबाहिर झण्डै साढे ६ फुट अग्लो अजंग जुँगा भएको पञ्जावी गार्ड बस्थ्यो । त्यसले लगाउने पगडीसमेत जोड्यो भने उसको उचाई झण्डै सात फिट हुन्थ्यो । ‘जिस कमरेमे आप के प्रधानमन्त्री है उस कमरेमे मैने दुनियाँको बढेबढे नेता देखे, पर भट्टराई जैसा कोही नहीं देखा ।’ क्युँ ? मैले सोधें । ‘ओ महात्मा गान्धीका असली बेटा है । अपने जुते कुख साफ कर्ता है ।’ किसुनजीले आफ्नो जुत्ता आफैं सफा गरेको देखेर ऊ निकै प्रभावित भएछ । किसुनजी त्यहाँ रहँदा भारतका कयौं नेता भेट्न आए । तीमध्ये भारत सरकारका दुई जना मन्त्रीले किसुनजीको खुट्टा छोएर अभिभावन गरेको सम्झन्छु । शरद यादव र मधु दण्डबते । त्यस दिन भारतीय मन्त्रीले मेरो खुट्टा छुँदा कुनै भारतीय पत्रकारले ध्यानै दिएनन् । तटर म सँग गएका मन्त्री देवेन्द्रराज जी वा साहनाजीले भारतीय प्रधानमन्त्रीको खुट्टा त्यसरी छोएको भए काठमाण्डुका पत्रकारले उनीहरुलाई जिउँदै जलाइदिने थिए । ‘किसुनजी तपाईंजस्तो कहलिएको भारतीय दलालको खुट्टा भारतका मन्त्रीले छुने, नेपालभित्र चाहिं कहलिएका राष्ट्रवादी नेताहरुलाई ‘रअ’ का इन्सपेक्टर र डिएसपीहरुले उठबस् गराउने, महाभारतको यो कस्तो लिला ?’ सुनेर किसुनजी यसरी हाँसे, सारा कोठा गुल्जार भयो । भ्रमण समाप्तिमा नेपाल र भारतका प्रधानमन्त्रीले विज्ञान भवनमा संयुक्त पत्रकार सम्मेलन गरे । किसुनजीपछि दिल्ली गएको कुनै प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसित त्यसरी संयुक्त पत्रकार सम्मेलन गरेनन् । आँटेनन् पनि होला । पत्रकार सम्मेलनमा मैले ‘भारतीय प्रधानमन्त्री विश्वनाथप्रसाद सिंहलाई साधें, ‘महामहिम प्रधानमन्त्री, अहिले जुन संयुक्त विज्ञप्ति निकालिएको छ, त्यसमा कुनै अप्रकाशित गोप्य धाराहरु त छैनन् ? डेढ सयभन्दा बढी पत्रकारले खचाखच त्यो प्रेस भेलामा मैले अलिक चर्को आवाज साथ बोलेको सुनेपछि प्रधानमन्त्री सिंहले मतिर तीखो दृष्टि फाल्दै कुटनीतिक जवाफ दिए । ‘भारत र नेपालबीच सम्बन्धमा मित्रता र सहयोगको खुला धाराबाहेक अर्को कुनै गोप्य धारा छैन ।’ म सन्तुष्ट भइनँ, फेरि सोधें, ‘महामहिम कृपया प्रश्नको सिधा उत्तर दिने प्रयास गर्नुस्, छ या छैन ?’ हलमा सन्नटा छायो, मेरा निम्ति स्पष्ट उत्तर जरुरी थियो । सन् १९६५ मा राजा महेन्द्रको पालामा भारतसँग मात्र नेपालले हतियार किन्ने गोप्य सम्झौता गरेको थियो । जसबारे वर्षौंसम्म नेपालमा कसैलाई थाहा भएन । पछि त्यो खारेज भयो, बेग्लै कुरा हो । भारतबाट काठमाण्डु फर्किएपछि हरेक नेताले दिल्लीमा गोप्य सम्झौता गरेर आएको भन्ने अनिवार्य चल्ने पृष्ठभूमिमा म किसुनजीलाई प्रष्ट उत्तरसाथ नेपाल फर्केको देख्न चाहन्थें । भारतीय प्रधानमन्त्रीले मतिर हेरेर प्रश्नजत्तिकै संक्षिप्त जवाफ दिए, नो । नेपाली प्रमण्डलको मुहारमा खुसीको लहर छायो । त्यसै पत्रकार सम्मेलनमा किसुनजीलाई एक भारतीय पत्रकारले सोधेको सम्झन्छु, ‘नेपाली सेनामा मधेसीको संख्या किन त्यति कम र पहाडेहरु किन त्यति धेरै ?’ किसुनजीले ठट्यौलीपारामा छेउमा रहेका भारतीय प्रधानमन्त्री विश्वनाथप्रताप सिंहतिर हेरेर उत्तर दिए, ‘यो प्रश्न त महामहिम भारतीय प्रधानमन्त्रीलाई पनि सोध्नुपर्छ, भारतीय सेनामा बिहारी किन त्यति कम र पञ्जावी त्यति धेरै ?’ उत्तर सुनेर विज्ञान भवन हाँसोले भरियो । यस्ता थिए किसुनजी । जो सार्वजनिक मञ्चमै भारतका प्रधानमन्त्रीसित राय बझाउने नैतिक शक्ति राख्थे । यस्ता किसुनजीलाई नेपालभित्र दरबारिया र केही कम्युनिष्टले वर्षौं भारतीय दलाल भनेर प्रचार गरे । किसुनजीलाई सारा जीवन मजाकको विषय बनाउने, १४ वर्ष जेल कोच्ने, क्षेत्र नम्बर–१ को निर्वाचन र उपनिर्वाचनमा हराउन लागे पुगेको गर्ने अनेकौं मान्छेले गणतन्त्र आएपछि किसुनजीलाई राष्ट्रवादको मसिहाका रुपमा मान्न थाले । हुनत मानिसले सत्यको दर्शन कहिल्यै नगर्नुभन्दा अबेरै गर्नु पनि बेस । मंथल होस् । किसुनजी दुईपटक प्रधानमन्त्री भए । पहिलो कार्यकालमा उनी शारीरिक र मानसिक दुवै रुपले पुरा फर्ममा थिए । वर्षदिनको निर्धारित समयमा निर्वाचन गराए, देशलाई संविधान दिए । ०४८ को चुनावमा नहारेको भए नेपालको राजनीति त्यो मार्गमा हिंड्ने थिएन, जुन बाटोमा हिंड्यो । दोश्रोपटक प्रधानमन्त्री हुँदा उनी धेरै गलिसेकका थिए । उनको स्मृति कमजोर हुँदै गएको थियो । त्यो कालखण्डमा उनी अमिता कपाली र नारायण खड्कामाथि धेरै आश्रित थिए । यो कार्यकालयमा मैले उनलाई मुस्किलले चारपटक भेटें । एकपटक चाहिं उनी हाम्रो घर आएका थिए, आफैं निम्ता मागेर ।
किसुनजी दोश्रोपटक आफ्नो ताकतले होइन, गिरिजाबाबुको कृपाले प्रधानमन्त्री भएका थिए । गिरिजाबाबुले पनि कुनै कृपा गरेका थिएनन् । आफ्नो चेहराले २०५६ को चुनाव नजित्ने भएपछि किसुनजीको मुहार रणनीतिक रुपमा अघि सारेका मात्र थिए । केही महिना किसुनजीलाई प्रधानमन्त्री खान दिए । पछि खोसे । किसुनजीले ‘१० दिन अरु बस्न दिनुस्, तय भइसकेको फ्रान्सको औपचारिक भ्रमण गरेर आउँछु’, भन्दा पनि मानेनन् । गिरिजाबाबुले काँग्रेसलाई चुनाव जिताउन किसुनजीलाई पोष्टरका रुपमा टाँसेका थिए । काम फत्ते भएपछि पोष्टर च्यातेर निकालिदिए । कर्म फर्कन्छ भन्छन् । गिरिजाबाबुको जीवनमा पनि फर्कियो । भारत र माओवादीले उनको मनमा गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति हुने पोष्टर टाँसेर अनेक काम गराए । काम फत्ते भएपछि च्यातेर फालिदिए । किसुनजीको देशावशान भएको खबर मैले बनारसमा सुनें । एउटा कन्फरेन्समा थिएँ । त्यहाँ मैले भनें, ‘बिडम्बना नै मान्नुपर्छ नेपालमा किसुनजीलाई कहिले अराष्ट्रिय तत्व, कहिले विदेशी दलाल, कहिले विदुशक भनियो । भन्नेमध्ये केही मानिस भारतीय गुप्तचरहरुबाट पनि दीक्षित र संरक्षित थिए भन्ने विस्तारै जगजाहेर हुँदै जानेछ ।’ मेरो कुरा केही भारतीय मित्रले रुचाएनन् । हाम्रै केहीले पनि अमिलो मुख लगाए । कन्फरेन्स नसकिँदै म एयरपोर्ट लागें । मलाई किसुनजीको अन्तिम दर्शन गर्न काठमाण्डु फर्किन अबेर हुँदै थियो ।
(पाण्डेको पुस्तक खुसीबाट)
- See more at: http://kathmandutoday.com/2015/03/83059.html#sthash.eB14emf2.dpuf

No comments:

Post a Comment