राजा-महाराजाहरूको धुपबत्ती
नेपाल प्रज्ञा प्रतिष्ठानबाट एउटा कल आयो ।
“राष्ट्रिय एकता दिवसको सन्दर्भमा राजा पृथ्वीनारायण शाहको विषयमा गोष्ठी हुँदैछ । त्यो गोष्ठीबारे तपाइलाई निमन्त्रणा दिन भनेर,” एक महिलाको फोन थियो।
मैले लगत्तै जवाफ दिएँ, “ए ! बैनी म त अनेकतापट्टिको परेँ, गलत ठाउँमा कल गर्नुभएजस्तो लाग्यो ।”
उनी अकमकाइन् र सोधिन्, “ए किन अनेकता सर ! त्यसो भए यो गोष्ठी गर्नुनहुने हो ?”
मैले भने, “खै कोनी त्यो त आयोजकलाई पता होला, तर मचाहिँ विविध नेपालीहरूबीच एकताको कुरो गर्ने मान्छे परेँ, राजा-महाराजाहरूको धुपबत्ती गरेर भन्दा पनि।”
“त्यै त, सरको कुरो राम्रो रैछ त, कार्यक्रममा त आउनु नि सर !” मेरो विचारसँग सहमति व्यक्त गर्दै बोलाइछाड्ने आग्रह उनको थियो । अनि मैले पनि जाने हो कि भनेर, “वक्ताहरू कोको हुनुहुन्छ ?” भनेर सोधें । वक्ताहरूबारे उनलाई पता रहेनछ, तर प्रतिष्ठानमा बकिरहने उनै मान्यजनको नाम उनले खरर लिइन् । नाम सुन्दा खासै नयाँ विचार दिने नाम सुनिनँ; अनि उनै बासी विचार ओकल्ने वक्ताहरूको श्रोता बन्ने रहर गरिनँ र गइनँ ।
फूल र फूलबारी नचाहिने, तर बनमाराघारीमा राष्ट्रिय एकताको प्रतीक खोज्नु भनेको सांस्कृतिक विस्तारवादी सोचसँगै राजनीतिक एकात्मकवाद र वैयक्तिक हैकमवाद हाबी हुनु सिवाय केही होइन । सबैलाई चेतना भया ।
विश्वको इतिहासमा अलेक्जाण्डर महान् हुन् ! इतिहास लेखन र अध्ययनको पुरानो ढाँचा हो । इतिहास अलेक्जाण्डरले नै निर्माण गरे, त्यसैले उनको इतिहास लेख्नुपर्छ, पढनुपर्छ, र चर्चा गर्नुपर्छ; इतिहासका प्राध्यापक र विद्यार्थीहरूको इतिहास अध्ययन र अध्यापनको एउटा मार्ग (डिस्कोर्स) हुने गर्थ्यो। तर आजका इतिहास अध्ययन गर्ने विध्यार्थी र अध्यापकहरूको मार्ग (डिस्कोर्स)चाहिँ के छ ? यो कुरोको हेक्का नराख्ने हो भने इतिहास अध्यापन वा लेखनको मार्ग असान्दर्भिकमात्र नभै गलत तरिकाले इतिहास अध्यापनको मार्गमा हामी हुनेछौँ ।
सन् २००४ मा अमेरिकाको पेन्सिल्भिनिया स्टेट युनिभर्सिटी र क्रिष्टोफर न्युपोर्ट युनिभर्सिटीको सहआयोजनामा इतिहासको अध्ययन, अध्यापनमा समकालीन विचार के छ भनेर एउटा गोष्ठी आयोजना भएको थियो । त्यो गोष्ठीमा व्यक्त विचारको सार के थियो भने ओलिभर स्टोन्सको फिल्म ‘दि ग्रेट आलेक्जाण्डार’ रिलिज भएपछि उक्त फिल्ममा अलेक्जाण्डरको विषयमा इतिहास यति बढाइचढाई गरियो, त्यो अनपयुक्त तरिकाले समय र विभिन्न संस्कृतिको सन्दर्भमा प्रस्तुत गरेको पाइयो । त्यो इतिहास लेखनको डिस्कोर्स बनाउनेभन्दा पनि विभिन्न जाति, जनजाति, धर्मसंस्कृति, राज्यहरूको निर्माण पुनर्निर्माण वा विनिर्माण कसरी हुन्छ, व्यापक बहसको मार्ग अपनाउने हो, नकि कुनै व्यक्तिले यो बनायो वा ऊ बनायो भनेर इतिहास लेख्ने वा अध्यापन गर्ने गराउने ।
सत्तरीको दशकमा अमेरिकामा थोमस जेफरसनभन्दा अलेक्जाण्डरको नाम धेरै अमेरिकीले जान्दथे । कारण अलेक्जाण्डर विश्वविजेता। त्यसपछि उनीहरूले इतिहास लेखन, अध्ययन, अध्यापनको डिस्कोर्स बदले । नेपालको छाँट भने उही अलेक्जाण्डरकै तरिका हाबी छ, “श्री ५ बहामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएका हुन् ।” म ती दिवसहरू झल्झली सम्झन्छु, पुस १ गते श्री ५ महेन्द्र तथा पञ्चायत व्यवस्था- अमर रहोस् । पौष १४ गते श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको जय जय जय । पौष २७ गते श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवस मनाउँछौँ मनाउँछौँ । र फाल्गुन ७ प्रजातन्त्र दिवस जिन्दाबाद। अन्तत: फाल्गुण ७ मात्र बाँकी रह्यो जिउँदोजाग्दो । जिन्दाबाद-जिन्दाबाद । अरू व्यवस्था र समय परिवर्तनसँगै समाप्त भए ।
बाबुरामजी, सबै नेपाली गोरखाली हुन् ?
त्यही त हाम्रो विडम्बना ! संसार कहाँ, हामी कहाँ ? नेपाली राजनीतिको नयाँ इतिहासको रचयिताको दाबी गर्ने प्रकाण्ड विद्वान् डा. बाबुराम भट्टराई भन्छन्: ‘नेपालको इतिहासमा गौतम बुद्धपछि पृथ्वीनारायण शाहमात्रै त्यस्तो ऐतिहासिक व्यक्ति हुनपुगे, जसको नाम लिएर नेपालीले गर्व गर्नसक्छन् । नेपालबाहिर चिनाउन सक्छन् ।’ को नेपाली ? नेपाल भनेको के हो ? डा. भट्टराईलाई लाग्दो हो, सबै दुई करोड पैसठ्ठीलाख मनुवा उस्तै अनुहार, आहारविहार वा प्रकारका छन् । त्यसकारण उनले देखेको नेपाल र नेपालीले पृथ्वीनारायण शाहबारे गर्व गर्छन् । नेपाल एउटा राज्य हो, त्यहाँ बस्ने नेपाली हुन्, त्यसमा विवाद छैन । तर ती सबै के एकै गोत्र, जात-जाति, इतिहास, दु:ख-पीडा, रङ्गरोगनका हुन् ? डाक्टर साहेबलाई लाग्दो हो, नेपाली सबै गोरखाकै जस्तो, त्यो पनि डा. भट्टराईको पिता-पुर्खाजस्तै। अब कसरी बुझ्ने बुझाउने होला ! बरु माउण्ट एभरेष्टले भौगोलिक रूपमा नेपाल कहाँ छ, देखाउँछ । बरु जहाँजहाँ बेलायती साम्राज्यले टेक्न पुग्यो, त्यहाँ नेपाल कहाँ छ, बरु गुर्खाज वा गोरखाली सेनाले भन्छ । बुद्ध-भगुवान भारतले त देखेको रैनछ । पृथ्वीनारायण त्यही गोरखाको छोप्राकमा घाँस, दाउरा गर्ने एकजना बाहुनी नानीलाई सोध्यो भने चिन्दैन होला ।
इतिहासविद डिल्लीरमण रेग्मीको विचार छ, “उनको (पृथ्वीनारायण शाहको) योजनामा महत्वाकांक्षाको एउटा तत्व सधै हुन्थ्यो । उनी प्रथमत: राज्य विस्तारवादी (कन्क्वेरर्) नै थिए र उनका सबै सोचहरु आक्रमण गर्ने विचारको वरिपरि नै सधै घुमिरहेका हुन्थे भन्ने कुरा र कसैले पनि नकार्न सक्दैन । सम्भवत: उनको विस्तारको मकसद आज हामीले जानेको मुलुक त्यो बेला बुझिन्नथ्यो । देशभक्ति वा राष्ट्रवादको अनुभूति आफ्नो भूभागको विस्तार गर्ने प्रवृत्तिमा प्रयोग गरेर तर्क गर्न कदापि सक्दैनौँ (कुमार प्रधान: २००९: ९५-९६)।”
राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाको विचारमा, ‘पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर महत्व दिन खोज्नु गलत हुनेछ’ भनेका रहेछन् । उनको विचारमा, ‘१८१६ पछि नेपाल देश त बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा त बन्यो, तर त्यसमा आत्मा आउन सकेन । फ्रेम बनाइयो, तस्बिर राखिएन । एकतन्त्रीय हुकुमी राज्य राष्ट्रियताको घातक हो ।” रेग्मी र कोइरालाका विचार बरु नेपाल र नेपाली राष्ट्रियता र एकताको परिभाषा र व्याख्या कसरी गर्ने भन्नेतिर उन्मुख देखिन्छन्, अरूको भन्दा ।
गोरखा राज्यको विस्तार (गोरखा कन्क्वेष्ट) का वेत्ता कुमार प्रधानले एकीकरण भएको भन्ने भनाइको प्रतिवाद गरेका छन् । उनको पुस्तक ‘गोरखा कन्क्वेष्ट’ को पछिल्लो संस्करणको भूमिकाका लेखक तथा नेपालसम्बन्धी ज्ञाता जोन ह्वेल्ट्।न लेख्छन्, ‘निश्चय नै प्रधानको कुरो सही हो कि अठारौँ शताब्दीमा जे भयो त्यो ‘एकीकरण’ सय वर्षपछि इटली र जर्मनीमा भएको जस्तो कदापि होइन । सम्म मैदानबाट छुटाएर र विशेषत: गण्डकी क्षेत्रका पर्वतियाहरुको शासक बन्ने सपना पर्वते मान्छे (राजा)को मनसाय थियो । उनमा पक्कै पनि समान धार्मिक विश्वास र सामाजिक संरचनाहरूको जानकारी थियो; अपितु लिखित साझा भाषा, उही राजनीतिक सचेतनता वा विचारको बिल्कुल अभाव थियो, जसले विस्तारित राज्यका सबै मानिसलाई एकताको सूत्रमा बाँध्छ ।”
छेपारे कम्युनिस्ट नेता प्रश्रितको क्रान्तिकारिता
त्यसको ठिक उल्टो, कम्युनिस्ट नेता मोदनाथ प्रश्रित भन्छन्, “शाहलाई राष्ट्रिय एकताका प्रतीकका रूपमा स्वीकार गरिनुपर्छ, पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाउन फेरि थाल्नुपर्छ।” किन नेपाली कांगेंसका नेता अर्जुननरसिंहसँग उनको कुरो मिल्छ ? केसी लेख्छन्, ‘जसरी सम्राट चिनसिह हाङतीले चीनको, बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल (जार) ले रुसको, काबुर, ग्यारिवाल्दी र मेज्जिनीहरूले इटलीको राष्ट्रनिर्माण गरे, त्यही कोटीमा पृथ्वीनारायण शाहलाई राख्नु न्यायोचित हुन्छ ।…२०६२-६३ को जनआन्दोलनपछि सरकारले साबिकमा मनाउँदै आएको पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खारेज गर्ने अत्यन्त गलत कदम चलायो। ”
दुवै राजनीतिक नेताहरूको कुरो आ’आफ्नो ठाउँमा सही हुनसक्छ । तर उनीहरूले राष्ट्र र राष्ट्रिय एकताको व्याख्या कसरी गरिरहेका छन् ? यो समय र परिस्थितिअनुसार बद्ल्दै रहने हो ? हो भने कति पटक, कुन कुन परिस्थितिमा त्यो बदल्ने हो ? उनीहरू दुवैले लिएका उदाहरण कुमार प्रधान र जोन ह्वेल्ट्?नले नपढेका होलान् त ?
नेकपा एमाले हुनुपूर्व नेकपा (माले) हुँदा पृथ्वीनारायण शाहलाई हत्यारा, साम्राज्यवादी, विस्तारवादी युद्ध सरदारजस्तो संज्ञा दिने काम स्वयम् मोदनाथ प्रश्रितलगायत सीपी मैनाली, झलनाथ खनाल, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, खड्ग ओलीले गरेका हुन् कि होइनन् ? प्रचण्ड, बाबुराम, गोपाल खम्बुले भूमिगत प्रशिक्षणमा खोकेको हो कि होइन ? नेपाल के हो, यो कसरी बन्यो, ककसले के गरे नेपाल बन्दा ? अहिले नेपाल कस्तो अवस्थामा छ ? भोलि के हुनसक्छ ? यस्ता साधारण प्रश्नको जवाफ दिननसक्ने, अनि पटकपटक कुरो फेर्नेले कसरी नेपाल र नेपालीबारे जिम्मेवार राजनीति गर्दा हुन्, विचारणीय छ ।
एउटा स्मरणीय कुरो यहाँ के छ भने एक जमानामा नेकपा (माले) माओवादीभन्दा उग्र कम्युनिस्ट पार्टी थियो । त्यही पार्टीको उग्रतालाई दुर्घटनाबिना बहुदलीय संसदीय राजनीतिमा अवतरण गर्नसक्ने भनेकै मदन भण्डारी हुन् । तर उनले सहजरुपमा अवतरण गर्न नसकेका व्यक्ति थिए मोहनचन्द्र अधिकारी । मोदनाथ प्रश्रितमार्काहरू सबै लाइनमा आए, तर अधिकारीले कीर्तिपुरमा भाषण ठोके, पृथ्वीनारायण शाह साम्राज्यवादी थिए, उनले कीर्तिपुरे जनताको १७ धार्नी नाककान काटेर गोरखा विस्तार गरेका हुन् । अधिकारी आलोचित बन्नपुगे; उनले आफ्नो बुझाइमा सम्झौता गरेनन् बरु साधु भए । पछि के भए थाहा छैन, तर प्रश्रितदेखि ओलीहरुको वैचारिक हालत देखिएको छ । त्यसो हो भने प्रश्रितदेखि ओलीजस्ता वामपन्थी नेताहरू र अर्जुननरसिंह केसी वा खुमबहादुर खड्काजस्ता नेपाली कांग्रेसका नेताबीच के अन्तर ?
एकातिर बिपी कोइरालालाई महामानव भन्ने, अर्कोतिर उनका विचार वा बुझाइभन्दा फरक पनि विचार राख्ने । ताक परे तिवारी, नत्र गोतामेको राजनीति आखिरी कतिसम्म गर्ने ? बरु प्रकाशचन्द्र लोहनी ठिक । किनकि उनको जीवनको सबैभन्दा ठुलो ज्ञानको विद्यावारिधि हो, “समय बलवान हुन्छ, समयले नै सबै कुरो ठिक ठाउँमा ल्याउँछ ।”
उनको दर्शन अन्तत साबित भएको छ । कुनै पनि घटनाको सामाजिक, सांस्कृतिक, आर्थिक, तथा राजनीतिक कारक हुन्छ । कज एण्ड एफेक्टको रिलेसन हुन्छ, अरू कोफाउण्डिङ् फैक्टरहरूले चाहेको परिणाम आउँछ वा कुनै ‘डिडक्टिभ रिजनिङ्ग’ थेवरीले घटनाको व्याख्या गर्ने हो । यस्तो सामान्य सिद्धान्त र विचार सब छोडेर ‘समय कुर्नु नि, समय पुगेपछि कसैले भन्नै पर्दैन’ भन्ने भाग्यवादी सिद्धान्त कुरेर उनी बसिरहेका छन् । कम्युनिस्टहरू धार्मिक भइरहेका छन्, गणतन्त्रवादीहरू राजतन्त्रवादी भइरहेका छन्; के गरुन् त उनी बिचराले मात्रै ! क्रान्तिकारीहरू भ्रान्तिकारी हुनु वा भ्रान्तिकारीहरू क्रान्तिकारीजस्तो देखिनु विचार, दर्शन, आचार-विचारको भन्दा समयले नै उचाल्यो, पछार्यो, र ठिक ठाउँमा लघार्यो भन्ने विश्लेषणमा उनी पुगेछन् । वास्तवमा पृथ्वीनारायण शाहबारे चर्चा गरिरहँदा नेपालका छेपारे राजनीतिक नेताहरूका आचार-विचारमा लागेर बहकिनुको कुनै महत्व छैन । बरु शाहले नै बोलेको भनेर भनिएका कुराको आजको घडीमा के कित सान्दार्भिकता छ ? त्यता चर्चा गर्नु अलि मनासिब होला ।
‘असली हिन्दुस्तान’को अर्थ र अनर्थ
पहिलो कुरो, उनले आर्जेको नेपाल: नेपाल खाल्डोसहित चौबीसी र पछि बाइसी राज्य रजौटामाथि चढाइँ गरी आफ्नो राज्यको विस्तार गर्दा परिणाममा आजको नेपाल बन्यो। यो कार्य उनको व्यक्तिगत प्रयाससँगै अरू धेरैको सहयोग र बलिदानबाट सम्भव भयो भने लाखौँको कत्लेआम भयो । उनले ससाना राज्य, रजौटाहरूमाथि चढाइँ गर्दा त्यहाँका आदिवासी जनजाति विशेषत: खस, मगर, गुरुङ्लगायत ठकुरी, बाहुन, क्षेत्रीको खुन–पसिना धेरै बगेको छ। उनको सन्दर्भमा जनजातिहरुलाई दुई प्रकारले वर्गीकरण गर्नुपर्ने हुन्छ। पहिलो, यो राज्य बनाउन खुन–पसिना बगाएर पनि उपेक्षित । दोस्रो, यो राज्य बनाउँदा अतिक्रमित भइ सीमान्तकृत । खस, मगर, र गुरुङ् पहिलो वर्गमा पर्छन् भने नेवार, तामाङ्, सुनुवार, राई, लिम्बु, आदि दोस्रो वर्गमा पर्छन् । तर उनी र उनको शेषपछिका उनका उत्तराधिकारीले चार जातमा पनि ठकुरी, र क्षेत्रीहरूको पनि खास समूहको राज्य, बाहुनमा पनि खास व्यक्तिहरूको सहयोग र सल्लाहअनुसार नेपाल बनाए । खस, मगर, गरुङ्लगायत अन्य जाति पाखा पारिए । तैपनि खस, मगर, गरुङ्लगायत अन्य जाति पृथ्वीनारायण शाहको पक्षमा किन लागे भन्ने प्रश्न अझै अनुत्तरित छ । व्यक्तिगत रुपमा लागेको हो भन्ने एउटा बुझाइ हुनसक्छ। तर त्योभन्दा पनि उनीहरूमाथि चढाइँ गर्ने सेनहरूविरुद्ध, उनीहरूलाई निरन्तर शोषण गर्ने राज्य–रजौटाविरुद्ध पृथ्वीनारायण शाहले तत्कालीन रैथाने आदिवासी जनजातिलाई उक्साउन र आफ्नो पक्षमा ल्याउन सफल भएको हुनसक्छ। यसमा ‘म मगरातको राजा हुँ’ भन्ने उनको भनाइलाई लिनसकिन्छ । उनी चालबाज भएकाले जे भन्दा ठिक हुन्छ त्यही भने । स्पष्ट शब्दमा भन्ने हो भने उनले झुक्याए वा धोका दिए।
दोस्रो, उनले भनेको ‘असली हिन्दुस्तान’ले आजको सन्दर्भमा अर्थ के राख्छ ? हिन्दु धर्मको नाममा आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न खोज्नेको तर्क छ, “विश्वमा विभिन्न धर्मका धार्मिक राज्यहरू धेरै छन् तर नेपाल फगत एउटै हो, हिन्दुहरूको जनसङ्ख्या ९० प्रतिशतभन्दा धेरै छ, त्यसकारण यसलाई प्रतीकात्मक किन नहोस्, हिन्दु राष्ट्र संवैधानिक रुपमै हुनुपर्छ।” पहिलो कुरो, यो आफूलाई हिन्दु धर्मावलम्वी भन्ने आबादीको भावना हो कि धर्मको ढोङ् रच्दै रजनीतिक स्वार्थ सिद्ध गर्न पल्केका कमल थापा, खुमबहादुर खड्का, कालीबाबा, पाईलट बाबाहरुको निहित चाहना हो ? हिन्दु धर्मावलम्बीहरूको के तर्क छ भने यो त सनातन संस्कृति हो, अझ ईन्डस रिभरदेखि ब्रम्हपुत्र नदीसम्म बसोबास गर्ने विभिन्न सामाजिक समूहको अभ्यास नै हिन्दु धर्म हो । त्यसो हो भने त नेपालमात्रै कसरी हिन्दु राष्ट्र हुन्छ ? किनभने ईन्डसदेखि ब्रम्हपुत्रसम्म त भारतको कस्मिर, नेपाल, सिक्किम, भुटान, आसाम आदि मुलुक पर्छन् । हुन पनि दैविक हिन्दुहरुका केही कट्टरता (यो गर्न हुने, हो गर्न नहुने) बाहेक यो गर्दा के हुन्छ र के हुन्न भनेर हेर्ने, नियमन गर्ने, नियन्त्रण गर्ने कुनै व्यक्ति र संस्थाको अभावमा हिन्दु कुनै धर्मभन्दा सनातन संस्कृतिजस्तो लाग्दछ । यो मान्यतामाथि विश्वास गर्ने हो भने राजा पृथ्वीनारायण शाहले भनेको असली र नक्कली हिन्दुस्तानको कुनै अर्थ न हिजो थियो, न आज ।
वैदिक हिन्दुहरूको उत्पतिनै भएको छिमेकी मुलुक हिन्दुस्तान हो; त्योचाहिँ हिन्दुस्तान नहुने, नेपालचाहिँ हिन्दुस्तान हुने ? त्यो घोर पूर्वाग्रही सोच हो । त्यस्तो सोचाइ राख्नेहरुको आँखामा मुगल र अङ्ग्रेजले छोइछिटो हालेकोले वास्तविक हिन्दुस्तान नक्कली हो, अंङ्ग्रेज र मुगलले नटेकेको पर्वतराजको मुलुकमात्रै सक्कली हिन्दुस्तान ? त्यसरी भनेर बस्ने भनेको केपी ओलीले राजेन्द्र महतोलाई युपि, विहार सबै मिलाएर मधेस प्रान्त बनाऊ भनेजस्तै हो। त्यसकारण असली हिन्दुस्तानको नारा न हिजो ठिक थियो, न आजको हिन्दु राष्ट्रको नारा उचित छ । तर यदि आम हिन्दु धर्मावलम्बी नेपाललाई पहिचानका लागि मात्र भए पनि हिन्दु राष्ट्र राखौँ भन्ने विचार राख्छन् भने त्योभित्र लिम्बुवानदेखि खसानसम्मका पहिचान कसरी अटाउने वा मिलाउने ? एउटा बहसको विषय हुनसक्छ।
बेग्लाबेग्लै गह्रा वा पहिचानजनित सङ्घीयता
तेस्रो, नेपालको भूराजनीतिक अवस्थितिलाई जसरी शाहले दुई ढुङ्गाको तरुल भनेका छन्, त्यो असंलग्न परराष्ट्र नीतिको आधारशिलाको रूपमा व्याख्या गर्ने गरिन्छ । त्यसकारण यो उनको विचार नेपालका लागि परराष्ट्र मामिलाको बलियो सैद्धान्तिक मान्यता हो भन्ने विश्लेषण पनि छ । यो सुन्दा त सुन्दरै लाग्छ, तर यो विचार आजको समयमा सान्दर्भिक छैन । आजको विश्वमा सबै मुलुकसँग ‘अन्तरनिर्भता’ व्याप्त भइसकेको छ । दुई ढुङ्गाअनुसार त आपसी स्वार्थमा, लाभमा, साँगुर्याउने वा सुरक्षाको हिसाबले संवेदनशील हुने अवस्थामा यो सिद्दान्त नै नेपालको परराष्ट्र नीतिको स्रोत हो भन्नु अलि भावनात्मक र आत्मसमर्पणकारीजस्तो छैन र ?
चौथो, ‘स्वदेशी उत्पादन, सेवा, सुविधाको उपयोग र आत्मनिर्भरता’ को विकासको कुरो जुन छ, त्यो धेरै हदसम्म सकारात्मक विचार छ । आज नेपाल एक सार्वभौम सत्तासम्पन्न, स्वतन्त्र राष्ट्र हो भन्नका लागि एउटै आधारशिला भनेको यसको आफ्नै उत्पादन र त्यसको विस्तार आन्तरिक तथा वैदेशिक क्षेत्रमा हुनुपर्छ । त्यसपछि नेपालको आफ्नो मौलिक सांस्कृतिक मूल्यमान्यतासँगै हामी नेपाली हौँ भन्ने गौरवको समान अनुभूति चाहिन्छ ! खै आज त्यो कहाँ छ ? पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भनौँ भनेर जिकिर गर्ने हिजोका शासक र आज शासनको कुर्सीमा बस्नेले के गरेर देखाए ? व्राम्हणवाद, नातावाद, कृपावाद, भाग्यवाद, चाचुचा (चाकरी, चुक्ली र चाप्लुसी) बाहेक के देखाउन सक्यो ? आज बसेकाले के देखाउँदैछन् र भोलि के देखाउने छन् भन्ने विषय प्रष्टै छ । अरु त के कुरा गर्नु, भुटानसँग व्यापार घाटा थोपरेर बस्नेले नेपाल एकीकरणको व्याख्याता वा नेता हुन र पृथ्वीनारायण शाहको धुपबत्ती बालेर देखाउन खोजेकाचाहिँ के हो, प्रस्ट छैन र !
पाँचौँ र अन्तिम कुरो; सबै कुरोहरू विर्सेर खोज्ने हो भने आजको जमानामा शाहको कुनै आदर्श कहीँ बाँकी छ भने ‘साझा फूलबारी’ मा कतै केही छ कि ! त्यसले विविधताले भरिएको सामाजिक पहिचानलाई साझेदारिता सुनिश्चित गरेर फूलबारी (राज्य) निर्माणको कामलाई सङ्केत गर्नसक्छ । तर यही कुरो फेरि उनका भक्तहरूका लागि काउछो भएको छ। हाम्रो मुलुक फूलबारी बनाउनुपर्ने र हुनुपर्नेमा बनमाराघारी बनेको छ । जब भिन्नभिन्न फूलहरू अस्तित्वमा रहन्छन् भने उनीहरू एउटै गह्रामा फुलाउने वा बेग्लाबेग्लै गह्रामा । फूलहरूमा विविधता भन्नुको अर्थ नै उनीहरूको साझा पहिचान फूलहरू भएता पनि उनीहरूको विशिष्ट पहिचानहरू: मखमली, गुलाब, सयपत्री, चमेली सबैको आआफ्ने फूल्नुमा, हुर्कनुमा, उनीहरूको उमेरमा या विभिन्न चरित्रमा भिन्नताहरू छन् । बेग्लाबेग्लै परिवार र जातजाति भएकाले तदअनुरुपका गह्राहरु बनाइएमा उनीहरूको प्रकृति र चरित्रअनुरुप हुर्काउनु, फुलाउनु र फूलबारी बनाउन सकिन्छ भन्ने हो।
पहिचानजनित सङ्घीयता भन्नुको अर्थ नै के हो भने लिम्बुवान, खम्बुवान, मधेस, थरुहट, तामाङ्सालिङ्, नेवा एवं खसान बनाउनु भनेको त्यही फूलबारीका गह्रा बनाउने भनेको हो। त्यसकारण फूल र फूलबारी नचाहिने, तर बनमाराघारीमा राष्ट्रिय एकताको प्रतीक खोज्नु भनेको सांस्कृतिक विस्तारवादी सोचसँगै राजनीतिक एकात्मकवाद र वैयक्तिक हैकमवाद हाबी हुनु सिवाय केही होइन । सबैलाई चेतना भया ।
No comments:
Post a Comment