Monday, February 16, 2015

गद्दार फोविया - राजबहादुर कुँवर



निरंकुशता र सं क्रमणबाट तुहिएको पाठो झैं लुरे नेपालमा उत्कृष्टताभन्दा निकृष्टता हावी छ । वीरताका लागि केही थान योद्धा, इतिहासका लागि केही थान उदार राजा, परिवर्तनको संखघोषका निम्ति ज्ञातअज्ञात सहिद, कला, संस्कृति र सभ्यताका ऐतिहासिक परम्पराबाहेक मुलुकसँग कुनै नवीनतम् गीतहरु छ्रैनन्, जुन गौरवका साथ भावी पुस्ताले गाउन सकोस् । टिस्टाको गीत गाउँदागाउँदै कालापानी गुमाएको पुस्ता पनि सेतै फूलिसकेको छ । नालापानीको कथा सुसेल्दा सुसेल्दै पनि कोशी र गण्डकीमा बन्दे मातरमका नालहरु सोझिरहे कै छन् । यो देशमा अन्धकार, निराशा र अभाव गुन्जिएको छ । खाडी र समुद्री हजारौं गोलभूगोलमा सुपुत्र र सुपुत्रीहरुकोे पसिनाले धर्ति सिंगारिएको छ । देशको सिंगो बैशालु पुस्ता लाहुर जान्छ र लाहुरेको पाहुरले बुढो र रोगी देश बाँचिरहेको छ । यो देशलाई सवैभन्दा डर लागिरहेको छ गद्दारसँग । प्रत्येक सुन्दर भविष्यार्थ लडिएका लडाइँहरु गद्दारहरुबाट धोकामा बदलिएका छन् । कुनै दिन देशको नक्सा, नाम र परिचय नै बदलिने पो हो की ? देश गद्दार फोवियाले भयक्रान्त छ । आफूसँग एक मुठी माटो हुने किसानले एक हल गोरु, राँगा पालेर जोत्छ र उर्वरा माटोको सुरक्षा गरिरहेको छ । राष्ट्रलाई बाँझो हुनबाट जोगाइरहेका छन् । ति किसानसँग माटोप्रतिको जति माया छ, यो देशका शिक्षित महामुर्खहरुसँग छैन । महामुर्खहरु राजनीति, व्यापार र जागिरका नाममा मुलुकलाई नै जुवाघरकी दौपद्री झै बेइज्जत गरिरहेका छन् । पुराना इतिहासका पानामा अत्याचारी राजालाई जनगणले चारपाटे मुढेर चार डाँडा कटाएको कथाहरु पाइए पनि नेपालको आधुनिक इतिहास दलाल र गद्दारहरुको सिंगौरीबाट थकित र क्लान्त छ । आफू सत्ताको घोडा चढिरहदा कुनै पनि प्रकृतिका संघर्ष र विद्रोह अन्यायपूर्ण ठहर गर्नु शाषकीय चरित्र हो । राणाहरुको अन्धकार जुगबाट उज्यालो लोकतन्त्रमा अवतरण गर्ने अभियान पनि सैनिक ताकतमा आधारित लडाइँ थियो । राणाबाट खोसेको सेना दरवारलाई बुझाइयो र जसको जोत उसको पोतको नारामा संघर्षरत भीमदत्तको टाउको दिल्लीलाई गुहारेर बाँसको लिंगोमा झुन्डाइयो । प्रत्येक किसानको घरमा दुहुनो गाइको समाजबाद भीमदत्तको आलो रगतबाट नै गन्हाइसकेको देखिन्छ । यस्तो लक्ष्यघातको अर्को नामै त हो गद्दारी । गद्दारले देशको बागडोर सम्हाल्न हुँदैन । गद्दारहरु ऐजेरु हुन्, जो अरुद्धारा निर्मित दानापानी खाएर बाँच्छन् । नेपालमा गद्दारहरुले जब जब बागडोर सम्हाल्छन्, तब तब कञ्चन नदीहरु विक्री हुन्छन् । गण्डकी, कोशी, महाकाली हुँदै कर्णालीसम्म हेर्ने हो भने मुलुकको शीर्षासनमा गद्दारहरु बाँदरझै बसिरहेका छन् । भ्रष्टहरु पुजित र इमान्दार दण्डित भएको समाज पतन उन्मुख हुन्छ । अपराधको कुनै सीमा हुँदैन । आमा र छोरीहरुद्धारा आफ्नै श्रीमान र बुबाको हत्याको चक्रव्यूह रचिन्छ । जहाँ गद्दारहरुले शाषन गर्छन्, त्यहाँ राष्ट्रियता अपराध हुन्छ । उदारताका नाममा लिलाम विक्रीका सामानमा बदलिन्छन् मानिसहरु । पैसाका दासहरु पसिनाका नदी बगाउँछन् र कठपुतली मालिकहरु मोजमस्ती गर्छन् । कुनै पनि प्रकृतिका अपराध उद्योगमा बदलिन्छन् । पुलिस, सेना, प्रहरी र न्यायलय हात्तीका दाँतमा परिणत हुन्छन् । अख्तियारले नै घुस खान्छ । पुलिसले नै तस्करी गर्छ । सेनाले नै गैडा मार्छ र न्यायलयले नै कानूनगिरी गर्छ । देशकै नारा लगाएर देशघात गर्नु नैै गद्दारी हो । देशसँग जे छ, त्यो सम्पत्ति हो । नेपालसँग युवा जनशक्ति छ, रोजगार छैन । अथाह पानी छ, विद्युत छैन । जडिवुटी छ, औषधी छैन । माटो छ, उत्पादन छैन । मुलुकसँग जे छैन, त्यही त्यही थोपर्नु कुनै नयाँ चमत्कार होइन । मार्से, कागुनो फल्ने कर्णालीमा जापानी चामल पुर्याउनु कुनै बहादुरिता होइन । आखिर कमिसनको राग अलाप्न त्यही हुन्छ । जहाँ आफ्नो ग्याँस, तेललाई देवता बनाएर विदेशी तेलमा कार चढिन्छ । जहाँ आफ्नो कोदो खाने जनतालाई हेपेर विदेशी सेरलेक्स खाइन्छ, त्यो मुलुकका पाइलाहरु रसातलतिरै हुन्छन् । रसातलतिर हिंड्न गद्दारहरुलाई खुवै मनपर्छ । जहाँ योद्धाहरुको बैशाखी, वेपत्ताको आँसु र सहिदको रगत विक्री हुन्छ, त्यो क्रान्तिको दुर्दशा दुखान्त हुन्छ । यो क्रान्तिघातको अर्को नाम पनि गद्दारी नै हो । क्रान्तिबाट जन्मिएका गद्दारहरु खतरनाक हुँदारहेछन् । विजयको मञ्जिलमा पुगेको लडाइँ रोकिदोरहेछ । सुन्दर विहान पनि अन्धकारमा बदलिदो रहेछ । बहादुरहरुभन्दा काँतरहरुको विगविगी बढ्दोरहेछ । राणाहरुको चिहानबाट जन्मिएको छिसमिसे र नारायणहिटीको चिहानबाट जन्मिएको क्षितिज दुइटैको हत्या भएको छ । उज्यालोको नाममा उज्यालो कै हत्या गर्नु गद्दारहरुको विशेषता हो र प्रत्येक क्रान्ति पश्चात त्यही भइरहेको छ । गणतन्त्रले राउटेलाई फिरन्ते हुनबाट रोक्न सकेनभने सभ्यताको कुन नयाँ आयाम छ र गणतन्त्रसँग । दाइजोहिन चेली आलो सिउँदोसँगै जलिरहन्छन् भने गणतन्त्रले कुन नयाँ मुक्तिको गीत गाउँछ ? धर्म निरपेक्षताको काँधमा चढेर बाइवल र युद्ध बोकिरहेका चर्चहरु, तलाक दिइरहेका मस्जिदहरु र फ्रि तिव्वती गुम्बाहरुले युद्ध निम्ताइरहेको गणतन्त्र कस्तो हुन्छ ? टोपीधारी राजाहरुद्धारा शाषित जनताको अनुहार कस्तो हुनुपर्छ ? गणतन्त्रलाई गणतन्त्र हुन दिइरहेका छैनन् गद्दारहरु । मानवताभन्दा कूलिनता गद्दारहरुको नशामा हुन्छ । जो जो चढ्छन् सत्ताको शिखरमा, तिनैको निधारमा श्रीखण्ड झै घोटिन्छ गद्दारी । जुद्दशम्शेरलाई दार्जिलिङ नेपालमा मिसिनु हुँदैन किनकी जागृत जनगण मन पर्दैन शाषकलाई । चन्द्र शम्शेरलाई मन पर्दैन आविस्कार । नयाँ आविस्कार र अनुसन्धानले ढालिदिन्छ पुराना मान्यता । गद्दारलाई कूलगिरी नगरी शासनको गन्धदुर्गन्ध नै थाहा हुँदैन । शासनको बागडोरमा नपुगी राष्ट्रका लागि गद्दारी गर्नै सकिदैन । गद्दारीमा विश्व विजेता हुन प्रतिस्पर्धा चलिरहेको छ नेपालभरि । विश्वविद्यालयले लेख्छ भारतीय वुद्ध । मन्त्रीले खान्छ र बाट तलव । शिक्षकले खोल्छ बोर्डिङ । प्रधानमन्त्रीले खेल्छ देश नै जुवा । उद्योगीले लगाउँछ कारखानामा आगो । व्यापारीले मिसाउँछ चामलमा ढुंगा । सम्पादकले छाप्छ स्तुति । डाक्टरले चोर्छ मृगौला । सर्वोच्च कमाण्डरले गर्छ सेनाको विघटन । माटोको आवरणमा पैठारी हुन्छ युरेनियम । कलाकारले गर्छ बेश्यावृत्ति । छापामारले चराउँछ अरबमा भेडा । यी समाजका पतनोन्मुख लक्षण हुन् । यी सम्पूर्ण सिद्धान्त विचलनका विरुद्धमा नयाँ जागृति जरुरी छ । के नेपालमा गद्दारद्धारा निर्मित विद्रुप विम्बको विघटन हुन सक्दैन ? भ्रष्टाचारी बाबुभन्दा इमान्दार दुश्मनलाई सम्मान गर्ने सन्तति जन्माउन सकिदैन ? अवैध कुलीनताभन्दा बैध गरिबीलाई स्वीकार्ने पुस्ता निर्माण गर्न सकिदैन ? यो सम्भव छ । केवल सिद्धान्तघात, अभियानघात र मित्रघात हुनु हुँदैन । गद्दारीभन्दा उत्सर्ग श्रेयस्कर हुन्छ । नयाँ आविस्कारकहरुले विश्व मानचित्रमा मुलुकलाई नयाँ रेखांकन गर्नै पर्दछ, जहाँ कुनै जात, लिंग, वर्ण र धर्मको विभेद नहोस् । नयाँ सर्जकहरुले मुलुकको नयाँ बिम्ब रचना गर्नै पर्दछ, जहाँ गरिबी, भ्रष्टाचार, अन्याय, अराजकताको सगरमाथा नहोस् । नयाँ अनुसन्धानकर्ताहरुले मुलुकलाई नयाँ साँचोमा ढाल्नै पर्दछ, जहाँ हिमाल, पहाड र तराई मानव सभ्यताका अनुपम अनुकृति ठहरिउन् । एउटा भीषण आँधी तुफानद्धारा अजियासको तवेलाजस्तो फोहोर मुलुक सफा किन गर्नु नपरोस् । सलाम छ आँधीलाई । गद्दारहरुभन्दा प्रभाकरणहरु महान् हुन् किनकी योद्धाहरुलाई आत्मसमर्पणभन्दा हार उत्कृष्ट हुन्छ । जिउँदै मरिरहेका लासहरुले समाजलाई दुर्गन्धित मात्र गर्दैनन्, इतिहासको रथलाई नै उल्टो घुमाउँछन् । समयको ज्वारभाटामा पश्चगामीहरु हार्ने नै छन् र इतिहासको अग्रगतिका पक्षपातिले घोर विपतको समुद्र तैरिनै पर्दछ । घोर निशाचरविरुद्ध प्रभातको गीत गाउनै पर्छ । सगरमाथाको देशमा नयाँ विश्व सम्भव छ । उज्यालो अवश्यमभावी छ ।

No comments:

Post a Comment