दसैंपछि नेपालको राजनीतिक बजारमा सबभन्दा विनिमय भएका शब्द हुन्, ‘वाम–एकता ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा अप्रत्यासित रूपमा गरेपछि वाम–एकता शब्दले आकाश छोएको हो । तीनवटा पार्टीले ‘निकट भविष्यमा पार्टी एकता गर्ने लक्ष्य’का साथ गरेको चुनावी तालमेललाई वाम–एकताको न्वारन गरिएको हो । वामपन्थ, कम्युनिस्ट र समाजवादप्रति जनतामा व्यापक आकर्षण र मायामोह भएकै कारण यस्तो नामकरण गरिएको होला । फेलिक्स ग्रीनका शब्दमा, सक्कली चिजको व्यापक माग नहुने हो भने कहाँ नक्कली वस्तु बेच्न सकिन्छ र ? यहाँ वाम–एकता शब्दको प्रयोग/उपयोग पनि त्यत्तिकै भ्रामक, द्विअर्थी र छलकारी देखिन्छ, प्रजातन्त्र/लोकतन्त्र शब्दजस्तै ।
‘वाम–एकता’का लागि चुनावी तालमेलमा संलग्नमध्ये एउटा पार्टीले आफ्नो नाममै माक्र्सवादी–लेनिनवादी ‘ट्याग’ झुन्ड्याइरहेको छ । अर्काे पार्टीले आफूलाई माक्र्सवादी–लेनिनवादीमात्रै होइन, माओवादीको केन्द्र नै मान्ने गरेको छ । यी दुई पार्टीको एकीकरण प्रयाससँग नयाँ शक्ति नेपाल नामक गैरकम्युनिस्ट पार्टी पनि अन्तिममा जोडिएको छ, जसको माक्र्सवादसँगको सम्बन्ध पनि संदिग्ध छ । नेपालमा आफूलाई माक्र्सवादी–लेनिनवादीदेखि माओवादीसम्म मान्ने कम्युनिस्ट पार्टीहरूले कम्युनिस्ट र वामपन्थ शब्दलाई पर्यायवाचीका रूपमा बुझ्ने–बुझाउने गर्छन् । जबकि सिद्धान्त, विचार र व्यवहारको तहमा हेर्दा यस्तो बुझाइ अमिल्दो, विवादास्पद र सन्देहास्पद देखिन्छ ।
इतिहासमा वामपन्थ
सैद्धान्तिक र व्यावहारिक रूपमा वामपन्थले कम्युनिस्ट चौघेरोमा मात्रै घुम्दैन । यो त राज्यमा स्थापित अलोकतान्त्रिक र गैरजनमुखी सत्ता–शक्तिको विरोधको फराकिलो सेरोफेरोमम्म घुम्छ । सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिको क्रममा राजतन्त्र र ‘आँसिया रेजिम’ (पुरातन शासन) को विरोध गर्ने गणतन्त्रवादी र धर्मनिरपेक्षवादी क्रान्तिकारीहरू ‘इस्टेट जेनरल’ (संसद्) मा बायाँ वा उत्तरपट्टि बस्थे । यसरी संसद्मा बस्ने सिट व्यवस्थापनकै कारण वामपन्थी (लेफ्टिस्ट) र दक्षिणपन्थी (राइटिस्ट) भन्ने गरिएको इतिहास हेर्दा पनि वामपन्थको घेराभित्र कम्युनिस्टमात्रै पर्ने बुझाइ सही छैन । यथार्थ के पनि हो भने फ्रान्सेली क्रान्तिताका फ्रान्सेली भाषामा कम्युन वा समुदायका पक्षधरको रूपमा ‘कम्युनिस्ट’ शब्द भर्खरमात्रै जन्मिएको थियो, बलियो विचार र शक्तिको रूपमा स्थापित भएकै थिएन ।
यसको अर्थ वामपन्थको भाष्य सामाजिक द्वन्द्वको सापेक्ष र गतिशील हुन्छ । राजनीतिक व्यवहार हेर्दा पनि कम्युनिस्ट शक्ति र व्यक्तिको घेरोभन्दा निकै फराकिलो देखिन्छ, वामपन्थको सेरोफेरो । त्यसैले डेढ दशकअघि यस पंक्तिकारले नेपालको राजनीतिक सन्दर्भमा वामपन्थलाई पुन:परिभाषित गर्दै पुरातन राज्यको पुन:संरचना र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै व्यक्ति–शक्तिलाई समेट्नुपर्ने मत राखेको थियो । कुनैको पार्टीको नाम, चुनावी चिन्ह, घोषणापत्र र नेताहरूका शब्द–आडम्बरका आधारमा कसैलाई वामपन्थी हो वा होइन भन्न सकिँदैन । कसैका नीति र नियत, आचरण र संस्कृति कतिसम्म जनमुखी छन्, कति हदसम्म बहुजन हिततिर लक्षित छन्, कति सीमासम्म लोकतान्त्रिक र मानवीय छन्, तिनकै आधारमा कसैको वामपन्थ प्रमाणित हुने हो ।
साइनबोर्डको व्यापार
जसरी कम्युनिस्ट वा माक्र्सवादीको साइनबोर्ड राख्दैमा कुनै दल कम्युनिस्ट वा माक्र्सवादी पार्टी हुँदैन, त्यसरी नै तिनीहरू स्वत: वामपन्थी हुने पनि कुनै सुनिश्चितता छैन । किनभने ती दलले त्यस्ता साइनबोर्डको नेपथ्यमा कम्युनिस्ट/माक्र्सवादी–इतर विचार–व्यवहारमात्रै होइनन्, गैरवामपन्थी आचरणसमेत देखाउन सक्ने प्रबल सम्भावना छ । नेपालमै पनि सबैजसो कम्युनिस्ट पार्टीका आचरण कम्युनिस्ट/माक्र्सवाद/वामपन्थसँग मेल खाँदैनन् । त्यसैले तिनीहरूले नेपाली समाजलाई रूपान्तरण गर्नेगरी माक्र्सवादलाई विकास गर्न पनि सकेका छैनन् । कसैलाई ‘नेपाली माक्र्स’ वा ‘नेपाली माओ’ घोषणा गर्नासाथ सैद्धान्तिक विकाससँगै सामाजिक रूपान्तरण हुने ठम्याइकै कारण राजनीतिक साइनबोर्डको व्यापार चम्किएको हो ।
एकीकरणका लागि घाँटी जोडेका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मको स्वीकारोक्ति छ– नेपाली समाजको रूपान्तरण गर्न सकिएको छैन, तल परेका जनताको जीवन फेर्न सकिएको छैन । जनयुद्धदेखि जनआन्दोलनसम्मको अगुवाइ गर्दा पनि, सडकदेखि सदन, सरकार, राष्ट्रपतिसम्म कब्जा गर्दा पनि, पाँच–पाँचजना कम्युनिस्ट नेता प्रधानमन्त्री भइसक्दा पनि किन गर्न सकिएन त सामाजिक रूपान्तरण ? सामाजिक रूपान्तरणको नाराका साथ सत्ता–शक्तिमा पनि आसिन भइरहने र सामाजिक रूपान्तरण नगरी क्रान्तिकारी, कम्युनिस्ट वा वामपन्थी पनि बनिरहने : यस्तो दोहोरो सुविधा कतिन्जेल पाइन्छ ?
यहाँ त राजतन्त्रवादी, हिन्दुत्ववादीदेखि नवउदारवादीसँग सत्ता–साझेदारी गर्नेदेखि लिएर तत्वादी विपक्षीसँग चुनावी तालमेल एकैसाथ गर्ने तथा माक्र्सदेखि माओसम्मका अनुयायीसमेत भइरहने सहुलियत छ । अरून्धती रायले प्रश्न उठाएझैं सत्ता–शक्तिमा पनि बस्ने अनि क्रान्तिकारी वा कम्युनिस्ट वा वामपन्थी पनि भइरहने सुविधाबीच ‘डाइकोटोमी’ (द्विविभाजन) छ । सडकमा रहेका सत्ता–शक्तिहीनहरूलाई पनि तत्वादीहरूसँग कुनै न कुनै रूपमा सहकार्य गर्दै सामाजिक रूपान्तरणलाई लात मार्ने तथा खाँट्टी क्रान्तिकारी पनि भइरहने सुविस्तामा अन्तरविरोध छ । चाहे सडकमा होस् या सदन वा सरकारमा, समाजको जनमुखी र लोकतान्त्रिक रूपान्तरणको घोषित सिद्धान्त, विचार, नीति र कार्यक्रमभन्दा भिन्न खाले दक्षिणपन्थी व्यवहारले कसैलाई पनि साइनबोर्डका आधारमा कम्युनिस्ट र वामपन्थी बनिरहने सुविधा वा सहुलियत दिँंदैन ।
विडम्बनाको कुरा, यहाँ कम्युनिस्ट पार्टीबाटै बाघ र बाख्राको अलग–अलग संगठन खोलिन्छ । बाख्रा वर्गको पक्षधर दाबी गर्दै बाघलाई नै पोषिन्छ । संगठन, पार्टी, संसद् र सरकारमा पनि बाघलाई नै प्रतिनिधित्व गराइन्छ, तिनको नेतृत्व पनि सुम्पिइन्छ । वास्तवमा यस्ता द्विविभाजन र अन्तरविरोध घोषित क्रान्तिकारी सिद्धान्तप्रतिको गद्दारी र त्यस सिद्धान्तलाई माया गर्ने दुई तिहाइ मतदाताप्रतिको धोखाबाहेक केही होइन । यसरी धोखा दिंँदै आएका सत्ताधारी र सत्ताकांक्षी विपक्षी पुराना दलसँगै वैकल्पिक शक्तिको खोजीमा बीच बाटैमा रनभुल्लमा परेको नयाँ दलबीच एउटै कम्युनिस्ट पार्टी बनाउने तात्कालिक योजना सार्वजनिक भएको छ । यसलाई ‘आँसिया रेजिम’मा अन्तरघुलन हुने वा पुरानै ठूला दलमा विलय हुने अर्थमा व्याख्या गरिने त्रासले ‘नयाँ कम्युनिस्ट पार्टी निर्माण’को भाष्य प्रचार गरिएको पाइन्छ । सामाजिक रूपान्तरणको मौलिक सिद्धान्त, नयाँ नीति र बदलिएको नियतबिना तीन दलका प्रमुख नेताका तीनवटा टुप्पी जोड्दैमा नयाँ कम्युनिस्ट पार्टी बन्दैन, नत वामपन्थी एकता नै हुन्छ ।
चाहे जस्तोसुकै सिद्धान्त भएको वा सिद्धान्त नभएको पार्टी किन नहोस्, एकीकृत पार्टीसम्म तीन दलको यात्रा सहज र सुगम छैन । र पनि विचार र व्यवहार मिल्ने अनेक दलको एकीकृत यात्रालाई शुभकामना भन्न सकिन्छ । तर यसलाई कम्युनिस्ट पार्टीको निर्माणको भाष्य खडा गर्ने वा वाम–एकताको सुन्दर आवरण चढाउने वा साम्यवादी व्यवस्था ल्याउन खोजेको वा कम्युनिस्ट अधिनायकवाद थोपर्न खोजेको अर्थमा जारी त्रासपूर्ण व्याख्या–विश्लेषणलाई भने वस्तुसम्मत मान्न सकिन्न । यस्तो विश्लेषण कर्ममा आमजनता र पत्रकारजस्तै हाम्रा ठूलठूला राजनीतिशास्त्री, राजनीतिक विश्लेषक र चिन्तकहरू पनि दिग्भ्रमित भएको हो भने वा उनीहरूले नयाँ भ्रम छर्न खोजेको हो भने वस्तुसम्मत आलोचनात्मक र वस्तुसम्मत विचारको खडेरीले नेपाली राजनीतिलाई लामो समयसम्म गाँज्ने प्रबल सम्भावना छ ।
वामपन्थको नयाँ परिभाषा
यो एकता प्रयास मूलत: पार्टीभित्र र बाहिरको सत्ता–शक्ति बाँडफाँडको खेलमात्रै हो । चुनावी तालमेलदेखि दुई तिहाइ वा सामान्य बहुमतसम्म, सरकार निर्माणदेखि प्रधानमन्त्री र राष्ट्रपति पदको बाँडफाँडसँगै मिलिजुली सत्ता–शक्ति–सम्पत्तिको उपयोगसम्म यसको कडी जोडिएको छ । पुँजीवाद भित्रको संसदीय राजनीतिमा चुनावी तालमेल, सरकार निर्माण, पार्टी एकीकरण र सत्ता–शक्ति–सम्पत्ति चलिरहने नियमित खेल नै हो । यसमा मूकदर्शक बनाइएका बहुसंख्यक जनता र कार्यकर्तालाई यस खेलको क्रममा एकल राष्ट्रवादको आकर्षक नारा, सुदूर भविष्यको समाजवादी सपनाको जंगलमा फँसाइने र मानिसलाई घरेलुकरण गर्ने दैनन्दिन लाभ–हानिको पासोमा पारिरहने क्रम यसका नित्यकर्म जस्तै हुन् ।
फेरि पनि बहुजन हितको आँखाबाट खोजी हुनुपर्ने त मानिसलाई मानिस बन्न नदिने ‘आँसिया रेजिम’को अन्त्यको प्रयास नै हो । अति जरुरी त पुरानो समाजको लोकतान्त्रिक, जनमुखी र मानवीय रूपान्तरणका लागि ससाना कोसिससँगै सशक्त हस्तक्षेप र शक्ति निर्माण नै हो । आफूलाई कम्युनिस्ट, माक्र्सवादी र वामपन्थी भन्नेहरूले नेपालको वस्तुस्थिति अनुसार कम्युनिस्ट वा वामपन्थी एजेन्डा नबनाउने क्रम जारी राखेको वर्तमान अवस्थामा फेरि पनि वामपन्थको नयाँ परिभाषा गर्नु जरुरी देखिएको हो । सरकारी–गैरसरकारी वामपन्थभन्दा भिन्न ढंगले सोच्ने हो भने वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको नाममा जारी उत्पीडनकारी सम्बन्धलाई चिरफार गर्ने तथा लोकतान्त्रिक र जनमुखी सामाजिक रूपान्तरणलाई मार्गनिर्देश गर्ने नेपाली माक्र्सवादी सिद्धान्त विकास गर्ने जमर्काेको आवश्यकता भइसकेको छ ।
त्यसो त सत्ताधारी र सत्ताकांक्षी दल तथा तिनका भाष्यकारहरूबाट नयाँ संविधानबाटै वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको समस्या समाधान गर्न थालिएको भ्रामक व्याख्या भइरहेको छ । यस्ता समस्या उठाइएमा सामाजिक सद्भाव भड्किने तथा देशको एकता, अखण्डता र सार्वभौमिकतामा आँच आउने राष्ट्रवादी विश्लेषणको कुनै अभाव छँदै छैन । अब आर्थिक समृद्धिका साथ समाजवादमा जाने हो भने सबै समस्या छुमन्तर हुने सपनाको व्यापार निकै फस्टाउने अवस्था देखिएको छ । यस्तो अबौद्धिक सांस्कृतिक वातावरणबीच नयाँ नेपाली माक्र्सवादी सिद्धान्त विकास पक्कै पनि कठिन छ, तर असम्भव भने छैन । राष्ट्रवादी बाढीबीच समाजवादको रंगीन सपनाले धेरैलाई रिंगाउने सम्भावना हुँदाहुँदै पनि तिनको खरो आलोचनात्मक समीक्षाका साथ वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको नाममा जारी उत्पीडनकारी सम्बन्धलाई तोड्ने खालका सिद्धान्त र व्यवहार स्थापनाको कुनै उन्नत विकल्प देखिएको छैन ।
http://kantipur.ekantipur.com बाट साभार
No comments:
Post a Comment