Wednesday, July 22, 2015

उफ माओवादी - शैलेन्द्र घिमिरे


गजुरमा पिसाब फेरेर ‘म मन्दिर लाई मान्छु’ भन्ने हो भने त्योभन्दा महाझुट अरु केही हुँदैन । प्रेम गरेकालाई सराप्न सकिँदैन । यो विज्ञान हो तर माओवादी आन्दोलनमा यो विज्ञानलाई तिनका मस्तिष्कमा हालिएको विचारको काउछोले अपभ्रंस गराएको छ । माओवादी कार्यकर्ता भनिएकाहरुको दिमागमा प्रवेश गरेको पछिल्लो ब्रह्मज्ञान माओवादी आफैंका लागि सबैभन्दा ठूलो अभिशाप हो ।

विगतमा कार्यकर्ता भएका भनिएका तर वर्तमानमा एमाओवादीका विरुद्ध दिनरात विषवमन गर्ने तर आफूले नै स्वास फेरेका कारण माओवादी धानिएको भ्रम पाल्नेहरुका कारण यो आन्दोलनले बिस्तार र संगठनको टुसो समेत देख्न पाएको छैन । सारमा आन्दोलन पुराना भनिएकाहरुले पुछिरहेका छन् ।
बजार पुरानाहरुको बहसमा बहकिएको छ । तिनीहरु आन्दोलन छाडेको घोषणा पनि गर्दैनन् र माओवादी आन्दोलनको अवन्नतिमा खुच्चिङ पनि गरि रहन्छन् । तिनलाई यो आन्दोलनले किनारा लगाउनु पर्ला कि नपर्ला ? आन्दोलनले त्यो सक्ला कि नसक्ला ? अर्कै विषय भए पनि जबसम्म पार्टीमा गुटहरु र हन्छन्, ती बन्चराहरु थप धारिला बनिरहने छन् । तिनलाई सके धुनु, नसके उनीहरुबाट मुक्त हुनु पार्टीका लागि हितकर हुनेछ ।
आन्दोलन कसैको बपौती होइन । यो आन्दोलनबाट कसैका सपना सकिएका छन् भने पनि यसैमार्फत् आफ्ना सपना साकार पार्ने उद्देश्यसहित आउने पुस्ताका लागि पुराना भनिएकाहरुले ढोकामै आचीको थुप्रो राखिदिने प्रचलन बिल्कुल बेठीक हो । यसले माओवादी आन्दोलनको शुभचिन्तामा गत्यावरोध जन्माएको छ । आन्दोलनमा खडा रहनु अर्को कुरा हो । यो आन्दोलनमा मबाहेक अरु छैनन् र भए पनि ती भुसुना वा निचला हुन् भनेर सदैव जेष्ठ बन्ने चाहना राख्नु र अरुको यो आन्दोलनमा सहभागिता, निरन्तरता र आशामा आक्षेप लगाउनु सरासर अपराध हो ।
यो आन्दोलनमा हजारौं सहिद भए, कयौंले जेल–नेल र यातना भोगे, यो नै यो आन्दोलनको ऊर्जा हो । तर , त्यही ऊर्जाका कारण माओवादी आन्दोलनमा सहभागी भएकाहरुले आजका दिनमा सोही बमोजिमको यातना भोगिरहेको कुरामा गरिने नजर अन्दाज राजनीतिक बचपना हो । आज गाउँमा एक जना सामान्य कार्यकर्ता भएर जे मनोवैज्ञानिक आतंकमा बाँचिरहेको छ, त्यो सामान्यतया हिजोको युद्धको आतंकभन्दा कम छैन । हिजो सम्बन्धित सबै प्रश्नको जवाफसँग ऊ निरन्तर जुधिरहेको मात्र छैन, आज पनि केही सपनाहरु जे जनस्तर वाट देखिन्छन्, ती पूरा हुनेछन् भन्ने विश्वासमा बाँचिरहेको छ ।
माओवादी भएवापत आजको एक युवाले हिजोको ‘किलो सेरा टु’ कै हविगत भोगिरहेको छ । फरक यत्ति हो, हिजो बन्दुक बोल्दथ्यो, ज्यान जोखिममा हुन्थ्यो– आज कांग्रेस–एमालेका निरन्तर षड्यन्त्रहरु छन् । माओवादी भएकै कारण स्कुलको शुल्क एक दिन ढिलो तिरिंदा स्कुलमा नानीहरुलाई अपमानित गरिन्छ । बाटो समिति, विद्यालय व्यवस्थापन समितिबाट हटाइन्छ, अकारण मुद्धा लगाइन्छ र पुलिस कार्यालयमा हाजिर गराइन्छ । यो गोली खाएर मर्नु जत्तिकै छ । तर , यसमा ज्यान जाँदैन, जे पीडा दिन्छ– ज्यान नजाने कुराले दिन्छ ।
हिजो माओवादी हुने कुरा कतिपय सन्र्दभमा ‘सान’ समेत थियो । भोकै भएको भए पनि जनताको अपेक्षा थियो र ज्यु ज्यु थियो, त्यसमा एक सन्तुष्टि थियो । आजको माओवादी आन्दोलनमा सन्तुष्टि पाउन पहाडमा तिल खोज्नु बराबर हो, कम्तिमा हिजोका सपनाको तुलनामा । आज बजारमा माओवादी आन्दोलनका बारेमा जबर्जस्त भ्रम छ, बेलुकीको टेलिभिजन माओवादी आन्देलनका बारेमा उखर माउलो बहस सिर्जना गर्छ । कतिपय हिजो माओवादी आन्दोलनमै लागेका भनिएका अग्रजहरु माओवादी आन्दोलनको बिलो लगाउँछन्, कोही चर्का कुुरा गर्छन्, कोही तर्कको कुरा गर्छन् । के सत्य, के झुट– जनता भ्रमित हुन्छन् । जनता र स्थानीय निकायका कार्यकर्तासँग तर्क हुँदैन । उनीहरु तर्क जानेर नेता भएका पनि होइनन् ।
यो सामाजिक सञ्जालको युग हो, विश्वमा सामाजिक सञ्जालकोे प्रयोग ठूलठूला परिवर्तनलाई केन्द्रित गर्न भइरहेको छ । तर , माओवादी आन्दोलन सामाजिक सञ्जालमा कार्यकर्ता भनिएकाहरुबाटै विकृत पारिएको छ । कोही फेसबुकबाटै पार्टी बिग्रिएको घोषणा गर्छन्, कोही नेतृत्वका बारेमा अराजनीतिक टिप्पणी छाप्छन् । टिप्पणी छाप्नेहरुको फोटो हिजो बन्दुक बोकेर हिँडेकाहरुकै हुन्छ । हिजोको बन्दुकले दुस्मनलाई ताक्दथ्यो आजको फेसबुकले नेता र संगठनको अस्तित्वलाई ताक्दछ । आजको जनताले व्यवहार हेर्छ, व्यवहारमा सबैभन्दा निचला देखिनेहरु फेसबुकमा अब्बल छन् । फेसबुके आतंकका विरुद्ध लड्न अर्को मोर्चा माओवादी कार्यकर्ताका लागि कम्तिमा अहिलेलाई उपलब्ध छैन, त्यसकारण त्यसको जवाफ पनि फेसबुक नै बन्छ, यस्तो लाग्दछ– पार्टी अन्तर्संघर्षको मैदान नै फेसबुक हो ।
हिजो तास च्यातेको चेतनाले संगठनमा छाएकाहरु तासको खालमा १० रुपैयाँ प्वाइन्टको ‘म्यारिज’ खेल्छन् र प्राप्त ‘ज्ञान’ को श्रेष्ठता पुष्टि गर्न नेता र संगठनलाई गाली गर्छन् । हिजो तास खेलेकै आरोपमा तास खान बाध्य पारिएकाहरु माओवादी कार्यकर्तालाई ढिलो गरी प्राप्त यो ‘ब्रह्मज्ञान’ ले दंग पर्छन् । पुराना भनिएकाहरु नै अहिले पार्टी काममा भन्दा ‘लक्ष्मी प्राप्तिको यज्ञ’ मा बढ्ता तल्लिन देखिन्छन् । यिनै ब्रह्मज्ञानीहरु नेता बिग्रिएको भनेर पत्रिकामा लेख लेख्छन् । नेता सिद्धान्तले बिग्रिन्छ वा अरु केहीले ? यी ‘ज्ञानी’ हरुलाई थाहा हुँदैन । यिनीहरु हिजो पढेको माक्र्सवाद सर्लक्क निलेर बुर्जुवा आदर्शमा व्यवहार खोज्छन् । लेखमा ‘जुन थालमा खायो, त्यसैमा छाद्यो’ भने झैं हजम नहुने परिकार । त्यसैलाई आधार बनाएर कांगे्रस र एमालेहरु माओवादी आन्दोलन सकिएको दावी पछार्दै चियापसलमा खुशी मनाउँछन् । हिजोको एक क्रान्तिकारी आफ्नै आदर्श खुइल्याइएकोमा विजय मनाउँछ ।
हिजोको पार्टी नेताहरुले बनाएका थिएनन्, यो त जनता तथा कार्यकर्ताको सिर्जना थियो । त्यतिबेला प्रचण्डले दारु पिउँदाहुन् कि नपिउँदा हुन् ? तर , कार्यकर्ताले रक्सी खाएर मनपरी गर्नेलाई चोकमा उतार्थे । त्यसैमा आकर्षण थियो र पार्टीको जग पनि त्यही थियो । हिजो माओवादी कार्यकर्तालाई घर जिम्मा लगाएर हप्तौं कतै गए पनि घर को आलमारी सुरक्षित हुन्थ्यो र त्यही विश्वासमा आन्दोलन मौलाउँथ्यो । त्यतिबेला बाबुराम चाहियो कसैले भनेको थिएन, कसैले प्रचण्ड वा किरणलाई सोधेको थिएन । मानिसहरु सरासर क्रान्ति भनेर मर्न तयार हुन्थे । सत्य यही थियो । आज हिजोका नायकहरु आफैं नायकत्वबाट तल ओर्लेका छन्, जो ओर्लेका छैनन्– तिनीहरुसँग राजनीतिलाई निरन्तर धान्ने मेसो छैन । अझ भनौ, ती अर्थिक संकटको गहिरो खाडलमा डुबेका छन् । आन्दोलनमा भातको पनि अर्थ हुने रहेछ, भातयोग्य पैतृक सम्पत्ति वा त्यसको मेसोविनाको राजनीतिले पनि जनतामा विश्वास पैदा नगर्दो रहेछ । माओवादी आन्दोलनमा दुई अतिहरु छन्– एक, भातका लागि जे पनि गर्ने र अर्को, भातको सामान्य व्यवस्था पनि गर्न नसक्ने । यो माओवादी राजनीतिको एउटा अनौठो उल्झन हो । नेताहरु यसलाई सानो देख्छन् तर पार्टी निर्माणको आधार भूततत्व यहींनेर अल्मलिएको छ ।
नेता–नेतामा विभाजनको र डाको मच्चाउन उक्साउनेहरु नै छापामा असल क्रान्तिकारी देखिन्छन् । संगठनमा साँध लाउँछन् र रिपोर्ट गर्छन्– यिनका रिपोर्टले नेताको आँखामा मोतियाविन्दु उम्रिन्छ । ख्वामित भन्ने बानीले नेता बिग्रेको सही हो तर यसमा ख्वामित भन्नेहरु नभएका भए शायद नेताका तन्तुहरु पनि त्यति धेरै उत्तेजित हुँदैनथे । त्यो उत्तेजनामा बाबुराम र प्रचण्डको भन्दा अरुको स्वार्थ बढी र हन्छ ।
यो निरन्तर ताको आन्दोलन हो । यसमा आराम गर्ने छुट सबैलाई छ र हुनुपर्दछ तर आराम पनि गर्ने, सर्वहारा आन्दोलनको उर्दी पनि ओकल्दै बठ्याइँको चर मतामा पुगेर आन्दोलनका नाममा मनग्गे ऐसआरामको बाटो पनि खोज्ने दवै छुटले माओवादी आन्दोलनलाई नै बर्बाद बनाउने बाहेक अरु केही गर्दैन । जसले यो आन्दोलनमा जिन्दगी देखेका छन्, तिनलाई सपना देख्न र जीवनको लगानी गर्न कसैले नरोक । लगानी तिम्रो पनि जरुर छ तर ‘थियो’ भनेर नयाँ लगानीको निषेध बोल्ने हक कसैलाई छैन । त्यो आवश्यक छ भने आन्दोलन छाडेको वा राजीनामा ठोकेको घोषणा गर । गद्धार घोषणा गर्ने कि नगर्ने ? त्यो घर स्याहारि रहेकाको जिम्मा हो ।

http://www.onlinechautari.com बाट साभार 

No comments:

Post a Comment