काँकरभिट्टामा अनौठा मानव
काँकरभिट्टामा कला–साहित्य उत्सव भव्य भयो । तर त्यो भव्यतालाई वैरागलाग्दो बनाउने एकथरी दु:खी, निरस र टीठलाग्दा मानिस भेटिए । कुन्नि, ती कतै आदिम गुफा खनिएर निकालिएका मानिस पो थिए कि ! अनुहार उदास, आँखा निम्जा, बोली निष्प्राण, चाल सुस्त, अभिनय लर्याङतर्याङ । छलफलको विषय, सन्दर्भ र तर्क जेसुकै होस्, त्यसको प्रतिक्रियास्वरुप तिनको भन्ने कुरा एउटै थियो । त्यो हो, देशमा एक सय पच्चीस जाति छन्, के ती जम्मैलाई राज्य बाँड्न मुलुकलाई एक सय पच्चीस टुक्रामा चिरा पार्ने ? आम्मामामामा, तिनको कुरो !
प्रत्येक जिउँदो मानिस एउटा बेग्लै सत्व हो । उसको आफ्नै पन हुन्छ । त्यसैले स्वभाव, शैली, विचार, तर्क, प्रस्तुति र हाउभाउमा उसमा केही न केही भिन्नता हुन्छ–हुन्छ । त्यो सूक्ष्म भिन्नतालाई स्थूल दृष्टिले खुट्याउन नसकिएला, तर सम्यक् दृष्टिले नियाल्न खोजे त्यो भिन्नता पक्कै देखिन्छ । त्यसैले त मानिस सुगा होइन । सुगा मानिसले रटेरटाएको एकाध गन्थनसिवाय केही जान्दैन र भन्दैन । तर मानिस जान्दछ र भन्छ । मानिसमा म पनि कोही हुँ भन्ने अहं हुन्छ । ऊ आँखा चिम्लेर अर्काको झुत्रे अस्तित्व बोकी हिँड्दैन । मानिसमा स्वप्नशीलता, कल्पनाशीलता र तर्कशीलता हुन्छ । । त्यसैले मानिस रटन्ते सुगाभन्दा फरक हुन्छ । तर काँकरभिट्टामा मलाई एकथरी मानिस कसोकसो सुगा पो भएछन् कि भन्ने लाग्यो । आँखा फारेर हेर्छु, स्वरुपमा ती मानिसैजस्ता देखिन्छन् । ध्यान दिएर सुन्छु, सारमा ती सुगाजस्ता लाग्छन् । बोल्ने अनेक छन्, बोली एक छ । स्वर अनेक छन्, सार एक छ । यस्तो लाग्यो मानौँ कोही ख्वामित्ले तिनलाई एउटा सूत्रवचन रटाएको छ । र भनेको छ, जगत्को पहिलो र अन्तिम सत्य यही हो । जीवनमा यही एउटा कुरा जाने पुग्छ, अरु केही जान्नु पर्दैन ।
ठाउँ र समय जुनसुकै होस्, भक्तको स्वभाव रामायणका हनुमानको जस्तै हो । अर्थात् जे जे राम, सो सो हनुमान । उठ् हनुमान, हनुमान उठ्छ । बस् हनुमान, हनुमान बस्छ । खा हनुमान, हनुमान खान्छ । ढाड थाप् हनुमान, हनुमान थाप्छ । घुँडा टेक् हनुमान, हनुमान टेक्छ । पैताला चाट् हनुमान, हनुमान चाट्छ । भोकै मर् हनुमान, हनुमान मर्छ । । हनुमानको आफ्नो भन्नु केही हुँदैन । न स्वभाव, न व्यक्तित्व, न गुण, न अभिरुचि, न रोजाइ, न इख, न आत्मसम्मान । हनुमान प्रश्न गर्दैन । हनुमान प्रतिवाद गर्दैन । हनुमान विमति राख्दैन । हनुमान मौन आज्ञापलक हो । हनुमान ख्वामित्को निर्जीव छायाँ हो । हनुमान स्वामीको खटनबाहक औजार हो । हनुमान दिमागविहीन बुख्याँचा हो ।
उत्सवमा भेटिएका ती मानिस जातीय पहिचानलाई जातीय कलहको बीउ ठान्दा रहेछन् । र, एक मुखले भन्दारहेछन्— होसियार, मुलुकमा रगतको खोला बग्ला ! समय कहाँबाट कहाँ पुगिसक्यो, काँकरभिट्टामा भेटिएका मानिस कतै अतीतमा अल्झिएर अप्रासङ्गिक र हास्यास्पद बन्न पुगेका रहेछन् । हो, देशमा जातिहरु धेरै छन् । यो विविधता देशको बिछट्टको शोभा हो । तर यो विविधतामा एकताका सूत्रहरुको सिर्जना गर्नु भने निकै कठिन काम हो । यो कठिन कामको गृहकार्य भइसकेको छ । संघीयतामा सबै जातिलाई बराबरी न्याय वितरण गर्ने धारणाको खाका कोरिइसकिएको छ । म सुन्छु, खाकामा सही धस्काउनेमा यी सुगारुपी मानिसका उपरवाले प्रभुजी पनि सामेल भएका छन् । खाका सुरक्षित छ, सही ताजै छ । खाका भन्छ— एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जातिलाई पहिचान दिन सकिन्छ । त्यसको नामबाट प्रदेशको नाम राख्न सकिन्छ । शर्त यति हो कि त्यस जातिको ऐतिहासिक, भौगोलिक, भाषिक, सांस्कृतिक आदि आधार हुनुपर्छ । र, त्यो आधारमा सामथ्र्यका चार योग्यता थपिनु पर्छ । बाँकी मझौला र साना जातिहरुलाई स्वायत्तता, आरक्षण, सकारात्मक विभेद, अग्राधिकार आदिको प्रबन्ध मिलाई अवसर, पहुँच र प्रतिनिधित्वको ग्यार्यान्टी गरिन्छ । कुरो प्रस्ट छ । देशलाई एक सय पच्चीस टुक्रामा चिरा पार्नु पर्दैन । संघीयता त बरु भावनात्मक रुपले टुक्रिएका अनेक समुदायहरुलाई समानता, सद्भाव र सहकार्यको सूत्रमा उनेर सहअस्तित्वको जग बसाल्ने जुक्ती पो हो । बुझे कुरो बढिया छ, नबुझे आँखा अगाडि अँध्यारै–अँध्यारो ।
सुगा–सुगा टाइपका यी मानवहरुलाई मैले सविनय हिजैमात्रको यो तथ्यको सम्झना गराउन खोजेँ । ‘ए हो र’ भनेझैँ गरी तिनले कन्चट कन्याए । र, यो प्रसङ्गलाई तत्काल बिर्सेर फेरि उही एक सय पच्चीस चिराको बासी सूत्र जप्न थाले । म जिल् परेँ । नबुझ्नेलाई बुझाउन सकिन्छ, बुझेर बुझ पचाउनेलाई के गर्न सकिन्छ ? यो बुझ पचाइमा भक्तिमार्गको हात छ । माथि राम छन्, तल हनुमान । माथि राम सोच्छ, तल हनुमान उङ्छ । माथि राम आफ्नो तुच्छ स्वार्थ पूरा गर्ने सूत्र कथ्छ, तल हनुमान सूत्र हात थाप्छ । अनि जोडतोडका साथ शुरु हुन्छ भक्तिभजन । राम भन् हनुमान— राम, राम प्रभुजी । जय भन् हनुमान— जय रामजीकी । रगतपच्छे टुक्रा भन् हनुमान— जय प्रभुवाणी । सामाजिक न्याय मुर्दावाद भन् हनुमान— जो आज्ञा श्रीरामजी । समानताको सपना नाश होस् भन् हनुमान— नाश होस् प्रभुजी ।
काँकरभिट्टामा उल्का देखियो । उल्का सुनियो । जान्न खसखस लाग्यो र परिचित एवं अपरिचित रैथानेहरुलाई सुटुक्क सोधेँ— कताका को हुन् यी आदिम मानव ? कुन धर्मका ? कुन सम्प्रदायका ? यिनका ख्वामित् को हुन् ? कसैका मुखबाट उत्तर आएन । प्रश्न सुनेर ती सशङ्कित भए । ती चङ्ख भए । र, तिनले ओठ टम्म जाम गरे । मानौँ यो भक्ति सम्प्रदाय र यसका ख्वामित्को चिनारी दिनुमा ठूलो खतरा छ ।
जान्न खोजेको कुरो नपाएर सुस्केरा हाल्दै म लागेँ आफ्नो गुँडतिर । निकै दिन बितेर गए । तैपनि उही उच्चाटलाग्दो सुगा रटानले मेरो मथिङ्गल पलपल कोपरिरहेछ ।
No comments:
Post a Comment