Monday, February 29, 2016

राष्ट्रपिता भनिने राजा त्रिभुवनले भारतलाई के कति छूट दिएका थिए ? - कुमारमणि आचार्य दीक्षित

राष्ट्रपिता भनिने राजा त्रिभुवनले भारतलाई के कति छूट दिएका थिए ?

नेपाल यस्तो देश हो, जहाँ प्रजातन्त्रका लागि लडेका चार जना योद्धालाई सहिदको सम्मान दिने क्रमसँगै उनीहरुलाई मार्ने आदेशमा हस्ताक्षर गर्ने राजा त्रिभुवनलाई सहिदहरुलाई भन्दा उच्च सम्मान र प्रतिष्ठा दिइएको छ । सात सालमा उनकै नेतृत्वमा प्रजातन्त्र आएको र उनी नै ‘राष्ट्रपिता’ भएको आख्यान अझै प्रचलित र स्थापित छ ।
राजा महेन्द्रले शाही शासन र त्यसको राष्ट्रवादी सिद्धान्तलाई बलियो बनाउन कथेको वा कथ्न लगाएको यस्तो आख्यान भने इतिहासका तथ्यसँग बाझिन्छ । आफ्नो शाही शासन पुनर्स्थापना गर्न सघाएको भारतलाई राजा त्रिभुवनले के कति सहुलियत दिएका थिए, ती सबै अनुसन्धानका विषय हुन् । तर यहाँ यस्ता प्रसंग दिइएका छन्, जसले थप अनुसन्धानका लागि सघाउन सक्छन् । केही उपशीर्षक थपथापका साथ प्रधानमन्त्री बीपी कोइरालाका सचिव कुमारमणि आचार्य दीक्षितको कलमबाट :
आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुन्छ ?
भारतीय अधिकारीहरुले हाम्रा राजपरिवार र अन्य ठूला व्यक्तिहरु विषय बखतबखतमा गरेका चर्चाबारे ता उल्लेख समेत गर्न नहुने खालका थिए । राजपरिवारका सदस्यहरुबारे चीनसँग बढी झुकाव र त्यहाँबाट प्राप्त सहायता विषय हुन्थे ।
सन् १९५६ मा न्युजिल्याण्डमा भएको कोलम्बो प्लानको बैठकमा म गएको बखत योजनामन्त्री गुञ्जमान सिंह नजानु भएकोले मन्त्रिस्तरीय बैठकमा पनि मलाई नै नेपालको प्रतिनिधित्व गर्ने निर्देशन थियो । भारत तर्फबाट त्यसबखत अर्थ नायबमन्त्री रहेका बलिराम भगत आएका थिए ।
होटलमा एकदिन खाना खाँदा हामी दुई एकै टेबलमा थियौं । उनले बी.पी. विषय कुरा झिकी बी.पी.लाई ‘भारतमा पढेको बढेको मानिस, अहिले भारतप्रति मित्रता राख्नुहुन्न’ भनी दोष लगाई कुरा गरे ।
मैले ‘आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुने कुरा भएन, त्यसो भए ता तपाईंको प्रधानमन्त्री, नेहरु पनि बेलायतमा बढे, त्यहीं शिक्षा पाए तर अंग्रेजलाई भारतबाट भगाउनेमा उनी कसरी सरिक हुन आए त’ भन्दा केही जवाफ नदिई अरु नै कुरा गर्न थाले ।
नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नेपालीको हित हेर्ने छुट !
न्यूजिल्याण्डबाट फर्केर अष्ट्रेलियामा सिडनी भन्ने सहरमा २ दिन बस्नुपर्ने थियो । सिडनीमा प्लेनबाट ओर्लंदा त्यहाँ रहेका भारतीय कुटनीतिक नियोगका फष्र्ट सेक्रेटरी (नाम सम्झना भएन) लिन आएका रहेछन् । मलाई लिन आएको होला भन्ने लागेको थिएन, तर मेरो पछि लागेपछि सोध्दा नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नेपालीको हित हेर्ने भन्ने दुई सरकारको सम्झौता भएको छ भने । मलाई अचम्म र लाज पनि लाग्यो ।
घर फर्केर आएपछि त्यसबखतका प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई अफिसमा बैठक विषय रिपोर्ट गर्दा यो कुरा पनि बताएँ । उहाँ रिसाउनुभयो र नरप्रताप र स. भीमबहादुरलाई बोलाई यो कुरा सुनाउनुभयो र यस्तो प्रथा रोक्नुपर्छ भन्ने आसयको कुरा गर्नुभयो । 
मैले २००७ साल र त्यसपछि २ वर्ष जति मेरो पिताजी परराष्ट्रसचिव भएको बखत हुनाले यस कुरा उहाँसँग सोध्दा उहाँले २००७ को क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुण लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरा भारतलाई छुट (concede) गरिबक्सेको थियो भन्नुभयो ।
मैले २००७ साल र त्यसपछि २ वर्ष जति मेरो पिताजी परराष्ट्रसचिव भएको बखत हुनाले यस कुरा उहाँसँग सोध्दा उहाँले २००७ को क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुण लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरा भारतलाई छुट (concede) गरिबक्सेको थियो भन्नुभयो ।
यसै सिलसिलामा त्रिभुवन राजपथ बनाउने सम्झौता विषय पनि तेस्तो घुमाउने बाटो किन बनाउने, अरु विकल्पहरु पनि छन् भनी नेपालतर्फबाट प्रस्ताव गर्दा भारतीय पक्षले “There is no point in discussing this matter as this has already been decided at the highest level between our two countries” भनी जवाफ दिएको कुरा पनि पिताजीले बताउनुभएको थियो ।
एकपटक राजा त्रिभुवनले दर्शन भेट दिएको बखत उहाँले यी कुराहरु राजालाई सुनाउँदा श्री ५ त्रिभुवनबाट ‘राजपथ सैनिक दृष्टिकोणबाट उपयुक्त भनी भारतले भनेकोले आफूले स्वीकृति गरेको, तर नेपालको प्रतिनिधित्व नभएको ठाउँमा नेपालको हित भारतले हेर्ने भन्ने बारे कुरा उठेको चाहिँ सम्झना छ, तर स्वीकृति दिएको भने याद छैन, यो कुरा उठाई के रेकर्ड रहेछ हेर्नु’ भन्ने हुकुम भयो रे ।
यस विषय भारतसँग कुरा गर्दा आलटाल गरी कुनै जवाफ दिएनन् भनी पिताजीले बताउनुभएको थियो ।
राजा त्रिभुवनले भारतले आफूलाई गुन लगाएको भनी विश्वास गरी यस्ता धेरै कुराहरु भए– भारतको मिलिटरी मिशन नेपाल आउने, चीनको सिमानामा भारतीय राजदूतावासको अग्रिम स्वीकृति लिएर मात्र भिसा दिनुपर्ने इत्यादि अनेक उदाहरणहरु छन् । यस्ता स्वतन्त्र मुलुक नेपाललाई अठ्याउँदै लैजाने बुँदाहरु स्व. राजा महेन्द्रले विस्तार हटाइबक्सेको हो, यसमा उहाँलाई श्रेय दिनु पर्छ । 
“राजा त्रिभुवन खोई ? मैले ता राजालाई राम्री सेता छाला भएकी आइमाईहरुको संगत मन पर्छ भन्ने सुनेकीले मलाई लिन आउने होला भनी ठानेकी थिएँ ।”
समुद्रपारकालाई नेपालको भिसा दिँदा भारतीय निर्णय चाहिने
राजा भएपछि श्री ५ महेन्द्रबाट सन् १९५५ मा मातृका सरकार हटाई परामर्शदातृ सरकारको गठन भयो । यसमा स. गुन्जमान सिंह प्रमुखका साथै परराष्ट्र सल्लाहकार पनि हुनुहुन्थ्यो । उहाँले मलाई बोलाई ‘भारतले चलाएका कुन कुन कुरा नेपाललाई नमिल्नेछ’ भनी सोध्नुभयो । मैले ‘आफूले काम गरेको फाँटको मात्र यकिन भन्न सक्छु’ भनी समुद्रपारका विदेशीलाई नेपाल आगमनको भिसा दिँदा दिल्लीको हाम्रो राजदूतावासबाट आ.वा.बाट भिसा माग्नेको विवरण आउँदथ्यो । सो खबर लिखतमा भारतीय राजदूतावासमा पठाई त्यहाँबाट भिसा दिने नदिने निर्णय आएपछि सोही खबर हाम्रो राजदूतलाई जान्थ्यो । यस्ता सयौं निवेदनहरु हप्तापिछे आउँदथे । मलाई यो ज्यादै मनमा खडकिरहेको जान्थ्यो ।
परराष्ट्र सचिवहरुद्वारा अरु यस्तै कुराको पनि नोट गएकोमा मेरो आफ्नो विषय भोलिपल्टै अब त्यसरी भारतीय राजदूतावासमा खबर पठाउने बन्द गर्नु भन्ने आदेश आयो । सो प्रथा बन्द भयो ।
केही दिनपछि राजदूतावासका प्रथम सचिव (मेनन, जो कही वर्षपछि राजदूत भएर पनि आए) आई यसबारे सोधपुछ गर्न आए । मैले अब उप्रान्त ज्यादै धेरै आवेदनहरु आउन थालेकाले सूचना दिन नसकिने भएको हुँदा श्री ५ को सरकारको निर्णयअनुसार खबर नदिएको हो भनी जवाफ दिएँ । यसअघि भारतीय राजदूतावासका प्रथम सचिव हामीजस्ता तल्ला तहका कर्मचारीसँग भेट गर्न ता के, कुरासम्म गर्दैनथे– परराष्ट्रमन्त्री अथवा सचिवबाहेक अरुलाई भेट गर्दैनथे ।
क्रमशः अब राजदूतले समेत हाम्रो परराष्ट्र सचिवसँग लेखापढी गर्ने प्रथा शुरु भयो । हामी सबैलाई यस्तो परिवर्तनबाट खुसी लागेको थियो ।
jawaharlal-neharu
अमेरिकन युवती : ‘राजा त्रिभुवन खोई ?’
यो विदेशीलाई भिसा दिने सम्बन्धमा एउटा रमाइलो कुरा याद आउँछ । एउटा अमेरिकन युवती (Ms.Weil) गौचर विमानस्थलमा ओर्लेर “राजा त्रिभुवन खोई ? मैले ता राजालाई राम्री सेता छाला भएकी आइमाईहरुको संगत मन पर्छ भन्ने सुनेकीले मलाई लिन आउने होला भनी ठानेकी थिएँ ।” (Where is King Tribhuvan. I had heard he was very fond of pretty white girls and was expecting him to meet me) भनी भनेकी थिइन् भन्ने कुरा दरबारमा पुगेछ । चन्द्रेश्वर सिन्हा (भारतीय राजदूत) मार्फत् । सात दिनको भिसा लिई आएकी केटीलाई तेस्रो दिनको दिन नै भारत फिर्ता गर्नुपरेको थियो । यी सन् १९५२–५३ का कुरा हुन् ।
त्रिभुवनको देहान्त हुँदा भारतबाट ४५ हजारको श्रीखण्ड
राजा त्रिभुवनको स्वर्गारोहण हुँदा चिता बनाउन श्रीखण्डको दाउरा यहाँ नभएकोले भारत सरकारले विशेष वायुयानद्वारा सो श्रीखण्ड यहाँ ल्याइपु¥याइएको थियो । खर्च करिब रु। ४५,०००।– जति लागेको जस्तो लाग्छ । तर धेरैसम्म त्यसको बिल नआएकोले भारतको राजदूतावासमा कति परेको सोधी सो रकम तिरिदिनू भन्ने हुकुम भएको कुरा स. गुञ्जमानले अह्राउनुभयो ।
हाम्रो चिठी पाएपछि प्रथम सचिव मेनन परराष्ट्र मन्त्रालयमा आउनु भै लागेको खर्चबारे भन्नुभयो र यो भारत सरकारले श्रद्धाको रुपमा ल्याएको हुँदा यसको खर्च भर्ना लिन भारत सरकार अनिच्छुक भएको कुरा बताई सोही कुरा जनाएको चिठी छोडी जानुभयो ।

सो पत्र सरदार साहेबमा पेस हुँदा यस्तो काममा अरुबाट माल या नगद लिई गर्ने हाम्रो चलनसँग नमिल्ने हुँदा मेननले भनेको रकम भारतीय राजदूतावासमा धन्यवादसहित पठाउनु भनी अह्राउनुभयो । मैले ‘हाम्रो यस्तो चलन छ’ भनी बताई पत्र लेखूँ कि भन्दा ‘पर्दैन, पैसा मात्र पठाएको कुरा उल्लेख गरे पुग्छ’ भनी भन्नु भएकोले सोहीअनुसार पत्र गयो ।
मेनन खेलकुदमा रुचि राख्ने व्यक्ति भएको र त्यसबखत त्रिकेट खेलमा काठमाण्डूमा २÷३ मात्र टीमहरु भएको र तीनमध्ये भारतीय राजदूतावासको टिम पनि भएकोले उनीसँग खेल मैदानमा पनि बरोबर भेट हुन्थ्यो । एकदिन यस्तै भेटमा उनले फेरि यो श्रीखण्ड विषय चर्चा गरे, पैसा पठाएकोमा भारत सरकारलाई दुःख लागेको कुरा गरे । मैले हाम्रो चलनबारे बताएपछि ‘यही कुरा चिठीमा खुलाइदिएको भए दिल्लीलाई पनि अवस्था बुझन सजिलो हुने थियो’ भने । यो कुरा स. गुञ्जमान सिंहलाई सुनाउँदा उहाँले केही भन्नुभएन ।
फाट फुट सम्झना, २०५२:  २६–२८, प्रकाशक लेखक स्वयम्
http://esamata.com/np बाट साभार 

No comments:

Post a Comment