Sunday, December 17, 2017
समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप
काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ ।
यसकाे पहिलाे निशाना माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि परेकाे छ । प्रचण्डलार्इ फकाएर सांसद बन्न एक निर्माण व्यवसायीले घर नै दिएकाे चर्चा माअाेवादी केन्द्रभित्रै चलेकाे छ । पाँचवर्षदेखि लाजिम्पाटमा बस्दै अाएका प्रचण्ड शुक्रबार मात्र उक्त बङ्गला छाडेर ललितपुरकाे खुमलटारमा सरेपछि याे चर्चा गाइगुइ चल्न थालेकाे हाे । निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले अाफ्नाे घर प्रचण्डलार्इ बस्नका लागि दिएपछि प्रचण्ड लाजिम्पाट छाडेर खुमलटारमा सरेका छन् ।
स्राेतका अनुसार निर्माण व्यवसायी समेत रहेका अधिकारी सांसद हुने दाैडमा छन् । उनी माअाेवादी केन्द्रबाट निर्वाचन अायाेगमा पेश गरिएकाे समानुपातिक सांसदकाे सूचीकाे ३३ अाै नम्बरमा रहेकाे बताइन्छ । माअाेवादी केन्द्रले समानुपातिकमा कति सिट पाउँछ भन्ने एकिन छैन । त्यसैले अधिकारीले अहिलेदेखि नै प्रभावमा पारेर सांसद बन्न याे घर प्रदान गरेकाे माअाेवादी केन्द्रभित्र चर्चा छ ।
तर, प्रचण्ड निकट स्राेतले अस्थायी रुपमा मात्र अधिकारीकाे घरमा डेरा सरेकाे दावी गरेकाे छ । अर्काे उपयुक्त घर पाउने बित्तिकै खुमलटारबाट पनि सर्ने उनीहरुकाे याेजना छ । याे अस्थायी रुपमा बसेकाले चलाइने हल्लाहरु अाफै झुट सावित हुने उनी निकट स्राेतकाे दावी छ ।
उसाे त अाफ्ना एकमात्र छाेरा प्रकाशकाे निधन लाजिम्पाट दरवारमै भएपछि प्रचण्ड र उनकाे परिवार उक्त घर छाेड्ने मनस्थिति बनाइरहेकाे थियाे । छाेरा प्रकाशकाे पनि निधन हुनु र लाजिम्पाटकाे निवासमा जाने बाटाे पनि साँघुराे भएका कारण उनले घर सर्ने सल्लाह अाफू निकट केही व्यक्तिहरुसँग गर्दै अाएका थिए । घर खाेजिरहेका बेला अधिकारीले अाफ्नाे घर पनि दिन तयार भएपछि उनी सरेकाे बुझिएकाे छ ।
यसअघि पनि प्रचण्डले निर्माण व्यवसायी अधिकारीकाे घर भने अन्य प्रयाेजनका लागि प्रयाेग गर्दै अाएका थिए । यसअघि पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले अधिकारीकै अर्काे घर प्रयोग गर्दै आएका थिए । ललितपुरकै मानभवनमा रहेकाे अधिकारीकाे अर्काे घरमा दुर्इ दलका नेताहरुले प्रयाेग गरेर पार्टी एकता र वाम गठबन्धन बनाउने सल्लाह गरेका थिए ।
अधिकारी शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष हुन । उनी उक्त विजनेश ग्रुपका कार्यकारी निर्देशक पनि हुन् ।
http://nonstopkhabar.com बाट साभार
Wednesday, December 6, 2017
‘लोकतन्त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन' - केपी ओली
‘जूनलाई टाढैबाट हेर
नजिकबाट हेर्दा दाग देखिन सक्छ
धब्बा देखियो भने
फेरिफेरि नजिक हेर्न मन नलाग्न सक्छ'
नेकपा एमालेका अध्यक्ष केपी ओलीले हरिभक्त कटुवालका यी पंक्ति सुनाएर कुराकानी थाले। रातको नौ बजेको थियो। ओली लामै बात मार्ने मुडमा थिए। कोठामा कालो चिया ल्याइयो । ओलीले प्रसंग अगाडि बढाए। ‘हरिभक्तले त्यसो भन्नु पछाडि कारणहरू थिए । तर मचाहिँ के ठान्छु भने, मानिस नजिकबाट हेर्दा अझ दागरहित, अझ बढी प्रिय देखिनु पर्छ । हाम्रो जिन्दगी नजिकबाट हेर्दा पनि राम्रै देखिनु पर्छ।'
कसले हेर्दा ओलीजी ? आफूले हेर्दा कि अरूले ?
अरूले हेर्दा । आफूले आफैंलाई हेर्न सक्नु त धेरै माथिल्लो तहको क्षमता हो। सजिलो कुरा होइन। म यहाँ सामान्य तहको कुरा गर्दै छु । सामान्य जीवनमा कसैले हामीलाई नजिकबाट हेरे पनि वा टाढाबाट हेरे पनि त्यो घृणा गर्न लायक हुनु हुँदैन।
तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए- ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे।' पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें- ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ ? तपाईंका कुरा पत्याउन सक्दिनँ म।' पण्डितजी आगो भए । तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।
अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।
राजनीतिमा हिंसाको प्रयोगबारे तपाईंका धारणाहरू आज के छन् ? २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष, तपाईंहरूको ‘झापा विद्रोह' र ‘माओवादी विद्रोह' मा भएको हिंसा र प्रतिहिंसालाई पछाडि फर्केर हेर्दा आज कस्तो महसुस हुन्छ ?
संघर्षको रूपलाई सिद्धान्तको विषय बनाउन सकिन्न । तत्कालीन परिस्थितिको सन्दर्भमा राखेर मात्र यो प्रश्नलाई हेरिनु पर्छ । कांग्रेसले निरंकुश राणाशाहीविरुद्ध गरेको सशस्त्र संघर्षलाई सकारात्मक रूपले हेरिनु पर्छ । झापा संघर्षलाई पनि निरंकुश पञ्चायती तानाशाहीको परिप्रेक्षमा हेरिनु पर्छ । तत्कालीन दमनको वातावरणमा जनताका लागि शान्तिपूर्ण प्रतिरोधका सबै झ्यालढोका बन्द थिए । झापा आन्दोलनको महत्व यसकारण पनि छ कि, २०१८ सालमा दरबारले कांग्रेसको ढाडै भाँचिदिएको बेला त्यो आन्दोलन नेपालमा गणतन्त्र स्थापनाका लागि पहिलो संघर्ष थियो।
अनि माओवादी आन्दोलनमा भएको हिंसा ?
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो। त्यसैले तपाईंले भनेका तीनवटा संघर्षलाई एकै ठाउँमा राख्नु त्रुटिपूर्ण हुन्छ। कसैलाई मन पर्छ भन्दैमा त्यो गर्न सकिन्न।
म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? हुनुपर्ने कुरै होइन। नेपालको हित चिताउने कोही पनि एन्टी इन्डियन हुन सक्दैन।
साधनका रूपमा हिंसाको प्रयोग नगरेको भए नेपालमा गणतन्त्र यति चाँडो आउँदैनथ्यो भन्ने तर्कसँग तपाईं सहमत हुनु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गर्नु पर्थ्यो। सरकारले छानबिन गर्नु पर्थ्यो त्यसपछि त्यो परिस्थिति बेग्लै ढंगले जानेथ्यो । नेपालमा राजतन्त्र त दरबार हत्याकाण्ड भएकै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो। माओवादी हिंसाबाट राजतन्त्र गएको हो र ? सेना त छँदै थियो नि। सेना पराजित भएको थियो र ? सेना त जस्ताको त्यस्तै बाँकी नै थियो । नेपाली जनताको अभिमत र दबाबबाट राजतन्त्र गएको हो। नेपालमा मात्र होइन, विश्वका कयौं देशमा त्यही भएको छ । इरानको राजालाई कसले हटायो ? सशस्त्र संघर्षबाट होइन। मास मुभमेन्टबाट हटाइयो । मैले त गिरिजाप्रसाद कोइरालालाई भनेकै थिएँ, ‘दरबार सिल गर्नुस्। तपाईं निर्वाचित प्रधानमन्त्री हो। स्थिति नियन्त्रणमा लिनुस्।'
तपाईं त्यसो भने भन्नु हुन्छ, तर तपाईंकै पार्टीका नेता माधव नेपालजी त नयाँ राजा ज्ञानेन्द्रलाई दाम राख्न जानु भयो!
... ...(लामो मौनपछि फिस्स हाँस्दै) त्यो मानसिकताको कुरा हो। मानिसका वैयक्तिक मानसिकता हुन्छन्।
माओवादीको हिंसात्मक संघर्षका कारण राजतन्त्र पतनको गति तीव्र भएको थियो भन्ने बुझाइ तपाईं मानिरहनु भएको छैन ?
त्यसलाई मान्दा र नमान्दा दुवै अवस्थामा यथार्थमा कुनै फरक पर्दैन विजयजी । यस विषयमा हामी लामो छलफल कुनै अर्को दिन पनि गर्न सक्छौं।
तपाईं धेरै लामो समयदेखि पार्टीमा रहेर पनि नेतृत्वमा आउन सक्नुभएन, किन ?
मैले लिडरसिपतिर हेर्ने कोसिस नै गरिन। म अलिकति फरक बनावटको मानिस हुँ। प्रकृति, जगत्, जीवन आदिबारे मेरो अलिकति फरक दृष्टिकोण छ। कतिपय मान्छेले यसलाई आध्यात्मिक दृष्टिकोण पनि ठान्दछन्। म त्यसलाई भौतिकवादी दृष्टिकोण भन्छु। अध्यात्मले मरेपछि परलोकको कुरा गर्छ, म इहलोकको कुरा गर्छु, परलोकको होइन। मान्छे बढी बाँचे सय वर्ष बाँच्ला। पृथ्वी अर्बौं वर्ष पुरानो छ । मलाई मेरो बाजेभन्दा अगाडिको पुस्ताबारे केही थाहा छैन । हामी क्षणभरका निम्ति यहाँ पृथ्वीमा छौं। यस्तो अवस्थामा मान, पद, प्रतिष्ठा, धन आदिका पछाडि म साह्रै जाँगर गरेर हिँड्न सक्ने मान्छे नभएकाले पनि लिडरसिपमा आउने परिस्थिति नबनेको हुन सक्छ । म निरन्तर राजनीतिमा रहें। आफ्नो काम गरें। लागेको बोलें। परिणामको प्रतीक्षा गरिनँ।
महाकाली सन्धिका बारे म स्पष्ट छु । त्यो कुनै नयाँ सन्धि होइन। पुराना गल्ती हामीले सच्याएको हो।
तर २०७० सालमा आइपुग्दा मैले निर्णय गरें, अब यसरी भएन। म व्यापक सक्रियताका साथ अघि सर्छु भन्ने निर्णय गरें। साथीहरूले सहयोग गरे। संसदीय दलको नेता चुनिएँ । पार्टीको अध्यक्ष भएँ। संसदीय दलको नेतामा लड्दा मेरो स्वास्थ्य राम्रो थिएन। पार्टी अध्यक्षको निर्वाचनका बेला त म मर्दामर्दै बाँचेर फर्केको थिएँ। पार्टी अध्यक्ष भएपछि मैले निर्णायक तरिकाले काम गर्ने मौका पाएँ । कामप्रतिको समर्पण मसँग हमेशा थियो। तर देखाउन पाएको थिइन, धेरैले देखेका थिएनन्। म छन् त थिएँ हुलमा, तर खेतको डिलमा नबसुन्जेल मान्छेले देख्या थिएनन्। भएको त्यति मात्र हो।
त्यसपछि संविधान निर्माणमा पनि तपाईंको भूमिका रह्यो। त्यसैक्रममा भारतसँग तपाईंले जसरी स्ट्यान्ड लिनुभयो, त्यसलाई देखेर धेरै मान्छे छक्क परे, दुवै देशमा । किनभने ‘महाकाली सन्धि' पछि तपाईंलाई भारत समर्थक भनेर हेरिएको पृष्ठभूमिमा सोधेको।
महाकालीमा हामी लामो समयदेखि असमानपूर्ण व्यवहार भोग्दै आएका थियौं । सीमा नदीको अन्तर्राष्ट्रिय मान्यताविपरीत काम गरेको लामो इतिहास थियो । मैले पाएको जानकारी र सूचनाहरूअनुसार ‘एकीकृत महाकाली र पञ्चेश्वर परियोजना विकास सन्धि' ले गर्दा भारतले आफ्ना गल्ती सुधार्यो र हामीले आफ्नो हक स्थापित गर्यौं । महाकाली सन्धिका बारे म स्पष्ट छु । त्यो कुनै नयाँ सन्धि होइन । पुराना गल्ती हामीले सच्याइएको सन्धि हो । त्यसैले म त्यो सन्धिको पक्षमा उभिएको हुँ ।
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्घान्तिक भूल थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो।
भारतका सम्बन्धमा तपाईंका दृष्टिकोणहरूमा निरन्तरता छ कि मौसमअनुसार तात्ने र सेलाउने बानी छ ?
म एक देशभक्त नेपाली हुँ। नेपालको भूमि, नेपाली जनताको स्वाभिमान र भलाइप्रति बफादार छु। मैले अन्त कतैको शपथ गरेको छैन, नेपालको गरेको छु । हो, मैले पाहुना भएर अन्त खाएको पनि हुँला। पाहुना बफादार हुँदैन धेरै। आफ्नो घरप्रति बफादार हुने हो। कोही पाहुना आयो, तपाईंले उसलाई नास्ता गराउनु भयो भन्दैमा उसबाट धैरै बफादारीको अपेक्षा गर्नु पनि हुन्न। ऊ आफ्नै घरप्रति बफादार हुन्छ भन्ने सोच राख्नु बुद्धिमानी हुन्छ। मेरो कुरा त्यही हो।
मैले हाम्रो देश, हाम्रो भूस्थिति, हाम्रा छिमेकीहरूको अर्थ राजनीतिक व्यवस्थाहरू पनि बुझेको छु। उनीहरूसँग मैत्री सम्बन्ध राखेर मात्रै हाम्रो हित हुन्छ भन्ने पनि मलाई थाहा छ । छिमेकीसँग अनावश्क झमेला बोक्नु हुन्न भन्ने मलाई थाहा छ। हामी कुनै छिमेकीका विरुद्ध केही गर्न सक्ने हैसियतका पनि छैनौं। हामी कसैको कुभलो चिताउन्नौं। हामी फगत आफ्ना हितको रक्षा गर्छौं। यो कुरा हाम्रो कुनै दाउपेच होइन। तर छिमेकीले पनि सम्मानजनक व्यवहार गरून् भन्ने अपेक्षा गर्नु हाम्रो गल्ती हो र ? म विनम्रतापूर्वक भन्न चाहन्छु छिमेकीहरूलाई- सके हामीलाई मद्दत गर्नुस्। नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोलिदिनुस्।
अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा म तीन कुरा भन्छु। पहिलो, हामीले सबैले आआफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्छ । दोस्रो, आआफ्नो राष्ट्रिय हित हेर्दा त्यसभित्र न्याय हुनुपर्छ । मेरो ज्याकेट खोसेर लगेर तपाईंको भलो होला, न्यानो होला । तर मलाई त जाडो हुन्छ नि। न्याय त हुनुपर्यो नि। तेस्रो, अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको पनि सबैले ख्याल गर्नुपर्छ। ठूलाठूला देशहरूको प्रतिस्पर्धा होला । भारत र चीनको होला रे। वा अरूको होला रे। हामी सानालाई त्यसमा फस्नु छैन। हामीलाई त बाटो देऊ साथी हो, थिचोमिचो नगर, रगडामा नफसाऊ भन्ने चाहना मात्र छ।
काठमाडौंमा एकथरी वर्षौंदेखि ‘नेपालले चीन र भारतबीच समदूरी (इक्विडिस्टेन्स) राख्नुपर्छ' भन्छन्। के त्यो सम्भव छ ? इक्विडिस्टेन्स (समदूरी) मान्ने कि इक्विप्रोक्सिमिटी (समसामीप्य) ?
म ‘समदूरी' शब्द प्रयोग गर्दै गर्दिन। समसामीप्य (इक्विप्रोक्सिमिटी) रुचाउँछु। छिमेकीसँग मात्र होइन, सबैसँग पनि त्यही हो। निकटताको कुरा हो। दूरीको कुरा होइन। कसैको शरीरमा दुई मिटर कपडाले कोट बनाउन पुग्छ । कसैको शरीर अलि ठूलो होला कपडा अलि बढी लाग्ला । असमानता होइन त्यो। मित्रता भन्ने कुराको गणितीय मापन हुन सक्दैन।
तर जब हामी भारत र चीनसँग समसामीप्यको कुरा गर्छौं, भारतसँग जुन विविध आयामहरूमा सम्बन्ध फैलिएका छन्, त्यो प्रसंगमा मैले यो कुरा झिकेको हो।
समानता र समसामीप्यबाटै यसलाई हेर्नुपर्छ। सम्बन्ध बराबर नहुँदा भनेको के हो ? एउटाले भनेको अलि बढी मान्ने अर्कोले भनेको अलि थोरै मान्ने हो र ? पक्कै होइन । हामी दुवैको उत्तिकै हित चिताउँछौं। हामी आफ्नो राष्ट्रिय स्वार्थअनुसार गर्छौं। सुदामा र कृष्णको मित्रतालाई हेर्नुस् न। दुवैको दिने क्षमतामा धेरै अन्तर थियो। सुदामाले कनिका दिए, कृष्णले घरबंगला दिए। तर त्यसले मित्रतामा फरक पर्यो र!
मैले उठाउन खोजेको सन्दर्भ त्यति सजिलो होइन ओलीजी। दुनियाँमा कुन देश यस्तो छ, जसको दुई देशसँग बराबरीको सम्बन्ध छ ? बेलायतको अमेरिका र रूससँग वा जापानको चीन र अमेरिकासँग सम्बन्ध उत्तिकै बराबर छ र ? हुन सक्छ र ?
(लामो मौन) बराबर सम्बन्ध भनेको व्यापार हो ? रिलेसनसिप भनेको व्यापारको परिमाण मात्र होइन। तपाईंले आवागमनका कुरा गर्नु होला, तपाईंले भौगोलिक सहजताका कुरा गर्नु होला। हामीले यहाँनेर छिमेकीसँग बराबरी भनेको हो । घच्चापच्ची नसहने भनेको हो। पारस्परिक सम्मानको कुरा गरेको हो। एकअर्काका जायज, संवेदनशील स्वार्थ र गुनासालाई ध्यान दिनुपर्छ भन्या हो। हामी कसैका विरुद्ध छैनौं। दुवैका विरुद्ध उत्तिकै छैनौं। यो व्यापार र आवागमनको कुरा मात्र होइन।
अरूको कुरै छोडौं, मेरै पार्टीका कतिपय मान्छे पनि साम्यवादको त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ ।
उदाहरणका लागि मेरो घरछेउमा दुई पसल छन्। एउटा रासन पसल अर्को पान पसल। दुवै मेरा निम्ति जरुरी छन्। एउटाबाट म महिनाको एकपटक रासन किन्छु। धेरै रकम खर्च हुन्छ। महिनामा एकपटक मात्र जान्छु। पान पसलको मित्रकहाँ मेरो धेरै रकम खर्च हुन्न। तर म त्यहाँ दिनको दुईपटक जान्छु। तर दुवैसँग मेरो मित्रता छ। लेनदेनको वा आवागमनको मात्रा तलमाथि होला तर मित्रता दुवैसँग छ।
अहिले हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण कुरा अहस्तक्षेपको हो। हामी फगत यति चाहन्छौं, सके मद्दत गर्नुस्। नसके हाम्रो आन्तरिक मामिलामा हात हालेर नगिजोलिदिनुस्। सबैभन्दा मुख्य कुरा त्यो हो।
भारत सायद यसकारण अत्यधिक चासो राख्छ किनभने सिमाना खुला छ, नेपालको बाटो भएर भारतमा आतंक मच्चाउन चाहनेहरूको विगत पनि त छ नि । अथवा तिब्बतलाई असन्तुलित बनाउन पनि त सकिन्छ नि ?
त्यो दुवै कुरा गर्न पाइँदैन। मिल्दैन। हुन दिइँदैन। छिमेकी मित्रहरूका जायज चासो रक्षा गर्न हामी यहाँ छैनौं र ? सरकार छैन र ?
तर नेपालको राज्य यति कमजोर छ कि भारतीयले हाम्रो विश्वास नगर्न पनि सक्छन् नि। वा नेपाल सरकारको क्षमता बाहिरका कुरा पनि हुन सक्छ नि ती कुराहरू ?
अनि, बिर्सनु भो अमेरिकामा पनि टिन टावर खस्या होइन ? पेन्टागनमा प्रहार भएको होइन ? अब अमेरिकाले कसलाई अपजस लगाउने ?
यति वर्षदेखि यहाँ जुन प्रकारका गतिविधिहरू भए, त्यसले गर्दा भारतले के हासिल गर्यो ?
केही न केही। केही पाएन। एउटा-एउटा मान्छे बोकेर उसले पनि बेकारको हैरानीबाहेक केही पाएन। एजेन्सीहरूका केही मान्छेहरूको निजी अहम् तुष्टि भयो होला। भारतका केही जायज संवेदनशीलता होलान्, हामी बुझ्छौं तिनीहरूलाई। हाम्रा पनि केही जायज संवेदनशीलता छन्। खोइ हामी त त्यहाँ हात हाल्न जाँदैनौं। फलानो मन्त्री चाहियो, फलानो सचिव चाहियो भनेर भन्छौं र ? भारतले पनि बुझिदिनु पर्छ।
म के भन्न चाहन्छु भने नेपाल भारत अत्यन्तै सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ। नेपाल चीन सम्बन्ध पनि अत्यन्तै सुमधुर र विश्वसनीय हुनुपर्छ। हामीले एकअर्काप्रति वैरभाव किञ्चित मनमा पनि राख्नु हुँदैन । आशंका पनि गर्नु हुदैन। सहयोगी भावना हुनुपर्छ। एकअर्काका जायज संवेदनशीलतालाई सबैले बुझिदिनुपर्छ।
मरेपछि मलाई सम्झिराख्नु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्तााले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हाने अलिकति चित्ता दुख्छ।
उनीहरूले आफ्ना जायज संवेदनशीलता र चासोहरू व्यक्त गरे त्यो तपाईंले हेर्नुहुन्छ ?
किन नहेर्ने ? जायज सरोकार छन् भने जरुर हेरिन्छ।
भारतले आफ्ना संवेदनशीलताहरू ‘आफ्ना खास' मान्छे सत्तामा पुगेपछि मात्र सम्बोधन हुन्छन् भन्ने मानसिकताबाट मुक्त भएर नेपालमा जोसुकै सरकारमा होस्, छिमेकमा जोसुकै सरकार होस्, त्यसको हातमा संवेदनशीलताको सूचीपत्र थमाएर अगाडि बढ्ने नयाँ थालनी गर्दा बढी राम्रो हुन्छ कि ? बेकारको अन्तहीन, गैरउपलब्धिमूलक उछलकुद भन्दा ?
हो, गर्नुपर्ने त्यो हो। हामी पनि त्यही गर्छौं। हाम्रा पनि कुनै जायज विषयहरू छन् भने हामी भारतलाई प्रस्ट भन्छौं, चीनलाई पनि भन्छौं। उहाँहरूका पनि केही छन् भने, हामीलाई प्रस्ट भन्नुहोला। यहाँ उछलकुद गर्ने होइन। हामी त्यसलाई सम्बोधन गर्छौं। मैले सन् २००० तिरै भारतका केही नेतासँग कुरा गरेको थिएँ । भनेको थिएँ, ‘अब हामी नेपाल भारत सम्बन्ध सञ्चालनका पुराना मान्यता, तौरतरिका परिवर्तन गरौं। विश्वव्यापी सर्वस्वीकार्य तरिकाले अगाडि बढौं। हामीलाई सबैभन्दा चित्त दुख्ने कुराचाहिँ हाम्रा राजनीतिक मामिलाहरूमा हस्तक्षेप हो।
सत्तरी वर्षयताको अनुभव हेर्दा भारतले यहाँ आफैं हस्तक्षेप गर्छ कि हामी नै उसलाई हस्तक्षेपको निम्तो दिन्छौं अनि बेकारको हल्ला गर्छौं ?
यो तपाईंले बहुतै महत्वपूर्ण कुरा उठाउनुभयो। सही हो त्यो कुरा। ताली एकोहोरो बजेको छैन । पहिलेदेखि बानी पर्यो तिनीहरूलाई। भारतमा बेलायती शासन चल्दा पालादेखि यो क्रम पनि चल्दै आएको छ। कानमा उसले मन्त्र फुक्दा हामीलाई जतिसुकै अप्रिय लागे पनि, आफ्ना अप्रसन्नता हामीले जाहेर गर्न सकेनौं । यता हामीलाई पनि मानसिकता बन्दै गयो कि उता नसोधी हुँदैन। त्यो एउटा समस्याका रूपमा रह्यो । आज म तपाईंलाई फगत यति मात्र भन्दै छु कि यो परम्परालाई छोडेर आपसी सम्बन्धको नयाँ युग थालनी गरौं।
दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गरी छानबिन गर्नुपथ्र्यो। राजतन्त्र त त्यसै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो।
तपाईंले यसो भन्नुभयो भन्दैमा तपाईंलाई ‘एन्टी इन्डियन' त ठानिनु हुँदैन नि।
म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? कसरी हुने ? हुनुपर्ने कुरै होइन। कोही पनि नेपालको हित चिताउने मान्छे एन्टी इन्डियन हुन सक्दैन। त्यसो भनेर यो अर्थ नलागोस् कि इन्डियाले हेप्दाखेरी नसहनु एन्टी इन्डियन हुनु होइन। इन्डियाले बुझ्नुपर्छ, हामी थिचोमिचोभित्रका एउटा रैती राज्य होइनौं। मित्र हौं।
विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्यो, त्योबापत के पायो त ?
केही पनि पाएन। केही मान्छेहरू... केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे । दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ । त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।
भारत नेपालका प्रति विल्कुलै निरपेक्ष बस्यो भने खाली भएको ठाउँमा चीनलाई ल्याउने ? अमेरिकालाई ल्याउने ?
खाली किन ? यहाँ हामी छैनौं ? हामी सरकार चलाउन सक्दैनौं र ? आपसी मित्रताका सकारात्मक र प्रभावकारी नीति बनाउन सक्दैनौं र ?
बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो। भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन ।
अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन' हो या ‘कम्युनिस्ट गठबन्धन' हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?
यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन' पनि होइन र यो ‘वामपन्थी गठबन्धन' पनि होइन । कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय' हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।
‘साम्यवाद' एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो । हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि । अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।
हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।
तपाईं यो भन्दै हुनुहुन्छ कि आज फिलोसफिकल कम्युनिस्ट वा आइडियोलजिकल कम्युनिस्टको होइन, पोलिटिकल कम्युनिस्टको युग छ ?
अहिले मेरो अगाडि एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ विजय कुमार पाण्डे (हाँस्दै), उहाँ भन्ने गर्नुहुन्छ, आजको युग ‘वैश्य युग' हो । त्यो भनाइमा सत्यता नभएको होइन । वैश्य युग भनेको पसल वा बजारमा मात्र सीमित कहाँ छ र ! राजनीतिमा पनि त त्यो हावी हुँदैछ।
हो ओलीजी, वैश्य युगको अप्रभावित कुन क्षेत्र पो छ र ? मिडियामा पनि त्यसको प्रभाव टडकारो छ।
हो । त्यसकारण, कम्युनिस्ट पार्टीभित्र पनि त्यो छ । यो कुरा धेरैका लागि कन्फ्युजिङ जस्तो लाग्न सक्छ। यो कुरा बुझ्न सजिलो छैन।
माओवादीसँग तपाईंको गठबन्धन अब कति लामो चल्छ ?
अब हामी पार्टी नै एकीकरण गर्छौं।
के म अहिले नेपालको भावी प्रधानमन्त्रीसँग कुराकानी गर्दै छु ?
म जुन जिम्मेवारीमा छु, त्यहाँ बसेर मैले यो प्रश्नको जवाफ आजै दिन मिल्दैन। जनता र पार्टीको निर्णय प्रतीक्षा गर्नुपर्छ। केही दिनमा नै तपाईंले थाहा पाउनु हुनेछ।
एकथरी भन्दैछन्, यदि तपाईंहरूले जित्नुभयो भने, नेपालमा अधिनायकवाद स्थापित हुनेछ ?
तपाईंलाई के लाग्छ ? त्यसो होला ? म जति डेमोक्रेसीका लागि दुःख पाएको मान्छेले त्यसो गर्ला ? जब म जेलमा थिएँ, बाँचेर प्रधानमन्त्री हुँला भनेर त सोच्न पनि सक्दिनथें । लोकतन्त्रप्रतिको मेरो निष्ठा सौदाबाजीको विषय होइन । जुन कुरा मैले जीवनभरि गरिन, अब गरूँला ?
अब अन्तमा, सबथोक त जनतालाई विकासको ‘डेलिभरी' हुन्छ कि हुन्न भन्नेमा टुंगिनेछ। जनताको जीवनमा सुधार हुन्छ कि हुन्न भन्ने प्रश्नमा सबै प्रश्न समाप्त हुनेछन्। काठमाडौंका मेयरको असफलताका अनेकन उदाहरण हाम्रै अगाडि छ । राजनीतिक स्थिरता त पञ्चायतमा पनि थियो नि!
बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो । भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन। ढंग पुर्याइएन भने ‘स्ट्याबिलिटी' (स्थिरता) स्ट्याग्नेसन (जडता) मा परिणत हुने खतरा पनि हुन्छ । हामी त्यो विषयमा सतर्क छौं।
अब तपाईंको के राजनीतिक महत्वाकांक्षा छ ?
केही छैन। देशमा विकास भइदिए हुन्थ्यो भन्ने महत्वाकांक्षा चाहिँ छ।
मान्छेले तपाईंलाई कसरी सम्झून् जस्तो लाग्छ ?
सम्झनु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्ताले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हानेको अलिकति चित दुख्छ। मरेपछि मलाई कसैले लात्ताले हाने भने म चित्त दुखाउन्न।
तपाईं आफ्नो जीवनसँग सन्तुष्ट हुनु हुन्छ ?
म जेलको काल कोठरीमा हुँदा पनि सन्तुष्ट थिएँ। आज पनि सन्तुष्ट छु।
तपाईं आफ्ना राजनीतिक विपक्षीलाई ज्यादै निर्मम कटाक्ष प्रहार गर्नु हुन्छ। एकताका प्रचण्डजीमाथि गर्नु हुन्थ्यो आजभोलि त्यो देउवाजीमा सरेको छ।
सत्यमाथि मेरो विश्वास मूर्खताको हदैसम्म छ भन्दा हुन्छ । विगतमा कसैले बेठीक गरेको बेला आक्रमण गरेको हो। आज पनि मेरो बानी त्यही हो।
नेपाली जनताका आउने दिन कस्ता होलान्। जस्ताको त्यस्तै रहला कि फरक पर्ला ?
पुरानै हालतमा हामी छैनौं । विगतमा क्षेत्रमा उपलब्धि भएका छन्। अलि उतारचढावमा हामी रह्यौं । राजनीतिक स्वार्थ धेरै हावी भए। बोक्ने, उचाल्ने, पछार्ने काम अलि बढी भए । अपेक्षित विकास भएन । तर केही भएन भन्नु गलत हो। सत्तरी वर्षअघि त हामी अन्धकार युगमा थियौं । अब हामी राम्रा दिनहरूतर्फ अगाडि बढ्ने छौं।
यति भनेर ओली रोकिए। घडीले रातको साढे दस बजाउँदै थियो। फर्कने बेला, ढोकामा मैले उनलाई त्यही कविता स्मरण गराएँ, जो उनैले मलाई सुनाएका थिए।
छुट्टिने बेला हात समातेर ओलीले भने, ‘नजिकबाट हेरियो भने पनि म त्यति खराब देखिने छैन विजय।'
मैले दुई शब्दको जवाफ फर्काएँ- हेर्दै जाऔं। साथै मनमनै यो पनि सोचें उनलाई म हरिभक्त कटुवालको भाखामा हेरू कि उनको आफ्नै शैलीअनुसार बुझूँ।
फर्कने बाटोमा म यो पनि सोच्दै थिएँ, के साँच्चिकै नेताहरूले सोचेजस्तो गरेर एमाले र माओवादी पार्टीका भोटहरू एकअर्काको चिह्नमा सरुवा होलान् त ? समानुपातिक कोटामा जनताले शीर्ष तहमा भएका गठबन्धनहरूलाई गणितीय हिसाबले सदर गर्लान् त ?
http://annapurnapost.com बाट साभार
Tuesday, November 28, 2017
हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू
अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि, क्रान्तिकारी धारवालाको बहुमतलाई पटना पक्राउ प्रकरणबाट मिलान गरिसकेपछि राहतको लामो सास फेरेर आयोजित गरिएको चुनवाङ बैठकमा विचार र सङ्गठनमा बाबुरामले भनेअनुसार गएपछि रुवावासीको घतलाग्दो ऐतिहासिक नाटक मञ्चन भयो । दिल्लीमा म्याडमहरूले कपाल लुछालुछ गरेको घटना पनि बिर्सिने कुरा स्वत: हुने नै भयो । त्यसपछि एरिस्टोटलको विरेचन सिद्धान्तका झैँ सबै विरेचित भए र “रूपान्तरण” को नयाँ अभियान आरम्भ भयो । यही महान् रूपान्तरणपछि नयाँ जनवादी गणतन्त्रको स्थानमा “लोकतान्त्रिक गणतन्त्र” मा जाने महान् विचार संश्लेषित भयो ।
यसका लागि केन्द्रीय आधारक्षेत्र, त्यसमा पनि रोल्पाको चित्त बुझाउनु आवश्यक थियो । सबैभन्दा पहिले सधैं खटरपटर परिरहने कमरेड अनन्त र बिप्लवबीच तालमेल मिलाउनु आवश्यक थियो । दुवै तीव्र महत्त्वाकांक्षी, यसै परे प्रचण्डपछिको म नै हुँ भन्ने ( शान्ति प्रक्रियापछि दुवै बाबुरामले मन पराएका पात्र भए- यो कुरा बाबुरामले खरिपाटी बैठकपछि 'कान्तिपुर' दैनिकमा भनेका छन्, त्यसमा गंगा श्रेष्ठको नाम पनि मन पर्ने पात्रमा छ । ) खालका । कमरेड किरणको व्यवस्थापनसँगै अनन्त पूर्वको बागडोर समाल्न पूर्वी कमान्डमा तैनाथ गरिए र सोझा दिवाकर, विप्लवले सधैँ कचकच गरेर हैरान पारिएका दिवाकरलाई पश्चिम ठेलेर विप्लवले स्यायी समितिको हकदारसहित आधारइलाकीय कमान्डको जिम्मेवारी पाउनु स्वाभाविक थियो । चाँजोपाँजो मिलाउने क्रममा बाबुरामका मान्छे एक तह नझर्ने, तर अरूले क्रान्तिकारी स्पिरिट देखाउँदै एक तह तल झर्नुपर्ने भयो, अर्को 'क्रमभङ्ग' अभियान चलाइयो । यस अभियानपछि अब पोलिटब्युरोमा पनि रूपान्तरित प्रचण्ड-बाबुरामको बहुमत हुने भयो र केन्द्रीय समितिमा पनि उनीहरूकै बहुमत हुने भयो । अलिकति रुकुमले असन्तुष्टि जनायो । प्रचण्डले “ममाथि बम प्रहार गर्न खोजिएको थियो, फुयुज पारिदिएँ” भनेर बैठकमै उदघोष गरे । ज-जसले असन्तुष्टी जनाए, ती किनारा लागे मिहिन पाराले । प्रभाकरलाई त धेरैपल्ट कान समातेर उठबस गर्न लगाइयो । कसैको हिम्मत थिएन “महान् रूपान्तरणप्रति प्रश्न गर्ने ! यसको विरुद्ध जानु भनेको हेडक्वाटरको विरुद्ध, जनयुद्धको विरुद्ध, महान् एकताको विरुद्ध जानुहुन्थ्यो । महान् एकता, महान् रूपान्तरण, एकता-सङ्घर्ष-रूपान्तरणको ऐतिहासिकताका साथ पार्टी बैठक समापन भएको घोषणा गरियो ।
लेखक-कलाकारलाई यो महान् रूपान्तरणलाई व्यवहारमा उतार्न निर्देशन थियो । अलिअलि कस्तोकस्तो लागे पनि गहिरो गरी बुझिएको स्थिति थिएन । सबै होमियौं '' लोकतान्त्रिक गणतन्त्र' को अभियान : जिन्दावाद भन्दै ! कति गहकिलो इमान्दारी !
बैठक समापनको भोलिपल्ट सहिद परिवारसित भेटघाट गर्ने कार्यक्रम थियो । चुनवाङ वरिपरिका सहिद मात्रै भेट्ने सन्दर्भ थियो । उनीहरूलाई एक किसिमले कोचिङ गरिएको थियो : “पार्टी फुट्ने भयो भनेर हामी बडो पीडामा थियौँ, सहिदको रगत खेर जान्छ कि भन्ने लागेको थियो... पार्टी एकताबद्ध भएको सुन्दा खुसी लाग्यो ।” प्रचण्डले पनि कृत्रिम किसिमले गला भरिएको जस्तो पारे, रुन लागेजस्तो अभिनय गरेर सहिद परिवारलाई मख्ख पारे । “हामी दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्न लागिरहेछौँ, कमरेडहरू धोका हुने छैन हामी एकताबद्ध छौँ” भने । पार्टीले नयाँ जनवादी क्रान्ति छाडेर बुर्जुवा बहुदलीय व्यवस्था लोकतान्त्रिक गणतन्त्रको दिशा तय गरेको निर्णय चाहिँ सहिद परिवारलाई सुनाएनन् उनले । भित्री गाँठी कुरा त उनले धेरैलाई सुनाएनन् । केन्द्रीय समितिका सदस्यलाई पनि सुनाएनन् । कार्यनीतिमा मात्र नभएर रणनीतिक उद्देश्यमा नै दिल्लीमा सम्झौता भैसकेको कुरा त झन् सुनाएनन् । सबै कुरा दिल्लीमा तय भएर उतै रुवावासी र महान् रूपान्तरणको एक चरण समाप्त गरेर यता नाटक मन्चन गरिएको मात्रै रहेछ भन्ने कुरा १२ बुँदेपछि थाहा भयो ।
सहिद परिवारको भेटघाटको नाटक दृश्य सम्पन्न गरेपछि केन्द्रीय सदस्यहरूले सामूहिक फोटो खिच्ने कार्यक्रम पनि सम्पन्न भयो । अब सबै कमरेडलाई क्रान्तिकारी भाव र उत्साह दिन 'सामना परिवार' र आधारइलाकीय 'प्रतिरोध' सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम देखाउने भनियो । कार्यक्रम बैठकस्थलभन्दा अलिमाथि सम्म ठाउँमा गर्ने निधोसहित कलाकारहरू त्यसको तयारीमा लागे र कपडाले बेरेर काम चलाउ मंच बनाए ।
भखैरै खारा मोर्चाको असफलताको पीडा थियो । प्रचण्ड स्वयमले कमान्ड गरेको यो मोर्चामा सारै ठूलो नोक्सानी भएको थियो । तयारी प्रशिक्षण टेप नै दुस्मनको हात परेको थियो । असफलताको एउटा कारण बाबुरामले सबै कुरा दुस्मनसम्म पुर्याउनु थियो भने, अर्को कारण युद्ध मोर्चामा आन्तरिक तालमेलको अभाव र केही मात्रामा रुकुम-रोल्पा अहमको पनि समस्या थियो । यो जित्ताजित्तै हारेको मोर्चा थियो । कमरेड जित गुमाउनुको गणेशपुर मोर्चापछि असाध्यै पीडा गराउने मोर्चा थियो खारा मोर्चा । गणेशपुर मोर्चाको पनि सही किसिमले समीक्षा भएको छैन, गर्नु आवश्यक छ । अब खोतल्नु पर्छ ।
अहिले कलाकार विद्रोही कमरेडको जीवनसाथी बन्नुभएको दीपा कमरेडको बसाइ सानी छोरीका कारण पाख्रिन दाइ-भाउजूका साथ हुन्थ्यो–अभिभावकको भूमिकामा उहाँहरू हुनुहुन्थ्यो । दीपाको जीवनसाथी कमरेड प्रशान्त खारा मोर्चामा सहिद हुनुभयो । पाख्रिन दाजुभाउजूसितै बसेकी दीपा र सानी छोरीको पीडालाई पाख्रिन दाइले नजिकैबाट बोध गरेर सामान्यीकरण गर्नुभयो र तयार पार्नुभयो : “युद्धभूमिबाट फर्किँदा” । भर्खरै साथी गुमाएकी दीपाका लागि त्यो अभिनय गर्नु साच्चिकै पीडादायी थियो । तर उनले गरिन् । त्यो अपेराले त्यति सारो प्रभावित पार्नुका पछाडि विषयवस्तुको गाम्भीर्य त थियो नै, दीपाको सजीव अभिनय पनि थियो । पूर्वीय साहित्य सिद्धान्तमा रस सिद्धान्तले भनेझैं रसनिष्पत्तिको सामान्यीकरण भएको थियो त्यहाँ । सबै रुनु स्वभाविक थियो । यो चाहिँ असली रुवाइ थियो- चुनवाङ बैठकको जस्तो रुवाइ होइन । सो कार्यक्रमका प्रस्तुतिहरू सबै प्रभावकारी थिए । अपेरासँगै बहुचर्चित बनेको अर्को गीत कमरेड विद्रोहीले गाउनुभएको गीत “टुटफुटका कुरा नगर” भन्ने थियो । यो गीत पनि तत्कालीन पृष्टभूमिसित सम्बद्ध थियो । माथि दुस्मनको हवाइजहाज निगरानीका लागि चक्करमारिरहेको अवस्था र अचानक बदली भएर पानी पर्लाजस्तो मौसममा गरिएको त्यो कार्यक्रम साँच्चिकै ऐतिहासिक थियो ।
यो समग्र कार्यक्रमको अडियो-भिडियोको सम्पादनका साथ तयार पारेर वितरण गर्ने जिम्मा पूर्णघर्तीलाई दिइएको थियो । उनलाई सास्कृतिक मोर्चाको यस विभागको जिम्मेवारी पनि थियो । उनले यो काम प्रचण्डपुत्र प्रकाशको बाहुलीको सहयोगमा सम्पन्न गरे भन्ने थाहा भयो । तर सो कार्यक्रमको अडियो र भिडियोमा उनले त्यति प्रभावकारी अपेरा “युद्धभूमिबाट फर्किँदा” का सर्जक खुसीराम पाख्रिनको एक झलक अनुहार देखाउनु आवश्यक ठानेनन्, उदघोषकको आवाज र अनुहार पनि गायब पारेछन् -गजबको सम्पादन गरेछन् । सो कार्यक्रमको सञ्चालन त्यतिबेरका सांस्कृतिक मोर्चाका केन्द्रीय महासचिव ऋषिराज बरालले गरेका थिए ।
पूर्णकी श्रीमती सीता आचार्यको अहङ्कारी स्वभावका कारण पाख्रिन दाइ, त्यति सारो उनलाई मन पराउनुहुन्न्थ्यो । त्यसैले कमरेड दीपाले अभिनय गरेको सो अपेराको गीत ''लड्नैपर्छ यो युद्ध तिमीले ..." एलिना कमरेडले गाएकी थिइन् । पछि सो अपेराको नयाँ सुटिङ गरेर नयाँ भिजुअल बनाइएको पाइयो । पहिलेकोमा प्राविधिक केही समस्या भए पनि पहिलेको जस्तो मिठास र मौलिकता पछिल्लोमा पाइएन । पछिल्लोमा कृत्रिमताको बोध हुन्छ-नाटकीय ।
पार्टीभित्र जनयुद्धलाई विसजर्न गर्ने तारतम्य मिलाइसकिएको रहेछ । तलकालाई थाहा हुने कुरा भएन । सांस्कृतिक मोर्चाले आफ्नो कमान्डरको निर्देशन नमान्ने कुरै थिएन । प्रचण्डबाबुरामले सबै भारतलाई बुझाइसकेका रहेछन् भन्ने कुरा हामी इमान्दार भनौंदालाई थाहै भएन । हामीहरू त “लड्नैपर्छ यो अन्तिम युद्ध तिमीले” भनेर प्रचण्डप्रति आशावादी र विश्वस्त बनिरहेका थियौं । कति गहकिलो इमानदारी है !
नेपालको माओवादी आन्दोलन अहिले जेजस्तो भए पनि हिजोका दिनमा यसले विश्वको ध्यान खिचेको थियो, नेपाली उत्पीडित जनतामा आशा र विश्वास जगाएको थियो । होमिएका थिए मान्छे— “मरे सहिद, बाँचे संसार” भनेर । माओवादी आन्दोलनका पक्षमा जनमत निर्माण गर्न अग्रीम भूमिका खेल्ने र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न र आवश्यक पर्दा एक हातमा कलम र एक हातमा बन्दुक लिएर युद्ध मोर्चामा लामबद्ध हुन तछाडमछाड गर्ने इतिहास हो माओवादी सांस्कृतिक मोर्चाको इतिहास । बलिदानको गौरवमय इतिहास निर्माण गर्न लेखककलाकारको अहम् भूमिका छ । कृष्ण सेन, हर्षबहादुर शाही, चुनु गुरुङ, शिव श्रेष्ठ, शारदा श्रेष्ठ, च्याङ्वा लामा, डि कौडिन्य, रोहित कोइराला लगायत थुप्रैको बलिदानीपूर्ण इतिहासको अर्को नाम हो माओवादी सांस्कृतिक मोर्चा । यो उदात्तपूर्ण र गौरवमय इतिहासका संवाहकहरूको सम्मान गर्नु आवश्यक छ । सम्मान गर्न सिकौं ।
अहिले विभिन्न कारणबस विभिन्न समूहमा विभाजित भएका भए पनि र सबैका आआफ्ना सीमा र समस्या भए पनि, कोही क्रन्तिचेतले उत्प्रेरित भएर र कोही वाध्यात्मक किसिमले भए पनि हिजोका ती अप्ठयारा र आँधीमय दिनमा युद्ध मोर्चामा होमिएर माओवादी आन्दोलनलाई सांस्कृतिक मोर्चाका तर्फबाट वैचारिक तथा भौतिक किसिमले ऊर्जावान बनाउने खुसीराम पाख्रिन, ऋषिराज बराल, मणि थापा, माइला लामा, ईश्वरचन्द्र ज्ञवाली, रोशन जनकपुरीलगायतका सांस्कृतिक कर्मीहरूको योगदानको कदर गर्नु आवश्यक छ । यी घरपरिवार सबै कुरा छाडेर युद्ध मोर्चामा होमिएका स्रष्टाहरू हुन् भनेर हामीले बुझ्नु आवश्यक छ । युद्धमा नहिंडे पनि त्यो भन्दा गहकिलो गरी कलम चलाउने पूर्ण विरामलाई नेपालको माओवादी सांस्कृतिक आन्दोलनमा कसरी बिर्सन सकिएला र ! यी सबै पौरखी हातहरूको इतिहासलाई लत्याएर अहिले राम्रो, वैज्ञानिक र उन्नत इतिहास लेख्छु भनेर कसैले पनि अहंकार नगरे हुन्छ । प्रतिभाको निर्माण गर्ने कुरा निकै गारो छ -हुल्लड़बाजहरूलाई थाहा हुँदैन ।
हामीले हाम्रा नेताहरूलाई असाध्यै विश्वास गर्यौं । धोका देलान् भनेर सोच्ता पनि सोचनौँ । पार्टीले “रणनीतिक आक्रमण” को चरण घोषणा गरेको बेलामा ढाडमा टेकेर टाउकोमा अन्तिम प्रहार गर्ने भनाइप्रति विश्वस्त नहुने कुरा पनि भएन । हामी त भेडा बनेछौँ, दन्त्य कथामा सुन्दर युवतीको मोहमा लट्ठिएर कुनै युवक भेडा बनेर पछिपछि लागेझैं । जब ब्युंझियौं, समय अर्कै, स्थिति अर्कै भइसकेको थियो । हेर्दै खाइहालौँ जस्तो लाग्ने लड्डुमा विष मिसाइएको रहेछ भन्ने कुरा हामीलाई थाहै भएन । “ढाडमा टेकेर टाउकोमा हान्ने ” को अर्थ त अर्कै रहेछ । हामीले अर्थ लगाउन सकेनौँ/ जानेनौं । यस्तै रहेछ ''ऐतिहासिक " चुनवाङ बैठक , साँच्चीकै जादुमय !
थाहा भएन । पाउन सकिएन । वास्तवमा हामी चुनवाङ बैठकबाटै विभाजित भइसकेका रहेछौँ । गजबको रहेछ चुनवाङ बैठक । यो त स्लो प्वाइजन पो रहेछ, पछि मात्रै थाहा हुने-सुक्तैगएर सास मात्रै बाँकी भएपछि थाहा पाउने ।
(लेखकको अनुरोधमा हामीले उहाँको नाम यस लेखमा राखेनौं ।)
०००
http://janamel.com बाट साभार
Sunday, November 26, 2017
मौसम चुनावको संवाद स्वजनसँगको - नरेन्द्रजंग पिटर
आजकाल म दैनिक डायरी सामाजिक सञ्जालमा लेखिरहेको छु । यसले सामाजिक–संवाद बढाउन मद्दत गरिरहेको मात्रै छैन् सहमति र विमतिमा छलफल समेत हुने गर्छन् । सेन्सरहिन र गेटवे वेगरको यो पत्रकारिताले छुट्टै आनन्द दिइरहेको छ पनि । सामाजिक सञ्जाल र वैकल्पिक मिडिया बनेका अनलाइनहरूले कर्पाेरेट मिडिया, मिडिया टाइकुन र मिडियालाई राज्य र आफूलाई त्यसका शासक सोच्ने ‘मिडिया आंतकवादीका’ त्राहिमामलाई समेत चुनौती दिएको छ । महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु ।
महासमुन्द्रमा सिपीको खोजजस्तै अनलाइन र सामाजिक सञ्जालका एक्टिभिस्ट वा बल्गर छान्नुचाहिँ चुनौती हो । धेरै दिनसम्म अनलाइनमा स्तम्भ लेखेँ, त्यसले सन्तुष्टि नै दिएको थियो । व्यस्तताका कारण नियमितता दिन सकिएन् अव टुटेको कडीलाई जोड्दैछु । गम्भीर पाठकसँग अब नियमित अनलाइनमा समेत उपस्थित हुने छु ।
जव म इतिहास, आर्दश, पार्टी र सिद्दान्तका कुरा उठाउँछु– मेरा मित्रहरु, कमरेडहरुलाई काउसो लाग्छ । कमरेड डा. लारकेल लामा र क.दीपक मनांगे मलाई द्धन्दात्मक ऐतिहासिक भौतिकवाद र नेपाली कम्युनिस्ट आन्दोलनका रणनीति र कार्यनीतिको प्रशिक्षण दिन आइपुग्छन् जव प्रजातान्त्रिक समाजवादको कुरा गर्न थाल्छु तब धनराज गुरुङ कता अल्पिन्छन्, कुन्नी ! गणेश लामा सोसलिष्ट इन्टरनेसनलका र समाजवादी अर्थव्यवस्थाका व्याख्या डा. रामशरण महत गर्न थाल्छन् । म ट्वाँ पर्छु । एक हप्ता नटिक्ने भिजिनरी नेता डा. बाबुराम भट्टराईको एकहप्ते अडान नियाल्छु । चालु राजनीति त्यसैलाई आत्मसात् गर्न भन्छ । म असमर्थ मात्रै हैन् पिच्च थुकिदिन्छु, हो त्यसैवेला फेरिन्छ, सबैकुरा । तव भीडमा एक्लो हुनुपर्छ । आजै चुनावमा आएका भूतपूर्व मेरा कमरेडलाई लालसलाम नभनेकोमा आँखा तरे । मौसम चुनावको छ, चालु विषयमै आफ्ना कुरा थालौँ ।
संसदीय चुनावी अभ्यास गरिरहेका अन्य ‘प्रजातान्त्रिक’ मुलुकहरूमा यस्तै चुनावी घरदैलो र नाटकीय प्रचार–प्रसार हुँदैन् । आश्वासन बाँड्न र सुन्न एकहुल ‘आशावादीहरू’ एउटा चटकेलाई सिंगारेर भर्खरै हिडे । सुखद बाँच्ने तरिका भनेको ‘आशावादी’, आज्ञानी र सूचनाहीन हुनुको मजै अर्कै हुन्छ । मान्छेले सोच्ने जिम्मा पण्डित, लामा, पुजारी, पादरी, नेता र मुल्लाहरूलाई दिएर सोच्नु, तर्कशील हुनु भनेको कार्य, कारण र परिणामको वास्ता नगर्ने खुरूखुरू हिड्ने लुरूलुरू लर्कने हाँइसन्चे मान्छे हुन । सोच्ने दिमागले दुख पाउने शरीरले त्यस्ता मनुवाहरूले यस्ता मजै पाउँनै सक्दैनन् । त्यही भीडबाट एउटाले प्वाक्क सोध्यो, –तिम्रो मतदान गर्ने उम्मेदवार को र कस्तो हो ? मेरो उम्मेदवारको गुण, हैसियत, अपेक्षा र योग्यताको यसरी सिलसिलेवार बखान गरेँ–
१) राजनीतिक, सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन यथास्थितिमा हैन् भन्ने मूल्य, मान्यता र संस्कृतिलाई जीवन व्यवहारमै प्रयोग गर्ने ।
२) पार्टी सिद्दान्तलाई समाज परिवतर्नको ज्यावल बनाउने, त्यसले गरेको दिशानिर्देशन अनुसार शासकीय भूमिकामा उतार्न, आफ्ना सम्पूर्ण जीवन खर्च गर्ने प्रतिबद्दता मात्रै हैन् व्यवहारमै देखिने ।
३) राजनीति व्यवसाय हैन् समाजसेवा, राष्ट्रसेवा र मानवसेवा भन्ने मान्यता राख्ने ।
४) नीतिगत र व्यक्तिगत भ्रष्टाचारमा सामेल नहुने, भएमा सामाजिक दण्ड भोग्न तयार हुने । आफ्ना पार्टी वा समूहले गरेका कुनैपनि अपराधमा सामेल नहुने मात्रै हैन् त्यसको सार्वजनिक भण्डाफोरको अगुवाइ गर्दै अन्दोलनको अगुवा पनि बन्ने ।
५) जाति, धर्म, समूदायका नाममा राजनीति नगर्ने ।
६) व्यक्तिको धर्मप्रति नीजि आस्था हुन्छ, तर राज्यको कुनै धर्म हुँदैन् भन्ने मान्यता राख्ने ।
७) अल्पमत र उत्पीडित समूदाय, धर्म, जाति, लिंगको हकको लागि हातेमालो गर्दै अधिकार र स्वाभिमान प्राप्तिको लडाइँमा सरिक हुने ।
८) विज्ञानको आँखीझ्यालबाट जीवन र जगतलाई हेर्न, बुझन र आत्मसात् गर्न प्रेरित गर्ने ।
९) मानवताका सामुन्ने देशलाई, राष्ट्रका सामुन्ने जाति र समुदायलाई, जाति र समुदायको हित सामुन्ने व्यक्तिगत विषयलाई महत्व नदिने ।
१०) समाजवादका विरूद्द राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सी र अभियानको विरूद्द आफुलाई सरोकार बनाउने डब्लुबि, आइएमएफ, एडिबी... आइएनजिओको मार्ग निर्देशनमा नचल्ने ।
११) शितयुद्दको ह्यांगओभर मुक्त ।
१२) समग्रमाः सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कस्चिद् दुःख भाग्जन ।। भन्ने हाम्रा मानवतावादका प्रतिनिधि बन्ने नैतिकपुजी र इच्छाशक्ति भएका । तर ती कुरा गम्न चुनावी मौसममा कसैलाई फुर्सद र चिन्ता हुँदैन् । यसैपनि चौथी, गाईजात्रा, होली र अप्रिलफुलका दिनमा भनिएका कुरा गम्भीर तरिकाले लिइँदैन् । अझ झुट बोल्न छुट दिने चुनावी गफ झुठेपर्व नै हो ।
चुनावमा आन्तरिक फ्याक्टरले मात्र निर्णायक हुँदैनन् । मिडियामा प्रोपोगन्डा बनेका विषय मिहिन पाराले नियालौँ र ग्राउन्ड गतिविधि सुक्षम अध्ययन गरौँ । आफ्ना विषयमा कुरा गर्नु अरूको विरोध वा अन्धराष्ट्रवादी हुनु हैन् । अन्यन्त्रका उदाहरणले शिक्षा लिनु नागरिक जाग्राम हुनु हो । चुनावका बेला चौतर्फी आँखा लगाउनुपर्छ । को, कुन कभरमा कस्तो लोकप्रिय नारामा कसरी आँउछ भनेर परिणामप्रति चनाखो हुनुपर्छ । हामी अति भूसंवेदनशील भूगोलमा छौँ । ठूला छिमकीको ढुकुरको जस्तो छाती छ । आफु हारेर पनि देश जिताउने कति उम्मेदवार चुनावी मैदानमा छन्, नियालौँ । केही उदाहरण हेरौँ –
१) जिग्मी वाई थिन्लेले प्रधानमन्त्रीका रूपमा भुटानलाई भारतको आलिंगनबाट फुत्काएर विश्व विरादरीमा पुर्याउने, कूटनीतिक भेटघाट गर्ने, चिनियाँ सहयोग स्विकार्ने जस्ता काम गरेर भारतका आँखामा बिझाए । उनले चिनियाँ प्रधानमन्त्री बेन जियाबाओसँग २०१२ जुन २१ मा ब्राजिलमा भेटेपछि थिन्ले सरकारविरुद्द नाकाबन्दी भयो । चुनावमा छिरिङ तोब्गेद्वारा पराजय भोगे । डोकलाम घटना ताजै छ ।
२) तामिल विद्रोह दवाउने श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षले जित्छु भन्ने आत्मविश्वासका साथ समयपूर्व नै चुनाव घोषणा गरेको निर्वाचन (२४ पुस २०७१) मा अनपेक्षित पराजय भोगेपछि ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई दिएको पहिलो अन्तर्वार्ताः । ‘मैले मित्र मुलुकका विरुद्ध श्रीलंकाली भूमि कहिल्यै प्रयोग नहुनेमा आश्वस्त पारें, तर तिनी (भारतीय) हरूको विचार अर्कै रहेछ ।’ श्रीलंकामा चिनियाँ लगानी र सहयोग भित्रयाएको राजापाक्षे सरकार दिल्लीलाई अँखाको कसिंगर बनेको थियो
राजापाक्षकै स्वास्थ्यमन्त्री मैथ्रिपाला सिरिसेनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगा, पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघेलगायतका नेताहरूलाई ‘रअ’ ले एकैठाउँमा उभ्याएको थियो । बेलायती समाचार संस्था रोयटर्सले राजापाक्षको पराजयमा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) को भूमिका रहेको सनसनीपूर्ण समाचार सार्वजनिक गरेको हो ।
भारतले साना छिमेकीलाई अठ्याउनुपर्यो भने कति सजिलै नाकाबन्दी अस्त्र प्रयोग गर्न पुग्छ र कसरी त्यहीँका राजनीतिक पार्टीभित्र खेल्छ । यसै चुनावमा पनि ध्यान दिँउ सतहमा नदेखिएका कुरा नहुने भने हैन् ।
अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् ।
चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् । भनिन्छ, राजनीति रक्तपातहीन युद्द हो भने प्रत्यक्ष युद्द रक्तपातयुक्त राजनीति हो । सनातनीहरूले अघोषित युद्द समाजमा थोपरिरहेका हुन्छन् भने क्रान्तिकारीले भने स्वत् युद्दविरूद्द लालयुद्दको प्रत्यक्ष घोषणा गरेर मात्र भूमिकामा उत्रिन्छन् । क्रान्तिकारीहरू अत्यन्तै जटिल अवस्थामा मात्र हतियारका भाषा बोल्छन् । आंतक र भयले समाजको समर्थन पाउन सकिँदैन् भन्ने विश्वस्त हुन्छन् । अघोषित युद्द वा बम गोलाको प्रयोग या त आतंकवादीले गर्छ या अपराधिक तत्वले । सुषुप्त समाजमा जागृति फैलाउन् हस्तक्षेप आवश्यक भएपनि क्रान्तिकारी उद्देश्यले समाज परिवर्तनकर्ममा आदेशले समाज परिवर्तन गर्छ भन्ने मान्यता राख्दैनन् । अज्ञात समूह बम गोला पडकाउँदैछ, विप्लव समूहका कमरेडहरु गिरफ्तार पर्दैछन् । यसको साइनो बुझ्न सक्दिन् । बाबा झक्कु प्र. सुवेदी काठमाडौं र ससुरा हरिबोल गजुरेल सिन्धुली चुनावी मैदानमा उत्रिएका छन् । छोराज्वाई सन्तोष सुवेदी भने चुनाव बहिस्कार क्रममा रोल्पामा गिरफ्तार छन् । चितवनमा एमाले अखिल अध्यक्ष नविना लामा चुनावी कमान्डर छिन् बाबा माणिक लामा भने गिरफ्तार छन् ।
विचार/मनोयुद्दको मचान-
नरेन्द्रजंग पिटर चुनाव एक सन्देश अनेक बने । शान्ति युद्दका जटिलता बुझ्न, बदलिँदो समाज र राजनीति बुझ्न नयाँ विमर्शको आवश्यक छ । दृष्टिले मात्र नियाल्न सकिदैन, दृष्टिकोणका चस्मा पनि लगाउनुपर्छ । के तपाइँ हामी दृष्टिकोणको चस्मा लगाउन तयार त हुन्छौँ ?
http://samachardainik.com बाट साभार
Saturday, November 25, 2017
प्रकाशको निधनबारे कमल थापाको टिप्पणि
पुत्र/पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ।विह्वलको यसघडिमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुनेथियो ।
कमल थापाको ट्विटरबाट
https://twitter.com/KTnepal बाटMonday, November 20, 2017
Subscribe to:
Posts (Atom)






