Tuesday, October 24, 2017

विदेशीको पैशा खाएर राजालाई गाली गर्ने हक कसैलाई छैन (भिडियोसहित)






डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल हुनुहुन्छ । सैन्य इतिहासमा विद्यावारिधि गर्नुभएका बस्न्यातले धेरैवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ । १४ पुस्तक लेखिसक्नु भएका बस्न्यातका दुई पुस्तक प्रकाशोन्मुख छन् । राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताबारे कडा र स्पष्ट बस्न्यातले यसपटकको अन्तर्वार्तामा निम्नानसारका धारणा राख्नु भएको छ–

म पछिल्लो राजनीतिक गतिविधिबाट उत्साहित छैन । मैले बुझेको जनता पनि उत्साहित छैनन् । जनता पनि दुई खालका छन् । एक स्वतन्त्र म जस्ता जनता र अर्को पार्टीका कार्यकर्ता । अहिलेको राजनीतिबाट खुसी भएको भनेको पार्टीका कार्यकर्ता हुन् । अहिले यस्तो माहोल सिर्जना भयो कि ६२/ ६३ को आन्दोलन पछि कसैले पनि शिक्षक, कर्मचारी, डाक्टर पाइलट, खरदार मुखिया, सुब्बा जे हुन पनि पार्टीको झोला बोक्नै पर्ने अवस्था सिर्जना भयो । अझ राजदूत र भिसी हुनका लागि त यस्तो धेरै आवश्यक पर्न थाल्यो । दलको पछि लागेकाहरुले घिस्रेर होस, चाहेर होस नचाहेर होस दलहरुले जे जे गर्छन उनीहरु ताली बजाउन विवस हुन्छन् । उनीहरुको रोजीरोटी त्यसमा जोडिएको छ ।

यसमा बुद्धिजीवीहरु पनि छन् । उनीहरुको लागि पनि अहिलेको मौसम अनूकुल बनेको छ । एउटा ट्याम्पोलाई ट्रक तान्न लगायो भने तानिन्छ ? तानिदैन । हो त्यस्तै हो । अहिलेको संविधान भनेको ट्याम्पो हो । यसले मुलुक धान्न तान्न सक्दैन । मुलुक धान्न र तान्न नसक्ने संविधान जारी भएको छ । अहिलेका अर्थमन्त्रीहरुले बजेट जारी गर्छन् । त्यसमा ७० प्रतिशत त विदेशीको भर, राजश्व उठाउने लक्ष्यलाई केन्द्रमा राखेर गरिएको हुन्छ ।

भोलिको दिनमा यति धेरै सांसद, मन्त्री, कर्मचारी थप्नु पर्ने छ । देशले धान्न नसक्ने गरी संरचना बनाइएको छ । मन्त्री र कर्मचारी थपेर विकास हुन्छ ? मन्त्री र कर्मचारी कम भएर यो मुलुक विकास नभएको हो भन्ने सोचले संविधान बनाइएको छ । यसकारण संविधान त्रुटिपूर्ण छ ।

नेपाललाई चाहिएको राजनीति नेताहरुले गरेको भए ५०–६० जना सांसदले हाम्रो संसद चल्न सक्छ । पश्चिमाहरुले कुनै बदलाको लागि नेपालमा थोपरेको व्यवस्था हो यो । अहिलेको व्यवस्था नेपाली जनताले चाहेको व्यवस्था होइन । नेपाली जनताले झन्डै हजारको हाराहारीमा सांसद पाल्छौ भनेका छैनन् । पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेदेखि नै नेपाल उनीहरुको सत्रु राष्ट्र बन्दै आएको छ । यसकारण उनीहरु जहिले पनि हामीलाई बिथोल्न चाहन्छन् । अहिलेको परिवेश भन्ने हो भने त्यो सम्भव पनि भयो । संघीयता थोपरिएको हो ।

संघीयता नभएर देश अविकसित भएको होइन । ७५ जिल्लाको विकास गर्ने पैशा त यिनै नेताहरुले थुपारेर राखेका छन् । यिनको कठालो समातेर सोधौं त पैशा कहाँबाट आयो भनेर । सबै थाहा हुन्छ । संघीयताका लागि मुलुक अगाडि बढिसक्यो । तर धान्न नसक्ने व्यवस्थातिर गयो । अहिले जुनसुकै बच्चा जन्मियोस, जन्मनासाथ उसको थाप्लोमा १४ हजार ऋण हुन्छ ।

अहिलेको व्यवस्थाले द्वन्द्व समाधान होइन निम्त्याउने खतरा देखेको छु । चुनावमा देश गएको छ । झोलेहरुका लागि यो ठिक मौसम हो । चुनाव भनेको पैशा कमाउने बाटो पनि हो । एउटा सिंगो नेपाल चलाउन नसक्नेले सात प्रदेश कसरी चलाउँछन ? मुख्य कुरा यो हो । अर्को कुरा के छ भने तराई टुक्रा पार्छु भन्नेलाई यिनीहरुले केही गर्न सकेनन् । बाबुराम भट्टराई जस्ता नेता भएको देश हो । सिके राउत पक्राउ पर्दा उनी मानवअधिकारवादीको पछि लागेर राउतलाई छाड्नु पर्छ भन्दै जाने मानिस हुन् उनी । अहिले ज्ञानेन्द्रले केही बोल्दा उनी किन पाँच हात उफ्रिन्छन ? यो देशलाई जोगाउँ भन्दा यहाँका केही मानिसहरु उफ्रिन्छन् । देशको माया गर्ने मान्छे धेरैलाई बिझाउँछ ।

संघीयतामा के दिन के खाने भन्ने समस्या हुन्छ । कांग्रेस एमाले माओवादीका यिनै डनहरु त आउने हुन हामीमाथि शासन गर्न । बोतल जति फेरे पनि रक्सी उही हो । व्यवस्था जति फेरे पनि नेता उही हुन । अनि हुन्छ कसरी परिवर्तन ? मेरो प्रश्न यही हो । यी नेताहरुलाई परिवर्तन नगरी केही फाइदा छैन । 
..
संघीयता भनेको उपनिवेशबाट छुट्टै भएको अवस्थामा, स साना राजाहरु भएको ठाउँमा, भारत अमेरिका जस्तो ठाउँमा संघीयताको परिकल्पना गरिएको हो । हाम्रो भूगोल भारत, अमेरिका, चार भाषा बोलिने स्वीट्जरल्याण्ड जस्तो होइन । हाम्रो मुलुक त असाध्यै सानो छ । १० वर्षमा यो सात प्रदेश ३५ वटा हुन्छ । एउटा देश त यिनीहरुले जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । एक मधेस एक प्रदेश भनेर देश टुक्र्याउने योजना बनाएर पश्चिमा, इन्डिया लागि परेको थियो । 
..
अहिलेको व्यवस्थाले केन्द्र कमजोर हुनेछ । मुलुक टुक्रा टुक्राको संघ भएपछि विदेशीलाई खेल्न सजिलो हुन्छ । देश टुक्रा पार्नेहरुलाई सजिलो हुन्छ । त्यही सजिलोको लागि संघीयता ल्याइएको हो । विदेशीका दलाल, एनजिओको कारणले विशेषगरी पश्चिमाका कारण देश टुक्रा हुने दिन आउला भन्ने लाग्छ । 
..
यो संविधान नागबेली जस्तो भएको छ । पश्चिमाको रुचीले संविधान बनेको छ । कांग्रेस, एमालेलाई मन मनमा घाँडो भएको छ । यो संविधान यिनीहरुले लेखेका होइन । तर पश्चिमाको रुचीमा आएको संविधान यिनीहरु जसरी भए पनि लागू गर्न खोज्दै छन् । उता भारतलाई पनि नेपालको संविधान चित्त बुझेको छैन । नेपालमा हिन्दू धर्म मासिएला भन्ने अहिलको संस्थापनको चिन्ता देखिन्छ । नेपालमा क्रिष्चियन बढ्दा चीन पनि दुःखी हुन्छन् । तिब्बत नेपाल सीमामा क्रिष्चियन बढ्दा उनीहरुलाई दुःख दिन्छन् ।

नेपाल टुक्रा पार्न, धर्म मास्न खटिएका विदेशीका खेतालाहरुले मेरो नाक कति लामो, मगरको कति छोटो भनेर विषय उचाल्छन् । बुद्धिजीवी भनाउँदाहरुले प्रपोगन्डा गर्छन् । पाँच सात जना दलाल विदेशी एजेन्ट (लोकराज बरालसहित)को त मैले पहिले नाम पनि लिएको छु । तराई छुट्याउनु पर्छ भन्ने झा थरको एक वकिल जो बेलायतमा पढेर आएका उनी पश्चिमाको पालित पोषित हुन् । उनलाई अहिले राजपा नेपालले समानुपातिकामा नाम राखेको छ । यिनीहरु मन्त्री हुन, मागी खान, विदेशीको नुन खान नेपालीको खुन खान यी प्राज्ञ विज्ञको लागि अहिले व्यापारको मौसम आएको छ ।
..
राजनीतिमा कुनै पनि दिवास्प्न हुँदैन । पूर्वराजाले जे बोले त्यो अनौठो छैन । त्यो कुरा मै आफै पनि बोल्छु । हामीले नै बोल्नु पथ्र्यो । देश बरबाद हुन लाग्यो भनेर हामी सात दिन सात रात प्रमाण दिएर बोल्न सक्छु । अब मुलुक दुर्घटनामा लगेर हाल्दै छन् । भोलिको दिनमा राजसंस्था फर्किने सम्भावना छ । ज्ञानेन्द्रका पूर्खाले यो देश जोगाइदिएका हुन् । यी दलहरुले भनून कुन राजाले आफ्ना छोरा नातिका लागि देश बेचेका छन ? कुन राजाले पैशाकालागि राजदूतको पद, न्यायाधीशको पद बेचेका छन् ?

पूर्वराजाले ठिक समयमा बोलेका छन् । अब जो होस हामीलाई राजा चाहिएको छ । देशले राजा खोजेको छ । सडकमा जनता निस्किने बेला भइसकेको छ । 
..

सेनाले पनि अहिले टुलुटुलु हेरेर बस्ने बेला होइन यो । सेनाले डारेक्टु ‘कू’ गर्न हुँदैन । कुनै राजनीतिक पार्टीलाई साथमा लिएर प्रभावकारी भूमिकामा सेना आउनु पर्छ । सेना टुलुटुलु हेरेर बसेर हेर्यो भने सेनालाई पाप लाग्छ । गोर्खाको एउटा कोटबाट टिस्टा काँगडा लडेका हाम्रा पूर्खाको नासो हो नेपाली सेना । यस्तो सेनाले मौनता साँध्नु भनेको देश डुब्न दिनु हो । अब सेना राजासँग मिलेर तीनै सुरक्षा अंगको साथ लिएर ‘मूभ’ हुनुपर्छ । 
..

मलाई दक्षिण मित्र राष्ट्रबाट पनि प्रलोभन आएको थियो । पैशाको प्रलोभन आएको थियो । पश्चिमाबाट पनि आएको थियो । मलाई ‘थ्रेट’ छ भन्ने सुनेको छ । विदेशीको पैशा खाएर लेखक भइटोपलेका धेरै छन् । यिनीहरुलाई नंग्याउन आवश्यक छ । नेपालमा होस्टाइल सिटीजन तयार गर्ने अभियान चलेको छ । नेपालीलाइ नै नेपालविरुद्ध काम गर्ने गरी तयार पार्ने काम भइरहेको छ । विशेषगरी सोझा जनताको बुद्धि भुट्न लेखकहरु तम्तयार भएर बस्छन् । कसैले कीर्तिपुरको डाँडोबाट लेख्छन् । कसैले तराईबाट लेख्छन् । पश्चिमाको खाएर नेपाल टुक्रा पार्न खोजिरहेको छ । 
..

मुख्य जिम्मेवारी सरकारको हो । देशको अहित गर्ने विदेशीको हित गर्ने गरी काम गर्नेहरु देख्दा देख्दै पनि नेपालका सुरक्षा अंगहरु टुलुटुलु हेरेर बसेका छन् । समातेर कारबाही गर्न सकेका छैनन् । भारतमा कुनै सेनाको विरुद्धमा कसैले बोलोस त के हुन्छ ? अमेरिका, पाकिस्तानमा बोलून त । के हुन्छ । नेपालको अस्मिता विदेशीलाई बुझाएर नेपालमा प्रधानमन्त्री बन्नेहरु छन् ।

..

महेन्द्रनगरमा गोविन्द गौतम मारिए । भारतीय एसएसबीले गोली ठोकेर मार्छ । नेपालमा भारतविरुद्ध प्रदर्शन होला भनेर हत्तपत्त शहीद घोषणा गर्ने र १० लाखले मुखमा बुजो लगाउने काम गर्छन । यस्तो काम गर्ने अरु कोही होइन विमलेन्द्र निधि र प्रचण्ड हुन । अनि यस्ता नेताले हाम्रो हित गर्छन ? बाढीमा मान्छेको बेहाल हुन्छ, त्यहाँ पनि पैशा बाँडी हाल्ने । नेपाली दिदी बहिनीलाई अपशब्द गर्नेलाई, देशको अस्मिता बेच्नेलाई हामी नेता मान्न विवश छौं । यो अवस्थाको अन्त्य हुनु पर्छ । यी भातमाराहरुका कारण मैले भन्ने गरेको छु, कि नेपालमा राजा चाहियो । नत्र सेना अगाडि बढुनु पर्छ ।

बेलायतको विन्सटन चर्चिल पूर्वसैनिक हुन् । फ्रान्स, जापान जहाँ पनि पूर्व सैनिकले देश विकास गरेका छन् । पूर्वराजाले मात्रै होइन हामी पनि भन्छौं, अब बेला आएको छ । हामी अगाडि बढौं । यी खातेहरुको शासन सहेर अब नबस्ने ।

नेपालमा बाहुन राजाहरुले शासन गरिरहेका छन अहिले । ६२ पछि हेर्नुस बाहुन राजाहरु गिरिजा वीर बिक्रम, माधववीर विक्रम, केपी वीरविक्रम, प्रचण्ड वीर विक्रम, झलनाथ वीरविक्रम । यी सबै बाहुन राजाले देश बिगारेका छन् । यिनीहरुले के गरे नेपालमा ? नेपाललाई कहाँ पुर्याए भन्नुहोस त । अहिले शाह राजाले यसो गरे, मल्ल राजाले उसो गरे भन्नेहरुलाई सोध्न चाहन्छ यी बाहुन राजाहरुले के गरे त ? 
..

हाम्रो देशमा राजाले कुनै गल्ति गरेका छैनन् । ज्ञानेन्द्रका छोरा पारसरले यसो गरे र उसो गरे भन्छन् । पारसले भन्दा पनि प्रचण्डका छोरा प्रकाशले केसम्म गरेका छन् आफै बुज्नुहोस । राजनीति भनेको सधै सोचेको जस्तो हुँदैन । राम्रो गर्छु भन्दा कहिले काही गल्ति हुँदैन । ज्ञानेन्द्रले कहिले देश टुक्रा पार्ने कुरा गरेनन् । उनका पूर्खाले गरेनन् । म नेपाली सेनामा काम गर्ने बस्नेत परिवारको १२ औं पुस्ताको मान्छे हो । म भन्दा माथि मेरा १२ पुस्ताका पुर्खाले नेपाली सेना भएर देशका लागि लडे मरे । त्यही खुन मभित्र पनि छ । नेपाल टुक्रा पार्छु भन्नेहरुलाई म पहिले टुक्रा पार्छु । भारतमा तालिम गराएर नेपालमा बम पड्काउने काम भयो । अहिले देश ‘न बाच्छाको मुखमा न ढुंग्रो’को स्थिति भएको छ । एनजिओको, विदेशीको पैशा खाएर देश टुक्रा पार्न खोज्नेहरुलाई हामीले चिन्नु पर्छ ।

http://nepalaaja.com बाट साभार 

No comments:

Post a Comment