फ्रान्सेली राज्य क्रान्ती विकास क्रम मै राजा लुइ सोह्रौंले आफ्नो भविष्य देखेनन् । एक दिन सुटुक्क उनले रानी मेरीका साथ ससुराली अष्ट्रिया पलायन हुने चाँजो मिलाए । तर वाटोमा उनी चिनीए अनि क्रान्तीकारीले पक्रेर ल्याए । राजा जस्तो मान्छे संकटको वेलामा देश छाडेर भाग्नुलाई गद्दारीको अनुपम उदाहरणको रुपमा केवल क्रान्तीकारीहरुले मात्र लिएनन्, वरु अन्य सर्वसाधारणले पनि लिए । गद्दार मर्नुपर्छ – क्रान्तीको अनिवार्य शर्त थियो । लुइ सोह्रौ र उनको श्रीमती मेरीलाई १७९३ मा काटियो ।
फ्रान्सेली क्रान्तीकै दौरानमा कट्टर पंथी विचारलाई उस्काएर क्रान्तीलाई वर्वरतातिर धकेलेको आरोपमा जाँ पल मरालाई एउटा सामान्य महिलाले १७९३ मा मारिन् । त्यसैगरी त्यो क्रान्तीको महा नायक रोवेस्पेर लाई अन्ततः क्रान्तीलाई अराजक वनाइ नागरीकको उद्देश्य प्रति गद्दारी गरेको आरोपमा १७९४ मा काटियो । फ्रान्सेली क्रान्तीले एउटा प्रष्ट संदेश के दियो भने गद्दार मर्नैपर्छ ।
फ्रान्सेली क्रान्ती पछिको महत्वपूर्ण सामाजिक क्रान्ती रुसी क्रान्ती हो । यो क्रान्तीमा पनि फ्रान्सेली क्रान्तीले अंगालेको आदर्श विचलित भएन । प्रारम्भमा क्रान्तीलाई सहयोग गर्ने नाविकहरु (kronstadt) जव पछिल्ला दिनमा विचलित भए – वोल्सेविकले दिने सजाय केवल मृत्यु थियो । गद्दार नाविकहरुलाई दमन गरेको भोलिपल्ट वोल्सेविकले पेरिस कम्युनको पचासौं वर्षगाँठ मनाए ।
गद्दारीको आरोपमा मार्ने क्रम त्यस पछि पनि छुटेन । राजनितीक प्रतिघात गरी क्रान्ती प्रति गद्दारी गरेको आरोपमा लेनीन कै हत्या प्रयास पनि भयो । त्यसपछि स्टालीनले सहकर्मी ट्रस्कीलाई मात्र नभएर क्रान्ती प्रति फरक विचार राख्ने लाखौं रुसीलाई मारे ।
पश्चिमी सभ्यताको प्राचीन ग्रन्थ वाइवललाई हेर्दा पनि के देखिन्छ भने गद्दार मर्नु पर्छ – त्यो पनि विवत्स ढंगले । जुडासले जीससलाई धोका दिएको हुन्छ । जस्को प्रतिफल उसको विवत्स अन्त्य हुन्छ । शायद यही मान्यतालाई सेक्स्पीयरले उनको कृती जुलियस सिजरमा यसरी प्रस्तुत गरेका छन्ः कुनै गद्दारलाई पनि ज्यूँदो नछोड (Leave no traitors alive!)
तर पूर्वीय हिन्दु दर्शनमा भने कुरो अलि वेग्लै छ । सवै कुराहरु निरन्तर परिवर्तन भइरहने हुँदा आजको गद्दार भोलीको कामरेड हुन सक्छ । पर्सी फेरी त्यो गद्दार हुन सक्छ । सवै प्रभुको लिला हो । प्रभुको नियममा हस्तक्षेप गर्ने मान्छेको के अधिकार? कुनै मानिसलाई उसको गद्दारीको सजाय दिने सम्वन्धित पिडित पक्ष वा सरोकार वाला पक्ष हैन वरु एउटा तेश्रो पक्ष हो जसको वास्तविकतामा कुनै अस्तीत्व हुन्न वा देखिदैन । त्यस वाहेक पुराना हिन्दु ग्रन्थहरुमा गद्दारहरु पुरस्कृत भएको प्रशस्त पाइन्छ । उदाहरणको लागि रामायणमा विविशण, महाभारतमा दोर्णाचार्य जसले एकलव्यलाई घात गरेका थिए । यस्ता गद्दार पात्रहरु धर्मिक कथाहरुमा प्रशंसित भएता पनि गद्दारहरुलाई सामान्यत सामाजिक जीवनमा घृणा गरिन्छ ।
दोश्रो चीन जापान युद्ध (१९३७ – ं१९४५) मा गद्दार सुराकीहरुको कारणले जापानीहरु सित चीनले हार्नु परेको थियो । यसको उपाय स्वरुप करीव ६००० गद्दार हानचियन्स (Hanjians) लाई सार्वजनिक रुपमा मारियो । चीनिया क्रान्ती पश्चात कम्युनिष्टहरुले गद्दारीको प्रतिक्रान्ती हुन सक्छ भन्ने कुरो वुझेका थिए । त्यसैले उनीहरुले क्रान्ती रोकेनन् – भलै त्यसले केही अनापेक्षित परिणामहरु प्नि निम्त्यायो ।
घरमै हेर्दा
नेपालको सन्दर्भमा हेदौ गद्दारीले सजाय पाएको देखिन्न । गैर वामहरुमा त गद्दारी एउटा संस्कार कै रुपमा विकास भएको हुन्छ जुन मौका परस्त पनि हुन्छ । तर वामहरु सैद्धान्तिक रुपले निर्देशित अनि क्रान्तीकारी परिवर्तनको पक्षमा क्रियाशिल भएका हुनाले गद्दारीले ठूलो क्षति निम्त्याउँदछ ।
तर त्यस्तो कहिल्यै भएन । संस्थापक सदस्य केशरजंग रायमाझी कम्युनिष्ट पार्टीको महासचीव भएकै वेलामा राजाको क्याम्पमा छिरेका थिए । पछी तिनी राज परिषदको अध्यक्ष सम्म भए । गद्दारीको यस्तो उत्कृष्ट नमुना अन्त विरलै देख्न पाइन्छ । तर उनलाई कसैले मारेन । मुटु रोगले उनी २०१२ मा मरे । यस कुरा परिजीवी मानसिकता भएका धेरै राष्ट्रिय गौरव व्यक्तित्वहरुमा लागू हुन्छ ।
२०४६ साल पछिको नयाँ राजनितीक परिवेशमा पनि गद्दारीको कुनै कमी रहेन । कृष्ण प्रसाद भट्टराई र गीरिजा प्रसाद कोइराला विच नेपाली काग्रेस भित्र चलेको अन्तरघात अन्ततः भाग्यवादमा गएर सुस्तायो । महाकाली संधीमा भएको राष्ट्रिय गद्दारीले जन्माएको माले र एमाले विचको फुट पनि अन्ततः भागवण्डामै समाप्त भयो । शेर वहादुर देउवाले गरेको काँग्रेस भित्रको आन्तरिक विद्रोह पनि पानीको फोका झैं भयो । यसै विचमा अन्य धेरै राजनितीक तथा सामाजिक प्रयासहरु पनि प्रशस्त भए – तर हात लाग्यो सुन्य ।
परिवर्तनक आकांक्षा वोकेका मानिसहरुमा “अव केही गर्न सकिंदैन” भन्ने भावनाले दह्रो जरा गाड्यो । “अव यहाँ केही हुन्न” भन्ने विचारले ग्रसित धेरै मानिसहरु मुग्लान जान थाले । सरकारले विकास र रोजगारीका जस्ता सुकै अलाप लगाए पनि मानिसहरुले त्यसलाई विश्वास गरेनन् । फलतः साइवेरियन वकुल्लाले ठाउँ छाडे झैं हुलका हुल नेपाली युवा आत्मसम्मान गुमाएर विदेशमा तुच्छ स्तरको काम रोज्न वाध्य भए । वाँकी रहेका तथा मुग्लान जान नसकेका अरु धेरैहरु जीवनयापनकै लागि भएपनि त्यही आत्मघाती प्रणालीमा मिसिन पुगे । तर मानिसहरु संख्यात्मक रुपले जतिसुर्क आवद्ध भए पनि त्रुटीपुर्ण प्रणालीको आफ्नै अन्तर विरोधले यौटा नयाँ सामाजिक आन्दोलनको अपरिहार्यतालाई पुष्ट्यायो । त्यो थियो माओवादी आन्दोलन ।
समय क्रममै माओवादी आन्दोलनले यौटा नयाँ उचाइ प्राप्त गर्यो । विविध कारणले आन्दोलनको विसर्जन गरी राजनितीक प्रकृयामा माओवादी पनि आयो । तर गद्दारीको त्यो सनातन संस्कृतीले माओवादी आन्दोलनलाई पनि वाँकी राखेन । फलतः केही समयमै पार्टी टुक्रियो । त्यस पार्टी भित्र पनि गद्दारी भयो भन्ने आवाज चर्को छ । एक थरीका मानिसहरु हामीले खोजेकै यही थियो भनेर आफ्नो तर्क पुष्ट्याइ गर्दछन् भने अर्का थरीकाहरु आमुल परिवर्तन नभइकन क्रान्ती नविसाउने वाचा थियो भनेर प्रति तर्क गर्दछन् । तर यथार्थ जे भए पनि माओवादी आन्दोलनका वाहकहरु मध्ये एउटा समुहले अहिले मुल राजनितीको नेतृत्व गर्दछ भने अर्कोले सिमान्तकृतको । यस्तो परिस्थितीमा वैचारिक स्तरमै गद्दारी भएको कुरा वुझ्न सकिन्छ । विविध भाषाको वहुअर्थित उपयोग अनि व्यवहारिकताको नाममा गरिने नितीगत संशोधनहरुले अन्ततोगत्वा माओवादी आन्दोलनलाई जटिल दिशाहिनताको अवस्थामा ल्यायपु¥याएको छ ।
क्रान्तीको उपयोगिता
क्रान्तीमा मानिसहरु विभिन्न ढंगले लागेका हुन्छन् । कोही लुटको फाइदा उठाउन लागेका हुन्छन् भने कोही समाज परिवर्तन गर्न । क्रान्तीको दौरानमा परिवर्तनकारीहरु शासनको तारो वन्दछन् , अवसरवादीहरु वच्छन् । कुनै पनि क्रान्तीमा शहीद थोरै हुन्छन् , तर अनुयायी प्रशस्त हुन्छन् । ती अनुयायीहरुमा पनि अवसरवादी अझ ज्यादा हुन्छन् । क्रान्तीको दौरानमा अवसरवादीहरु वच्दछन् भने ज्यादा जसो क्रान्तीकारीहरु मर्दछन् । क्रान्ती पश्चात तिनै वाँचेका अवसरवादीहरुको हातमा नेतृत्व पुग्दछ जसले केही वाँकी रहेका क्रान्तीकारीहरुलाई पनि सधैको लागि किनारा लगाउने प्रयत्न गर्दछन् । अवसरवादीहरुको लागि क्रान्ती केवल एउटा व्यवसाय हो, जसरी फाइदा हुन्छ, उनीहरुले त्यसको त्यसरीनै उपयोग गर्दछन् । यो कुरा सवै किसिमका सामाजिक आन्दोलनहरुमा लागू हुन्छ ।
नेपालमा भएका आन्दोलनहरु पनि यसवाट अछुतो छैन । २०४६ सालको आन्दोलन, (भलै त्यो भारतीय सहयोगमै भएको थियो) पछी नेपाललाई हेर्ने भारतिय दृष्टीकोणमा परिवर्तन भएको पाइन्छ । वफर जोन डक्ट्रीन वा नेहरु डक्ट्रीनलाई चन्द्र शेखर डक्ट्रीनले विस्थापित गर्यो । जन अनुरुप भुगोल भन्दा अर्थ राजनिती महत्वपूर्ण मानियो । फलतः राजनितीक परिवर्तन मार्फत नेपाललाई आर्थिक रुपले भारतमा निर्भर तुल्याउने अभ्यास शुरु भयो । धेरै उधोग तथा कल– कारखाना वेचिए, वन्द पारियो, औधोगिक सम्वन्ध (Industrial relation) लाई पुन परिभाषा गरेर नेपाललाई औद्योगिक रुपले अकुशल देश वनाइयो – जसले गर्दा न त स्थानीय पुजीको विकास भयो न वाहिर वाटै पुजी आयो । २०४६ पछि विदेशी सहयोग नआएको हैन – तर केवल नेता उत्पादन गर्न । उत्पादित नेताहरुले त स्वदेश मै जसो तसो जीविका चलाउन सके, नसक्नेहरु हानिए – मलेसिया, खाडी, कोरिया अनि अन्त । यस्तो किसिमको देश प्रतिको गद्दारी विश्व इतिहासमा कमै देख्न पाइन्छ । यस्तो निराशाजनक परिस्थितीमा पनि नेपाली नागरीकहरु हतास भएको पाइएन । मुग्लान जाने जाँदै थिए, घरमै वसेकाहरु समाजका विविध तप्काहरुलाई जोडेर सामाजिक परिवर्तनको लािग क्रान्तीको प्रयास गर्दे थिए ।
क्रान्तीको विविध स्वरुप हुन्छ । ती मध्ये हिंसात्मक र अहिंसात्मक स्वरुपका क्रान्तीलाई विशेष चर्चाको विषय वनाइन्छ । तर यो सजिलोको लागि मात्र हो । वास्तवमै हेर्दा क्रान्तीहरु हिंसात्मक वा अहिंसात्मक भन्ने प्रकारका हुदैनन् । वरु, तिनमा हिंसा र अहिंसाको मात्रा कति छ भन्ने चाँही हुन्छ । हिंसा ज्यादा भयो भने त्यो सापेक्षित रुपमा हिंसात्मक हुन्छ , नत्र अहिंसात्मक । त्यो निरपेक्ष भन्ने हुन्न ।
नेपालको सन्दर्भमा हिंसात्मक क्रान्तीहरु धेरै पटक भए । २० औ सताव्दीका केही उल्लेखनिय हिंसात्मक विद्रोहमा २००७ सालमा काँग्रेसले गरेको विद्रोह, झापा विद्रोह अनि माओवादी विद्रोह हुन् । ती सवै हिंसात्मक विद्रोहहरु सापेक्षित रुपले सफल भए । तर लागत र पाmइदाको लेखाजोखा गर्दा के देखिन्छ भने त्यत्रो धन–जन, समय र उर्जा लगानी गरेर प्राप्त गरिएको परिवर्तनले आम मानिसमा अपेक्षित परिवर्तन ल्याएन । काँग्रेसले सत्ता जित्यो – काँग्रेसी मोटाए । मालेले जित्यो – माले मोटाए । माओवादीले जित्यो – माओवादी मोटाए । यो त एउटा अलि वृहदस्तरमा गरेको डकैती (mass scale bandictry) जस्तो मात्र भयो । त्यो डकैतीमा पनि सवै काँग्रेसी, सवै माले, सवै माओवादीहरु मोटाएका छैनन् । तर क्रान्तीको नाममा खर्च गरिएको उर्जा, समय र मानव धन पुनः प्राप्त गर्न सकिन्न । त्यसैले प्रखर हिंसात्मक क्रान्तीका वाटाहरु अहिलेको परिवेशमा औचित्यहिन वन्दैछन् । फेरी पनि एउटा विशुद्ध हिंसात्मक वाटो अपनाइयो भने त्यसले आमुल परिवर्तन ल्याउला त? शायद कमैले मात्र यो अवधारणालाई विश्वास गर्दछन् ।
तव के गर्ने त?
यस्तो अवस्थामा उपलव्ध राजनितीक उपायहरुलाई गद्दार विरुद्ध उपयोग गर्नु पर्दछ । गद्दार चाहे जनसुकै दलको होस् त्यो गद्दार नै हो । भौतिक रुपले त्यसको सफाया गर्नु यौटा अन्तिम विकल्प हो, तर त्यस वाहेक गद्दारहरुलाई राजनितीक, सामाजिक, साँस्कृतिक आदी रुपले पनि मार्न सकिन्छ । उसैले जानेको खेलको तौर–तरिकालाई उसकै विरुद्ध उपयोग गर्न सकिन्छ । ग्राम्चीले यस्तो तरिकालाई अवस्थाको युद्ध (War of position) भनेका छन् । मिचेल फुकोले यसलाई प्रति संवाद (Counter discourse) को रुपमा व्याख्या गरेका छन् । हाम्रो परिवेशमा यी धारणाहरुलाई हेर्दा “भोटेले सरापेर गाई कहाँ मर्छ र!” भन्ने जस्तो पनि लाग्छ । तर “शव्द व्रम्हा” भन्ने हाम्रा आदर्शहरुले शव्दको सामथ्र्यलाई पुष्टी गर्न पनि छाडेका छैनन् । वर्तमान सन्दर्भमा नागरिक अधिकारको अवधारणाहरुलाई गद्दारहरु विरुद्ध उपयोग गर्न सकियो भने शायद नेपाली राजनितीको इतिहास नौंटंकी भएर दोहरिने छैन ।
आसन्न संविधान सभाको चुनावको परिपेक्षमा सचेत नागरिकले गद्दारहरुलाई राजनितीक वृतवाट सखाप पार्न एवं भविष्यमा गद्दारीका यस्ता नाटकहरु दोहरिन नदिन केही गर्न सक्छन् ।
१. चुनाव वहिष्कार (Total rejection)
जसरी नागरिकलाई चुनावमा मतदान गर्ने अधिकार हुन्छ । ठिक सै गरी वहिस्कार गर्ने पनि अधिकार हुन्छ । अहिलेको चुनावमा तिनै पुराना पात्र र प्रवृतीले विशेष गरी भारत र दातृ निकायको चाहना वमोजिम चुनावको नौटंकी गरिरहेका छन् । नागरिकले यसलाई वहिस्कार गर्न सक्दछन् । आम रुपमा चुनाको स्वतः वहिस्कार भयो भने त्यसको वैधानिकतामा प्रश्न उठ्छ । भलै अहिले चुनाव चाहने दलहरुले वैधानिकता जनतावाट हैन वाहिरवाट खोजेका छन् । वाहिरवाट पाइएको वैधानिकताले देशमा काम गर्दैन, त्यो फगत कागजी नौटंकी मात्र हुन्छ ।
त्यसो त नेपालीहरुको मतदान गर्ने प्रकृया क्रान्तीकारी छ । उदाहरणको रुपमा उनीहरुले २०४६ साल पश्चात पहिलो पल्ट काँग्रेसलाई जिताए भने अर्को पल्ट एमालेलाई जिताए । त्यो पनि पहिलो पल्ट सापेक्षित रुपमा पश्चिमतिर काँग्रेसले जित्यो भने पूर्वतिर एमालेले जित्यो । तर दोश्रो पल्ट त्यसको ठिक उल्टो भयो । भनाईको मतलव पश्चिमतिर एमालेले जित्यो भने पूर्व तिर काँग्रेसले जित्यो । माओवादी आन्दोलन पश्चात नेपालीहरुले पुरातन शक्तिहरुलाई पत्याएनन् । वरु नयाँ शक्ति माओवादीलाई पत्यायो । यसवाट के देखिन्छ भने नेपाली जनताहरुमा परिवर्तनको चाहना मनैभित्र गढेको छ । उनीहरु कुनै एउटा नयाँ शक्तिलाई स्थापित गर्न आतुर छन् जसले परिवर्तनको शंखघोष गर्न सकोस् । तर अहिलेको संविधान सभाको चुनावमा त्यसतो शक्ति छैन । अहिलेको परिप्रेक्षमा केवल विभिन्न रंगका गद्दारहरु मध्ये कस्लाई छान्ने भन्ने बाध्यात्मक परिस्थिती छ । यस्तो परिस्थितीको उपज चुनाव हैन, लोकतन्त्र हैन । त्यो एउटा प्रायोजित उपनिवेशिकरण मात्र हो । त्यसैले स्वस्फुर्त रुपमा जनताले चुनाव वहिष्कार गरे भने राजनितीले यौटा नयाँ वाटोको खोजी गर्नेछ जसमा धेरै मानिसरु सँग सँगै हिड्न सक्नेछन् । त्यो नै एउटा क्रान्तीकारी लोकतन्त्रको पथ हुनेछ ।
२. छानेर सकार (Selective acceptance)
यही प्रणालीवाट गद्दारहरुलाई सखाप पार्न सकिन्छ भन्ने कसैलाई लाग्छ भने उसले चुनावलाई रणनितीक रुपले उपयोग गर्न सक्छ । त्यसको लागि मतदानको निर्णय गर्दा भ्रष्ट एवं गद्दारहरु के गर्दा हार्दछन् भनी सोच्नुपछै । साथ साथै नयाँ अनुहारलाई समथैन गर्दा विशेषगरी न्याय, समानता, अधिकारका कुराहरुमा प्रष्ट भएर चुनाव पछिको प्रणालीले डण्डहिनता, भ्रष्ट्राचारलाई अन्त्य गर्दछ भन्ने प्रत्याभूती हुनु पर्दछ । जस्तो की नयाँ अनुहारले युद्ध अपराधलाई न्यायको कठघरामा ल्याउनेछ भन्ने प्रतिवद्धता जाहेर गरेमा र त्यो विश्वसनिय भएमा निश्चित हदसम्म रणनितीक सकार उपयोगी हुन्छ । तर विडम्वनाको कुरा के छ भने त्यस्तो कुरा गर्ने मानिसहरु चाँही भेटिन्छन् तर राजनितीक पार्टी भने छैन । त्यसैले व्यक्तिवादी राजनैतिक चरित्रलाई विश्वास गर्न सकिन्न । तै पनि नयाँ वन्ने सभामा साना खालका गद्दारहरु ज्यादा भए भने उनीहरुले आफ्नो नयाँ समीकरणलाई प्रभावी तुल्याउनैको लागि भए पनि ठूला गद्दारहरुलाई सखाप पार्नेछन् । किनकी यस्तो किसिमको राजनितीमा कोही शत्रु वा मित्रु हुन्न । निती र कार्यहरु परिस्थिती जन्य हुन्छन् । त्यसैले नागरिकले छानेर सकार गर्दा पनि तुलनात्मक रुपमा गद्दारहरुलाई वेफाइदा हुन्छ ।
३. नयाँ वाटो (Another Way)
मथि भनिएका दुईवटा उपायहरु एउटै धरातलमा छन् । पहिलोले चुनाव चाहिने हो तर प्रकृया मिलेन भनेर वहिष्कार गर्दछ । दोश्रोले पनि चुनावको अपरिहार्यतालाई स्वीकार गरी रणनितीक उपयोग गर्न खोज्छ । तर तेश्रो उपाय –नयाँ वाटो – ले यी दुवै कुरालाई इन्कार गर्दछ । यो अवधारणा अनुसार विधमान समस्याहरु यी माथिका दुई उपाय मार्फत समाधान हुन सक्दैनन् । त्यसैले त्यस प्रति ध्यान दिनु आवश्यक छैन । केवल रणनितीक संचारको लागि तिनको उपयोग गर्न सकिन्छ , तर समस्याको समाधान अन्तै खोज्नु पर्छ । यस धारणामा संविधान वा संविधान सभा भन्ने विषयलाई नै प्रश्न गर्नु पर्छ । किनकी सामान्य मानिसहरु कुनै धारणा सित जोडिएका कथा वा मिथक (myth) सुन्दा सुन्दा त्यसैलाई सत्य ठान्न थाल्दछन् । यो नयाँ वाटोले स्थापित सत्यहरुलाई प्रश्न गर्न सिकाउँदछ ।
के देशको लागि संविधान भन्ने एउटा किताव आवश्यक छ ? कयौं देशहरुमा लिखित संविधान छैन । अनि त्यो किताव यस्तो खर्चिलो चुनावको माध्यमले नै लेखिनु पर्छ ? के अन्य उपाय छैन ? अनि लेख्ने को? त्यो उमेद्दवारमा त्यस्तो के गुण छ कि उसले संविधान लेख्न सक्छ ? अनि कस्तो लेख्छ ? कसको फाइदाको लागि लेख्छ ? त्यसवाट मलाई के फाइदा? किन त्यो वोल्दछ म सुन्दछु? किन म वोल्ने अनि त्यो सुन्ने परिस्थिती भएन? अथवा अहिलेसम्म नागरिकले सुन्दै आएका एवं मान्दै आएका सत्तावाट प्रायोजित सत्यहरुलाई वास्तविकताको कसीमा जाँच्नु पर्दछ । यसो गर्दा के प्रष्ट हुनु पर्दछ भने नयाँ समस्याको लागि पुराना ज्ञान अर्थहिन हुन्छन् त्यसैले नयाँ ज्ञान र नयाँ सत्यहरुको खोजी अपरिहार्य हुन्छ । संविधानसभाको मुद्दामा पनि यो लागु हुन्छ ।
यी माथिका उपायहरुको उद्देश्य एउटै हो ः गद्दारको सफाया । चाहे त्यो सामाजिक रुपले होस् वा राजनितीक रुपले होस् वा अन्य कुनै रुपले होस् । यो आवश्यक किन छ भने गद्दार संस्कृती मौलाएको कारणले गर्दा नै आज हामीले यो दुःख भोग्नु परेको हो । डण्डहिनताको यो अवस्था फुत्त त्यसै आएको हैन, हिजो हामीले दोषीलाई सजाय नदिएकैले गर्दा आज झन अपराध वढेको हो । २०४६ सालको आन्दोलन पश्चात अनिल आयोगको प्रतिवेदन मात्र लागु गरिएको भए नयाँ फटाहाहरु जन्मने नै थिएनन् । तर फटाहा – गद्दारहरुको पनि एउटा वर्गीय चरित्र हुन्छ जसले गर्दा प्रायः एउटा गद्दारले अर्को गद्दारलाई पूर्ण रुपमा सिध्याउँदैन वा गद्दारी संस्कृतीको अन्त्य गर्न सक्दैन । गद्दारी संस्कृतीको अन्त्य नभएसम्म सामाजिक क्रान्ती हुँदैन – दरवारी क्रान्ती हुन्छ । राजदरवारको ठाउँमा अर्को दरवार हुन्छ, राजाको ठाउँमा कुनै अर्को एउटा मान्छे हुन्छ । संरचना त्यही हुन्छ, प्रवृती त्यही हुन्छ । त्यस्ता परिवर्तनले समाजमा कुनै सकारात्मक योगदान दिदैनन् – केवल समय र उर्जाको नास मात्र हो ।
संविधान सभाको चुनावको मुखमा देखा परेका शान्ती ¥याली वा युवा दस्ता त्यही पुरानै संरचनाका प्रायोजित अंगहरु हुन् । त्यसवाट प्रभावित हुनु पर्ने कुनै कारण छैन । ति मानिसहरु सापेक्षित रुपमा शान्ती नै मन पराउँदछन् वा यथास्थिती नै चाहन्छन् । किनभने तिनीहरु ह्ुने–खाने , वा पाउने– खाने वर्गमा पर्छन् वा तिनकै छत्र छाँयामा हुर्केका हुन्छन् । गद्दारी संस्कृतीको सफायामा उनीहरुले कुनै योगदान गर्दैनन्, त्यसैले उनीहरु परिवर्तन विरोधी हुन्छन् । त्यसको एउटा प्रष्ट कारण के छ भने परिवर्तनले उनीहरुलाई पाखा लगाउन सक्छ । विगतमा केही समय यता ट्युनिसिया, इजिप्ट, लिविया, सिरिया आदी देशहरुमा भएका यस्ता सवै आन्दोलनले समग्रमा सकारात्मक राजनितीक निकास दिन नसकेको तथ्य हाम्रो सामु छ । मुलतः यस्ता आन्दोलनहरु शासन विरोधी हुनु पर्ने हो । तर नेपालमा यस्ता आन्दोलनहरु शासनकै पक्ष मा छन् । त्यसैले ती प्रायोजित हुन् । खवरदारी गर्नु को सट्टा (watchdog) तिनले घुर्की लगाउने तरिका (lapdog) देखाउँदछन् । त्यसैले नागरिकले आसन्न संविधान सभाको नौंटंकीमा आफ्नो विवेकको प्रयोग यसरी गर्नु पर्दछ कि गद्दार संस्कृतीको अन्त्य सदाको लागि होस् अनि साँचो अर्थमा एउटा सफल राजनितीक क्रान्ती मार्फत नेपाल नयाँ युगमा प्रवेश गर्न सकोस् ।
No comments:
Post a Comment