Sunday, March 16, 2014

दुई माओवादी मिल्ने कुरा - लेखनाथ न्यौपाने

दुई माओवादी मिल्ने कुरा

    दुवै माओवादीका सातौं महाधिवेशनले पारित गरेका दुवै प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने यी दुई बीचको एकता सम्भव नै छैन ।
     
     
               
    लेखनाथ न्यौपाने                             
    lekhnath
                                                                                
    फुट, क्षयीकरण र बदमासीसँगै 'एमाओवादी क्यास' र 'माओवादी ड्यास' भनेर व्यङ्ग्यका जुलुसै आए । एमाओवादीले राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरेको भन्दै क्रान्तिको झण्डा उठाएको माओवादीले त्यसपछिका दिन निराशालाई आशामा, शङ्कालाई विश्वासमा र प्रतिकूलतालाई अनुकूलतामा बदल्न निकै उकालो महसुस गरेको बुझ्न गाह्रो छैन । 'जनाधार नभएका एकाधले पार्टी छाडेका हुन् र बहुमत ल्याइन्छ, चुनावमा जानुपर्छ' भन्ने एमाओवादी चुनावी परिणामसँगै निकै माथिबाट प्रतिकूलतामा पछारिएपछि दुई माओवादी बीचमा पुनः एकताको सन्दर्भ उठ्नु स्वाभाविक परिघटना हो । तर दुई पार्टी बीचको एकता आवेगपूर्ण, भावपरक र नेताहरू नेता बनिरहने स्वार्थलाई केन्द्रमा राखेर गर्ने वा प्रतिकूलतामा धकेलिएको माओवादी आन्दोलनलाई साँच्चै अनुकूलताका लागि माओवादी इथिक्समा टेकेर गर्ने भन्ने विषय मुख्य प्रश्न हो । यो पनि सत्य हो कि गुट, फुट र क्षयीकरण जति पीडादायी घटना हुन्, योभन्दा कैयौं गुणा सुखद एकता र सुदृढीकरण हुन्छ नै । तर फुटबाहेक अन्य समाधानले सम्बोधन गर्न नसक्ने के-के विषय विवादका कारण पार्टी फुट्छन् र कुन उत्प्रेरक रसायनको कारण जुट्न हतारिन्छन् भन्ने विषय कसरी बुझ्ने ? भित्र वा बाहिर कहाँका हातले कम्युनिस्टहरूलाई फुटाउँछन् र भोज खान्छन्, अनि सम्भावनाको मिराज कति वर्ष पछाडि धकेलिन्छ भन्ने हेक्का अब हरेक कम्युनिस्ट सदस्यले राख्न सक्नुपर्छ ।
    पार्टी भित्रको दुई लाइन संघर्षमा बहुमतवालाले अंकगणितको डन्डा चलाएर अल्पमतलाई खेदेको खेदै गर्ने र अल्पमतवाले पनि एकताभन्दा फरक धन्दामै भविष्य देख्ने रोगको कारण दुवै मतवाला एकताका लागिभन्दा फुटका लागि अग्रसर हुने र विभाजनमै रमाउने मनोदशा इतिहासमा निणर्ायक बन्दै आयो । यसकारण कम्युनिस्ट पार्टीहरूको एकता वा फुटमा आम कार्यकर्ता र समर्थक जनताको मत निणर्ायक हुने गरेको देखिँदैन । जब तल्लो तहसम्म फुट र एकताबारे तीव्र बहस र सापेक्षित एकरूपताको बुझाइ बन्दैन, तब फुट वा एकता नाटकजस्तो लाग्नु पनि स्वाभाविक हुन्छ । यस्ता खेस्रा नाटकहरूलाई नेताहरूले वस्तुवादी भन्दै पुष्टि गर्ने दुष्प्रयास गरे पनि समयक्रमसँगै परिणाम अवस्तुवादी प्रमाणित हुन्छ । जसले फुटलाई एकता र एकतालाई फुटमा फेरिदिन्छ । माओवादी बीचको फुट र दुई माओवादी बीचको एकताको प्रसङ्ग यस्तै एउटा तर पछिल्लो कडी हो भन्दा फरक नपर्ला कि ?
    कम्युनिस्ट घोषणापत्र (सन् १८४८) जारी ताकाका दुई मुख्य विभाजनका घटना सबैले सम्झन जरुरी छ । पहिलो, विश्वको पहिलो मजदुर संगठन कम्युनिस्ट लिग (१८४७) निर्माणसँगै विवाद र विभाजन भयो । युरोपमा चलेका ठूलठूला मजदुर विद्रोहहरू हारमा बदलिएपछि 'नयाँ संकटपछि मात्र नयाँ क्रान्तिको प्रादुर्भाव हुनसक्छ' भन्ने माक्र्स-एंगेल्सको विचार अस्वीकार गर्दै कम्युनिस्ट लिगकै नेताहरू मिल्लिख र सापोरको नेतृत्वले 'जर्मनीमा सशस्त्र विद्रोह सम्भव छ' भन्ने धारणा र योजना अघि सारे । यही विषय विवादको कारण गठन भएको दुई वर्ष नपुग्दै कम्युनिस्ट लिग विभाजन भयो ।
    दोस्रो, 'एकातिर गोदाम अन्नले भरिभराउ छ, अर्कोतिर हाम्रा जहान, छोराछोरीहरू भोकै मरिरहेका छन् । हामी यो हेरिरहन सक्दैनौं' भन्ने व्यानरमा विकसित भएको दोस्रो चार्टिस्ट आन्दोलन (१८४८) को पहिलो पाइलोमै फुट भयो । विलियम लोभेटको नेतृत्वमा नैतिक शक्ति (नरम दल) र र्फगस ओकोनोरको नेतृत्वमा भौतिक शक्ति (गरम दल) भनेर दुई गुटमा विभाजन बेहोरेको इतिहास छ । यसरी विश्वका विभाजन र एकताका अनगिन्ती घटना पढ्दै हुर्केका नेपाली कम्युनिस्ट नेता- कार्यकर्ता देशभित्रको विभाजनमा प्रवेश गर्छन् ।
    नेपाली कम्युनिस्ट आन्दोलनभित्र औपचारिक विभाजन दरभंगा प्लेनमको निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबाट सुरु भए पनि फुटको विजारोपण कम्युनिस्ट पार्टी स्थापना (२००६) सालदेखि नै भएको प्रस्टै छ । नेपाल कम्युनिस्ट पार्टीको जन्म कहिले र को-कोबाट भएको हो भन्ने त्यतिबेलाको विवाद आजसम्म टुङ्गिएको छैन । वारा, पर्सा र रौतहटमा ठूलठूला किसान विद्रोह (२००८-००९) र  भीमदत्तको नेतृत्वमा पश्चिममा सशस्त्र विद्रोह (२००९) चल्दै गर्दा कम्युनिस्ट पार्टीको महासचिवले 'समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्वास गर्छ । नेकपाले यो स्पष्ट पारेको छ कि राजाको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधीनमा रही समाजवादी सिद्धान्तको प्रचार गर्छ' भन्ने विषयको विन्तीपत्र राजाकहाँ चढाउनु विभाजनका खास कारण थिए । त्यहाँदेखि यहाँसम्म आउँदा कम्युनिस्ट आन्दोलनभित्र साना-ठूला गरी ७६ वटा विभाजन र यसको एक तिहाइ एकताहरू देख्न सकिन्छ । दुई माओवादी बीचको एकताको प्रसङ्ग तिनै एक तिहाइ मध्येको एउटा घटनाबाहेक थप नयाँ होला कि नहोला ? पर्खेर हेर्नु नै बुद्धिमानी होला ?
    आवश्यकताको दृष्टिबाट दुई माओवादी बीचको एकता जरुरी देखिन्छ । 'एक्लै-एक्लै केही गर्न सकिँदैन, प्रतिकूलताका घेरा कसिँदा छन् र जनयुद्धको गौरवपूर्ण इतिहास (भौतिक उपलब्धि त आफैंले बुझाएर सकियो) समेत खरानी हुने भयो' भन्ने बुझाइ दुवै माओवादीभित्र विकास हुनु एउटा सकारात्मक भविष्यको रेखाङ्कन हो भने अर्को दुवै पार्टीले एकै समयमा संगठनात्मक सम्मेलनको आयोजना गर्नु, दुईअंके केन्द्रीय समिति बनाउने निर्णय गर्नु र केन्द्रपछि जिल्लालाई कार्यकारी बनाउने प्रक्रियाले एकताको छलफल र तयारी अघि बढिसकेको संकेत गर्छ । 'हारको मुख्य कारण पार्टी फुट र वर्गीय धरातल छोड्नु हो, एक्लैले सामान्य सुधारको संघर्ष पनि अब संगठित गर्न सकिँदैन र पालुङटार फर्किएर एकीकृत शक्तिका साथ नयाँ ढंगबाट अघि बढ्न जरुरी छ' भन्ने एमाओवादीको प्रारम्भिक धारणा र 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गरी नयाँ कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको सुदृढीकरण गर्ने कामलाई व्यवस्थित तुल्याउँदै क्रान्तिलाई नयाँ ढंगले संगठित गर्न अनिवार्य बन्न गएको छ' भन्ने नेकपा-माओवादीको निर्णयले एकता नजिकिएको प्रतित हुन्छ । यद्यपि एकताको आवश्यकतालाई सम्भावनामा उठाउन धेरै विषय र सन्दर्भ गजबार बन्ने खतरा पनि उत्तिकै छ ।
    नेकपा-माओवादीको सातौं महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन र एमाओवादीको सातौं महाधिवेशनले पारित गरेकोे प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने दुई माओवादी बीचको एकता सम्भव नै छैन भन्ने निष्कर्ष निस्कन्छ । उदाहरणका लागि नेकपा-माओवादीले एमाओवादी र यसका नेताहरूबारे धारणा, 'प्रचण्ड-बाबुराम भारतीय विस्तारवादी शासक वर्ग तथा त्यसको खुफिया एजेन्सीसित सम्बन्ध कायम गरेको, उसको हितमाथि कुनै हानि नपुर्‍याउने भनेर प्रतिबद्धतापत्र लेखेको, 'रअ'सँग नियमित सम्पर्कमा रहेर भारतको पक्षमा काम गर्दै आएको, दाहालले पार्टीभित्रको दुई लाइन संघर्षमा भारत विरोधी पक्षको विरोधमा र बाबुरामको पक्षमा दृढतापूर्वक उभिने काम गरेर पार्टी फुटाउनसम्म तयार भएको भन्ने रअका पूर्वप्रमुख पिके हर्मिसको लेखमा उल्लेख गरेको' लगायत कैयौं प्रसङ्ग र विषय समावेश छन् ।
    उता एमाओवादीले नेकपा-माओवादीबारे आफ्नो बुझाइ, 'किरण पक्ष नेपालमा जडसूत्रीय संशोधवाद र वाम विसर्जनवादको नयाँ संस्करणबाहेक अरु नभएको तथ्य नै पुष्टि भइरहेको छ । अवसरवादको प्रतिक्रियावादसँग अनगिन्ती सम्बन्ध हुने साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशेषताअनुसार नै किरण पक्षको प्रतिक्रियावादी तत्त्वहरूसँग बढ्दो साँठगाँठ स्पष्ट देख्न सकिन्छ ।' 'किरण पक्षले माथिदेखि प्रचण्ड र बाबुरामलाई सत्तोसराप गरिसकेपछि अन्तिममा के गर्ने भन्नेमा जाँदा सरकारका लागि गोलमेच गर्ने, नेपाली कांग्रेस र एमालेमा अति एकात्मक सामन्ती राज्यका चरम पक्षपाती नेताहरूसँग साँठगाँठ गर्ने र राष्ट्रपतिसँग याचना गर्ने' आदि... ।
    यद्यपि नेपालका अरु कम्युनिस्टजस्तै माओवादीहरू पनि प्रतिवेदनमा लेखिएका विषय आफ्नानिम्ति होइन भन्ने ठान्छन्, जे लेख्छन्, त्यो नगर्नेगरी लेख्छन् र जे गर्छन्, त्यो प्रतिवेदनमा लेख्नै नमिल्ने खालको काम गर्छन् । यस अर्थमा ती प्रतिवेदनले एकतालाई नछेक्ला, तर इतिहास साक्षी छ । २०५४ सालमा एमाले फुटेपछि खुल्लामञ्चबाट मालेका नेता वामदेव गौतमलाई एमालेले 'एक नम्बरको भ्रष्टाचारी' घोषणा गरेको र मालेले एमालेलाई 'घोर राष्ट्रघाती' भन्दै पानी बाराबार गरेको दुई वर्षपछि नै पुनः एकता सम्भव भएको इतिहास जस्तै-जस्तै ।
    एकता सैद्धान्तिक र उद्देश्यमा आधारित हुनुपर्छ । असैद्धान्तिक र उद्देश्य किटानी नभएको एकताको न अर्थ हुन्छ, नत टिकाउ नै । दुई माओवादीको एकताको सैद्धान्तिक आधार माओवाद मान्ने, पुँजीवादी जनवादी क्रान्ति पूरा नभएको स्वीकार्दै यसलाई विद्रोहमार्फत पुरा गर्ने बनाइनुपर्छ । यो सैद्धान्तिक आधारमा फेरि एकपटक दुवै पार्टी पालुङटार र्फकनुपर्छ, जहाँ 'एकता, रूपान्तरण र विद्रोहको विकल्प छैन' भन्ने संश्लेषण भएको थियो । एकताको अर्को सैद्धान्तिक आधार लाइन र नेतृत्वलाई बनाउनुपर्छ । खरिपाटी र पालुङटारपछि पार्टी लाइन विद्रोहको बनेकोे तर नेतृत्व विद्रोह नचाहने वा विरोधी हुने अन्तरविरोधी विषय थियो । एमाओवादीले बनाएको माथिबाट तल क्रान्ति असफल भएको र शान्ति र संविधानको बाटो पनि टुङ्गिएको सन्दर्भमा विद्रोहमार्फत पुँजीवादी जनवादी क्रान्ति पुरा गर्ने लाइनसँगै यसैको नेतृत्वमा पार्टी एकता हुने हो । एउटा उत्कर्षमा पुगेर झरेको नेताकै नेतृत्वमा अब न पार्टी एकता सम्भव हुन्छ, नत क्रान्ति नै ।
    तेस्रो प्रश्न रणनीति र कार्यदिशाको स्पष्टता हो । नेकपा-माओवादीको रणनीति जनवाद एवं एमाओवादीको समाजवाद रहँदासम्म एकता सम्भव नै हुँदैन । एकता सम्भव बनाउनका निम्ति अंशगत रूपमा पुँजीवादी क्रान्ति सम्पन्न भए पनि मूलरूपमा बाँकी रहेको बुझाइमा दुबै पार्टी आउनुपर्छ । पुँजीवादी क्रान्ति मूलरूपमा पुरा भएको भन्नुको अर्थ राज्यको नेतृत्व राष्ट्रिय पुँजीपतिसहितको सर्वहारा वर्गको हातमा आएको हुनुपर्छ, कित पुँजीपति वर्गको नेतृत्वमा हुनुपर्छ । आजको हाम्रो राज्यको नेतृत्व सामन्तवादी तथा दलाल पुँजीपति वर्गको हातमा गएको छ भने कसरी राजनीतिक हिसाबले पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्न सकिन्छ र ? पुँजीवादी क्रान्ति पुरा भयो भन्ने निष्कर्षले त एकता बन्दै बन्दैन, तर बहसका निम्ति भने खुला हुन सक्नुपर्छ ।
    एकताको मुख्य पक्ष फेरि पनि नियतकै हो । नियत सफा हुने हो भने एकता निकट देखिन्छ । कम्युनिस्ट मूल्य र आदर्शका पर्याय बनेका किरणले कम्युनिस्ट आदर्शलाई एकतामार्फत नयाँ उचाइ प्रदान गर्ने आँट गर्नैपर्छ । जनयुद्ध कालमा माओवादी विरुद्ध पुरानो राज्यले गरेका सबै कारबाही कानुनी तर नयाँ सत्ताले गरेका काम सबै गैरकानुनी भन्ने विषयको निणर्ायक प्रतिरोधका निम्ति पनि जनयुद्धको मुख्य नेतृत्व प्रचण्डले विगतको कमजोरीको समीक्षासहित एकतामा भविष्य देख्न सक्नुपर्छ । यस अर्थमा दुई माओवादी बीचको एकता आवश्यकता र सम्भावनाको हिसाबले मूर्त हुनसक्छ ।
      
     http://www.ekantipur.com/np/2070/12/3

    Thursday, March 13, 2014

    खाँचो नयाँ शक्तिको - बाबुराम भट्टराई



    खाँचो नयाँ शक्तिको


    पहिलो संविधानसभा राजनीतिक शक्तिहरूबीचको वैचारकि द्वन्द्वका कारण विफल भयो। जनतासामु गएर प्रतिस्पर्धा गर्नु र जनादेश लिएर संविधान बनाउनु संविधानसभाको मूल ध्येय हो। संविधान बनाउने भनेको मूल कानुन वा राज्यको चरत्रि निर्माण गर्ने पनि हो। समाजमा विद्यमान विभिन्न शक्ति र वर्गको अधिकार बाँडफाँट गर्ने पनि हो। तर, यस महत्त्वपूर्ण कार्यमा ती शक्तिबीच समन्वय हुनै सकेन। किन त ? यो प्रश्नमा घोत्लिनु अहिले सान्दर्भिक नै हुन्छ।

    यस्ता विषयमा घोत्लिँदा मुख्य रूपमा विश्व दृष्टिकोणका कुरा आउँछन्। कुन दृष्टिकोणबाट हामीले संसारलाई हेर्छौं भन्ने। यसका फरक-फरक निष्कर्ष वा व्याख्या हुन सक्छन्। तर, मोटामोटी रूपमा दुइटा व्याख्या र बहस हुनेछन्। एउटा नवउदारवादी चिन्तन, जसले व्यक्ति र निजत्वलाई प्रधान मान्छ। अर्को माक्र्सवादी वा समाजवादी दृष्टिकोण, जसले सामूहिकता वा समाजलाई प्रधान मान्छ र व्यक्तिलाई सहायक। यी दुई दृष्टिकोणबीच राजनीति, समाजशास्त्र, अर्थशास्त्र, संस्कृति, सौन्दर्यशास्त्र सबै क्षेत्रमा बहस र प्रतिस्पर्धा पनि छ। पहिलो संविधानसभा विफलतामा टुंगिनुको मूल कारण यिनै दुई दृष्टिकोणको द्वन्द्व थियो। दुइटैले दुईतिर तान्न खोज्दा संविधान बनेन।

    अहिले पनि राष्ट्रिय हित र ऐतिहासिक आवश्यकतालाई पहिचान गर्न नसकेर पार्टी-पार्टीका आ-आफ्ना संकीर्ण सोच, व्यक्ति-व्यक्तिका महत्त्वाकांक्षा र अहम्हरू टकराएर मुलुक नै दिशाहीन अवस्थामा पुग्न लागेको छ। त्यसैले पहिले हामीले राजनीतिक विचारलाई नै नयाँ ढंगले विकास गर्नु आवश्यक छ। त्यसका निम्ति वैचारकि र दार्शनिक ढंगले नवउदारवादी र समाजवादी दुइटै विचारको बीचबाट अहिलेको आवश्यकता सुहाउँदो विचारको निर्माण गरेर अगाडि बढ्नुपर्छ।

    अपूर्ण विचारहरू

    नवउदारवादी दृष्टिकोणले समग्र विश्व र हाम्रो समाजलाई पूर्ण रूपमा बुझ्न सक्दैन। त्यसले समस्या हल गर्न पनि सक्दैन। त्यसका आफ्नै सीमा छन् र सकारात्मक पक्ष पनि। दुई-तीन सय वर्षदेखि यो विचारले विश्वमा जबरजस्त प्रभाव पार्दै आएको छ। यसले व्यक्तिको निजत्वको महत्त्व र प्रभावलाई स्थापित गरेको छ।

    निजत्वलाई भन्दा सामाजिकतालाई प्रधानता दिने अर्को माक्र्सवादी दृष्टिकोण छ, जसले २०औँ शताब्दीमा ठूलो उथलपुथल ल्यायो। कतिपय समाजवादी व्यवस्थाको प्रयोग गर्न पनि खोज्यो। तर, त्यसले व्यक्तिको निजत्वलाई समेट्न सकेन। मान्छेका कतिपय सार्वभौम, प्राकृतिक, स्वभावजन्य गुण हुन्छन्। चरत्रि र विविधता हुन्छन्। तिनलाई समेट्न सकेन। अमूर्त सामाजिकताको कुरा मात्रै गर्‍यो। अमूर्त ढंगले सबैलाई सोलोडोलो एउटै बनाउन खोज्यो। त्यसैले २०औँ शताब्दीको समाजवादी प्रयोग सफलतामा पुग्न सकेन।

    अर्कोपट्टि, निजत्वलाई नै सबथोक भन्ने, समग्र समाजको हितलाई भन्दा व्यक्तिको स्वार्थ/लोभजन्य प्रवृत्तिलाई मात्रै प्रधानता दिने कुराले समाजमा भयंकर द्वन्द्व पैदा गर्‍यो। असमानता र विभेदले पैदा हुने द्वन्द्वहरूको व्यवस्थापन पनि गर्न सकेन। ठूला विश्वयुद्ध भए।

    अब नयाँ राजनीतिक विमर्श गर्दा यी दुईथरी दृष्टिकोणभित्र रहेका कमीकमजोरीलाई बुझ्नु र तिनका सकारात्मक पक्षहरूलाई समेट्नु आवश्यक छ। खासमा यी दुई विपरीत विचार होइनन्, जसरी रूख र जंगल अलग होइनन्। कसैले रूख मात्रै देख्ने, जंगल नदेख्ने, कसैले जंगल मात्रै देख्ने, रूख नदेख्ने। यो प्रवृत्ति नवउदारवादी र समाजवादी दृष्टिकोण राख्नेहरूका बीचमा रह्यो। त्यसैले बिलकुल विपरीत विचारहरूको समन्वय नभएर यी दुवैको अपूर्णतालाई अन्त्य गरी नयाँ विचारको विकास गर्नुपर्छ।

    यसलाई ऐतिहासिक विकासको सन्दर्भसँग जोडेर पनि हेर्नुपर्छ। किनभने, समाज विकासको चरण अनुसार विचारको पनि विकास हुन्छ। जस्तो, युरोप र अमेरिका पुँजीवादी युग वा आधुनिक औद्योगिकीकरणको युगको उच्च तहमा पुगिसके। उनीहरू निजत्वमा बढी जोड दिएर अगाडि बढिरहेका छन्। तर, त्यहाँ पनि उत्पादनको प्रकृति र आधुनिक प्रविधिको प्रयोगले सामूहिकता जन्माइरहेछ। उत्पादन ठूलो परिमाणमा हुँदै जाँदा व्यक्तिले मात्रै त्यसलाई सम्हाल्न सक्दैन। त्यसमा सामूहिकता जरुरी हुन्छ। यसलाई अनुभूत गरेर नवउदारवादी वा उदारवादी अर्थतन्त्रात्मक राज्यव्यवस्थामा समाजवादी व्यवस्थाका कतिपय अवयवलाई समावेश गर्न थालिएको छ। खास गरी स्क्यान्डेभियन मुलुकहरू समाजवादतिर उन्मुख भएका छन्।

    अर्कोतिर, पुँजीवादको माथिल्लो चरणमा नपुगेका र निकै पिछडिएका चीन, कोरयिा, भियतनामलगायत एसिया र ल्याटिन अमेरिकाका देशहरूमा समाजवादको प्रयोग गर्न खोजियो। पुँजीवादकै आधार नभएको, विज्ञान प्रविधिको विकास नभएको अवस्थामा एकैचोटि उन्नत समाजवाद स्थापना गर्न खोज्दा त्यो असाध्यै यान्त्रिक र भद्दा खालको भयो। त्यसले विकृत, असाध्यै केन्द्रीकृत, नोकरशाही, निरंकुश र ढोका बन्दवादी प्रकारको समाज सिर्जना गर्न खोज्यो। यो प्रयोग सफल भएन।

    पुँजीवादी युगमा प्रवेश

    ००७ सालदेखि ०७० सालसम्म हामीले सामन्ती राज्यव्यवस्था, निरंकुश राजतन्त्रात्मक व्यवस्था र एकात्मक राज्यव्यवस्थाका विरुद्धमा संघर्ष गर्दै आयौँ। चाहे ००७ सालदेखि नेपाली कांग्रेसले सुरु गरेको संघर्ष होस् वा ०५० को दशकसम्म वामपन्थी शक्ति बढेर उनीहरूले प्रभाव जमाएका बेला। चाहे ०५२ सालपछि माओवादीको नेतृत्वमा चलेको सशस्त्र जनयुद्ध होस् वा मधेसी र जनजातिका क्षेत्रीय र जातीय संघर्ष। यी सबैको योगफलस्वरूप सामन्तवादको अन्त्य गरेर पुँजीवादी क्रान्ति मूलतः सम्पन्न गर्‍यौँ। पुरानो सामन्ती युगको अन्त्य गरेर अब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेका छौँ।

    हुन त हामी माओवादीकै नेतृत्वमा यो ऐतिहासिक परविर्तन सम्भव भयो। तर, संविधानसभाको दोस्रो निर्वाचनमा निकै खस्किन पुग्यौँ। त्यसैले यो कस्तो खालको क्रान्ति हो भन्ने पनि पर्न सक्छ। तर, रुसको फेब्रुअरी पुँजीवादी क्रान्ति पनि लेनिन वा बोल्सेभिकहरूको नेतृत्वमा भएको थिएन। इतिहासमा देखिन्छ, कसैले चाहेर मात्रै सबै कुरा हुँदैन। ऐतिहासिक वस्तुगत प्रक्रिया र हामी सबैको आत्मगत प्रयत्नको योगफलस्वरूप नेपालमा पुँजीवादी क्रान्ति मूलतः सम्पन्न भइसकेको छ। केही काम मात्र बाँकी छन्। जस्तो ः राज्यको माथिल्लो संरचनामा पुँजीवादी रूपान्तरण भए पनि आर्थिक आधारहरूको जगमा अहिले पनि पुँजीवादपूर्वका सामन्तवादी अवशेष छन्। कतिपय भूमि सम्बन्ध, आर्थिक विकासको मन्द अवस्था, सांस्कृतिक रूपमा लैंगिक र जातिगत विभेद आदि सामन्तवादी अवशेष हुन्।

    राज्यको माथिल्लो संरचना पुँजीवादीकरण भइसकेपछि पुँजीवादको आधारलाई विस्तारति गरेर आर्थिक र सामाजिक रूपमा यसलाई फराकिलो बनाउनुपर्छ। यसरी तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको विकासलाई जोड दिनुपर्छ। अन्ततः परिमार्जित समाजवादतिर जाने रणनीति अपनाउनुपर्छ। यही कुरामा प्रस्ट नहुँदा धेरै नीतिगत विचलन आउन सक्छन्। हामी माओवादीले पछिल्लो चरणमा पुरानो सामन्तवादी राज्यसत्तालाई धक्का दियौँ। त्यसले पुँजीवादी क्रान्तिलाई सापेक्ष पूर्णतामा पुर्‍याउन मद्दत गर्‍यो। विडम्बना, हाम्रै नेतृत्वमा क्रान्ति पूरा भएर पनि नयाँ संविधान निर्माण गरी अगाडि बढ्ने जुन अवसर थियो, त्यो हामीले गुमायौँ।

    अनुभवको कमी र विभिन्न प्रतिगामी शक्तिहरूको चलखेलका कारण हामीले पहिलो संविधानसभाबाट आफ्नै नेतृत्वमा संविधान निर्माण गर्न सकेनौँ। तर, पुँजीवादी क्रान्तिका मूलभूत मुद्दाहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आदि मुलुकमा यसरी स्थापित भए, त्यसबाट त कोही पनि पछाडि हट्न सक्दैन। कोइलीले कागको गुँडमा फुल पार्छ। कागले कोरल्छ। बचेरा हुर्काउँछ। बचेरा ठूला भएपछि कोइली भएर भुर्र उड्छन्। हामीले पनि पुँजीवादी क्रान्तिका भु्रणका रूपमा यी उपलब्धि निर्माण गर्‍यौँ। तर, यसलाई संस्थागत गर्ने जिम्मा पुराना संसदीय दललाई दिएका छौँ। उनीहरूको गुँडमा गणतन्त्र र संघीयताको फुल पारेर छोडिदिएका छौँ। र, उनीहरूले नचाहेर पनि कोइलीरूपी त्यो संघीय लोकतान्त्रिक गणतन्त्रको बच्चा हुर्कन्छ। त्यस अर्थमा पुँजीवादी क्रान्ति सम्पन्न भयो भनेर हामीले बुझ्नुपर्छ।

    अब हामीले केमा ध्यान दिने त ? यो पुँजीवाद पुरानो ढर्राको शास्त्रीय पुँजीवाद होइन। शास्त्रीय पुँजीवाद युरोप, अमेरिकामा थियो, जतिखेर उनीहरूको विदेशमा ठूलो उपनिवेश थियो। त्यहाँबाट उनीहरूले धेरै प्राकृतिक साधन, स्रोत र श्रम भित्र्याउँथे। आफ्नो उपनिवेशमै लगेर उत्पादन बेच्थे। त्यसबाट प्राप्त मुनाफाबाट एक ढंगको पुँजीवादको विकास गरेका थिए। तर, त्यस ढाँचाको पुँजीवादको विकास गर्ने सुविधा हामीलाई छैन। हामी आफैँ कमजोर छौँ, अर्काको दबाबमा छौँ। त्यसैले हाम्रै विशेषतासहितको पुँजीवादलाई कसरी समृद्ध पार्ने, राष्ट्रिय औद्योगिक पुँजीवादको विकास कसरी गर्ने भन्नेतिर ध्यान दिनुपर्छ। यहीँनेर एउटा मौलिक बाटो खोज्नु आवश्यक छ।

    निर्माणको आन्दोलन

    दोस्रो संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालको इतिहासको यो विकासक्रमलाई बुझ्न जरुरी छ। ००७ सालयताको संघर्ष पुरानो सामन्ती संरचना भत्काउने आन्दोलन थियो। त्यसैले त्यो विद्रोहात्मक र हिंसात्मक पनि थियो। अब पुरानो भत्काउने चरण करबि करबि पूरा भयो र नयाँ निर्माण गर्ने चरणमा हामी प्रवेश गरेका छौँ। अब नयाँ विचारलाई एउटा नयाँ उचाइबाट प्रस्तुत गर्नुपर्छ। राजनीतिक नेतृत्व भनेको समाजलाई विचार दिने र डोर्‍याउने पनि हो। समाजले नयाँ विचारको माग गर्छ र त्यो विचार अनुसारको संगठित शक्ति पनि। संगठित शक्तिबिना राजनीतिक प्रक्रियालाई अगाडि बढाउन सकिँदैन। पार्टीहरूको भूमिका त्यहाँनेर रहन्छ। त्यस कारण अब नयाँ ढंगको पार्टी निर्माणको प्रसंग पनि आउँछ।

    नयाँ शक्ति निर्माण गर्दा नयाँ ढंगको नेतृत्व पनि चाहिन्छ। गतिशील समाजको आवश्यकतालाई पूर्ति गर्ने गतिशील नेतृत्व। त्यस हिसाबले के देखिँदै छ भने नेपालमा नयाँ ढंगको विचारको प्रवाह सँगसँगै नयाँ नेतृत्व र नयाँ खालको आन्दोलनको चरणमा हामी प्रवेश गर्दै छौँ। र, त्यसले समग्र नयाँ धु्रवीकरणको माग गरेको छ। यसैलाई केन्द्रमा राखेर अबको एउटा राष्ट्रिय बहस अगाडि बढ्नुपर्छ। त्यसका निम्ति संविधानसभा बहसको थलो हुन सक्छ। सडकबाट गर्ने काम त हिजो पनि गरिएको छ र भोलि पनि गर्नुपर्छ। संविधानसभालाई बल पुग्ने गरी विभिन्न वर्ग, समूह, क्षेत्रका आन्दोलन र आवाजहरू अहिले पनि मुखरति हुन्छन्, चाहे पनि नचाहे पनि। जनप्रतिनिधिमूलक थलो हामीलाई प्राप्त छ भने त्यहीँबाट बहस अगाडि बढाउन सक्नुपर्छ।

    नयाँ शक्ति : कस्तो ?

    नयाँ शक्ति निर्माणपहिले विचारमा एकरूपता आवश्यक छ। एकपटक हामीकहाँ विद्यमान राजनीतिक शक्तिलाई हेरौँ। पुरानो संसद्वादी पार्टी नेपाली कांग्रेसले ००७ सालेदेखि नै पुँजीवादी नीतिको अगुवाइ गर्दै आयो, नवउदारवादी विचारको पक्षपोषण गर्दै। उसले प्रजातान्त्रिक समाजवादका कुरा पनि नगर्ने होइन। तर, बीपी कोइरालाले जुन ढंगले प्रारम्भिक अवस्थामा '५० र '६० को दशकमा वैचारकि राजनीतिक आधार कांग्रेसलाई दिए, त्यसपछिका नेताहरूले त्यसलाई गति दिन सकेनन्। समाजको गति अनुसार विचार पनि परविर्तनशील र गतिशील हुनुपथ्र्यो, भएन।

    यता वामपन्थी कित्तामा वैचारकि रूपमा ठूलो बहस छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रुस र चीनको बाटोको विषयमा पनि बहस भए। ००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी यस्तै बहसले टुटफुट भयो। ०४६ सालको आन्दोलनपछि एउटा एमालेको धार र अर्को माओवादी धारमा पुग्यो, कम्युनिस्ट आन्दोलन। अरू सानातिना शक्ति पनि छन्। तर, यहाँनिर वैचारकि संकट छ। एउटा धारले पुरानो माक्र्सवादी-लेनिनवादी विश्व दृष्टिकोणलाई नै परित्याग गरेर विचारविहीन हुन खोजेको छ। अर्कोचाहिँ एकदमै यान्त्रिक रूपमा त्यसलाई पक्रन खोजेको तर समयानुकूल विकास र परिमार्जन गरेर अघि बढ्न नसकेको वैचारकि अस्पष्टताको विन्दुमा छ।

    यी दुइटै विचारका सकारात्मक पक्षहरूलाई ग्रहण गर्दै नयाँ समुन्नत विचार र त्यसका आधारमा नयाँ शक्तिको निर्माण आजको ऐतिहासिक आवश्यकता हो। पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धिलाई संस्थागत गरेर आर्थिक र सामाजिक क्रान्ति गर्दै विकसित समाजवादतिर अगाडि बढ्न नयाँ शक्तिको निर्माण र त्यसको जन्म यतिखेरको आवश्यकता हो। तर, त्यो पनि सधैँ स्थिर त हुँदैन। समय-समयमा परिमार्जन र विकास गर्नैपर्छ। केही दशकपछि अर्को विचार र शक्ति निर्माण गरेर जानुपर्ने हुन सक्छ।

    कसको नेतृत्व ?

    मान्छेहरू व्यक्ति हेर्छन्। नयाँ शक्तिको निर्माण कसले गर्छ, कसको वरपिरि त्यो बन्छ भन्न थाल्छन्। तर, यो मुख्य कुरा होइन। इतिहासको आवश्यकता के हो भन्ने कुरा प्रमुख हो। समाज र इतिहासको विकासले के आवश्यकता महसुस गर्छ र कसलाई उपयुक्त ठहर्‍याउँछ भन्ने हो। इतिहासको माग र आवश्यकता पूरा गर्ने क्षमता कससँग छ भन्ने आधारले व्यक्ति अगाडि आउने हो। युरोपमा भन्ने गरिन्छ, जतिबेला सामन्तवादको पूरै अन्त्य र पुँजीवादको विकास गरेर औद्योगिक क्रान्ति आवश्यक भएको थियो, त्यसका निम्ति पूरै राजतन्त्रात्मक सामन्तवादलाई नष्ट गर्नुपर्ने थियो। त्यतिबेला नेपोलियनजस्ता बलिया शासकको माग भएको थियो, पुँजीवादी क्रान्ति नै गर्नका निम्ति। जसरी नेपोलियनको युद्धले युरोपको पूरै राजतन्त्रलाई बढारिदियो र औद्योगिक क्रान्तिको आधार तयार पारिदियो, त्यो ऐतिहासिक आवश्यकता थियो। त्यतिबेला ती नेपोलियन नजन्मिएका भए अर्को कुनै नाममा नेपोलियन जन्मिन्थे।

    नेपालमा पनि १८औँ शताब्दीमा बाइसे-चौबीसे भुरे-टाकुरे राज्यहरू थिए। त्यसले भौगोलिक एकीकरणको माग गरेको थियो। त्यो नगरेको भए यो हिमाली भूखण्ड पूरै अंग्रेज उपनिवेशमा मिसिने खतरा थियो। यसलाई एकीकृत गरेर स्वतन्त्र कायम राख्न ऐतिहासिक पात्र चाहिएको थियो, ती पृथ्वीनारायण शाहको रूपमा पैदा भइदिए। इतिहासको आवश्यकताले जुन गुण माग गरेको थियो, त्यो गुण पृथ्वीनारायण भन्ने व्यक्तिमा देखा पर्‍यो र उनले त्यो

    पूरा गरे।

    अहिले पनि ६० वर्षभन्दा अघिदेखिका आन्दोलनहरूलाई नयाँ उचाइमा पुर्‍याएर पुँजीवादी क्रान्तिलाई पूर्णता दिँदै पुँजीवादको विकास र समाजवादतिर जाने नयाँ युगमा हामी प्रवेश गरसिकेका छौँ। अब मुख्य रूपमा आर्थिक विकास र समृद्धिका एजेन्डालाई केन्द्रमा राखेर तीव्र उत्पादन र उत्पादकत्व वृद्धिका साथ नेपाली समाजलाई आधुनिक युगमा लिएर जाने आवश्यकता छ। त्यसलाई पूर्ति गर्ने पात्र को हुन सक्छ ? यो त आमजनताले नै सामूहिक रूपमा फैसला गर्ने हो। तर, त्यसको नेतृत्व सामूहिक रूपमा कसले गर्छ भन्ने कुराको खोजी भइरहेको छ। हामीमध्येका पात्रहरूबाट पनि हुन सक्छ। नयाँ आउन पनि सक्छन्। इतिहासले त्यसको खोजी गर्छ। अब आवश्यकता र आकस्मिकताको योगफलस्वरूप नेतृत्व जन्मिन्छ।

    नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियाबाट हुन सक्छ। पहिलो, यिनै पार्टीहरूले आवश्यकताबोध गरेर आफूलाई रूपान्तरण गर्ने। नयाँ परििस्थति सिर्जना भइरहेको छ भने पुरानो विचार, पुरानै पार्टी र पुरानै नेतृत्वबाट यो सम्भव हुँदैन। अर्को बाटो, सबै पार्टीभित्रबाट यो विचारलाई आत्मसात् गर्नेहरू मिलेर नयाँ ध्रुवीकरण हुन पनि सक्छ। अथवा, यो सबै प्रक्रियाभन्दा फरक ढंगले नयाँ नेतृत्व जन्मिन पनि सक्छ।

    नेतृत्व भनेको पाको वा कपाल फुलेकै हुनुपर्छ भन्ने पनि होइन। परविर्तन गर्ने विश्वका नेताहरू प्नि ४० वर्ष आसपासका नै छन्। त्यसरी नै हामीकहाँ पनि त्यही उमेर आसपासका नेताहरू नै आउन सक्छन्। अथवा, पुरानै मध्येबाट कसैले युगको आवाज सुनेर आफूलाई रूपान्तरण गर्न पनि सक्छन्।

    राष्ट्रियता र भूराजनीति

    हामी संविधान बनाउने चरणमा छौँ। संविधान मात्रै पनि नभनौँ, नयाँ राज्य व्यवस्था निर्माण गर्दै छौँ। यस सन्दर्भमा के के कुरामा ध्यान दिने भन्ने पनि सोच्नुपर्छ। त्यसमध्ये प्रमुख कुरा नेपाली राष्ट्रियता हो। यो असाध्यै महत्त्वपूर्ण विषय हो। जबसम्म राष्ट्रिय राज्यहरू रहन्छन्, त्यतिबेलासम्म प्रत्येक राष्ट्रिय राज्यले आफ्नो परचिय स्थापित गर्न सक्नुपर्छ। एउटा व्यक्तिले म को हुँ, किन हुँ भनेजस्तै एउटा राज्यले ऊ के हो, किन हो र कसरी हो भन्ने कुराको स्पष्ट पहिचान कायम गर्न सकेन भने त्यो राष्ट्रिय राज्यको अस्तित्व रहँदैन।

    नेपालको सन्दर्भमा हेर्दा कहिलेकाहीँ आत्मग्लानि पनि हुन्छ। गौरवशाली इतिहास बोकेको भूखण्डमा जन्मेर पनि यसको गौरवलाई यदाकदा नबुझेजस्तो अनुभूति हुन्छ (हेर्नूस्, गर्विलो इतिहास)। हामीले हाम्रो इतिहासलाई यदाकदा बिर्सेजस्तो, कायम राख्न नसकेजस्तो लाग्छ। त्यसका पछाडि मुख्य कुरा सुगौली सन्धिमा हामीले अंग्रेजसँग हारेपछिका घटनाक्रमहरू जिम्मेवार छन् (हेर्नूस्, सुगौली सन्धिले झुकाएको शिर)।

    करबि दुई सय वर्षदेखिको असमान भारत-नेपाल सम्बन्धले बलियो झन् बलियो बन्दै गयो र हामी झनै कमजोर। दुर्भाग्य के भयो भने नेपालमा १ सय ४ वर्षको राणा शासन र ००७ सालपछि पनि पञ्चायती शासनका नाममा पुरानै राजतन्त्र आदिका कारण हामी आर्थिक रूपमा सामन्तवादको युगलाई परित्याग गरेर औद्योगिक युगमा जान सकेनौँ। यसरी नेपालको राष्ट्रियता झन् कमजोर, कुण्ठित र संकुचित हुँदै गयो।

    अब नेपालको राष्ट्रियता र पहिचानलाई स्थापित गर्न इतिहासलाई स्मरण गर्दै मुलुकलाई अहिलेको युगमा साँच्चिकै स्वाधीन, समृद्ध र सबल बनाएर मात्र सार्वभौमसत्ताको रक्षा गर्न सकिन्छ। आन्तरकि रूपमा बलियो र आर्थिक रूपमा सम्पन्न नबनाएसम्म राष्ट्रियता बलियो बन्न सक्दैन। त्यसैले सबभन्दा पहिले हामीले नेपाल भन्ने परचिय स्थापित गर्नुपर्ने भएको छ (हेर्नूस्, प्रमुख पहिचान नेपाल)।

    यही क्रममा हामीले आफ्नो भू-राजनीतिक अवस्थालाई पनि ख्याल राख्न जरुरी छ। हामीकहाँ एउटा सुखद सौभाग्य कस्तो थियो भने उत्तर र दक्षिण दुवैतिर बृहत् सभ्यता थिए। उत्तरमा चिनियाँ सभ्यताको रूपमा एउटा महादेशीय आकारको देश छ र दक्षिणतिर पनि त्यही हैसियतको सभ्यता बोकेको देश। यी दुवैभन्दा हाम्रो इतिहास कुनै पनि अर्थमा सानो थिएन। यिनीहरूकै हाराहारीमा थियौँ र कतिपय अर्थमा बलियो पनि। यी दुवैको लाभ लिएर अगाडि जाने अवसरको सम्भावना हामीलाई थियो तर राजनीतिक कारणले असमान सम्बन्धमा बाधियौँ। र, उत्तरबाट अलिक बढी कट्यौँ। हाम्रो शासन व्यवस्था बढी अन्तरमुखी किसिमको रह्यो। त्यसले गर्दा विश्वमा आएका ठूला परविर्तनहरू र विज्ञान प्रविधिको विकासको फाइदाबाट पनि हामी विमुख हुन पुग्यौँ।

    अब हामी केही हदसम्म खुला परिवेशमा आयौँ। नयाँ परिवेशमा कतिपयले हाम्रो भू-राजनीतिलाई अभिशापका रूपमा हेर्छन्। पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा अंग्रेज र चिनियाँ राज्यको शक्ति देखेपछि नेपालका लागि दुई ढुंगाको तरुलको विम्ब प्रयोग गरे। दुवैसँग निहुँ नखोजी सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने भाव दिए। यसले बढी अन्तरमुखी भएर बस्नुपर्छ भन्ने सोचको विकास गर्‍यो। अब २१औँ शताब्दीमा आइपुग्दा भारत पुँजीवादको विकासतिर गयो र चीन समाजवादी र पुँजीवादी आर्थिक विकासको सम्मिश्रणमा अगाडि बढ्यो। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसक्यो भने भारत दसौँ ठूलो। केही समयपछि भारत पाचौँसम्म पुग्ने अनुमान छ।

    नेपालको राष्ट्रियताको परभिाषा पनि ढुंगाबीचको तरुल होइन, दुई ठूला देशबीचको गतिशील पुलको रूपमा विकास गर्न जरुरी छ। दुई ठूला देश र अर्थतन्त्रबीचको गतिशील सेतुका रूपमा विकास गर्न जरुरी छ। यसरी मात्रै नेपालको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा हुन्छ। र, युग सुहाउँदो समुन्नत ठाउँमा पनि पुगिन्छ। त्यसैले यस पक्षमा ठूलो राष्ट्रिय विमर्श जरुरी छ। पृथ्वीनारायण शाहयता हाम्रो राष्ट्रियतासम्बन्धी जुन 'न्यारेटिभ' हो, त्यसलाई पनि युग अनुकूल बदल्नुपर्छ।

    संघीयतामा दुई अतिवाद

    नेपाल धेरै जातीय, भाषिक र क्षेत्रीय विविधतायुक्त एउटा इन्द्रधनुषी राष्ट्रिय राज्य हो। त्यस अर्थमा नेपाल स्वयं एउटा समग्र राष्ट्रिय एकाइ हो भने त्यसभित्र पनि अन्य राष्ट्रियता (नेसनालिटी)हरू छन्। एउटा 'कम्पोजिट नेसन स्टेट'का रूपमा समग्र नेपाल एउटा विविध जाति, भाषा, भूगोल, अर्थतन्त्र र मनोविज्ञानले बनेको छ र त्यसभित्र थुप्रै राष्ट्रियताहरू छन्। ती राष्ट्रियताहरूलाई पनि उनीहरूको पहिचान र स्वायत्तताको अधिकारसहित संयोजन गरेर एकीकृत नेपालको 'नेसन स्टेट' निर्माण गर्नुपर्छ। यस सन्दर्भमा 'नेपाल'को आफ्नै मौलिक परभिाषाको आवश्यकता भने छ। यो नहुँदा यसलाई स्वतन्त्र मुलुकका रूपमा लिन त खोज्ने तर जातीय, भाषिक र क्षेत्रीय विविधतालाई स्वीकार्न नखोज्ने एउटा पुरानो प्रवृत्तिको भ्रम कायमै रहन सक्छ। भन्न त पृथ्वीनारायण शाहले 'चार वर्ण छत्तीस जातको फूलबारी' भने तर व्यावहारकि रूपमा नेपालको खस आर्य राष्ट्रको रूपमा मात्रै पहिचान कायम भयो र अरू राष्ट्रियताहरूको अस्तित्व स्वीकार नगर्ने खालको एकात्मक राष्ट्रियता निर्माण भयो।

    अर्को अतिवादी सोच पनि छ। लामो समयदेखि दमन र भेदभावको सिकार खेप्दै आएका विभिन्न भाषा, जाति, क्षेत्रका 'नेसनालिटी'हरूले आफूलाई स्वतन्त्र एकाइको रूपमा बुझ्ने र त्यसलाई स्वतन्त्र अलग-अलग राज्य पनि बन्न सक्छ भन्ने। त्यसले देशलाई फेरि विखण्डनतिर लैजाने खतरा रहन्छ।

    नेपाललाई स्वतन्त्र मुलुकका रूपमा लिन त खोज्ने तर जातीय, भाषिक र क्षेत्रीय विविधतालाई स्वीकार्न नखोज्ने पुरानो प्रवृत्ति एकातिर भयो। अर्कोतिर इन्द्रधनुषी नेपाली राष्ट्रिय राज्य र समग्र नेपालीत्वलाई नै बिर्सेर अलग अस्तित्व बनाउन खोजियो। त्यसले आशंका बढायो। जोगीदेखि भैँसी डराउने, भैँसीदेखि जोगी डराउनेजस्तो भयो। यस्तो सोचले देशलाई फेर िविखण्डनतिर लैजाने खतरा रहन्छ। यी दुवै प्रवृत्ति न वस्तुवादी छन्, न त मुलुकका निम्ति हितकर।

    संघीयतामा पहिचान र सामथ्र्य दुइटा पक्षलाई समावेश गर्ने भन्नेमा पहिल्यै सहमति भइसकेको छ। बुझाइमा मात्र भिन्नता छ। त्यसलाई पनि धेरै तन्काइराख्नु जरुरी छैन। उत्पीडित जाति/जनजातिहरूको ऐतिहासिक, भाषिक, सांस्कृतिक पहिचान र अधिकार खोसिएको भएरै संघीयतामा जाने भनिएको हो। अलग-अलग भाषा, जाति र क्षेत्र हुँदैनथ्यो भने त त्यहाँ संघीयता भन्नै पर्दैनथ्यो। संघीयता भनेको खोसिएको पहिचान र अधिकार दिने हो। विशुद्ध सांस्कृतिक पहिचानका आधारमा मात्रै राज्य बनाइयो भने व्यावहारकि बन्दैन। प्रशासनिक, आर्थिक पूर्वाधारका सम्भावनाका कुरा भएनन् भने त्यसले काम गर्दैन। सोभियत संघजस्तो अलगअलग स्वतन्त्र राज्यका रूपमा रहने अवस्थामा पनि हामी छैनौँ। त्यसरी नै नेपाल चीन वा अरू देशजस्तो एउटै भाषा, जातिको अत्यधिक बाहुल्य भएको ठाउँ पनि होइन र यहाँ एकात्मक राज्य रहनै सक्दैन। त्यस कारण नेपालको राष्ट्रियता र संघीय ढाँचा ऐतिहासिक, जातीय र क्षेत्रीय विशेषतालाई ध्यानमा राखेर परिभाषित गर्नुपर्छ।

    अर्कोतर्फ, हामी दुई ठूला सभ्यतायुक्त भीमकाय मुलुकको बीचमा छौँ। त्यसको ख्याल नगरी संघीय राज्य निर्माणमा गयौँ भने हाम्रो स्वाधीनता र राष्ट्रिय अखण्डतामा पनि असर पर्न सक्छ। संघीयता भन्नेबित्तिकै केन्द्रीय अधिकार संघीय राज्यहरूलाई दिने हो। भूराजनीतिक सन्तुलन मिलाउन सकिएन भने सिमानामा जोडिएका प्रदेशमा बाह्य शक्तिले चलखेल गर्न सक्छन्। त्यसले मुलुकलाई कमजोर र विखण्डनमा पारिदिने खतरा रहन्छ। त्यसैले राष्ट्रिय एकता र सार्वभौमसत्तालाई कायम राख्ने गरी अधिकारको विनियोजन गरिनुपर्छ।

    नेपालीत्वको पहिचान विश्वमा कुनै राष्ट्रको भन्दा कम ओजपूर्ण छैन। इतिहास अरू कसैको भन्दा कम समृद्ध छैन। संस्कृति, सभ्यता, विचार र सम्पदामा हामी कसैभन्दा कम छैनौँ। कमी भनेको खालि उचित राज्यप्रणाली, नीति र नेतृत्वको हो। त्यसैले नयाँ राजनीतिक शक्ति राष्ट्रियताको मजबुत जगमा उभिनुपर्छ। नेपाली राष्ट्रिय हितमा उभिएको, राष्ट्रियता र इतिहासको आवश्यकताको पूर्ति गर्न सक्ने शक्तिका रूपमा त्यसको उदय हुनुपर्छ।

    राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र

    राष्ट्रियता र जनतन्त्रका दुइटा अभिन्न पाटाको सन्तुलन मिलाउन नसक्नु नेपाली राजनीतिक शक्तिहरूको ठूलो कमजोरी हो। हिजोका राजतन्त्रवादीले राष्ट्रियताको कुरा गर्दा लोकतन्त्रको कुरा बिर्सने र लोकतन्त्रको कुरा गर्नेले राष्ट्रियताको कुरा बिर्सेजस्तो हुने गरेको छ। लोकतन्त्र र राष्ट्रियता फरक कुरा होइनन् र हुनै सक्दैनन्। राष्ट्रियताभित्रै लोकतन्त्र र लोकतन्त्रको जगमा राष्ट्रियता हुन्छ। तर, यसमा गम्भीर बहस र विमर्श पुगेको छैन। यसैमा बाह्य शक्तिले चलखेल गरिदिने र हाम्रा पार्टीहरूको बुझाइमा एकरूपता नआउने कारणले पनि हामी रक्षात्मक हुने गरेका छौँ। आफ्नै अनुभवका आधारमा पनि भन्नैपर्छ, नेपाली राष्ट्रियता नेपाली इतिहासमा सुगौली सन्धियताकै निरन्तरतामा छ तर पनि यो बलियो भएर आउन सक्नुपथ्र्यो, सकिरहेको छैन। अब हामीले राष्ट्रियताको जगमा टेकेर नै नेपाललाई समृद्ध बनाएर लैजानुपर्छ। त्यसरी नै गणतन्त्र सबै जाति, भाषा र क्षेत्रको समान अधिकार भएको प्रणाली हो। अतः गणतन्त्र र राष्ट्रियतालाई एउटै सिक्काका दुई पाटाको रूपमा ग्रहण गर्नुपर्छ।

    लोकतन्त्र सबैभन्दा उन्नत र उपयुक्त अवधारणा हो भन्ने आमधारणा छ। तर, अमूर्त 'लोकतन्त्र' भनेर मात्र पुग्दैन। त्यसको ठोस र विशिष्ट रूप पनि हुन्छ, जसलाई आफ्नो विशिष्ट प्रकृति र ऐतिहासिक विकासको चरण अनुसार ठम्याउन सक्नुपर्छ। नेपालको सन्दर्भमा नवउदारवादी लोकतन्त्रका कतिपय पक्षलाई हामीले अँगाल्नैपर्छ। जस्तो कि, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, प्रेस स्वतन्त्रता, मानवअधिकार, आवधिक निर्वाचन, विधिको शासनलगायत लोकतन्त्रका सार्वभौम पक्ष। त्यसभित्रको विशिष्ट पक्षलाई पनि हामीले हेर्नुपर्छ, जहाँ वर्गीय, जातीय, क्षेत्रीय, लंैगिक विविधता समेट्ने गरी समावेशी-समानुपातिक प्रकारको लोकतन्त्रको ढाँचा विकास गर्न सक्नुपर्छ। अमूर्त राजनीतिक प्रतिस्पर्धा मात्रै भयो भने हिजो विभेदमा परेका विपन्न समूहको राज्यसत्तामा सहभागिता हुनै सक्दैन। उनीहरूको स्वामित्व र अपनत्व रहँदैन।

    युरोप र अमेरिकामा पुँजीवादी लोकतन्त्रको अभ्यास गरियो। खास गरी यो प्रतिनिधिमूलक लोकतन्त्र हो, त्यसमा जनताका प्रतिनिधि पार्टीहरू र पार्टीको प्रतिनिधि नेताहरू हुन पुगे। व्यवहारमा जनताको अधिकार पार्टीले लिने र पार्टीको अख्तियारी केही नेताहरूले लिने भए। जनताको वास्तविक सहभागिता राज्य सञ्चालनमा हुन सकेन। लोकतन्त्र भनेको त लोकको शासन हो। जनताले आफ्नो शासन आफँै चलाउने प्रणाली हो। तर, प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासमा जनताको प्रत्यक्ष सहभागिताको कडी टुट्यो। त्यस कारण जनताको प्रत्यक्ष सहभागिता हुने विधि पनि सुरक्षित गर्नुपर्छ। र, त्यसका उपाय निर्वाचन प्रणालीमा सुधार, समानुपातिक प्रतिनिधित्व, छिटोछिटो निर्वाचन, पार्टीभित्रै पदाधिकारीहरूको निर्वाचन, प्रत्याह्वानको व्यवस्था, जनलोकपालको व्यवस्थालगायत हुन सक्छन्।

    हाम्रा अधिकांश पार्टीहरू लोकतान्त्रिक छैनन्। नाम मात्रका लोकतान्त्रिक छन्। पार्टीमा सीमित नेताको एकाधिकार छ। उनीहरू लामो कालसम्म नेतृत्वमा रहन्छन्। उनीहरू त्यो अख्तियारी जनताबाट लिएको हो भन्ने बिर्सेर जन्मजात दैवी शक्तिबाट प्राप्त गरेजस्तो ठान्छन्। पुरानै राजतन्त्रात्मक शैलीले व्यवहार गर्छन्। त्यसले सहभागितामूलक लोकतन्त्रको पक्ष कमजोर बनाउँछ। त्यसैले यसलाई सुधार गर्न र पार्टीको लोकतन्त्रीकरणलाई पनि संविधान निर्माण गर्ने बेलादेखि नै ध्यान दिएर जानुपर्छ। निश्चित व्यक्तिहरूले मात्रै पार्टीमा हालीमुहाली गर्ने र पार्टीहरूले जनताको नाउँमा जनताको हितविपरीत काम गर्ने परिपाटीलाई बदल्नुपर्छ।

    नयाँ शक्ति, नयाँ कार्यभार

    राजनीतिक रूपमा पुँजीवादी क्रान्ति सम्पन्न गरे पनि आर्थिक रूपमा पुँजीवादका आधारहरू निकै कमजोर छन्। समाजलाई अझै समतामूलक र समृद्ध बनाउन तीव्र आर्थिक वृद्धि र न्यायपूर्ण वितरण प्रणालीसहितको विकास नीति अपनाउनुपर्छ। त्यसैले अब आर्थिक विकास नै मुख्य राजनीतिक एजेन्डा हुन्छ। अबको राजनीतिक एजेन्डा विकासमुखी र अर्थमुखी नबनाई सुखै छैन। त्यसो गर्न सकिएन भने लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन। त्यसैले नयाँ शक्तिको मुख्य कार्यभार आर्थिक समृद्धि नै हुनुपर्छ, हुन्छ।

    अब पराश्रयीपनको अन्त्य गरेर मुलुकलाई बढी आत्मनिर्भर बनाउने, उत्पादन तथा उत्पादकत्वको वृद्धि गर्ने र राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने नै हाम्रो मूल आर्थिक विकास नीति हुनुपर्छ। साथै, बेरोजगारीको अन्त्य गर्ने र शिक्षा, स्वास्थ्य, आवास तथा सामाजिक सुरक्षाको पर्याप्त प्रत्याभूति गर्ने नीति लिनुपर्छ। तीव्र औद्योगिक विकासका लागि ठूलो लगानी चाहिन्छ। एकैचोटि आन्तरकि लगानीले पुग्दैन। तत्काल विदेशबाट लिने लगानीलाई ठीक ढंगबाट परचिालन गर्ने नीतिमा विशेष ध्यान दिन जरुरी छ। ठूला पूर्वाधार, ऊर्जा परियोजना, ठूला उद्योगधन्दा नभई देश बन्दैन। परम्परागत कृषि, पर्यटनजस्ता कुराहरूलाई रूपान्तरण गर्नुपर्छ। तर, त्यसमा विदेशी लगानीकर्ता तुरुन्तै आउँदैनन्। सुरुमा हामीले आफूसँग भएको लगानी परचिालन गरी बाह्य लगानी आकषिर्त गर्न सक्नुपर्छ। अन्यथा, फेरि पनि कुरामै सीमित हुनेछौँ। त्यसैले प्रारम्भिक चरणमा देशलाई आत्मनिर्भर र स्वतन्त्र राख्ने लक्ष्यका साथ बाह्य पुँजीलाई आकषिर्त गर्ने नीति ल्याउनैपर्छ।

    हामी जुन चरण र युगमा प्रवेश गरेका छौँ, त्यो आर्थिक विकास र समृद्धिको युग हो। अबको राष्ट्रिय राजनीतिको केन्द्रविन्दु आर्थिक समृद्धिलाई नै बनाउनुपर्छ। १०-२० वर्षको हाम्रो एजेन्डा भनेको आर्थिक विकास नै हुनुपर्छ। त्यसमा पनि राष्ट्रिय सहमति निर्माण गर्ने ढंगले अगाडि जानुपर्छ।

    ठूला जलविद्युत् आयोजना र ठूला पूर्वाधार निर्माणजस्ता काममा बाह्य पुँजी नल्याई सुखै छैन। त्यसमा पनि जलविद्युत्को निर्यात छरछिमेकमा बाहेक अन्यत्र गर्नै सकिन्न। त्यसैले छरछिमेककै पुँजीलाई आकषिर्त गर्ने नीति हामीले लिनुपर्छ। बलियो छिमेकीले त कमजोर हामीलाई हेपिराख्छ। उसले हेप्यो भनेर गनगन गरेर बस्नुभन्दा नहेप्ने अवस्थामा कसरी पुग्ने, त्यो दिशामा जानुपर्छ। त्यो नै सच्चा राष्ट्रिय हित हुन्छ।

    निर्विकल्प बाटो

    माओवादी एउटा पार्टी मात्रै होइन, यो त एउटा विचार हो। आन्दोलन हो। वैकल्पिक राजनीतिक शक्ति हो। संविधानसभामा आकार सानो-ठूलो भए पनि मुख्य कुरा उसको विचार हो, आन्दोलन हो, एजेन्डा हो। नयाँ वैकल्पिक राजनीतिक एजेन्डा हो। त्यसलाई ठीक ढंगले स्थापित गर्न सक्नुपर्छ। अहिले सबैभन्दा ठूलो संकट एमाओवादीलाई के भएको छ भने आफूले उठाएको एजेन्डा अघि बढाउन सक्ने कि नसक्ने ? नयाँ परिस्थितिमा त्यसलाई परिमार्जित गरेर लैजान सक्ने कि नसक्ने ?

    हिजो त हामीले आन्दोलनमुखी राजनीति गरेका थियौँ। त्यसबाट केही महत्त्वपूर्ण सफलता हासिल गरेका थियौँ। तर, अब पुरानो प्रकारको आन्दोलन गरेर हुँदैन। पुँजीवादी राजनीतिक क्रान्तिका कार्यभारहरू मोटामोटी पूरा गरेका छौँ। अब आर्थिक क्रान्तिबाट समाजवादी क्रान्तिमा जाने बाटोमा प्रवेश गरेका छौँ। एमाओवादी पार्टीले त्यो भूमिका पूरा गर्न सक्छ कि सक्दैन ? त्यसका निम्ति आफूलाई पुनःनिर्माण गर्न सक्छ कि सक्दैन, त्यसमा भर गर्छ। यो नयाँ युग र नयाँ चरणको कार्यभार पूरा गर्न कि त पुरानै राजनीतिक शक्तिले सक्नुपर्‍यो, आफूलाई समयानुकूल परविर्तन र परिमार्जन गरेर। उसले सकेन भने नयाँ शक्तिको उदय अनिवार्य छ। नेपाली समाज नयाँ चरणमा प्रवेश गरसिकेको छ। अब त्यसलाई नेतृत्व गरेर जानका निम्ति आफ्नो संगठन, नेतृत्व र कार्यशैलीलाई नै परविर्तन गरेर लैजान सक्नुपर्छ। त्यसो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ। त्यसलाई कसैले रोक्न सक्ने छैन।

    (भट्टराई पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता हुन्।)

    हामी जहाँ चुक्यौँ

    हामी माओवादीहरू सबैभन्दा अग्रगामी सोच राख्थ्यौँ र जनताको ठूलो विद्रोहले हामीलाई समर्थन पनि गर्‍यो। नेपाली राज्यलाई रूपान्तरण गर्ने ठाउँसम्म पुर्‍यायौँ पनि। तर, पछिल्लो चरणमा राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति र सन्तुलनलाई ख्याल राखेर अगाडि बढ्ने कुरामा केही कमजोरी रह्यो। हाम्रो नीति र नेतृत्वमा सन्तुलन रहेन। कहिले असाध्यै झुक्ने, कहिले जड भएर बस्ने र यथार्थ धरातलमा सीधै टेक्न पनि नसक्ने। माओवादी आन्दोलनभित्र एउटा असाध्यै यान्त्रिक र जड प्रवृत्ति रह्यो, परविर्तन भएर अगाडि जानै नसक्ने। अर्कोतिर खुला परिवेशमा आइसकेपछि क्रान्ति र परविर्तनका एजेन्डालाई बिर्सेर पूरै लम्पसार पर्ने प्रवृत्ति। कहिले एउटा 'एक्स्ट्रिम'मा त कहिले अर्को 'एक्स्ट्रिम'मा जाने कारणले पनि हामीले प्राप्त अवसरको सदुपयोग गर्न सकेनौँ। हामीले एउटा अवसर गुमाए पनि समाजमा ठूलो परविर्तन आइसकेको छ, क्रान्ति भइसकेको छ। अरू नै कोही नेतृत्वमा आएछ भने पनि यो परविर्तन त भयो भयो। यसलाई पछाडि फर्काउन कसैले सक्दैन। ढिलो र चाँडोको कुरा मात्रै हो। नेपाली जनता कुनै पनि प्रकारको प्रतिगमन सहने पक्षमा कहिल्यै रहेनन् र छैनन्।

    नेता, नैतिकता र राजनीति

    राजनीति व्यवसाय होइन। निजी स्वार्थ पूरा गर्ने माध्यम पनि होइन। समाज बदल्न स्वेच्छाले गर्ने कर्म हो। विसं ००७, ०४६ देखि ०६३ सम्मका क्रान्तिका वाहक शक्तिको नेतृत्वमा बिस्तारै आफ्नो स्वयंसेवी चरत्रिलाई बिर्सेर राजनीति निजी स्वार्थ र पारिवारकि स्वार्थ पूरा गर्ने साधन हो भन्ने बुझाइ हावी हुँदै गयो। नेताहरू पारिवारकि स्वार्थमा बढी जकडिने, निजी सम्पत्ति जोड्न र अपारदर्शी भ्रष्टाचारजन्य गतिविधिमा जोडिने पक्ष देखा पर्‍यो, जुन बडो दुःखद छ। यो विकृत परम्परालाई बदल्न सक्नुपर्छ। यदि नयाँ चरणको राजनीति सुरु गर्ने हो भने राजनीति देश र जनताको निम्ति गरिने स्वयंसेवा हो भन्ने तथ्य स्थापित गर्नुपर्छ। जनताप्रति समर्पित दूरदृष्टिसहितको नीतिमा आधारति पार्टी बनाउनुपर्छ। निजी स्वार्थ परित्याग गरेको नैतिकवान् चरत्रिसहितको नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्छ। त्यसले मात्रै नयाँ चरणको राजनीति विकास गर्न सक्छ। हाम्रो अहिलेको पार्टीको नेतृत्व यसमा कत्तिको खरो उत्रिन्छ, त्यो हेर्नुपर्छ। अहिलेसम्मको अवस्था हेर्ने हो भने त्यति सकारात्मक र सन्तोषजनकचाहिँ छैन।

    गर्विलो इतिहास

    दक्षिण एसियाको सबैभन्दा पुरानो राष्ट्रिय राज्य हो यो। त्यसभन्दा पहिले जाँदा मानव जातिको उत्पत्ति र विकास यस क्षेत्रमै सबैभन्दा पहिला यही हिमाली भूखण्डमा भएको देखिन्छ। विगतमा यस पहाडी भूखण्डलाई दक्षिण र उत्तरबाट आएका आप्रवासीको थलोका रूपमा मात्रै व्याख्या गरन्िथ्यो। तर, इतिहासका पछिल्ला ज्ञान र अनुसन्धानले त्यसलाई खण्डन गररिहेका छन्। यसको मूल प्रवृत्ति भनेको यहाँ मानव जातिको सुरुदेखि नै बसोवास भएको भन्ने हो। अफ्रिका र मध्य एसियादेखि सुरु मानव जाति चलायमान हुने बेलादेखि नै यहाँ मानव बसोवास रहेको पुष्टि हुन्छ। नेपालको सभ्यता, इतिहास र संस्कृति नै त्यही बेलादेखि बन्दै आएको देखिन्छ।

    यो आदि प्रागैतिहासिक कुरा हो भने पनि ऐतिहासिक कालखण्डमै यहाँ बुद्धको समयदेखिका सभ्यताका प्रमाण छन्। सबै धार्मिक र अलौकिक कुराहरू विश्वसनीय नहोलान् तर दक्षिण एसियामा भएका धार्मिक परम्परा र कल्पनाहरू पनि त्यत्तिकै हावामा आएका होइनन्। त्यसका पछाडि केही घटना छन्, जसले कालान्तरमा कथा र उपकथाको स्वरूप पाएको हुन सक्छ। हिमाली भेगका शिव-महादेवका चर्चा, साधुसन्तको तपोभूमिका कुरा, पशुपतिनाथ, मुक्तिनाथलगायतका साधुसन्तहरू र महात्माहरूको चर्चाले तिनको उत्पत्ति प्रागैतिहासिक कालमा भएको देखिन्छ। पछिल्लो चरणका प्रमाण बुद्ध, याज्ञवल्क्य र मिथिला सभ्यता हुन्।

    यी तथ्यहरूका आधारमा भन्न सकिन्छ, प्रागैतिहासिक कालदेखि नै अत्यन्तै सम्पन्न र समृद्ध क्षेत्र हो नेपाल। पछि अंग्रेजसँग लड्ने क्रममा पूरै दक्षिण एसिया अंग्रेजहरूको कब्जामा पर्दा पनि यो भूखण्डलाई जोगाएर राख्ने काम लडाकू नेपालीले गरे। त्यस अर्थमा नेपालको राष्ट्रिय परम्परा अत्यन्तै गौरवशाली छ।

    सुगौली सन्धिले झुकाएको शिर

    पुँजीवादको युग आर्थिक श्रेष्ठतामा मापन हुने युग हो। त्यसअघि त भावनात्मक, सांस्कृतिक आदि सम्बन्धले पनि हुन सक्थ्यो। जमिनमा आधारति उत्पादनको सम्बन्धले त्यत्रो ठूलो अन्तर हुँदैनथ्यो। पुँजीवादको नियमै हो, जससँग धन छ, ऊ झन् धेरै धनी बन्दै जान्छ र गरबि झन् गरबि।

    सन् १८१५/१६ मा सुगौली सन्धि हुँदा युरोपमा पुँजीवादको विकास हुँदै गरेको थियो। अंग्रेजहरूले दक्षिण एसियामा उपनिवेश मात्र विस्तार गरेनन्, पुँजीवादको विस्तार पनि गरे। कलकत्ता, मद्रास, बम्बईजस्ता औद्योगिक सहरहरू बन्दै गए। तर, नेपाल बि्रटिस-भारतसँग असमान सम्बन्धमा बाँधिन पुग्यो, जसले गर्दा छिमेकमा झैँ उद्योग र पुँजीवादको विस्तार एवं विकास यहाँ हुन सकेन। आधुनिकीकरण र यान्त्रिकीकरण भएको अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सकेन। क्रमशः हामी आर्थिक रूपमा कमजोर बन्दै गयौँ। अंग्रेजहरूको नेतृत्वमा भारतमा जसरी पुँजीवादको विकास र विस्तार भयो, तीसँग हाम्रो विनिमय पनि असमान बन्न पुग्यो। र, भारतसँग हाम्रो सम्बन्ध 'डोमिनेन्स डिपेन्डेन्स' अर्थात् प्रभुत्व र पराश्रयको जस्तो बन्न पुग्यो।

    जबकि, सुगौली सन्धिभन्दा अघि हाम्रो अवस्था र भारतको अवस्था करबि उस्तै थियो। कतिपय अंग्रेज विद्वान्ले त्यतिबेला नेपाल आएर लेखेका छन् कि कागज, कपडा, चिनी, फलामलगायत धातुका भाँडा आदि उत्पादन अन्यत्रभन्दा हाम्रो बढी परिष्कृत र परिमार्जित थियो। सुगौली सन्धिअघि हामीले भारतसँग निर्यात गर्ने र आयात गर्ने अनुपात ५ः१ थियो। तर, अहिले त्यो अनुपात १ः८ भएको छ। हामी कसरी असमान सम्बन्धमा बाधियौँ र उल्टो दिशातिर गयौँ भन्ने यसले पुष्टि गर्छ। यसको सोझो असर नेपाली राष्ट्रियतामा पर्न गयो।

    प्रमुख पहिचान ः नेपाल

    यतिबेला समग्र नेपाली नै पहिचानविहीन भएजस्तो, आफैँ कताकता हराएजस्तो भएको छ। मनोवैज्ञानिक रूपमा हामी नेपाली हीनताबोधबाट ग्रस्तजस्ता छौँ। सबै नेपाली विदेश पलायन हुन खोजेजस्तो, सबै पढेलेखेकाहरू अमेरिका, बेलायत, क्यानडा र अस्टे्रलिया गएर बस्न पाए खुसी हुनेजस्तो। यहाँ मान्छे सचिव छन्, ठूला ओहोदामा छन् तर उनीहरूका छोराछोरी विदेशको नागरकिता लिएर गर्व गर्ने भइरहेका छन्। किनभने, कसैको पहिचान उसको अस्तित्व र त्यसबाट उत्पन्न आत्मविश्वास हो।

    त्यसपछि मात्र अरू आर्थिक, सामाजिक र राजनीतिक कुरा आउँछन्। अहिलेसम्म राजतन्त्रले स्थापित गरेको नेपाल आर्य खस जातिको मात्रै परचिय रहेको नेपाल भयो। उनीहरूको मात्रै भाषा, संस्कृति रहेको देश भन्ने भयो। हिजोको नेपाली राष्ट्रियता राजतन्त्रसँग जोडिन पुग्यो। त्यो राजतन्त्र नरहनेबित्तिकै नेपालको राष्ट्रियता पनि रहेन भनेजसरी प्रचार गरिदिँदा कतिपय नेपालीले आफूलाई पहिचानविहीन पनि ठाने। त्यसको लाभचाहिँ नेपाली राष्ट्रियता कमजोर भएर विदेशीहरूले लिन सक्छन्।

    भन्न त पृथ्वीनारायण शाहले पनि चार जात छत्तीस वर्णको फूलबारी भने तर व्यावहारकि रूपमा खस आर्य राष्ट्रको रूपमा मात्रै पहिचान कायम भयो। अरू राष्ट्रियताहरूको अस्तित्व स्वीकार नगर्ने खालको एकात्मक राष्ट्रियता निर्माण भयो। विभिन्न भाषा, जाति र क्षेत्र आफैँमा अलगअलग 'नेसनालिटी'हरू हुन्, इन्द्रधनुषी र 'कम्पोजिट' नेपाली राष्ट्रिय राज्यका अभिन्न 'बिल्डिङ् ब्लक' हुन्। अब यी सबै नेसनलिटिजसहितको 'कम्पोजिट नेसन स्टेट'का रूपमा नेपाललाई परिभाषित गर्नुपर्छ। त्यसो भए मात्र नेपाल आन्तरकि रूपमा बलियो हुन्छ। आन्तरकि रूपमा बलियो भइसकेपछि मात्रै बाह्य रूपमा बलियो हुन्छ। राज्यको पुनःसंरचना गर्दा नेपाली विशिष्टतासहितको संघीयता भन्नुको तात्पर्य त्यही हो।

    Wednesday, February 5, 2014

    साहित्यको उन्नयन कि व्यापारीकरण - अमर गिरी

    साहित्यको उन्नयन कि व्यापारीकरण
    अमर गिरी
    'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको लगानी र सहभागिता, कार्यक्रमको प्रकृति, यसका उद्देश्य र पारदर्शिताका बारेमा छलफल भएको पाइँदैन। आलोचनात्मक विवेकमा आएको यो ह्रास नेपाली साहित्यको एक दुःखद तस्बिर हो। आलोचनात्मक विवेकमा आएको यही ह्रासमाथि टेकेर नेपाली साहित्यमा नवउदारवादी सोचाइ आरुढ हुँदै छन्।

    साहित्यमा नवउदारवादी अवधारणाको सबैभन्दा महŒवपूर्ण पक्ष लोकप्रिय कला (पपुलर आर्ट) का तहमा साहित्यको 'लोकप्रियकरण' र बजारीकरण हो। साहित्यको 'लोकप्रियकरण' र बजारीकरण साहित्यलाई उसको विशिष्ट चरित्र, भूमिका र सरोकारहरूबाट च्यूत गरेर बजार अनुकूल बनाउने अवधारणा हो। यस अवधारणाको चरमोत्कर्ष बजारवाद हो। बजारवाद वित्तीय पुँजीवादको विचारधारा हो। बजारवाद साहित्य, कला, संस्कृति, संगीत, दर्शन, विज्ञान सबैलाई बिकाउ मान्छ र तदनुरूपको व्यवहार गर्छ। साहित्यको विशिष्ट मूल्य परिधिमा जान्छ, उपभोक्तावादी मूल्य केन्द्रमा आउँछ। साहित्यको बजारीकरणको प्रक्रियामा साहित्य कर्पोरेट हाउसहरूसँग जोडिन्छ। कर्पोरेट हाउससँग जोडिनुको तात्पर्य साहित्य वित्तीय पुँजीको लीलामा प्रवेश गर्नु र त्यसबाट डोरिनु हो। कर्पोरेट जगत् आफ्ना उद्देश्यको पूर्तिका निम्ति पनि साहित्य र साहित्यकारलाई उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ।
    साहित्यमा बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशलाई सामान्य रूपमा लिइँदैन। विचारधारासँग जोडिएको विषयका रूपमा यसको व्याख्या–विश्लेषण गरिन्छ। यस्ता कम्पनी निश्चित विचारधारामा अडिएका हुन्छन् र तिनका अर्थबाहेक अन्य रुचि र उद्देश्य पनि हुन्छन्। अर्थको विशाल साम्राज्य अर्थको बलले मात्र चल्दैन र टिक्दैन। यसका निम्ति विचारधाराका अन्य उपकरण पनि चाहिन्छन्। बहुराष्ट्रिय कम्पनीहरू आफूलाई चाहिने सबै किसिमका उपकरण बोकेर यात्रारत छन् र तिनको कुशलतापूर्वक प्रयोग गरेका छन्। बहुराष्ट्रिय कम्पनी वित्तीय पुँजीवादका सबैभन्दा ठूला र बलिया खम्बा हुन्। नवउदारवादलाई बलियो बनाउनु, उपभोक्तावादलाई फुलाउनु फलाउनु, तेस्रो विश्वका मुलुकका प्राकृतिक स्रोत साधनमाथि अधिकार जमाउनु, आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्नु, आफूप्रति सम्मानको स्थिति पैदा गर्नु र आफूविरुद्धको प्रतिरोधलाई कमजोर बनाउनु, भावी पिँढीमा आफूप्रति बौद्धिक र संवेदनात्मक रूपमा दासत्वभावको निर्माण गर्नु, नवऔपनिवेशीकरणको प्रक्रियालाई अघि बढाउनु र वैधता प्रदान गर्नु आदि बहुराष्ट्रिय कम्पनीका उद्देश्य रहँदै आएका छन्। बहुराष्ट्रिय कम्पनीले साहित्य, कला, संगीत, खेलकुद आदि अन्तर्गत गर्ने लगानी आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्ने कुरासँग सम्बन्धित हुन्छन्। यसो गरेर उनीहरूले तात्कालीन र दीर्घकालीन रूपमा आफ्ना आर्थिक, राजनीतिक, सांस्कृतिक हितका निम्ति आधार निर्माण गर्छन्। साहित्यको बजारीकरण बहुराष्ट्रिय कम्पनीहरूको बजार र उपभोक्तावादलाई समृद्ध गर्ने रणनीतिसँग जोडिन्छ।
    'जयपुर लिटरेचर फेस्टिभल'को आलोचना यिनै कुरासँग जोडिएको थियो। भारतका आदिवासी जनतालाई आफ्ना ठाउँहरूबाट विस्थापित गर्ने, उनीहरूको जमिन र जंगलमाथि कब्जा गर्ने, भारतीय स्व र संस्कृतिको पश्चिमीकरण गर्न महŒवपूर्ण भूमिका खेल्ने बहुराष्ट्रिय कम्पनीको आर्थिक सहयोगमा जयपुर फेस्टिभल गरिँदै थियो। भारतीय स्व र संस्कृतिका साथै भारतीय आदिवासी जनताविरुद्ध रहेका बहुराष्ट्रिय कम्पनीका पैसामा आयोजित कार्यक्रममा भारत र भारतीय साहित्यबारेका बहस अर्थहीन अनुभव हुन्थे र बहुराष्ट्रिय कम्पनीका अनुचित क्रियाकलापलाई उचित ठहर्यााउने प्रयत्न लाग्थे। जयपुर फेस्टिभलको समग्र कार्यक्रमको प्रकृति साहित्यको 'लोकप्रियकरण' र बजारीकरणको अवधारणा अनुकूल थियो। एनसेल नेपाल लिटरेचर फेस्टिभलको मूल्यांकन गर्दा माथिको सन्दर्भलाई ध्यान दिन आवश्यक छ।
    एनसेलको लगानी र सहयोग नेपाली साहित्यमा कर्पोरेट जगत्को बलियो प्रवेशको दृष्टान्त हो। मुनाफाकेन्द्रित बहुराष्ट्रिय कम्पनीको साहित्यमा लगानीको उद्देश्य नेपाली साहित्यको उन्नयन होइन आफ्नो व्यापारको बजार प्रवर्द्धन हो। एनसेलले यस्तो सहयोग साहित्यका क्षेत्रमा मात्र गरेको छैन, संगीत, खेलकुद लगायतका क्षेत्रमा पनि गरेको छ। एनसेल कुनै पुनीत उद्देश्य बोकेर खडा भएको सामाजिक–सांस्कृतिक संस्था होइन। साहित्यलगायत विभिन्न क्षेत्रमा यसले गरेको लगानी पनि कुनै पुनीत उद्देश्यबाट निर्देशित छैन। ऊ यी सबैलाई आफ्नो व्यापारको बजार विस्तार र मुनाफा आर्जनको उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ। ऊ यसका माध्यमबाट नवउदारवादी परियोजना अनुरूप साहित्यको बजारीकरणमा योगदान दिन चाहन्छ। व्यापारिक सफलता र विस्तारका निम्ति एक अनुकूल वातावरणको निर्माण गर्न चाहन्छ। आफ्नाविरुद्ध हुने आलोचनालाई कम गर्न र आफूप्रति सद्भावपूर्ण परिस्थिति बनाउन चाहन्छ। आफ्ना कैयौं आलोचना र सन्देहको घेरामा आउने व्यापारिक गतिविधिको वैधानिकीकरण र तिर्नुपर्ने राजस्व कम गर्न चाहन्छ। समग्रमा भन्दा आफ्ना आर्थिक स्वार्थ र समकालीन पुँजीवादका नवउदारवादी रणनीतिलाई आफ्ना तर्फबाट कार्यान्वयन गर्न चाहन्छ। मार्क्सका भाषामा भन्ने हो भने धातु व्यापारीले अरू होइन धातुको मूल्यमात्र हेर्छ।
    साहित्यिक कार्यक्रमका निम्ति बहुराष्ट्रिय कम्पनीहरुले सहयोग दिन्छन् भने किन नलिने? लिएर साहित्यको उन्नयनमा किन खर्च नगर्ने? भन्ने जस्तो सरल विषय यो होइन। यसले हाम्रो समग्र वैचारिकता, हामी के गर्न चाहन्छौं र कतातिर जाँदै छौं भन्ने कुरासँग सरोकार राख्छ। कुरा एनसेलको होइन बहुराष्ट्रिय कम्पनी र नवऔपनिवेशीकरणका नवउदारवादी परियोजनाहरूलाई कसरी हेछर्ौं भन्ने हो। बहुराष्ट्रिय कम्पनीको यशोगान गाएर साहित्य जात्रा गर्नु भनेको जात्रा देखाउनु मात्र होइन, नेपालको नवउपनिवेशीकरणको प्रक्रियालाई सहयोग पुर्यााउनु पनि हो। साहित्य र साहित्यकारलाई एनसेलका उद्देश्य पूर्तिका साधनमा बदल्नु पनि हो। उनीहरूको आलोचनात्मक विवेकमाथि अंकुश लगाउनु पनि हो। ब्रेख्तका भाषामा भन्दा अझ ठूलो अन्यायका निम्ति आधार प्रदान गर्नु हो। रोमी क्लार्क र रास इभानिचको भाषामा यो 'पोलिटिक्स अफ राइटिङ' हो। यो नवउदारवादी विचारधारालाई 'कमनसेन्स'मा बदल्ने तरिका हो।
    लिटरेचर फेस्टिभल साहित्यको गम्भीर र सार्थक बहस गर्ने थलो बन्न सकेको देखिन्न। अत्यन्त ठूलो प्रचारका साथ सुरु गरिने फेस्टिभलले लेखक–प्रकाशक र मिडियाको एक व्यावसायिक त्रिकोण बनाउन चाहेको पाइन्छ। यो व्यावसायिक त्रिकोण साहित्यको 'लोकप्रियकरण' र बजारीकरणसँग सम्बन्धित छ। साहित्यकारलाई सेलिब्रिटी बनाउने कुरा पनि यसैसँग सम्बन्धित रहेको छ। फेस्टिभलमा 'पपुलिस्टिक' योजना बनाइन्छ। ग्ल्यामरमा साहित्यको बजार प्रवर्द्धनको आकांक्षा राखिन्छ। त्यहाँ साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिका भञ्जनका रणनीतिहरू सक्रिय देखिन्छन्। एनसेल लिटरेचर फेस्टिभल साहित्यको शिखरतिरको होइन ओरालोतिरको यात्रा लाग्छ। यो साहित्यको क्षयीकरण, साहित्यमाथि पुँजीको वर्चस्व र लीलानाच अनुभव हुन्छ। अर्को भाषामा भन्दा यो उत्तरआधुनिकतावादी उत्सव लाग्छ। 'जहाँ अक्षरहरू जीवन्त हुन्छन'् भन्ने नाराले अक्षरहरूको हुर्मत लिइरहेजस्तो देखिन्छ। झन्डैझन्डै सिंगो साहित्य जगत् यसप्रति निरपेक्ष र अनालोचनात्मक बनेको देख्दा अझ बढी दुःखको अनुभव हुन्छ। आफ्नै बलबुतामा सार्थक साहित्यिक कार्यक्रमको आयोजना गर्ने थुप्रै साहित्यिक संस्था छन्। के आयोजकहरूले यसप्रति ध्यान देलान् र आत्मआलोचक बन्दै आउँदा दिनमा फरक ढंगले कार्यक्रमको आयोजना गर्लान्? के कार्यक्रमका सहभागीहरू यसप्रति गम्भीर बन्दै आलोचनात्मक विवेकको प्रयोग गर्लान्? अहिले हेर्दा त लाग्छ हामी सबै एनसेलमय छौं र हाम्रो साहित्यको भविष्य पनि अब एनसेलकै काँधमाथि छ!

    गिरी प्रगतिशील लेखक संघका अध्यक्ष हुन्।

    Thursday, September 27, 2012

    सत्र सालको क्रान्तिको सम्झना - कृष्णविक्रम नेम्वाङ

    बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको अनुभव धेरै पाठकका लागि उपयोगी देखिन्छ । यहाँ त्यस सशस्त्र जनसंघर्षका एक अगुवा कृष्णविक्रम नेम्बाङले आफ्नो नयाँ किताब ‘सत्र सालको क्रान्तिको सम्झना’मा लिपिबद्ध गर्नुभएको संस्मरणको एक अंश प्रस्तुत गरिएको छ ।    -सं..



    क्रान्तिकारी कारबाहीमा अरु अभावको पूर्ति साहस र आँटले नै गर्नुपर्छ ।

    –बी.पी. कोइराला

    रूसी इतिहासको एउटा घटना स्मरणयोग्य छ– सन् १८७४ मा देशव्यापी विप्लवको आह्वानमा कोइ एक हजार रूसी विद्यार्थीले किसानी पहिरनमा गाउँगाउँको बाटो पक्रे । उनीहरूलाई ‘नोरोदनिक’ भनियो । तर विडम्बना उनीहरूलाई गाउँवासीले विश्वास गर्न सकेनन् । बरु कतिपयलार्ई उल्टै पक्रँदै जारका पुलिसलार्ई बुझाउन थाले । यसो हुनुमा आम जनता र ती बौद्धिक भनाउँदाहरूबीच पूर्वसम्बन्धको सर्वथा अभाव हुनु थियो ।
    दार्जिलिङमा हिउँदे बिदा सुरु भइसकेको थियो । अधिकांश साथीहरू पार्टीको निर्देशन लिएर आ–आफ्नो गाउँ लागिसकेका थिए । स्कुल, कलेज बन्द भएकाले दार्जिलिङ सुनसान प्रायः थियो । हिउँ पनि अलिअलि फुसफुसाउन थालेको थियो । पार्टीको निर्देशनबमोजिम म पनि पाँचथर फर्किहाल्नु थियो । झापाका पर्शुराम भण्डारी र इलामका भद्रसिंह राई (कार्यकर्ता) पार्टीको सन्देश लिएर आफ्नो जिल्ला फर्किसकेका थिए । यसबीचमा काठमाण्डुबाट दार्जिलिङ आइपुगेका धर्मरत्न यमी र राजाका दूत केदारमान व्यथितलाई भेट्ने र आफ्ना कुरा राख्ने अवसर मिल्यो । विघटित प्रतिनिधिसभाका सांसद अच्युतराज रेग्मी र डि.के. शाही अलिपछि कलकत्ताबाट दार्जिलिङ आइपुगे । उनीहरूलाई पनि ‘दिलखुश’ होटलमा भेटियो । यही कारणले मेरो जिल्ला फर्काइ ढिलो हुँदै थियो । तर कतिपय साथीले त मेरो ढिलाइलाई विचार डगमगाएको रुपमा लिएछन् । नरमाइलो लाग्यो ।
    म होटल फ्रिडममा बस्थें । पुसको अन्तिमतिर होजस्तो लाग्छ । एकदिन किताब–सिताब थन्क्याएँ । होटल मालिक लि थङ फूलाई सेसन सुरु भएपछि आउने भन्दै म पनि बाटो लागें । हिँड्ने बेलामा फ्रेण्डस स्टुडियोका मालिक नेपालबाट पलायित कांग्रेस कार्यकर्ता रामशंकरलाल श्रेष्ठसँग भेट भयो । उनलाई कुन बाटो नेपाल फर्कंदा उचित होला भनी राय मागें । उनले सिधै पशुपतिनगर–इलामको बाटो गए हुने बताए । दार्जिलिङमा कांग्रेस कार्यकर्ता भनेर म चिनिइसकेको थिएँ । अझ झोलामा पार्टीको चारतारे झण्डा पनि थियो । त्यसैले अलि छलिएर नेपाल प्रवेश गर्ने कि भन्ने विचार थियो मेरो । तर साथीहरूले पनि सिधै मूलबाटो भएर जानु नै राम्रो हुने सल्लाह दिएका थिए । अन्ततः साथीहरूले सुझाएझैं मूलबाटोलाई नै रोजें । सायद मूलबाटो भनेको प्रजातन्त्रको बाटो थियो, जनसंघर्षको बाटो थियो । तै बाटोभरि रूसी नोरोदनिकको सम्झना भने भइरह्यो ।
    अंग्रेजकै पालादेखि दार्जिलिङदेखि मिरिक’ गाडी चल्थ्यो । मिरिक जाने गाडीमै फाटकसम्म यात्रा गरें । फाटकबाट पाँच मिनेट पैदल हिँडेपछि बिहानको दस बजे पशुपतिनगर आइपुगें । पशुपतिनगर नाकामा भन्सारका कर्मचारी र पुलिसको बाक्लै चहलपहल थियो । केही अप्ठेरो पर्ला कि भन्ने डर भयो । तर म उनीहरूको आँखामा परिनँ । अरु त के र, झोलामा जो कांग्रेसको चारतारे झण्डा थियो, त्यसैले अप्ठेरो पार्न सक्थ्यो । तर मैले त्यसलाई त पट्याएर झोलामा सबैभन्दा तल राखेको थिएँ ।
    पशुपतिनगरबाट विन्देश्वरी–फूलचन्दको ट्रकको डालामा चढें । त्यतिखेर गाडी चढ्न पाउनु पनि ठूलो अहोभाग्य हुन्थ्यो । कच्ची सडकमा ट्रकले यता बल्ड्याङ उता बल्ड्याङ खान्थ्यो । माघे–सुन्तलेपछि शिवालयबाट ठाडो उकालो हुँदै बेलुकी इलामबजार आइपुगें । धुलोले पुरिएर यात्रुहरू नचिनेने भइसकेका थियौं । सायद गणेशमानसिंह : मेरा कथाका पानाहरू (खण्ड–१) मा भनिएझैं यो एकजना सद्दे अनाडीको जीवनमा राजनीतिक यात्राको सुरूवातको दिन थियो ।
    बिहीबारे हटियाको दिन परेछ । तिनताक इलाम बजार पाँचथरेहरूको ठूलो किनमेल थलो मानिन्थ्यो । त्यहाँबाट नुन, तेल, फलाम, लत्ताकपडाजस्ता अत्यावश्यक उपभोग्य वस्तुहरू ढाकरमा बोकेर पाँचथरका हाट–बजारमा पुर्‍याइन्थ्यो । हाटको परम्परा अंग्रेजहरूले आफ्नो उपनिवेशकालमा भारतमा ल्याए र हाम्रातिर पनि यसको प्रचलन सरेको हो । ठाउँठाउँमा साता दिने, पन्ध्रदिने हाट लाग्ने । मालसामान हाटबाटै खरिदबिक्री हुने । हटियाका दिन परेकाले होला, ढाक्रेका ताँती देखिन्थे । यस्तो ताँती कि कृष्णप्रसाद कोइरालाले श्री ३ चन्द्र शमशेरलार्ई ‘सौगात’ पठाएको भनिएको जस्तै शरीरमा त्यान्द्रो कपडा फर्फराइरहेका, भारीले पेदूपेदू थिचिएका ।
    इलामबाट पाँचथर एक्लै पुग्नु हम्मे पथ्र्यो । बाटोमा खोलाखोल्सी, भीर–पहरा, उकालो–ओरालो थियो । अझ रक्से छिचोलेपछि त घनघोर जंगलले पाँचथरसम्मै ढाकेको थियो । छ न त मसँग त्यस्तो धनदौलत केही थिएन, तै चोरी हुने डर पनि थियो । निक्कैबेर सोचें, आँटें पनि तर एक्लै पाँचथर उक्लने आँटै आएन मलाई । सहयात्रीको खोजीमा बजार चाहार्न थालें । आफ्ना गाउँले सिवाय कसैलार्ई चिन्दिनथें । कुनै गाउँले भेटिएला नि भन्ने आशा थियो । तर अर्कै संयोग पर्‍यो ।
    मालापथ पुग्दा ‘सिकारी बूढा’ सँग झ्वास्स भेट भयो । बूढा रेडीको पुरानो खास्टो गम्लङ्ग ओडेर हस्याङफस्याङ हिँडिरहेका रै’छन् । उनको खास नाम चन्द्रमान राई हो । उनीसँग दार्जिलिङमै परिचय भएको थियो । किन हो उनलार्ई सबैले ‘सिकारी बूढा’ भन्थे । उत्तरी इलामको आलुबारी भन्ने गाउँमा जन्मे हुर्केका उनी पार्टीका निष्ठावान कार्यकर्ता थिए । एकछिन उभिएरै कानेखुसी गर्‍यौं । उनी इलामका साथीहरू भेट्न आएका रहेछन् । हामीले बेलुकै भेटघाट सकाउने, बिहान बाँडा होटलमा चिया खाने र पाँचथर लाग्ने योजना बनायौं । सुन्तलाबारीमा साइँली छ्यामाको घर थियो । म वास बस्न सुन्तलाबारीतिर लागें ।
    बिहान सखारै बाटो लाग्यौं सिकारी बूढा र म । गफगाफमै पुवाखोला अनि झुत्रेखोलाको झोलुंगे पुल तरेर साखेजुङ्को उकालो लाग्यौं । त्यतिन्जेलसम्म घाम पनि टाउकोमाथि पुगिसकेको थियो । फेरफारे लुगाको झोला पनि गह्रौं–गह्रौं भइरहेको थियो । पेट पनि भर्नु थियो । गमेर ल्याउँदा साखेजुङमा लालबहादुर लोक्त्तामको घर सही लाग्यो । उहाँ मेरो पनि नातेदार र दाइ भूविक्रम नेम्बाङको त साक्खै ससुरा । खाना खान पनि पाइने र जिल्लाको राजनीतिक हलचलका सम्बन्धमा पनि केही न केही थाहा पाइने । लोक्ताम निवास बाँसका ठूलठूला झ्याङदेखि केही पर बाटोको छेवैमा पथ्र्यो । हामी घरलार्ई ताकेर त्यतैतिर सरासर लाग्यौं ।
    राजनीतिक दृष्टिले इलाम जिल्लामा साखेजुङ गाउँको ठूलै साख थियो । २०१५ सालको आम निर्वाचनमा कांग्रेसका विजयी सांसद कृष्णबहादुर भट्टराई त्यहीँका निवासी थिए । दार्जिलिङमा हामी छात्रहरूले मिटिङ गरेको उनै के.बी. भट्टराइकैमा हो । कम्युनिस्ट आन्दोलनमा इलाम जिल्लाका शिखर पुरूष तथा २०१५ सालमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार ज्ञानीराम भट्टराई यहीँका थिए । उनले नै इलाम जिल्लामा कम्युनिस्ट पार्टीको जग बसाए । हाल उनी दार्जिलिङ प्रवासिएका थिए । यहाँका बस्नेतहरू अत्यन्त सम्पन्न तथा शिक्षित कहलिन्थे । लक्ष्मण, खम्बसिं बस्नेतहरू भाइभतिजासँग दार्जिलिङ तरिसकेका थिए । लक्ष्मण बस्नेत २०१५ सालमा क्षेत्र नं. २८ बाट स्वतन्त्र उम्मेदवार पनि थिए । खम्बसिंह बस्नेत पछि राष्ट्रिय पञ्चायतको सदस्यसमेत भए । अहिले पनि एमाले अध्यक्ष एवं भूपू प्रधानमन्त्री झलनाथ खनालको गाउँ यही हो ।
    दार्जिलिङबाट हिँड्नअघि ज्ञानीराम भट्टराई तथा लक्ष्मण बस्नेतहरुसँग भेटघाट पनि भएको थियो । यी परिवारसँग लोक्ताम लिम्बू परिवारको पनि औधी मिल्ती थियो । हामी पुग्दा एउटा सुखद संयोग र आश्चर्यले पर्खिबसेको रहेछ– भूविक्रम दाइ । दाइ अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । सुदूर पूर्वको राजनीतिक केन्द्रविन्दू इलामबजारै थियो । इलामबजारको निकै नजिकको गाउँ साखेजुङ । दाइ राजनीतिक घटनाक्रमको अध्ययनार्थ सिलौटीबाट साखेजुङ झर्नुभएको रहेछ । दाइसँगको भेटपछि सिकारी बूढा आफ्नो गन्तव्यतर्फ लागे । दाइ र भाइबीच राजनीतिक उथलपुथलबारे कुरा भए । दार्जिलिङमा भएको पार्टी र छात्रहरूको गतिविधिबारे बेलिविस्तार लगाएँ । मैले आफ्नो देशप्रवेशको उद्देश्य सुनाएँ, दाइ साह्रै उत्साहित हुनुभयो ।
    झुरुम्म थियो लोक्ताम लिम्बुहरूको बस्ती । बेलुकी स्थानीयहरू भेलिए । तिनमा बिष्णुबहादुर लोक्तामको मात्र नाम सम्झना छ । उनीहरूसँग पनि राजाको ‘कु’का बारे छलफल भयो । भोलिपल्ट बिहानको खाना खाएर पाँचथरतिर लाग्यौं । बाटोमा जनसंघर्षको तयारी गर्ने सल्लाह भयो । यसका लागि अर्धभूमिगत हुने निर्णय पनि भयो । म घर पुगेर सिलौटी लागें । तिनताका भूविक्रम दाइ गभर्मेन्ट कलेज (दार्जिलिङ)को पढाइ र सारतापको ‘बिल्डिङघर’ त्यागेर सिलौटीको पातले गाउँमा अस्थायी रूपमा बस्दै आउनुभएको थियो । उहाँ स्वास्थ्यलाभ गर्दै हुनुहुन्थ्यो । हामी सिलौटी पुग्दा लेकाली बस्तीमा जाडो जवान पुगिसकेको थियो ।
    ० ० ०
    बी.पी.ले आफ्नो कथामा एक ठाउँमा ‘सहरू बेढंगपन छोड्दै गएँ’ भन्नुभएको छ । सुरुसुरूमा सिलौटीमा रहँदा मैले पनि त्यस्तै कठिनाइ बेहोर्नुपर्‍यो ।
    हामीमा योजनाबद्ध ग्राम विकासको न इतिहास छ, न परम्परा नै । सामान्यतः एक नेपालीले आफ्नो पैतृक जमिनमा सानो झुप्रो हाल्छ, बस्छ चाहे त्यो रूखो–मलिलो, लेक–बेंसी, पायक–अपायक, सुगम–दुर्गम जहाँ जस्तो होस् । दश हजार फिटको उचाइमा रहेको सिलौटी पर्वत क्षेत्रमा पुग्दा निक्कै भावुक भएँ । गाउँबस्ती नियाल्थें, आकाशमा ताराहरू छरपस्ट झैं अकबरे सुनको गहनामा जडित हिरामोतीका दानाजस्तै लाग्थे ।
    सिलौटी क्षेत्रमा इत्थुङ, नाम्दु, सिम्ले, पातलेजस्ता दर्जनौं लेकाली गाउँ पर्छन् । त्यतिखेर सिलौटी क्षेत्रमा विशेषगरी टाटीबेराका घरहरू हुन्थे । बाँस, निगालो, मालिङगोबाट बुनिन्थ्यो चित्रा र यसैलाई घरको वास्तुकलामा ढालिन्थ्यो । केही सम्पन्नहरूको घरमा मात्र ढुंगाको गारो हुन्थ्यो तर छानाचाहिँ चित्राकै हुने । आलु, मकै र केही मात्रामा फापरको खेती हुने । गाई, भैंसी, भेडा, बाख्रा, कसैकसैले घोडा र गाईवस्तुसँगसँगै सुँगुर पनि पाल्थे । खेतीबाट त ३÷४ महिना पनि खान नपुग्ने । त्यसपछिको महिना चौपाया बेचेर आएको पैसाले टार्नुपर्ने । त्यतिले पनि वर्ष नगए मालिंगो परेङको घुम, डोको, थुन्से, डालो, नाङलो आदि बुनेर हाटबजार वा गाउँमा पुर्‍याई खाद्यान्नसँग साटफेर गरी खाद्यसामग्री जुटाउँथे । एक साल काट्नु एक जुनी काट्नुजस्तै दुःख थियो ।
    सरकारको सम्बन्ध ‘तिरो’सित मात्र थियो । नागरिकका प्रति केही जिम्मेवारी थिएन । ती लेकालीहरू आफ्नो कठोर श्रम र मिहिनेतद्वारा सदा आत्मनिर्भर हुन उद्यत भइरहन्थे । वैकल्पिक आयआर्जनको कुनै क्षेत्र थिएन । रोग, भोक, गरिबी, अशिक्षा तथा पछौटेपनले ग्रस्त थिए । न पढालेखा छन् न त पेटभरि खान पाएका छन् न अधिकारप्रति सचेत नै छन् । आफ्नै धुनीफानीमा व्यस्त छन् । हामीले यिनलाई संगठित गर्नु, क्रान्तिकारी बनाउनु र प्रजातन्त्रप्रति प्रतिबद्ध बनाउनु थियो । हाम्रो लागि यो कठोर तर अपरिहार्य काम थियो ।
    म उनीहरूको नजरमा सभ्य सहरीया सुटेडबुटेड मान्छे थिएँ । सायद टाढैबाट भिन्नै देखिन्थें दार्जिलिङे सेतो पतलुन र कमिजले । उनीहरू मसँग खुलेर कुरा गर्नसमेत हिच्किचाउँथे । यस्तो संवादहीनता थियो त उनीहरूमाझ जनसंघर्षको चेत फैलाउनु हास्यास्पद ठहरिन्थ्यो । त्यसैले सबैभन्दा पहिले पहिरनमा परिवर्तन गर्ने सोच बनाएँ । कहीं पढेको थिएँ, जवाहरलाल नेहरूले बिहारको नीलखेती आन्दोलनमा सरिक हुने क्रममा पहिलोपल्ट चम्पारनमा पश्चिमा भेषभूषा परित्याग गरेका थिए । गान्धीजी दक्षिण अफ्रिकाबाट भारत आउँदा सस्तो किसिमको देशी लिबासमै हुन्थे ।
    लिम्बूनीहरूले खुबै तान बुन्ने समय थियो । लिम्बू गाउँमा कोगटी, सादा, चारखाने खाँडीका कपडा यथेष्ट पाइन्थे ।
    अब मैले हाँसको बथानमा बकुल्ला नहुन दौरा सुरुवाल पहिरनलाई अपनाउने निर्णय गरें । इम्बुङ गाउँबाट बीस हात खाँडीको कपडा मगाएँ र सारतापमा सिलाउन दिएँ । अब मेरो पहिरन तयार भयो । त्यसो त त्यतिखेर सरकारी जैकारेहरूले ‘यौटै भाषा यौटै भेष’ भन्ने नारा गोरखा परिषदबाट सापट लिन लागेको अवस्था थियो । दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाइएको थियो । मचाहिँ त्यही पोसाक लगाएर पञ्चायती व्यवस्थाविरुद्ध जनसंघर्षको तैयारी गर्दै थिएँ । पहिरनमात्र होइन खानपान, बोलीचाली, रहनसहन, उठबसमा पनि गाउँलेको प्रभाव पर्न थाल्यो । रूसी नोरोदनिकजस्तो सहजाउने म अब पूरै गाउँलेमा परिणत भइसकेको थिएँ ।
    सिलौटी क्षेत्रको सेपिलो पाटामा त्यसै पनि ठण्डी । अझ हिउँ पर्न थाल्यो । केशर, जटामसी, गुच्छीच्याउ, यार्चागुम्बुजस्ता जडीबुटी पनि सिलौटी क्षेत्रमा पाइन्थ्यो नै होला, तर तिनलाई पटके औषधिको रुपमा मात्र प्रयोग हुन्थ्यो । बरु गाउँलेहरू जाँड, रक्सी र सुर्तीलाई चिसोको दबाइ मान्थे । चिसोलाई झेल्न न्यानो कपडा पहुँचभन्दा टाढाको विषय थियो । टुप्पी नै ठाडो पार्ने जाडोसँग जुध्न म पनि डबकाको जाँड र कचौराको रक्सीको हरकमा मगमगिन थालें । मकैको खोस्टा नपाए कटुसको पातमा बेरेर लाम्पाते सुर्तीको सर्को पनि तान्न थालें । सिलौटी क्षेत्रका लागि इलाम पानी पँधेरोजस्तै थियो, त्यसैले यहाँ चियाको प्रचलन पनि आइसकेको थियो । चियापत्ती टुट्यो भने मकैको च्याँख्ला भुटेर वा खसु्रको चोपकै भए पनि चिया बनाएर पिउने चलन थियो । तर, चियाले भन्दा पनि जाँड–रक्सीले नै पुस–माघको ठण्डीलाई काबुमा ल्याएजस्तो लाग्थ्यो, खैर यो एउटा ‘ह्याबिच्युअल’ भ्रम किन नहोस् ।
    सबै गाउँले अघोरीजस्तै लाग्थे । भक्ष–अभक्षको साँधसीमाना थिएन । अम्मलहरूको स्वादमा जिब्रो रतिँदै जाँदा म पनि अघोरी नै बन्दै गएँ । सिल्भाँ लेभीले नेपाल : नेपाल हिन्दू अधिराज्यको इतिहास (दोश्रो खण्ड)मा भनेका छन् “…यतातिर ठाउँको उचाइबमोजिम मैलोपना पनि बढ्छ, जति माथि उति बढ्ता मैला” । मानिस मैला हुनुको प्रमुख कारण सरसफाइको चेतनाको कमी नै हो, तर सिलौटी क्षेत्रजस्ता उच्च पहाडी शृंखलामा भने चिसोको निहुँ पनि हो । पानी छुँदै आङ जिरिङ जिरिङ हुने यस्तो कठयांग्रिने ठण्डीमा कसले नुहाइधुवाइ गरोस् । गाउँलेहरू मयल कट्कटिएका बाक्ला खापका खाप लुगाले पुरिएर हिँड्थे । कसैको आङमा मयल देख्यो भन्ने लच्छिन हो भन्थे । मैले पनि मयलको लच्छिन बोकेर हिँड्न थालें ।
    डा. बी.एस. चौहानको एसिया का प्रादेशिक भूगोल अनुसार ‘‘एसियामा फिलिपिन्समा नै सर्वप्रथम मकैको खेती गरिएको थियो ।’’ र, ‘‘हाम्रो देशको उत्तरी क्षेत्रको बस्ती बिस्तार आलु, मकैको इतिहाससँग आबद्ध छ ।’’ सिलौटी क्षेत्रमा पनि आलु, मकैको खेती निकै पुरानो हो । यसको कारणचाहिँ दार्जिलिङ (भारत) नजिकमा भएकोले हो । अंग्रेजहरूले आफ्नो उपनिवेश भारतमा जति पनि फलफूल, अन्नबाली अथवा अन्य वनस्पति ल्याए, सिलौटी क्षेत्रमा पनि सहजै भित्रियो । गाउँलेहरू बिहान–बेलुकीको छाक उसिनेको आलुले टार्थे । उसिनेको आलु टिम्मुरको अचारमा नचोप्दै जिब्रोले त्यसको स्वाद लिइसक्थ्यो । अल्लो र सिस्नुको हरियो दाल बाह्रैमास प्रयोग हुन्थ्यो । मूला र पातशाहीको साग तरकारी बनाइन्थ्यो । जरिङ्गो, दुङदुङे, जिम्बु, ठोट्ने मौसमी तरकारी थिए । चिङफिङ त खासा चट्नी भइगयो । लिम्बूहरूले मिक्थुम्बा भन्ने अर्खौलोको फल प्रशस्तै पाइन्थ्यो । अर्खौलोको पनि खोलेफाँडो बनाउन सकिन्छ भन्थे बूढापाका । युरोपियनहरूले त ओर्खौलोको फल सँुगुरको चारोका निम्ति संकलन गर्थे रे । पिटर मार्शलको युरोपज् लस्ट सिभिलाईजेसन अनुसार अमेरिकाबाट आलु, मकै पुग्नुअघि पुर्तगालको टोउरा उपत्यकाका बासिन्दाको पनि मुख्य आहार ढाडेकटुस नै थियो ।
    यहाँचाहिँ ढाडेकटुस भुटेर खाने प्रचलन थियो । मलाई कुटुक कुटुक ढाँडे कटुस टोक्दा यसको खोलेफाँडोको स्वादचाहिँ कस्तो हुँदो हो लाग्थ्यो ।
    राजनीतिक ध्येयका साथ अर्धभूमिगत भएको म सिलौटी क्षेत्रको जीवनशैलीमा ढालिइसकेको थिएँ । बाहिरी अघोरीजस्तै देखिए पनि भित्री रुपमा मेरो राजनीतिक मनसाय प्रस्ट थियो । राजाको कदमका विरुद्धमा प्रचारप्रसार गर्नु, संगठन निर्माण गर्नु र जनसंघर्षका लागि स्वयम्सेवक तयार गर्नु थियो । यसका लागि गाउँ–गाउँ भ्रमण गर्नु थियो । छिट्टै एउटा आमसभा गर्ने तयारी पनि हुँदैथियो । तर मेरो ताल हेरेर गाउँलेहरू त के साथीहरूले सम्म नपत्याउने अवस्था थियो । किनभने राजनीति भनेको त सुकिलोमुकिलो मानिसले गर्ने पो त भन्ने भ्रम थियो । एकदिन स्थानीय दिलबहादुर सुनुवार र साथीहरूले चुनौती दिए, ‘‘लु, एक्लै च्याङ्थापु पुगेर आउनुहोस् त ।’’ सिक्किम–भारत र पाँचथरको सिमाना च्याङथापु नाका रणनीतिक महत्वको थियो । यो सिलौटी क्षेत्रबाट निक्कै टाढा पनि पथ्र्यो । सायद यसैले पनि साथीहरूले मलाई चुनौती दिएको हुनुपर्छ । तर, संयोगको कुरा वोयाम र च्याङथापुमा दार्जिलिङमै चिनेको मेरा साथीहरू थिए ।
    एक बिहान च्याङथापु पुगेर आउने अठोटले हिँडें एक्लै । च्याङथापु पैदल हिँडेर दुई दिनमा पुग्न सकिन्थ्यो । सिलौटी क्षेत्रमा सेताम्मै हिउँ परेको थियो । स्याउँस्याउँती जाडो । कञ्चनजङ्गा हिमाल ताकेर हिउँ कुल्चँदै लागें । लालीखर्क हुँदै जोरसाल पुग्दा घाम निक्कै छिप्पिसकेको थियो । औंशी पूर्णे हाट लाग्ने जोरसालमा दुई तीनवटा पसल थिए । एउटा नेवार पसलमा खाना खाएर हेंवाखोलातर्फ ओरालो झरें । ओरालै ओरालो । हेंवाखोला तरेर भारपा उकालो लागें । उकालै उकालो । यस्तो उकालो कि चित्तै फाट्ने खालको । त्यसमा पनि मध्यान्हको चर्को घाम, उकालोमा हाराङराङ तीर्खा लाग्यो तर पानी कहीँ नपाइने । मुनि हेंवा खोला अबिरल बगेर गइरहेछ माथि सुक्खाले भारपा गाउँलाई प्याकप्याक्ती पारिरहेछ । बल्लबल्ल भारपा सिरानको एक तामाङ घरमा दुई आनामा एक लोहोटा पानी किनिखान पाएँ । यहीँबाट सुभाङ जाने बाटो छुट्टिन्थ्यो, सोधें र उतै लागें, करेमकरेम, तेर्सैतेर्सो ।
    सुभाङ टेक्दा रात ओर्लनै लागेको थियो । अनिकालको याम थियो । कस्तो घरमा खान पाइन्छ पाइँदैन अड्कल गर्न सक्थें म । बाटोको डिलमाथि बाहाँभरि मकैका झुत्ता झुण्ड्याइएको तीनतले बरण्डा भएको घरतिर उक्लें । संग्रौला परिवारको घर रहेछ । सिकुवामा बास पाएँ । खाटमा आसन जमाएँ । घरमूलीको नाम नेत्रप्रसाद संग्रौला रहेछ । तिनको २५/२६ उमेरका देखिने छोरासँग राति अबेरसम्म पुस १ गतेको घटनाबारे गफियौं । तिनले पनि राजाको कदमलाई मन पराएनन् । निरन्तर सम्पर्कमा राखे यो मानिस काम लाग्छ जस्तो लाग्यो । पछि थुप्रै पटक सम्पर्क गर्न पनि खोजें तर भेट हुनै सकेन ।
    संग्रौला परिवारले बिहानको पनि खाना खुवाए । च्याङथापु जाने बाटो बताइदिए । म बिदाबारी भएर चतुरे–जोरपोखरीतिर लागें । उकालोमा चार पाँचवटा खसी बाख्रा डोर्‍याउने दुई जना बेपारीसँग भेट भयो । उनीहरू वोयामका लिम्बुहरू रहेछन् । सँगै बाटोमा गफिँदै गयौं । जोरपोखरी जंगलको कुनै रुख पनि सुनाखरीको नाम्जा नझुण्डिएको थिएन । वारेकबुङ भन्ज्याङतिर त ढुंगा फारिएका, च्यातिएका काप्चाहरूमा पनि सुनाखरी नै सुनाखरी । किसिम–किसिमका सुनाखरी थिए । चौरासे वेपारीहरूलाई नानावली गफ चुट्न कसले भ्याउँथ्यो र ! दिउँसोभर हिँडिएछ, बाटो काटेको पत्तै भएन । बेलुकी वोयाममा एकजना लिम्बुको घरमा वास बसें । वेपारीहरू गफिँदै गफिँदै आ–आफ्ना घरतिर लागे ।
    वोयामबाट च्याङथापु खासै टाढा हैन । भोलिपल्ट विहान सहजै च्याङथापु पुगें । पुण्यप्रसाद खरेलको बारे सोध्दैखोज्दै गएँ । ऊ र वोयामको भूपाल खरेल दार्जिलिङका मेरा सँगाती थिए । भूपाल दार्जिलिङमै रहेछ । पूण्य घरैमा भेटियो । तीन दिन पुण्यको घरमा बसें । च्याङथापु क्षेत्रमा कसरी संगठन, प्रचार प्रसार गर्ने छलफल भयो । उसले गढी, जगात घुमायो, स्थानीयहरूसँग भेटघाट गरायो । च्याङ्थापुमा धेरै दिन रहने अवस्था थिएन मेरो । किनभने सिलौटीमा महत्वपूर्ण सभा गर्दैथ्यौं । हाम्रो निम्ति त्यो सभा स्टेट्स जनरल वा लोया जिर्गा समान महत्वको थियो । मेरो च्याङथापु गई छिमेकमा मिलिक्क अगुल्टो लिन गए सरहमात्र भयो । पूण्यप्रसादलाई संगठनको जिम्मेवारी दिएर चौथो दिन म सिलौटी फर्की हालें ।

    Wednesday, September 19, 2012

    ‘भलो कुराको नमुना’बारे -ह्रदयचन्द्र सिंह

    आदिवासी जनजातिलाई भुसतिघ्रे, स्वाँठे, जंगली भन्ने राममणि आ.दी.को किताब विमोचनमा मैले भोगेको घोर अपमान



    आदिवासी जनजातिलाई भुसतिघ्रे, स्वाँठे, जंगली भन्ने राममणि आ.दी.को किताब विमोचनमा मैले भोगेको घोर अपमान



    ‘भलो कुराको नमुना’ किताबका लेखक राममणि आ.दी. अपरिचित लेखक होइनन् । खासगरीकन आदिवासी जनजातिहरुलाई भुसतिघ्रे, स्वाँठ र जंगली भनेर हेपाहा दृष्टिकोण राख्ने गरेका कारण उनलाई नकारात्मक रुपमा स्मरण गर्ने गरिएको छ । तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा विमोचित कार्यक्रममा पनि जातीय उचनिचकै आधारमा सहभागीहरुलाई किताब दिने तथा खान्कीमा समेत कसैलाई मान र कसैलाई अपमान गरिएको थियो । त्यसका एक भुक्तभोगी हुन् हृदयचन्द्रसिंह प्रधान । त्यसबारे उनले ‘भलो कुराको नमूना’ शीर्षकमा निबन्ध लेखेका थिए । ‘कुरा साँचो हो’ संग्रहमा संकलित यो निबन्ध नेपाली समाजमा अहिले चलिरहेको बहसबारे बुझ्न ऐतिहासिक स्रोतसामग्री बन्ने ठानेर सामान्य सम्पादनसहित प्रकाशन गरिएको छ । शीर्षक हामीले दिएका हौं– सं. ।

    लेखक महासम्मेलनको निम्तो मलाई मीठो लाग्यो । सम्मिलन र सहयोगको आग्रह गरेर श्री राममणि आ.दी.जीले विशेष चिठ्ठी पनि पठाउनुभएकोले मिठास झन् बढेको थियो । त्यसैले ढलमलिरहेको स्वास्थ्यको कारण कमजोरीले पछाडि तानिरहे तापनि आ.दी.जीको आग्रहले मलाई हिँड्ने हौसला दिइरहेको थियो । आफ्नो घरबाट आ.दी.जीको घर झन्डै एक कोसको टाढा छ । आखिर श्री ‘व्यथित’ जीको साथ सकी–नसकी उचित समयमा पुगेर संतुष्ट भइहालें ।
    rammani dixit
    राममणि आचार्य दीक्षित
    पुग्नासाथ स्वागतको रुपमा आ.दी.जीले सस्नेह दुई अँगालो दिनुभयो । मेरो पुड्को, निर्धो र करङ कटुवा खिप्टे आङमाथि उहाँको भीमसेनी शरीर लादिंदा पनि अँगालोको रुपमा भएको हुनाले मलाई कति गह्रौं अनुभव भएन । स्वागत–सत्कार–स्नेह भनेको बस्तु साँच्चि नै मीठो रहेछ । अँगालो नत्र गह्रौं पनि हुने थिएन, म पुड्को र उहाँ भीमसेन जस्ता मोटा र अग्लो हुनुभएकोले मलाई अँगाल्दा नियन्त्रणमा राख्न अलि सक्नुभएन, त्यसैले अँगालो जस्तो प्यारो पदार्थले पनि म अलि थिचिएँ, र सास्तिएँ ।
    सभास्थल निकै रवाफिलो देखिन्थ्यो । मञ्च पनि खुबै शानदार थियो । सामन्ती अँगालोमा हुर्केका र राजसी भर्‍याङ उक्लिरहेका मानिस आफ्ना काम–कारबाइमा रौनक चढाउन स्वभावैसित जान्दछन् । त्यसैले रोवरवाफ पुगेर फुर्तिलो भएकोमा सभास्थलको म बढ्ता तारीफ नगरुँ । वास्तवमा सभा उति महत्वपूर्ण नभएता पनि सभास्थल र मञ्च आदि वाह्य पृष्ठभूमिको सजावट त वर्णननीय नै छ । हुन पनि सभाको वास्तविक उद्देश्य सभाको कुनै महत्वपूर्ण आदान–प्रदान वा छलफल वा निष्कर्षको निम्ति पनि त होइन, आफूले साहित्यको उत्थान गरेको पचास वर्ष भइसकेको र त्यो पचास वर्षलाई आफूले गरेको कामको रजत–जयन्ती मानी त्यसभित्र आफूले गरेको सेवा सबैमा विदित गराउनु हो ।
    महासम्मेलनमा देवकोटाजी बाहेक प्रायः गन्यमान्य कवि लेखक सबै सम्मिलित हुनुहुन्थ्यो । लेखकहरुको अतिरिक्त माननीय प्रधानमंत्री र अरु पनि धेरै प्रतिष्ठित र महा मानिसहरु पनि उपस्थित हुनुहुन्थ्यो । सभा हुनुभन्दा अगि लावा, फूल, अबीरले सबै अभ्यागतलाई पूजा गरी खुब स्वागत गर्नुभो । त्यसमा पचन्नीहरु पनि राखिएका थिए । नेपालमा भएका आजसम्मका कुनै सम्मेलनमा लेखकहरुले त्यति पूजा र स्वागत कहिल्यै पाएका होओइनन् । अनि सभा शुरु हुनलाग्यो । सभापतिको आसन माननीय प्रधानमंत्री मातृकाप्रसाद कोइरालालाई ग्रहण गर्न राममणिजीले अनुरोध गर्नुभो । अरु धेरै योग्यता र प्रतिष्ठाको साथसाथै उहाँ ब्राह्मणमा पनि शुद्ध ब्राह्मण हुनुभएकोले मातृकाजीलाई रोज्नुभएको रहेछ । सभापतित्वका प्रस्तावमा यही वाक्य थियो । यही यहाँ वाक्य थियो । तर राममणिजीको दाँजोमा मातृकाजी पनि शुद्ध ब्राह्मण हुनु होओइन भन्ने मलाई विश्वास छ । त्यसैले शुद्ध ब्राह्मणको नातामा आफै सभापति पनि बन्नुभएको भए सभा झन् चोखो हुने थियो । यस्तो बिटुलो संसारमा अझ पनि शुद्ध ब्राह्मण बाँकी रहेकोले नै संसार अडिरहेको हो कि कुन्नि !
    सभापतिको आसनबाट मातृकाजीले बोल्नुभएको वक्तव्य सुनेर लेखकहरु संतुष्ट भएको देखें । किनभने लेखकहरुले योजना दिएमा नेपाली भाषा, साहित्य र लेखकहरुको राम्रो कदर गर्ने आश्वासन दिइएको थियो । आफ्नो भनाइमा मातृकाजी बाँचिरहनुहोला भन्ने म आशा गर्दछु ।
    मैले संझें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ ।
    सभापतिजीको भाषणपछि सभाका संयोजक सर्वश्री राममणिजी, कविशिरोमणि लेखनाथजी, पं. मुरलीजी आदिको वक्तव्य दिइनलागे । भाषणको चालमा नै पुस्तक वितरण गर्ने काम पनि चालु भइरहेको थियो । पुस्तकको चाङमा दुईथरीका पुस्तक थिए : एक अजिल्द र एक सजिल्द । मैले ठानेको थिएँ आज दुई किसिमका पुस्तकको दान पाउन लागें । तर पुस्तक बाँड्दा प्रत्येकलाई २/२ पुस्तक दिइएको देखिनँ । कसैलाई अजिल्द चाहिँ, कसैलाई सजिल्द चाहिँ एउटा–एउटा मात्र दिइयो । सबभन्दा पहिले श्री केदारकान ‘व्यथित’जीलाई दिइयो । कुन आधारको निम्नोच्च स्तरमा अजिल्द र सजिल्द पुस्तक बाँडिएका हुन्, त्यस बेला झट्टै मैले बुझ्न सकिनँ । सिद्धिचरण, व्यथित, भिक्षु, भीमनिधि आदि बडे–बडे कविहरुलाई पनि अजिल्द पुस्तक दिइएको देखें, फेरि बालकृष्ण सम र लेखनाथलाई भने सजिल्द । जब जनार्दन समलाई पनि सजिल्द दिइयो, अनि मलाई थाहा भयो, राणा बाबुसाहेब र ब्राह्मण देवतालाई उच्च स्तरमा गन्नुभएको रहेछ । बालचन्द्र शर्मा, बाबु्राम आचार्य पनि ब्राह्मण भएको हुनाले नै सजिल्दका भाग्यमानी हुनुभएको रहेछ । तर भीमनिधि, गोपाल पाँडे पनि ब्राह्मणै हुनुहुन्छ, उहाँहरुलाई भने आजिल्द नै दिइए । धेरै विचार गरिसकेपछि मलाई अनुमान भयो, उहाँहरु कुमाई हुनुभएकोले राममणिजीको दृष्टिमा शायद शुद्ध ब्राह्मण भएन कि ? पूर्वी मात्र उहाँको आँखामा शुद्ध ब्राह्मण ठहरिएको जस्तो मलाई लाग्यो । दर्जाको विचार गरेर बाँड्नुभएको हो भनूँ भने पनि उपमन्त्री जस्तो भइसकेका धर्मरत्न ‘यमि’ पनि अजिल्द, फेरि काजी मीनबहादुरलाई भने सजिल्द । शायद प्रजातन्त्रको दर्जा र मर्यादा उहाँलाई तीतो लाग्यो कि कुन्नि ? मीनबहादुर काजी राणाशाहीको जमानाका काजीसाहेव हुनुहुन्छ । त्यसैले उहाँले सजिल्द पाउनुभएको होला ।
    एउटा मानिस त हाएमोपहाँ पनि देखाए, अर्थात् बिना निमन्त्रणामा आएका । उनको निम्ति त ‘लेखक महा सम्मेलन’ एउटा कलेज जस्तो भयो होला, किनभने “तपाईंको नाम त मेरो लिस्टमा छैन” भन्ने बेइज्जत मात्र पाए, कितापको दाम र फलफूलको टपरी–सपरी केही पनि पाएनन् । हाएमोपहाँ भएर जानेहरुलाई यो सानो शिक्षा होइन । उनको लोभी बानीलाई राममणिजीले लोप्पा ख्वाएर ठुलो उपकार गर्नुभयो । किनकि अब उनी कहिल्यै त्यस्ता लोभी हुनेछैनन् ।
    पुस्तक वितरणको साथसाथै सभाको चालमा नै टपरीमा राखी फलफूल पनि बाँड्न लगाउनुभएको थियो । मलाई त पुस्तकभन्दा अगि फलफूलको टपरीले मिजास गर्न आयो । मैले संझें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ । फलफूल मीठो कुरो भएर पनि मैले मीठो स्वादले खान सकिनँ ।
    वक्तव्य दिनेहरुमा पं. मुरलीको पालो आउँदा फलफूल बाँडिन लागेको थियो । मुरलीजीको आग्रह थियो, खाना छोडेर मेरो वक्तव्य नै सुनून् तर उहाँको भनाइमा प्रभाव र कला नभईकन आदेश र उपदेश श्रोताहरुमा लदाउन लागेको जस्तो मानिसहरुलई लाग्यो । उहिले असनमा पुराण भन्दा त्यत्रो प्रभावशाली व्यक्ति, आज किन हो कुन्नि मानिसहरुलाई प्रभावहीन लागेको होला भन्ने उहाँप्रति मलाई माया लाग्यो । हुन त श्रोताहरुले फलफूल खाँदै गरेर पनि उहाँको वक्तव्यमा ध्यान दिनलागिरहेका थिए । त्यसको वास्तै नगरीकन आफ्नो वक्तव्यले लठ्ठ पार्नुसक्नुभएको भए खान रोकेर मानिसले ध्यान बिछ्याउने थिए । खाना पनि राम्रो मानिने, भनिने कुरा पनि राम्रो भएको खण्डमा म त मुख र कान दुवैले उतिकै काम लिनसक्छु । आखिरमा मुरलीजी रिसाएर वक्तव्यै नदिईकन मञ्चबाट वर्लनुभो । उहाँको वक्तव्य सुन्न नपाएकोमा मलाई त अफसोस लाग्यो तर समय किफायत भो भनेर धेरै मानिस खुशी भएको देखें ।
    मेरो साथमा आउनुभएको श्री ‘व्यथित’जी त अगावै हिंडिसक्नुभएछ । मैले अड्माल गरें कि पुस्तक–वितरणमा भेदभाव गरिएकोले उहाँ ‘वाक्–आउट्’ रुपमा जानुभएको होला । ‘ठिक हो’ भन्ने विचार गरी म पनि पुस्तक दिन नपाउँदैमा त्यहाँबाट निस्कन खोजें । “कसलाई सजिल्द दिने, कसलाई अजिल्द” भन्ने नामावलीको सूची सभा–बीचमा उभिएर हेरिरहेको जुद्धशमशेरी सिंहदरबारी दृश्य देखेर मलाई बान्ता हुनलागिरहेको थियो, त्यसैले निस्कनु भनी म उठें । तर पुस्तक नलिईकन मैले निस्कन पाइनँ । मलाई पनि अजिल्द पुस्तक दिइयो । पुस्तक हातमा पर्दा मलाई पोइल गएकी आमाको साथमा उनको दाइजो माल बोकी झड्किलो बाबुकहाँ पुर्‍याउन जाने नादान मानिसलाई केही बोल्न नसकेकोले झन् भारी गह्रौं भएजस्तो त्यो पुस्तक अपठ्यारो र गह्रौं भयो । घर आइपुगिसकेपछि केही बोल्न र फ्याँकेर आउन नसकेको आफ्नो कमजोरी देखी घृणा भयो । जुवामा हज्जार हारेर दश जिताउरी लिएर आएको रुपियाँमा जस्तो त्यो पुस्तक लिएर आएकोमा मलाई पछुताउ, बेमज्जा र अपमान अनुभव भयो ।
    त्यो वितरणको पुस्तक हातमा लिएदेखि अगाडि पुग्नासाथ स्वागतमा दिनुभएको फूल जस्तो हलुङ्गो, राम्रो र मीठो राममणिजीको अँगालो त राक्षसले थिचेको जस्तो पो गह्रौं अनुभव भयो । गह्रौं अनुभव मात्र होइन, उहाँका ती दुई अँगालो अहिलेसम्म पनि राक्षस बोकिराखेकै जस्तो भइरहेका छन् । स्वस्थानीको ७ वर्षकी गोमा ब्राम्हिणीलाई ७० वर्षको शिवशर्मा ब्राह्मणले अँगाल्दाको तीतो अनुमान कहाँ–कहाँबाट एक्कासी अनुभूत भएर राममणिजीको अँगालोले झन् मलाई राक्षसी धावा गर्‍यो । घर फर्कंदा त कहिले पुगूं जस्तो भयो । बाटो झन् लामो लाग्यो । आउँदा मेटिसकेको थकाइ पनि फेरि फर्केर आयो । तर २/४ सय कदम के आइसकेको थिएँ, प्रधानमन्त्री मातृकाबाबु पनि फर्कनुभएको भेटियो । उहाँले मोटर रोकी आरामसित राखेर घर (काठमाडौं) पुर्‍याइदिनुभो । उहाँको त्यो अनुग्रहको निम्ति कृतार्थ छु ।
    त्यहाँ त किताबको नाउँसमेत पनि हेरेको थिइनँ, घर आएर हेर्छु त पुस्तकको नाम रहेछ “भलो कुराको नमूना ।” भलो कुराको नाउँले दिल अलि ठंडा भयो । बाँड्दा भेदभाव भएरै पनि के भो, किताब त भलो कुरा सिकाउने रहेछ भनेर संतुष्टै भएँ । अगाडिको असंतुष्टि बिर्साएर पुस्तक पल्टाउन थालेँ । पुस्तक पल्टाउनासाथै देखें :
    नेपालीको भात नै छ नेपालीत्व जगाउने ।
    हाम्रो कट्टरतामा छ प्रभाव त्यहि भातको ।।८०।।
    प्रभावले भातको नै हाम्रो, रगत शुद्ध छ ।

    –भलो कुराको नमुना
    यत्रो विज्ञान–महिमा त्यो जावो भातबाट छ ।।८१०
    भातैले हाम्रो रक्त बगेको शुद्ध देख्छु ।
    ठीमाहा बरु पोपेर दींदैनौं भात बिग्रन ।।८११
    भोटे, पोडे, अनी सार्की, दमाई र कसाईमा ।
    सरोबरी गरी हाम्रो धज्जी फ्याकल्यान् विचार है ।।८१२
    मठयाहा वेग नै पारी सद्देको मान राख्छौ्र ।
    यसको अर्थ हो, प्यूरी, फीकेसन् ब्लड स्पष्टमा ।।३१३

    यी कुराहरु देखें । त्यो दिन एक निम्तामा भात खाएर आएको थिएँ । निम्तावाल थिए, भात नमिल्दा, एक किसिमका ठिमाहा, मध्याहा न थिए । तर भात खाने निम्त्याहाहरु भने बाहुन पनि थिए, क्षत्री पनि, अझ झण्डै एक दर्जन जातिका मानिस थिए । “जावो भातमा पनि केको नेपालीत्व, यो त झन् नरक पठाउने कुरा पो हो, केको भलो ?” भन्ने मलाइ खट्क्यो । तर एउटा–दुइटा खट्कने कुरा त प्रायः कितापहरुमा हुन्छन् भन्ठानेर कितापहरुलाई नफ्याँकीकन मैले फेरि पल्टाउन थालें, यस्सो पल्टाउँछु त देख्नथालें–
    जंगली, पर्वते काँठे, भूसतिघ्रे गँवारको ।
    यो देश हो हे भगवान् ! राखी द्यौ यो त्यसै गरी ।।४३६
    जंगली हामीमा ऊँचो शिक्षा चाहिन्न क्यै पनि ।
    शिक्षाले पेट भर्दैन पेट भर्दछ काम नै ।।४३८
    × × ×
    तिघ्रे र पर्वते स्वाठे जुन् हाम्रा दाज्यु–भाइ छन् ।
    ती तेही रहि बाचून, हुनु पर्दैन सभ्य ती ।। ९०१
    × × ×
    हरे ! शहर हो खोक्रो पाखँडीहरुको गड ।।९०५
    बरु पर्वतकै बासी राम्रो आर्यत्व पालछन ।

    यस्तै सरसरी पुस्तक हेर्न थालेको त प्रजातन्त्रको निन्दा (ठीक छैन प्रजातन्त्र पक्षपात जगाऊँछ ।।१०४४) र हुकुमी शासनको समर्थन (राजतन्त्रै छ एऊटा हितसाधक आर्यको । आर्य रैती हामीहरु चाहन्नौं लोक–तन्त्र यो ।।११४४), अनि आर्य जातिको तारीफ र आर्यवाहेक अरु गैह्र जातिको अवहेलना (अरु जातहरुको झैं, पुख्र्यौली आर्यहरुको । डाँका मारी लुटेरा झैं, बसेका पाउँछौ कहीं ? ।।१२९), आर्यमा पनि ब्राह्मणको एकछत्र अधिकार (बाहुन क्षत्रियैवाट मन्त्रिमण्डल जोरनू ।।१२९२ बाहुन क्षत्रियहरुमा पनि उच्च कोटिको ।।१२९३), राणशाहीको फेरि गुन आह्वान (प्रतापयुक्तका धीर, वीर, चन्द्र समानका । अन्यर्थ रैती हूँदा नै यो देश यसरी चढ्यो ।।४४२) इत्यादि मात्रै देखें ।
    किताप त साँच्चिकै ‘भलो कुराको नमूनै’ रहेछ, यो हो “२०१० साल अर्थात् बिसौं शताब्दीमा निस्केको किताप” भनेर बन्दमात्र के गरेको थिएँ कानमा जनै बेह्री निदारभरि टीका लगाएका लमटुप्पी एउटा बाहुनबाजे टुप्लुक्क आइपुगे । उनी ‘चोखो चना चमेना भण्डार’ का मालिक पनि हुन्, चाकर पनि । पात महंगो भएर उनी वडो दिकदार थिए, किनभने कागज पनि उनी जे पायो त्यो व्यवहार गर्दैनथे, केही नलागीकन चोखोमात्र भएर पुग्ने होइन, चोखो कुरा लेखिएको पनि हुनुपर्ने भएकोले चना पोको पार्नको लागि सधैं चोखो लेखोट भएको कागज खोजेर हिँड्थे । झोलीमा गरमागरम चना बोकिएको पनि थियो । उनलाई देख्नासाथै मेरा केटाकेटीहरु झुम्मिन थाले । मलाई पनि खाउँ–खाउँ लाग्यो । ‘भलो कुराको नमूना’ लाई देख्नासाथै उनले बडो रुचाए । किनभने त्यसमा शीर्षकको निदारमा “आचारः परमो धर्मः” लेखिएको थियो । एकमाना चना दिने कुरा गरे । मैले पनि विचरा भन्ठानेर ३ रुपियाँ मूल्य लेखिएको किताप भएपनि, ‘लौ’ भनिदिएँ । त्यस्ता मानिसलाई प्रोत्साहन नदिऊँ भने पनि चोखो कागज नपाएर चना बेच्न नै छोडिदिन पनि बेर छैन । अनि श्री राममणिजी जस्ता चोखो भएका, तर गरिब आर्य ब्राह्मणहरुको भोक कहिलेकाहिं चना चमेनाले टरिरहेको पनि एकातिर जानसक्छ । खाली कागजमा पोका पार्नलाई कति पनि त पर्दैन ।
    मलाई पनि लाग्यो, एक माना चनामा ३ रुपियाँ जाने ‘भलो कुराको नमूना’ बेचेको भलो कुरा अर्थात् भलो कामै गरेको मानें ।