राम कार्की |
अहिले एमाओवादीको अवस्था नेता–कार्यकर्ताले भोगेका छौँ, अरूले देखेका छन् । जनयुद्धकालमा माओवादी पार्टीभन्दा पनि आन्दोलन थियो । माओवादी मात्र होइन, राणाशासन वा पञ्चायतविरुद्धका सबै पार्टी आन्दोलन थिए । आन्दोलन र राजनीति फरक हुन् । आन्दोलनमा जो पनि सहभागी हुन सक्छ तर राजनीतिमा लाग्न विशेष राजनीतिक चाख, अभिरुचि र योग्यता चाहिन्छ । पहिले माओवादी आन्दोलनमा जो सहभागी भयो, त्यो मान्छेको राजनीतिक अभिरुचि र योग्यता हामीले हेरेनौँ । हेर्न सम्भव पनि थिएन । हामीलाई भात खान दिएका भरमा मान्छे माओवादी भए । प्रहरी, सेना र भिजिलान्तेबाट मारिए । मामा माओवादी भएकाले भानिज पनि माओवादी बन्यो । यसरी बनेको माओवादी आन्दोलनलाई ०६२–६३ को आन्दोलनपछि पार्टी बदल्ने चुनौती थियो । हामी त्यहीँ चुक्यौँ । पार्टी बनाउन राजनीतिमा अटाउनेजतिलाई भूमिका दिएर अरूलाई समर्थकका रूपमा समाजमा समायोजन गराउनुपथ्र्यो । त्यो हामीले गरेनौँ, गर्न सकेनौँ ।
आन्दोलनबाट आएको मान्छे सजिलै समाजमा समायोजन हुन सक्दैन । त्यसका लागि हामीले कार्यक्रम लैजानुपथ्र्यो । समाजमा समायोजन हुन गएकाहरू समर्थक भएर बस्थे । राजनीतिमा रहनेहरूको पार्टी बन्थ्यो । तर, हामीले पछिसम्म यो आन्दोलन अझै अगाडि जान्छ र भएजति सबै मान्छे चाहिराख्छ भनेर ढाँटिराख्यौँ । त्यो हाम्रो पार्टीको गल्ती हो । तर, अहिले पनि त्यो गल्ती स्वीकार गरिएको छैन । पार्टीको अवस्था कस्तो हुने भन्नेमा नीति र नेतृत्व जिम्मेवार हुन्छ । जसलाई हामी लाइन र लिडरसिप भन्छौँ । हामी हाम्रो हरेक दस्ताबेजमा माओको भनाइ उद्धृत गर्छौं, ‘पार्टीको कार्यदिशा सही भए सबै कुरा प्राप्त हँुदै जान्छ, सही नभए सबै गुम्दै जान्छ ।’ तर, हामीले जुन नीति बनाउँदै आएका छौँ, त्यसको निर्माण र निर्णय प्रक्रियालाई पनि प्रजातान्त्रिक बनाउन सकेनौँ । जनवादी केन्द्रीयता भन्छौँ, त्यसको सट्टामा अहिले अराजकता कायम भएको छ । नीतिहरू गलत साबित भएका छन् । यसमा नेतृत्व पनि उत्तिकै जिम्मेवार छ ।
नेतृत्वले फेरिएको परिस्थितिमा आफ्नो विधि, चालचलन, नेतृत्व शैलीलाई परिवर्तन गरेर निर्मल र कञ्चन राखिराख्नुपथ्र्यो, त्यो गर्न सकेन । सबै नेतृत्वका अगाडि औँला ठडिने परिस्थिति बन्यो । माओवादी पार्टी यो अवस्थामा पुग्नुमा हाम्रो नीति र नेतृत्वको गहिरो र निर्मम समीक्षा जरुरी छ । तर, हामी भागिरहेका छौँ । नीतिको विहंगम समीक्षा गरेका छैनौँ । हामी झन्–झन् खस्कँदै गइरहेका छौँ, तर त्यही नीति समातिरहेका छौँ । अर्को नीति बनाउन सकेका छैनौँ । नीति र नेतृत्वका कमजोरीका कारणले पार्टी संगठन, जनवर्गीय संगठन लथालिंग भएका छन् ।
पार्टीमा विभिन्न जिल्लामा समानान्तर समिति छन् । दर्जन जिल्लामा समानान्तर समिति वा गुट विभाजन वा पार्टीकै विभाजन खासमा काँक्रा चिरेजस्तै हो । सबै चिराको उही स्वाद हुन्छ, रस फेरिँदैन । अहिले माओवादीलाई २० टुक्रा बनाए पनि सबै टुक्राको स्वाद उही हो । वैद्य टुक्रा, विप्लव टुक्रा, प्रचण्ड टुक्रा, बाबुराम टुक्रा, नारायणकाजी टुक्रा सबैको स्वाद उही हो । त्यसर्थ टुक्रा हुनु कुनै समाधान होइन । तर, यसरी टुक्राहरू बढ्नु पनि नीति र नेतृत्वको कमजोरी नै हो ।
एमाओवादीमा पहिलो बहस नीतिको हुनुपर्छ । उत्पीडित वर्गको नीति त्यस्तो हुनुपर्छ, जसले उत्पीडक वर्गमा विभाजन ल्याओस् । तर, हामीले उत्पीडक वर्गलाई विभाजनमा ल्याउने नीति ल्याउन सकेनौँ । जातीय वा राष्ट्रियतासम्बन्धी नीतिकै कुरा गरौँ । संसारमा आजसम्म कुनै पनि जाति दमनविरुद्ध आफैँ लडेर सफल भएको छैन । दमनमा परेका जातिसँग सहानुभूति राख्ने तप्का पैदा गरेर मात्रै जातीय मुक्तिका आन्दोलन सफल भएका छन् । भारतको स्वतन्त्रता संग्राममा उदार अंग्ेरजहरूको सहानुभूति थियो । भियतनाम युद्धमा थुपै्र पश्चिमा र अमेरिकीहरू भियतनामी जनताका पक्षमा उभिए । चीनको स्वाधीनताको लडाइँमा चीनप्रति सहानुभूति राख्ने जापानी पनि थुप्रै थिए । तर, नेपालको प्रसंग फरक छ ।
खरो भाषामा भन्दा धौलागिरिदेखि पूर्वका क्षेत्री, बाहुन नेपालका खास शासक हुन् । आर्थिक, राजनीतिक, बौद्धिक, सांस्कृतिक सबै ठाउँमा उनीहरूको वर्चस्व छ । हाम्रा नीतिले त्यहाँ विभाजन ल्याउनुपथ्र्यो । तर, हाम्रो नीति खुस्कियो । अभावका कारण अर्धनग्न कर्णालीकी एउटी क्षेत्री महिला र फेसनका कारण अर्धनग्न इलामकी ब्राह्मणकी छोरी दुइटैलाई एउटै ढंगले सोच्ने ठाउँमा पुर्याइयो । जब हाम्रो नीतिले कर्णालीको क्षेत्री, बाहुन र स्याङ्जाका क्षेत्री, बाहुनलाई एउटै ढंगले सोच्नुपर्ने अवस्थामा पुर्याइदिन्छ भने त्यो गलत हो । हाम्रो नीति त क्षेत्री, बाहुनभित्रका प्रगतिशील पक्षलाई हाम्रो पक्षमा लिने खालको हुनुपथ्र्यो ।
हाम्रो नीतिले उत्पीडक वर्गमा विभाजन ल्याउन सकेन भन्ने प्रसंग पार्टीमा नउठेको पनि होइन । तर, हाम्रो पार्टीमा त्यस्तो फोरम छैन, जहाँ बहस होस् । पार्टीमा कसैको कुरा सुन्ने ठाउँ छैन । पार्टीमा त संस्थागत जीवन नै छैन । अमुक नेता बोल्छन्, पार्टी बोल्दैन । मिडियामा अमुक नेताले यसो भन्नुभयो भन्ने खबर आउँछन्, तर पार्टीले यसो भन्यो भन्ने कहिल्यै आउँदैन । पार्टीको संस्थागत जीवन समाप्त हुँदा व्यक्तिहरू हाबी भए । अब पनि यसै भइरहने हो भने पार्टी स्वाभाविक रूपमा सर्वनाशतिर जान्छ ।
विकासको मोडेलमा पनि हामी चुक्यौँ । हामीले ठूला लगानी भित्र्याउने, लाखौँ मान्छेलाई काम दिने भन्ने पँुजीवादी बाटोको वकालत गर्यौँ । नेपालको मौलिक बाटो देखाउन सकेनौँ, सोचेनौँ । मलाई वेलावेलामा लागिराख्छ, डोल्पामा एउटा जीवन छ । त्यो जीवन कठिन छ । तर, कठिन जीवनभित्र सांस्कृतिक जीवन हुर्किएका छन् । त्यहाँ हाम्रो काम के हुन्छ रु उनीहरूको सांस्कृतिक जीवनलाई बर्बाद गरिदिने या सहयोग गर्ने रु त्यहाँका मान्छे चौंरी पालेर, भेडा पालेर, घोडा पालेर बसेका छन् । उनीहरूको उचित चरनको व्यवस्था गरिदिने, उत्पादित दूधबाट बनेका पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने वातावरण बनाइदिने, पशुपालन, जडीबुटीसम्बन्धी कलेज खोलेर दोस्रो पिँढीलाई शिक्षा दिने, याक, भेडाका नयाँ जात भित्र्याउने कि त्यहाँ डोजर लगाएर बाटो खन्ने अनि चाउचाउ लगेर बेच्ने रु यसमा हामीले हाम्रो विकासको बाटो बनाउन सकेनौँ । पुजीवादी बजारको हल्लाबाट प्रभावित भयौँ । यहाँ पनि हामै्र नीति र नेतृत्व कमजोर प्रमाणित भयो ।
पार्टीको संस्थागत जीवनले भन्दा विभिन्न कारणले नाम कमाएका केही नेताविशेष ओभर स्मार्ट हुनुभयो । उहाँहरूले पार्टीको नाममा निर्णय गर्न थाल्नुभयो । उहाँहरू बोलेको पार्टी बोलेको जस्तो हुन थाल्यो । जबकि कमिटी बोल्नुपथ्र्यो । कमिटी सिस्टममा जानुपथ्र्यो ।
गाडी धेरै गुडाएपछि खोलखाल पारेर सर्भिसिङ गरेजस्तै कम्युनिस्ट पार्टीलाई पनि वेलावेलामा विघटन गर्नुपर्ने हुन्छ । माओवादी पनि युद्ध धानेर आएको मेसिन हो । यसको पनि पार्टपुर्जाको सर्भिसिङ गर्न जरुरी थियो । आंशिक र आवधिक रूपमा पार्टीका संकायको विघटन गरेर नयाँ गठन गर्नुपर्छ । एकैचोटि सबै विघटन गर्दा ध्वंस हुन्छ । पार्टपार्टलाई विघटन गर्दै जानुपर्छ । यो पार्टीलाई नवजीवन दिनका लागि महाधिवेशनको संघारमा विघटन गर्न सक्नुपथ्र्यो । तर, सकेनौँ । महाधिवेशनमा पुगेर पनि जस्ताको तस्तै आयो । हाम्रो शैली, परम्परा जस्ताको तस्तै आयो । त्यो गर्न नसकेका कारण अहिले माओवादी भत्किरहेको छ । घर पुरानो हुँदा मर्मत गर्यो भने राम्रो हुन्छ, त्यत्तिकै छाडिदियो भने आफँै भत्कन्छ । त्यस्तै भएको छ । महाधिवेशनमा भत्काएर नयाँ बनाउने अवसर थियो । तर, हाम्रो महाधिवेशन स्थल वैचारिक पत्रिका बिक्नुको सट्टा उत्ताउला उपन्यास बिक्री हुने थलो बन्यो । महाधिवेशन पार्टीको सर्भिसिङ सेन्टर बन्न सकेन ।
भद्रगोल माओवादीलाई सही दिशामा ल्याउन महाविधेशन चाहिन्छ । त्यसअघि हाम्रा कमिटीहरू विघटन गरेर साना आकारका आयोजक समिति बनाउनुपर्छ । त्यो जिल्ला समितिबाट आएका प्रतिनिधिले एकदमै प्रजातान्त्रिक ढंगले महाधिवेशन गर्न सके त्यसले माओवादी आन्दोलनलाई बचाइदिन्छ । त्यसको सकारात्मक असर जनवर्गीय संगठनमा पर्छ । जवस मोर्चाहरू निष्क्रिय हुँदा युवालाई आकर्षित गर्ने योजना दिन सकेका छैनौँ । सपना दिन सकेका छैनौँ । भएकामा पनि निराशा छ । यो गर्न अब हाम्रो पूर्ण विघटन र पुनर्गठन अहिलेको आवश्यकता हो । त्यो पनि हामीजस्ताले चाहेर हुँदैन । शिर्ष नेतृत्वले चाहनुपर्छ । म केमा आशावादी छु भने यत्रो ठूलो बलिदान भएको छ, हजारौँ मान्छे घाइते छन्, लाखौँ परिवार यो आन्दोलनबाट आहत भएको छ, यो आन्दोलन यसै खेर जाँदैन । जान दिनुहुँदैन । जहाँ ढलेको छ र भग्नावशेष भएको छ, त्यहीँबाट नयाँ घरको निर्माण गर्नुपर्छ । काम लाग्ने अजंगका बलिया काठ, इँटा र ढुंगा बचाएर नयाँ घर त बनाउनैपर्छ । नीति र नेतृत्वको निर्मम समीक्षा सुरु गर्नुपर्छ । हाम्रा नेता नीति र नेतृत्वको समीक्षाबाहेक अरू सबैथोक गर्छन् तर हामीले समीक्षा गर्न सकेनौँ भने नयाँ पिँढीले गर्छ । हामीलाई धकेलेर र नाघेर भए पनि गर्छ ।
(कार्की एमाओवादीका पोलिटब्युरो सदस्य हुन्)
कार्कीको यो लेख वि.सं. २०७२ श्रावण २६ गतेको नयाँ पत्रिका दैनिकमा प्रकासित छ जहाँ बाट यो साभार गरिएको हो ।
http://alokhabar.com बाट साभार
No comments:
Post a Comment