Thursday, July 31, 2014

भीमसेन थापाको आत्महत्या

भीमसेन थापाको आत्महत्या

     हिमेश
                                                                                        कान्तिपुर
 
                                                                                     २०७१  श्रावण ९ -

ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए । सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । गि्रक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।

महारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएर मारेको आरोपमा थापा नजरबन्दमा परेका थिए । नजरबन्दमै उनले सुनेछन्, आफ्नी कान्छी श्रीमतीको हुर्मत लिइँदै छ । इतिहासकार बाबुराम आचार्यले लेखेका छन्, 'यस्तो हल्ला त्यति बेला पूरा काठमाडौंमा फैलिएको थियो । यो हल्ला भीमसेन थापासम्म पनि पुग्यो ।' स्वाभाविक रूपमा उनी स्तब्ध भए । अर्का इतिहासकार चित्तरञ्जन नेपालीले लेखेका छन्, 'उनकी स्त्री (भक्तकुमारी) लाई वस्त्रहीन तुल्याई सहर डुलाउने भएको छ र उनले यो दृश्य गुहुमा गाडिएर हेर्नुपर्नेछ ।' थापाको घोर बदनामी हुँदै थियो, उनी त्यसलाई जिउँदै हेर्न र सुन्न चाहँदैनथे । उनलाई भीषण आघात पुगेको थियो ।

१८९६ साउन ८ को दिन थापाले आफ्नो जीवनलाई लिएर एक अप्रत्यासित निर्णय गरे, आत्महत्याको । निगरानीमै राखिएको कोठामा उनले खुकुरीद्वारा सेरिएर मृत्यु आत्मसात् गर्ने कदम चाले । निगरानीको स्थितिमा पनि त्यहाँ खुकुरी कसरी पुग्यो ? यो प्रश्नले अझै उत्तर खोजिरहेको छ । केही इतिहासकारले भीमसेन थापाले काँचले सेरिएर आत्महत्याको प्रयास गरेको पनि भनेका छन् । जस्तो चित्तरञ्जन नेपालकै अनुसार, 'उनले विह्वल भई रन्थनिएर झ्यालको ऐना फोडी त्यसैको टुक्राले आफ्नै गलामाथि प्रहार गरे ।'

जे होस्, आत्महत्या प्रयासको यो समाचार राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मीसम्म पुग्नु थियो, पुग्यो । यसलाई लिएर उनीहरू अझ क्रुद्ध भए । बाबुराम आचार्यलाई मान्ने हो भने तत्काल उपचार भएको भए, उनी सजिलै बाँच्ने थिए । राजा रानीकै आदेशमा रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकियो । यही स्थितिमा उनी नौ दिनसम्म बाँचे । वषर्ादको समय थियो, त्यसै स्थितिमा प्राण त्यागका लागि छटपटाइरहे । अन्ततः साउन १६ मा मृत्युवरण गरे ।

कथा यतिकै सकिन्न । लासको सम्मानपूर्वक दाहसंस्कार गर्नसमेत दिइएन । खासमा सामान्य तरिकाले पनि जलाउन दिइएन् । बरु स्याल, कुकुर र गिद्धलाई खान दिइयो । कतिसम्म भनिन्छ भने, उनको लासलाई टुक्रा टुक्रा पारेर काठमाडौंका ठाउँ ठाउँमा फ्यालिएको थियो । 'नेपाली इतिहासमा यति ठूलो व्यक्तित्वको यस्तो बिभत्स मृत्यु कहिल्यै भएको छैन, यस्तो दर्दनाक स्थिति पनि कहिल्यै बनेन,' इतिहासका प्राध्यापक भवेश्वर पँगेनी मान्छन् ।

भीमसेन थापाले जहाँ मृत्युवरण गरे, त्यहाँ अहिले भीममुक्तेश्वर शिवालय छ । अहिलेको आधुनिक त्रिपुरेश्वरमा रहेको यो शिवालय माथवरसिंह थापाले बनाइदिएका हुन् । बाबुराम आचार्यले आफ्नो पुस्तक 'अब यस्तो कहिल्यै नहोस्' मा थप लेखेका छन्, 'यस शिवालयले त्यहाँ रहेर अझैसम्म पनि यिनको हृदयविदारक आत्मघात र अमानुषिक यातनाको सम्झना गराउँदै रहेको पाइन्छ ।' थापाको अन्त्य वास्तवमै हृदयविदारक छ, त्रिविविको इतिहास केन्द्रीय विभागका प्रमुख विजय मानन्धर यही भन्छन् ।

भीमसेन थापाप्रति पर्याप्त सहानुभूति राख्ने चित्तरञ्जन नेपालीले त्यसै घटनालाई लिएर एउटा अनौठो तथ्य खुलासा पनि गरेको पाइन्छ । उनले आफ्नो पुस्तक 'जनरल भीमसेन थापा र तात्कालीन नेपाल' मा लेखेका छन्, 'यसरी फ्याँकिएको भीमसेन थापाको लासबाट अचानक खप्पर र हातहरू गायब भएका थिए । हात अझै पनि चौतारिया फत्यजंगका सन्तानको घरमा सुरक्षित छ एवं प्रतिवर्ष एकचोटि पूजार्थ निकालिन्छ भन्ने सुनिन्छ । अनि खप्परचाहिँ लन्डनको कुनै आजयव घरमा सुरक्ष्ाित छ भन्ने सुनिएको छ ।'

राजमाता ललितत्रिपुरासुन्दरीको मृत्युपछि भीमसेन थापाको पतन सुरु भएको थियो । उनी खालि 'रबरस्टायम्प' मात्र थिइन् । थापा जे भन्थे, उनी त्यही गर्थिन् । 'भीमसेन थापाको जीवनीलाई तीन भागमा विभाजन गर्न सकिन्छ, त्यसमध्ये पहिलो भाग खालि षड्यन्त्रको मात्र कथा हो,' उनलाई लिएर लामो अध्ययन गरेका अर्का इतिहासकार त्रिरत्न मानन्धरको निचोड छ, 'भीमसेन थापाले आफू शक्तिशाली हुन् एकपछि अर्को षड्यन्त्र गरे । षड्यन्त्रकै कारण उनी माथिसम्म पुग्न सफल रहे ।'

त्यसैमा मिल्ने गरेर उहीबेला बाबुराम आचार्यले लेखेका छन्, 'यस्ता अमानवीय काम काम गरेर वास्तवमा यिनले आफ्नो पतनको निमित्त खाडल आफैले उसैबेला नै खनिसकेको देखिन्छ ।' थापाले शक्तिमा हुँदा धेरै महत्त्वपूर्ण व्यक्ति र तिनको परिवारलाई त्यस्तै निर्दयी मृत्यु दिएका थिए, जुन नियति पछि आफै भोगे । यसको मुख्य कथा भने त्यति बेला पूर्वराजा रहेका रणबहादुर शाहको हत्याको प्रकरणबाट जोडिन्छ । स्वामी महाराज बनेका रणबहादुर शाहलाई भीमसेन थापाकै सल्लाहमा मुख्तियार पद दिइएको थियो ।

त्यसको केही महिनापछि १८६३ वैशाख १६ को रात कचहरी बोलाइएको थियो, राजभवन बाहिर त्रिभुवन प्रधानको घरमा । यो अहिलको आधुनिक रणमुक्तेश्वरमा पर्छ । त्यसै कचहरीमा शेरबहादुर शाहीले रणबहादुर शाहलाई तरबार प्रहार गरे । केही बेरमै उनको निधन भयो । लगत्तै बालनरसिंहको प्रहारले शेरबहादुर शाही पनि काटिए । ठीक यही बेला भीमसेन थापा नजिकैको भान्सामा खाना खाइरहेका थिए, अविश्वसनीय रूपमा । हत्याकाण्डबारे सुनेपछि उनी दृश्यमा देखिए ।

शेरबहादुर शाहीका दुई अंगरक्षक तत्काल काटिए । र, सुरु भयो- शृङ्खलाबद्ध हत्या । काजी त्रिभुवन प्रधान र नरसिह गुरुङ थुनिए । शेरबहादुर शाहीका दाजु विदुर शाही नजरबन्दमा परे । पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ त नजरबन्दमै थिए । हेलम्बुमा रहेका महारानी राजराजेश्वरीलाई पनि बोलाइयो । यिनीहरू सबै भण्डारखालको बगैंचामा काटिए, कुनै पुर्पक्षबिना । विदुर शाहीका नाबालक छोराहरू पनि बचेनन् । त्रिभुवन प्रधानका नातिहरू पनि विष्णुमती नदीमा काटिए ।

पाल्पाली राजाका १८ अंगरक्षकले पनि ज्यान गुमाए । त्यसको अर्को दिन १३ अरू भारदार मारिए । राजराजेश्वरी १४ सुसारेहरूसँगै सति जान बाध्य पारिइन् । यसरी दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए, बाबुराम आचार्यले मृत्यु हुनेको संख्या यही टिपाएका छन् । 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले लेखेका छन् । त्यसपछि भीमसेन थापा मुख्तियार बने ।

उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो । अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो । राजपरिवारको भूमिका न्यून हुँदै गयो । नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो । यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए । अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जंगबहादुर सत्तामा आए । यस अर्थमा भीमसेन थापा जंगबहादुरका मार्गदर्शक देखिन्छन् ।' केही इतिहासकारले रणबहादुर शाहको हत्याको अपुष्ट आरोप भीमसेन थापातिर लगाएका छन् ।

भीमसेन थापा वास्तवमै कस्ता थिए त ? आधुनिक समयमा उनलाई हेर्ने दुई ठ्याक्कै फरक दृष्टिकोण पाइन्छ । दुई 'स्कुल अफ थट्स' । एकातर्फ त्यस्ता इतिहासकारहरू छन्, जसले भीमसेन थापाको गुनगान मात्र गाउँछन् । उनीहरू सिधै भन्छन्- हाम्रा भीमसेन थापा । उनीहरू भीमसेन थापाप्रति खुबै सहानुभूति राख्छन् र उनको आत्महत्यालाई यो भनाइसँग जोड्छन्, 'सतिले सरापेको देश ।' अर्कातिर यस्ता इतिहासकार छन्, जसले भीमसेन थापाको दुर्गुण मात्र देख्छन् । उनीहरू भन्छन्- तिम्रा भीमसेन थापा । उनीहरू मान्छन्, 'जसरी भीमसेन थापा अरूको लासमाथि टिकेर सर्वशक्तिमान बने, उनको पतन पनि त त्यस्तै रह्यो । कुन नयाँ तथ्य रह्यो र ? भीमसेन थापाले जे जस्तो गरे, त्यस्तै बेहोर ।'

अङ्ग्रेजसँग लड्नु ठीक थियो अथवा थिएन त ? भीमसेन थापा जीवित छँदै विवाद थियो, जुन अहिलेसम्म पनि छ । आखिरमा त्यही युद्धले नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनुपरेको थियो । त्यसको अपजस पनि उनैलाई जान्छ । तर अवस्था युद्ध रोकेर रोक्न नसकिने स्थितिमा पुगिसकेको दाबी गर्नेहरू पनि त छन् ।

'यो युद्धपछि भने भीमसेन थापा असाध्यै राष्ट्रवादी बने । देशलाई कसरी फेरि बलियो बनाउन हो, त्यसतर्फ लागे,' भीमसेन थापाको जीवनको एक भागको रूपमा रहेको त्यस स्थितिलाई त्रिरत्न मानन्धरले चित्रण गरेका छन् ।

कोतपर्व र भीमसेन थापाले मच्चाएको हत्याकाण्ड दुई फरक प्रकृतिका थिए, तिनमा समानता पनि धेरै थियो । तर कोतपर्वको जति नेपाली इतिहासमा चर्चा भएको छ, त्यसरी नै विक्रम संवत् १८६३ को घटनालाई उठाइएन ।

सायद सात सालपछि धेरै इतिहासकारले राणाशासनको आलोचना गर्नमै बढी समय खर्चे । सत्र सालपछि यो प्रवृत्ति अझ चर्कियो कि ? वास्तवमै भीमसेन थापाले मच्चाएको हत्याकाण्डबारे पछिका इतिहासकारहरूले कलम चलाउने साहस देखाएका हुन् । फेरि भीमसेन थापाले आफ्नो मुख्तियारीका बेला विकास र सुधारका लागि केही नगरेका पनि होइनन् । 'भीमसेन थापाले जुन दिन आत्महत्याको प्रयास गरे र जसरी उनको मृत्यु भयो, ती सबै नेपाली इतिहासका काला दिन हुन्,' इतिहासकार भवेश्वर पँगेनीको निचोड छ, 'उनको अवसानको १ सय ७५ वर्षपछि अब समय आएको छ, भीमसेन थापाका सानाभन्दा साना कामको मूल्यांकन गर्ने, उनले गरेका सकारात्मक र नकारात्मक कामको सूक्ष्य अध्ययन गर्ने । र, यथार्थ विवरण लेख्ने ।'

इतिहासको सिद्धान्तले पनि भन्छ, प्रत्येक पुस्ताले फेरि दोहराएर इतिहास लेख्नुपर्छ, किनभने त्यसलाई हेर्ने दृष्टिकोण समयअनुसार फेरिएको हुन्छ ।

प्रकाशित मिति: २०७१ श्रावण ११ १२:२५

Monday, July 28, 2014

पुष्पलाल र नयाँ जनवाद

पुष्पलाल र नयाँ जनवाद
kapil

कपिल पोखरेल -
 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको देहावसान भएको ३६ वर्ष बितेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी यस पार्टीलाई विचारधारात्मक दृष्टिकोण प्रदान गर्दै यस आन्दोलनलाई समृद्ध पार्ने कार्यका कारण क. पुष्पलाल कहिल्यै भुल्न नसकिने ऐतिहासिक व्यक्तित्व बन्नुभयो । उहाँको ३६औँ स्मृति दिवस भर्खरै मनाइएको सन्दर्भमा केही सवाललाई यस लेखमार्फत पाठकसामु पस्कने कोसिस गर्दै छु ।
अधिनायकत्वको सवाल
समाज शास्त्र र राजनीतिका कखरा मात्र पढेकाले पनि बुझ्नुपर्ने सवाल के हो भने कुनै पनि वर्गीय शासन अधिनायकत्वकै आधारमा चलेको हुन्छ । दास युगसँगै उदय भएको ‘राज्य’ निश्चित वर्गको शासन सञ्चालन गर्ने अस्त्र हो । यसै अस्त्रको प्रयोग गरी शासक वर्गले आफ्नो वर्गीय अधिनायकत्व सञ्चालन गर्दै आएको छ । दास युगमा मालिक वर्गले तमाम दास वा कमारामाथि अधिनायकत्व लाद्ने गथ्र्यो भने सामन्ती युगमा सामन्त वर्गद्वारा किसान वा भूदासलाई आफ्नो अधिनायकत्वमा राख्यो । पुँजीवादमा पुँजीपति वर्गले सर्वहारा वर्गमाथि त्यसै गर्दै आएको छ । तर, उसले जनतालाई झुक्याउन ‘डेमोक्रेसी’ शब्दको जालले अधिनायकत्वलाई लुकाउँछ । नयाँ जनवादमा पनि अधिनायकत्व हुन्छ तर त्यो अधिनायकत्व अघिल्लाको तुलनामा ठीक विपरीत हुन्छ । दासयुग, सामन्ती युग र पुँजीवादी युगमा ५ प्रतिशत शोषक वर्गको ९५ प्रतिशत जनतामाथि अधिनायकत्व कायम हुन्छ । तर, नयाँ जनवादमा ९५ प्रतिशत जनताको पाँच प्रतिशत शोषकमाथि अधिनायकत्व कायम हुन्छ । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड पुष्पलालद्वारा प्रस्तुत भई पारित ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक दस्ताबेजमा ‘अधिनायकत्व’ सम्बन्धमा ‘जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालका निम्ति अधिनायकत्व’ भनिएको छ ।
बुर्जुवाहरू आफूलाई जनविरोधी देखिनबाट बच्न मीठा–मीठा शब्दको कलात्मक प्रयोग गर्छन् । अंग्रेजी शब्द ‘डेमोक्रेसी’ लाई अब्राहम लिङ्कनले ‘जनताद्वारा चुनिएका जनताले जनताकै निम्ति गर्ने शासन’ भन्ने परिभाषा लगाएका थिए । यसलाई नेपाली अनुवाद गर्दा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, जनवाद बनाइएको छ । प्रजातन्त्र, लोकतन्त्र वा डेमोक्रेसीजस्तो जनपक्षीय शब्दको प्रयोग गरी बुर्जुवा वर्गले अधिनायकत्व लुकाउने गरेको छ ।
अधिनायकत्व नराम्रो शब्द नभए पनि संसारभरका प्रतिक्रियावादीले यो शब्दलाई नकारात्मक शब्दको रूपमा चित्रित गरेको र जनताले साम्राज्यवादी प्रचारको भेद छुट्याउन नसकेको वर्तमान अवस्थामा हामीले पनि ‘जनताको जनवादी अधिनायकत्व’लाई ‘जनताको लोकतन्त्र’ वा ‘जनताको जनवाद’ शब्दको प्रयोग गर्न सक्छौँ ।
कम्युनिस्ट पार्टी र निर्वाचन
बुर्जुवाहरूले कम्युनिस्ट सत्ता सञ्चालन गर्न निर्वाचन गरिँदैन, कम्युनिस्ट पार्टीले नियुक्त गरेका प्रतिनिधिले शासन प्रशासन चलाउँछन् भन्ने अफवाह फैलाउँछन् । बुर्जुवा त बुर्जवा नै भए तर मदन भण्डारीले समेत जबजको कार्यक्रम तयार पार्दा नयाँ जनवादमा चुनाव नै नहुने अर्थमा जबजका थप विशेषता लेख्दै– बालिग मताधिकार, आवधिक निर्वाचनजस्ता विषयको व्याख्या गरेका छन् । यथार्थमा यी सबै भ्रम हुन् । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा महासचिव क. पुष्पलालद्वारा प्रेषित भई सम्मेलनद्वारा पारित नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो शीर्षकको दस्ताबेजमा कम्युनिस्ट ‘पार्टी र शासन व्यवस्था’ उपशीर्षकमा ‘जनताको सार्वभौमिकता अर्थात् देशको सबै शक्ति जनताको हातमा रहने राज्यको सर्वोच्च अदालत जनताले चुनेका प्रतिनिधिको हातमा राख्ने’ भनिएको छ । यति मात्र होइन, त्यहाँ, ‘यी जनप्रतिनिधिलाई निर्वाचनको बहुसंख्यकले चाहे फिर्ता बोलाउन सक्ने’ व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै नयाँ जनवादी व्यवस्थामा ‘१६ वर्ष पुगेका सबै पुरुष र महिलालाई सार्वजनिक समानता र प्रत्यक्ष भोटको अधिकार दिने, बालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनाव गराउने’ आदि उल्लेख छ । त्यसैले कम्युनिस्ट पार्टीको सत्ता अनिर्वाचित हुन्छ भन्ने कुरा शत–प्रतिशत झुटो हो ।
राजनीतिक पार्टीबारे
बुर्जुवा र जबजवादीहरूले समेत नयाँ जनवादलाई एकदलीय व्यवस्था भनेर झुटो प्रचार गरिरहेका छन् । यथार्थमा यसमा कत्ति पनि सत्यता छैन । क. पुष्पलालद्वारा प्रेषित उपर्युक्त दस्ताबेजमा ‘…राजनीतिक पार्टीलाई आनुपातिक प्रतिनिधित्वको अधिकार दिने’ उल्लेख गर्दै ‘गुप्त मतदान प्रणालीको चलन चलाउने’ समेत उल्लेख छ । यसबाट नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रणाली नै हुनेछ । तर, त्यहाँ साम्राज्यवादका दलाललाई मात्र बन्देज लगाइनेछ । यति छर्लंगसँग बहुदलीय परिपाटी रहने व्यवस्था गरिएको नयाँ जनवादलाई एकदलीय देख्नु उनीहरूको दृष्टिभ्रमबाहेक के हुन सक्ला र ?
स्थानीय स्वशासन सम्बन्धमा
अचेल स्थानीय स्वशासन नयाँ कुरो जस्तो ठानिँदै छ । दशवर्षे जनयुद्धमा एमाओवादीले स्थानीय सरकारको नारालाई निकै चर्काए र जनमत पनि बटुले । उनीहरूले पुष्पलाललाई कुनै सम्मान गरेनन् । स्थानीय स्वशासन एमाओवादीले ल्याएको नयाँ विषय थिएन, बरु यो त २००८ सालमै क. पुष्पलालले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी पारित भएको दस्ताबेजमै उल्लेख छ । त्यहाँ, ‘स्थानीय र इलाकीय सरकारको व्यापक चलन गराउने, यी सरकारलाई बालिग जनताले चुन्ने र यिनीहरूलाई स्थानीय समस्यासम्बन्धी धेरै अधिकार दिने…’ उल्लेख छ । त्यस्तै माथिबाट नियुक्त हुने हाकिम, वडाहाकिम आदि अफिसर स्थानीय सरकारले नै नियुक्त गर्ने व्यवस्था पनि उल्लेख छ । कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापनालगत्तै सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रेषित गरेको कार्यक्रमलाई हामीले आजसम्म लागू गर्न सकेका छैनौँ ।
नागरिक अधिकार र स्वतन्त्रताबारे
नागरिक अधिकार र स्वतन्त्रतासम्बन्धी कम्युनिस्ट पार्टीको नीति स्पष्टै छ । माथि उल्लिखित दस्ताबेजमा ‘धर्म, जात, योनी, वर्णको भेदभाव नगरी सबैलाई नागरिक अधिकार दिने’ उल्लेख छ । त्यस्तै त्यहाँ अघिल्लो बुँदामा ‘…छलफल, भाषण, प्रेस, संघ, हडताल, धर्म संघसमेत बनाउने पूर्ण अधिकार दिने’ उल्लेख छ । यतिका अधिकार नयाँ जनवादमै हुन्छ भने अर्को विकल्पका रूपमा जबज वा एक्काइसौँ शताब्दीको जनवाद आदि आवश्यक पर्छ र ? यो त पुष्पलाल र नेकपालाई ओझेल पार्ने काम भयो नि ।
न्यायालयबारे
नयाँ जनवादमा न्यायालय कसरी सञ्चालन गर्ने भन्ने पनि स्पष्ट छ । उपर्युक्त दस्ताबेजमा ‘जनताद्वारा निर्वाचित न्याय विभाग खडा गर्ने, न्यायाधीशलाई पनि जनताले चुन्ने अधिकार दिने, सरकारद्वारा नियुक्त गरिने होइन’ भन्ने उल्लेख छ । यसरी, कुनै पुँजीवादी मुलुकमा नभएको अधिकार नयाँ जनवादमा रहने व्यवस्था नेकपाको सम्मेलनमा कमरेड पुष्पलालले समावेश गरिसक्नुभएको हो ।
यसरी आजको विवाद, बहस र छलफलको विषय ६३ वर्षअघि नै कमरेड पुष्पलालको नेतृत्वमा रहेको नेकपाले निक्र्योल गरिसकेको विषय हो । नेकपा र कमरेड पुष्पलालका विचार आज पनि अत्यन्त सान्दर्भिक छन् । नयाँ जनवाद बुर्जुवाहरूले अपव्याख्या गरेझैँ नागरिक अधिकारविहीन र एकदलीय पनि होइन, जबजले भनेझैँ जडसूत्र पनि होइन । यो त मुलुकलाई समाजवादमा संक्रमित गराउने संक्रमणकालीन वैज्ञानिक कार्यक्रम हो । भर्खरै कमरेड पुष्पलालको स्मृति दिवस मनाइएको सन्दर्भमा सबै वामपन्थीको चेत फिरोस् ।

कम्युनिस्ट आन्दोलनका मुद्दा

कम्युनिस्ट आन्दोलनका मुद्दा
Untitled

कृष्णराज बर्मा –
 
मैले यसअघि एक दैनिकमा ००७ सालको पुँजीवादी जनवादी क्रान्तिको २९ वर्षपछि पनि नेकपा मालेले आफ्नो दस्ताबेजमा नेपालको सामाजिक, आर्थिक अवस्थाको विवेचना गर्दा भइरहेको पुँजीवादी विकास प्रक्रिया किन देख्न सकेन भन्ने प्रश्न उठाएको थिएँ । अर्धसामन्ती अर्धऔपनिवेशिक संक्रमणकालीन अवस्था भएका मुलुकमा पुँजीवादी जनवादी क्रान्तिका कार्यभार सामन्ती अवशेष समाप्त गर्दै भइरहेको पुँजीवादी विकासको प्रक्रियालाई तीव्र पार्नु र सोअनुरूप उपरी ढाँचाको जनवादी स्वरूप खडा गर्नु हो । यस अर्थमा यो साम्राज्यवाद सामन्तवादविरोधी प्रजातान्त्रिक संघर्ष हो । यसको यस चरित्रलाई माने पनि पुँजीवादी विकासको प्रश्नमा यिनीहरूमा अलमलै देखिन्छ । यस प्रकारको अलमल २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना कालमा पनि देखापरेको थियो भने ०२५ सालपछि स्थापित भएका माओवादी कम्युनिस्ट पार्टीहरूमा पनि देखापरेको हो । आज एमालेले नेपाली समाज पुँजीवादी भयो भन्ने प्रश्नलाई आधिकारिक नीति बनाएको र उसको अधिवेशनले यसलाई स्वीकार गर्नेबित्तिकै यो बहस टुंगियो भन्ने होइन । यो सिंगो कम्युनिस्ट आन्दोलनसँग जोडिएको प्रश्न हो । साथै, माक्र्सवाद–लेलिनवादको आधारमा हाम्रो सामाजिक विकास प्रक्रियाको अध्ययनसँग जोडिएको प्रश्न हो । त्यसकारण यसमा विशद बहस हुनु अनिवार्य छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा ००८ सालदेखि सहभागी रहेको र ०१० देखि केन्द्रीय नेतृत्वमा रहेर काम गर्दै आएको हुनाले म बढी स्पष्टतासाथ के भन्न सक्छु भने नेपालको कम्युनिस्ट आन्दोलन आफ्नो सम्पूर्ण इतिहास कालमा सबभन्दा बढी उग्रवादी भड्काउको सिकार रहेको हो । ०१० सालदेखि पार्टीमा यसविरुद्ध संघर्ष हुँदै आएको हो । नेपालमा उग्रवादको दुइटा रूप देखापरेको हो । सुरुमा अर्थात् ००६ सालमा माक्र्सवाद–लेलिननवादको गहिरो ज्ञानको अभाव र नेपाली सामाजिक आर्थिक अवस्थाको गहन अध्ययनको अभावमा क्रान्तिकारीले दिने उग्रनाराका रूपमा यो देखापर्‍यो । जसलाई अधकल्चो ज्ञानबाट उत्पन्न विचलनका रूपमा लिन सकिन्थ्यो । तर, यस उग्रनारालाई १८ वर्षपछि ०२५ सालमा पुष्पलाल ‘ठोकुवा सत्य’ भन्दै ‘यी मौखिक बुँदा जनवादी क्रान्ति सम्पन्न नहुन्जेल मुख्य रूपले सही छन्’ भन्न पुग्नुभयो ।
अर्को उग्रवाद ०२५ पछि बडो स्पष्ट रूपमा आएको हो । भारतमा भएको ब्रिटिस साम्राज्यवादविरोधी मुक्ति आन्दोलनको असर जसरी नेपालका युवामा परेको थियो, त्यसरी नं चिनियाँ क्रान्तिको विजयले नेपाली युवालाई प्रभावित गर्‍यो । खासगरी माक्र्सवाद लेनिनवादप्रति रुचि राख्नेका लागि यो बढी आकर्षक थियो । तर, ०२५ सम्म यसलाई यान्त्रिक रूपमा अनुकरण गर्ने दिशातिरको प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखिएको थिएन । ०१७ पछि मुलुकमा निर्दलीय पञ्चायती व्यवस्थामा पार्टीहरू प्रतिबन्धित भए । पार्टीका राजनीतिक गतिविधिको प्रतिनिधित्व युवा विद्यार्थीले नै गरिरहेकाले उनीहरू निर्दलीय व्यवस्था परिवर्तनका लागि कुनै पनि बाटो अंगाल्न तयार थिए । त्यसै अवधिभित्र सोभियत संघ र चीनबीच बढ्दो अन्तरविरोध र चीनको विश्वव्यापी रूपमा भइरहेको सोभियत संघविरोधी आक्रामक कारबाहीको परिणामस्वरूप संसारभर कम्युनिस्ट आन्दोलनमा विभाजन आयो । यहाँसम्म कि विकसित पुँजीवादी देशमा पनि मोओवादी कम्युनिस्ट पार्टी खडा हुन पुगे । नेपालको सीमावर्ती क्षेत्रमा भारतीय माओवादीले नक्सलवादी हतियारबन्द आन्दोलन सुरु गर्‍यो । क्युबाको क्रान्तिबाट प्रभावित दक्षिण अमेरिकाको पेरुमा साइनिङ पाथको नाउँमा माओवादलाई विश्वमा स्थापित गर्ने प्रयास भयो । माओवादको यस लहरलाई सोभियत संघको विरोधमा उपयोग गर्न रिमले यसलाई अन्तर्राष्ट्रियकरण गर्न थाल्यो । निर्दलीय व्यवस्थाको दमनबाट विद्रोही युवा यसबाट प्रभावित हुँदै गए । सर्वप्रथम पुष्पलालले बनारस अधिवेशनबाट खडा भएको पार्टी पुनर्गठन गर्ने नाउँमा माओवादी पार्टीको स्थापना गर्नुभएको हो । तर, उहाँ सशरीर माओवादी हुनुभएन र युवा जमातलाई आफूतिर आकर्षित गर्न पनि सक्नुभएन । यसकारण माओवादी निर्माण क्रममा नेकपा माले स्थापना ०३५ सालमा गठन भयो, उसले पहिलोपल्ट नेपालमा सशस्त्र क्रान्तिको घोषणा गर्‍यो र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीति सबैलाई यान्त्रिक रूपमा अँगाल्यो । पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्ने माओवादी दृष्टिकोण अंगाले, विश्वको प्रमुख अन्तरविरोधको सम्बन्धमा माओले अंगालेका त्यस वेलाका विकृत दृष्टिकोणलाई कण्ठस्थ पारे र आफूलाई पक्का माओवादी प्रमाणित गर्न आधुनिक संशोधनवादको विरोध गर्दै ‘माक्र्सवाद–लेलिनवादको शुद्धताको निम्ति चिनियाँ कम्युनिस्ट पार्टीले पास गरेको २५ सूत्रीय कार्यक्रमलाई समर्थन गर्नेले मात्र उनको पार्टीको सदस्य हुन पाउनेछ भन्ने घोषणा गरे ।
०२५ पछि नेपालको राजनीतिलाई माओवादले एक–दुई दशकसम्म व्यापक रूपमा गाँजेको हो । चिनियाँ सांस्कृतिक क्रान्तिको सिलसिलामा स्थापित माओवादी विश्व दृष्टिकोण र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीतिलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्ति त्यसपछिका कम्युनिस्ट पार्टीमा देखापरेका हुन् । जसले गर्दा ०४६ मा वाममोर्चा गठन, वाममोर्चा र नेपाली कांग्रेसबीच मोर्चा स्थापना, देशमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय प्रजातान्त्रिक संसदीय पद्धति स्थापना सम्भव भएको थियो । त्यही एमालेले आज चिनियाँ क्रान्तिका विशिष्ट अनुभवलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने आह्वान गर्दै छ । स्वयं ‘दशवर्षे जनयुद्ध’ को नेतृत्व गर्ने एमाओवादीको नेतृत्वबाट पनि छिटपुट यस्ता अभिव्यक्ति आउने गरेका छन् ।
००६ सालमा स्थापित कम्युनिस्ट पार्टी र त्यसको इतिहासलाई हेर्ने एउटा दृष्टिकोणको नेतृत्व पुष्पलालले गर्दै आएका हुन् र उनको निधनपछि पनि उनको नीतिको धुँवादार प्रचार–प्रसारमा लागेको एमालेको कार्यनीतिमा अतिविरोधाभास देखिन्छ । हुन त ०३५ मा पनि उनीहरूमा यो विरोधाभास नदेखिएको होइन । आफ्नो स्थापना दस्ताबेजमा ०१७ पछि नेकाको नेतृत्वमा जनता तथा राष्ट्रविरोधी षड्यन्त्र र आक्रमणको समर्थन गरेको नाउँमा पुष्पलाल तथा तुलसीलाललाई संशोधनवादी भनेका थिए भने राष्ट्रियताका प्रहरी राजाको समर्थन गर्ने भनी रायमाझी र मनमोहन अधिकारीलाई संशोधनवादी भनेका थिए । हुन त पछि मनमोहन अधिकारी उनको पार्टी अध्यक्ष भए, तुलसीलाल पोलिटब्युरो सदस्य भए र पुष्पलाल आदर्श भए । माक्र्सवाद–लेनिनवादलाई वैज्ञानिक रूपमा नेपालमा स्थापित गर्ने र उग्रवादी भड्काउबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने अभियानको नेतृत्व गर्न हिँडेको एमालेले ‘पुष्पलालले आफ्नो जीवनपर्यन्त बोकेको उग्रवादी भासलाई’ प्रसार गर्ने दायित्व किन बोकेको हो, बुझ्न नसकिने कुरा हो ।
एमालेले चिनियाँ क्रान्तिको यान्त्रिक अनुकरणलाई परित्याग गर्ने आधिकारिक नीतिको घोषणाले आत्मालोचना गर्ने क्रममा नेपाली इतिहासको एउटा कालखण्डमा अत्यधिक प्रभाव रहेको माओवादी रुझानप्रति गम्भीर प्रश्न उठाएको हो । तर, एमालेले २००६ सालमा पार्टी स्थापनाकालमा प्रकाशित अपिलपत्र र त्यसमा आधारित प्रथम सम्मेलनको कार्यक्रमका उग्रवादी भड्काउलाई किन देख्न सकेन ? यस अपिलपत्रमा नेपालको पुँजीवादी जनवादी क्रान्तिको कार्यभार यसरी निर्धारित गरिएको छ :
१)    पुँजीवादी प्रभुत्वलाई सम्पूर्ण रूपमा नष्ट गर्ने ।
२)    नेपालको उद्योगधन्दा, चियाबगान, यातायात आदिमा लगानी गरिएको विदेशी पुँजी जफत गर्ने ।
३)    ठूला उद्योग, बैंक, इन्सुरेन्स कम्पनीहरू सबै राष्ट्रियकरण गर्ने ।
४)    सबै जमिन राष्ट्रियकरण गरी किसानलाई वितरण गर्ने ।
५)    न्यायाधीशहरू जनताबाट निर्वाचित हुनुपर्ने ।
६)    नोकरशाही शासन व्यवस्था खतम गरी जनसमितिद्वारा रोजिएको प्रसाशकबाट प्रशासन चलाउनुपर्ने ।
७)    आमजनतालाई हतियार बन्द गरी प्रजातान्त्रिक फौज खडा गर्ने आदि ।
राजनीतिक रूपमा राजाशाहीको अन्त्यका कुरा गरे पनि पुष्पलालले सोचेको क्रान्तिको कार्य भन्नुस् या उनले सम्झेको पुँजीवादी जनवादी क्रान्तिपछि गर्ने या गरिनुपर्ने कार्य भन्नुहोस्, यही होइन र ? के एमाले यस कार्यक्रमको पूर्ण समर्थक छ ? यसै दृष्टिकोणका आधारमा केही हेरफेर भए पनि पहिलो सम्मेलनको कार्यक्रम यही हो । सम्मेलनमा उनले राजनीतिक कार्यका रूपमा ‘मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य कायम गर्ने’ समेत थपेका थिए । के नेपाली पुँजीवादी जनवादी क्रान्तिको कार्यभारप्रति उनमा रहेको अज्ञानतामा आधारित यो उग्रवादी भड्काउ होइन ?
०४० देखि नेकपा मालेमा उग्रवादी भड्काउबाट मुक्तिका दिशामा भइरहेका प्रयासका परिणामस्वरूप ०४६ को जनआन्दोलनको विकास हुनसकेको थियो । त्यसवेलाको परिस्थितिमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिप्रति स्वीकृति र सामाजिक आर्थिक अवस्थामा गरिने समाजवादी रूपान्तरणको बाटो हतियार बन्द होइन, शान्तिपूर्ण संघर्ष हो भनी मालेले स्वीकार गरेको हो ।
पार्टी स्थापना कालमा भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको उग्रवादी भड्काउको प्रभाव जसरी हाम्रो सोच र समझदारीमा परेको थियो, त्यसैगरी भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको भड्काउबाट मुक्तिका प्रयासको प्रभाव पनि हामीमा परेको हो । २००९ साल पुग्दानपुग्दै जनताबीच जाने क्रममा पार्टी स्थापनाकालमा देखिएका उग्रवादी भड्काउबाट मुक्ति अपरिहार्य भयो । ०१० मा महासचिव मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पार्टी कांग्रेसले अपिलपत्र र प्रथम सम्मेलनका कार्यक्रमलाई खारेज गर्‍यो । संक्षेपमा भन्ने हो भने अधिवेशनमा पारित कार्यक्रममा भनिएको थियो– हाम्रो पुँजीवादी जनवादी क्रान्तिको पहिलो लक्ष्य देशमा जनवादी सार्वभौमसत्ता सम्पन्न सरकार स्थापना गराउनु हुनेछ । त्यस सरकारले सबै देशसँग उनीहरूको राजनीतिक व्यवस्थाको भेदभाव नगरी व्यापारिक सम्बन्ध स्थापित गर्नेछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा शान्तिपूर्ण नीतिसँग मेल नखाने राजनीतिक वा अन्य सर्त स्वीकार नगरी मैत्रीपूर्ण सहायता लिनेछ । यस्तो सहायता बराबरी, परस्पर लाभ तथा घरायसी मामिलामा हस्तक्षेप नगर्ने सर्तहरूमा आधारित हुनु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी समाजवाद निमार्णको कुरा गर्दैन र आजको स्थितिमा धिराजको एकतन्त्रात्मक सरकारको ठाउँमा जनवादी र वैधानिक सरकार कायम होस् भन्ने चाहन्छ । आर्थिक विकासको दृष्टिले पुँजीवादको विकास गर्न चाहन्छ ।
यसले देशको आर्थिक पुनर्निर्माणका लागि कृषि क्षेत्रमा सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्‍यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी विदेशी पुँजीका लागि समेत राष्ट्रिय हितलाई ध्यानमा राखी लगानी गर्ने छुट दियो । त्यस दिशामा कृिषमा पुँजीवाद विकासका लागि सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्‍यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी आधारमा आउने विदेशी पुँजीका लागि राष्ट्रिय हितमा लगानी गर्ने दृष्टिले नियमनका साथै छुट दियो । स्वदेशी पुँजीको संवद्र्धन र संरक्षणका लागि नीतिहरू स्वीकार गर्‍यो । कांग्रेसपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीभित्र रहेको हतियार संकलनको गोप्य समितिलाई सदाका लागि भंग गरेर पार्टीलाई कानुनी रूपमा लैजाने नीति लियो । ३ वैशाख ०१३ मा वक्तव्य जारी गरेर वैधानिक राजतन्त्र र आफ्नो समाजवादी लक्ष्य पूर्तिका लागि शान्तिपूर्ण तरिका अँगाल्ने घोषणा मनमोहन अधिकारीले गर्नुभयो । पहिलेको उग्रवादी रुझानबाट पूर्णरूपमा मुक्त हुन नसके पनि मनमोहन अधिकारीको नेतृत्वकालमा भएको यो घोषणाको सार संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिअनुसार शान्तिपूर्ण बाटोबाट आफ्नो समाजवादी लक्ष्यमा अगाडि बढ्ने र एमालेले ०४६ पछि लिएको नीतिमा के फरक छ ? के कम्युनिस्ट आन्दोलनका लागि ६० वर्षअगाडि गरेको यो घोषणा एउटा कोसेढुंगा थिएन ?
०१० मा यसलाई पुष्पलालले दक्षिणपन्थी भड्काउको संज्ञा दिनुभयो । के एमालेको पनि यही दृष्टिकोण हो ? यदि हो भने उसले कम्युनिस्ट आन्दोलनमा आफूले थपेको नयाँ आयामलाई के भन्छ ? एमाले आफ्नो पार्टीको पहिलो अधिवेशनलाई चौथो अधिवेशन घोषणा गरेर भर्खरै त्यसै क्रमअनुसार नवौँ अधिवेशन सम्पन्न गरेको छ । यस सम्बन्धमा अरू कुनै प्रश्न उठाउनुभन्दा पहिले के प्रश्न उठ्छ भने यो क्रमबद्धताको लहरो पुष्पलालको उग्रवादी धारसँग जोडिएको हो कि मनमोहनको वैज्ञानिक दृष्टिकोणसँग ? आज एमालेले यसलाई स्पष्ट पार्नु जरुरी छ । घनश्याम भुसालजीको कुनै लेखमा पुष्पलालका विवेचनालाई विवादै नगरीकन बोकेर हिँडिरहेका छौँ भन्ने अभिव्यक्तिले शुभसंकेत दिन्छ । तर, पुष्पलालका यस्ता उग्रवादी भड्काउपूर्ण विचारको प्रसारका लागि एमालेले गरिरहेको खर्चको आधारमा त्यसमाथि गम्भीर रूपमा विचार होला भन्ने विश्वास गर्ने ठाउँ पाइन्न ।
नेपालको सामाजिक आर्थिक अवस्थाको विवेचनामा एमालेले हिजो गरेको गल्तीको मूल कारण उसले अनुकरण गरेको उग्रवादी धार नै थियो । जसको स्रोत एकातिर माओवादप्रतिको उसको यान्त्रिक अनुकरण थियो भने उसको सुषुप्त मतिष्कमा रहेको पुष्पलालको उग्रवादी धार पनि थियो । जसलाई पुष्पलालले १९ वर्षपछि ०२५ सालमा पनि ठोकुवा सत्यका रूपमा स्विकारेका होइनन् कि पुँजीवादी जनवादी क्रान्ति पूरा नहुन्जेललाई सही मानेका मात्र हुन् । त्यसकारण उग्रवादी भड्काउबाट मुक्ति पाउनु भनेको माओवादको यान्त्रिक अनुकरणबाट मात्र होइन कि पुष्पलालको उग्रवादबाट पनि मुक्ति पाउनु हो ।
केही गम्भीर भएर हेर्ने कोसिस गर्नुभयो भने पुष्पलालको राजनीतिक गतिविधिको ‘मोटिभ फोर्स’ उनको क्रान्तिकारिता हो कि पदप्रतिको आसक्ति भन्नेमा डा. सुरेन्द्र केसीजस्ता इतिहासकार पनि अन्योलमै देखिन्छन् । पुष्पलाल भन्नुको अर्थ ‘कम्युनिस्ट पार्टीको स्थापना, अपिलपत्र र प्रथम सम्मेलनको कार्यक्रम’ हो । कम्युनिस्ट पार्टीको स्थापना सबैको स्थायी सरोकारको विषय हो । अपिल र कार्यक्रम अस्वीकृत हुने कुरा हुन् । तर, पुष्पलालले स्थापना, अपिल र कार्यक्रम सबैलाई आफ्नो व्यक्तित्व बनाउनुभयो । मूलत: एमालेको माओवादी दृष्टिकोण, नक्सलवादी कार्यनीति र मुलुकभित्र सामाजिक आर्थिक अवस्थामा भइरहेको परिवर्तनलाई पुष्पलालको आँखाबाट हेर्ने दृष्टिकोणले गर्दा नै एमालेले आफ्नो स्थापनाकालमा पुँजीवादी विकासको प्रक्रिया देख्न नसकेको हो ।

Monday, July 14, 2014

नेवार, किरात र गुरुङलाई अंग्रेजले किन्न खोजेका थिए

सुघौली सन्धिले जातिमा मनमुटाव ल्यायो

 
डा. इन्द्रबहादुर राई, साहित्यकार
 
भानुभक्त आजभन्दा दुईसय वर्षअघि जन्मिएका थिए । नेपाली जगतको स्थिति संकटकालीन थियो । त्यसताका मुख्य तीन ठूला शक्ति थिए । भारतमा अंग्रेज र रणजीत सिंहको शिख ठूला शक्तिका रुपमा थिए भने नेपाल खाल्डोमा पृथ्वीनारायण शाहको ठूलो शक्ति थियो । तीनमध्ये एक नेपाली शक्ति कायम रहेको थियो ।
भारतमा शिखलाई पराजित गरेपछि अझ सशक्त भएका अंग्रेजहरुले सिंगो नेपाल नै निमिट्यान्न पार्ने रणनीति तयार गरेका थिए ।indrabahadur-rai
बंगालका नवाब सिराजुदौलाका सेनापति मिरजाफरलाई रातारात किनेझैं नेपाल खाल्डो हत्याउन अंग्रेजहरुले नेवार किरात र गुरुङहरुलाई एकाएक प्रलोभन अनि निन्दा गराएर किन्ने भरमग्दुर प्रयास गरेका थिए । तर, यीमध्ये कुनै जातले पनि अंग्रेजहरुको साथ दिएनन् । त्यसपछि अंग्रेज र नेपालमाझ युद्ध भएको थियो ।
अंग्रेजहरुले नेपाललाई पराजित गरेपछि १८१६ मा सुघौली सन्धी भएको थियो । तर, ८ वर्षसम्म नेपालले सम्झौतामा हस्ताक्षर गरेन । पछि घरेलु विवादका कारणले मात्रै सहीछाप गरेको थियो । यसै सन्धिले जातिमा मनमुटाव, नैराश्यता र उदासीनता देखा पर्न थाल्यो ।
जातिको पुरानो गौरबलाई फर्काइल्याउन पुनः झक्झक्याउन आदिकवि भानुभक्त आचार्यले रामायण रचेका थिए । वास्तवमा त्यसताका रामायणबाट जनसाधारणले नैतिक, वैचारिक, सामाजिक पाठ पढेपछि आएको जनक्रान्तिले गर्दा नै जातिलाई एकसय वर्ष अगाडि पुर्‍याइदिएको थियो । भानुभक्तले रामायण नरचिदिएको भए आज पनि हाम्रो जाति एक सय वर्ष पछि हुने थियो ।
हाम्रा अभिभावक, कलाकार र राजनेताहरुकै बलबुँताले गर्दा हाम्रो जाति अघि बढिरहेको छ । भानुभक्तबाट शिक्षा लिएर हामीले समाजकै हितको निम्ति लेख्नुपर्छ । साहित्यकारहरु साहित्यदेखि अलग्गिए केही गर्न नसक्ने अवस्थामा पुग्छन् । पुराना इतिहासलाई भुल्यौं भने हाम्रो आफ्नै इतिहास भुलिपठाउने छौं । इतिहासकारहरुले सबै घटनालाई लेखिदिएका छन्, जसलाई हामीले अध्ययन गर्न जरुरी छ ।
दार्जीलिङमा हामी बिजेताका रुपमा आएका हौं
सन् १७८८ सालमा नेपाल र सिक्किममाझ युद्ध भएको थियो । नेपाल सेनाका नायक पूर्ण आले इलामबाट गोरखा सेना लिएर पशुपति, सीमाना, सुकेपोखरी, घुम हुँदै दार्जीलिङ आइपुगे । त्यसताका सिक्किमको राजधानी फालुट-सन्दकपुर नजिक राप्देन्सी थियो । सेना लिएर पूर्ण आले रेलिङ वस्ती, कर्मी र च्याखुसम्म पुगे । यसरी नै गोर्खा सेना लिएर अर्का जवाहर सिंह सिक्किमको दक्षिण भागबाट अघि बढेका थिए ।
पूर्ण आलेको नेतृत्वमा रहेको गोरखा सेनाले सिक्किमको भूभाग कब्जा गरेको ३६ वर्षसम्म दार्जीलिङ सिक्किममा थियो । हामी गोरखालीहरु बिजेताका रुपमा आएका हौं । १७८८ सालमा नै आधिपत्य जमाएर रैथाने भएका हौं । चिनारीको आधारमा नै राजनीति हुन आवश्यक छ । हामीले पहिले नै सबै बन्दोबस्त गर्न सकौं । बस्दोबस्त भएपछि सर्वभारतीय स्तरमा हामीले राजनीति गर्न सक्छौं ।
चित्राकार, कलाकार, साहित्यकारहरुले नै चिनारीको जोहो गर्छन् । चिनारीको जोहो गर्नेहरुलाई राजनीतिले पनि जोहो गर्नुपर्छ । हाम्रो वरिपरिका खोलानाला नै हाम्रो पहिचान हुन् । धमिलो खोला भए पनि त्यही खोला नै हामीलाई पि्रय लाग्छ । खुकुरी नाच हराए खुकुरीको महत्व नै हराएर जान्छ । खुकुरी नृत्य राज्य बचाउन युद्धको तयारीको निम्ति गरिएको पहल हो । यस्तो कुराहरु परोक्ष अपरोक्षरुपमा हाम्रा आफ्नै साहित्यकार कलाकारहरुले दिइरहेका हुन्छन् । सम्मानको गहिरो महत्व हुन्छ । तर, समय छँदा नै प्रतिभावानहरुलाई सम्मान दिइनुपर्छ ।
(चर्चित साहित्यकार राईले भानु जयन्तीको अवसरमा दार्जीलिङमा सम्मानित भएपछि व्यक्त गरेको मन्तव्यको संक्षेप । राईलाई दार्जीलिङमा जीवन पूर्णकालीक उपलब्धि पुरस्कारका सम्मानित गरिएको छ।  याे सामाग्री हिमालय दर्पणबाट लिइएकाे हाे -सं  )
 
- See more at: http://www.onlinekhabar.com/2014/07/169439/#sthash.nGCbyyhj.dpuf