Wednesday, January 21, 2015

नेपाल खाल्डोमा बाहुनभन्दा क्षेत्री पहिले ?- दिनेशराज पन्त

नेपाल खाल्डोमा बाहुनभन्दा क्षेत्री पहिले ?- 

नेपाल खाल्डोमा बाहुनभन्दा क्षेत्री पहिले ?


लिच्छविकालका अहिलेसम्म सवा दुई सयजति अभिलेख प्राप्त भएका छन् । नेपालमा सबैभन्दा 
पहिले १९३७ सालमा भारतका भगवान्लाल इन्द्रजीले ‘ट्वेन्टी–थ्री इन्स्क्रिप्सन्स् फ्रम् नेपाल्’ नामक पुस्तकमा नेपालका २३ अभिलेख छापेका थिए । ती अभिलेखमध्ये १५ वटा लिच्छविकालका, ७ वटा मल्लकालका र एउटा शाहकालका थिए । तीमध्ये शक संवत् ३८६ (५२२ साल) कुँदिएको चाँगुनारायणको स्तम्भलेख पनि थियो । करिब सय वर्षसम्म चाँगुनारायणको त्यो अभिलेख नै सबैभन्दा पुरानो अभिलेख भएर रह्यो । त्यो अभिलेखमा ‘विप्रेभ्योऽपि च श्रद्धया प्रददती तत्पुण्यवृद्धै धनम्’ अर्थात् मानदेवकी आमा राज्यवतीले पति धर्मदेवको पुण्य वृद्धिको लागि ब्राह्मणहरुलाई श्रद्धापूर्वक दान दिइन् भनेर लेखिएको छ । यसैगरी, सोही ‘क्षात्रेणाजिमखाश्रयेण विधिना दीक्षाश्रितोऽहं स्थितः’ अर्थात् मान्यदेवको मुखबाट म क्षत्रियको धर्म प्रतिपालन गरेर बसिरहेको छु भनेर पनि निकालिएको छ । यसरी अभिलेखको हिसाबले हेर्दा १५५० वर्षअगाडि नै नेपाल खाल्डोमा ब्राह्मणहरु सम्मानपूर्ण स्थानमा रहेका थिए भन्ने देखिन्छ ।
अभिलेखको हिसाबले हेर्दा १५५० वर्षअगाडि नै नेपाल खाल्डोमा ब्राह्मणहरु सम्मानपूर्ण स्थानमा रहेका थिए भन्ने देखिन्छ ।
लिच्छविकालका धेरै अभिलेखमा ‘आब्राह्मणाद् चाण्डालपर्यन्तम्’ अर्थात् ब्राह्मणदेखि चाण्डालपर्यन्त भन्ने उल्लेख छ । लिच्छविकालका थुप्रै अभिलेखमा ब्राह्मणहरुलाई दान दिइएका प्रसंग आउँछन् । मौर्यसम्राट् अशोकका स्तम्भलेखमा पनि ब्राह्मणहरुको उल्लेख धेरै ठाउँमा भएको पाइन्छ । तर अहिलेका ब्राह्मणहरुको सम्बन्ध लिच्छविकालका ब्राह्मणसँग भएको पाइएको छैन । लिच्छविहरु स्वयम् पनि को हुन् भन्ने खोजीको विषय भएको छ ।
मनुस्मृतिमा पनि ब्राह्मणहरुको काम अध्ययन, अध्यापन गर्ने भनिएका कारण निश्चय नै ब्राह्मणहरुले अध्ययन–अध्यापन गर्थे । त्यस्तै लिच्छविकालका अभिलेखहरुमा जुन स्तरको संस्कृत भाषाको प्रयोग भएको छ, त्यसले पनि ब्राह्मणहरु अध्ययन–अध्यापन कार्यमा थिए भन्ने अनुमान गर्न सकिन्छ । लिच्छविकालका अभिलेखको भाषा कालिदास, बाणजस्ता संस्कृत वाङ्मयका ठूला कविहरुसँग दाँजिने स्तरको हुनाले त्यसबखतको नेपालमा संस्कृत अध्ययन–अध्यापनको स्थिति निकै राम्रो थियो भनी भaन्न सकिन्छ । यसको जिम्मा ब्राह्मणहरुले नै लिएका थिए ।
लिच्छविकालका अभिलेखमा मन्दिरको चर्चा आउँछ । बारम्बार अग्निकाण्ड भए पनि, हिमपात भए पनि, जीर्णोद्धार गरिए पनि ढुंगाका भएका कारण ती अभिलेख बाँकी रहेका हुन् । लिच्छवि अभिलेखहरुमा ‘आब्राह्मणाद् चाण्डालपर्यन्तम्’ लेखिएबाट ब्राह्मणको मात्रै भिन्नै बस्ती अथवा चाण्डालको मात्रै भिन्नै बस्ती थियो भन्ने देखाउँदैन । बरु, ब्राह्मणदेखि चाण्डालसम्मका सबै जाति सँगसँगै बस्थे भन्ने देखिन्छ । मध्यकालका बस्तीहरुको आधारमा के भन्न सकिन्छ भने बसाइको ठाउँमा अलिअलि फरक थियो होला, तर उनीहरु एकैठाउँमा बसेका थिए । उदाहरणका लागि, हाम्रो पुरानो घर काठमाडौंको वटु हो । मल्लकालको अन्त्यतिर पादरीहरुलाई गिर्जाघर बनाउन दिइएको ठाउँ हो वटु । हामी शाहकालमा वटुमा बसेका ब्राहमण परिवार भए पनि हाम्रो घरसँगै कसाही समुदायका नेवारहरुको घर छ । शाहकालमा त फरकफरक जातका मानिसहरु एकैठाउँमा बसेका थिए भने झन् लिच्छविकालमा सँगै बसेका थिएनन् भनेर भन्न सकिन्न ।
लिच्छविकालको शासनव्यवस्था कौटल्यको अर्थशास्त्र र अरु नीतिशास्त्रको आधारमा चलेको देखिन्छ । त्यसकारण शासनसत्तामा ब्राह्मणहरुको भूमिका थियो भन्ने सहज अनुमान गर्न सकिन्छ । तर, लिच्छवि शासनव्यवस्थामा ब्राह्मणहरुको उपस्थितिबारे अभिलखेहरुबाहेक अरु प्रमाण प्राप्त नभएकोले यसै भन्न सकिँदैन । यसो भएता पनि ब्राह्मणहरु भाइभारदारका रुपमा रहेका हन्थे नै । चन्द्रगुप्त मौर्यको इतिहास हेर्दाखेरी पनि स्पष्ट हुन्छ । चन्द्रगुप्तलाई स्थापित गरेकै ब्राह्मणले हो । उनलाई स्थापित गर्ने कौटल्य आफै ब्राह्मणै हुन् ।
भारतकै इतिहास हेर्दा ब्राह्मण राजा भएको तथ्य पनि देखिन्छ । मौर्य वंशका राजा वृहद्रथ अलि कमजोर थिए । उनका सेनापति थिए पुष्यमित्र (ब्राह्मण) । वृहद्रथलाई विस्थापित गरेर पुष्यमित्रले शासन हातमा लिए । मौर्य कालपछि चलेको शुङ्ग शासन ब्राह्मणहरुकै शासन थियो ।
मनुस्मृतिमा ब्राह्मणलाई सम्बोधन गर्नुपर्ने भए शर्मा, क्षेत्रीलाई सम्बोधन गर्नुपर्यो भने वर्मा, वैश्यलाई सम्बोधन गर्नुपर्यो भने गुप्त, शुद्रलाई सम्बोधन गर्नुपर्यो भने दास जोड्नू भनिएको छ ।
काठमाडौंको मालीगाउँमा घरको जग खन्ने क्रममा जयवर्माको मूर्ति भेटियो । त्यो मूर्ति २४२ सालको हो । ब्राह्मणबारे उल्लेख भएको मानदेवको चाँगुनारायणको स्तम्भलेख ५२२ सालको हो । यताबाट नेपाल खाल्डोमा ब्राह्मणहरुको प्रारम्भिक उल्लेख आउनुभन्दा २८० वर्षअघि नै क्षत्रियको उल्लेख आएको प्रस्ट हुन्छ ।

http://esamata.com/np

No comments:

Post a Comment