Saturday, March 26, 2016

यात्रामा वान्ता रोक्ने सजिला घरेलु उपाय- डा. जया सत्याल

jaya satyal


यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा साह्ै कष्टकर हुन्छ ।अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ ।


http://swasthyakhabar.com बाट साभार 

Monday, March 14, 2016

एमाले र एमालेको सूर्य कथा - श्यामल


तिनताका म नारायण ढकालको सम्पादनमा निस्कने दृष्टि साप्ताहिकको कुञ्जीजस्तै बनेको थिएँ । यो मैले नै स्वेच्छाले बेसाएको दु:ख थियो । मबिना पैसा अहोरात्र खटिएर काम गर्थें किनभने नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको सफलता लामो समयदेखि मेरो सपनासँग नाभिनालबद्ध थियो । उता कथाकारका रूपमा ख्याति कमाइसकेका तर दुनियाँ बदल्ने महान् क्रान्तिमा हामफालेका नारायणका आफ्नै जटिल पारिवारिक र पार्टी जीवनले उनको बौद्धिक, अािर्थक र पारिवारिक स्वास्थ्यमा रहेबचेको क्षमतालाई अधिकतम दोहन गरिरहेको थियो । वामपन्थी राजनीतिको भूमिगत प्रणाली र नेता कार्यकर्ताको संस्कृति बाहिरी जगत्का लागि नबुभिँmदो रहस्य थियो । तिनीहरू सहरका गल्ली र चोकमा र गाउँबस्तीहरूमा गतिमान मित्रहरूका माध्यमबाट बाह्य गतिविधि गर्थे । तिनका यथार्थ नाम ठेगाना सोध्न, भन्न र लेख्न बर्जित थियो । ती यति भूमिगत थिए कि तिनका आफन्तहरूलाई नै ती कहाँ जान्छन्, के गर्दैछन्, र तिनको शुभ–अशुभ परिणाम के कस्तो हुने हो केही थाहा थिएन । जादुगरझैं तिनीहरू अचानक प्रकट हुन्थे । कुनै विश्वस्त सूत्रसँग खासखुस गरेर गायब हुन्थे । बाहिर माक्र्स जयन्ती, लेनिन जयन्ती, माओ जयन्ती, सांस्कृतिक कार्यक्रम र सभाजुुलुस हुन्थे र तिनका भूमिगत नायकहरू अँध्यारोमा बैठक बसेर त्यस्ता कार्यक्रमको समीक्षा गरिरहेका हुन्थे । तिनका बैठकमा कसैको भाग्यको फैसला हुन्थ्यो । तिनीहरू अनौठा छद्म नाममा लामालामा राजनीतिक बहस चलाउँथे । कुनै गल्लीबाट कसैले तिनलाई बाहिर ल्याउँथ्यो र पत्रपत्रिकामा राजनीतिक बहसको प्रारम्भ हुन्थ्यो । यस्तो अवस्थामा निरंकुश सत्ताका नजरमा हरेक मानिस संदिग्ध हुन्थ्यो । सादगीपूर्ण जीवनचर्या, आफ्नो विचारप्रतिको अविचल निष्ठा, संघर्षशीलता, समाजसँगको अन्तर्घुलन, चरम गरिबीबाट गुज्रिरहँदा पनि अनुचित लाभ लिने प्रयास नगरेको कुनै मानिसलाई पनि सत्ताबाट अहोरात्र निगरानीमा राखिन्थ्यो र कुनै प्रकारका राजनीतिक गतिविधि भएमा उसलाई पक्राउ गरिन्थ्यो । वर्षौंदेखि जेलमा कोचिएका र जंगलमा लगेर मारिएका राजनीतिकर्मीहरू बारे तिनका निष्ठा, त्याग र जीवनको उत्सर्गबारे र को कुन हैसियतको हो भन्ने कुरा कसैले थाहा पाउने कुरा थिएन । छयालीस सालको राजनीतिक परिवर्तनले निश्चय नै तिनको आंशिक यथार्थ बाहिर ल्याउन मद्दत गर्‍यो, तर अझै यतिका वर्षपछि पनि उनीहरूका सम्पर्क र भूमिगत जीवनका संघर्षका वास्तविक कथा बाहिर आएका छैनन् । ०४६ सालको परिवर्तनपछि नेपाली राजनीतिले कोल्टे फेर्‍यो । तैपनि कांग्रेस र कम्युनिस्ट नेता कार्यकर्ताहरू तिक्तताको हदबाहिर पुगेका थिए । राजा महेन्द्र र उनका छोरा वीरेन्द्रको निरंकुश पञ्चायती राजनीतिमा उनीहरूले मुलुकका लागि लोकतन्त्रको साझा भविष्य तय गर्न सकेका थिएनन् । कम्युनिस्टहरू धेरै चिरामा बाँडिएका थिए । एकले अर्कोलाई घृणाको दृष्टिले हेर्ने गथ्र्यो । आफ्नो कुनै कार्यकर्ता अर्को समूहको कार्यकर्तासँग हिँडेको देखियो भने ऊ कारबाहीको भागीदारसम्म हुने जोखिम रहन्थ्यो । एक पक्षको केटा र अर्को पक्षकी केटीको बिहे हुन थाल्यो भने नाभिदेखिको बल लगाएर त्यस्तो सामाजिक र व्यक्तिगत अनुष्ठानलाई बिथोल्ने हदसम्म कम्युनिस्टहरू लागेका थिए । माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा संगठन गर्ने, मानिसहरूलाई आकर्षित गर्ने र सैद्धान्तिक वैचारिक बहस गर्ने तहमा क्रियाशील भए पनि तिनको नियत अरूलाई खराब देखाउनु र आफूलाई असल देखाउनु हुन्थ्यो । यसो भन्न सकिन्छ, तिनले पुज्ने देउता उही थिए, मान्ने मष्टो उही थियो । मन्दिरहरू फरक फरक थिए । पुजारीहरू फरक फरक थिए । दशकौंदेखिको यो अभ्यासले तिनलाई जतिसुकै कठोर अवस्थामा पनि एउटै थलोमा आउन दिँदैनथ्यो । तर, यस्तो समय पनि आयो जब मदन भण्डारीलगायतका केही माले युवाहरूले जोखिम मोलेर नेकपा माक्र्सवादीका वृद्ध नेता मनमोहनलाई एकीकरणका लागि तयार गरे । यहाँ केही भन्ने शब्दमा जोड दिनुहोस् किनभने सबै मालेहरूलाई मनमोहन साहनासँग एकीकरण गर्नु उचित लागेको थिएन । एक दिन कालिमाटीस्थित सुनकोसी छापाखानामा खबर आयो : मनमोहन साहना समूह र नेकपा मालेबीच एकीकरण सम्पन्न भयो । यसले हामीजस्ता एकताका पक्षपातीहरूलाई निकै खुसी तुल्यायो । छापाखाना परिसरमा प्रसन्नता व्याप्त भएको थियो । हामी त्यस समाचारलाई विशेष महत्त्वका साथ कसरी प्रस्तुत गर्ने भन्नेबारे विमर्श प्रारम्भ गर्ने चरणमा पुगेका थियौं । सायद नारायणले सम्पादकीय लेख्ने र मैले र गोपाल गुरागाईले ब्यानर समाचार तयार गर्ने निधो भएको थियो । गोपाल यस मामलाका निकै विश्वस्त जानकार थिए र सबैभन्दा महत्त्वपूर्ण स्रोतसम्म पुग्ने क्षमता राख्थे । शैलीगत रूपमा त्यसलाई नयाँ र विचारोत्तेजक ढंगले प्रस्तुत गर्नु मेरो काम हुने थियो । नारायण र म एउटै लामो बेन्चीमा बसेर योजना बनाइरहेका थियौं । अचानक भर्‍याङदेखि नै बर्बराउँदै प्रदीप नेपाल हाम्रो सम्पादन कक्षमा दाखिल भए । उनको अनुहार एकदमै उदास थियो । संघारबाट भित्र टाउको छिराउँदै उनले भने, ‘पार्टीलाई आज आर्यघाटमा सेलाएर आइयो कमरेड †’ प्रसन्न भएर आउलान् भन्ठानेको, अर्कै मन बनाएर आएछन् कमरेड प्रदीप नेपाल जो तत्कालीन नेकपा मालेका केन्द्रीय स्तरका नेता थिए, कतिपय प्रगतिशील छापाधारी पत्रिकाका उल्लेखनीय कथाकार उपन्यासकार सञ्जय थापा थिए र जो कुनै बेला सीपी मैनालीसँग नख्खु जेल तोडेर भागेकाले पनि चर्चामा रहेका थिए, जो चर्चित कवि मञ्जुलका सहोदर भाइसमेत थिए । नारायणले उनीतिर विस्मयपूर्वक ठाडो आँखाले हेरे । मैले भनें, ‘राम्रो भो नि, दुई उस्तै विचारका पार्टीबीचको एकताले बलियो शक्तिको निर्माण गर्छ । तपाईं किन निराश हुनुभएको ?’ ‘होइन कमरेड, म अब फिलिपिन्सतिर लाग्ने भएँ ।’ निकै निराश भएर उनले आफ्नो असन्तुष्टि पोखे । त्यो असन्तुष्टि हाम्रो सम्पादकीय कक्षको भुइँ र सिलिङभरि छताछुल्ल भयो । नारायणको अनुहार एकदम रातो भयो । उनले भने, ‘चुप् लाग्नुस् तपाईं । मनमोहनसँगको एकता के खराब हो ? यस्तो वाहियात कुरा नगर्नुु्ुस् ।’ यस्तो सामान्य बहसबीच फेरि अर्का महानुभाव हाम्रो कक्षमा भित्रिए । सेतो कोटमा सजिएका उनको मुठी निकै दरो गरेर कस्सिएको थियो । उनका आँखा गोलभेंडाजस्ता राता थिए । भित्र छिर्दै उनले भने, ‘अब मसाल ज्वाइन गरिन्छ ।’ ‘हा हा हा...गर्नुस् गर्नुस् । गइहाल्नुस् । गरिहाल्नुस् ।’ नारायणले यसरी प्रतिक्रिया दिए । दुवै महानुभाव आफुजत्तिकै क्रान्तिकारी विचारका धनी तत्कालीन प्रेस प्रबन्धक उत्तम महतका कक्षतिर लागे । अघिल्ला महोदय, अर्थात् कमरेड प्रदीप नेपाल त्यही आर्यघाट पुर्‍याइएको पार्टीका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै सांसद र केहीपटक मन्त्री भए । पछिल्ला महोदय मसाल ज्वाइन नगरी उही पार्टीबाट रााष्ट्रिय सभा सदस्य भए र कालान्तरमा नेकपा माओवादीको पेरिसडाँडा कार्यालयमा प्रविष्ट भए । पछिल्लासँग भेट नभएको धेरै भयो । अघिल्लासँग बेलाबखत हस्तमिलन भइरहेको छ । अघिल्लाले मेरो एउटा सुझावलाई मूर्तरूप दिन निकै मेहनत गरेका थिए । त्यस्तो उत्साहपूर्ण एकीकरणको समाचार सामान्य मात्र बन्न सक्यो । आधिकारिक सम्झौतामा पार्टीको नाम एकीकृत माक्र्सवादी र लेनिनवादी (एमारले) लेखिएको थियो । माक्र्सवादीतर्फका केहीलाई एमारलेप्रति विशेष मोह रहेछ । मैले समाचार बनाउँदा बीचको ‘र’ काटेर संक्षेपमा एमाले बनाइदिएँ । नारायण र गोपाल दुवैलाई यसपछाडिको मेरो तर्क, भलै त्यो अनधिकृत थियो, मन पर्‍यो । तर्क थियो संक्षेप गर्दा ‘र’ लेखिरहनु पर्दैन । यसका लागि मैले बीसौं उदाहरण दिएको थिएँ । ‘र’ जस्तो अनावश्यक वर्ण थपेर लम्ब्याउने हो भने पार्टी नामको संंक्षिप्त रूप नै किन चाहियो ? साथीहरूले मेरो तर्कलाई बलियो मानेका थिए र त्यसैले एमारले एमाले भएर छापियो । भोलिपल्ट पाठकहरू भर्खरै एकीकरण भएर बनेको पार्टीको नाम एमाले भन्न थालिसकेका थिए । तर, माक्र्सवादीका शरणविक्रम मल्ल र तिलक पराजुलीले यसै विषयलाई लिएर यो नयाँ पार्टीसँग आफ्नो सम्बन्धविच्छेद गरेको सुन्नुपर्‍यो । अक्षर अक्षरमा असहिष्णुता, कमा र पूर्णविराममा असहिष्णुता, ड्यास र कोष्टकमा असहिष्णुता राख्नेहरूको सैद्धान्तिक वैचारिक आधार कति फितलो हुन्छ भन्ने कुरा अझै वाम आन्दोलनमा देख्न पाइन्छ । जे होस्, अघिल्ला अर्थात् प्रदीप नेपाल कालान्तरमा त्यसै कक्षमा दाखिल भए, नेकपा एमालेका जिम्मेवार नेताका रूपमा । यसपटक उनको पार्टीले संसदीय चुनावमा भाग लिने कुरा थियो, तसर्थ पार्टी र उसको निर्वाचन चिन्हलाई निर्वाचन आयोगमा दर्ता गर्नु जरुरी थियो । म उनीहरूको चवन्नी सदस्य पनि थिइनँ तर म चाहन्थें त्यो पार्टीको लोकतान्त्रीकरण होस् र निर्वाचनको प्रतिस्पर्धामा अन्य पार्टीहरूका बीच खरो उत्रियोस् । तर, परम्परागत कम्युनिस्टहरू अक्षर, चित्र र झन्डाका झगडामा अल्झिइरहेका हुन्थे । तिनको स्कुलिङले कार्यकर्तालाई सिर्जनशील र मुक्त, स्वाभिमानी र बहुमुखी बनाउँदैनथ्यो, एकोहोरो, जिद्दी र जंगी बनाउँथ्यो । तिनको स्कुलिङले सन्देह गर्ने आलोचनात्मक चेतबाट उपयुक्त निष्कर्षतिर अघि बढ्न मद्दत गर्नुको साटो अर्कामाथि नचाहिंदा शंका गरेर उसको चियोचर्चो गर्ने, गलत सावित गर्ने र नांगेझार पारेर आफूलाई माथि उक्लने भर्‍याङ बनाउन प्रेरित गथ्र्याे । तिनको स्कुलिङले सकेसम्म बढी र धेरैका राम्रा पुस्तक पढ भन्दैनथ्यो, रोजा लक्जम्बर्ग, मिलोभान जिलास, अन्तानियो ग्राम्सी पढेको देख्यो भने संशोधनवादी गद्दार बनाइदिन्थ्यो । यसरी भुसतिघ्रे, जिद्दी र पटमूर्खका भयानक अग्ला मायावी संरचनाका अघि प्रतिभाशाली, अध्ययनशील, विवेकशील र विमर्शप्रेमी जमात निरीह हुँदै गएर बाहिरिंदै गयो । ०४७ सालपछिका कांग्रेस कम्युनिस्ट पार्टीका मन्त्रिमण्डल हेर्नुभयो भने र तिनले उच्च मूल्यांकन गरी राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गरेका मानिसहरूको अनुहार हेर्नुभयो भने मेरो यस अनुभवमा कतिको सत्यता छ भनी जाँची हेर्न सक्नुहुन्छ । तिनका गठबन्धन देख्नुभयो भने तिनीहरूलाई तपार्इंले किञ्चित विवेकशील पाउनुहुने छैन बरु आफैंले बनाएको प्रतिकूल परिस्थितिको दास देख्नुहुनेछ । यसरी अन्यत्रझैं, नेपालका कम्युनिस्टहरूले पनि सयौं वर्ष पुरानो हँसिया हथौडाको झन्डाको स्वामित्वका लागि झगडा गरिरहेका थिए । त्यस दिन मैले प्रदीप नेपाललाई पार्टीको चिन्ह सूर्य राख्नुपर्छ भन्ने सुझाव दिएँ । नेपालका बरोबर फुटिरहने कम्युनिस्टहरूका लागि हँसिया हथौडा वरदान हुनुको साटो अभिशाप भएको जिकिर गरें मैले । कुनै पनि राजनीतिक विचार समूह कार्यक्रमले कम्युनिस्ट हुन सक्ने झन्डाले हुन नसक्ने धारणा राख्तै मैले एमालेले फरक बाटो लिने साहस गर्नुपर्ने बताएँ । उनले त्यस दिन मलाई निकै सुने र डायरीमा टिपे । सायद त्यो उनले आफ्ना माइल्दाइ कवि मञ्जुलबाट सिकेका थिए । मञ्जुलले पनि सायद आनन्ददेव भट्टबाट सिकेका हुनन् । तत्कालीन मालेले त्रिचालिस सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा आफ्नो जनपक्षीय उमेदवारका रूपमा त्यति बेलाका लोकप्रिय व्यक्तित्व पद्मरत्न तुलाधरलाई प्रस्तुत गर्दा उनको चुनाव चिन्ह सूर्य मिलेको थियो र उनले विजय हासिल गरेका थिए । तर, मैले यति मात्र पर्याप्त ठानिनँ । मैले त्यस निकट विगतको सफलतासहित अन्य सात तर्कहरू दिएको थिएँ । पहिलो, क्रान्तिकारीहरू पूर्व दिशालाई शुभ संकेतका रूपमा लिन्छन् जहाँबाट सूर्य उदाउँछ । दोस्रो, सूर्य ऊर्जा र जीवनको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो । तेस्रो, बिहानको सूर्य लाल हुन्छ जुन विद्रोह र क्रान्तिको प्रतीक बनेको छ । चौथो, सूर्यको किरणसँगै मानिस ब्युँझन्छन् । पाँचौं सूर्य निरक्षरले पनि सजिलै खुट्याउन सक्छन् र मतदाता झुक्किने डर कम हुन्छ । छैटौं, धार्मिक, आध्यात्मिक नेपालीहरू सूर्यवन्दनाबाट आफ्नो दिनचर्या प्रारम्भ गर्छन्, र चुनावमा त्यस कारणले पनि हाम्रो मत थपिन्छ । सातौं नेकपा मालेको जन्म पनि पूर्वबाटै भएको हो, जहाँबाट सूर्यनारान नेपाली पृथ्वीको घुम्टो खोल्छन् । ‘र, अर्को पनि थपौं प्रदीप कमरेड ?’ मैले उनलाई जिस्काउने किसिमले सोधें । ‘यति भए पुगिहाल्यो नि कमरेड †’ उनले आफ्नो डायरी बन्द गर्दै भने । ‘होइन, तपाईंकै पनि उपन्यास छ नि... पूर्वतिर भन्ने ।’ यतिबेला उनी मजाले हाँसे । अनि उनले यी तर्कहरूसहित कमरेड मदन भण्डारीसमक्ष प्रस्ताव लैजाने वाचा गरे । र, केही समयमै एमाले सूर्यमय भयो । जुलुसमा, सभामा, गोष्ठीमा, र बेलामौकामा जनताका घरघरमा देखिने सूर्यको झन्डा आज एमालेको एक्लो प्रतीक बनेको छ । (सायद म यो लेख्ने थिइनँ । एकपटक गफैगफमा मैले एकजना एमाले महानुभावलाई सोधें, ‘थाहा छ यो सूर्य चिन्ह कसले दिएको हो ? उनले भने ‘थाहा त छैन ।’ मैले भनें, ‘श्यामलले ।’ मैले दाबी गरेर केही पाउने त होइन तर तिनले मलाई आफ्ना सात जना जति कार्यकर्तामाझ यस सत्यलाई दिउँसै ढाक्ने प्रयास गरे । त्यसो त सुझाव र त्यसपछाडिका तर्क मात्रै मेरा थिए, त्यसको निर्णय र स्वामित्व एमालेकै केन्द्रीय कमिटीको थियो । अनि एक दिन नारायणले कुनै ठूलै एमालेलाई भने, ‘एमाले नाम त श्यामलले बनाएको †’ तर उसले पनि त्यसलाई स्विकार्न सकेन । एक दिन सायद मेरो दैलेखबाट फर्कंदै गर्दा मित्र गोपाल गुरागाईले फोनमा भने, ‘लौ न त्यो लेखिहाल्नुपर्‍यो † गोपालको त्यो नै यो हो । यथार्थ स्विकार्न नचाहने र आलोचनात्मक विवेक गुम भएकाहरूका लागि अगाडिका ठूला कुरा मात्र होइन यस्ता साना कुरा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा देखाउनु जरुरी छ ।) अठचालीस सालको संसदीय चुनावमा दैलेख एक नम्बर क्षेत्रका लागि महासचिव मदन भण्डारीले मलाई उम्मेदवार भएर जाने आग्रहका साथ दुईवटा टिकट थमाएका थिए । एक, पार्टीको अर्को प्लेनको । मैले विनम्रतापूर्वक अस्वीकार गर्दै भनेको थिएँ, ‘एमालेको सूर्यमा मेरो पनि स्वामित्व छ : यो चिन्ह मैले सुझाएको हो ।’ ‘त्यसैले त पार्टीलाई तपाईंको आवश्यकता छ ।’ उनले भनेका थिए । सायद अब त्यहाँ मेरो आवश्यकता रहेन । केही नवागन्तुक महानुभावहरू पार्टी कार्यालयका बार्दलीबाट मलाई जिस्काइरहेका छन् । इतिहासको लुकेका पाटा नउधिन्ने वर्तमानले भविष्यको रेखांकन गर्न सक्तैन ।

http://kantipur.ekantipur.com बाट साभार 

Sunday, March 13, 2016

सिद्धान्तनिष्ठ एकता कि गद्दारीको यात्रा ! - डा. ऋषिराज बराल


prachanda_kiran_final
“एकता” का नाममा हुने गरेका हल्लाबाट कोही पनि भ्रमित हुनुहुँदैन । जसका ओठमै यी शब्दहरू झुन्डिएका छन्, तिनीहरू नै सबैभन्दा बडी फूटपरस्त छन् ।…प्राय गरेर, सबैभन्दा बढी सङ्कीर्णवादी र सबैभन्दा झगडालू र धोकेबाजहरूले नै एकताका लागि बढी जोड दिनेगर्छन् ।…हाम्रो समग्र जीवनमा एकताको हल्ला गर्नेहरूले जति हामीसित झगडा गरे र हामीलाई पीडा दिए, त्यति अरू कसैले दिएनन् ।…यदि  मार्क्सवादीहरूले हेगमा बाकुनिनवादीहरूका फूटपरस्त गतिविधिहरूप्रति सम्झौतावादी रुझान अँगालेका हुन्थ्यौँ भने अन्तर्राष्ट्रिय मजदुर वर्गको आन्दोलनले गम्भीर परिणाम भोग्नुपर्दथ्यो । “एकता” का कारण  ‘अन्तर्राष्ट्रिय ‘छिन्नभिन्न हुनपुगेको हुन्थ्यो ।
(फ्रेड्रिक एङ्गेल्स : अगस्त बेबेललाई चिठी, १८७०)
बडो सुन्दर र मिठासयुक्त छ एकता पदावली । कम्युनिस्टहरू क्रान्तिकारी विचारको केन्द्रीयतामा क्रान्तिकारी समूह, उत्पीडित समुदाय र आम जनतालाई व्यापक रूपमा गोलबन्द गर्नुपर्ने कुरामा जोड दिन्छन् । परन्तु यो पदावली जति मिठासयुक्त छ, त्यत्तिकै विषाक्त पनि छ । एकता पदावलीको प्रयोग गरेर कम्युनिस्ट आन्दोलनलाई विसर्जनको स्थितिमा पुर्याएका घटनासन्दर्भहरू पनि हाम्रा सामु छन् ।
एकताको सुन्दर भाषालाई कसरी विषाक्ततामा फेर्न खोजियो, यसका नाममा कम्युनिस्ट ‘अन्तर्राष्ट्रि’ लाई कता लान खोजियो भन्ने कुरालाई एङ्गेल्सले पीडाजन्य भावमा बडो प्रस्टताका साथ उल्लेख गरेका छन् । एकता र फूटका नाममा लेनिनले लडेको लडाइँको गरिमामय इतिहासकथा पनि हाम्रो सामु छ । नेपालको कम्युनिस्ट आन्दोलसित पनि एकता र फूटको लामो शृङ्खला जोडिएको छ । माओवादी आन्दोलनभित्रको मात्र कुरा गर्दा पनि एकता र फूटको बडो घतलाग्दो परिदृश्य हाम्रा सामु देखापर्छ ।
जो सबैभन्दा भ्रान्तिकारी छ, उही नै सबैभन्दा बढी “क्रान्तिकारीहरूबीच एकता” को हल्ला गरिरहेको छ । विशृङ्खलित तथा विसर्जनोन्मुख माओवादी आन्दोलनलाई एकताबद्ध गरेर क्रान्तिकारी धारमा नयाँ गति र दिशा दिनका लागि एकता हो अथवा खास व्यक्ति वा समूहमा आएको सङ्कट टार्न अनि संसदीय रजनीतिभित्रको ठूलो पार्टी बनाउन एकताको परिपञ्च रचिँदैछ भन्ने प्रश्न नै अहिलेको प्रमुख प्रश्न हो ।
लेखक
लेखक
आजभोलि माओवादी पार्टीहरूबीच एकताको निकै चर्को हल्ला सुनिन थालेको छ । खासगरेर एकीकृत माओवादीको सेरोफेरोमा रहेका माध्यमहरूले पार्टी एकताको सन्दर्भलाई बडो जोडतोडका साथ उठाएको पाइन्छ । एकताका सन्दर्भमा तिथिमिति र घडीपलासमेत जुराइएका समाचारहरू प्रकाशमा आएका छन् ।
क्रान्तिकारीहरूबीच एकता हुने अथवा सही माओवादीहरू एउटै झण्डामुनि आउने कुरामा विमति राख्नुपर्ने कुरा छैन । यो अहिलेको आवश्यकता हो र क्रान्तिप्रति प्रतिबद्धहरू यसका लागि सक्रिय हुनु आवश्यक पनि छ । परन्तु, को हो क्रान्तिकारी र को हो भ्रान्तिकारी प्रश्न यहीँनेर छ ।
जो सबैभन्दा भ्रान्तिकारी छ, उही नै सबैभन्दा बढी “क्रान्तिकारीहरूबीच एकता” को हल्ला गरिरहेको छ । विशृङ्खलित तथा विसर्जनोन्मुख माओवादी आन्दोलनलाई एकताबद्ध गरेर क्रान्तिकारी धारमा नयाँ गति र दिशा दिनका लागि एकता हो अथवा खास व्यक्ति वा समूहमा आएको सङ्कट टार्न अनि संसदीय रजनीतिभित्रको ठूलो पार्टी बनाउन एकताको परिपञ्च रचिँदैछ भन्ने प्रश्न नै अहिलेको प्रमुख प्रश्न हो ।
विचारमा देखापरेको विचलन सङ्गठनमा देखिनु स्वाभाविक हुन्छ । पार्टीबाट क्रान्तिकारी विचारलाई विस्थापन गरेर मात्र पुग्दैनथ्यो । यसका लागि क्रान्तिकारीहरूलाई पनि विस्थापन गर्नु आवश्यक थियो । प्रचण्ड र वाबुरामको वैचारिक विचलनले यही चलनचल्तीको बाटो पछ्यायो । त्यतिबेर माओवादी पार्टीभित्र केन्द्रीय समितिमा क्रान्तिकारी धारको सशक्त उपस्थिति थियो । यसलाई वैचारिक तथा सङ्ख्यात्मक दुवै दृष्टिले निस्तेज नपारी प्रचण्डको मनसुवा पूरा हुने स्थिति थिएन ।
जनयुद्धको नाम सुन्दै भागेका र जनयुद्धकालभरि माओवादीहरूलाई सामाजिक फासिवादी भनेर दस्ताबेजीकरण गर्ने नारायणकाजी श्रेष्ठ अर्थात् प्रकाशको दक्षिणपन्थी विसर्जनवादी गुटलाई पार्टी एकताका नाममा यसै उद्देश्यका साथ प्रवेश गराइएको थियो । त्यसपछि विचलन र स्खलनले गुणात्मकता प्राप्त गर्दैगयो । विचारको तहमा प्रचण्ड बाबुरामकै लाइनमा भए पनि वैचारिक विचलनलाई सङ्गठनात्मक विचलनमा रूपपान्तरण गर्नु आवश्यक थियो र यसका लागि केन्द्रमा बहुमतमा रहेको क्रान्तिकारीहरूलाई सङ्ख्यात्मक रूपमा अल्पमतमा पार्नु अर्थात् आन्दोलनलाई कमजोर पार्नु आवश्यक थियो ।
ध्यान दिनुपर्ने विषय के छ भने चाहे नारायणकाजीसितको एकता होस्, चाहे नवराज सुवेदी, डिलाराम, लीला थापापिसतको एकता, चाहे पार्टीको छानबिन समितिले गौर हत्या काण्डका प्रमुख पात्रमध्ये एक भनेर किटान गरेका रामकुमार शर्मालाई भित्र्याउने कुरा होस्, यी सबै काम किरण कमरेडको संयोजकत्व बनेको एकता संयोजन समितिमार्फत भएका थिए ।
यसै उद्देश्य पूरा गर्न नारायणकाजी समूहलाई भित्र्याइयो । यो माओवादी क्रान्तिकारी आन्दोलनलाई दीर्घकालीन रूपमै ध्वस्त पार्न “ठूलो पार्टी” बनाउने दक्षिणपन्थी संसद्वादी चिन्तनयुक्त योजनाबद्धताको उपज थियो र यो सबै काम प्रचण्डको अगुवाइमा भएको थियो । माओवादी आन्दोलनप्रति गद्दारी गरेका प्रचण्ड अहिले बडो साखुल्ले बनेर एकताको होहल्ला गरिरहेका छन्, ठूलो पार्टी बनाउने भाषण गरिरहेका छन् । किरणहरू अमुक मितिमा आउँदैछन् र विप्लवहरू पनि आउने तयारीमा छन् भनेर दिउँसै राता पारिरहेका छन् । कार्यकर्तालाई मूर्ख बनाइरहेका छन् ।
नारायणकाजीको प्रवेशले विचलन र स्खलनलाई गुणात्मक रूप दिनु स्वाभाविक थियो । हेर्दा एकता थियो, सारमा यो विभाजनको आरम्भ थियो । यो एकता खरिपाटी भेलाको निर्णय र निष्कर्ष विपरीत थियो । मशालकालदेखि जनयुद्धको निरन्तरतासित जोडिएका कार्यकर्ता तथा नेताहरूलाई साक्षी किनारामा राखेर जसरी एकताका नाममा झारपात पतिङ्गर भित्र्याइयो, यो महागल्ती थियो ।
अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूले पनि यो एकता प्रक्रिया बेठीक भएको टिप्पणी गरे । यसलाई लिएर हामीले बैठकहरूमा प्रश्न उठायौँ, किरण कमरेडले “एकताका लागि किन सङ्कीर्ण हुने” भन्नुभयो । विशेष केन्द्रीय ब्युरो भनिएको हाम्रो विशेष राज्य समितिका इन्चार्ज विप्लवले पनि बडो फूर्तिसाथ “सबलाई पचाइन्छ” भन्नुभयो । समयले कसले कसलाई पचायो सबै कुरा प्रस्ट भएको छ। 
ध्यान दिनुपर्ने विषय के छ भने चाहे नारायणकाजीसितको एकता होस्, चाहे नवराज सुवेदी, डिलाराम, लीला थापापिसतको एकता, चाहे पार्टीको छानबिन समितिले गौर हत्या काण्डका प्रमुख पात्रमध्ये एक भनेर किटान गरेका रामकुमार शर्मालाई भित्र्याउने कुरा होस्, यी सबै काम किरण कमरेडको संयोजकत्व बनेको एकता संयोजन समितिमार्फत भएका थिए ।
फोहोरमैला भित्र्याउने काम मात्र होइन, हत्यारा र अपराधी सबैलाई फूल माला लगाएर गृह प्रवेश गराउने कामको सहयोद्धा किरण कमरेड पनि हुनुहुन्छ । यस्तैयस्तै प्रवृत्तिले सिङ्गो पार्टीलाई विचलनको अकल्पनीय स्थितिमा पुर्यायो। यो यथार्थप्रति किरण र विप्लव दुवैमा गम्भीरताको अभाव देखिन्छ । एकताका नाममा गरिएका यस्ता विसङ्गत कार्यप्रति दुवैका दस्ताबेज मौन छन् । माओवादी आन्दोलनलाई विसर्जनमा पुर्याउने घटनाक्रमको अंशियार उहाँहरू पनि हुनुहुन्छ ।
एउटै पार्टीभित्र लामो समयसम्म विचार समूह चलन सक्ने स्थिति थिएन र मार्क्सवादले यसो गर्ने अनुमति पनि दिँदैनथ्यो । लामो बहस र छलफल पछि किरण कमरेडको नेतृत्वमा नयाँ पार्टी गठन भयो । त्यसपछि थरीथरीका सन्दर्भहरू सतहमा आए ।
अमुक अमुकले मन्त्री नपाएका कारण पार्टी फुटाए भन्ने खालका टिप्पणीहरू पनि प्रकाशमा आए । जेजस्ता टिप्पणीहरू सतहमा आए पनि प्रचण्डसितको सम्बन्ध विच्छेदको मूल कारण वैचारिक प्रश्न नै थियो
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को खरिपाटी भेला वैचारिक सम्झौतामा टुङ्गिएको थियो र पालुङटार भेला पनि सम्झौताको भेला नै थियो । दुवै सारसङग्रहवादका उपज थिए । सारसङ्ग्रहवाद झन खतरनाक हुन्छ । यो छद्म अवसरवाद नै हो । आवश्यक पर्दा यो दक्षिणपन्थी उद्देश्य पूरा गर्न खुलेर आउँछ, र भयो पनि यस्तै । खासगरेर जनसेना समायोजनामा यो सारै निर्लज्ज र अपराधपूर्ण किसिमले आयो । यस्ता सन्दर्भहरूका कारण माओवादी पार्टीभित्र वैचारिक सङ्घर्ष चल्नु स्वाभाविक थियो ।
एउटै पार्टीभित्र लामो समयसम्म विचार समूह चलन सक्ने स्थिति थिएन र मार्क्सवादले यसो गर्ने अनुमति पनि दिँदैनथ्यो । लामो बहस र छलफल पछि किरण कमरेडको नेतृत्वमा नयाँ पार्टी गठन भयो । त्यसपछि थरीथरीका सन्दर्भहरू सतहमा आए । अमुक अमुकले मन्त्री नपाएका कारण पार्टी फुटाए भन्ने खालका टिप्पणीहरू पनि प्रकाशमा आए । जेजस्ता टिप्पणीहरू सतहमा आए पनि प्रचण्डसितको सम्बन्ध विच्छेदको मूल कारण वैचारिक प्रश्न नै थियो । यसको जग क्रान्तिकारी आशावाद थियो ।
किरण कमरेडको नेतृत्वमा नयाँ पार्टी निर्माणपछि पार्टी जसरी अघि बढ्नु पर्थ्यो, जुन गतिका साथ पार्टीलाई लैजानु पर्थ्यो , त्यसो हुन सकेन । सोलोडोलो रूपमा कार्यदिशाको प्रश्न केन्द्रीय प्रश्न बने पनि त्यहाँ विभिन्न किसिमका स्वार्थहरू सक्रिय हुनथाले । समयको आवश्यकतालाई ध्यानमा राख्दै सङ्गठनात्मक तथा कार्ययोजनामा क्रमभङ्गताको आवश्यकता थियो । सही मान्छे सही ठाउँमा कसरी स्थापित गर्ने, नयाँ पुस्ताबाट कसरी नेतृत्व विकास गर्ने, क्षमतावानहरूलाई कसरी उचित जिम्मेवारी दिने भन्दा पनि पार्टी अनुभववादी जडता र घिसेपिटे रुटिनबद्धातामा चल्न थाल्यो ।
पार्टी जागिरे शैलीमा चल्न थालेपछि पात्रगत अन्तर्विरोधहरू पनि देखापर्न थाले र यसले विचार भिन्नताको रूप धारणा गर्यो । प्रचण्डसित सम्बन्ध विच्छेद गर्नुअघि जेजस्ता समस्याहरू देखिएका थिए, कमरेड किरणले नेतृत्व गरेको पार्टीमा पनि भिन्नै रूपमा तिनै समस्याहरू देखिनथाले । अन्ततः किरण समूह पनि कमरेड विप्लवको नेतृत्वमा विभाजित भयो ।
अहिले माओवादी आन्दोलनसित जोडिएका झिनामसिना थुप्रै समूहहरू छन् । ‘एक मधेस एक प्रदेश’ को नारा लगाउनेहरूदेखि हयुगो चावेजको गीत गाउँनेहरू समेतले आफूलाई खाँटी क्रान्तिकारी भन्दै अरूलाई अर्तिउपदेश दिएको पाइन्छ । तर पार्टी भन्नलायक समूहहरूका रूपमा भने प्रचण्ड, किरण र विप्लवको नेतृत्वमा रहेका पार्टीहरूलाई मात्र लिन सकिन्छ । अहिले एकताको कुरा गर्दा मूलतः यिनै तीनओटा समूहको सन्दर्भ जोड्नु उचित हुन्छ ।
अहिले एकताको छटपटाहट प्रचण्डमा छ । बाबुराम आफ्नो ‘जिम्मेवारी’ पूरा गरेर अर्थात् ‘प्रभुहरू’ ले दिएको कोर्स पूरा गरेर बाहिरिएका छन् र प्रचण्डलाई ठाडै चुनौती दिइरहेका छन् । यो पीडाले प्रचण्डलाई सारै मर्माहत पारेको छ ।
वैचारिक स्खलनका साथै प्रचण्डले निरन्तर सङ्गठनात्मक स्खलन पनि भोगिरहेका छन् । किरणहरूलाई ठीक पार्न योजनाबद्ध किसिमले पार्टीमा भित्र्याइएका नारायणकाजी श्रेष्ठको दम्स्याइ र धम्क्याइले प्रचण्डको रक्तचाप अनियन्त्रित किसिमले बढेको छ ।
मैले धेरै ठाउँ उल्लेख गरेको छु, पार्टीसित माओवादी नाम जोडिए पनि, वैचारिक पक्ष खासगरेर क्रान्ति र राज्यसत्ता सम्बन्धी गलत धारणाका कारण प्रचण्ड समूह अब कम्युनिस्ट पार्टी रहेन । प्रचण्ड समूहसँग सम्बन्ध विच्छेद गर्दा त्यतिबेर वैचारिक विचलनका १८ ओटा बुँदा अघि सारिएका थिए र अहिले त्यसको सङ्ख्या दुई दर्जनभन्दा बढी पुगेको छ । अब आएर उनले बहुलवाद र संसद्वादलाई अँगालो हालेका छन् ।
त्यसैले जेजस्ता कमीकमजोरी रहे पनि नेपालको अहिलेको सापेक्षता र सन्दर्भमा माओवादी समूहहरू भन्दा कमरेड किरण र कमरेड विप्लवले नेतृत्व गरेको समूहलाई भन्नुपर्छ । विडम्बनाको विषय के छ भने एकताको चर्को होहल्ला यी दुई समूहबीच नभएर कमरेड किरणले नेतृत्व गरेको समूह र संसद्वादको अभ्यासमा इमानदारी र लगनशीलताका साथ लागेको प्रचण्ड समूहसित भइरहेको छ ।
अहिले एकताको छटपटाहट प्रचण्डमा छ । बाबुराम आफ्नो ‘जिम्मेवारी’ पूरा गरेर अर्थात् ‘प्रभुहरू’ ले दिएको कोर्स पूरा गरेर बाहिरिएका छन् र प्रचण्डलाई ठाडै चुनौती दिइरहेका छन् । यो पीडाले प्रचण्डलाई सारै मर्माहत पारेको छ । वैचारिक स्खलनका साथै प्रचण्डले निरन्तर सङ्गठनात्मक स्खलन पनि भोगिरहेका छन् । किरणहरूलाई ठीक पार्न योजनाबद्ध किसिमले पार्टीमा भित्र्याइएका नारायणकाजी श्रेष्ठको दम्स्याइ र धम्क्याइले प्रचण्डको रक्तचाप अनियन्त्रित किसिमले बढेको छ ।
सिंहझैँ गर्जने प्रचण्ड अहिले मुसा देख्दा पनि तर्सने भिजेको बिरालो जस्ता भएका छन् । मधेसवादीहरूसित पनि ठीक्क हुनुपर्ने विदेशी एजेन्सीहरूसित पनि ठीक्क हुनुपर्ने, देउबासित पनि ठीक्क हुनुपर्ने र किरणसित पनि ठीक्क हुनु पर्ने गजबको बेचैनी देखिन्छ यतिबेर प्रचण्डमा । उनमा यस्तै बैचनी ‘भैँसीपूजा काल’ मा पनि देखिएको थियो । यस किसिमको अवस्थाबाट आतङ्कित प्रचण्डले एकताको जाल फ्याल्नु अनौठो कुरा होइन ।
वैचारिक रूपबाट हेर्दा कमरेड किरण र विप्लवले नेतृत्व गरेको समूहबीच एकता हुनुपर्ने थियो । क्रान्तिको लागि एकता गर्ने हो भने हिजो भएका कमीकमजोरीहरूको समीक्षा गर्दै किरण समूह र विप्लव समूहबीच समझदारी बढाउने प्रयास हुनु आवश्यक थियो ।
तर जसले नेपालको माओवादी आन्दोलनलाई प्रतिक्रिवादीहरूको पोल्टामा पुर्यायो, जसले महान् सहिदहरूको रगतसित खेलवाड गर्यो, उसैसित “सिद्धान्तनिष्ठ एकता” को पहल गरिएको छ । यो भन्दा ठूलो प्रहसन अरू हुन सक्तैन ।
अप्ठेरो किरण कमरेडलाई पनि छ । गद्दार हुन पनि मन नलाग्ने र क्रान्तिका लागि जोखिम पनि मोल्न नसक्ने बडो गजबको अकर्मण्यता कमरेड किरणमा देखियो । इच्छाशक्तिको अभाव उहाँको अर्को समस्या रह्यो । अकर्मण्यताको यही ज्वालामा उहाँको इमानदारी, वैचारिक निष्ठा, सौन्दर्यचेत र क्रान्तिकारी इतिहास जल्दैगयो र पार्टीमा खाओवादीहरू, दक्षिणपन्थी अवसरवादीहरू र तन बुद्धनगरमा र मन पेरिस डाँडामा भएकाहरू हाबी हुँदैगए । पार्टीमा एउटा तप्का पेरिस डाँडामा बास बस्न जाने कुरामा विप्लव र उहाँका सहयोगीहरूलाई बाधक देख्थ्यो । त्यसले जसरी हुन्छ कमरेड विप्लवको टोलीको बहिर्गमन चाहन्थ्यो ।
वास्तवमा किरण कमरेडले चाहेको भए विप्लव टोलीलाई रोक्न सक्नुहुन्थ्यो, तर उहाँबाट यो प्रयास भएन । यो उहाँबाट भएको ऐतिहासिक कमजोरी थियो, जसको असर लामो समयसम्म माओवादी आन्दोलनमा देखिइरहनेछ । पार्टीमा रहेका क्रान्तिकारीहरूको रक्षाको सट्टा उल्टै कारबाहीको निरन्तर शृङुखला चलाइयो । क्रान्तिकारीहरू एकपछि अर्को गरेर बहिर्गमित हुँदैगए । यसले किरण कमरेडलाई झन्डैझन्डै सेनाबिनाको कमाण्डरजस्तो बनायो । यस्तो स्थितिले पार्टीभित्रका खाओवादीहरूलाई उत्साहित बनाउनु स्वाभाविक थियो ।
वैचारिक रूपबाट हेर्दा कमरेड किरण र विप्लवले नेतृत्व गरेको समूहबीच एकता हुनुपर्ने थियो । क्रान्तिको लागि एकता गर्ने हो भने हिजो भएका कमीकमजोरीहरूको समीक्षा गर्दै किरण समूह र विप्लव समूहबीच समझदारी बढाउने प्रयास हुनु आवश्यक थियो । तर जसले नेपालको माओवादी आन्दोलनलाई प्रतिक्रिवादीहरूको पोल्टामा पुर्यायो, जसले महान् सहिदहरूको रगतसित खेलवाड गर्यो, उसैसित “सिद्धान्तनिष्ठ एकता” को पहल गरिएको छ । यो भन्दा ठूलो प्रहसन अरू हुन सक्तैन ।
वास्तवमा त्यसभित्रको एउटा समूहले पेरिस डाँडातर्फ खुट्टा उचालिसकेको देखिन्छ । किरणलाई छोडेर भए पनि, लतारेर भए पनि एकता हुन्छ, जस्ता कुराहरू अहिले चर्चाका विषय बनेका छन् । यस परिदृश्यमा अबका दिनमा कमरेड किरणको भूमिका कस्तो हुन्छ र उहाँ कहाँनेरी उभिनुहुन्छ भन्ने कुराले बडो महत्व राख्दछ ।
पेरिस डाँडाले यतिबेर घतलाग्दो विज्ञापन प्रकाशित गरेको छ । प्रचण्डले अमुकअमुकलाई मन्त्री, अमुकअमुकलाई खानपानको बन्दोबस्तको सूचनापाटी टाँसेको कुरा पनि बजारमा चर्चा छ । हितोपदेश मित्रलाभ सुनको बाला लिएर पानीमा उभिएको बूढो बाघको एउटा कथा छ, जसमा सुनको बालाको लोभमा एउटा लोभी बाहुनले ज्यान गुमाएको थियो । प्रचण्डले त्यही कथाको सम्झना गराइरहेका छन् । वास्तवमा प्रचण्ड यस्ता मान्छे हुन्, जो बलियो हुँदा बाघका झै झम्टन्छन् र कमजोर हुँदा बिरालाका झै म्याउँम्याउँ गर्छन् ।
हिजो प्रचण्डसितको फूटको समयमा पनि अझै पर्खौ प्रचण्डको रूपान्तरण भइहाल्छ कि भन्नेहरू थिए । त्यतिबेला शिवराज गौतमले “साथीहरू अझै भ्रममा छन्, यो प्रचण्ड भन्ने मान्छे कहिल्यै रूपान्तरण हुँदैन, ओरालोको पाराकाष्टामा पुगेर टुङ्गिन्छ उनको यात्रा” भन्नुभएको थियो । भयो पनि त्यस्तै ।
वास्तवमा कमरेड अनिल शर्माले भनेझैँ एकताका लागि कि त प्रचण्डको क्रान्तिकारी रूपान्तरण हुनु आवश्यक छ, कि त किरणको आत्मसमर्पण । असाध्यै बदलाभावमा चल्ने पात्र हुन् प्रचण्ड । प्रचण्डले रूपान्तरण भएँ भन्नु भनेको बाघले मासु खान छोडिदिएँ भन्नुजस्तै हो । प्रस्ट छ, एकतापछि पेरिस डाँडामा किरणको स्थिति भनेको करिबकरिब नजरबन्दको स्थिति हो–एक किसिमको निरीहता ।
अहिले एकताको छटपटाहट प्रचण्डलाई छ र पेरिस डाँडा छोडेवापत पश्चातापमा रुमलिएका बादल लगायतकाहरूलाई पनि छ । “गद्दार गद्दार एक हो औँ” लाई मूर्त रूप दिने हो अथवा गतिलो अभिभावक र दरिलो वैचारिक टिमको अभावमा रुमलिएको विप्लव समूहसित एकताको हात बढाउने हो ? गद्दारहरूको सूचीमा नाम लेखाउने हो अथवा क्रान्तिकारी निष्ठाको उदाहरण बनेर इतिहासमा बाँच्ने हो ?
यतिखेर कमरेड किरणका सामु गम्भीर प्रश्नहरू उभिएका छन् । कमरेड किरण नयाँ ऊर्जा र दृढताका साथ अगाडि बढ्न्हुन्छ अथवा पेरिस डाँडामा नजरबन्दमा रमाउनुहुन्छ, यसका लागि पनि समयलाई पर्खिनुपर्ने हुन्छ ।
अब प्रस्टरूपमा माओवादी पार्टीहरू दुई ध्रुवमा विभाजित हुनेछन् । एउटा एमालेले लिएको बाटो र अर्को मालेमाको क्रान्तिकारी बाटो । दक्षिणपन्थी विसर्जनवादीहरू प्रचण्डको नेतृत्वमा एमालेले लिएको बाटोमा ध्रुवीकृत हुनेछन् भने क्रान्तिकारीहरू मालेमाले निर्देशित गरेको बाटोमा केन्द्रीकृत हुनेछन् । गद्दारहरूलाई बलियो बनाउनु भनेको क्रान्तिलाई झन् टाढा पुर्याउनु हो । ।
भारतमा चलिरहेको माओवादी जनयुद्धप्रति गर्व गर्नुको सट्टा माओवादी कमरेडहरूलाई आतङ्कवादी भन्दै सोनियाँ गान्धीलाई चिठी लेखने प्रचण्डसित एकता गर्नु भनेको भाइचारा पार्टीहरूका आखामा पनि गद्दार बन्नु हो । यो सर्वहारा अन्तर्राष्ट्रियतावादप्रति गद्दारी हो । वास्तवमा “सिद्धान्तको प्रश्नमा मार्क्सवादीहरूले कुनै पनि किसिमको सौदाबाजी गर्दैनन्” भनी मार्क्सले एकताका सन्दर्भमा लासालवादीहरूलाई दिएको जवाफलाई गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ ।
माओवादी आन्दोलनलाई विसर्जन हुनबाट रोक्न यतिबेर मार्क्सको उपयुक्त भनाइको सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धताको खाँचो छ । कमरेड किरणले खरिपाटी भेलामा आफूले प्रस्तुत गर्नुभएको दस्ताबेज एकपल्ट फेरि पल्टाउनु आवश्यक छ ।
माओवादी आन्दोलनलाई विसर्जन हुनबाट रोक्न यतिबेर मार्क्सको उपयुक्त भनाइको सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धताको खाँचो छ । कमरेड किरणले खरिपाटी भेलामा आफूले प्रस्तुत गर्नुभएको दस्ताबेज एकपल्ट फेरि पल्टाउनु आवश्यक छ ।
अब प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछिको कमरेड किरणको अनुभव र महासचिव भएर पार्टी हाँक्दाको कमरेड विप्लवको अनुभवको पनि संश्लेषण हुनु जरुरी छ । पार्टी हाँक्ने कुरा निकै जटिल छ भन्ने कुरा सबैले बुझेको हुनुपर्छ । यहाँ अहम्, आवेग र कुण्ठाभाव होइन, गम्भीरता र जिम्मेवारीबोधको खाँचो छ ।
यो भनेको सही अर्थका क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको आवश्यकताप्रतिको गम्भीरताबोध हो । यसले मात्र माओवादी झण्डाको रक्षा गर्न र आन्दोलनलाई गति दिन सक्छ । हाम्रो प्रयास यसतर्फ केन्द्रित हुनुपर्छ । किरण कमरेडले यो बाटो रोज्नुहोस् भन्ने हामी चाहन्छौँ।
दक्षिणपन्थी विसर्जनको बाटो रोज्ने हो अथवा माओवादको रातो झण्डाको रक्षाका लागि वर्गसङ्घर्षको भट्टीमा होमिने हो, किरण कमरेड र बुद्धनगरका इमानदार कमरेडहरूका सामु चयन प्रस्ट छ । हेरौँ इतिहास कसरी अघि बढ्छ ।
०००
http://janapati.com बाट साभार 

Wednesday, March 2, 2016

कांग्रेसमा गुट छैन, गिरोह छ, ‘चरी र घैंटेहरुसँग न विचार हुन्छ, न मूल्य हुन्छ’ - प्रदीप गिरी


Pradeep Giri
नेपाली कांग्रेसको संस्कृतिमा किसुनजी हुँदा पनि गुट थियो, गणेशमानजी हुँदा पनि गुट थियो, वीपी हुँदा पनि गुट थियो । भारतमा गान्धीजीको पालामा पनि गुट थियो । अहिले अमेरिकामा रिपक्लिकन र डेमोक्रेटिक पार्टीमा गुट छ । यो आफूमा खराब होइन, डेमोक्रेटिक प्रोसेसकै विस्तार हो ।
गिरोह भएपछि न त विचार हुन्छ, न मूल्य हुन्छ, न मान्यता हुन्छ । कांग्रेसमा यो कसरी सुरु भो भन्नुभन्दा पहिले गिरोहको परिभाषा बुझ्नुस् ।
कांग्रेसमा गुट छैन, गिरोह छ
एउटा शब्द छ ‘गिरोह’ । कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ । गिरोह भनेको उही चक्रे मिलनको गिरोह, जसमा कसैले चक्रे मिलनलाई च्यालेन्ज गर्‍यो भने ‘उठाओ बन्दुक, ओर लगाओ निसाना’ भन्दैन ? अहिले कांग्रेसमा गिरोहवादी प्रवृत्ति एकदमै बलियो भएर गएको छ । गुटका नाममा गिरोह बन्दैछ ।
गिरोह भएपछि न त विचार हुन्छ, न मूल्य हुन्छ, न मान्यता हुन्छ । कांग्रेसमा यो कसरी सुरु भो भन्नुभन्दा पहिले गिरोहको परिभाषा बुझ्नुस् ।
गुण्डाहरुको ग्याङ हुन्छ नि । काठमाडौंमा चरी काण्ड, घैंटे काण्ड, चक्रे मिनल भन्ने छ नि, उनीहरु पनि त्यसै ग्याङ चलाउँदैनन् । ८/१० जना, ५०/६० जना मान्छे लिएर हिँड्छन् । मैले धेरै वर्ष पहिले ग्याङमा आधारित हिन्दी फिल्म कम्पनी भन्ने हेरेको थिएँ । हिन्दुस्तानका नामुद गुण्डाहरुको जीवनमा आधारित छ त्यो ।
जब एउटा समूह जीवनमूल्य र विचारधाराबाट निरपेक्ष रहेर आफ्नो स्वार्थको अभिवृद्धिका लागि काम गर्न थाल्छ, त्यसको चरित्र राजनीतिक हुँदैन, जसरी गिरोहको पनि चरित्र राजनीतिक हुँदैन ।
गिरोह कुनै अर्थमा पार्टी र गुटभन्दा फरक हो । किनभने गिरोहमा राजनीति हुँदैन, विशुद्ध तत्कालिक लाभका लागि बनेको समूह हुन्छ । जस्तो-एउटा विजनेश ग्रुप हुन्छ । कर्पोरेट कम्पनीलाई त तपाई पोलिटिकल मान्नुहुन्न, विशुद्ध नाफाका लागि बनेको हुन्छ र कानुनसम्मत हुन्छ । गिरोह-ग्याङ कसरी बन्छ ? त्यो  गैरकानुनी ढंगले कमाउनका लागि ।
गिरोह र राजनीतिमा फरक के हुन्छ भने निश्चित राजनीतिक समझदारीका साथ लाग्दा हामी त्यसलाई पार्टी भन्छौं । कांग्रेसले बुझेको भए पनि नबुझेको भए पनि, कांग्रेसका नेताहरुले पढेको भए पनि नपढेको भए पनि, डेमोक्रेटिक सोसलिज्म भनेको हुनाले कांग्रेसमा लागेको हो ।
बहुदलीय जनवाद भनेकाले एमाले र जनयुद्ध र जनवाद भनेकाले माओवादी भएको हो । त्यो जब सिद्धिँदै जान्छ, गिरोह बन्छ ।
कांग्रेसमा गिरोहको सुरुवात
यो गिरोह गिरिजाबाबुका पालामा सुरु भएको थियो । गिरिजाबाबु हाट्टहुट्ट गर्ने काम बडो गर्न थाल्नुभएको थियो । त्यसको अवशेष कांग्रेसमा छ, यो सबैभन्दा अपशोचको कुरो हो ।
गिरिजाबाबुले कहिल्यै पार्टीमा सैद्धान्तिक कुरा राख्नुभएन । आफ्नो पक्षमा समर्थन जुटाउँदा त्यसका मूल्य र मान्यता के छन् हेर्नुभएन । त्यसैले गिरिजाबाबुले जुनसुकै पार्टीका मान्छेलाई आमन्त्रण गर्नु भो । उहाँलाई मद्दत गर्ने मान्छे कट्टर कम्युनिष्टलाई पनि ल्याउनुभो । पञ्चायतका मान्छेलाई पनि ल्याउनुभो । नाम भन्दा ठीक हुँदैन । एक से एक गुण्डाहरु ल्याउनुभो । किनकि उहाँलाई पार्टीमा बलियो बन्नुथियो । किसुनजीले एउटा पनि संदिग्ध चरित्रको मान्छेलाई पार्टीमा ल्याउनुभएन । यसरी पार्टी विस्तारै गिरोहमा परिणत हुँदै गयो ।
गुट स्वाभाविक, गिरोह अफसोच !
दुनियाँमा कुनै यस्तो राजनीतिक पार्टी हुँदैन, जसमा गुट नहोस् । जुन सामाजिक प्रक्रियाले पार्टी बन्छ, त्यही सामाजिक प्रक्रियाले गुट बन्छ । पार्टी कसरी आउँछ समाजमा ? राजा महेन्द्रले पार्टीका विरुद्ध के आरोप लगाउँथे ? यिनीहरुले आफ्नो पार्टीको हित हेर्छन्, देशको हित हेर्दैनन् भन्दै उनले पार्टी र देशलाई बझाएका थिए । दलगत स्वार्थ मात्र हेर्छन् भन्ने भाषा प्रयोग गरेका थिए । हुन पनि हो जस्तो लाग्छ, किनकि मेरो पार्टी भन्छु म ।
तर, तपाई नबिर्सनुस्, पार्टीले मेरो पार्टी, मेरो सिद्धान्त, मेरो कार्यक्रम भन्दा उसले त्यसै मुलुकका लागि कार्यक्रम र सिद्धान्त बनाएको हुन्छ । पार्टीको रणनीति र कार्यनीति हुन्छ ।
हामी पार्टीमा लाग्ने भनेको पार्टीका लागि मात्रै होइन । ठीक त्यस्तै एउटा पार्टीमा पनि दुईवटा लाइन हुन्छन् । उदाहरणका लागि माओवादीमा यो शब्द बडा प्रचलनमा छ, दुई लाइनको सघर्ष । त्यसैले पहिले पार्टी बन्छ । के भनेर बन्छ ? कांग्रेस र कम्युनिष्ट । त्यसपछि त्यही कांग्रेस र कम्युनिष्टमा के भनेर झगडा हुन्छ ? (जो हाम्रो कांग्रेस पार्टीमा भर्खर भएको छ) कम्युनिष्टसँग कस्तो सम्वन्ध राख्ने ? कम्युनिष्टको झगडा कांग्रेससँग कस्तो सम्वन्ध राख्ने भनेर हुन्छ । मुलुककै भविश्यलाई लिएर पार्टीभित्र विभाजन हुन्छ र त्यसलाई गुट भनिन्छ ।
गुट पनि पार्टीकै रुप हो । पार्टी व्यवस्था बन्द गर्नुस्, गुट बन्द हुन्छ । पार्टी व्यवस्था राख्नुस्, गुट रहन्छ । पार्टी व्यवस्था समाजबाट आएको हुन्छ । समाजमा भोटको अधिकार भएपछि एउटा मान्छेले कति जनासँग भोट माग्न सक्छ र ? एक लाखको घरदैलोमा जान सक्दैन । त्यसैले पार्टी चाहियो ।
गिरोह र गुटमा के फरक हुन्छ भने पार्टी बन्छ विशुद्ध बैचारिक आधारमा । कार्यक्रम, कार्यनीति र रणनीतिको समझमा । गुट बन्छ त्यही रणनीति र कार्यनीतिमा भएको मतभेदलाई लिएर । अथवा बन्नुपर्छ । गुट र गिरोहमा क्षीण अन्तर हुन्छ ।
गिरोहमा राजनीतिको बहस हुँदैन । लुटी ल्याउने, भुटी खाने -डकैती गर्ने र बाँडीचुँडी खाने) हुन्छ । त्यहाँ  पनि हल्का हुँदोहोला, झ्यालबाट छिर्ने कि ढोकाबाट भनेर बहस त हुन्छ होला ।

गिरोहमा अर्को ‘क्वालिफाइङ फ्याक्टर’ हुन्छ, त्यो गुटको सदस्यता गिरोहको नेताको कृपामा हुन्छ । पार्टीेको सदस्यता त त्यसरी हुँदैन । विधिवत विधानका आधारमा हुन्छ । त्यसैले हाम्रो नेपाली कांग्रेस पार्टीको अहिलेको रोग गुट होइन, गिरोहको हो ।
http://www.onlinekhabar.com बाट साभार