मितिः २०७३।०३।१८
श्री कुलपतिज्यू
नेपाल प्रज्ञा–प्रतिष्ठान ।
श्री कुलपतिज्यू
नेपाल प्रज्ञा–प्रतिष्ठान ।
विषय - राजीनामा ।
महोदय,
उपर्युक्त सम्बन्धमा मलाई प्राज्ञ परिषदको बैठक नं. २÷०७१–०७२ को निर्णय बमोजिम नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको सदस्यमा मनोनयन गरिएको कुरा यहाँलाई अवगत नै छ । मलाई मनोनयन गर्दा दिइएको पत्रमा विभागका कार्यक्रमहरू तर्जुमा गर्न तथा तिनलाई लागू गर्न मेरो विज्ञताको अपेक्षा समेत गरिएको छ । त्यसपछिका करिब दुई वर्षको अवधिमा प्रतिष्ठानको साहित्य (पद्य) विभागले तीनवटा ‘राष्ट्रिय कविता महोत्सव’का साथै कवि गोष्ठी, अन्तरक्रिया र साहित्यिक कार्यक्रमहरू गरिसकेको छ । तर ती कार्यक्रम तर्जुमा गर्दा तथा लागू गर्दा पत्रमा उल्लेख गरिएको जिम्मेवारी बहन गर्नेगरी मेरो आवश्यकता बोध गरिएन र मलाई सूचनासम्म दिइएन ।
विभाग सदस्यको हैसियतमा मलाई एकाधपटक बैठकमा डाकियो र कार्यक्रमबारे संक्षिप्त जानकारी दिइयो । तर, अन्तरक्रियाको विषय, वक्ता, सहभागी हुने कवि र कार्यक्रम प्रकृति लगायत विषयमा मसँग कुनै पनि छलफल गरिएन । कवि गोष्ठीमा कवि छनोट र महोत्सवमा मूल्याङ्कनकर्ताको छनोट प्रक्रियामा प्रारम्भिक सूचना समेत प्राप्त भएन । त्यसैले यस अवधिमा भएका अन्तरक्रिया, कवि गोष्ठी र कविता महोत्सवमा मेरो संलग्नता रहन सकेन । साहित्य (पद्य) विभागद्वारा आयोजित कार्यक्रममा समेत सहभागिताका लागि मात्रै निमन्त्रणा प्राप्त भयो ।
यसैबीचमा साहित्य (पद्य) विभागद्वारा आयोजना गरिएका सबैजसो कार्यक्रम विवादित र आलोचित भए । विभाग सदस्य भएको नाताले त्यस्ता विवाद र आलोचनाको क्रममा मलाई समेत कवि, साहित्यकार र सर्वसाधारणले औँला ठड्याउनु स्वभाविक हो । विभागद्वारा भएका कार्यक्रमहरूको सम्पूर्ण संयोजन केवल विभागका संयोजकको तजविजमा भइरहेको छ भन्ने सबैलाई थाहा नहुनु पनि स्वभाविकै हो ।
यसै क्रममा प्रकाशित कवितालाई ‘राष्ट्रिय कविता महोत्सव’मा पुरस्कृत गर्ने, संविधानले संघीयतालाई संस्थागत रूपमा स्वीकारी सकेपछि पनि संघीयता विरोधी कवितालाई पुरस्कृत गर्ने र दलित समुदायलाई अपमान गर्ने कविता वाचनको लागि छनोट गर्ने कार्य भए । यसो हुँदा मूल्याङ्कनकर्ता छनोट पनि विवादको विषय बन्यो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा उपयुक्त कार्यपत्र प्रस्तुतकर्ता र वक्ता छनोटबारे पनि प्रश्न उठिरह्यो । यस विषयमा देशका प्रतिष्ठित कवि तथा साहित्यकारले विभिन्न सञ्चार माध्यम मार्फत आफ्नो आलोचनात्मक मत सार्वजनिक गरिरहेको समेत यहाँलाई विदितै छ ।
यस्तो अवस्थामा प्रतिष्ठानबाट भइरहेका विवादास्पद र गलत कार्यको किनाराको साक्षी भइरहन मलाई स्वीकार्य भएन । त्यसैले राष्ट्रको कला, साहित्य र संस्कृतिको उन्नयन तथा संरक्षण गर्नुपर्ने संस्थामा देखिएको राजनीतिकरण र विवादित तथा गलत कार्यको घोर भत्र्सना गर्दै साहित्य (पद्य) विभागको सदस्यको जिम्मेवारीबाट राजीनामा दिएको छु ।
...........
विष्णु भण्डारी
(सदस्य)
साहित्य (पद्य) विभाग
विष्णु भण्डारी
(सदस्य)
साहित्य (पद्य) विभाग
No comments:
Post a Comment