पुष्पकमल दाहाल प्रचण्ड |
भारत भ्रमणमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा इसाइकरणको बढ्नु भनेको भारत र चीनका लागि पनि खतरा हुने बताएका छन् । आउटलुकसँगको अन्तर्वार्तामा प्रचण्डले बलजफ्ती या पैसाको प्रलोभन दिएर धर्म परिवर्तन गरिनु अपराध हुने भएकोले संविधानमा पनि धर्म परिवर्तन गर्न नपाईने प्रावधान राखिएको बताए । हिन्दु कट्टरतावादीको बाहुल्यता रहेको भाजपा सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य शीर्ष नेताहरुसँग समेत भेटघाट गरेका प्रचण्डले नेपालमा क्रान्तिको युग समाप्त भएर शान्तिको युग शुरु भएको पनि बताए । पढ्नुस् आउटलुककी ब्यूरो प्रमुख भाषा सिंहले लिएको अन्तर्वार्ताको एभरेष्ट दैनिकले गरेको नेपाली अनुवाद ।
#######################################
नेपालमा माओवादी आन्दोलनको यति ठूलो विजय भयो, त्यहाँ तपाईहरुले राजतन्त्र उखेलेर फाल्नुभयो, त्यसपछि तपाईको पार्टीलाई गहिरो धक्का लाग्यो । जनाधार गुमाएर तपाईहरु विपक्षमा बस्नुभयो । यति भइसकेपछि भविष्यका लागि कस्तो बाटो सोच्दै हुनुहुन्छ तपाई ?
तपाईको कुरा साँचो हो । हामीले गल्ती ग¥यौं र त्यसको परिणाम हाम्रा अगाडि देखिएको छ । त्यसैले अबको चुनौती भनेको नेपाली जनताका अगाडि फेरी उभिने र एउटा बलियो विकल्प दिने रहेको छ । यसका लागि हामी तयारी गरिरहेका छौं । हाम्रो रणनीतिमा परिवर्तन आएको छ । यो अत्यन्तै आवश्यक पनि थियो । नेपालमा बुर्जवा लोकतान्त्रिक क्रान्तिको युग राजतन्त्रको समाप्ती पछि नै सिद्धियो । अब हामीले समाजवादी क्रान्तिको तयारी गर्नुछ । यसका लागि सबै वामपन्थी समूहलाई सँगै लैजाने कोशिस गर्नुपर्दछ । भिन्न भिन्न समूहमा रहेको खण्डमा वामपन्थीहरुको शक्ति कमजोर हुने भएकोले हामी एकीकृत वाम शक्तिको निर्माणका लागि पनि तयारी गरिरहेका छौं ।
तपाईले समाजवादी क्रान्तिलाई कसरी ब्याख्या गर्नुहुन्छ ? समाजवादी क्रान्तिको प्रधान दुश्मन को हो नि ?
अब नेपालमा न त त्यो प्रकृतिको राज्यसत्ता छ न त्यही किसिमको सामन्तवाद नै । हाम्रो पार्टीको नेतृत्वमा चलेको १० वर्षे लामो जनयुद्धमा भूमि सम्बन्धहरुमा ठूलो परिवर्तन आयो । त्यसैपनि नेपालमा ठूला जमिन्दारहरु पहिला पनि थिएनन, जो थिए, तिनीहरु पनि समाप्त भए । नेपालको पहाडी क्षेत्रमा ३, ४ हेक्टर जमिन र तराईमा १० विघा भन्दा बढी जमिन कसैले राख्न सक्दैन । यो कुरालाई हामी संविधानमा पनि राख्न गइरहेका छौं ।
भारत नेपाल मैत्री सम्झौतालाई खारेज गर्ने माग पुरानो हो । के यसबारेमा पनि तपाईले यो भ्रमणमा कुरा गर्नुहुन्छ ?
नेपाल भारत मैत्री सम्झौता एकतर्फी छ । यो सन् १९५० मा राणाकालमा भएको हो । हामी यसलाई समाप्त गर्न चाहन्छौं । तर भारतले तपाईहरुका तर्फबाट नै खारेज गर्न मन लागे गर्नुस् भनेर भन्ने गर्दछ, जुन सही होइन । नेपालले मात्रै नभएर दुबै पक्षले यो सम्झौता खारेज गर्नुपर्ने हो । यो विषयमा हाम्रो कुराकानी चलिरहेको छ ।
नेपाली फेरि हिन्दू राष्ट्र बन्ने खतरा कत्तिको बलियो छ ?
यो नेपालको सबैभन्दा ठूलो संवेदनशील मुद्दा हो । यसलाई लिएर नेपालमा निकै ठूलो बहस चलिरहेको छ । प्रलोभन दिएर, डराएर, धम्काएर, मानिसहरुको धर्म परिवर्तन गराउने कुराको विरुद्ध हामी पनि छौं । यो विषयमा हामीले संविधानमा पनि यसरी धर्म परिवर्तन गराए अपराध गरेको मानिने भनेर प्रावधान राखेका छौं ।
भनेपछि तपाईले हिन्दू राष्ट्रका समर्थकहरुको मुख्य माँगलाई स्वीकार गर्नुहुन्छ ? उनीहरु पनि त यो प्रावधानबाट निकै खुशी छन, हैन ?
हेर्नुस्, नेपालमा हिन्दू आवादी निकै छ । नेपालमा ईसाईकरण बढ्नु हाम्रा लागि खतरा हो । हाम्रो एउटा छिमेकी देश भारत हो भने अर्को चीन । नेपालको जनसंख्याको संरचनामा हुने परिवर्तनबाट दुबै देश परेशान हुनेछन् । चीनका लागि यो पश्चिमा शक्तिहरुको प्रभाव हो । यो हाम्रो राष्ट्रिय हितमा पनि छैन । तर यो सँगै अर्को कुरा के पनि सही हो भने हामी नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहँदैनौं । नेपाल धर्म निरपेक्ष देश रहीरहोस् भन्नेमा हाम्रो पूर्ण कोशिस रहनेछ । यद्यपी नेपाली कांग्रेस लगायतका केही अन्य पार्टीहरु हिन्दु राष्ट्र बनाउन निकै जोडबल लगाइरहेका छन् ।
नेपालमा संविधान निर्माणको प्रक्रिया निकै लामो र जटिल भइसकेको छ । तपाईहरु पनि सत्ता बाहिर नै हुनुहुन्छ । यो अवस्थामा नेपालको यो संविधानले कसरी सीमान्तकृत र गरिब समुदायको प्रतिनिधित्व गर्न सक्छ ?
हामीले हामी सरकार, सदन र सडमका रहेर संघर्ष गर्ने निर्णय गरेका छौं । नेपाल हाम्रो हो, हामीले नै यसलाई निर्माण गरेका हौ र भविष्यमा यो भन्दा राम्रो बनाउने छौं । संविधानमा निकै राम्रा सकारात्मक प्रयोगहरु हामीले गरेका छौं । संविधानमा कुनै पनि प्रकारको राजतन्त्रको निषेध गरिएको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ । महिला, दलितलगायतका समुदायको बराबर हिस्सेदारीको कुरा गरिएको छ । हामी संसदीय प्रणालीको विपक्षमा छौं । यसबाट अराजकता कहिल्यै पनि अन्त्य हुन सक्दैन ।
फेरी सशस्त्र क्रान्तिको आवश्यकता पर्ने तपाईलाई लाग्दैन ?
अहिले त लाग्दैन । अहिले शान्तिपूर्ण संघर्षको युग छ । क्रान्तिकारी आन्दोलनमा रणनीतिका अगल अलग चरण हुन्छन । जतिखेर समाजवादी क्रान्तिका लागि परिस्थिति परिवक्व हुनेछ, बिना बल प्रयोग सत्ता हस्तान्तरणको सम्भावना रहँदैन ।
http://www.everestdainik.com बाट साभार
No comments:
Post a Comment