शनिबार बिहान एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा निम्तो थियो। पत्रकार भएको नाताले। कार्यक्रम थियो पार्टी प्रवेश। विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश तथा स्वागत कार्यक्रम रहेछ। निर्धारित समय बिहानको साढे आठ बजे नै म त्यहाँ पुगिसकेको थिएँ। माओवादी अध्यक्ष प्रचण्ड तराईको कुनै क्षेत्रमा भाषण गर्न जान हतारोमा थिए। त्यसैले तोकेकै समयमा कार्यक्रम भयो। प्रत्येक शनिबार माओवादी प्रवक्ता अग्नि सापकोटाले पत्रकार भेटघाट गर्ने हलमा कार्यक्रम आयोजना गरिएको थियो। सानो हल खचाखच मानिस। लुसुक्क परेर सुकुल तानेँ र छेउमा बसेँ। संयोगले दौरा सुरुवाल र ढाकाटोपी लगाएका कलिला ३/४ केटा छेउमा परेछन्। निधारमा चन्दन पनि थियो, टुप्पी देखिनँ। मलाई थाहा थियो पण्डित पढ्ने विद्यार्थीहरु यस्तो भेषमा हुन्छन्। मनमनै सोचेँ केटोहरु पनि अब कम्युनिष्ट बन्ने भएछन्। कार्यक्रम प्रवक्ता सापकोटाले सञ्चालन गरेका थिए। पार्टी प्रवेश गर्नेहरुको नामावली वाचन गर्दै गए। भन्दै थिए अखिल नेपाल…एकछिन रोकिए।
अनि पूरा उच्चारण गरे- अखिल नेपाल पण्डित संघका मित्रहरु पनि पार्टी प्रवेश गर्दै हुनुन्छ। सँगै बसेका खिनौटे ३/४ केटाहरुलाई हेरेँ पक्का कम्युनिष्ट हुन आएका रैछन् केटाहरु, मनमनै भनेँ। मसँगै सुकुलमा बसेका पण्डित हुने कोसिसमा रहेका केटाहरुले पनि प्रचण्डको हातबाट अबिर लगाएर औपचारिक रुपमा कम्युनिष्ट बने। ठीकै छ, पण्डितहरु कम्युनिष्ट हुनै नपाउने भन्ने त कतै छैन्, मनमनै कुरा खेल्यो। कुरा नटुङ्गिने गरी बोल्न बानी परेका प्रवक्ता सापकोटाले कार्यक्रम अगाडि बढाइरहेका थिए। पार्टी प्रवेश गर्नेहरुलाई अबिर जात्रा सकिएको थियो। लगतै सापकोटाले आग्रह गरे – पण्डित मित्रहरु, शंख, घण्टी र स्वस्ति वाचन गरिदिनुहोस ….(आग्रह)। नव प्रवेशी पण्डित कमरेडहरुले दन्काइहाले – दोहोरो शंख बज्यो, घण्टी पनि बज्यो…..मन्त्र फररररररर।
अब भने म सामान्य रहन सकिनँ। कुनै दिन म कम्युनिष्ट पार्टीको प्योर कार्यकर्ता हुँदा मलाई घोकाइएको र मलाई बुझाइएको सबै विचार कता गयो ? म सुन्य बनेँ।
आस्थाले म कुनै समय कम्युनिष्ट विचारमा लिप्त भई युद्ध लड्नसम्म पुगेको मान्छे। हामीलाई स्कुलिङ यस्तो गरिन्थ्यो- धर्म अफिम जस्तै हो। त्यसको नसामा फँसेका जोकोही हत्तपत्त निस्कन सक्दैनन्। हामी कम्युनष्टिहरुले यो नशा त्यागिसकेका छौँ, त्यसैले हामी फरक धातुको मानिस बनिसकेका छौँ। यसरी नै हामीलाई राजनीतिक प्रशिक्षण दिँदै हाम्रो नेतृत्व गर्ने कमरेडहरु यतिखेर उनीहरुको भाषामा अफिमको नसामा चुर्लुम्म डुबेको भाव भएको छ।
जनयुद्धलाई सफल पर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताले राम्रो उपाय रचेका रहेछन्। त्यो उपायले मलाई पनि शिकारल बनाएको थियो। कम्युनिष्टहरु भौतिकवादी हुन्छन्, विज्ञानका करा गर्छन् सबै भ्रम मात्रै। म सामान्य कम्युनिष्ट सर्मथकको मनमा यो भन्दा बढी केही खेल्न सकेन। तर एउटा कुरा पछिल्लो समयमा म अलिकति पहिचानवादी बन्न खोज्ने मान्छे, खुशी पनि भएँ। कम्तिमा पनि पण्डितहरुले आफ्नो पहिचान शंख, घण्टी र मन्त्र पनि लिएर कमरेड बने। कम्युनिष्ट पार्टीमा प्रवेश गरे। यो अर्थमा म सारै खुशी पनि भएँ। मेरो सहअस्तित्ववादी विचार हुनसक्छ। तर सारै चिन्ता लागेको कुरा अब भने आफूलाई कम्युनिष्ट भन्नेहरु विस्तारै वैचारिक रुपमा भ्रष्ट बन्न थालेछन्।
स्वस्ति शान्ति मन्त्र वाचन भइरहेको थियो। फनक्क फर्केर प्रचण्डको मुहारमा हेर्न भ्याएछु। बाक्ला जुङ्गेदार जनयुद्धका हाम्रा कमाण्डर मुसुक्क–मुसुक्क हाँसिरहेका थिए। भन्न मन लाग्यो, दुनियालाई भ्रममा राखेर यतिखेर आफ्नो असली रुप देखायौ। नजिकै बसेका सबैको मुहार हेरेँ, केही अचम्मित पाएँ। म जस्तै धेरै पूर्व र वर्तमान कार्यकर्ताहरु भ्रमित पाएँ। कोही मुस्कुराइरहेका थिए।
तत्कालीन नेकपा माओवादीका नेताहरुले म र म जस्ता धेरै नेपाली जनतालाई भ्रममा पारेर फाइदा लिएछन्। म लिम्बूको छोरा किरात भाषा, धर्म, संस्कार संस्कृति र रितिरिवाज सबै थाति राखेर जनयुद्धमा होमिएको थिएँ। आजको कार्यक्रमबाट म साँच्चिकै विगतबाट त्रसित बनेँ।
अहिले म पेशाले पत्रकार। पार्टीको कार्यकर्ता बन्न छोडेको पनि ७ वर्ष नै भइसक्यो। अब भने मैले कम्युनिष्ट विचारधारी हुने बाटो त्यागेँ। बरु आफ्नै पालाम, ख्याली, हाक्फारे र मुन्धुमहरु घोकेर बस्छु। भावी पुस्ताले जान्ने अवसर पाउँछन्। भो पुग्यो मार्क्सवाद, लेनिनवाद र बाँकी सबै वादहरु …..।
http://www.mysansar.com बाट साभार
No comments:
Post a Comment