Monday, January 11, 2016

झण्डै प्रचण्डहरुले मेरो हत्या गरे - प्रभुनारायण बस्नेत

वि.सं. ०४६ साल चैत्र २६ गते राति राजा वीरेन्द्रले शाही घोषणामार्फत दलहरुमाथि लागेको प्रतिबन्ध खारेज गरे । पार्टीहरु माथिको प्रतिबन्ध हटेपछि नयाँ दल खोल्ने, चलिरहेका राजनीतिक पार्टीहरुबीच एकता गर्ने, एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर चल्यो ।
प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
विसं. ०४७ को संविधान घोषणा नहुँदै पञ्चहरुले एउटै समयमा एकै नामका दुईटा पार्टी खोले । राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा खुलेका ती नयाँ दलका नेता सूर्यबहादुर र लोकेन्द्रबहादुर छानिए । पञ्चायतको अन्त्यसँगै मरिचमानसिंह भूमिगत भइसकेका थिए ।
राजनीतिक पार्टीहरु तीस वर्ष प्रतिबन्धित रहेका र पञ्चायतको गाउँ वडासम्म सञ्जाल फैलिएकाले जनमत पनि पञ्चायतकै पक्षमा छ कि भन्ने डर कांग्रेस, कम्युनिष्टहरुमा हुनु स्वाभाविक हो । पञ्चायतको अन्त्यपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेको र जनआन्दोलनको पनि नेतृत्व सम्हालेकाले कांग्रेसको चुरीफुरी अलि बढ्तै थियो ।
दलहरुमाथि प्रतिबन्ध लागेसँगै राजालाई साथ दिएर पञ्चायत पसेको ठूलो जमात ०४७ पछि कांग्रेसमै फर्कियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि कांग्रेस प्रवेश गर्नेको जमात पनि ठूलै थियो । परशुनारायण चौधरी, भरतमणि शर्मा, बखानसिंह गुरुङ, श्रीभद्र शर्मा जस्ता पञ्चायतमा पसेर मन्त्री बनेका पुराना बूढा कांग्रेसमात्रै होइन, अर्जुननरसिंह केसी, केशरबहादुर विष्ट पनि कांग्रेस भइसकेका थिए । यसरी कांग्रेस एउटा आकर्षणको केन्द्र र ठूलो शक्तिकेन्द्र बन्न थाल्यो ।
कांग्रेसको मुख्य प्रतिस्पर्धी शक्ति वाममोर्चा विघटन भइसकेको थियो । नेताहरुको अभाव भए पनि वामपन्थी दलहरुमा सबैभन्दा ठूलो शक्ति नेकपा (माले) को थियो । जनतामा शून्य प्रभाव र कार्यकर्ताविहीन भए पनि मनमोहन, सहाना, सिद्धिलाल, केशरमणिहरुको मार्क्र्सवादीको प्रचार राम्रै थियो ।
वाममोर्चाको अध्यक्ष तथा पुष्पलालकी पत्नी भएकीले सहाना र पुरानो नेता भएकाले मनमोहनको अन्तर्राष्ट्रिय छवि थियो । मालेले मनमोहनलाई लिएर चुनावमा जाने सोचाइ बनायो र मार्क्र्सवादीसँग पार्टी एकीकरण गरी एमाले बन्यो ।
यसरी कांग्रेस र एमाले ठूला प्रतिस्पर्धी शक्ति भएपछि ०४६ सालको आन्दोलनको सहयात्री दल नेकपा (चौम) र कांग्रेस वाममोर्चाको आन्दोलनलाई विरोध गरेर छुट्टै संयन्त्र बनाएर हिँडेका दुई मशाल, रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनबीच पनि एकता वार्ता चल्न थाल्यो । मोहनविक्रमको मसालले एकता प्रक्रियामा सहभागी हुन अस्वीकार गर्‍यो । चौम, मोहन वैद्यको मोटो मशाल र श्रमिक संगठन मिलेर नेकपा एकता केन्द्र निर्माण भयो । त्यसैमा पछि मोहनविक्रमबाट चोइटिएर बाबुराम भट्टराईहरु पसे । पञ्चायतको अन्त्यसँगै अलपत्र परेका रुपचन्द्र विष्टका जनमुखी कार्यकर्ताहरु पनि थपिए ।
यसरी निर्माण भएको एकता केन्द्र गठनमा देवप्रकाश त्रिपाठी, तोयनाथ थपलिया र म स्वयंजस्ता युवा नेताहरुको बढ्तै जोडबल थियो ।
तर, पार्टी एकताका लागि हतारिने हामीमा अनुभवको कमी थियो । उमेरजन्य कारणले जोश, जाँगर र सक्रियता प्रचुर भए पनि दूरदर्शिता, परिपक्वताको कमी थियो । पञ्चायती चुनावलाई नै क्रान्तिको पक्षमा उपयोग गर्नुपर्छ भन्ने मत राख्ने चौम र पञ्चायती चुनाव त के, कुनै पनि संघ-संस्थाको चुनावलाई सदा वहिष्कार गर्नुपर्छ भन्ने वहिस्कारवादी मशालबीचको एकता सम्भव भए पनि एकतापछि पार्टी सहजरुपले चल्न सकेन ।
एकताकेन्द्र बन्दा चौमबाट अध्यक्ष र मशालबाट महामन्त्री परेका भए पनि नेतृत्व क्षमता र व्यक्तित्वका कारण निर्मल लामा नै सबैभन्दा प्रभावशाली नेता मानिन्थे । लामो संघर्षपछि आएको अवसर भएकाले आम चुनावमा भाग लिनुपर्छ भन्ने लामालाई मशाल पक्ष र तिनका उग्र कार्यकर्ताले दक्षिणपन्थी भनेर खेद्ने गर्थे ।
Prachanda
दुर्भाग्यवश निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बेलामा बिरामी परेर लामा लामै समय अस्पताल बसे । त्यसताका मशाल पक्ष, बहुमतमा रहेको पार्टी -एकताकेन्द्र) ले चुनाव बहिष्कार गर्ने र पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने निर्णय गर्‍यो ।
त्यतिबेला महत्वाकांक्षी स्वभावका बाबुराम भट्टराई मोहनविक्रमका कार्यकर्ता थिए । लामाले उनलाई अस्पतालमै बोलाएर मसाल, एकता केन्द्र, नारायणमान बिजुक्छेको नेमकिपा र कृष्णदास श्रेष्ठको मालेमाका प्रतिनिधि राखेर एउटा मोर्चा गठन गर्न लगाई जनमोर्चाको नाममा निर्वाचन आयोगमा दर्ता गर्न लगाए ।
पछि लामाकै जोडबलमा एकता केन्द्रले जनमोर्चाको नाममा चुनाव लड्यो । अरु पार्टीले आफ्ना प्रतिनिधि फिर्ता गरिदिएर जनमोर्चालाई एकता केन्द्रको चुनावी मोर्चा बनाउन सहयोग गरे ।
जनआन्दोलनको भूमिकाका कारण ०४८ को आम निर्वाचनमा मैले पनि टिकट पाउने सम्भावना थियो । कांग्रेसले बालकृष्ण खाँड र एमालेले तुलबहादुर गुरुङलाई टिकट दियो । तर, पार्टी एकतापछि निर्मित संरचना मेरो अनुकूल थिएन । उग्र कुरा गर्ने मशालहरुको पार्टीमा दबदबा थियो । त्यस्तो अवस्थामा टिकट पाउने सम्भावना नै हुँदैनथ्यो र म स्वयं पनि टिकटको आकांक्षी थिइँन ।
हामी त्यतिबेला चुनाव लड्ने, सांसद, मन्त्री बन्ने कुरालाई सकारात्मक ठान्दैनथ्यौँ । क्रान्ति, परिवर्तन, मुक्ति नै हाम्रो एकमात्र ध्येय थियो । त्यसैले टिकट नपाउँदा खिन्नता वा निराशा हुने कुरा पनि भएन ।
अचम्मलाग्दो कुरा त के भने निर्वाचनमा सहभागी हुनुलाई दक्षिणपन्थी भनेर तीव्ररुपमा विरोध गर्नेहरु नै टिकटका लागि हत्ते हाल्न थाले । बाबुराम भट्टराई पक्ष, मोहन वैद्य, प्रचण्ड पक्ष, लामा पक्ष, रुपलाल पक्ष भनेर पार्टीभित्र टिकट पाउने कुरामा पनि विभेद हुन थाल्यो ।
एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा पुर्‍याए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे
लामा पक्ष क्षमता, त्याग, निष्ठा र इमान्दारिताको हिसाबले अब्बल भए पनि टिकटका लागि मरिमेट्ने खालको थिएन । त्यति हुँदाहुँदै पनि ०४८ सालको चुनावमा लीलामणि पोख्रेलसहित ९ जना जनमोर्चाका नेताले जिते । यसमा ६ जना लामा पक्षकै थिए ।
एक वाम एक ठाम भनेर चुनावमा उम्मेदवारी दिने बेलामा पनि एमाले, एकता केन्द्र, नेमकिपा, मानन्धर, बर्मा, अमात्य समूहबीच अनेक चरण वार्ता भए । अन्त्यमा एमाले र एकताकेन्द्रबीच समझदारी पनि भयो । परिणामस्वरुप ०४८ को निर्वाचनमा एमालेपछि जनमोर्चामार्फत एकता केन्द्र नै ठूलो वाम दल बन्न सफल भयो ।
त्यस घटनापछि रुसी धुरीका कम्युनिष्टहरु मानन्धर, वर्मा र अमात्यबीच पनि एकीकरण भयो । तर, त्यो एकता लामो समय टिकेन ।
आम निर्वाचनमा अत्यन्त व्यस्त रहेर भर्खर अवकाशको समय निस्केको थियो । एक दिन एकजना पूर्व चौम पक्षकै साथीले युवा बुलेटिन नामको एउटा पत्रिका थमाए । उनले महामन्त्री प्रचण्डको अन्तर्वार्ता पढ्न र तपाईंको कलम चल्ने भएकाले केही लेख्न सुझाए । साप्ताहिक पत्रिकाको साइजमा बत्तीस पृष्ठको अन्तर्वार्ता पहिले त मलाई पढ्नै अत्यास लाग्यो । मुस्किलले पढिसकेपछि म आफैं छाँगाबाट खसेँझै भएँ ।
दक्षिण अमेरिकी मुलुक पेरुमा चलिरहेको दीर्घकालीन युद्ध र तिनका नेता गोञ्जालोको अन्तर्राष्ट्रिय प्रचारबाट लोभिएका महामन्त्री प्रचण्ड त्यस्तै प्रचार चाहन्थे । तर, उनी सुस्पष्ट दृष्टिकोण, प्रष्ट सैद्धान्तिक अडान भएका नेता थिएनन् ।
प्रचण्डले अन्तर्वार्ताभरि अनेक अन्टसन्ट कुरा गरेका रहेछन् । मशाल युवा संघको मुखपत्र युवा बुलेटिन नामको उक्त पत्रिकाका सम्पादक शशिकुमार श्रेष्ठ यसअघि रवीन्द्र श्रेष्ठ भनेर मन्त्री भएका प्रभाकर प्रधानाङ्ग थिए ।
अन्तर्वार्तामा प्रचण्डले अनेक अन्टसन्ट कुरा गरे पनि मूलरुपमा उनले नौलो जनवादबारे दिएको उत्तरमै केन्दि्रत रहेर मैले उषा साप्ताहिक भन्ने पत्रिकाको दुई अंक प्रचण्डको आलोचनात्मक टिप्पणी प्रकाशित गराएँ ।
‘तपाईहरु नौलो जनवादी क्रान्ति भन्नुहुन्छ, नौलो जनवाद भनेको चाहिँ के हो’ भन्ने प्रश्नमा प्रचण्डले दृढताका साथ नौलो जनवाद भनेको माओको गुरिल्ला ‘वारफेयर’ हो भनेका रहेछन् । माओको नौलो जनवादबारे पढेका, ज्ञान राख्ने र सुनेका हामीलाई त्यो पाच्य भएन ।
मैले महामन्त्री प्रचण्डविरुद्ध त्यसरी लेखेपछि ठूलो हंगामा भयो । कतिले प्रचण्डलाई समर्थन गर्ने साप्ताहिक पत्रिकामा मेराविरुद्ध निम्नस्तरमा उत्रिएर गालीगलौज गरे । यहाँसम्म कि एउटा पत्रिकामा प्रचण्डको आलोचना गरेबापत मलाई ‘जल्लाद’ भनेर समेत लेखियो ।
आन्दोलनमा मेरो सक्रियता र संगठनमा समर्पित भएर लाग्ने स्वभावले म त्यतिबेला संगठनभित्र निकै लोकपि्रय थिएँ । पार्टीभित्रै मेरो लोकपि्रयताप्रति डाहा गर्नेको कमी थिएन । म त्यसबेला पार्टीको ललितपुर जिल्ला सदस्य थिएँ । देवेन्द्रलाल श्रेष्ठ (काइँलाबा) अध्यक्ष र शशिकुमार सचिव थिए । ललितपुरमा चाहिँ पुरानो चौमको वर्चश्व थियो ।
यस्तो अवस्थामा पनि चौम पक्षहरुले नै मलाई पार्टीबाट निकाल्ने षड्यन्त्र रचे । पत्रिकामा लेख प्रकाशित भएकै राति चण्डेश्वर श्रेष्ठ नाम गरेका एकजना जिल्ला सदस्यले प्रचण्डलाई फोन गरेर ममाथि कारबाही गर्न माग गरेछन् । प्रचण्डलाई ‘के खोज्छस् काना आँखो’ भयो । आलोचना पटक्कै मन नपराउने स्वभावका प्रचण्डले तपाईंहरु जिल्लाले कारबाही गरेर पठाउनुस्, हामी केन्द्रले त्यसलाई अनुमोदन गरिदिउँला भनेछन् । मेरो सक्रियताले अस्तित्व नै गुम्न थालेको महसुस गर्ने दिलबहादुर श्रेष्ठ र चण्डेश्वरहरुले अब कारबाहीको तानाबाना बुन्न थाले ।
जिल्ला समिति बैठक बोलाइयो, तीन दिनसम्म त्यही विषयमा छलफल भयो । बैठकमा मलाई आत्मालोचना गर्न भनियो, मैले त्यसलाई स्वीकार गरिनँ । मैले लेखेको ठीक छ, बरु महामन्त्री प्रचण्डले अध्ययनलाई बढाएर क्रान्ति, नौलो जनवाद जस्ता विषयमा प्रष्ट हुनुपर्छ भन्ने मेरो अडान थियो ।
मैले आत्मालोचना नगरेपछि बैठकले मेरो आलोचना गर्ने निर्णय गर्‍यो । त्यसलाई मैले स्वीकारेँ । त्यो दिन बैठक अन्त्य भयो, माइन्युट भएको थिएन । भोलिपल्ट सबै भेला हुने र माइन्युटमा हस्ताक्षर गर्ने भन्ने सहमति भयो र हामी सबै छुट्टयिौं ।
तर, भोलिपल्ट त सचिव शशिकुमारले हिजोको निर्णय उल्ट्याएर प्रभुनारायण बस्नेत -जगदीश पार्टी नाम) लाई सदस्यताबाटै हटाउनुपर्छ भन्ने नयाँ प्रस्ताव ल्याए । रातभरिमा अर्कै खिचडी पाकिसकेछ । दिलबहादुर, चण्डेश्वर, प्रचण्ड मण्डलीले कारबाही नै गर्नुपर्छ भन्ने टुंगो गरेछन् । कारबाही गर्ने कुराले हैन, निर्णय उल्ट्याएकोमा मलाई अस्वाभाविकरुपमा आक्रोश बढ्यो । मैले शशिकुमारको कठालो समातेर यो पार्टी तेरो बाउको बिर्ता हो ? भनेँ । मैले त्यति गर्नै बित्तिकै चण्डेश्वरहरु आएर छुट्याए । म बैठक कक्षबाट बाहिरिएँ ।
उनीहरुले मलाई महामन्त्री प्रचण्डविरुद्ध पत्रिकामा लेखेबापत ६ महिना पार्टी सदस्यबाट निलम्बित गर्ने निर्णय गरेछन् । पत्र मलाई पठाए ।
यसै मेसोमा एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा पुर्‍याए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे ।
त्यतिबेला त मैले त्यो कुरालाई प्रचण्डले धम्क्याउन खोजेको भनेर हल्कारुपमै लिएँ । तर, कालक्रममा जनयुद्ध नामको आतंकमा माओवादी सामेल भएपछि घटाएका घटनाले भने त्यो कुरो सम्झेर मलाई धन्न बाँचिएछ भन्ने लाग्यो ।
जे भए पनि मैले त्यो कारबाहीलाई अस्वीकार गरी पार्टी नै छाडिदिएँ । यसरी आफैंले अनेक दुःख गरेर गरेको एकताले मेरो राजनीतिक जीवनको अन्त्य गराइदियो ।


http://www.onlinekhabar.com बाट साभार 

No comments:

Post a Comment