Wednesday, October 11, 2017

के यो प्रचण्डको हत्या होइन ? - दिल निशानी मगर

नरेन्द्रजंग पिटर र म एकदिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थियांै । रातको ९ बजेको हुनुपर्छ । प्रचण्डसँग वार्ता गरिरहेका थियौं । साथमा अन्य केही व्यक्ति हुनुहुन्थ्यो । 

वार्ता भन्नाले त्यस्तो घनीभूत मुद्दा केही थिएनन् । हामी को हौं र त्यस्तो वार्ता गर्ने ? तर, त्यो दिन प्रचण्ड सरकारको सन्दर्भमा केही प्रतिक्रियावादी शक्ति र खासगरी एमालेको तर्फबाट विभिन्न भ्रम प्रचार हुँदै थियो । 

बालुवाटार परिसरमा केही विदेशी नम्बर प्लेटका गाडी थिए । सायद विदेशी दूतावासको हुनुपर्छ । सम्झनास्वरूप नरेन्द्र जंग पिटरसँग एक कपी सेल्फी खिच्ने निर्णय गरें तर उहाँले मान्नुभएन । उहाँको कथन थियो, ‘आज मलाई किन–किन मनमा शंका लागिरहेको छ, केही अनिष्ट हुन्छ भन्ने । त्यसैले यस्तो अवस्थामा हामी बालुवाटारमा रहेको कुरा बाहिर थाहा दिनुहुन्न ।’

उहाँको दूरदृष्टि देखेर चकित भएँ । उहाँलाई त्यो कुराको पहिल्यै जानकारी थियो वा परिस्थितिको आकलन गर्न सक्नु उहाँको विशेष गुण छ ठोकुवा गरेर भन्न सक्दिनँ । तर, बूढाले आकलनचाहिँ खतरा गरेको हो । हाम्रो गाउँको अन्तरे ज्योतिषीले पनि यस्तै–यस्तै खतरा आकलन गर्थे तर दुःखको कुरा उनी पिटरजस्तै कम्युनिस्ट थिएनन् । 

हामी बालुवाटारको एउटा कोठामा बसिरहेका बेला फोन आयो । प्रचण्डले फोनमा कुराकानी गर्न आनाकानी गरे । सायद त्यो फोन सभामुख ओनसरी घर्ती मगरको हुनुपर्छ । उताबाट आवाज आइरहेको थियो’, आजै गर्ने कुरा छ, म यति रातिसम्म पनि कार्यालयमै छु । चौतर्फी दबाब आइरहेको छ । अगाडि बढाउनुपर्ने भयो ।’

तर, आजै गर्नुपर्ने के त्यस्तो विडम्बना आइलाग्यो प्रचण्डलाई थाहा थिएन । चौतर्फी दबाब के हो र किन आजै बढाउनुपर्ने भयो त्यो पनि सुइँको थिएन । शरीरको भाषा र हाउभाउले संकेत गरेको थियो वास्तवमा के भइरहेको छ, उनलाई केही थाहा छैन ।

आखिरमा भेद खुल्यो । पूर्वलडाकु कमाण्डरको अगुवाइमा लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव पारित गर्न हस्ताक्षर संकलन भइसकेको रहेछ । खिलराज रेग्मीले के–कति कारण लोकमानलाई अख्तियार प्रमुख बनाएका थिए र तत्कालीन राष्ट्रपति रामवरण यादवले त्यो फाइलमा हस्ताक्षर गरेका थिए, त्यतापट्टि नजाऊँ तर लोकमानको सन्दर्भमा नेपालका सम्पूर्ण राजनीतिक दलबीच कार्यगत एकता थियो ।
तर, उनी आफू मिलिजुली सरकारको नेतृत्व गरिरहेका बेला लोकमानलाई महाभियोग लगाउने पक्षमा थिएनन् । देउवा पनि अनुदार थिए । कनकमणि दीक्षितहरू लोकमान भित्तामै पुगेको देख्न चाहन्थे । तर, असनको साँढेको उपनाम पाएका लोकमानलाई हलचल गराउँदा सत्ता नै हलचल हुने सम्भावना थियो । 

जस्तो कि पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल पनि असनको साँढै नै थिए, जसलाई चलाउँदा प्रचण्डले सडकमा आउनुप¥यो र नागरिक सर्वोच्चताको आन्दोलन उठ्यो । सरकारमा भए पनि, नभए पनि त्यसलाई जनताले एउटा क्रान्तिकारी स्पिरिटका रूपमा बुझेका थिए ।
आलेख छासमिस नगरांै । पुरानो नजिरलाई उदाहरणका रूपमा उल्लेख गरेको हुँ । म उनको नाम लिन चाहन्नँ । शाही थरका उनी पूर्वलडाकु कमाण्डर हुन् । अहिले मन्त्री छन् । सानो प्रयासले मन्त्री भएका होइनन् ।

देखिस् प्रचण्ड तँ को होस् ? तँविनै मैले महाभियोग हस्ताक्षर संकलन गरें । तँ मैले गरेको काममा नाकले जोतेर उपस्थित हुनै पर्छ । नेता कसैलाई मानिँदैन, हामी नै हो नेता । यस्तै किसिमको आचरण प्रदर्शन गरेर, प्रचण्डलाई धम्क्याएर र सांकेतिक रूपमा भुत्ते बनाएर प्रचण्डबाट फाइदा लिनेहरूले उनको राजनीतिक विचारको हत्या गर्न खोजिरहेका छन् ।

लोकमानलाई महाभियोगको प्रस्ताव सही थियो कि थिएन अलग कुरा हो । पक्कै पनि विभाजित समाज हो यो । विचार पनि विभाजित छन् । तर, जनवादी व्यवस्थाका लागि युद्ध लडेको एउटा कम्युनिस्ट पार्टीको सांसदले जसरी लिडरसिपलाई नै च्यालेन्ज गरे त्यो आश्चर्यजनक घटना थियो ।

शाहीको कदम सभामुखको मुखबाट सुनेपछि प्रचण्ड रातोपिरो भए । र, वर्षमानको खोजीमा उठेर गए । नरेन्द्रजंग पिटर कतिखेर बालुवाटार छाडेर घर पुगे पत्तै भएन । महाभियोग प्रस्ताव दर्तापछि नैतिकताका आधारमा प्रचण्डले आफ्ना सांसदको हस्ताक्षरलाई स्विकार्न बाध्य हुनुप¥यो । 

त्यस अगाडिको एउटा रोचक घटनाको किस्सा यसैसँग सम्बन्धित छ । लोकमानलाई महाभियोग लगाउनु केही दिनअगाडि पूर्वलडाकुहरूले पेरिसडाँडा पुगेर प्रदर्शन गरेका थिए । कनकमणिका भाइ पत्रकारले ‘माओवादी कार्यालय पेरिसडाँडा कब्जा’ शीर्षकमा समाचार लेखे ब्रेकिङ न्युजको रूपमा । केही समयपछि कनकमणिले सामाजिक सञ्जालमा फोटो पोस्ट गरे ।

यो घटना बाहिरबाट झट्ट हेर्दा सामान्य लागे पनि निकै रणनीतिक महŒवको थियो, प्रचण्डलाई धम्की दिने, सातो काड्ने र शक्तिविहीन भुत्ते गराउने सन्दर्भमा । किनभने यो पार्टीभित्र र बाहिरका अवसरवादीहरूको चलखेल थियो । तपाईं अहिले मिडिया हेर्नुभयो भने माओवादीका केही मन्त्रीको खासै आलोचना देखिँदैन । र, मन्त्री हुनुपर्ने नेतालाई मन्त्री बनाएका छैनन् प्रचण्डले । आफ्नो सुरक्षाका लागि धम्की दिनेहरूलाई खुशी बनाउने काम मात्र भएको छ ।

उसो त माओवादी पार्टीमा फलाना पद दे, फलना संस्थानमा नियुक्ति गर, फलानाका लागि सिफारिस गर नत्र पार्टी छाड्छु, विद्रोह गर्छु भन्ने संस्कृति नयाँ होइन, माओवादीका लागि । प्रचण्डले धेरै धम्की सहे । अहिले भन्दा नमीठो महसुस होला । जनार्दन शर्मा प्रभाकरको सत्य प्रवेश पनि धम्कीपूर्ण राजनीतिबाट प्रवेश भएको थियो । अन्यथा उनीभन्दा धेरै सिनियर नेता माओवादीमा थिए जो विचलित भइसके ।
मलाई त प्रचण्डको गालामा चड्कन लगाउने त्यो कुँवर भाइ पनि पार्टीभित्रैबाट परिचालित थिए भन्ने शंका लागेको छ । प्रचण्डको पावरलाई कसरी हुन्छ उपयोग गर्ने उद्देश्यसाथ दशकयता पार्टीभित्रबाटै सयांै लिखित, मौखिक र भौतिक धम्की झेल्नुप¥यो । पक्कै पनि यस्तो अराजनीतिक हर्कतले प्रचण्ड कमजोर बन्दै गएका थिए । प्रचण्डले आफूलाई सुरक्षा खतरा भएको कुरा पटक–पटक आफंैले खुलस्त गरेकै हो । 
विप्लव मात्र यस्तो एउटा लडाकु कमाण्डर देखिए जसले प्रचण्डलाई पद र पावरभन्दा पनि विचारका लागि धम्की दिए । हातमा आइसकेको मन्त्री पद बहिष्कार गरेर नयाँ पार्टी निर्माण गरे । यद्यपि, विप्लवलाई चेक एण्ड ल्यालेन्स गर्न वर्षमान पुनलाई अगाडि बढाउनु प्रचण्डको ठूलो उपलब्धि हो अन्यथा तत्कालीन शिविरमा हतियारसहितको विद्रोह सम्भव थियो ।

अहिले गाउँपालिकाको अध्यक्षदेखि नगरपालिका प्रमुखसम्मको टिकट कम्तीमा ८० प्रतिशत धम्कीबाट प्राप्त गर्छन् नेताले । ती धम्की पार्टी छाड्नेदेखि असहयोग गर्नेसम्मको सामान्य हो । आफूले टिकट नपाए चुनाव प्रचारमै नजाने र उस्तै परे अर्को पार्टीको उम्मेदवारलाई सहयोग गर्न पैसा खाने, अन्तिम समयमा आएर उम्मेदवारी नै फिर्ता गर्ने । यस्तो प्रवृत्ति हालसालै मात्रै देखा परेको होइन ।

यस्तो अवस्थाको आकलन प्रचण्डले नगरेको पनि होइन । उनले आफूलाई खतरा भएको बारेमा पटक–पटक बोल्दै आएका हुन् । अहिले पनि सुरक्षा व्यवस्था विशेष छ । ओली र देउवालाई भन्दा भरपर्दाे । पछिल्लो समय आफूलाई मिडिया र मानिसले प्रचण्ड भनेर सम्बोधन नगरेकोमा चित्त मात्रै दुखाएनन्, पेरिसडाँडामा कार्यकर्ता, नेतामाझ भनेका थिए, ‘एउटा बिग्रेको पार्टी जनतालाई देखाउनु भन्दा विघटन गर्छु ।’

प्रचण्डलाई मानिसले प्रचण्ड नभनेको अनुभूति उनी आफंैलाई हुनु पनि प्रचण्डको हत्या नै हो । हो कि होइन ? हुन त प्रचण्डले जे भने पनि ठीक भन्ने पञ्चायती टाइपका हनुमानहरू पनि नभएको होइन । तर, जनता त अवसरवादीलाई चिन्दैनन् । श्रीमतीलाई जागिर खुवाउने, मामा काकाको सरुवा गर्ने र विभिन्न शीर्षकको कमिसन बटुल्नेबाहेक तीबाट अरू अपेक्षा पनि गर्न सकिँदैन । तर, यहाँनेर भन्नु नै पर्ने हुन्छ ः माओवादी पार्टीलाई प्रचण्ड होइन अल्छी, ठग, घमण्डी, पूर्वाग्रही कार्यकर्ताले सखाप पारेका हुन् ।

आन्दोलन गर्न नसक्ने, विद्रोहमा जान पनि आनाकानी गर्ने, चुनावमा राम्रो नतिजा देखाउन नसक्ने तर पद र पावरचाहिँ नेतृत्वलाई थर्काएर हुन्छ कि भ्रममा पारेर हुन्छ कि के गरेर हुन्छ हात पार्ने संस्कारले प्रचण्डलाई ठूलो तनाव दिएकै छ । कम्युनिस्ट पार्टीको नेता भएर लेख, पढ र रचनात्मक काम नगर्ने, संगठन निर्माण पनि नगर्ने । खाली प्रचण्डलाई धम्की दिने । के यो प्रचण्ड विचारधाराको हत्या होइन ?

http://www.janaaasthanews.com.np बाट साभार 

Tuesday, October 10, 2017

चुनौतीपूर्ण कम्युनिष्ट एकता प्रयास - बोर्णबहादुर कार्की

नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्ट आन्दोलन सबभन्दा प्रभावशाली आन्दोलन हो । बढी जनमत र जनसमर्थन यो आन्दोलनप्रति छ । विभिन्न कम्युनिष्ट पार्टीमा यो आन्दोलन विभाजित भएको कारणले राष्ट्रिय राजनीतिमा दोस्रो हुने गरेको छ । प्रमुख कम्युनिष्ट पार्टीहरु वीचको एकताविना यो आन्दोलन पहिले हुने सम्भावना न्यून छ ।
यो वास्तविकतालाई कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकले आत्मसाथ गर्नु सहकार्यको एउटा महत्वपूर्ण कारण हो । साथै यो आन्दोलनको चरित्र विशिष्ट प्रकृतिको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आमूल परिवर्तनको मात्र होइन राष्ट्रियताको एजेण्डालाई पनि निरन्तर अवलम्वन गर्दै आएको छ ।
केही बर्ष यता राष्ट्रियताको जग अस्वाभाविक रुपमा भत्किँदै गएको छ । राष्ट्रियताको संरक्षण सम्वर्द्धन प्रमुख कम्युनिष्ट पार्टीहरुको एकताविना सम्भव देखिँदैन । राष्ट्रियताप्रति चिन्तित कम्युनिष्ट पार्टीका कार्यकर्ता, शुभचिन्तक र समर्थक जनताको चाहाना कम्युनिष्ट पार्टीहरु एक भई राष्ट्रियताको संरक्षण र सम्वर्द्धन गरुन भन्ने रहेको छ । चुनावी गठबन्धन र एकीकरणका यी नै उल्लेखनीय कारण हुन् ।
बाह्य प्रभाव
अहिलेको विश्वमा कुनै पनि त्यस्तो देश छैन, जहाँ वाहृय प्रभाव नपरेको होस् । वाहृय प्रभाव कुनै देशमा घटी र कुनै देशमा बढी छ भन्ने मात्र हो । नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको वीचमा रहेको छ । नेपालको भूमिमा हुने राजनीतिक देखि हरेक गतिविधिको दुवै देशमा प्रत्यक्ष प्रभाव पर्दछ ।
यसैले यी देशको चासो र चलखेल यहाँको राजनीतिमा हुनु कुनै अस्वाभाविक कुरा होइन । यी देशहरुसँग खेल्नको लागि अन्य वाहृय शक्तिहरु विशेषतः पश्चिमा शक्तिले पनि यहाँ चाँसो चलखेल गर्दै आएका छन् । केही बर्ष यता यहाँ दुई छिमेकी मुलुक र पश्चिमा शक्तिको चलखेल निकै बढेको छ । यो घटनाक्रममा पनि बाहृय चलखेल छैन भन्न सकिँदैन ।
हिजो एमाले-माओवादी गठबन्धन तोड्नका लागि एउटा छिमेकी राष्ट्रले पश्चिमा शक्तिको डिजाइन अनुसार भूमिका निभाएको थियो भन्ने गरिन्छ । अहिले प्रमुख कम्युनिष्ट पार्टीहरुवीच एकता हुनुमा कसैले भूमिका निभाएको हुन सक्दछ ।
कुनै पनि देशको राजनीतिक जव तरल र अस्थिर हुन्छ, त्यतिबेला बाहृय शक्तिहरुको चलखेलको स्वभाविक रुपमा बढ्छ । ०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तन समयमै उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा राजनीतिक तरलता लामोसम्म रहेको हो । यस्तो प्रतिकुल अवस्थामा प्रमुख पार्टीहरुले वाहृय चलखेललाई सीमित गर्नका लागि साझा धारणा बनाउनुको सट्टा बाहृय शक्तिको सहयोग र समर्थनमा आˆना प्रभाव विस्तार गर्न खोज्दा यहाँको राजनीतिमा वाहृय चलखेल अस्वभाविक रुपमा बढेको हो ।
नाम नै किटेर भन्नु भन्दा बाहृय शक्तिले गरिहेको चलखेलको प्रवृत्तिगत कुरा गर्दा उपयुक्त होला । एउटा बाहृय शक्तिले यहाँ आफू अनुकुलको नियन्त्रित अस्थिरता सृजना गर्दै आएको छ । यो शक्ति यहाँ अनियन्त्रित अस्थिरता भएमा आफ्नो सुरक्षामा प्रत्यक्ष आइपर्ने कुरामा भने सचेत देखिन्छ । दोस्रो- बाहृय शक्ति यहाँको राजनीतिक अस्थीरता आˆनो सुरक्षामा प्रत्यक्ष असर पर्ने सोच्दछ र सँधै यहाँ राजनीतिक स्थिरता र शान्ती चाहन्छ । तेस्रो- बाहृय शक्ति यहाँ बढीभन्दा बढी अस्थिरता सिर्जना गरेर आˆनो अभिष्ट पूरा गर्ने खेल खेल्दै आएको छ । केही बर्षयता नियन्त्रित र अनियन्त्रित अस्थिरता सिर्जना गर्ने दुई बाहृय शक्तिले संयुक्त भूमिका निभाई रहेको कारणले यहाँको राजनीति समाल्न नसकिने गरी विथोलिएको हो ।
छिमेकी मुलुक भारत यहाँको राजनीति आफ्नो मुठ्ठी भन्दा अलिकति पनि बाहिर नजाओस् भन्ने चाहान्छ । यहाँ राजनीतिक स्थिरता भयो भने आफ्नो प्रभाव कमजोड होला भन्ने सोच्दछ र निरन्तर आˆनो अनुकुलको अस्थिरता खडा गरिरहन्छ । पश्चिमा शक्तिहरु अनियन्त्रित अस्थीरता सृजना गरी यहा आगजनी गर्ने र त्यो आगो तिब्बतमा सल्काउने रणनीति अन्तरगन चलखेल गरिरहेका छन् ।
नियन्त्रित अस्थिरताको रणनीति अनुसार भारतले मधेशवादी राजनीतिलाई पृष्ठपोषण गरिरहेको छ । पश्चिममाहरुले सामाजिक द्वन्दलाई विस्फोटक बनाई अस्थीरता सृजना गर्न यहाँ जातिवादी र पहिचानवादी वितण्डा मच्याइरहेका छन् ।
कांग्रेस आत्तिनुको कारण
यो सहमतीले कम्युनिष्ट पार्टीहरु वीचको अन्तरविरोधलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने रणनीतिमा गम्भीर ठेस लागेको छ । कम्युनिष्टहरुको घोडा चडेर शासन गर्ने कांग्रेसको सपना चक्नाचुर भएको छ । यो कारणले कांगे्रसले विरोध गर्नु कुनै अस्वाभाविक कुरा होइन ।
दुई कम्युनिष्ट पार्टीभित्रैबाट आइरहेको विरोध भने भिन्न भिन्न कारणबाट भएको देखिन्छ । राष्ट्र, जनता र पार्टीका लागि भन्दा व्यक्तिगत स्वार्थका लागि राजनीति गरिरहेकाहरु पार्टी एकिकरण हुँदा पदीय र प्रभावीय हैसियत घट्ने चिन्ताबाट भयभित भई विरोध गरी रहेका छन् । अर्कोथरी जो कम्युनिष्ट र कम्युनिष्ट पार्टीको आवरणमा बाहृय शक्तिहरुका लागि काम गरिरहेकाबाट पनि विरोध भइरहेको छ । यस्ता तत्वहरु कोही भित्रभित्र एकता प्रयासलाई असफल बनाउन गोटी चालिरहेका छन्, कोही सडकमा नै उत्रिएर विरोध गरिरहेका छन् ।
माओवादीभित्रैबाट आएको प्रतिक्रिया
तुलनात्मक रुपमा एमालेमा भन्दा माओवादीमा अनुशासन पालना नगर्ने प्रवृति बढी छ । जनयुद्धको कठोर अनुशासनबाट आएका माओवादीले खुला राजनीतिमा आएपछि उपयुक्त अनुशासनात्मक नीति बनाउन नसक्दा यो पार्टी भद्रगोल स्थितिबाट गुज्रिदै आएको छ ।
वाहृय शक्तिको निर्देशन अनुसार जातिवादी राजनीति गरिरहेकाहरुबाट एकता प्रयासको चर्को विरोध भइरहेको छ । त्यस्तै गरी एकीकरणपछिको कम्युनिष्ट पार्टीमा आˆनो चलखेल र भूमिका कमजोर हुने देखेर विरोध गर्ने पनि छन् ।
यसको मतलव एमालेभित्रबाट विरोध भएको छैन भन्ने होइन । माओवादीमा जस्तै यस्ता प्रवृतिहरु एमालेभित्र पनि छन् । फरक यति मात्र हो, उनीहरुको विरोध त्यति चर्को र प्रभावशाली छैन । तर, आम कार्यकर्ता शुभचिन्तक र समर्थक एकताको पक्षमा रहेकाले यस्तो विरोधले खास असर गर्ने देखिँदैन ।
एकताभित्रको चुनौती
यो शंकामा कुनै तर्क र बल नै छैन भन्ने होइन । दुवै पार्टीको नेतृत्वलाई एकता विरोध तत्वहरुले घेरेर बसेका छन् । एकता प्रयासलाई भाँड्न कोही खुलेर कोही गुपचुपरुपमा दुस्प्रयास गरिरहेका छन् ।
एकतालाई असफल गराउन सम्पूर्ण शक्ति वाहृय शक्तिहरुले प्रयोग गरिरहेका छन् । यसैले यो एकीकरण प्रयास निकै चुनौतीपूर्ण छ । तर, परिस्थिति र बाध्यता पार्टी एकताको पक्षमा छ । आम कार्यकर्ता, शुभचिन्तक, र समर्थक एकताको पक्षमा छन् । यो एकीकरण प्रयास असफल हुँदा दुवै पार्टीको नेतृत्व तहले जनविश्वास गुमाउने स्थिति छ । यी कारणले गर्दा पार्टी एकीकरण हुने सम्भावना बढी छ ।
राजनीतिक ध्रुवीकरण परिस्थिति अनुसार ठीक र वेठीक हुन्छ । जतिवेला सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्ने हुन्छ, त्यतिवेला राजनीतिक धु्रवीकरण अनिवार्य हुन्छ । अहिले सिद्धान्त र विचारको राजनीतिक धु्रवीकरणको आवश्यकता हो । यस्तो अवस्थामा हुने राजनीतिक धु्रवीकरणले मूलुकको राजनीतिलाई सही दिशा र गति दिन मद्दत पुर्‍याउँछ । विचार र सिद्धान्तविनाको गठबन्धन न हाँसको चाल, न कुखुराको चालजस्तो हुन्छ । यस्तो विचार र सिद्धान्तको राजनीतिक धु्रवीकरणले अनिष्ट निम्त्याउँछ नै निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।
यो एकीकरण प्रयासले स्वभाविकरुपमा यी पार्टीहरुको मात्र होइन अन्य पार्टीहरुको पनि संख्या स्वभाविक रुपमा घटाउने छ । धेरै पार्टीहरुको कारणले अस्थिरताको शिकार भइरहेको राष्ट्रिय राजनीतिमा राजनीतिक स्थिरताको ढोका खुल्ने छ । पार्टीहरुमा रहेको औसरवादी र गैर जिम्मेवारपूर्ण प्रवत्तिमा कमी आउनेछ । छलछामको आधारमा होइन एजेण्डाका आधारमा पार्टीहरुले स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने उपयुक्त वातावरण बन्ने छ । जसले क्षेत्रीय र जातीय राजनीतिलाई निरुसाही गर्नेछ । समग्रमा राष्ट्रिय राजनीतिले सही दिशा र गति लिने सम्भावना छ ।
कांग्रेसको गठबन्धन प्रयास
कम्युनिष्ट गठबन्धनको प्रतिकृयाको रुपमा कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको हो । विचार र सिद्धान्तमा निकटता रहेका यी शक्तिहरुका वीच गठबन्धन बन्नु सकारात्मक नै कुरा हो ।
यो गठबन्धनमा जातीवादी, पहिचानवादी, क्षेत्रयवादी, मधेसवादी, र वितण्डावादीदेखि कांग्रेस र राप्रपासम्म सहभागी छन् । कांग्रेसजस्तो जिम्मेवारी पार्टीको नेतृत्वमा यस्ता शक्तिहरु रहँदा यिनीहरु जिम्मेवार र उत्तरदायी बन्नुपर्ने वातावरण बन्दछ । यसले राजनीतिमा देखिँदै आएको अराजकता, अनुशासनहीनता र गैरजिम्मेवारीपनमा कमी पनि आउनेछ ।
https://www.onlinekhabar.com बाट 
२०७४ असोज २४ गते १४:०५ मा प्रकाशित

नेपालमा अहिले कम्युनिस्टहरु छन्, कम्युनिस्ट पार्टी छैन – आहुति [अन्तरवार्ता]

 [अन्तरवार्ता]

(वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग विश्लेषण’जस्तो समाजशास्त्रीय पुस्तकलगायत थुप्रै साहित्यिक, साँस्कृतिक, राजनीतिक एवं बिचारधारात्मक लेख रचनाहरु लेखेर आफूलाई अब्बल दर्जाका कवि, आख्यानकार र बिचारकका रुपमा स्थापित गर्न सफल उनी काठमाडौं उपत्यकाका एक रैथाने बहुप्रतिभाशाली युवा राजनीतिक नेता हुन् । नवयुवा कालमा तत्कालीन एक वामपार्टी ‘सर्वहारा श्रमिक संगठन’का सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनी नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का एक माथिल्लो स्तरका नेताका रुपमा रहेका छन् ।
अहिले भर्खरै मात्र आहुति संलग्न नेकपा (माओवादी केन्द्र) ले एमाले र नयाँशक्ति पार्टीसँग चुनावी तालमेल गरी निकट भविष्यमै पार्टी एकता गर्ने घोषणा गरे लगतै उनको पार्टीभित्र र बाहिरका थुप्रै मानिसहरु उनीजस्ता आलोचनात्मक चेत राख्ने युवा नेता अहिलेको सन्दर्भमा के बिचार राख्छन् भन्ने जिज्ञाशा राखिरहेका छन् । यसै परिप्रेक्षमा नेता आहुतिले गत असोज २१ गते ‘मेरो अनलाइन टिभि’ का लागि दिएको अन्तर्वार्ता सार संक्षेपमा साभार गरी यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)
नेपाली राजनीतिमा वाम एकता जुन अहिले एउटा तातो विषय बनेको छ, यसमा यहाँको सटिक टिप्पणी के छ ?
अहिले जुन संविधान बन्यो, त्यो संविधान नेपालमा २००७ सालभन्दा अगाडिदेखि नेपाली जनताले आफैले आफूलाई शासन गर्ने संविधान बनाउन पाउनुपर्यो भन्ने नारा अन्तर्गत कहिले लोकतान्त्रिक आन्दोलनको रुपमा कहिले कम्युनिष्ट आन्दोलनको रुपमा दुईटा धारा जो अगाडि आए र जनयुद्ध, जन आन्दोलन, सशस्त्र संघर्षहरु, विद्रोहहरु, सबैसबैपछि यो संविधान बन्न पुग्यो । नेपाली जनताले सबै तहका जनताले खोजेको जस्तै संविधान नभए पनि यो आधारभूत रुपमा अहिलेसम्मको एउटा निकै नै माथिल्लो स्तरको प्रगतिशील संविधान बन्न पुगेकै छ । त्यसलाई संशोधन गर्नुपर्ने कुरा त बाँकी नै छ । तर, कंकाल एउटा निकै राम्रो बन्न पुगेको छ र यो नेपाली जनताको बलिदानबाट आएको हो । र, यो परिस्थिति ल्याउनका निम्ति स्वभाविक रुपमा लोकतान्त्रिक धाराका पार्टीहरुको भूमिका पनि केही न केही छ । तर उत्प्रेरक र निर्णायक भूमिका चाहिँ फेरि वामपन्थीहरुको नै छ । यस कोणबाट हेर्दा अहिलेको निर्वाचनमा आफूलाई कम्युनिष्ट वा आफूलाई वामपन्थी भनेर जनताको बीचमा दाबी गरिरहेका पार्टीहरुले एउटा मोर्चाबन्दी गरेर निर्वाचन लड्नु र हाम्रो उत्प्रेरणा र हाम्रो निर्णायक भूमिकामा बनेको संविधान चाहिँ हाम्रै नेतृत्वमा लागु गर्ने प्रक्रिया सुरु गर्छौँ भन्नुलाई सकारात्मक रुपमा र आवश्यकताको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्दछ ।


कति संभावना तपाईंले देख्नुहुन्छ ? अहिले घोषणा भए अनुसार माओवादी, एमाले र नयाँशक्तिबीच साँच्चिकै एकीकरण संभव छ त ?
भनेपछि हाम्राबीचमा ठूलाठूला खाडलहरु छन् । त्यो खाडल पुर्नै सकिन्न, असम्भव छ, त्यो पनि होइन । तर अहिले भनेजस्तै सजिलै पुर्न सकिन्छ, त्यो पनि भनिहाल्न सकिने अवस्था छैन ।
मैले अघि कुरा गरेको तालमेलको कुरा गरेको हो । चुनावको तालमेल । चुनावको तालमेलमा हामीले के भन्यौँ भने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिकलाई मान्ने शक्तिहरु जोसँग पनि तालमेल गर्न सकिन्छ, जसबाट तालमेल गरेर विजयलाई अलिकति सुनिश्चित गर्न सकिन्छ, त्यही गर्न ठीक हुन्छ भन्ने हाम्रो आम नीति हो । त्यसअन्तर्गत हामीले अहिले एमालेसँग र नयाँशक्तिका साथीहरुलाई पनि मिसाएर तालमेलमा जाने भन्ने जो हामीले निर्णय गरेका छौँ, त्यो तालमेल एक ठाउँमा छ । त्यो ठीक छ, मैले भनिहालेँ । जहाँसम्म पार्टी एकताको कुरा छ, पार्टी एकताको कुराको सन्दर्भमा हामीले केही कुरा सोच्नुपर्ने, छलफल गर्नुपर्ने बाँकी नै छ ।
पार्टी एकता असंभव भन्ने तपाईंको आशय हो कि ?
हामी मार्क्सवादीले असंभव त केही कुरालाई पनि भन्दैनौँ, ९९ प्रतिशत असंभव भए पनि त्यहाँभित्र १ प्रतिशत सम्भावना हुन्छ । र नेपाली जनता वामपन्थीहरुको बीचमा वा कम्युनिष्टहरुको बीचमा एकता पनि चाहन्छन् । त्यो कुरा पनि ठीक हो । तर, यहाँ ठूलाठूला खाडलहरुको बीचमा छौँ हामी । नयाँ शक्ति मार्क्सवाद नै नमान्ने, एमाले बहुदलीय जनवाद भन्ने, माओवादी केन्द्र मार्क्सवाद–लेनिनवाद–माओवादसहित जनयुद्धको सौन्दर्यसहित समाजवादतिर जानुपर्छ भन्ने । भनेपछि हाम्राबीचमा ठूलाठूला खाडलहरु छन् । त्यो खाडल पुर्नै सकिन्न, असम्भव छ, त्यो पनि होइन । तर अहिले भनेजस्तै सजिलै पुर्न सकिन्छ, त्यो पनि भनिहाल्न सकिने अवस्था छैन ।
अहिले त यस्तो हुन थाल्यो कि निजीकरणका विरुद्ध लड्ने भनेर दस्तावेजमा लेख्ने, अनि निजी हस्पिटल र टिचिङ कलेज आफैले चलाउने । यो अन्तरविरोध कसरी हल गर्ने ? यो गाली गर्ने होइन । यो त अन्तरविरोध भयो नि ।
एकताको कुरा गर्दा धेरै ठूल्ठूला खाडलहरु छन् भनेर तपाईंले भन्नुभयो । त्यो भनेको विचारको खाडल हो । त्यो विचारको खाडल पुरिँदा आउने एउटा मिलनविन्दु तपाईंको अनुसार, किनभने तपाईं एउटा वाम बुद्धिजिवी, विश्लेषक पनि हुनुहुन्छ, त्यो मिलनविन्दु चाहिँ के हुन्छ ?
पहिलो कुरा त, नेपाली कम्युनिष्ट आन्दोलनको, त्यो जतिवटा धारामा विभक्त भए पनि उनीहरुले इतिहासदेखि अहिलेसम्म गर्दै आएको व्यवहार र बोल्दै आएको सैद्धान्तिक अडानको बारेमा सिम्हावलोकन गर्नुपर्यो, सिंहले जसरी फर्केर हेर्नुपर्यो । र, एकले अर्कामाथि लगाएका आरोप, वा विश्लेषणहरु के कति ठीक थिए, के कति बेठीक थिए, बेठीक थिए भने किन बेठीक थिए, चुट्कीको भरमा ऐतिहासिक विश्लेषण फेरिन्छ र ? त्यसकारणले गर्दा त्यो सबै सिंहावलोकन गरिसकेपछि मात्रै अनि हामी एउटै अनुशासनको सीमाभित्र बसेर जनवादी केन्द्रीयता वा इत्यादी भित्र बसेर एउटै केन्द्रीयताभित्र बसेर काम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हुन्छ । संसारभरि कम्युनिष्ट आन्दोलनको बारेमा जेजे विषयमा बहस छ, त्यो विषय नेपालमा पनि छ । समाजवादमा जाने, कस्तो समाजवाद ? वैज्ञानिक समाजवादमा जाने कि वा इन्दिरा गान्धीले भनेको समाजवादमा जाने कि वा हिटलरले भनेको समाजवादमा जाने कि ? समाजवाद त सबैले समाजवाद भने । अनि जान त जाने, कसरी जाने त ? अबको वर्गसंघर्षको चरित्र के ? वर्गसंघर्ष नै चाहिन्न भनेको हो कि ? अहिलेको साम्राज्यवाद वा पुँजीवाद भनेको नवउपनिवेशवादको रुपमा आइपुगेको छ । अब नवउपनिवेशवादका विरुद्ध लड्ने कि नलड्ने ? उदारवादका विरुद्ध लड्ने हो भने निजीकरणको विरुद्ध पनि लड्नुपर्ने हुन्छ । निजीकरणको विरुद्ध कसरी लड्ने ? अहिले त यस्तो हुन थाल्यो कि निजीकरणका विरुद्ध लड्ने भनेर दस्तावेजमा लेख्ने, अनि निजी हस्पिटल र टिचिङ कलेज आफैले चलाउने । यो अन्तरविरोध कसरी हल गर्ने ? यो गाली गर्ने होइन । यो त अन्तरविरोध भयो नि । यो अन्तरविरोध हल गर्ने कसरी ? भनेपछि यस्ता यावत विषयहरु छन् । ती विषयहरुमा गम्भीरतापूर्वक छलफल नगरीकन र साँच्चै एकरुप समझदारीको रुपमा विकास नभएसम्म त पार्टी नै बनाए पनि त्यो त संयुक्त मोर्चा हुन्छ ।
तपाईंहरुलाई त कांग्रेसले सरकारबाट निकाल्ने कुरा भइराखेको छ नि ?
निकाल्न सक्नुहुन्छ भने निकालिन्छ नै, उहाँहरुको कुरा हो त्यो त । हामीलाई आपत्तिको कुरा भएन । हामीले भनेको त चुनाव यही सरकारले गर्ने हो, हामी देउवाजीलाई समर्थन दिइरहन्छौँ । तर, पार्टी एकता गर्ने वा पार्टीमा तालमेल गर्ने भनेको त फरक कुरा हो नि ! उहाँहरुले पनि त जोजोसँग मिल्छ, तीतीहरुसँग तालमेल गरेकै हो । हामीले जोसँग मिल्छ त्योसँग गरेका हौं ।
तपाईंहरुलाई त कतिपय बुद्धिजिवीहरुले यी त कम्युनिष्ट पार्टी नै होइनन् भनेर पनि भनेका छन्, र जस्तै, यो वाम एकीकरण भनेर बाहिर जो भनिएको छ, त्यो स्वार्थको एकीकरण मात्र हो पनि भनिएको छ नि ?
वाम एकीकरण वा कम्युनिष्ट एकीकरणको बारेमा त उहाँहरुको के कुरा र, मै प्रश्न गरिरहेको छु नि तपाईंसँग ! त्यो त छलफल गर्नै बाँकी छ नि ! तालमेल त अर्कै कुरा भयो नि ! तालमेल भनेको त एकीकरण होइन नि ! तालमेल भनेको त आफ्नो पार्टी जिताउनका निम्ति अरुको पनि मतको सहयोग लिने भनेको हो । आफूले सहयोग लिएबापत उसलाई पनि आफूले सहयोग गर्दिने भनेको हो । यो त सामान्य कुरा भयो ।
तपाईंलाई के लाग्छ, यो नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा गइराखेको छ ? नेपालमा सच्चा कम्युनिष्टहरु छन् त, अझै बाँकी छन् त ?
आधारभूत रुपमा मैले भन्ने गरेको के हो भने, नेपालमा पार्टीको रुपमा र संगठित शक्तिको रुपमा चाहिँ कम्युनिष्ट पार्टी छैन अहिले । तर कम्युनिष्टहरु छन्, विभिन्न पार्टीहरुभित्र रहेका कम्युनिष्टहरु छन् । कुनै पार्टीमा धेरै छन्, कुनै पार्टीमा कम छन् । कम्युनिष्ट पार्टी नै बनाएर अगाडि बढ्नुपर्छ भन्ने आम बौद्धिकहरु पनि छन्, जनता पनि छन् र कम्युनिष्टलाई मनपराउने विशाल जनमत, संसारमा कहीँ नभएको जनमत नेपालमा छ । हामी त माओवादी केन्द्रभित्र पनि लगातार छलफल गरिराखेका छौँ कि आजको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी अब कसरी बनाउने ? हाम्रो एउटा मूल एजेण्डाभित्र छ त्यो । हामी यो चुनाव सकेर महाअधिवेशनतिर जाने बेलामा महाबहस सृष्टि गरेर हामीले कम्युनिष्ट आन्दोलन आजको आवश्यकता अनुसारको बनाउनुपर्छ, किनकि हिजोको आवश्यकता अनुसारको बनाउँदै बनाउँदै यहाँसम्म आइयो र यति उपलब्धि भयो । अबको आवश्यकता अनुसारको बनाउनुपर्छ भन्ने त हाम्रो बहस नै छ । मैले त्यही त भन्दै छु, पार्टी एकताका सन्दर्भमा पनि त्यही महाबहसको ठूलो भुमरीभित्र हामी छिर्नैपर्छ । र त्यहाँबाट नयाँ ढंगको आजको आवश्यकता अनुसारको कम्युनिष्ट आन्दोलन निर्माण गरेर जानुपर्छ ।
९ महिनाको शिशु लड्छ, उठ्छ, लड्छ, उठ्छ र अनि मात्रै ऊ युवा हुन्छ । कम्युनिष्ट आन्दोलन विश्वमा युवा हुन नै बाँकी छ । त्यसकारणले यो हराउँछ भन्ने कुरा होइन । यो नयाँ ढंगले अगाडि आउँछ भन्ने कुरा चाहिँ हो ।
त्यो सम्भव चाहिँ तपाईं देख्नुहुन्छ फेरि पनि ?
अर्को विकल्प के छ र ? संसारमा दुईवटा विचारधाराहरु छन् । एउटा प्रत्ययवादी, वा हामीले आदर्शवादी भन्दै आएका छौँ, अर्को मार्क्सवाद छ । ८ हजार वर्षदेखिको यो वर्ग समाजको हल कसले गर्छ ? आज अरबौँ अरब मानिसहरु भोकभोकै छन् । आज अरबौँ अरब मानिसहरुलाई विश्व साम्राज्यवादले मेशिन बनाइदिएको छ । मेशिनले के गर्छ ? तेल खान्छ, विजुली खान्छ, सामान उत्पादन गर्छ । तर मेशिनले आफ्नो बारेमा सोच्दैन, आफ्नो समाजको बारेमा सोच्दैन । त्यस्तो मान्छे बनाउँदैछ साम्राज्यवादले । यसले संसारको धेरैभन्दा धेरै दोहोन गरेर खोक्रो बनाउँदैछ संसारलाई
तपाईंहरु त्यसको विरुद्धमा हुनुहुन्छ ?
सिंगो मानवसमाज त्यसको विरुद्धमा छ । त्यसको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्छ । ८ हजार वर्षको वर्ग समाजसँग लडेको हामी पौने दुई सय वर्ष मात्र भयो ।
तर विश्वबाट कम्युनिष्टहरु विस्तारै पलायन हुँदै गइराखेको छ नि ?
यो कुरा त लेनिनको पालामा पनि भनिएको हो, सिद्धियो मार्क्सवाद भनेर । किनकि सिद्धियो भनेपछि सिध्याउन सकिन्छ भन्ने उनीहरुलाई लागेको छ । तर यो त्यस्तो चिज होइन, यो विचारधाराको कुरा हो । यो मानवमुक्तिको कुरा हो, यो पर्यावरणलाई, पृथ्वीलाई जोगाउने कुरा हो । त्यसकारणले मार्क्सवादी आन्दोलन, कम्युनिष्ट आन्दोलन कहिले सेलाउँछ र ? मैले भनिहालेँ नि, ८ हजार वर्षको वर्ग समाजको विरुद्ध हामी लडेको १ सय ७० वर्ष भयो । १ सय ७० वर्षमा कुनै धर्मभन्दा पनि छिटो, तीव्र गतिमा संसारलाई यसले एकचोटी निल्यो । ८ हजार वर्षको निम्ति पौने दुई सय वर्ष भनेको ९ महिनाको शिशु जस्तो हो । ९ महिनाको शिशु लड्यो भनेर रुनु भनेको उसले हिँड्न नसिकोस् भनेको हो । ९ महिनाको शिशु लड्छ, उठ्छ, लड्छ, उठ्छ र अनि मात्रै ऊ युवा हुन्छ । कम्युनिष्ट आन्दोलन विश्वमा युवा हुन नै बाँकी छ । त्यसकारणले यो हराउँछ भन्ने कुरा होइन । यो नयाँ ढंगले अगाडि आउँछ भन्ने कुरा चाहिँ हो ।
सबै मानिसको व्यक्तिगत सम्पत्ति त उस्तै–उस्तै लेभलको हुनुपर्छ भन्ने तर्क त गर्नुहुन्छ नि, होइन ?
त्यो त हुनैपर्छ नि । त्यो भएन भने त शोषण हुन्छ नि त । एकजनासँग सम्पत्ति बढी हुने, अर्कोसँग कम हुने । सम्पत्ति त प्रकृतिले दिएको हो नि । उसले जन्मिँदै लिएर आएको होइन ।
व्यक्तिगत सिपले त फरक पार्छ नि । कोही मानिस चाहिँ धेरै कमाउने खालको नहोला ?
त्यसो हो भने यसो गरौँ । किसानहरुलाई सबैलाई मार्दिऔँ । उनीहरु नभएको संसार चलाऔँ न त, पुँजीपति मात्र भएको संसार चलाऔँ । चल्छ ? चल्दैन । एउटा इन्जिनियरको खास बेलामा किसानको भन्दा बढी भूमिका हुनसक्छ । तर किसानको खास बेलामा इन्जिनियरको भन्दा बढी भूमिका हुन्छ । ती दुईवटै समाजको निमित्त चाहिन्छ नि त । त्यसो भएर उनीहरुले गर्ने श्रम सबै सम्मानित हुनुपर्छ ।
अब जाँदाजाँदै, लोकतान्त्रिक ध्रुवीकरण पनि भइरहेको छ अहिले, वामको ध्रुवीकरणका कारण । यसलाई तपाईं के भन्नुहुन्छ ?
हाम्रो त स्वागत छ । आफ्नो विचार मिल्नेहरु, आफ्नो स्वार्थ मिल्नेहरु एकठाउँमा बसेर शानदार ढंगले चुनावमा प्रतिस्पर्धा गरौँ । उहाँहरुलाई त म शुभकामना दिन चाहन्छु ।
यो चुनावमा माओवादीको राम्रो स्थान आउँछ ?
राम्रो र नराम्रो भनेको कुरा त सौन्दर्यसँग सम्बन्धित कुरा भयो । तर, हामीलाई के विश्वास छ भने हामीले नेपाली समाजमा जुन संविधान बनायौँ, त्यो संविधान हाम्रै नेतृत्वमा लागु गर्ने गरी जनमत हाम्रो पक्षमा आउँछ भन्ने हामीलाई लाग्छ ।
http://emulyankan.com बाट साभार 

Monday, October 9, 2017

कस्तो कम्युनिस्ट, कस्तो वामपन्थी ? - राजेन्द्र महर्जन


दसैंपछि नेपालको राजनीतिक बजारमा सबभन्दा विनिमय भएका शब्द हुन्, ‘वाम–एकता ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा अप्रत्यासित रूपमा गरेपछि वाम–एकता शब्दले आकाश छोएको हो । तीनवटा पार्टीले ‘निकट भविष्यमा पार्टी एकता गर्ने लक्ष्य’का साथ गरेको चुनावी तालमेललाई वाम–एकताको न्वारन गरिएको हो । वामपन्थ, कम्युनिस्ट र समाजवादप्रति जनतामा व्यापक आकर्षण र मायामोह भएकै कारण यस्तो नामकरण गरिएको होला । फेलिक्स ग्रीनका शब्दमा, सक्कली चिजको व्यापक माग नहुने हो भने कहाँ नक्कली वस्तु बेच्न सकिन्छ र ? यहाँ वाम–एकता शब्दको प्रयोग/उपयोग पनि त्यत्तिकै भ्रामक, द्विअर्थी र छलकारी देखिन्छ, प्रजातन्त्र/लोकतन्त्र शब्दजस्तै ।

‘वाम–एकता’का लागि चुनावी तालमेलमा संलग्नमध्ये एउटा पार्टीले आफ्नो नाममै माक्र्सवादी–लेनिनवादी ‘ट्याग’ झुन्ड्याइरहेको छ । अर्काे पार्टीले आफूलाई माक्र्सवादी–लेनिनवादीमात्रै होइन, माओवादीको केन्द्र नै मान्ने गरेको छ । यी दुई पार्टीको एकीकरण प्रयाससँग नयाँ शक्ति नेपाल नामक गैरकम्युनिस्ट पार्टी पनि अन्तिममा जोडिएको छ, जसको माक्र्सवादसँगको सम्बन्ध पनि संदिग्ध छ । नेपालमा आफूलाई माक्र्सवादी–लेनिनवादीदेखि माओवादीसम्म मान्ने कम्युनिस्ट पार्टीहरूले कम्युनिस्ट र वामपन्थ शब्दलाई पर्यायवाचीका रूपमा बुझ्ने–बुझाउने गर्छन् । जबकि सिद्धान्त, विचार र व्यवहारको तहमा हेर्दा यस्तो बुझाइ अमिल्दो, विवादास्पद र सन्देहास्पद देखिन्छ ।

इतिहासमा वामपन्थ
सैद्धान्तिक र व्यावहारिक रूपमा वामपन्थले कम्युनिस्ट चौघेरोमा मात्रै घुम्दैन । यो त राज्यमा स्थापित अलोकतान्त्रिक र गैरजनमुखी सत्ता–शक्तिको विरोधको फराकिलो सेरोफेरोमम्म घुम्छ । सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिको क्रममा राजतन्त्र र ‘आँसिया रेजिम’ (पुरातन शासन) को विरोध गर्ने गणतन्त्रवादी र धर्मनिरपेक्षवादी क्रान्तिकारीहरू ‘इस्टेट जेनरल’ (संसद्) मा बायाँ वा उत्तरपट्टि बस्थे । यसरी संसद्मा बस्ने सिट व्यवस्थापनकै कारण वामपन्थी (लेफ्टिस्ट) र दक्षिणपन्थी (राइटिस्ट) भन्ने गरिएको इतिहास हेर्दा पनि वामपन्थको घेराभित्र कम्युनिस्टमात्रै पर्ने बुझाइ सही छैन । यथार्थ के पनि हो भने फ्रान्सेली क्रान्तिताका फ्रान्सेली भाषामा कम्युन वा समुदायका पक्षधरको रूपमा ‘कम्युनिस्ट’ शब्द भर्खरमात्रै जन्मिएको थियो, बलियो विचार र शक्तिको रूपमा स्थापित भएकै थिएन । 

यसको अर्थ वामपन्थको भाष्य सामाजिक द्वन्द्वको सापेक्ष र गतिशील हुन्छ । राजनीतिक व्यवहार हेर्दा पनि कम्युनिस्ट शक्ति र व्यक्तिको घेरोभन्दा निकै फराकिलो देखिन्छ, वामपन्थको सेरोफेरो । त्यसैले डेढ दशकअघि यस पंक्तिकारले नेपालको राजनीतिक सन्दर्भमा वामपन्थलाई पुन:परिभाषित गर्दै पुरातन राज्यको पुन:संरचना र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै व्यक्ति–शक्तिलाई समेट्नुपर्ने मत राखेको थियो । कुनैको पार्टीको नाम, चुनावी चिन्ह, घोषणापत्र र नेताहरूका शब्द–आडम्बरका आधारमा कसैलाई वामपन्थी हो वा होइन भन्न सकिँदैन । कसैका नीति र नियत, आचरण र संस्कृति कतिसम्म जनमुखी छन्, कति हदसम्म बहुजन हिततिर लक्षित छन्, कति सीमासम्म लोकतान्त्रिक र मानवीय छन्, तिनकै आधारमा कसैको वामपन्थ प्रमाणित हुने हो । 
साइनबोर्डको व्यापार
जसरी कम्युनिस्ट वा माक्र्सवादीको साइनबोर्ड राख्दैमा कुनै दल कम्युनिस्ट वा माक्र्सवादी पार्टी हुँदैन, त्यसरी नै तिनीहरू स्वत: वामपन्थी हुने पनि कुनै सुनिश्चितता छैन । किनभने ती दलले त्यस्ता साइनबोर्डको नेपथ्यमा कम्युनिस्ट/माक्र्सवादी–इतर विचार–व्यवहारमात्रै होइनन्, गैरवामपन्थी आचरणसमेत देखाउन सक्ने प्रबल सम्भावना छ । नेपालमै पनि सबैजसो कम्युनिस्ट पार्टीका आचरण कम्युनिस्ट/माक्र्सवाद/वामपन्थसँग मेल खाँदैनन् । त्यसैले तिनीहरूले नेपाली समाजलाई रूपान्तरण गर्नेगरी माक्र्सवादलाई विकास गर्न पनि सकेका छैनन् । कसैलाई ‘नेपाली माक्र्स’ वा ‘नेपाली माओ’ घोषणा गर्नासाथ सैद्धान्तिक विकाससँगै सामाजिक रूपान्तरण हुने ठम्याइकै कारण राजनीतिक साइनबोर्डको व्यापार चम्किएको हो ।

एकीकरणका लागि घाँटी जोडेका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मको स्वीकारोक्ति छ– नेपाली समाजको रूपान्तरण गर्न सकिएको छैन, तल परेका जनताको जीवन फेर्न सकिएको छैन । जनयुद्धदेखि जनआन्दोलनसम्मको अगुवाइ गर्दा पनि, सडकदेखि सदन, सरकार, राष्ट्रपतिसम्म कब्जा गर्दा पनि, पाँच–पाँचजना कम्युनिस्ट नेता प्रधानमन्त्री भइसक्दा पनि किन गर्न सकिएन त सामाजिक रूपान्तरण ? सामाजिक रूपान्तरणको नाराका साथ सत्ता–शक्तिमा पनि आसिन भइरहने र सामाजिक रूपान्तरण नगरी क्रान्तिकारी, कम्युनिस्ट वा वामपन्थी पनि बनिरहने : यस्तो दोहोरो सुविधा कतिन्जेल पाइन्छ ? 
यहाँ त राजतन्त्रवादी, हिन्दुत्ववादीदेखि नवउदारवादीसँग सत्ता–साझेदारी गर्नेदेखि लिएर तत्वादी विपक्षीसँग चुनावी तालमेल एकैसाथ गर्ने तथा माक्र्सदेखि माओसम्मका अनुयायीसमेत भइरहने सहुलियत छ । अरून्धती रायले प्रश्न उठाएझैं सत्ता–शक्तिमा पनि बस्ने अनि क्रान्तिकारी वा कम्युनिस्ट वा वामपन्थी पनि भइरहने सुविधाबीच ‘डाइकोटोमी’ (द्विविभाजन) छ । सडकमा रहेका सत्ता–शक्तिहीनहरूलाई पनि तत्वादीहरूसँग कुनै न कुनै रूपमा सहकार्य गर्दै सामाजिक रूपान्तरणलाई लात मार्ने तथा खाँट्टी क्रान्तिकारी पनि भइरहने सुविस्तामा अन्तरविरोध छ । चाहे सडकमा होस् या सदन वा सरकारमा, समाजको जनमुखी र लोकतान्त्रिक रूपान्तरणको घोषित सिद्धान्त, विचार, नीति र कार्यक्रमभन्दा भिन्न खाले दक्षिणपन्थी व्यवहारले कसैलाई पनि साइनबोर्डका आधारमा कम्युनिस्ट र वामपन्थी बनिरहने सुविधा वा सहुलियत दिँंदैन । 
विडम्बनाको कुरा, यहाँ कम्युनिस्ट पार्टीबाटै बाघ र बाख्राको अलग–अलग संगठन खोलिन्छ । बाख्रा वर्गको पक्षधर दाबी गर्दै बाघलाई नै पोषिन्छ । संगठन, पार्टी, संसद् र सरकारमा पनि बाघलाई नै प्रतिनिधित्व गराइन्छ, तिनको नेतृत्व पनि सुम्पिइन्छ । वास्तवमा यस्ता द्विविभाजन र अन्तरविरोध घोषित क्रान्तिकारी सिद्धान्तप्रतिको गद्दारी र त्यस सिद्धान्तलाई माया गर्ने दुई तिहाइ मतदाताप्रतिको धोखाबाहेक केही होइन । यसरी धोखा दिंँदै आएका सत्ताधारी र सत्ताकांक्षी विपक्षी पुराना दलसँगै वैकल्पिक शक्तिको खोजीमा बीच बाटैमा रनभुल्लमा परेको नयाँ दलबीच एउटै कम्युनिस्ट पार्टी बनाउने तात्कालिक योजना सार्वजनिक भएको छ । यसलाई ‘आँसिया रेजिम’मा अन्तरघुलन हुने वा पुरानै ठूला दलमा विलय हुने अर्थमा व्याख्या गरिने त्रासले ‘नयाँ कम्युनिस्ट पार्टी निर्माण’को भाष्य प्रचार गरिएको पाइन्छ । सामाजिक रूपान्तरणको मौलिक सिद्धान्त, नयाँ नीति र बदलिएको नियतबिना तीन दलका प्रमुख नेताका तीनवटा टुप्पी जोड्दैमा नयाँ कम्युनिस्ट पार्टी बन्दैन, नत वामपन्थी एकता नै हुन्छ । 
चाहे जस्तोसुकै सिद्धान्त भएको वा सिद्धान्त नभएको पार्टी किन नहोस्, एकीकृत पार्टीसम्म तीन दलको यात्रा सहज र सुगम छैन । र पनि विचार र व्यवहार मिल्ने अनेक दलको एकीकृत यात्रालाई शुभकामना भन्न सकिन्छ । तर यसलाई कम्युनिस्ट पार्टीको निर्माणको भाष्य खडा गर्ने वा वाम–एकताको सुन्दर आवरण चढाउने वा साम्यवादी व्यवस्था ल्याउन खोजेको वा कम्युनिस्ट अधिनायकवाद थोपर्न खोजेको अर्थमा जारी त्रासपूर्ण व्याख्या–विश्लेषणलाई भने वस्तुसम्मत मान्न सकिन्न । यस्तो विश्लेषण कर्ममा आमजनता र पत्रकारजस्तै हाम्रा ठूलठूला राजनीतिशास्त्री, राजनीतिक विश्लेषक र चिन्तकहरू पनि दिग्भ्रमित भएको हो भने वा उनीहरूले नयाँ भ्रम छर्न खोजेको हो भने वस्तुसम्मत आलोचनात्मक र वस्तुसम्मत विचारको खडेरीले नेपाली राजनीतिलाई लामो समयसम्म गाँज्ने प्रबल सम्भावना छ ।
वामपन्थको नयाँ परिभाषा
यो एकता प्रयास मूलत: पार्टीभित्र र बाहिरको सत्ता–शक्ति बाँडफाँडको खेलमात्रै हो । चुनावी तालमेलदेखि दुई तिहाइ वा सामान्य बहुमतसम्म, सरकार निर्माणदेखि प्रधानमन्त्री र राष्ट्रपति पदको बाँडफाँडसँगै मिलिजुली सत्ता–शक्ति–सम्पत्तिको उपयोगसम्म यसको कडी जोडिएको छ । पुँजीवाद भित्रको संसदीय राजनीतिमा चुनावी तालमेल, सरकार निर्माण, पार्टी एकीकरण र सत्ता–शक्ति–सम्पत्ति चलिरहने नियमित खेल नै हो । यसमा मूकदर्शक बनाइएका बहुसंख्यक जनता र कार्यकर्तालाई यस खेलको क्रममा एकल राष्ट्रवादको आकर्षक नारा, सुदूर भविष्यको समाजवादी सपनाको जंगलमा फँसाइने र मानिसलाई घरेलुकरण गर्ने दैनन्दिन लाभ–हानिको पासोमा पारिरहने क्रम यसका नित्यकर्म जस्तै हुन् । 

फेरि पनि बहुजन हितको आँखाबाट खोजी हुनुपर्ने त मानिसलाई मानिस बन्न नदिने ‘आँसिया रेजिम’को अन्त्यको प्रयास नै हो । अति जरुरी त पुरानो समाजको लोकतान्त्रिक, जनमुखी र मानवीय रूपान्तरणका लागि ससाना कोसिससँगै सशक्त हस्तक्षेप र शक्ति निर्माण नै हो । आफूलाई कम्युनिस्ट, माक्र्सवादी र वामपन्थी भन्नेहरूले नेपालको वस्तुस्थिति अनुसार कम्युनिस्ट वा वामपन्थी एजेन्डा नबनाउने क्रम जारी राखेको वर्तमान अवस्थामा फेरि पनि वामपन्थको नयाँ परिभाषा गर्नु जरुरी देखिएको हो । सरकारी–गैरसरकारी वामपन्थभन्दा भिन्न ढंगले सोच्ने हो भने वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको नाममा जारी उत्पीडनकारी सम्बन्धलाई चिरफार गर्ने तथा लोकतान्त्रिक र जनमुखी सामाजिक रूपान्तरणलाई मार्गनिर्देश गर्ने नेपाली माक्र्सवादी सिद्धान्त विकास गर्ने जमर्काेको आवश्यकता भइसकेको छ । 
त्यसो त सत्ताधारी र सत्ताकांक्षी दल तथा तिनका भाष्यकारहरूबाट नयाँ संविधानबाटै वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको समस्या समाधान गर्न थालिएको भ्रामक व्याख्या भइरहेको छ । यस्ता समस्या उठाइएमा सामाजिक सद्भाव भड्किने तथा देशको एकता, अखण्डता र सार्वभौमिकतामा आँच आउने राष्ट्रवादी विश्लेषणको कुनै अभाव छँदै छैन । अब आर्थिक समृद्धिका साथ समाजवादमा जाने हो भने सबै समस्या छुमन्तर हुने सपनाको व्यापार निकै फस्टाउने अवस्था देखिएको छ । यस्तो अबौद्धिक सांस्कृतिक वातावरणबीच नयाँ नेपाली माक्र्सवादी सिद्धान्त विकास पक्कै पनि कठिन छ, तर असम्भव भने छैन । राष्ट्रवादी बाढीबीच समाजवादको रंगीन सपनाले धेरैलाई रिंगाउने सम्भावना हुँदाहुँदै पनि तिनको खरो आलोचनात्मक समीक्षाका साथ वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको नाममा जारी उत्पीडनकारी सम्बन्धलाई तोड्ने खालका सिद्धान्त र व्यवहार स्थापनाको कुनै उन्नत विकल्प देखिएको छैन ।
http://kantipur.ekantipur.com बाट साभार 

Sunday, October 8, 2017

दिल्लीबाट हेर्दा वाम एकता - आनन्दस्वरुप वर्मा



आश्विन २३, २०७४-नेपाली जनताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुपर्ने हुन्छ । किनभने मोदीले गर्दा दोस्रोपटक उनीहरूलाई एकताबद्ध हुन र आफ्नो सम्प्रभुताको चिन्ता गर्न प्रेरित गरे । दोकलम घटनालाई लिएर जस्तो खाले मौन हलचल नेपालको राजनीति र बौद्धिक क्षेत्रमा देखापरेको थियो, त्यसको आधारमा यो निष्कर्षमा पुग्न सकिन्छ । २१ अगस्ट २०१७ मा नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजद्वारा आयोजित एक कार्यक्रममा नेपालका अनेक विद्वानले दोकलमको स्थितिलाई अगाडि सार्दै नेपालका लागि भावी दिनमा यो घटना निकै खतरनाक र चिन्ताजनक भएको बताए । नेपालका पत्रपत्रिका र विभिन्न सञ्चार माध्यमलाई हेर्दा के थाहा हुन्छ भने नेपाली जनताले एउटा यस्तो क्षेत्रमा भारतीय सैनिकहरूको प्रवेशलाई उचित ठानेनन्, जुन विशुद्ध रूपमा भुटान र चीनको विवाद क्षेत्र हो । 

यो घटनाले उसलाई चीन, भारत र नेपालको ‘ट्राइ जक्सन’मा अवस्थित कालापानीको सम्झना गराइदियो, जुन नेपालको साँध–सिमानाभित्र पर्छ । यो त्यही ठाउँ हो, जहाँ भारतीय सेना सन् १९६२ देखि आफ्नो सैनिक छाउनी बनाएर बसेको छ । नेपालले पटक–पटक भन्दा पनि भारतले त्यो ठाउँ छोड्न मानिरहेको छैन । यो घटनाले उसलाई सुस्ता र लिपुलेकको पनि सम्झना गराइदियो । ३ अक्टोबरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एउटै मञ्चमा आएर चुनावपछि एकअर्कामा विलय हुने घोषणा गरे । पक्कै पनि यो घोषणाभन्दा अघि यी दुई ठूला दलले स्थानीय चुनावमा वामपन्थीहरूको छरिएको शक्तिबारे चिन्ता व्यक्त गरेका थिए । तर दोकलमको घटनाले उनीहरूलाई चुनावको दृष्टिबाट मात्र होइन कि राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि पनि एकताबद्ध हुन प्रेरित गर्‍यो । त्यसपछि फेरि यस्तो दृश्य देख्न पाइयो, जसलाई आमरूपमा असम्भवप्राय: मानिन्थ्यो । 

यस्तै खाले अवसर मोदी सरकारले सन् २०१५ मा नेपाली जनतालाई त्यतिबेला दिएका थिए, जब बहुप्रतीक्षित संविधान जारी गर्ने विषयमा रिसाएर मधेसी हितको आडमा भारतले आर्थिक नाकाबन्दी गरेको थियो । रिसाउनुका अन्य कारणमध्ये के पनि प्रमुख कारण थियो भने सुषमा स्वराज तथा अन्य नेताहरूले ‘अनुरोध’ गर्दागर्दै पनि नेपालको नेतृत्वले संविधानमा नेपाल हिन्दु राष्ट्र भएको राख्न मानेनन् । नाकाबन्दीको प्रभाव के भयो भने समग्र नेपाल भारत सरकारको विपक्षमा उभियो र त्यसको प्रभाव कतिसम्म रह्यो भने भारतसमर्थक मानिने नेपाली कांग्रेसतर्फ पनि यो रिस पोखियो । परिणामस्वरुप नेपालको इतिहासमा पहिलोपटक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संसद्को सभामुखमा कम्युनिस्टहरू स्थापित भए । सन् २०१४ मा सत्ता सम्हालेलगत्तै नरेन्द्र मोदीले सबैभन्दा पहिलो ध्यान नेपाल र भुटानमा दिएका थिए र निकै ध्यान दिएका थिए । परिणामस्वरुप जे कुरा अगाडि आए, त्यसबाट समग्र संघ नेतृत्व (राष्ट्रिय स्वयम् सेवक संघ) हतप्रभ रह्यो । योभन्दा अघि कुनै न कुनै यस्ता पदहरूमा नेपाली कांग्रेसले पनि हिस्सेदारी पाउने गथ्र्यो ।

जे होस्, ३ अक्टोबरका दिन देशका दुई ठूला वामपन्थी पार्टीहरूको एकता प्रस्तावले मानिसलाई निकै उत्साहित तुल्यायो । अन्तर्राष्ट्रिय स्तरमा र खास गरेर दक्षिण एसियाको एउटा ठूलो देश भारतमा जसरी धार्मिक कट्टरतावादी र फासीवादी शक्तिहरू बलियो भइरहेका छन्, त्यसलाई दृष्टिगत गर्दा बृहत वामपन्थी एकता आजको आवश्यकता हो । भारतमा पनि पूर्णरूपमा चुनावमा लिप्त सीपीआई, सीपीएम, सीपीआई एमएल जस्ता पार्टीहरूबीच एकताको चाहना राख्नेहरूको संख्या ठूलो छ । त्यति हुँदाहुँदै पनि नेपालका वामपन्थी र भारतका वामपन्थीहरूमा निकै ठूलो अन्तर छ । नेपालका वामपन्थी राष्ट्रिय राजनीतिको केन्द्रमा छन्, जबकि भारतका वामपन्थी लगातार त्यो केन्द्रभन्दा पर ढेपिंँदै गइरहेका छन् । 

यो आधारभूत भिन्नताका बाबजुद फासीवादी शक्तिहरूको बढ्दो उभारले गर्दा यिनीहरूको एकतालाई यहाँ पनि धेरैजना आवश्यक ठान्छन् । प्रचण्ड र केपी ओलीको पार्टीका साथ बाबुराम भट्टराईले पनि आफ्नो पार्टीलाई विलय गराउने घोषणा गरे । विदितै छ, उनी सन् २०१५ मा माओवादीबाट छुट्टिएर नयाँ पार्टीको नेतृत्व गर्दै थिए । ३ अक्टोबरको सभामा प्रचण्ड र ओली दुबैले यो कुरामा जोड दिए कि यो एकता कसैको विरुद्धमा होइन, बरु देशको सम्प्रभुता र अखण्डतालाई कायम राख्न आवश्यक थियो । यो सन्देश नेपाली कांग्रेसलाई मात्र होइन, यो भारत सरकारका लागि पनि थियो । 

यो एकतालाई लिएर कैयौं प्रकारका प्रश्न पनि उब्जिएका छन् । जस्तै– के यो एकता संविधानको मूलभावना– समावेशिता र समानुपातिकताको विरुद्धमा हो ? कतिपयले यो भावी एकीकरणलाई ‘पहाडिया ब्राह्मणहरूको एकता’ भन्दै घोषणासभाको मञ्चमा एउटा पनि आदिवासी, मधेसी, जनजाति अथवा दलित नदेखिएकामा खेद व्यक्त गरेका छन् । यदि यस्तो हो भने यो साँच्चै चिन्ताको कुरा हो । किनभने माओवादीले सधंै नेपालको सामाजिक संरचनामा आमूल परिवर्तनलाई आफ्नो लक्ष्य घोषित गरेका थिए । यो लक्ष्य हासिल गर्न सबै वर्गको समावेशीकरण आवश्यक कुरा हो । 

अतीतमा के पनि देखिएको हो भने जनताबाट शक्ति प्राप्त गरेर आफू बलियो भएको स्थितिमा लगभग सबै पार्टीले भारतसँग सौदाबाजी गर्नमा आफ्नो समय खर्च गरे । आर्थिक नाकाबन्दीपछि केपी ओलीको सरकारले चीनसँग जब केही सम्झौता गर्‍यो, जसको मात्र प्रतीकात्मक महत्त्व थियो, त्यतिबेला पनि भारतले त्यसलाई पचाउन सकेन । र ओलीको सरकार ढाल्न प्रचण्डलाई मोहराको रूपमा अगाडि सार्‍यो र प्रचण्ड स्वयं पनि प्रयोग भइदिए । प्रसंगवश, संविधान बनाइसकेपछि पटक–पटक भारतीय राजदूत रञ्जित रायले रोक्दारोक्दै पनि भारत सरकारको विरोधलाई झेल्दै केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस प्रकारका घटनाहरूलाई हेर्दा चुनावपछि कतै नेतृत्वको एउटा हिस्सा यस्तै खाले सौदाबाजीमा लाग्ने हो कि भन्ने आशंका गर्नु अस्वाभाविक होइन ।

माओवादी पार्टीबाट अलग हुँदै बाबुराम भट्टराईले जब आफ्नो पार्टी ‘नयाँ शक्ति’को गठन गरेका थिए, त्यसबेला उनले माक्र्सवादलाई प्रकारान्तरले खारेज गर्दै के भनेका थिए भने विश्व राजनीतिको बदलिंदो परिस्थितिलाई ध्यानमा राखेर अब एउटा वैकल्पिक राजनीतिको आवश्यकता छ । हालै अक्टोबर ३ को सभापछि एउटा अन्तर्वार्तामा उनले भनेका छन्– ‘म अहिले पनि एउटा वैकल्पिक राजनीति स्थापित गर्न प्रयत्नशील छु, तर यस लक्ष्यसम्म पुग्नका लागि समयअनुसार बाटो फेरिरहनुपर्ने हुन्छ । कुनै पनि लक्ष्यसम्म पुग्न एउटामात्र बाटो हुँदैन– समय र परिस्थितिअनुसार अलग–अलग बाटो अख्तियार गर्नुपर्ने हुन्छ, तर लक्ष्य भने त्यही रहिरहन्छ ।’ 

भारत र नेपालमा पनि धेरै मान्छेले माओवादीले क्रान्तिको बाटो छोडिदियो भनेर निराशा व्यक्त गर्छन् । आज नेपालका माओवादीहरूलाई जसले नक्सलवादी/दन्तेवाडा अथवा नेपालको पुरानो झापा विद्रोहमा उभिएर हेर्दै छन्, उनीहरूले के भुलिरहेका छन् भने सन् २००८ पछि नै नेपालका माओवादीहरूले त्यो बाटो पूर्णरूपमा फेरिसकेका हुन् । जतिबेला उनीहरूले सशस्त्र संघर्षलाई छोडेर संसद्का माध्यमबाट परिवर्तन ल्याउने लक्ष्य तय गरे । यस्तो स्थितिमा क्रान्तिको काम आज रसातलमा गयो भन्नु निकै बेइमानी हुन्छ । त्यो चरण त उहिल्यै अन्त्य भइसकेको थियो । 

नेपाल होस् अथवा भारत यी दुबै देशमा आज कम्युनिस्ट राजनीतिको दुइटा धारा देखिन्छन् । एउटा, संसदीय दायराभित्र छ त अर्को संसद् र संविधानको दायराबाहिर । 

भारतमा यस धाराको प्रतिनिधित्व माओवादीहरूले गर्छन् भने नेपालमा हाल नेत्रविक्रम चन्द (विप्लव) का आनुयायीहरूले । मलाई लाग्छ, यी दुबै धाराको बीचमा जस्तोखाले अन्तरविरोध छ, त्यसलाई आजको विश्व परिस्थितिलाई ध्यानमा राखेर शत्रुतापूर्ण बनाउनुको सट्टा मित्रतापूर्ण बनाउनु नै श्रेयस्कर छ । दन्तेवाडामा चलिरहेको संघर्षको प्रशंसा गर्दागर्दै पनि के तथ्यलाई यहाँ रेखांकित गर्नु जरुरी छ भने मनमोहन सिंह सरकारको यूपीए–२ को तुलनामा उनकै नेतृत्वमा यूपीए–१ को कार्यकालमा यस्ता धेरै नीति लिइएका थिए, जो जनताका पक्षमा थिए । त्यो कालमा भ्रष्टाचार पनि अपेक्षाकृत कम थियो । यसका विभिन्न कारणमध्ये एउटा कारण के थियो भने यूपीए–१ को समयमा सीपीआई र सीपीएमसहित विभिन्न वामपन्थी दल एउटा मोर्चाको रूपमा सरकारका साथ थिए । उनीहरूको उपस्थिति सरकारका लागि एउटा अंकुशका रूपमा थियो । 

यसैकारण लोकतन्त्रको दायरा मोदीको शासनकालको तुलनामा निकै विस्तारित हुनपाएको थियो । भन्नुको अर्थ आजको परिस्थितिमा संसदीय र गैरसंसदीय वाम दुबैको प्रासंगिकता छ । नेपालमा एमाले र माओवादीको एकताले वामपन्थी खेमामा ध्रुवीकरणको प्रक्रिया तीव्र हुनेछ जसलाई अझै पनि माओवादी पार्टीले क्रान्ति गर्छ भन्ने भ्रम छ, उनीहरू यसबाट अलग्एिर अर्को बाटोमा आफ्नो समय लगानी गर्न सक्नेछन् । यदि यो विराट वाम एकताबाट समेत देशको भलो हुन सकेन भने थाहा भएकै कुरा हो, एकपटक फेरि संघर्षको बाटो अपनाउनुपर्ने हुन्छ । भलै त्यसमा अझै केही दशक किन नलागोस् । 

नेपालमा जेसुकै होस् अथवा जस्तोसुकै घटनाक्रम विकसित होऊन्, त्यो जनताका पक्षमा छ अथवा विपक्षमा भन्ने कुराको एउटा ‘लिटमस टेस्ट’ यस कुराबाट गर्न सकिन्छ कि भारतको त्यस घटना विशेषमा कस्तो प्रतिक्रिया रहने गर्छ । अहिले जसै यी दुई पार्टीको एकताको चर्चा चल्यो, विदेश मन्त्रालय र ‘रअ’का अधिकारीहरूको भागदौड सुरु भयो र त्यहाँका केही पत्रकारका अनुसार निकै धेरै अधिकारीहरूले नेपालस्थित भारतीय दूतावासमा आफ्नो डेरा जमाइसके । उनीहरू कुनै पनि हालतमा यो एकता होस् भन्ने चाहँदैनन् । भारतीय शासक वर्गको ‘चिन्ता’ नेपाल चीनसँग नजिकिन्छ भन्ने मात्र होइन, कतै त्यो देश आर्थिक दृष्टिबाट आत्मनिर्भर पो भइहाल्छ कि भन्नेमा बढी ‘चिन्ता’ हो । यस्तो परिस्थितिमा यो वामपन्थी एकतालाई सकारात्मक परिघटनाका रूपमा हेरिनुपर्छ । 

वर्मा भारतबाट निस्कने ‘समकालीन तीसरी दुनियाँ’का सम्पादक हुन् ।
vermada@hotmail.com
प्रकाशित: आश्विन २३, २०७



http://kantipur.ekantipur.com बाट 

Tuesday, October 3, 2017

एमाले गुटले ‘कम्युनिस्ट पार्टी’ लेख्न पाउँछ ? - गोपाल किराती



प्रचण्ड सरकारले गणतान्त्रिक संविधान कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन गर्यो । निर्वाचन परिणामको समीक्षा गर्दै नेकपा ९माओवादी केन्द्र०, केन्द्रीय सचिवालयको बैठक सम्पन्न भयो । प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जहरू समेतको मौखिक प्रतिवेदनपछि विषयवस्तुको संश्लेषण गर्दै अध्यक्ष प्रचण्डले लिखित प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसलाई बैठकले स्वीकृत गर्यो ।
पार्टी केन्द्रीय सचिवालयद्वारा स्वीकृत क। प्रचण्डको प्रतिवेदनमा भनिएको छ– “पार्टीले आफ्नो सर्वहारा वर्गीय चरित्र र पहिचान बचाउँदै।।। एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन् । हामीले एमालेभित्रको।।।। त्यसप्रकारको प्रतिगामी चिन्तन प्रवृत्तिको खण्डन, आलोचना र भण्डाफोर गर्दै त्यहाँभित्रको सच्चा देशभक्त र परिवर्तनपक्षीय प्रवृत्तिलाई बलियो पार्न जोड गर्नुपर्दछ ।” पार्टीको यही निर्णय निर्देशनअनुसार संशोधनवादी र अवसरवादी एमाले गुटको भण्डाफोर गर्न यो आलेख केन्द्रित छ ।
विश्व क्रान्तिमा माक्र्सवादी विज्ञानको स्थान
२१औं शताब्दीको माक्र्सवादलाई एकीकृत शृङ्खलाको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद भनिन्छ । संक्षिप्तमा ‘माक्र्सवाद’ भन्न सकिन्छ । यो नै मानव मुक्तिको सर्वोच्चतम् विज्ञान हो । माक्र्सवादी विज्ञानको अभावमा साम्राज्यवादमा पतन भएको एकाधिकार पुँजीवादले निश्चय नै मानव सृष्टि ध्वंश गरिसक्ने थियो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणमा एकाधिकार पुँजीवादविरुद्ध सर्वहारा क्रान्तिको माक्र्सवादी दर्शनले मात्र पहिलो र दोस्रो विश्वयुद्धलाई ठेगान लगाएर सर्वहारा क्रान्ति अभ्यास गर्यो । जसले मात्र मानव सृष्टिको रक्षा गरेको छ ।
युरोप, खासगरी जर्मनीको दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली वर्गसङ्घर्षको संश्लेषण नै माक्र्सवाद हो । तसर्थ दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद, जसको विकास फ्रान्समा पेरिस कम्युनको रूपमा भयो, लाई माक्र्सवादको सङ्घटक अङ्ग मानिन्छ । फ्रेडरिक एङ्गेल्सको महान सहयोगमा कार्ल माक्र्सले यो अत्याधुनिक विज्ञानको विकास गर्नुभयो । वैज्ञानिक समाजवादको प्रश्नमा सर्वहारा श्रमिकवर्ग नै मानव इतिहासको अन्तिम उत्पीडितवर्ग रहेको र उनीहरूले राज्यसत्ता कब्जा गरेर त्यसको विलोपको निम्ति वर्गसङ्घर्ष लड्ने क्रान्तिकारी सिद्धान्त दिनुभयो ।
माक्र्सको निधनपछि फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा कार्ल माक्र्सका वैज्ञानिक योगदानहरूलाई ‘माक्र्सवाद’ नाममा संष्लेषण गरियो । सर्वहारा वर्गले राज्यसत्ता लिने माक्र्सवादी विज्ञानको व्यावहारिक प्रयोग भने रुसमा अक्टोबर क्रान्तिद्वारा लेनिनले गर्नुभयो । किनभने, अनुभवको कमीका कारण फ्रान्सका मजदुरहरूले कब्जा गरेको ७२ दिनपछि पेरिस कम्युन गुमाउनु पर्यो । माक्र्सवादको व्यावहारिक प्रयोगको सिलसिलामा विकसित लेनिनका योगदानहरूलाई ‘माक्र्सवाद–लेनिनवाद’ भनियो । तत्कालीन परिस्थितिमा तेस्रो विश्व, जहाँ अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती अवस्था थियो, चीनमा माओ त्सेतुङले सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति सम्पन्न गर्नुभयो । ‘अन्तर्विरोधबारे’ र ‘व्यवहारबारे’ जस्ता रचनाहरूको आधारमा माओले माक्र्सवाद–लेनिनवादमा दार्शनिक योगदान गर्नुभयो । सँगसँगै आफ्नै नेतृत्वमा माओले निरन्तर क्रान्तिको सिद्धान्तका रूपमा ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’को अभ्यास गर्नुभयो । जसले, माओका योगदानहरूलाई माक्र्सवादको तेस्रो कडीका रूपमा स्थापित गरेको छ । यसरी माक्र्सवादको शृङ्खलाबद्ध विकास ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’को तहमा पुगेको छ । अतः प्रस्ट छ कि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अन्त्य नभएसम्म माक्र्सवाद–लेनिनवाद अख्तियार गर्नेहरू र सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मान्ने माक्र्सवादी–लेनिनवादी–माओवादीहरू मात्र विद्यमान शताब्दीका सच्चा माक्र्सवादीहरू हुन् ।
माक्र्सवाद–लेनिनवाद– माओवादलाई क्रान्तिकारी विज्ञानका रूपमा बुझ्न यसका मुख्यतः पाँच आधारभूत सिद्धान्तहरू स्वीकार गर्नुुपर्दछ । त्यो १। वर्गसङ्घर्ष अर्थात् बल प्रयोगको सिद्धान्त, २। सर्वहारावर्गको अधिनायकत्वको सिद्धात, ३। सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त, ४। जनवादी केन्द्रीयताको सिद्धात र ५। निरन्तर क्रान्तिको सिद्धान्त हो । पहिलो, दोस्रो र तेस्रो सिद्धान्तको विकास माक्र्स–एङ्गेल्सले गर्नुभएको हो भने चौथो लेनिनले र पाँचौँ सिद्धान्त माओले विकास गर्नुभएको हो । अतः को माक्र्सवादी कम्युनिस्ट हो र को होइन ? भन्ने तथ्यको कसी यही आधारभूत सिद्धान्तले निर्धारण गर्छ ।
माक्र्सवादका पाँच आधारभूत सिद्धान्त औपचारिक रूपमा स्वीकार गर्दै त्यसको व्यावहारिक अभ्यासमा डट्नेहरू सच्चा माक्र्सवादी हुन् । पाँचमध्ये कुनै एक मात्र सिद्धान्त छोड्नेहरू र पाँच आधारभूत सिद्धान्तलाई व्यावहारिक अभ्यास नगर्नेहरू संशोधनवादी हुन् । अब भन्नुस्, एमाले गुट कुन ‘वादी’ हो ? जवाफ प्रस्ट छ कि ‘कम्युनिस्ट पार्र्टी’ लेख्ने एमाले गुटले प्रस्तुत पाँच आधारभूत सिद्धान्तलाई व्यावहारिक अभ्यासमा प्रयोग गरेको
छ ? किमार्थ छैन । त्यसैले स्वतः प्रमाणित गर्छ कि एमाले गुट माक्र्सवादी नभएर पुँजीवादी प्रतिक्रियावादमा पतन भएको घृणित संशोधनवादी गुट हो
राज्यसत्तामा पुगेर त्यस राज्यसत्तालाई सर्वहारा क्रान्तिविरुद्ध दुरूपयोग गर्ने अपराधमा एमाले गुटको हजुरबा निकिता ख्रुस्चेभ हुन् । यद्यपि, जोसेफ स्टालिनका पनि अधिभूतवादी कमजोरीहरू थिए । सन् १९१७ को अक्टोवरमा स्थापित सोभियत सङ्घको जम्माजम्मी ६ वर्ष मात्र लेनिनले नेतृत्व दिन पाउनुभयो । यसको अर्थ ख्रुस्चेभजस्ता संशोधनवादीलाई कुनै छुट हुनुपर्छ भन्ने हुँदैन । दोस्रो विश्वयुद्धपछि स्टालिनको निधनसँगै सत्ता हत्याउन पुगेका ख्रुस्चेभको प्रतिक्रान्तिको कारण अन्ततः सोभियत सङ्घ नै विघटन हुन पुग्यो । विश्व सर्वहारावर्गलाई त्योभन्दा ठूलो अरू क्षति के हुन सक्छ ? जुन संशोधनवादी प्रतिक्रान्तिको खलनायक ख्रुस्चेभ बने । नेपालमा एमाले त्यही ख्रुस्चेभ चरित्रमा पतन हुन पुगेको तथ्यलाई नजरअन्दाज गर्नु माक्र्सवाद हुन सक्दैन ।
नेपाली कम्युनिस्ट आन्दोलन र क। पुष्पलाल श्रेष्ठ
सन् १९४९ मा क। पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । जसले तत्कालीन चीनसरह अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती मूलुक नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा लियो । पार्टी स्थापनाको दुई वर्षमै कुनै बिना ठोस कारण मनमोहन अधिकारी तथा पछि पञ्चभलाद्मी बन्न पुगेका डीपी अधिकारीहरूले पुष्पलाल श्रेष्ठलाई महासचिव पदबाट गलहत्याए । पूर्वमन्त्री अशोककुमार राईअनुसार राजावादी पञ्च भइसकेपछि डीपी अधिकारीले एक अन्तर्वार्तामा बोले, ‘पढे लेखेका बाहुनहरू भटाभट केन्द्रीय समितिमा आयौँ र दश कक्षा मात्र पढेको पुष्पलाललाई महासचिवबाट गलहत्याइदियौँ ।’
यसरी चरम जातिवादी संशोधनवादी मनमोहन अधिकारीको अगुवाइमा पुष्पलाल श्रेष्ठलाई गलहत्याइयो । परन्तु, आजीवन रूपमा क। पुष्पलाल नयाँ जनवादी क्रान्तिको पक्षमा दृढ रहे । मोहनविक्रम सिंहद्वारा लिखित ‘गद्दार पुष्पलाल’ पुस्तिकाबाट जुन भ्रम फैल्याइयो, त्यो वस्तुतः मनमोहन अधिकारीकै उग्र जातिवादी लाइन थियो । त्यसको खण्डन गर्दै जनयुद्धकालीन नेकपा ९माओवादी० ले ‘इमानदार पुष्पलाल’ भनेर सम्मानित गर्यो ।
संवत् २०१९ मा आइपुगेर तिनै जातिवादी संशोधनवादीहरूले नेपाल कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा केशरजङ्ग रायमाझीलाई पुर्याउने काण्ड रचे । रायमाझीले सामन्ती राजा महेन्द्रको पाउमा नेपाली कम्युनिस्ट आन्दोलन र आफू समेतलाई सभक्ति समर्पण गरे । तिनै खलनायक केशरजङ्ग रायमाझी एमाले गुटका पिता हुन् ।
एमाले गुटको उत्थान र पतन
फासीवादी हिटलरलाई परास्त गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्टालिन सोभियत सङ्घको नेतृत्व गर्दै हुनुहुन्थ्यो । त्यही समय सन् १९४९ मा चिनियाँ जनक्रान्ति सम्पन्न भयो । ख्रुस्चेभको संशोधनवादविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले महान बहस गर्नुभयो । त्यसको व्यावहारिक अभ्यास १९६६–७६ बीच दश वर्षमा सर्वहारा सांस्कृतिक क्रान्तिका रूपमा गरियो । त्यसबाट भारतीय क्रान्तिकारीहरूमा निकै ठूलो प्रभाव पर्यो । बङ्गालका क। चारु मजुम्दार नेतृत्वमा भारतमा भीषण सशस्त्र किसान क्रान्ति सुरु भयो । भारतका अनेक संशोधनवादी तत्वहरूविरुद्ध लाल विद्रोह गर्दै चारु मजुम्दारले ‘भाकपा ९माले०’ गठन गरी क्रान्तिलाई अघि बढाए । त्यही भाकपा ९माले० को प्रभावबाट पहिला कोअर्डिनेसन केन्द्र नाम रहेको ‘नेकपा माले’ बन्न पुग्यो । तत्कालीन परिस्थितिमा एमालेको उत्थान यसरी चारु मजुम्दारको प्रभावबाट भयो ।
सीपी मैनाली नेतृत्वमा तत्कालीन माले समूह चारु मजुम्दारको पूरै यान्त्रिक नक्कल गर्न पुगेको तथ्य त्यसको तत्कालीन कार्यनीतिले प्रष्ट गर्छ । भारतीय क्रान्तिमा चारु मजुम्दारले ‘माले’ भने, नेपालमा सीपी मैनालीले पनि ‘माले’ नै । चारु मजुम्दारले नयाँ जनवादी क्रान्ति भने, सीपी मैनालीले पनि त्यही । चारु मजुम्दारले आफ्नो फौजी कार्यनीतिलाई ‘वान मेन, वान स्क्वायड, वान एरिया, वान एक्सन’ भनेका थिए, नेपालमा सीपी मैनालीको माले समूहले पनि त्यही कार्यनीति भन्यो । अतः यसरी तत्कालीन माले समूहले नेपाली विशिष्टतामा नयाँ जनवादी क्रान्ति गर्ने पुष्पलाल श्रेष्ठको सही माक्र्सवादी जोडका विरुद्ध चारु मजुम्दारको अन्ध नक्कल गरे । नक्कल क्षणिक नै हुन्छ, परिणाममा चारु मजुम्दारको अवसानसँगै तत्कालीन माले समूहको नक्कल पनि समाप्त हुन गयो ।
त्यसपछि माले समूहमा हाहाकार पैदा भयो । वस्तुतः निम्न पुँजीवादी रोमान्सको रूपमा उत्थान भएको माले समूहको एक हिस्सा नारायणहिटी दरबारमा साँठगाँठ गर्न पुग्यो । नेपाली काङ्ग्रेसविरुद्ध दरबारले मालेको त्यो हिस्सालाई ढाप माथ्र्यो । वैचारिक राजनीतिक रूपले त्यही भागदौडको क्रममा माले समूहले व्यवहारतः नयाँ जनवादी क्रान्ति त्याग्यो । उता चारु मजुम्दारको नयाँ जनवादी क्रान्तिको चिहान खन्दै संशोधनवादी ज्योति बशु पश्चिम बङ्गाल सरकारको नेतृत्वमा पुगे । पहिला चारु मजुम्दारको अन्धनक्कल गरेका सीपी मैनालीहरू मजुम्दारको हत्यापछि संशोधनवादी ज्योति बशुको दुरुस्तै अन्धनक्कलमा परिणत भए । त्यसरी प्रकारान्तरले माले समूह एमाले हुँदै कम्युनिस्ट पार्टीको खोल ओढेर ज्योति बशुको सक्कली सन्तान बन्न पुगेको छ । अतः एमाले गुटको अर्को संशोधनवादी पिता ज्योति वशु हुन् ।
आश्चर्य, एमालेका रायमाझी र बशु दुई पिता हुन पुगेका छन् । यो वस्तुतः अप्राकृतिक हो र त्यसैकारण एमाले गुटलाई लिंग पहिचान नभएको गुट पनि भन्ने गरिन्छ ।
एमाले गुटको प्रतिक्रियावादीकरण शृङ्खला
१। एकातिर पुष्पलाल श्रेष्ठको नेतृत्वविरुद्ध चरम जातिवादी मनमोहन अधिकारी प्रवृत्तिको निरन्तरता र निम्न पुँजीवादी रोमान्सका कारण वर्गदुस्मन सफाया अभियान चलाएर सामन्तहरूको टाउको गिँड्न पुगेका माले समूह त्यसरी भागदौडमा पुग्नु स्वभाविक थियो । जसले सर्वहारा दृष्टिकोण र व्यावहारिक दृष्टिले माले समूह गठनसँगसँगै वर्गसङ्घर्ष परित्याग गर्यो । माले समूहको चौथो महाधिवेशनले माओ विचारधार परित्याग गर्यो । त्यो केवल औपचारिकता थियो ।
२। गणेशमान सिंहले आँट नगरेको भए त्यसरी संशोधनवादमा पतीत माले समूह ‘जनपक्षीय उम्मेद्वार’को झ्यालबाट पञ्चभलाद्मी भई नै सकेको हो । धन्न, काङ्ग्रेसका गणेशमान सिंहले आँट गरे र पुष्पलाल श्रेष्ठको संयुक्तमोर्चाको बिचार स्वीकार गर्दै सन् १९९० मा संयुक्त जनआन्दोलनको नेतृत्व दिए । परिणाममा पञ्चको दानापानीमा डुबिसकेको माले समूह कुवाको भ्यागुता माटोको डल्लामाथि उफ्रेर गजक्क परेझैँ संसदीय ढोकामा छिर्यो ।
३। माक्र्सवादी आधारभूत सिद्धान्तको कसीमा राख्दा मदन भण्डारी कम्युनिस्ट थिएनन् । परन्तु, उनी एकजना जुझारु जनवादी अवश्य थिए । त्यसैले उनको दासढुङ्गामा हत्या भएको मानिन्छ । तर, पटक–पटक सत्ता नेतृत्वमा पुगेर पनि एमाले गुटले मदन भण्डारीको हत्यारा खोज्ने जाँगर देखाउँदैन । अझ विद्या भण्डारी नै राष्ट्रपति हुँदा पनि दासढुङ्गा हत्याकाण्डको छानविनप्रति बेवास्ता शङ्कास्पद ठहर्छ । टीएन प्रधानको नामबाट मदन–आश्रित हत्या योजनाबारे जनादेश साप्ताहिकमा सीपी मैनालीले खुलाएका तथ्यहरू अन्ततः प्रमाणित हुँदैछन् । जसअनुसार दासढुङ्गा हत्याको योजनाकार तथा सञ्चालक खड्ग ओली र माधव नेपाल हुन् ।
४। संसदीय राजनीतिमा आउने अवसर जुटेपछि एमाले गुटले बल्खुमा कार्यालय खडा गर्यो । एमाले नेताहरूको अनेक अनुनय विनयपछि अमेरिकी राजदूत बल्खुमा सवारी हुने भए । साम्राज्यवादी अमेरिकाको राजदूतले नदेखोस् भनेर बल्खु कार्यालयमा झुन्ड्याइएको माक्र्स–लेनिनको फोटो हटाउने निरीह दलालीपन एमाले गुटले प्रदर्शन गर्यो । त्यसबापत अमेरिकालगायतले एमाले गुटलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको राम्रै उपहार दियो ।
५। खासगरी, खड्ग ओलीकै जोडमा एमाले गुटले महाकाली सम्झौता गर्यो । जो राष्ट्रघात थियो भन्ने तथ्य बामदेव गौतमहरूले खड्ग ओली गुटलाई राष्ट्रघाती करार गर्दै एमाले विभाजन गरेबाट प्रमाणित हुन्छ । परन्तु, बामदेवको राष्ट्रवाद अन्ततः खड्ग ओलीकै पाउमा लम्पसार पर्यो ।
६। वीरेन्द्रको वंश विनाश गर्ने हत्यारा ज्ञानेन्द्र शाहको पाउमा एमाले गुटको महासचिव माधव नेपालले सभक्ति दाम चढाए । त्यस्तै कुनै एक कार्यक्रममा कुर्सीमा बसेको ज्ञानेन्द्र शाहको पाउमा रिक्रुटझैं पुसअप गरेको ढाँचामा खड्ग ओली लम्पसार परेको निरिह तस्बिर सामाजिक सञ्जालमा छ्यासछ्यास्ती पाइन्छ ।
७। गोरुगाडामा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रवादी आन्दोलनको विरोध गर्ने खड्ग ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेर ‘हावाहुरी आएर मात्र स्वीकार गर्नुपरेको बाध्यता’ मा सङ्घीयता र समानुपातिक समावेशीकरणप्रति शत्रुता बोलिरहेका छन् ।
८। नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनसंगिनी तथा वाम नेता साहना प्रधानलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउन नेकपा ९माओवादी० ले जोड गर्यो । तर, एमाले गुटले साहना प्रधानलाई इतिहासको त्यो सम्मान दिन निर्ममतापूर्वक रोक्यो ।
९। खड्ग ओली नेतृत्वको एमाले गुट थारुवान–मधेसविरोधी हो, भनेर यहाँ लेखिरहनु पर्दैन । आदिवासी जनाजाति, दलित, मुस्लिम तथा मधेसीलाई एमाले गुट ‘जङ्गली स्वाँठ’ नै देख्छ । जसले दिगो शान्ति र राष्ट्रिय एकतामा आघात पुर्याइरहेको छ । एमाले गुटबाट केही जनजाति, मधेसी, दलित मूलका व्यक्तिहरू उपल्लो निकायमा पुर्याइएको नाटक गरिन्छ । वस्तुतः त्यो सामन्ती राजतन्त्रले हिरालाल विश्वकर्मालाई मन्त्री बनाएर सबै दलितहरूको मुक्तिको धमास पिटेबाहेक सामुदायिक प्रगतिमा त्यो बाधक मात्र हुन गएको छ ।
जब कि महान जनयुद्धको धक्काले नेपालका जुनसुकै उत्पीडित जातिलाई मुक्ति र प्रगति खातिर व्यक्ति नभएर समग्र समुदायलाई उठाउनुपर्ने ऐतिहासिक चेतनाबोध गराएको छ ।
१०। संविधान निर्माण खातिर माओवादीले १६ बुँदे सहमति गर्यो । त्यससँगै जोडिएको खड्ग ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमतिमा माओवादीले इमानदारीता प्रदर्शन गर्यो । साथसाथै, संविधान घोषणासभामा क। प्रचण्डले ‘असल छिमेकी बन्न थतयार छौँ, तर हामी कसैको यसम्यान बन्न तयार छैनौँ’ भनेर राष्ट्रिय स्वाभिमान अभिव्यक्त गर्नुभयो । के माओवादीको समर्थन नभए खड्ग ओली सिंहदरबारमा फोटो टाँस्न सफल हुन्थे ? तर, घातक र कृतघ्न एमाले गुटले कथित राष्ट्रियता नामको जस आफ्नो झोलीमा हाल्यो ।
११। प्रथम स्थानीय तह निर्वाचनमा देखाएको हर्कतले एमाले गुटमा ‘कम्युनिस्ट’ त के, न्यूनतम वाम चरित्रसमेत नरहेको प्रमाणित गर्दछ । अचेत मतदातालाई मात्र होइन, एमाले गुटले कर्मचारीलाई समेत खरिदबिक्री गरेको तथ्यहरू छन् । जसरी पनि जित्ने चरित्रलाई कसले वामपन्थी मान्छ ?
१२। स्थानीय तह निर्वाचन परिणाम अनुकूल नै सङ्घीय संसदमा बहुमत ल्याए एमाले गुटले हत्यारा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउँदै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण उपलब्धिहरू खतम पार्ने षडयन्त्रकारी योजना गरेको छ । राष्ट्रपति विद्या भण्डारीको माध्यमले एमाले त्यस्तो प्रतिक्रान्तिको आधार खडा गरिरहेको छ ।
सङ्घीय गणतन्त्र समाप्त पार्ने प्रतिक्रान्तिसँगै एमाले गुट महान जनयुद्धलाई अपराधीकरण गर्न र जनयुद्ध लडेका माओवादी नेताहरूलाई झुण्ड्याउन बाह्य र आन्तरिक प्रतिकृयावादी शक्तिको तागत सङ्कलन गरिरहेको छ ।
प्रस्तुत प्रतिक्रियावादी विचार र चरित्रका कारण एमाले गुट स्वतः सिद्ध नेपाली जनताको शत्रु कित्तामा पतन भएको प्रमाणित गर्छ । नेपाली समाजमा वामपन्थीको अर्थ यथास्थितिविरुद्ध विद्रोह बोल्नु, आधारभूत तहका जनताको राज्यसत्ता निर्माण गर्नु र प्रगतिशील दिशामा अघि बढ्नु हो । यीमध्ये एमाले गुटमा लेस चरित्र बाँकी नरहेको हुँदा त्यसलाई वामपन्थी ठान्ने भूल माक्र्सवादीले गर्नु हुँदैन । बरु चरम प्रतिक्रियावादी चरित्रमा पतन भएको एमाले गुटको पहाडिया अन्धराष्ट्रवादको नारालाई अध्यक्ष क। प्रचण्डले ‘अन्ततः हिटलरको राष्ट्रवाद’सँग तुलना गर्नुभएको छ । यो एकदम सही हो ।
एमाले गुटले कसरी लेख्न पाउँछ कम्युनिस्ट पार्टी ?
माक्र्सवादका पाँच आधारभूत सिद्धान्तको कसीमा भन्नुपर्छ, खड्ग ओली नेतृत्वको एमाले गुटले कम्युनिस्ट पार्टी किमार्थ लेख्न पाउँदैन । त्यसले माक्र्सवाद–लेनिनवाद भन्न पाउँदैन र विश्व कम्युनिस्ट पार्टीको झण्डा हसिया–हथौडा बोक्न पाउँदैन । यदि कम्युनिस्ट पार्टी लेख्न चाहन्छ भने माक्र्सवाद–लेनिनवाद भन्न चाहन्छ भने र हसिया–हथौडाको झण्डा बोक्न चाहन्छ भने एमाले गुटले माक्र्सवादका आधारभूत सिद्धान्तहरू व्यावहारिक अभ्यास गर्न सक्नुपर्छ । के त्यो सम्भव छ ? साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको चुत्थो नोकर बनिसकेको एमाले गुटबाट त्यो अपेक्षा गर्नु मात्र पनि संशोधनवादी रुझान हुन जान्छ ।
जसरी निकिता ख्रुस्चेभको संशोधनवादले सोभियत सङ्घलाई चिहानमा पुर्यायो, देङ स्याओ पिङले महान सर्वहारा सांस्कृतिक क्रान्तिको घाँटी निमोठे र जसरी पश्चिम बङ्गालका संशोधनवादी ज्योति बशुले चारु मजुम्दार नेतृत्वको चिहान खने, ठीक त्यसरी नै प्रतिक्रियावादमा पतीत संशोधनवादी र चरम अवसरवादी एमाले गुटले नेपाली माओवादी आन्दोलनको चिहान खन्दै छ । संशोधनवाद वस्तुतः पुँजीवादी प्रतिक्रियावाद हो । त्यसैले क्रान्तिकारी माक्र्सवादको चिहान खन्नु त्यसको जन्मजात चरित्र हुन्छ । तब प्रश्न छ, के माओवादी साथीहरू चिहानमा गाडिन तयार हुने ?
प्रस्तुत शृङ्खलाबद्ध दलाल तथा नोकरशाही पुँजीवादमा पतन भएको एमाले गुटले स्थानीय तह निर्वाचनमा चरम प्रतिक्रियावादी हर्कत गरेर आफूलाई जसरी प्रथम स्थानमा पुर्यायो । यो भनेको माओवादी आन्दोलनको चिहान खन्न प्रतिक्रियावादी एमाले सफल भएको हो । स्थानीय तह निर्वाचन परिणामका आधारमा माओवादी आन्दोलनलाई गाड्ने चिहानको ठूलो खाल्डो एमाले गुटले त्यसरी खनेको छ । अब माओवादी साथीहरूलाई प्रश्न छ, के लासझैँ घिसारिएर त्यो प्रतिक्रान्तिकारी चिहानमा गाडिन माओवादी क्रान्तिकारीहरू तयार छन् ? माओवादी केन्द्र सचिवालय बैठकको निष्कर्ष हो, माओवादीहरू सम्पूर्ण रूपले प्रतिरोध सङ्घर्ष गर्नेछन्, तर एमाले गुटले खनेको चिहानमा पुरिन तयार छैनन् ।
वर्गसङ्घर्षको नियम हो कि क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ । प्रतिक्रान्तिमाथि विजय प्राप्त गरेर मात्र सर्वहारा क्रान्ति सम्भव हुन्छ । साथसाथै, जसरी संशोधनवादीले क्रान्तिकारीको चिहान खन्छ, ठीक त्यसरी नै माओवादी क्रान्तिकारीले संशोधनवादी गुटको चिहान खन्न र त्यसलाई गाड्न सक्नुपर्छ । नेपाली राजनीतिमा काङ्ग्रेस माओवादी आन्दोलनको रणनीतिक दुस्मन हो भने एमाले गुट कार्यनीतिक दुस्मन हो । त्यसैले काङ्ग्रेसविरुद्ध माओवादीको अन्तिममा मात्र घमासान पर्छ भने त्यसअघि नै एमालेविरुद्ध माओवादीले घमासान लड्न र त्यसलाई माटोमा मिलाउन सक्नुपर्छ । त्यसरी मात्र यहाँ सर्वहारा क्रान्ति सुनिश्चित हुन्छ ।
निष्कर्षमा, अब एमाले गुटले कम्युनिस्ट पार्टी लेख्न पाउँदैन । माक्र्सवाद–लेनिनवाद भन्न पाउँदैन र हसिया–हथौडाको झण्डा बोक्न पाउँदैन । तर, माओवादी केन्द्रको यो सकारात्मक आग्रहलाई नजरअन्दाज गरेर प्रतिक्रियावादी चरित्रमा कम्युनिस्ट पार्टीको बदनाम गर्छ भने एमाले गुटविरुद्ध क्रान्तिकारी जनसमुदाय भौतिक आक्रमणमा उत्रने छन् । त्यसबाट उत्पन्न परिणामको जिम्मेवार संशोधनवादी र अवसरवादी एमाले गुट नै हुनेछ ।
अतः जसरी त्यसको हजुरबा निकिता ख्रुस्चेभ, पिताद्वय केशरजङ्ग रायमाझी र ज्योति बशुको पतन भयो, एमाले गुटको राजनीतिक पतन त्योभन्दा खराब हुनेछ । खाँचो माओवादीको सर्वहाराकरणमा जोड तथा संशोधनवाद र अवसरवादको निर्णायक भण्डाफोरको मात्र हो ।
रातोपाटी बाट
http://abckhabar.com बाट साभार