नेपाली साहित्यको मूलधार के हो ?
- राजेन्द्र पौडेल
समसामयिक साहित्य लेखनको मूलधार कुन हो, प्रगतिवाद कि गैरप्रगतिवाद ? हालै प्रगतिशील लेखक संघ, नेपालद्वारा राजधानीमा आयोजित एक अन्तरक्रियाका सहभागीहरूले दाबी गरे, प्रगतिवादी लेखन नै समसामयिक लेखनको मूलधार हो । तैपनि प्रगतिवाद समसामयिक नेपाली साहित्यको प्रतिपक्षजस्तो बनेको छ । राजनीतिक र आर्थिक सत्ताजस्तै यो देशको सांस्कृतिक सत्ता पनि गैरप्रगतिवादीहरूको हातमा छ । कुनै पनि देशको उत्पादन शक्ति र उत्पादन सम्बन्धले नै उक्त देशको संस्कृतिको निर्माण गर्छ भन्ने माक्र्सवादी मान्यताले नै सायद यसको पुष्टि गर्छ । उक्त कार्यक्रमका आयोजक तथा सहभागीहरूको गुनासो थियो- वर्तमान प्राज्ञिक तथा साहित्यिक सत्ताले प्रगतिवादी साहित्यलाई पाखा लगाउने र पहिचानसम्म दिन आनकानी गरेको छ । प्रगतिवादी लेखकहरूको उक्त गुनासो वर्तमान यथार्थको एउटा पाटो भए पनि गुनासो मात्रैले चाहिँ प्रगति हुँदैन ।
अवश्य पनि प्रगतिवादी लेखनभित्र र बाहिर केही समस्या छन् । उक्त समस्याले खडा गरेका चुनौती पार गरेर मात्रै प्रगतिवादी लेखन सशक्त रूपमा वर्तमान लेखनको मूलधार बन्न सक्छ । कार्यक्रममा चर्चा गरिएजस्तै वर्तमान प्राज्ञिक साहित्यिक सत्ताले प्रगतिवादी लेखलाई उपेक्षा गरेको छ । लेखकहरूको गुनासो छ- सञ्चार तथा प्रकाशन गृहले प्रगतिवादी लेखकका रचना रुचाउँदैनन्, छाप्दैनन् । हुन पनि पत्रपत्रिकामा प्रगतिशील रचना कमै मात्र पढ्न पाइन्छ । यसो हुनुमा मिडियाको परम्परागत सोच तथा आग्रह त जिम्मेवार छ नै ! आफैँ पनि कम जिम्मेवार छैनन् । कार्यक्रममा सहभागी एकजना सञ्चारकर्मीले भने, प्रगतिवादी लेखकहरू आफैँ पनि सञ्चारमैत्री छैनन् । समानान्तर साहित्यका लेखकहरू आफ्ना रचना छपाउन निकै कसरत गर्छन् । यस मामलामा प्रगतिवादीहरू अलि बढी नै उदासीन देखिन्छन् । यही स्थितिमा समस्या समाधान हुँदैन । लेखकहरूले पनि आफूलाई मिडियामैत्री बनाउनु आवश्यक छ, तर यसको मतलव यो होइन कि लेखकहरूले आफ्नो स्वाभिमान बेचेर सञ्चारगृहको सेवामा लाग्नु श्रेयष्कर हुन्छ । तैपनि, उनीहरूले पनि यो बुझ्नु जरुरी हुन्छ कि यो विज्ञापनको युग हो र यहाँ बोल्नेको मात्रै पिठो बिक्छ । विडम्बना ! प्रगतिवादी लेखक प्रचारमा जान हिच्किचाउँछन् र कोही कसैको प्रचार भइहाल्यो भने पनि उसलाई प्रचारवादी भएको आरोप लगाइन्छ । यो प्रगतिवादी शिविरभित्रको कमजोरी हो ।
यस शिविरले आफूलाई उपेक्षित महसुस गरेको अर्को क्षेत्र हो, पाठ्यक्रम । वर्तमान प्राज्ञिक सत्ता न समावेशी चरित्रको छ न सहिष्णु नै ! कार्यक्रममा सहभागी प्राध्यापकहरूको अनुभवमा प्रगतिवादी रचनालाई योजनाबद्ध किसिमले पाठ्यक्रमबाट बाहिर पारिन्छ । प्राज्ञिक सत्ता अत्यन्त पुरातनपन्थी, संकीर्ण तथा असहिष्णु छ । यो माक्र्सवादविरोधी चिन्तनबाट निर्देशित छ । विश्वविद्यालयमा पहिला त माक्र्सवादलाई किनारामा राखेर पाठ्यक्रम निर्धारण गरिन्छ, त्यसपछि कक्षामा माक्र्सवाद पढाउँदा कि त गहिराइसम्म पुगिँदैन कि त गलत व्याख्या गरिन्छ । त्रिभुवन विश्वविद्यालयमा हालै एकजना प्रोफेसरले माक्र्सर्को द्वन्द्ववादमा थेसिस र एन्टिथेसिसलाई समन्वय गरेर सिन्थेसिस आउँछ भन्ने व्याख्या गरे । उनले माक्र्सको द्वन्द्ववाद प्रचण्डले नबुझेको आरोपसमेत लगाए । यस्तै अर्का विद्वान् प्राध्यापकले माक्र्सका अनुसार आइडियोलोजी मानिसको मस्तिष्क बाहिर हुने भ्रमपूर्ण चेतना हो भन्ने व्याख्या गरे । यथार्थमा चेतना सही वा भ्रमपूर्ण जे भए पनि मस्तिष्कभित्र हुने परिघटना हो । यी प्राध्यापक या त माक्र्सवादलाई गम्भीर विषयवस्तुका रूपमा लिँदैनन् या त गम्भीर मानेर नै गलत व्याख्या गरिदिन्छन् । यसैगरी, विश्वविद्यालयमा शोधपत्र लेख्दा प्रगतिशील लेखनलाई सकेसम्म इन्कार गरिन्छ । हालै पोखरामा प्रगतिशील लेखक संघका बारेमा थेसिस लेख्ने प्रस्ताव सोझै अस्वीकृत गरिनु प्राज्ञिक क्षेत्रभित्रको संकीर्णताको अर्को उदाहरण हो । प्राज्ञिक क्षेत्रमा कतिसम्म पूर्वाग्रह छ भने गैरप्रगतिवादी समालोचकले नेपाली साहित्यको इतिहास लेख्ने क्रममा नेपाली साहित्यको इतिहासबाटै प्रगतिवादी धारालाई लुकाइदिएका छन् । उनीहरूले प्रगतिवादी साहित्यलाई पनि स्वच्छन्दतावादी धाराभित्रकै एउटा प्रवृत्ती मानेर चर्चा गर्ने गरेका छन् । नेपाली साहित्यको मूलधारका रूपमा विकसित भइरहेको प्रगतिवादी लेखनलाई नै लुकाइदिनु यो कस्तो प्राज्ञिक कसरत हो ? यसरी एकातिर सञ्चारमाध्यममा प्रगतिवादी साहित्यलाई उचित स्थान दिइँदैन भने अर्कोतिर पाठ्यक्रम निर्माणमा पनि यसमाथि अघोषित बन्देज लगाइन्छ ।
यी त भए बाहिरका समस्या । यीबाहेक प्रगतिवादी लेखनमा आफैँभित्र पनि केही समस्या छन् । प्रगतिवादी शिविर अति शुद्धतावादी विचारमा विश्वास गर्ने खालको छ । कुनै पनि लेखनमा थोरैमात्रै ‘विचलन’ आउनेबित्तिकै यसले आफ्नो कित्ताबाट निष्कासन गरिहाल्छ । यो ‘विचलन’को परिभाषा पनि उदेकलाग्दो गरी कित्तापिच्छे फरक पाइन्छ । यस प्रवृत्तिले केही हदसम्म सिर्जनात्मकता र मौलिकतामा अवरोध खडा गर्छ भने संगठनात्मक रूपमा पनि क्षति पुर्याउने गरेको छ । अर्कोतिर एउटा अमुक कम्युनिस्ट पार्टीको सदस्य हुनेबित्तिकै कतिपय लेखकले आफूलाई प्रगतिवादी भनेर दाबी गर्ने विसंगति पनि यसै शिविरभित्र रहेको तथ्य सबैलाई विदितै छ । यस्तो परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीचको विभाजनले ठूलो भूमिका खेल्ने गरेको छ । यसैगरी, नयाँ पुस्ताको अस्तित्वलाई सजिलै स्वीकार नगर्ने संकीर्णता पनि यसैभित्रको अर्को रोग हो । सायद यो प्रगतिवादभित्र रहेको सामन्तवादको अवशेष हो । वरिष्ठ लेखकहरू पछिल्लो पुस्ताको नाम लिन हिच्किचाउँछन् । उनीहरू नयाँ पुस्ताका लेखकहरूका सामान्य कमजोरीलाई रचनात्मक सुझाब दिएर सुधार्नुभन्दा पनि ठुल्ठूला शब्द प्रयोग गरी सिकारु लेखकलाई हतोत्साहित गर्न पुग्छन् । यसो हेर्दा यस्तो लाग्छ कि प्रगतिवादी लेखनको सत्ता एकाध लेखकहरूको हातमा मात्रै सीमित छ । यस प्रवृत्तिको सिकार नयाँ लेखक मात्र नभैई वेला-वेलामा स्थापित लेखक पनि हुने गरेका छन् । जसकारण एकजना लेखकको लेखनी नै मर्ने सम्भावना रहन्छ र यसका उदाहरण पनि हाम्रैमाझ भेट्न सकिन्छ । यसका साथै, कला पक्षलाई उपेक्षा गर्दै विचारै सबैथोक हो भन्ने गलत बुझाइ पनि प्रगतिवादी लेखनभित्रको एउटा कमजोरी हो । कतिपय लेखक विचार राम्रो भएपछि रचना यसै राम्रो हुन्छ भन्ने विश्वास राख्छन् । यस्तो विचारले प्रगतिवादी रचनालाई पुँजीवादी लेखकहरूले आरोप लगाएझैँ नारावादी मात्रै बनाउँछ । रचना आफैँमा कमजोर हुन पुग्छ । तसर्थ रूप र सार, कला र विचारको उचित समायोजन माक्र्सवादी साहित्यको आवश्यकता हो ।
यसबाहेक समग्र नेपाली साहित्यमा रहेको राजधानी र मोफसलबीचको अन्तरविरोध प्रगतिवादी लेखनमा पनि छ । राजधानीमा जे कार्यक्रम गरे पनि त्यो केन्द्रीय कार्यक्रम बन्छ भने राजधानीबाहिर जतिसुकै ठूलो कार्यक्रम भए पनि त्यो मोफसलको सामान्य कार्यक्रमका रूपमा लिने गरिन्छ । यसैगरी, काठमाडौंमा बसेर लेख्ने जोसुकै नेपाली साहित्यको लेखकका रूपमा चिनिन्छ भने पोखरा, नेपालगन्ज वा विराटनगर जहाँ बसेर लेखे पनि त्यो स्थानीय लेखक भनेर मात्रै चिनिन्छ । वास्तवमा काठमाडौंभन्दा बाहिर पनि कैयौँ प्रतिभावान लेखकहरू छन् भन्ने यथार्थ जहिलेसम्म स्वीकार गरिँदैन त्यतिवेलासम्म नेपाली साहित्यको साँचो इतिहास लेखन हुनेमा विश्वास गर्न सकिँदैन । नेपाली साहित्यको एकीकृत इतिहास लेखनका लागि काठमाडौंले मोफसलको अस्तित्वलाई स्वीकार गरी राजधानीवादको अन्त्य हुनु जरुरी छ । यो कुरा प्रगतिवाद गैरप्रगतिवाद दुवै धारामा लागू हुन्छ ।
यसरी प्रगतिवादी साहित्यले भित्र र बाहिर दुवैतिरका समस्यासँग जुध्नुपरिरहेको छ । माथि उल्लिखित समस्यासँग नजुधीकन प्रगतिवादी लेखन अगाडि बढ्न सम्भव छैन । उक्त समस्याले खडा गरेका चुनौतीलाई सामना गर्दै र तिनलाई चिर्दै अगाडि बढेर मात्र प्रगतिवाद साहित्यको मूलधारको रूपमा जबर्जस्त स्थापित हुन सक्छ । साहित्यको मूलधार हुनका लागि आवश्यक लेखनकोे संख्या र गुण दुवै प्रगतिवादसँग जम्मा भइसकेको छ । यसका लागि लेखकले आफूहरूलाई सञ्चारमैत्री बनाउँदै आफ्नो लेखनीको उचित प्रचार-प्रसार गर्नु पहिलो सर्त हो भने विश्वविद्यालय तथा अन्य पाठ्यक्रम निर्माणमा सचेत हस्तक्षेप गर्नु दोस्रो सर्त हो । यसैगरी, आफैँभित्र रहेको वाम संकीर्णताबाट माथि उठ्नु र कलाशिल्पमा विशेष ध्यान पुर्याउनु अन्य सर्त हुन् । त्यसपछि मात्रै व्यावहारिक रूपमा नै प्रगतिवादी लेखन नेपाली साहित्यको मूलधारका रूपमा स्थापित हुन सक्छ ।
नयाँ पत्रिकाबाट
No comments:
Post a Comment