Monday, March 14, 2016

एमाले र एमालेको सूर्य कथा - श्यामल


तिनताका म नारायण ढकालको सम्पादनमा निस्कने दृष्टि साप्ताहिकको कुञ्जीजस्तै बनेको थिएँ । यो मैले नै स्वेच्छाले बेसाएको दु:ख थियो । मबिना पैसा अहोरात्र खटिएर काम गर्थें किनभने नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको सफलता लामो समयदेखि मेरो सपनासँग नाभिनालबद्ध थियो । उता कथाकारका रूपमा ख्याति कमाइसकेका तर दुनियाँ बदल्ने महान् क्रान्तिमा हामफालेका नारायणका आफ्नै जटिल पारिवारिक र पार्टी जीवनले उनको बौद्धिक, अािर्थक र पारिवारिक स्वास्थ्यमा रहेबचेको क्षमतालाई अधिकतम दोहन गरिरहेको थियो । वामपन्थी राजनीतिको भूमिगत प्रणाली र नेता कार्यकर्ताको संस्कृति बाहिरी जगत्का लागि नबुभिँmदो रहस्य थियो । तिनीहरू सहरका गल्ली र चोकमा र गाउँबस्तीहरूमा गतिमान मित्रहरूका माध्यमबाट बाह्य गतिविधि गर्थे । तिनका यथार्थ नाम ठेगाना सोध्न, भन्न र लेख्न बर्जित थियो । ती यति भूमिगत थिए कि तिनका आफन्तहरूलाई नै ती कहाँ जान्छन्, के गर्दैछन्, र तिनको शुभ–अशुभ परिणाम के कस्तो हुने हो केही थाहा थिएन । जादुगरझैं तिनीहरू अचानक प्रकट हुन्थे । कुनै विश्वस्त सूत्रसँग खासखुस गरेर गायब हुन्थे । बाहिर माक्र्स जयन्ती, लेनिन जयन्ती, माओ जयन्ती, सांस्कृतिक कार्यक्रम र सभाजुुलुस हुन्थे र तिनका भूमिगत नायकहरू अँध्यारोमा बैठक बसेर त्यस्ता कार्यक्रमको समीक्षा गरिरहेका हुन्थे । तिनका बैठकमा कसैको भाग्यको फैसला हुन्थ्यो । तिनीहरू अनौठा छद्म नाममा लामालामा राजनीतिक बहस चलाउँथे । कुनै गल्लीबाट कसैले तिनलाई बाहिर ल्याउँथ्यो र पत्रपत्रिकामा राजनीतिक बहसको प्रारम्भ हुन्थ्यो । यस्तो अवस्थामा निरंकुश सत्ताका नजरमा हरेक मानिस संदिग्ध हुन्थ्यो । सादगीपूर्ण जीवनचर्या, आफ्नो विचारप्रतिको अविचल निष्ठा, संघर्षशीलता, समाजसँगको अन्तर्घुलन, चरम गरिबीबाट गुज्रिरहँदा पनि अनुचित लाभ लिने प्रयास नगरेको कुनै मानिसलाई पनि सत्ताबाट अहोरात्र निगरानीमा राखिन्थ्यो र कुनै प्रकारका राजनीतिक गतिविधि भएमा उसलाई पक्राउ गरिन्थ्यो । वर्षौंदेखि जेलमा कोचिएका र जंगलमा लगेर मारिएका राजनीतिकर्मीहरू बारे तिनका निष्ठा, त्याग र जीवनको उत्सर्गबारे र को कुन हैसियतको हो भन्ने कुरा कसैले थाहा पाउने कुरा थिएन । छयालीस सालको राजनीतिक परिवर्तनले निश्चय नै तिनको आंशिक यथार्थ बाहिर ल्याउन मद्दत गर्‍यो, तर अझै यतिका वर्षपछि पनि उनीहरूका सम्पर्क र भूमिगत जीवनका संघर्षका वास्तविक कथा बाहिर आएका छैनन् । ०४६ सालको परिवर्तनपछि नेपाली राजनीतिले कोल्टे फेर्‍यो । तैपनि कांग्रेस र कम्युनिस्ट नेता कार्यकर्ताहरू तिक्तताको हदबाहिर पुगेका थिए । राजा महेन्द्र र उनका छोरा वीरेन्द्रको निरंकुश पञ्चायती राजनीतिमा उनीहरूले मुलुकका लागि लोकतन्त्रको साझा भविष्य तय गर्न सकेका थिएनन् । कम्युनिस्टहरू धेरै चिरामा बाँडिएका थिए । एकले अर्कोलाई घृणाको दृष्टिले हेर्ने गथ्र्यो । आफ्नो कुनै कार्यकर्ता अर्को समूहको कार्यकर्तासँग हिँडेको देखियो भने ऊ कारबाहीको भागीदारसम्म हुने जोखिम रहन्थ्यो । एक पक्षको केटा र अर्को पक्षकी केटीको बिहे हुन थाल्यो भने नाभिदेखिको बल लगाएर त्यस्तो सामाजिक र व्यक्तिगत अनुष्ठानलाई बिथोल्ने हदसम्म कम्युनिस्टहरू लागेका थिए । माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा संगठन गर्ने, मानिसहरूलाई आकर्षित गर्ने र सैद्धान्तिक वैचारिक बहस गर्ने तहमा क्रियाशील भए पनि तिनको नियत अरूलाई खराब देखाउनु र आफूलाई असल देखाउनु हुन्थ्यो । यसो भन्न सकिन्छ, तिनले पुज्ने देउता उही थिए, मान्ने मष्टो उही थियो । मन्दिरहरू फरक फरक थिए । पुजारीहरू फरक फरक थिए । दशकौंदेखिको यो अभ्यासले तिनलाई जतिसुकै कठोर अवस्थामा पनि एउटै थलोमा आउन दिँदैनथ्यो । तर, यस्तो समय पनि आयो जब मदन भण्डारीलगायतका केही माले युवाहरूले जोखिम मोलेर नेकपा माक्र्सवादीका वृद्ध नेता मनमोहनलाई एकीकरणका लागि तयार गरे । यहाँ केही भन्ने शब्दमा जोड दिनुहोस् किनभने सबै मालेहरूलाई मनमोहन साहनासँग एकीकरण गर्नु उचित लागेको थिएन । एक दिन कालिमाटीस्थित सुनकोसी छापाखानामा खबर आयो : मनमोहन साहना समूह र नेकपा मालेबीच एकीकरण सम्पन्न भयो । यसले हामीजस्ता एकताका पक्षपातीहरूलाई निकै खुसी तुल्यायो । छापाखाना परिसरमा प्रसन्नता व्याप्त भएको थियो । हामी त्यस समाचारलाई विशेष महत्त्वका साथ कसरी प्रस्तुत गर्ने भन्नेबारे विमर्श प्रारम्भ गर्ने चरणमा पुगेका थियौं । सायद नारायणले सम्पादकीय लेख्ने र मैले र गोपाल गुरागाईले ब्यानर समाचार तयार गर्ने निधो भएको थियो । गोपाल यस मामलाका निकै विश्वस्त जानकार थिए र सबैभन्दा महत्त्वपूर्ण स्रोतसम्म पुग्ने क्षमता राख्थे । शैलीगत रूपमा त्यसलाई नयाँ र विचारोत्तेजक ढंगले प्रस्तुत गर्नु मेरो काम हुने थियो । नारायण र म एउटै लामो बेन्चीमा बसेर योजना बनाइरहेका थियौं । अचानक भर्‍याङदेखि नै बर्बराउँदै प्रदीप नेपाल हाम्रो सम्पादन कक्षमा दाखिल भए । उनको अनुहार एकदमै उदास थियो । संघारबाट भित्र टाउको छिराउँदै उनले भने, ‘पार्टीलाई आज आर्यघाटमा सेलाएर आइयो कमरेड †’ प्रसन्न भएर आउलान् भन्ठानेको, अर्कै मन बनाएर आएछन् कमरेड प्रदीप नेपाल जो तत्कालीन नेकपा मालेका केन्द्रीय स्तरका नेता थिए, कतिपय प्रगतिशील छापाधारी पत्रिकाका उल्लेखनीय कथाकार उपन्यासकार सञ्जय थापा थिए र जो कुनै बेला सीपी मैनालीसँग नख्खु जेल तोडेर भागेकाले पनि चर्चामा रहेका थिए, जो चर्चित कवि मञ्जुलका सहोदर भाइसमेत थिए । नारायणले उनीतिर विस्मयपूर्वक ठाडो आँखाले हेरे । मैले भनें, ‘राम्रो भो नि, दुई उस्तै विचारका पार्टीबीचको एकताले बलियो शक्तिको निर्माण गर्छ । तपाईं किन निराश हुनुभएको ?’ ‘होइन कमरेड, म अब फिलिपिन्सतिर लाग्ने भएँ ।’ निकै निराश भएर उनले आफ्नो असन्तुष्टि पोखे । त्यो असन्तुष्टि हाम्रो सम्पादकीय कक्षको भुइँ र सिलिङभरि छताछुल्ल भयो । नारायणको अनुहार एकदम रातो भयो । उनले भने, ‘चुप् लाग्नुस् तपाईं । मनमोहनसँगको एकता के खराब हो ? यस्तो वाहियात कुरा नगर्नुु्ुस् ।’ यस्तो सामान्य बहसबीच फेरि अर्का महानुभाव हाम्रो कक्षमा भित्रिए । सेतो कोटमा सजिएका उनको मुठी निकै दरो गरेर कस्सिएको थियो । उनका आँखा गोलभेंडाजस्ता राता थिए । भित्र छिर्दै उनले भने, ‘अब मसाल ज्वाइन गरिन्छ ।’ ‘हा हा हा...गर्नुस् गर्नुस् । गइहाल्नुस् । गरिहाल्नुस् ।’ नारायणले यसरी प्रतिक्रिया दिए । दुवै महानुभाव आफुजत्तिकै क्रान्तिकारी विचारका धनी तत्कालीन प्रेस प्रबन्धक उत्तम महतका कक्षतिर लागे । अघिल्ला महोदय, अर्थात् कमरेड प्रदीप नेपाल त्यही आर्यघाट पुर्‍याइएको पार्टीका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै सांसद र केहीपटक मन्त्री भए । पछिल्ला महोदय मसाल ज्वाइन नगरी उही पार्टीबाट रााष्ट्रिय सभा सदस्य भए र कालान्तरमा नेकपा माओवादीको पेरिसडाँडा कार्यालयमा प्रविष्ट भए । पछिल्लासँग भेट नभएको धेरै भयो । अघिल्लासँग बेलाबखत हस्तमिलन भइरहेको छ । अघिल्लाले मेरो एउटा सुझावलाई मूर्तरूप दिन निकै मेहनत गरेका थिए । त्यस्तो उत्साहपूर्ण एकीकरणको समाचार सामान्य मात्र बन्न सक्यो । आधिकारिक सम्झौतामा पार्टीको नाम एकीकृत माक्र्सवादी र लेनिनवादी (एमारले) लेखिएको थियो । माक्र्सवादीतर्फका केहीलाई एमारलेप्रति विशेष मोह रहेछ । मैले समाचार बनाउँदा बीचको ‘र’ काटेर संक्षेपमा एमाले बनाइदिएँ । नारायण र गोपाल दुवैलाई यसपछाडिको मेरो तर्क, भलै त्यो अनधिकृत थियो, मन पर्‍यो । तर्क थियो संक्षेप गर्दा ‘र’ लेखिरहनु पर्दैन । यसका लागि मैले बीसौं उदाहरण दिएको थिएँ । ‘र’ जस्तो अनावश्यक वर्ण थपेर लम्ब्याउने हो भने पार्टी नामको संंक्षिप्त रूप नै किन चाहियो ? साथीहरूले मेरो तर्कलाई बलियो मानेका थिए र त्यसैले एमारले एमाले भएर छापियो । भोलिपल्ट पाठकहरू भर्खरै एकीकरण भएर बनेको पार्टीको नाम एमाले भन्न थालिसकेका थिए । तर, माक्र्सवादीका शरणविक्रम मल्ल र तिलक पराजुलीले यसै विषयलाई लिएर यो नयाँ पार्टीसँग आफ्नो सम्बन्धविच्छेद गरेको सुन्नुपर्‍यो । अक्षर अक्षरमा असहिष्णुता, कमा र पूर्णविराममा असहिष्णुता, ड्यास र कोष्टकमा असहिष्णुता राख्नेहरूको सैद्धान्तिक वैचारिक आधार कति फितलो हुन्छ भन्ने कुरा अझै वाम आन्दोलनमा देख्न पाइन्छ । जे होस्, अघिल्ला अर्थात् प्रदीप नेपाल कालान्तरमा त्यसै कक्षमा दाखिल भए, नेकपा एमालेका जिम्मेवार नेताका रूपमा । यसपटक उनको पार्टीले संसदीय चुनावमा भाग लिने कुरा थियो, तसर्थ पार्टी र उसको निर्वाचन चिन्हलाई निर्वाचन आयोगमा दर्ता गर्नु जरुरी थियो । म उनीहरूको चवन्नी सदस्य पनि थिइनँ तर म चाहन्थें त्यो पार्टीको लोकतान्त्रीकरण होस् र निर्वाचनको प्रतिस्पर्धामा अन्य पार्टीहरूका बीच खरो उत्रियोस् । तर, परम्परागत कम्युनिस्टहरू अक्षर, चित्र र झन्डाका झगडामा अल्झिइरहेका हुन्थे । तिनको स्कुलिङले कार्यकर्तालाई सिर्जनशील र मुक्त, स्वाभिमानी र बहुमुखी बनाउँदैनथ्यो, एकोहोरो, जिद्दी र जंगी बनाउँथ्यो । तिनको स्कुलिङले सन्देह गर्ने आलोचनात्मक चेतबाट उपयुक्त निष्कर्षतिर अघि बढ्न मद्दत गर्नुको साटो अर्कामाथि नचाहिंदा शंका गरेर उसको चियोचर्चो गर्ने, गलत सावित गर्ने र नांगेझार पारेर आफूलाई माथि उक्लने भर्‍याङ बनाउन प्रेरित गथ्र्याे । तिनको स्कुलिङले सकेसम्म बढी र धेरैका राम्रा पुस्तक पढ भन्दैनथ्यो, रोजा लक्जम्बर्ग, मिलोभान जिलास, अन्तानियो ग्राम्सी पढेको देख्यो भने संशोधनवादी गद्दार बनाइदिन्थ्यो । यसरी भुसतिघ्रे, जिद्दी र पटमूर्खका भयानक अग्ला मायावी संरचनाका अघि प्रतिभाशाली, अध्ययनशील, विवेकशील र विमर्शप्रेमी जमात निरीह हुँदै गएर बाहिरिंदै गयो । ०४७ सालपछिका कांग्रेस कम्युनिस्ट पार्टीका मन्त्रिमण्डल हेर्नुभयो भने र तिनले उच्च मूल्यांकन गरी राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गरेका मानिसहरूको अनुहार हेर्नुभयो भने मेरो यस अनुभवमा कतिको सत्यता छ भनी जाँची हेर्न सक्नुहुन्छ । तिनका गठबन्धन देख्नुभयो भने तिनीहरूलाई तपार्इंले किञ्चित विवेकशील पाउनुहुने छैन बरु आफैंले बनाएको प्रतिकूल परिस्थितिको दास देख्नुहुनेछ । यसरी अन्यत्रझैं, नेपालका कम्युनिस्टहरूले पनि सयौं वर्ष पुरानो हँसिया हथौडाको झन्डाको स्वामित्वका लागि झगडा गरिरहेका थिए । त्यस दिन मैले प्रदीप नेपाललाई पार्टीको चिन्ह सूर्य राख्नुपर्छ भन्ने सुझाव दिएँ । नेपालका बरोबर फुटिरहने कम्युनिस्टहरूका लागि हँसिया हथौडा वरदान हुनुको साटो अभिशाप भएको जिकिर गरें मैले । कुनै पनि राजनीतिक विचार समूह कार्यक्रमले कम्युनिस्ट हुन सक्ने झन्डाले हुन नसक्ने धारणा राख्तै मैले एमालेले फरक बाटो लिने साहस गर्नुपर्ने बताएँ । उनले त्यस दिन मलाई निकै सुने र डायरीमा टिपे । सायद त्यो उनले आफ्ना माइल्दाइ कवि मञ्जुलबाट सिकेका थिए । मञ्जुलले पनि सायद आनन्ददेव भट्टबाट सिकेका हुनन् । तत्कालीन मालेले त्रिचालिस सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा आफ्नो जनपक्षीय उमेदवारका रूपमा त्यति बेलाका लोकप्रिय व्यक्तित्व पद्मरत्न तुलाधरलाई प्रस्तुत गर्दा उनको चुनाव चिन्ह सूर्य मिलेको थियो र उनले विजय हासिल गरेका थिए । तर, मैले यति मात्र पर्याप्त ठानिनँ । मैले त्यस निकट विगतको सफलतासहित अन्य सात तर्कहरू दिएको थिएँ । पहिलो, क्रान्तिकारीहरू पूर्व दिशालाई शुभ संकेतका रूपमा लिन्छन् जहाँबाट सूर्य उदाउँछ । दोस्रो, सूर्य ऊर्जा र जीवनको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो । तेस्रो, बिहानको सूर्य लाल हुन्छ जुन विद्रोह र क्रान्तिको प्रतीक बनेको छ । चौथो, सूर्यको किरणसँगै मानिस ब्युँझन्छन् । पाँचौं सूर्य निरक्षरले पनि सजिलै खुट्याउन सक्छन् र मतदाता झुक्किने डर कम हुन्छ । छैटौं, धार्मिक, आध्यात्मिक नेपालीहरू सूर्यवन्दनाबाट आफ्नो दिनचर्या प्रारम्भ गर्छन्, र चुनावमा त्यस कारणले पनि हाम्रो मत थपिन्छ । सातौं नेकपा मालेको जन्म पनि पूर्वबाटै भएको हो, जहाँबाट सूर्यनारान नेपाली पृथ्वीको घुम्टो खोल्छन् । ‘र, अर्को पनि थपौं प्रदीप कमरेड ?’ मैले उनलाई जिस्काउने किसिमले सोधें । ‘यति भए पुगिहाल्यो नि कमरेड †’ उनले आफ्नो डायरी बन्द गर्दै भने । ‘होइन, तपाईंकै पनि उपन्यास छ नि... पूर्वतिर भन्ने ।’ यतिबेला उनी मजाले हाँसे । अनि उनले यी तर्कहरूसहित कमरेड मदन भण्डारीसमक्ष प्रस्ताव लैजाने वाचा गरे । र, केही समयमै एमाले सूर्यमय भयो । जुलुसमा, सभामा, गोष्ठीमा, र बेलामौकामा जनताका घरघरमा देखिने सूर्यको झन्डा आज एमालेको एक्लो प्रतीक बनेको छ । (सायद म यो लेख्ने थिइनँ । एकपटक गफैगफमा मैले एकजना एमाले महानुभावलाई सोधें, ‘थाहा छ यो सूर्य चिन्ह कसले दिएको हो ? उनले भने ‘थाहा त छैन ।’ मैले भनें, ‘श्यामलले ।’ मैले दाबी गरेर केही पाउने त होइन तर तिनले मलाई आफ्ना सात जना जति कार्यकर्तामाझ यस सत्यलाई दिउँसै ढाक्ने प्रयास गरे । त्यसो त सुझाव र त्यसपछाडिका तर्क मात्रै मेरा थिए, त्यसको निर्णय र स्वामित्व एमालेकै केन्द्रीय कमिटीको थियो । अनि एक दिन नारायणले कुनै ठूलै एमालेलाई भने, ‘एमाले नाम त श्यामलले बनाएको †’ तर उसले पनि त्यसलाई स्विकार्न सकेन । एक दिन सायद मेरो दैलेखबाट फर्कंदै गर्दा मित्र गोपाल गुरागाईले फोनमा भने, ‘लौ न त्यो लेखिहाल्नुपर्‍यो † गोपालको त्यो नै यो हो । यथार्थ स्विकार्न नचाहने र आलोचनात्मक विवेक गुम भएकाहरूका लागि अगाडिका ठूला कुरा मात्र होइन यस्ता साना कुरा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा देखाउनु जरुरी छ ।) अठचालीस सालको संसदीय चुनावमा दैलेख एक नम्बर क्षेत्रका लागि महासचिव मदन भण्डारीले मलाई उम्मेदवार भएर जाने आग्रहका साथ दुईवटा टिकट थमाएका थिए । एक, पार्टीको अर्को प्लेनको । मैले विनम्रतापूर्वक अस्वीकार गर्दै भनेको थिएँ, ‘एमालेको सूर्यमा मेरो पनि स्वामित्व छ : यो चिन्ह मैले सुझाएको हो ।’ ‘त्यसैले त पार्टीलाई तपाईंको आवश्यकता छ ।’ उनले भनेका थिए । सायद अब त्यहाँ मेरो आवश्यकता रहेन । केही नवागन्तुक महानुभावहरू पार्टी कार्यालयका बार्दलीबाट मलाई जिस्काइरहेका छन् । इतिहासको लुकेका पाटा नउधिन्ने वर्तमानले भविष्यको रेखांकन गर्न सक्तैन ।

http://kantipur.ekantipur.com बाट साभार 

No comments:

Post a Comment