अबको बाटो के हो ? माओवादीले के गर्नुपर्छ ?
लामो समयको प्रयत्नबाट एकीकृत नेकपा (माओवादी) र अन्य माओवादी घटकहरुको बलिदानीपछि बढो तामझामका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को घोषणा भयो । घोषणामा १० वटा माओवादी पार्टी वा समूहको मिलनपछि माओवादी केन्द्रको उदय भएको बताइयो ।
पार्टी अध्यक्ष प्रचण्डले बढो भावुक भएर शहिद, घाइते र बेपत्ता योद्धाका परिवारको आँशु पुछ्न अब घर-घर जाने घोषणा गर्नुभयो । ६९९ सदस्यीय केन्द्रीय समितिका साथ अब माओवादीलाई कसैले हराउन नसक्ने उदघोष भयो । तर, एकता घोषणाको २४ घण्टा नबित्दै फेसबुक र अनलाइनका भित्ताभरि पद मिलान र केन्द्रीय समिति थपका विषयमा तरह-तरहका सामाग्रीहरु छाउन थाले ।
माओवादीहरुको एकता जरुरी, आवश्यक र सही थियो, यो सत्य कुरा हो । तर, के संक्रमणकालीन कार्यदिशा भन्दै वैचारिक र संगठनात्मक सवाल नटुंग्याइकन भावनाको बलमा हतारोमा एकता घोषणा गरिहाल्नु सही थियो ? आज एकता घोषणाको हप्ता दिन पनि नवित्दै यो प्रश्नले उत्तर पाइसकेको छ । सबैले अनुभूति गरिरहेका छन् कि संगठनात्मक लगायतका विषयहरु नटुंग्याई भावनात्मक रुपमा हतार-हतार गरिएको एकताले सकारात्मक सन्देशहरु त दिएको छ नै, तर त्योभन्दा धेरै नकारात्मक सन्देशहरु दिन थालेको छ ।
यस्तो अवस्थामा ती नकारात्मक सन्देशहरुलाई चिर्न र तिनका बिरुद्ध लड्न पनि ती नकारात्मक सन्देशहरुको चर्चा गर्नु र माओवादी केन्द्रले लिनुपर्ने अबको बाटोबारे केही सुझावहरु पेश गर्नु नितान्त जरुरी छ ।
माओवादी एकताका नकारात्मक सन्देशः
१. फुट विभाजनलाई प्रोत्साहन
माओवादी एकताले धेरै सकारात्मक छाप र सन्देश त छाडेको छ नै, तर नकारात्मक छाप र सन्देश पनि त्यत्तिकै मात्रामा छाडेको छ, जसको चर्चा गरेर त्यसलाई निमिट्यान्न नपार्ने हो भने कालान्तरमा त्यसले सिंगो माओवादी आन्दोलनलाई नै सिध्याउनेछ ।
जस्तो कि- यो एकताले आम कार्यकर्ता पंक्तिलाई माथिल्लो कमिटीमा बढुवा हुनका लागि पार्टी विभाजन जरुरी छ भन्ने एउटा गम्भीर मनोबैज्ञानिक प्रभाव छोडेको छ । त्योसँगै विगतमा पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकिरहनुभएका तात्कालीन नेकपा -क्रान्तिकारी माओवादी)का नेताहरुले कमरेड बादलको नेतृत्वमा नै सही, पार्टीको नाम र केन्द्रीय समितिदेखि तात्कालीन एकीकृत माओवादीको अधिकांश संरचना फेरबदल गरेर फुट र विभाजन सही थियो भनेर पुष्टि गरिसक्नुभएको छ । यसले पार्टी विभाजन गर्नु गलत हुँदैन भन्ने नजिर स्थापित गर्न खोजेको छ । त्यसैले यो एकता र एकतापछि बनेको केन्द्रीय समितिले फुट र विभाजनलाई निरुत्साहित होइन, प्रोत्साहित गरेको छ । आज पार्टी विभाजन वा विद्रोह गरेर भोलि नयाँ पार्टी बनाई फेरि पर्सी पदको बार्गेनिङ्ग गर्दै एकता गर्नुपर्ने प्रवृृतिलाई यसले मलजल गरेको छ ।
२. माओवादी आन्दोलनमा तरलता अर्थात संगठनात्मक संक्रमणकाल
लामो समयको संगठनात्मक संक्रमणकाल चिरेर माओवादी आन्दोलन, एकीकृत माओवादीको नेतृत्वमा आन्दोलनवाट एउटा सुव्यवस्थित पार्टी बन्ने अभियानमा थियो । त्यसलाई चिर्दै यो एकताले त्यो माओवादी आन्दोलनलाई फेरि तरल बनाएको छ ।
पार्टी संगठन र संगठनात्मक सवालहरुको जवाफ सिस्टमले अथवा बिधानले होइन, परिस्थिति र नेतृत्वले दिनुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण पार्टीभित्र फेरि नयाँ संगठनात्मक संक्रमणकाल शुरु भएको छ । यसले पार्टीलाई भद्दा र अकर्मण्य बनाउने निश्चित छ । यस्तो संक्रमणकालको चाँडै अन्त्य नगर्ने हो भने “तंै रानी, मैं रानी को भर्ने कुवाको पानी” को अवस्था नहोला भन्न सकिन्न ।
३. अकर्मण्य कार्यदिशा
माओवादी केन्द्रको अहिलेको संक्रमणकालीन कार्यदिशा भनेको जनवाद र समाजवादको कक्टेल कार्यदिशा हो । त्यो भनेको न जनवाद हो, न समाजवाद हो ।
अर्को अर्थमा भन्दा त्यो अकर्मण्य कार्यदिशा हो । यस्तो अकर्मण्य कार्यदिशाले पार्टीलाई मात्र होइन, सिंगो देशलाई अकर्मण्य बनाउने छ । क्रान्तिकारी पार्टीको कार्यदिशा त क्रान्ति सम्पन्न गर्ने मात्र होइन, क्रान्ति अघि र पछि देशलाई विकास र समृद्धितर्फ डोर्याउने पो हुनुपर्छ त ।
४. संगठनात्मक असन्तुलन र भद्रगोल
एकतापछि बनेका सबै तहका समितिहरु असाध्यै असन्तुलित भएका छन् र हुँदैछन् । जसका लागि ६९९ सदस्यीय केन्द्रीय समितिको उदाहरण नै काफी छ । बैचारिक सैद्धान्तिक छलफल हुने र सबैखाले नीतिगत निर्णय गर्नुपर्ने पार्टीको केन्द्रीय निकाय त यस्तो छ भने अब यसपछि बन्ने प्रदेश समिति, जिल्ला समिति, गाउँ/नगर समिति र जनवर्गीय संगठनका विभिन्न समितिहरु कस्ता होलान् ? सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसैले यस्तो असन्तुलित पार्टी संगठनले चारैतिर क्रान्ति होइन, भद्रगोल सिर्जना गर्ने काम मात्र गर्नेछ । जसले गर्दा चारैतिर निराशा र कुण्ठा व्यापक मात्रामा बढ्नेछ । यसले पार्टी संगठनलाई मालेमावादी विचारले लैस, श्रमजीवी वर्गको संघर्षको मजवुत हतियारमा होइन कि एउटा बोधो प्रशासनिक निकायमा बदल्नेछ ।
अझ “पहिलो गाँस मै ढुंगा” भनेझैं ठोस रुपमा पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समेत टुंग्याउन नसक्नु र एकताका नाममा एकतामा सामेल पार्टीका केन्द्रीय सदस्य पनि नभएका (अझ कोही कोही त कम्युनिष्ट पार्टीका सदस्य समेत नभएका) हरुलाई जथाभावी केन्द्रीय सदस्य बनाइनुले सम्बन्धित नेताहरु एकताप्रति वास्तबमै इमान्दार छैनन् भन्ने देखिएको छ ।
अबको बाटो के हो ?
यी नकारात्मक सन्देशहरुलाई चिर्दै फेरि एकपटक तरल भएको माओवादी आन्दोलनलाई सँगेटेर ठोस कार्यक्रमसहितको समाजवादी क्रान्तिको ठोस कार्यदिशा, एकतावद्ध, जुझारु एवं सक्रिय क्याडरसहितको, आशावादी जनता भएको एउटा क्रान्तिकारी माओवादी पार्टी बनाउनु नै माओवादी केन्द्रको आजको मुख्य चुनौती हो ।
फुट विभाजनले निराश भएका समर्थक जनतालाई आशा जगाउन सफल यो एकताले के ती आशातीत जनताको मुहारमा खुसी छर्न सक्ला ? आज सन्देहको बिषय बनेको छ । यदि जनताको मुहारमा खुसी छर्ने नै हो र अध्यक्ष प्रचण्डले भनेजस्तो पार्टीलाई एक नम्बरको बनाउने हो भने नेकपा (माओवादी केन्द्र)ले यसो गर्नुको बिकल्प छैन ।
१. आत्मालोचना र नयाँ संकल्प
एकतापछि बनेको नयाँ पार्टीले बिगतमा भएको पार्टी विभाजन गल्ती थियो भनेर त्यसवाट आम जनता र कार्यकर्तामाझ परेको असर तथा पार्टी र क्रान्तिकारी माओवादी आन्दोलनमा भएको क्षतिप्रति संवेदनशील भएर माफी माग्नुपर्दछ तथा विगतका गल्ती कमजोरीप्रति आत्मालोचित हुनुपर्दछ । अब नयाँ शिरावाट माओवादी आन्दोलनको पुनर्गठन गर्ने र यसलाई समाजवादी क्रान्तिसम्म लैजाने प्रतिवद्धतासहित नेतृत्वले आम कार्यकर्ता र जनताको विश्वास जित्न नयाँ संकल्प गर्नुपर्छ ।
२. तत्काल पार्टी महाधिवेशन
६९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिले सकेसम्म छिटो (बढीमा ३/४ महिनाभित्रै) महाधिवेशन गर्नु पर्दछ । महाधिवेशनमा आयोजक समिति सदस्यसमेत तल जिल्लावाट चुनिएर आउने व्यवस्था गरिनुपर्दछ ।
तुरुन्तै वैज्ञानिक कार्यविधि बनाई केन्द्रीय सदस्यको निगरानीमा वडा, गाउँ नगर र जिल्ला सम्मेलन सहभागितामूलक जनवादको आलोकमा सम्पन्न गरिनु पर्छ । यसले मात्रै पार्टी संगठनको संक्रमणकाल अन्त्य गरी तरल माओवादी आन्दोलनलाई ठोस माओवादी पार्टीमा रुपान्तरण गर्नेछ ।
जेसुकैको होस् नाम भनेको एउटा पहिचान हो । एक दशकमा तीन पटकसम्म पार्टीको नाम फेरिँदा आम सर्वसाधारण जनतालाई पार्टीको पहिचान गर्न नै समस्या भैरहेको छ । त्यसैले महाधिवेशनबाट पुरानो स्थापित नामलाई नै पुनर्जीवित गर्नु उपयुक्त हुन्छ ।
३. संगठनात्मक सवालमा नयाँ अभ्यासको थालनी गरौं
हाम्रो कम्युनिष्ट आन्दोलन यति धेरै रुढ छ कि यसले हिजो मार्क्स, लेनिन र माओले गरेको अभ्यास र नीति आज जतिसुकै अवैज्ञानिक भए पनि त्यसलाई गलत भन्ने र परिवर्तन गर्ने आँट गर्दैन । हाम्रो संगठनात्मक सवाल पनि आज त्यसैको शिकार भएको छ ।
कि लेनिनवादी संगठनात्मक ढाँचा गलत छ, कि त हाम्रा नेताहरु त्यसलाई गलत ढंगले लागु गर्दैछन् । यो विषयमा गम्भीरतापूर्वक बहसहरु हुन जरुरी छ । हाम्रो सामाजिक सांस्कृतिक धरातल र चेतनास्तर अनुरुपको तथा सहजतापूर्वक सबैको अहम व्यवस्थापन गर्न सक्ने संगठनात्मक ढाँचा अवलम्बन गर्न जरुरी छ ।
संगठनात्मक सवालमा नयाँ ढंगले सोच्ने र नयाँ अभ्यासको थालनी नगर्ने हो भने माओवादी आन्दोलन अब एक इञ्च पनि अगाडि बढ्न सक्दैन ।
संगठनात्मक सवालमा हामी र हाम्रा नेताहरु रुढ मात्र हैन, असाध्यै संकीर्ण र स्वार्थी प्रवृतिका छौं र छन् । हो, अध्यक्ष प्रचण्डले बेलाबेला भन्नुहुन्थ्यो कि पार्टी संगठनमा जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनेछ । युवा, अधबैंशे र बुढाहरुको बराबर ‘कम्बिनेसन थ्री इन वान’ लागु गरिनेछ । तर, आजको पार्टीलाई नियाल्ने हो भने ती सबै फगत बकबासमा परिणत भैसकेका छन् । संगठनात्मक सवालमा माओवादी केन्द्रको अबको बाटो भनेको केन्द्रीय समितिको संख्या किटानी गरी समानुपातिकरुपमा सबैको (युवा, बृद्ध र अधबैंशेको समेत) कोटा निर्धारण गरिनु तथा त्यो थ्री इन वान र समानुपातिक प्रतिनिधित्वको प्रचण्ड मिसनलाई हरहालतमा कार्यान्वयन गर्नुपर्छ । फेरि त्यसको कार्यान्वयन नेताहरुको मनोमानी मनोनयनवाट होइन, सम्बन्धित प्रदेशका क्याडरहरुको विवेकवाट गरिनुपर्छ । त्यो कुरा महाधिवेशन अगावै बलियो कार्यविधि र विधान निर्माण गरी त्यही विधान र कार्यविधिबाट बाँधिएर र त्यसलाई अक्षरशः पालना गरेर मात्र सम्भव छ ।
४. समाजवादी क्रान्तिको नयाँ बाटोका लागि नेपाली समाजको अनुसन्धान
हामी आफूलाई वैज्ञानिक समाजवादी भन्छौं । तर, हाम्रो कम्युनिष्ट आन्दोलनमा नेपाली समाजबारे एकरत्ति पनि वैज्ञानिक अनुसन्धान भएको छैन । अनि हामी कुन बैज्ञानिक निष्कर्षका आधारमा, कसरी क्रान्तिको बैज्ञानिक बाटो तय गर्न सक्छौंं ?
हामी धेरैलाई लाग्छ कि नेताहरुको दिमाग नै सबै थोक हो, जसले सबै कुराको निकास र निष्कर्ष दिन सक्छ । जुन असाध्यै गलत मात्र हैन, सामन्तवादी चिन्तनको एउटा निकृष्ट नमूना पनि हो । माओवादी केन्द्रले आफुलाई बैज्ञानिक समाजवादी ठान्छ भने तुरुन्तै एउटा शक्तिशाली अनुसन्धान केन्द्र निर्माण गरी त्यसको निष्कर्षका आधारमा पार्टीको आगामी दिनको बाटोबाट नेपाली क्रान्तिको ठोस कार्यदिशा निर्माण गरिनुपर्दछ, जसले मात्र माओवादी केन्द्रलाई बैचारिक रुपमा सुस्पष्ट क्रान्तिकारी पार्टीमा रुपान्तरण गर्न सक्छ ।
५. अनुभूति हुने गरी नेतृत्वको जीवनशैली र कार्यशैलीमा रुपान्तरण
आजको माओवादी केन्द्र र यसका नेतृत्वलाई आम जनता र कार्यकर्ताले धरै अगाडिदेखि आफ्नो जीवनशैली र कार्यशैलीमा रुपान्तरण गर भनेर भनेका हुन् । तर, नेतृत्व र एक स्तरका कार्यकर्ताहरुले त्यो कुरा, सधैँ बेवास्ता गर्दै आए । तर, अब पनि त्यसलाई बेवास्ता गर्ने हो र आफ्नो बिलासी तथा जनताबाट कटेको शहरिया जीवनशैली र गैरमार्क्सवादी कार्यशैलीलाई सबैले अनुभूति गर्ने गरी नसच्याउने हो भने माओवादी नेतृत्वप्रति आम जनताको बिश्वास जागृत हुन सक्दैन ।
यस सन्दर्भमा अध्यक्ष प्रचण्डको जीवनशैली फेर्ने प्रतिवद्धता र पार्टीले विगतमा गरेका गल्तीहरुको स्वीकारोक्तिको दस्तावेजलाई नियाल्न जरुरी छ । र, सबैले त्यसलाई पछ्याउन आवश्यक पनि छ ।
अन्त्यमा आम माओवादी पंक्ति र समर्थक शुभचिन्तकलाई उत्साह दिन सफल माओवादी एकताबाट सिर्जित माओवादी केन्द्रले आफैले आफुलाई नथेग्ने पो हो कि भन्ने चिन्ता सर्वत्र छाएको बेला भएका कमजोरीहरु सच्याउँदै फेरि कमजोरी नदोहोर्याउने दृढता देखाउन जरुरी छ । तत्काल महाधिवेशन गरी नेतृत्वको अहम् व्यवस्थापन गर्दै माओवादी आन्दोलनलाई पार्टी सिस्टमको एउटा साँचोमा ढालेर मात्रै माओवादी केन्द्रले आफ्ना तमाम चुनौतीलाई चिर्न सक्छ । विचारमा दृढता, कार्यान्वयनमा (व्यवहारमा) लचकता र संगठनमा चुस्त दुरुस्तता कायम गरौं, माओवादीको यसैमा भलाइ छ ।
(अर्याल अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्)
http://www.onlinekhabar.com बाट साभार
No comments:
Post a Comment