नेवार, किरात र गुरुङलाई अंग्रेजले किन्न खोजेका थिए
सुघौली सन्धिले जातिमा मनमुटाव ल्यायो
डा. इन्द्रबहादुर राई, साहित्यकार
भानुभक्त आजभन्दा दुईसय वर्षअघि जन्मिएका थिए । नेपाली जगतको स्थिति संकटकालीन थियो । त्यसताका मुख्य तीन ठूला शक्ति थिए । भारतमा अंग्रेज र रणजीत सिंहको शिख ठूला शक्तिका रुपमा थिए भने नेपाल खाल्डोमा पृथ्वीनारायण शाहको ठूलो शक्ति थियो । तीनमध्ये एक नेपाली शक्ति कायम रहेको थियो ।
भारतमा शिखलाई पराजित गरेपछि अझ सशक्त भएका अंग्रेजहरुले सिंगो नेपाल नै निमिट्यान्न पार्ने रणनीति तयार गरेका थिए
बंगालका नवाब सिराजुदौलाका सेनापति मिरजाफरलाई रातारात किनेझैं नेपाल खाल्डो हत्याउन अंग्रेजहरुले नेवार किरात र गुरुङहरुलाई एकाएक प्रलोभन अनि निन्दा गराएर किन्ने भरमग्दुर प्रयास गरेका थिए । तर, यीमध्ये कुनै जातले पनि अंग्रेजहरुको साथ दिएनन् । त्यसपछि अंग्रेज र नेपालमाझ युद्ध भएको थियो ।
अंग्रेजहरुले नेपाललाई पराजित गरेपछि १८१६ मा सुघौली सन्धी भएको थियो । तर, ८ वर्षसम्म नेपालले सम्झौतामा हस्ताक्षर गरेन । पछि घरेलु विवादका कारणले मात्रै सहीछाप गरेको थियो । यसै सन्धिले जातिमा मनमुटाव, नैराश्यता र उदासीनता देखा पर्न थाल्यो ।
जातिको पुरानो गौरबलाई फर्काइल्याउन पुनः झक्झक्याउन आदिकवि भानुभक्त आचार्यले रामायण रचेका थिए । वास्तवमा त्यसताका रामायणबाट जनसाधारणले नैतिक, वैचारिक, सामाजिक पाठ पढेपछि आएको जनक्रान्तिले गर्दा नै जातिलाई एकसय वर्ष अगाडि पुर्याइदिएको थियो । भानुभक्तले रामायण नरचिदिएको भए आज पनि हाम्रो जाति एक सय वर्ष पछि हुने थियो ।
हाम्रा अभिभावक, कलाकार र राजनेताहरुकै बलबुँताले गर्दा हाम्रो जाति अघि बढिरहेको छ । भानुभक्तबाट शिक्षा लिएर हामीले समाजकै हितको निम्ति लेख्नुपर्छ । साहित्यकारहरु साहित्यदेखि अलग्गिए केही गर्न नसक्ने अवस्थामा पुग्छन् । पुराना इतिहासलाई भुल्यौं भने हाम्रो आफ्नै इतिहास भुलिपठाउने छौं । इतिहासकारहरुले सबै घटनालाई लेखिदिएका छन्, जसलाई हामीले अध्ययन गर्न जरुरी छ ।
दार्जीलिङमा हामी बिजेताका रुपमा आएका हौं
सन् १७८८ सालमा नेपाल र सिक्किममाझ युद्ध भएको थियो । नेपाल सेनाका नायक पूर्ण आले इलामबाट गोरखा सेना लिएर पशुपति, सीमाना, सुकेपोखरी, घुम हुँदै दार्जीलिङ आइपुगे । त्यसताका सिक्किमको राजधानी फालुट-सन्दकपुर नजिक राप्देन्सी थियो । सेना लिएर पूर्ण आले रेलिङ वस्ती, कर्मी र च्याखुसम्म पुगे । यसरी नै गोर्खा सेना लिएर अर्का जवाहर सिंह सिक्किमको दक्षिण भागबाट अघि बढेका थिए ।
पूर्ण आलेको नेतृत्वमा रहेको गोरखा सेनाले सिक्किमको भूभाग कब्जा गरेको ३६ वर्षसम्म दार्जीलिङ सिक्किममा थियो । हामी गोरखालीहरु बिजेताका रुपमा आएका हौं । १७८८ सालमा नै आधिपत्य जमाएर रैथाने भएका हौं । चिनारीको आधारमा नै राजनीति हुन आवश्यक छ । हामीले पहिले नै सबै बन्दोबस्त गर्न सकौं । बस्दोबस्त भएपछि सर्वभारतीय स्तरमा हामीले राजनीति गर्न सक्छौं ।
चित्राकार, कलाकार, साहित्यकारहरुले नै चिनारीको जोहो गर्छन् । चिनारीको जोहो गर्नेहरुलाई राजनीतिले पनि जोहो गर्नुपर्छ । हाम्रो वरिपरिका खोलानाला नै हाम्रो पहिचान हुन् । धमिलो खोला भए पनि त्यही खोला नै हामीलाई पि्रय लाग्छ । खुकुरी नाच हराए खुकुरीको महत्व नै हराएर जान्छ । खुकुरी नृत्य राज्य बचाउन युद्धको तयारीको निम्ति गरिएको पहल हो । यस्तो कुराहरु परोक्ष अपरोक्षरुपमा हाम्रा आफ्नै साहित्यकार कलाकारहरुले दिइरहेका हुन्छन् । सम्मानको गहिरो महत्व हुन्छ । तर, समय छँदा नै प्रतिभावानहरुलाई सम्मान दिइनुपर्छ ।
(चर्चित साहित्यकार राईले भानु जयन्तीको अवसरमा दार्जीलिङमा सम्मानित भएपछि व्यक्त गरेको मन्तव्यको संक्षेप । राईलाई दार्जीलिङमा जीवन पूर्णकालीक उपलब्धि पुरस्कारका सम्मानित गरिएको छ। याे सामाग्री हिमालय दर्पणबाट लिइएकाे हाे -सं )
- See more at: http://www.onlinekhabar.com/2014/07/169439/…
No comments:
Post a Comment