Wednesday, July 15, 2015

कमरेड, पार्टी युवालाई जिम्मा दिनुहोस्

दीपशिखा 

dipshikha_article
हिजो एउटा समय थियो प्रचण्ड/बाबुराम/बैद्य रुँदा हामी रुन्थ्यौं । हाँस्दा सँगै हाँस्थ्यौं । आज ती रुँदा हामीलाई हाँसो उठ्छ । ती हाँस्दा हामीलाई रुन मन लाग्छ ।

रुँदा हाँस्न मन लाग्ने र हाँस्दा रुन मन लाग्नुको अन्तर्य पार्टी जीवन र आन्दोलनसँग सम्बन्धित छ ।
प्रायः माओवादी आन्दोलनका नेताहरु भन्छन्, पार्टी बिग्रियो । गहिरिएर बिग्रिएको पार्टी खोज्ने हो भने पार्टी छैन । आन्दोलनका विरासतहरु छन् । पार्टीका मानिसहरु छन् । पार्टी कार्यालयहरु छन् र पार्टी नामको शब्द नेताहरुको खल्तीमा कैद भएको छ ।
माओवादी पार्टी अब बाँकी छैन – आन्दोलन बाँकी छ । माओवादी नेतृत्व बाँकी छैन – कार्यकर्ता र जनता बाँकी छन् । यो आलेखको उद्देश्य नेतालाई ताछ्नु होइन । तिनको उद्देश्य यति अपवित्र थियो भनियो भने निष्कर्ष सही निस्कदैन । तिनका बारेमा विहंगम समिक्षा जरुरी छ ।
पार्टी, पार्टी हुनलाई त्यसको विचार हुन्छ । संगठन हुन्छ । तात्कालीन र दिर्घकालीन कार्यक्रम हुन्छ । अझ कम्युनिष्ट पार्टीमा लेनिनवादी संगठनात्मक सिदान्तका आधारमा चल्ने संगठनहरु हुन्छन् । विचार र संगठनको क्षेत्रमा केही बाँकी नभएपछि बाँकी रहेका भग्नावशेषहरुलाई माओवादी नेताहरु फेरी एकपटक पार्टी ठान्ने गल्ती गरिरहेका छन् ।
यो पार्टी नभएको पार्टीमा पछिल्ला केही वर्षदेखि बहसहरु छन् । विवाद र अन्तरविरोध छ । एकले अर्कालाई लगाउने आरोपका फेहरिस्त तयारजस्तै छ – फलानाले पार्टी बिगार्यो । अर्कालाई दोष थोपरेर आफू चोखिनु बहसको केन्द्रीय चुरो हो । यस्तो चुरो कुरो मात्रै हुन्छ । यहाँ पार्टी पुनर्गठन या निर्माणमा यी आन्दोलनका नेताहरु एकले अर्कालाई दोष थोपारेर आफू भाग्ने या सिद्धिने मूर्खताबाहेक केही देखिँदैन ।
बाबुरामलाई लाग्छ – प्रचण्ड गन्हाउने भए । खुरुक्क आफूलाई पद हस्तान्तरण गरे त्यहाँ सुगन्ध छाउँछ । प्रचण्डलाई लाग्छ– बाबुरामले गन्हाउने बनाए । तिनले सघाए म मा सुगन्ध छाउँथ्यो ।
बाबुरामलाई लाग्छ – प्रचण्ड गन्हाउने भए । खुरुक्क आफूलाई पद हस्तान्तरण गरे त्यहाँ सुगन्ध छाउँछ । प्रचण्डलाई लाग्छ– बाबुरामले गन्हाउने बनाए । तिनले सघाए म मा सुगन्ध छाउँथ्यो । यस्तैयस्तै दोस्रो पुस्ताका नेताहरुलाई नि प्रचण्ड/बाबुरामलाई जस्तै लाग्छ । ती यी दुई नेताको फेर समातेर नभएको पार्टीमा वैतर्णी तर्ने दाउमा छन् ।
पेरिसडाँडा मुख्यालय माओवादीको स्वमित्व अघि एउटा भग्नावशेष थियो । त्यहाँ गजडिया र लागुऔषध सेवनकर्ताले छोडेका सिरिन्जहरु थिए । मालिक बेपत्ता भएपछि बेसाहरा घरमा माओवादी आइपुग्दा ती मुन्द्रेहरुका गु का लिँडहरुले प्रत्येक कोठा भरिएका थिए । जनयुद्धको रापमा राजधानी छिरेका माओवादीले त्यसलाई चिरिच्याट्ट बनायो ।
सर्वहारा पार्टीको पेरिसडाँडा मुख्यालयमा गाडीका लाइन लाग्न थाले । पार्किङ नपुगेर पुलिसले ट्राफिक खटायो । पेरिसडाँडा रमझममा पर्र्यो । राधाकृष्ण मैनालीहरु पन्चायती भूत बोकेर मुख्यालय छिर्न थाले । ल्यारक्याल लामाहरु ‘महादेवका तीन नेत्र’ बोकेर सरासर चोटोकोठो चहार्न थालेपछि जिन्दगी झेल्न नसकेका कार्यकर्ता प्रांगणमा टुलुटुलु भए । पेरिसडाँडा मुख्यालयमा सडेगलेका र अरु पार्टीमा बदनामहरुको लाम लागेपछि हरिविजोग ती कार्यकर्ता अरब छिर्न म्यानपावरका ढोकाहरुमा लाम लाग्न थाले । सिरिन्ज बोकेर पेरिसडाँडा छिर्ने मुन्द्रे र ट्यापेहरु हँसिया हथौडा बोकेर फेरी छिरेपछि पेरिसडाँडा उस्तै भग्नावशेषमा बदलियो ।
सार कुरा के हो भने, माओवादी पार्टी अब बाँकी छैन – आन्दोलन बाँकी छ । माओवादी नेतृत्व बाँकी छैन – कार्यकर्ता र जनता बाँकी छन् । यो आलेखको उद्देश्य नेतालाई ताछ्नु होइन । तिनको उद्देश्य यति अपवित्र थियो भनियो भने निष्कर्ष सही निस्कदैन । तिनका बारेमा विहंगम समिक्षा जरुरी छ । तर पार्टी पुननिर्माणको थालनी तिनलाई नकोट्याइ हुँदैन । कोट्याउँदा तिनलाई दुख्छ ।
के उनले भनेजस्तो पार्टी नेतृत्व एकले अर्कोलाई दिएर या यहि नेतृत्वको रुपान्तरणबाट पार्टी निर्माण सम्भव छ ? छैन । किनभने अहिले पार्टीको उच्च केन्द्रीय तहमा भएका नेताहरुको क्षमताको अन्तिम प्रयोग भइसकेको छ । उनले सक्ने यत्ति हो । जनयुद्ध र कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याउन उनले खेलेको भूमिका उनको राजनीतिक जीवनको सर्वोत्कृष्ट भूमिका हो । उनले यसलाई बचाइराख्ने मात्रै हो ।
माओवादी आन्दोलन हो । यो अहिले पार्टीका रुपमा ६ वटा टुक्रा भएको छ । ‘पार्टी छ’ भन्ने भ्रममा रहेका सबै पार्टीका युवाहरु भ्रममुक्त हुनुपर्छ । ती युवाहरुले ती टुक्राका नेताहरुलाई भ्रममुक्त गराउनु पहिलो कदम हो । नेताहरु भ्रममुक्त हुन सक्छन् र नहुन पनि । भ्रममुक्त हुनेहरु पुर्ननिमार्णको अभियानमा जोडिन्छन् र युवाहरुलाई सघाउँछन् । नहुनेहरु नाङ्लो पसल थापेर बस्छन् ।
यो समितिले सबै पार्टीका शीर्ष नेताहरु आवद्ध भएको सल्लाहकार समिति निर्माण गर्नसक्छ । सल्लाहकार समितिलाई नीति निर्माण तहमा (संगठनमा होइन) हस्तक्षेप गर्नसमेत मिल्ने अधिकार दिएपछि युवा स्पिरिट र अनुभवको गज्जव मिश्रण हुनेछ ।
पुनर्निर्माणअभियानको मूल उद्देश्य र मान्यताहरु लेखिनुपर्छ । ती उद्देश्य र मान्यताहरुसँग सहमत भएपछि प्रत्येक पार्टीबाट सिमित संख्यामा युवाहरुको पार्टी पुनर्निर्माण अभियान समिति बनाउनुपर्छ । विवाद र कुनै आरोप नलागेका युवाहरु यस्तो समितिमा पर्ने प्रावधान बनाएपछि यो समिति कम्तीमा माओवादी आन्दोलनको पुननिर्माण गर्ने नैतिक हैसियतमा हुन्छ । यो समितिले सबै पार्टीका शीर्ष नेताहरु आवद्ध भएको सल्लाहकार समिति निर्माण गर्नसक्छ । सल्लाहकार समितिलाई नीति निर्माण तहमा (संगठनमा होइन) हस्तक्षेप गर्नसमेत मिल्ने अधिकार दिएपछि युवा स्पिरिट र अनुभवको गज्जव मिश्रण हुनेछ ।
माओवादी आन्दोलनमा सक्षम युवा पुस्ता छ भनेर फेरी प्रमाणित गरिरहन जरुरी छैन । जनयुद्ध, जनआन्दोलन र पार्टी जीवनमा ती युवाहरुको भूमिकाको बारेमा कोही अनभिज्ञ छैन । बरु ती युवाहरु यतिबेला पार्टी/क्रान्तिको काम र ठाउँ नपाएर मुर्झाइरहेका छन् ।
पुनर्निर्माणअभियानले यसअघि भएका गल्तीहरुको सैदान्तिक समिक्षा गर्नु जरुरी छ । सबैलाई सुध्रिने निश्चित समय तोक्न जरुरी हुन्छ । सुध्रिनेहरु र गल्ती प्रायश्चित गर्नेहरु पुनः अभियानमा जोडिन्छन् । अभियानले तल्लो स्तरबाट पार्टी कमिटिहरुको पुननिर्माण गर्न सुरु गर्छ । कमिटिहरु बन्दै क्रमशः केन्द्रीय तहमा आइपुग्दा एउटा ठूलो आन्दोलन र पार्टी बन्छ । त्यो तहले सम्पूर्ण रुपमा राजनीतिक कार्यदिशामा विहंगम बहस गर्दै कार्यदिशा तय गर्छ ।
पुनर्निर्माण अभियानले पार्टी सदस्यहरुको हकमा लागु हुने गरी संक्रमणकालीन आचारसंहिता बनाउनु जरुरी छ । पार्टी सदस्यले के गर्ने ? के नगर्ने भन्ने विषयमा सामान्यभन्दा सामान्य नियमहरु बनुन् । अहिले नीजिजस्तो बनेको पार्टी सम्पत्तिको व्यवस्थापन यो नियमले सजिलै हुनसक्छ ।
अभियानको समयअवधिमा नयाँ पार्टी सदस्यता रोकिदिनुपर्छ । केही भ्रष्ट र पतित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आवश्यकताका आधारमा खुल्ला तथा संगठनात्मक कारवाही नगरी पार्टी पुनर्निर्माणमा विश्वास पैदा गर्न सकिन्न ।
यसरी बनेको पार्टीको मुख्य नेतृत्व तह निश्चित वर्षसम्म लाभको पदमा जान नपाउने व्यवस्था सुरुमै गर्नुपर्छ । ती पदहरुमा माथि भनिएजस्तै सल्लाहकार समितिमा रहेका नेताहरुलाई अघि सार्दा पनि हुन्छ । उनीहरुले गल्ती गरे या जनताको पक्षमा काम नगरे फर्काउने अधिकार पार्टी कमिटिलाई रहन्छ ।
कमरेड, तपाईहरु यो त्याग गर्न तयार हुनुहुन्छ ? हामी युवाहरु पार्टीको पुनर्निर्माण गर्न तयार छौं ।
युवाहरुले पार्टी पुनर्निर्माण अभियान सञ्चालन गर्दा अहिले भइरहेका नेताहरुलाई अपमान अनुभुत गर्न दिनुहुँदैन । नेताहरुले यसरी युवाहरुबाट पार्टी पुनर्निर्माण हुने वातावरण सिर्जना गर्न सके कम्तीमा यो प्रयोगले अन्र्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई समेत शिक्षा प्रदान गर्न सक्छ ।
यसरी माओवादी आन्दोलनको पुनर्गठन गर्न प्रचण्ड, बाबुराम, बैद्य र विप्लवहरु तयार हुन्छन् भने सम्भव छ । कम्तीमा प्रचण्ड, बाबुराम तयार भए वातावरण निर्माण हुनसक्छ । यसरी पुनर्निर्माण भएको पार्टीले आन्दोलनको गुमेको साँख ६ महिना, वर्षदिनमै फिर्ता गर्न सक्छ र जनतामा नयाँ विश्वास पैदा हुन्छ ।
अब भन्नुस् नेता कमरेड, तपाईहरु यो त्याग गर्न तयार हुनुहुन्छ ? हामी युवाहरु पार्टीको पुनर्निर्माण गर्न तयार छौं
http://www.khabardabali.com बाट साभार 

No comments:

Post a Comment