एमाओवादी पार्टीको विगत एक वर्षदेखि आरम्भ भएको र कहिल्यै नबसेको अनिर्णित बैठक यतिबेला पेरिसडाँडामा बसिरहेको छ । बैठकको पृष्ठभूमी बाबुरामको बहिर्गमन, संविधान जारी भूकम्प र अघोषित नाकाबन्दीलाई बनाईएको छ । २७ पेज करिब ८५ हजार अक्षरमा समेटिएको यो दस्तावेज छलफलमा छ ।
नेताहरुले छलफल गरिरहँदा अध्यक्षलाई फिल्म हैर्नै पर्ने भएकाले बेलाबेलामा स्थगित पनि हुने गरेको छ । अरु कुनै काम नभएका र नपाएका बखत फुर्सद भएका बखत बस्ने गरिएको पेरिसडाँडाको बैठक परम्परा यसपटक पनि धानिएकै छ ।
निर्णय गर्न परे लाजिम्पाट र बैठक गर्न परे पेरिसडाँडा भन्ने उखान अझै राम्ररी यतिबेला उजागर भएको छ । २७ पृष्ठ मध्ये करिब आधा भाग संविधानको साक्षारतामा खर्चेका छन्, भने दुई पेज बाबुरामका निम्ति खर्चेका छन् । तीन पेज वर्ग संश्लेषणमा खर्च गरेकाछन्, भने संगठनात्मक मामलामा जम्मा दुई पेज खर्चेका छन् । पन्ध्र बुँदे आचारसहिंतासहित दुई पेजको आगामी कार्ययोजना उल्लेख गर्दै दस्तावेज टुंग्याएकाछन् ।
लामो प्रतिक्षापछि बसेको यो बैठकमा माओवादीका वैचारिक नेता बाबुरामको अनुपस्थिति छ, जो दस्तावेजको स्तरमा पनि राम्रै झल्को दिन्छ । त्यसले के निर्णय गर्ला सबैले जानेकै छन्, एमाओवादीको बैठकमा निर्णय हुँदैन निर्णय गर्न बैठक बस्न पनि पर्दैन । त्यसमा पनि पेरिसडाँडा कहिलै निर्णय गर्दैन निर्णय त लाजिम्पाटमा वा सुकुटेमा वा अरु कुनै रिसोर्टमा हुन्छ । विचार र निर्णय सबै प्रचण्डको दिमागबाटै निस्कन्छ । सो को निम्ति प्रचण्डकालागि उपर्युक्त वातावरण पनि चहिन्छ, त्यसैले एमाओवादीले के निर्णय गर्ला कसैले अपेक्षा गरेका छैनन् । खाली चासो प्रचण्डले के लेखे भन्ने मात्रै छ । त्यसैले यसैमामात्रै सिमित रहेर संक्षिप्त टिप्पणी गर्ने प्रयत्न गरेको छु ।
वैचारिक खडेरी
माओवादी आन्दोलनमा नै वैचारिक नेताका रुपमा बाबुराम थिए । चालिस वर्षपछि प्रचण्ड त्यो अभाव महशुस गर्दैछन्, भन्ने कुरा दस्तावेज साक्षी छ । दस्तावेजको अधिकांश खण्ड संविधानको साक्षारता कार्यक्रमजस्तो लाग्ने गरी आधाभन्दा बढी त्यसैको चर्चा छ । आधाभन्दा बढी विषयमा भिन्न मत राखिएको संविधानमा त्यति धेरै चर्चा गर्नुपर्ने कारण पनि संविधानको जस लिने नियत बाहेक केही देखिँदैन । जवकि अन्तरिम संविधानले नै व्यवस्था गरेका कतिपय अग्रगामी व्यवस्थाहरुलाई हटाएर प्रतिगमनको यात्रा आरम्भ गरेको तथ्य भने लुकाएका छन् । नयाँ युगको नयाँ आवश्यकताका रुपमा पार्टीको बैठक हुनु पर्नेमा नयाँ युगको झलक दिने न कुनै विश्लेषण छ, न कुनै वैचारिक आधार छ, न दस्तावेजमा उल्लेख भएका कुराले विचारको प्रतिनिधित्व नै गर्दछ । विचारको खडेरीका बीचबाट लेखिएको दस्तावेजले राम्रो पनि छ, नराम्रो पनि छ सबै छ पनि सबै छैन पनि, जता पनि अर्थ लगाउन मिल्ने भाषा शैलीको पूरानै प्रचण्डशैली दस्तावेजमा उजागर भएको छ । त्यसैले वैचारिक दरिद्रता र खडेरी दस्तावेजको पहिलो विशेषता बनेको छ ।
बाबुरामको बहिर्गमन
दस्तावेजको मुख्य सार बाबुरामको बहिर्गमनबाट परेको मनोवैज्ञानिक त्रासबाट प्रभावित भै उनको बहिर्गमनलाई एउटा ठूलै डिजाईनअन्तर्गत भएको हो भन्ने पुष्टि गरेर आफ्ना सबै कमजोरी र अवान्छित क्रियाकलापलाई ढाकछोप गर्ने प्रयत्न निकै कुशलतापूर्वक गरेको अवस्था छ । संविधान वन्नु, भारतको नाकाबन्दी लाग्नु र भूकम्प जानुलाई ऐतिहासिक परिघटनाका रुपमा चित्रित गर्न खोजे पनि त्यसतर्फको चर्चा संविधानको अन्तरबस्तुको बाहेक खासै छैन । यो स्थान पनि बाबुरामकै प्रसंगले खाएको छ । खासगरी स्टालिनवादी मान्यता पार्टीमा हावी छ । भिन्न मत राख्नासाथ दुश्मनको एजेण्ट भनिदिने र भौतिक रुपमा सफाया नै गरिदिने पूरानो भूत दस्तावेजमा जिउँदै छ । प्रचण्ड निकटकै मानिसहरु युद्धकाबेला मारिदिन पर्ने मान्छे आज चुनौति बनेको छ, भनेर सार्वजनिक वकपत्र गर्न पनि पछि नपरेका बेला चरित्र हत्या गर्ने हदैसम्मका षड्यन्त्र गर्न सक्ने कुरामा त कुनै नौलो कुरा भएन । तर पुष्टि गर्न नसक्ने आरोप लगाउन भने प्रचण्ड स्कूल माहिर छ, यही कुराको झलक दस्तावेजमा पनि देखिन्छ ।
वर्ग विश्लेषण
दस्तावेजले वर्ग विश्लेषण नयाँ ढंगले गरेको दावा गरेको छ । तपाईका दुईवटा घर छन्, त्यसो भए राष्ट्रिय पूँजिपति भनेर खबरहरुले गरेको व्यंग्य टिप्पणी नै काफी छ । वर्ग विश्लेषणको सैद्धान्तिक मान्यता र यसको आर्थिक आधारलाई बिल्कुल ध्यान दिएको पाईएन । लाजिम्पाटको रातो दरबारको माथिल्लो तलाको छतमा बसेर लैनचौर र महाराजगञ्ज दरवारहरुको र संगै रहेको गगनचुम्वी अपार्टमेण्टको चित्र दिमागमा राखेर गरेको भन्ने बाहेक अरु पुष्टि गर्दैन ।
वर्ग विश्लेषणको आधार बस्तुगत तथ्य हुनुपर्छ, न कि कुनै मनोगत आग्रह । नेपालको हालको वर्गहरुको अवस्था के हो ? तथ्य तथ्यांकले के भन्छ ? भन्ने कम्तिमा उल्लेख त गर्नुपर्छ । यसो नगरिकन रत्नपार्कमा हात हेर्ने ज्योतिषले तपाईं विदेश जाने चाहना छ भने, जापान होईन अमेरिका जानोस् भने झैँ तपाईसंग दश विगा जग्गा छ भने, तपाईं यो वर्गमा भनेर कित्ता काटिदिने काम अत्यन्त हचुवा र हल्का ढंगले गरेका छन् ।
वर्ग विश्लेषण नै यस्तो आधार हो जसले कस्तो पार्टी, कस्तो नीति, कस्तो नतृत्व र कस्तो कार्यक्रम आवश्यक पर्छ भन्ने सम्पूर्ण कुराको निर्धारण गर्दछ । दस्तावेजले उपदेश त दियो तर नेपालको सम्बन्धमा कसको के स्थिति हो भन्ने कुराको चर्चा छैन । यसले मनोगत वर्ग विश्लेषण मनोगत पार्टी संगठन र मनोगत कार्यक्रम भन्ने कुरालाई सहजै पुष्टि गर्दछ ।
राजनैतिक शक्तिको विश्लेषण
राप्रपालाई दलाल नोकरशाही पूँजीपति वर्गको प्रतिनिधि पात्रका रुपमा चित्रित गरेका छन्, उनलाई गणतन्त्र संघीयता परिवर्तनको समग्र पक्षको विरोधीका रुपमा उभ्याएका छन्, भने नेपाली कांग्रेसलाई यथास्थितिवादी, एमालेलाई सुधारवादी÷अवसरवादी र माओवादीहरुलाई क्रान्तिकारी भन्दै पूरानै मानसिकता र आधारमा नयाँ विश्लेषण गरिएको छ । राप्रपालाई प्रमुख दुश्मनका रुपमा चित्रित गरिरँहदा उसैको अगुवाईमा सरकार बनाउने कुरा अझ उसकै डिजाईनमा हिड्ने कुराको तालमेल दस्तावेजमा कहिँ कतै मेल खादैन ।
यसअघि एमालेलाई प्रतिक्रियावादमा पतन भैसकेको शक्तिका रुपमा विश्लेषण गर्दै आएकोमा यसैपटक भने सुधारवादी शक्तिका रुपमा चित्रित गरेको छ । यसो गर्नुका पछाडि एमाओवादीमा के परिवर्तन आएको कारणले हो, एमाओवादीको एमालेकरण भएर हो, वा एमाओवादीमा आएको स्खलनले हो, वा पार्टीलाई एमालेको एमाओवादीकरण भएर हो, अथवा उसँगको एकिकरणलाई सहज बनाउन पृष्ठभूमीका निम्ति हो, कतै स्पष्ट छैन ।
उता माओवदी शक्तिहरुलाई क्रान्तिकारी शक्तिका रुपमा चित्रित गर्दै एकता एमालेसंग भएन भने यतापनि हुनसक्छ भन्ने कुरा मनमा राखेको कुरा दस्तावेज आफैँ बोल्दछ ।
प्रधान अन्तरविरोध बारे
प्रचण्डको दस्तवेजले भारतीय एकाधिकार पूँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल नोकरशाही पूँजीवाद र सामन्त वर्गविरुद्ध आमनेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रुपमा उल्लेख गरेका छन् । यही प्रसंग पालुङटार बैठकका बखत बाबुरामले राख्दा उनीमाथि भारतपरस्तको बिल्ला लगाईयो र प्रचण्ड पक्षधरहरु भारतसंगको प्रधान अन्तरविरोध हो र भारत प्रधान दुश्मन हो भन्नुपर्छ भनेर घोकाईयो । यसैगरी खरिपाटी भेलाका बखत नेपाली काँग्रेस प्रधान दुश्मन हो भनियो । धेरै टाढा जानै पर्दैन हिजोका अभिव्यक्ति आजका गतिविधि कहिँ कतै मेल खाँदैनन् र यो विश्लेषण भोली नै पूरानो भै बेसान्दर्भिक हुने निश्चित छ । यति अल्पदृष्टिले पार्टी चल्ने कुरा सायद अब सम्भव छैन । त्यसैले दिनानुदिन विघटनको संघारमा छ । माओवादीहरुसंगको एकताको चर्चा कायम राख्न जनवादी क्रान्ति पूरा भएको छैन, त्यसैले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संघर्ष गर्ने कुरा गर्दै आएको पनि उल्लेख छ भने, राप्रपासंगको गठबन्दन कायम राख्न राष्ट्रिय स्वाधिनताको विषय राख्नु परेको छ । एमालेसंगको एकताको आशा जगाईराख्न कम्युनिष्ट केन्द्र बनाउने कुरा पनि गर्नु परेको छ । कांग्रेससंग सम्बन्ध कायम राख्न समाजवादी क्रान्ति पनि भन्नु परेको छ । दस्तावेज निकै अकर्मण्यता र अवसरवादीताको उल्झनमा परेको छ ।
विश्लेषण र संश्लेषणमा अन्तरविरोध
विराटनगर सम्मेलनका बखत तपाईंको दस्तावेज डाईग्नोशिसमा मल्टी अर्गान फेलियरको तर प्रेष्कृप्सन चाहीँ मलमपट्टीको भयो भनेर टिप्पणी भएको थियो । सो आरोपबाट बच्न अहिले दस्तावेज आफैँ पार्टीलाई क्यान्सर लागेको छ र सो भाग मेजर अपरेशन गरेर फयाँक्नु पर्छ भन्ने शब्द चाहीँ प्रयोग भएको छ, तर त्यसका निम्ति योजना र कार्यक्रम नयाँ छैन । उनै आचारसंहिता, उनै भेला÷बैठक÷ सम्मेलन प्रशिक्षण जसले जाँगर र उत्साह पटकै ल्याउँदैन । आचारसंहिताको ९ नं.मा ‘केन्द्रीय सदस्यहरुबाट भ्रष्टाचार तस्करी पार्टीको नाममा आफ्नालागि गोप्य आर्थिक चन्दा असुल नगरिएको पाईएमा त्यसलाई अत्यन्त गम्भीर अपराधको रुपमा लिई कडा कारबाहीको प्रक्रियामा लगिने छ,’ भन्ने उल्लेख छ सर्सर्ती हेर्दा त यो प्रिन्ट मिस्टेक नै हो तर यसले दुईवटा कुराको संकेत गर्छ, पहिलो यति ठूलो अनर्थ लाग्ने भूलप्रति पनि नेतृत्व गम्भीर छैन । कति मजाक र सनकमा चलेको छ यो पार्टी भन्ने र दास्रो सत्य त आखिर यही हो उल्लेखित योग्यता नभएको व्यक्ति एमाओवादीमा अटाउनै सक्दैन भन्ने त पुष्टि भएको कुरा हो भन्ने अर्थ लागेको छ । यो प्रवृत्ति हटाउने चाहना, वाध्यता वा योजना कतै देखिँदैन ।
आचार संहिता र पार्टी सुदृढिकरण
२०६३ सालमा शान्ति प्रकृयामा आएपछि आचारसंहिता बन्यो । अन्तरिम सांसदहरुकालागि पनि बन्यो तर कार्यान्वयन शत प्रतिशत नै भएन । अर्बौ भ्रष्टाचारका आरोपहरु लागे, विस्तारित बैठकले आयोग नै बनायो, सम्पत्ति छानविन आयोग पनि बन्यो, तर रिपोर्ट सार्वजनिक गर्ने पटक–पटक को वाचा विपरित यो गोप्य हो, सार्वजनिक गर्न सकिँदैन भनियो । भ्रष्टाचार कमिशन र तस्करीको स्रोत मूल नेतृत्व भन्ने पनि आयोगले निष्कर्ष नै निकाल्यो । नेतृत्वको जीवनशैली कुनै सामन्त र तानाशाहको भन्दाकम्ति छैन भनियो । सहयोगीहरु तस्करबाहेक अरुलाई भेट्ने समय मिलाउँदैनन् भनियो । दिउँसो चर्का देशभक्ति र राष्ट्रवाद, राति–राति लम्पसारवाद प्रमाणित पनि भयो । हजारपटक सच्याउने वाचा पनि गरियो । त्याग गर्ने कुरा त लाखौं पटक भयो, तर कार्यान्वयन शुन्य रह्यो ।
राष्ट्रवादी कहलाउन साईकल चढ्ने कुरा गरियो, तर तस्करीलाई संस्थागत गर्दै अर्बौ कमाउने खेलमा प्रत्यक्ष संलग्नता पनि देखियो । फेरि पनि आचार संहिताको सूची थपिएकै छ ।
आर्थिक नियमावली बनाउने कुरा भने गरिरहन्छ, यसैको कभरमा अपारदर्शी जिवन बाँच्न अभ्यस्त बनाईरहन्छ । जुन पार्टीमा उपाध्यक्ष सत्याग्रहभन्दै विगत चार वर्षदेखि टेम्पो चढछन्, त्यही पार्टीको दस्तावेजले गाडी र सुसारे राख्न पाउने अधिकार प्रदान गर्छ । गाडी र सुसारेको लावालस्करले गरिब किसान र मजदुरकालागि क्रान्ति गर्ने सपना बाँढ्न पनि छाड्दैन । आचारसंहिताको सूची हेर्दा त यो दस्तावेज झुटको पुलिन्दाबाहेक केही देखिन्न ।
पार्टी बिग्रेको र कहिल्यै नसच्चिने कसम खाएका र ईन्द्रेको बाउ चन्द्रे आए पनि आफू पार्टीमा नफर्कने कसम खाएका नेताहरु गडी ड्राईभर र सुसारे पाउने दस्तावेज आएसंगै पार्टीमा फर्कने कुरा नै काफी छ, एमाओवादी पार्टीको हालको दस्तावेजको चिरफारका निम्ति ।
अन्तमा,
वैचारिक टाट पल्टाईको परिणाम, राजावादी संघीयता विरोधी र परिवर्तन विरोधीसंग सत्ता स्वार्थका कारणले गठबन्धन जोगाई राख्नु पर्ने, विघटनको संघारमा पुगेको पार्टीलाई आकारमा भए पनि ठूलो हुने आशा देखाई राख्न एमाले वा माओवादी धारा सबै संग एकता गरेर कम्युनिष्ट केन्द्र बनाइने गफ पनि गर्नु पर्ने, जनवादी क्रान्ति पूरा भएको छैन भनेर वैद्य विप्लवलाई र समाजवादी क्रान्ति गर्ने हो भनेर कांग्रेस र भारतलाई पनि आफनो नजरको वरिपरि घुमाई राख्नु पर्ने, तत्कालको शासकीय ऐश÷आराम पनि त्याग्न नपर्ने, क्रान्तिको सपना देखाउँदै मजदुर किसानको साथ पनि त्याग्न नपर्ने उपाय खोज्नै पर्ने वाध्यताका बीचवाट यो दस्तावेज आएको छ । हेर्दा सबै छ, छाम्दा केही छैन । यो दस्तावेजको सार यही हो ।
http://www.sajhapost.com बाट साभार
No comments:
Post a Comment