Tuesday, November 29, 2016

व्यंग्य - ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’


लौ खानुहोस् जोइ पोइ पुरस्कार !
ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

शहरमा यतिबेला जोई कम्पनीको पोई पुरस्कार खुलेको छ । देशभरिबाट १०५ जना गाँडा, गोर्चाहरूले निवेदन पनि हाले । कोही कोही उत्कृष्टमा परे, कोही पर्ने तर्खरमा छन् । यसका लागि जम्ला हातसहितको निवेदन खुलेको छ । करोडी मलका रूपमा परिचित यो कम्पनीको निवेदनमा कबुलियतनामा पनि हुन्छ नै । आधा रकम हजूरका पाउमा सास्टांगवापत दिने कबोल गरेपछि जोइ पोइ पुरस्कार परिहाल्छ । धनुषटंकार आकारमा चाकडी गरेपछि सम्मानित हुन कुनै आइतबार कुर्नु पर्दैन । यो जोइ, पोइ मिलेर खोलेको करोडी मलको बम्पर उपहार अन्तर्गतको पुरस्कार हो । यी जोइ पोइ दुवैजना पहिले ससुरा बुहारी थिए । ससुराले नै लभ गरेर बुहारी ल्याएपछि देशमा ठूलै हंगामा मच्चिएको पनि थियो । निकै वर्ष यी जोइ पोइको चर्तिकलाले नेपाली समाज शर्माए पनि सञ्चार मिडिया भने गर्माइरह्यो । तर अहिले त्यस्तो चर्चा सेलाए पनि यिनले दिने जोइ पोइ पुरस्कारले नेपाल खाल्डो पूरै हल्लाइरहेको छ । नहल्लाओस् पनि किन ? यी दुवै पहिले हल्लनटाठ थिए । कताबाट द्यौकोटाको कोटा परेर मालामाल भए । घटराजको घट्ट घुमाएर गाडी पनि किने । भन्सार अनुसारको संसार नेपालमा पाइने हुँदा यिनीहरू रोडपतिबाट करोडपति पनि भए । धेरै वर्षदेखि ल्याङ्खुरे टाइपको प्याङ्खुरे बाइकमा चढ्नुपर्ने लण्ठा अब रहेन । नाफामा आएका ३ कुमारीहरू पनि बेलैमा माना मेलामा लागे । बाँकी एक कुमारले पनि घरबार जोडे । एउटाको नाति अर्कोको पनाति भयो । एउटीको पनाति अर्कोको खनाति भयो । खनातिसम्म बनाइसकेका जोइ पोइले अहिले एक दशकदेखि नेपाली पुरस्कारको ठेक्का पट्टा चलाइरहेका छन् । कसैको न्वारान, पास्नी, चौरासी, शताब्दी परे जोइ पोइ कम्पनीले ख्वात्तै पुरस्कारको घोषणा गरिहाल्छ । यो कम्पनीलाई लोकमानको मेजमान पनि चलेकैछ । रामबाबुको दाम पनि परेकैछ । ए राता मकै ! शण्डमुण्डको शासन कस्तरी फस्टाएको हो ? बुझ्नै पो सकिएन । 

जोइ पोइ कमपनीले रुचाएको मान्छेलाई घिचाउने सरकारी नीति छ । भानुको गानु झिक्न होस् वा द्यौकोटाको कोटा हजम पार्न होस्, मोतीको ज्योति खोज्न होस् वा समको ममः पकाउन होस् यी जोइ पाइको खाँचो सरकारले महसूस गर्छ । जुन सरकार आए पनि नाकमा प्वाल परेकै हुँदोरहेछ क्यारे ! जोइ पोइ नै रोजिहाल्छ, यसो गन्ध सुँघ्दै यिनलाई नै खोजिहाल्छ । मनमोहनको धन हजम गर्न होस् वा फत्येमोहनको जीवन दोहन गर्न होस् सबैको टेण्डर यसकै भागमा पर्ने गर्छ । सय वर्ष पुग्न २।४ वर्ष बाँकी भए पनि यसले अगाडि नै शताब्दी बुरुष भनेर घोषणा गरिहाल्छ । पहिले त लास्ट कविको पनि खान खोजेको थियो, कुन्नि के भएर हो बुढाले दिएनछन् क्यारे ! अनि कान्छो भाइ जोशीलाई खसी बनाउन तम्तयार भयो । जो मान्छे यो जोइ पोइ एण्ड कम्पनीको आँखामा पर्छ त्यो ह्वात्तै १ बित्ता माथि उठिहाल्छ । जोइ पोइको आँखामा नपरेको मान्छे नामी भए पनि दामी हुन सक्तैन । दामी भन्नुको अर्थ हो, दाम कमाउने र दामअनुसारको माम पकाउने । यिनका आँखामा परेका कस्ता कस्ता हरामी पनि दामी भएका छन्, बेनामी पनि नामी बनेका छन् । कस्ता कस्ता लण्ठुप्रसाद पनि यिनको पुरस्कार थापेर कण्ठुप्रसाद भएका छन् । शहरमा यिनको जति चर्चा आजसम्म कसैको भएन र हुन पनि नपरोस् भन्ने भावना नबढेको होइन । तर लोतिखरे साहित्यकारको नपुंसकत्व राम्ररी बुझेको छ जोइ पोइ संस्थाले । लड्डु भेटे भड्डु जत्रो मुख बाउने पाङदुरे साहित्यकारको बाहुल्य नै यो कम्पनीको फलिफापको प्रमुख कारण पनि हो । आँट नभएका विचरा निम्सरा र भ्रष्ट स्रष्टाहरू निवेदन बोकेर घट्टेकुलोको ठूलो डिलतिर हाम्फाल्छन् । जोइ पोइले यसो विष्ट्याए पनि सुरुङ्जत्रो मुख बाएर रसास्वादन गर्न तम्तयार लाम बस्छन् । वामपन्थीदेखि खामपन्थीसम्म, प्रजातन्त्रवादीदेखि बजातन्त्रवादीसम्म, बुद्धिजीवीदेखि लद्धुजीवीसम्म सबका सब यिनका आँगनमा लम्पसार परिरहेका हुन्छन् । यिनीहरूले पहिले तीताराम मिठाराम पनि चलाए । केही समय यो पाल र ऊपालका खालको पुरस्कार पनि दिलाए । त्योभन्दा पहिले खाँदनी खाको सारी टक्टक्याएर गुन्द्रुक पेलेको सबैलाई थाहा छ । यो कम्पनीको नाम सुन्दा नरहरि पनि थरहरी हुने गर्छन् । कान्ताका कोमल पाउमा भेटी चढाएर माउवादीको हाउभाउ बढाएर माल पार्टीको माल झार्नसम्म भ्याएका छन् । यिनले विरोधी जति सोधी सोधी, खोजी खोजी पुरस्कार दिलाएका छन् । यिनकोमा मालपानी खान दलका मलसम्म कमण्डलु बोकेर जदौ पारामा धनुषाकारमा लामबद्ध हुने गर्छन् । यो कम्पनीले सालोलाई कालो र कालोलाई सालो बनाउन पनि सक्छ । यसले प्रमाणपत्र दिएपछि लम्फुल्वाँठ पनि क्याँटवाला बन्नसक्छ । यिनको दया मायामा कत्रा कत्रा केसीहरू पनि खसी भएका छन्, यागराजहरू पनि खाग भएका छन् । साकारहरूले पनि ठूलो आकार लिएका छन् । हुँदा हुँदा अब त विरही पनि सुराही बोकेर उतै हाँजिर हुन थाले । यो कम्पनीले यसपाला भजनभारती पनि कुम्ल्याउने भएको छ । आखिर साकारले नयाँ आकार लिएपछि सर्पहरूले गीत नसुनेर के फरक पर्छ र !

यसपल्ट जोइ पोइ कम्पनीले जशीको खसी खुइल्याउन काम भेट्टाएको छ । शताब्दी बुरुसको यसै मेसोमा देशभरिका १०५ जना लम्फुल्वाँठहरू सम्मानित हुने खबर आयो । सबैले खसीको दशीसहित भागशान्ति जय नेपाल गर्न पाउने भए । यसका लागि के कति खामसहितका दाम आमदानी भए त्यो त थाहा भएन, तर लम्फुहरूको भने राम्रै उद्धार हुने भयो । यो कम्पनीको शुरुआती पछि कोही अब लम्फुको दर्जामा रहिरहन परेन । सायद यिनको पिण्ड खाएपछि खानेको सिधै स्वर्गवास पनि हुन्छ होला । यिनको कर्तुतबाट कतिले घरबार जोडे, कतिले दरबार छोडे, कतिको त्राण छुट्यो कतिको प्राण उड्यो । तर पनि कम्पनी चलेकै छ । यिनको मुट्ठीमा परेपछि माइलीदेवीको कोइली उडेको छ, अरुणाको करुणा पग्लेको छ । द्यौकोटाको कोटाबाट ५० लाख बराबर कुम्ल्याएर अमृका पनि बसे, यसो डलरको खरानी पनि घसे । भनुँ भने ससुरा बुहारीले दुनियाँलाई छहारी दिए । त्योवापत यसो दानापानीका लागि योग्यताअनुसारको रसदपानी पनि लिए । लिने र दिनेको कुरो मिलेपछि जोइ पोइ पुरस्कार परि नै हाल्छ । जसले मह काढ्छ, त्यसले हात चाटिहाल्छ । धेरैलाई मोहनीको मह ख्वाएपछि हात चाट्दा पर्ने माल मुलाको के गन्ती भो र ! अँ, साँची, यिनको पुरस्कारमा पनि दलको कोटा छ रे ! कुन दलले थालमा सुन राखेर सिफारिस गर्छ, त्यही पुरस्कृत हुन्छ रे ! कस्तो राम्रो सिस्टम ? अझ यिनको धुपौरे त असम्मानित हुनुपर्दैन रे ! अहा ! कस्तो राम्रो योजना ? यिनले सन् २०२० भित्र सबैलाई मुर्गा बनाइसक्ने प्रण गरेका छन् रे ! सबै कवि, सबै लेखक, सबै पत्रकार, सबै लम्फुल्वाँठहरू सम्मानित भएपछि मात्र आपूm हुने यिनको सोच छ रे ! यो कम्पनीको उदयपछि नामर्द साहित्यकारहरू पनि मर्द भएका छन् । नदीहरू सागर भएका छन् । दोषीहरू निर्दोषी भएका छन् । श्यामहरू श्वेत भएका छन् । प्रश्रितहरू आश्रित भएका छन् । निधिहरूको गिदी पगाल्न नसकेर मात्र यिनीहरू चिन्तित बनेका हुन् । अरु सबै यिनको एकलौटी छ । यिनले जे भने पनि चल्ने भएपछि अब भात नीति चलाउन राजनीति गर्नु पर्दैन, राजनीतिले नै भात नीति चलाउँछ । यिनको शब्दकोशमा लाज शर्मको मर्म तृणभर छैन । जसीका नाउँमा सिंगै खसी खानु उसले परम् धर्म मानेको छ, नखाई बाँचिंदैन भन्ने पनि जानेको छ । नबाँची सिन्को भाँचिंदैन भन्ने ठानेको छ । यो मान्ने, जान्ने र ठान्ने कारणले यो कम्पनी एक नम्बरमा पर्न थालेको छ । कम्पनीको खाने र कम्पनीलाई ख्वाउने परम्परा एकनाससित चलिरहेकै छ । शताब्दी मात्र होइन अर्को गताब्दीसम्म पनि चलिरहने छ । यदि तपाईंमा पनि चरम रूपमा शरम छैन भने, भात खान लाज छैन भने, सधै लम्फुल्वाँठको साढेसातीले ग्रस्त पारेको छ भने, नामविनाको काम छ भने आजैका मितिमा जोइ पोइ संस्थामा निवेदन दिनुस्, तपाईं उत्कृष्टमा परिहाल्नु हुन्छ । तपाईंले परम् वीरचक्र पदवी पाइहाल्नु हुन्छ । यो संस्था दाम लिन र दिन सिपालु मात्र होइन कृपालु पनि छ । यिनले नेपाली साहित्यमा पाण्डित्यको पनि ठेक्का पाएका छन् । कसलाई उठाउने, कसलाई सुताउने, कसलाई लडाउने, कसलाई अघि बढाउने यिनकै हातमा छ । लोकतन्त्रमा लिनलाई लाज हुँदैन । लाज मानेर काज पनि चल्दैन । त्यसकारण ढिला नगर्नुस्, आजै जोइ पोइ पुरस्कार खाइहाल्नोस्, चुक्नुभयो भने फेरि मरेपछि खा बाबै केरा होला नि ?



महाकवि देवकोटा आश्रम, काठमाडौं ।


No comments:

Post a Comment