Monday, July 20, 2015

बाबुराम भट्टराईलाई खुलापत्र- ध्रुवराज अधिकारी

प्रिय कमरेड,


‘नयाँ परिस्थिति, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ शक्ति’ शीर्षकमा तपाईंले बहसका लागि सार्वजनिक गरेका बुँदाहरु अध्ययन गर्ने अवसर पाएँ । सर्वप्रथमतः नेपाली कम्युनिस्ट आन्दोलन, खासगरी माओवादी आन्दोलन दिशाहीन बन्दै गएको सन्दर्भमा यसरी वैचारिक बहसको सुरुआत गरिदिनुभएकोमा यहाँलाई मुरीमुरी धन्यवाद ! किनकि, हरेक सफलता वा असफलतापछि आफूलाई वैचारिक रुपमा पुनःआविष्कार गर्न नसक्ने कुनै पनि आन्दोलनको अस्तित्व त्यति लामो समय टिकिरहन सक्दैन । अनि समग्र र घनिभूत बहस एवम् छलफलको प्रक्रियाबाट नगुज्री त्यस्तो वैचारिक पुनःआविस्कारको कल्पना पनि गर्न सकिन्न ।
dhruba raj adhikari
प्रस्तुत बुँदाहरुमा तपाईंले नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, संगठनिक एवम् कार्यक्रमिक नवनिर्माणका लागि हल गरिनुपर्ने सबैजसो प्रश्नको उठान गर्नुभएको रहेछ । तर, म यो पत्रमा ती सबै बुँदाहरुमध्येको मूल प्रश्नको बारेमा आफ्ना केही मतहरु जाहेर गर्ने अनुमति माग्छु ।
उक्त मूल प्रश्न समाजवादको निर्माणबारे हो । यसअघि रुसमा सन् १९१८ को बोल्सेभिक क्रान्तिपछि र चीनमा सन् १९४९ को नयाँ जनवादी क्रान्तिपछि समाजवाद निर्माणका प्रयास भएका हुन् । तर, अन्ततः ती दुवै प्रयास सफल किन हुन सकेनन् ? र, ती देशमा पुनः पुँजीवादकै पुनःस्थापना किन हुन पुग्यो ? यी बारम्बार उठिरहने यस्ता प्रश्न हुन् जसको जवाफ नदिई कम्युनिस्ट आन्दोलनको वैचारिक नवनिर्माणको थालनीसम्म पनि हुन सक्दैन ।
सर्वप्रथमतः सोभियत संघकै अनुभवको कुरा गरौं । तपाईंलाई थाहै छ, रुसमा समाजवादको निर्माण कसरी गर्ने भन्ने सन्दर्भमा समकालीन बोल्सेभिक पार्टी र जर्मनीकी समाजवादी नेतृ रोजा लग्जेम्बर्गका बीचमा निकै पेचिलो बहस चलेको थियो । बोल्सेभिक पार्टीको मत के थियो भने समाजवादको निर्माणका लागि पुँजीवादको विकास हुनुपर्छ र त्यसका लागि ‘आदिम पुँजीवादी एकत्रीकरण’ आवश्यक हुन्छ । तत्कालीन सोभियत संघको सन्दर्भमा त्यो कृषि क्षेत्रमा पैदा भएको अतिरिक्त मूल्यको दोहन गरेरमात्रै हुन सक्थ्यो । ठीक यहीँनिर रोजा लग्जेम्बर्गको प्रश्न थियो– त्यसो भए पुँजीवादी शोषणदोहन र समाजवाद निर्माणको पहलबीच के नै अन्तर रह्यो र ?
नेपालमा पनि आजकल ‘समाजवादको निर्माणको लागि पुँजीवादको विकास’ भनी भट्याउनु ‘फेसन’ नै बनेको छ । तर, यो प्रस्तावना एउटा अन्तरविरोधी र असफलसिद्ध जडसूत्र हो । यस प्रस्तावनाका असफलताका पछाडि दुईवटा कारण छन् । पहिलो, माक्र्स–एंगेल्सले मानवसमाज विकासका विभिन्न चरण खासगरी आदिम साम्यवादी, दासप्रथात्मक, सामन्ती, पुँजीवादी र समाजवादी एवं साम्यवादी भनेर जसरी चर्चा गर्नुभयो त्यो सार्वभौम अकाट्य सत्य नभई मानव समाजको विकासलाई बुझ्न प्रयोग गर्न सकिने एउटा अवधाराणात्मक रुपरेखा मात्रै थियो । एउटापछि अर्को आउनै पर्ने अवश्यम्भाविताको सिद्धान्तमा कम्तीमा पनि माक्र्स र एंगेल्सजस्ता उत्कृष्ट प्रतिभाहरुले विश्वास गर्ने हुनै सक्थेन । त्यसैले पुँजीवादको विकास गरेर समाजवादमा पुग्ने भन्ने सैद्धान्तिक अवधारणा निकै कमजोर प्रस्तावना हो ।
यसै सन्दर्भमा तपाईंलगायतका नेपालका सुप्रसिद्ध वामपन्थी क्रान्तिकारीहरुले भन्दै आएको के छ भने भारतले र चीनले जुन ढंगको आर्थिक वृद्धि गरेका छन्, त्यो बाटो नेपालले पनि पछ्याउनु पर्छ । त्यसो हुन सके नेपालमा समाजवाद निर्माणको आधार तयार गर्न सकिन्छ । यो तर्क जतिसुकै कर्णप्रिय भए पनि निकै सतही र लोकप्रियतावादी छ । यो अरुले घोडा चढे भनेर आफू धुरी चढ्ने भनेजस्तै हो ।
आज खासगरी भारतमा जुन आर्थिक वृद्धि भइरहेको छ वा पुँजीवादको विकास भइरहेको छ, त्यो देशभित्रको गैरपुँजीवादी उत्पादन सम्बन्धको उपनिवेशीकरण र चरम शोषणदोहनमा आधारित छ । रोजा लग्जेम्बर्गले भनेजस्तै पुँजीवादको ऐतिहासिक चरित्र नै के रहँदै आएको छ भने ठूलो मात्रामा गैरपुँजीवादी एवं अनौपचारिक उत्पादनसम्बन्धको बाहिरी घेराको निर्माण र पुनःनिर्माण नगरी पुँजीवादी भित्रिघेरामा पुँजी एकत्रीकरण वा ‘एकुमुलेसन’ हुनै सक्दैन । त्यसको कारण के भने पुँजीवादी भित्रिघेरामा रहेका श्रमिकको क्रयशक्तिले कहिल्यै उत्पादित वस्तु खरिद गर्नै सक्दैन र सधैं अतिउत्पादनको स्थिति रहिरहेको हुन्छ । यसकारण पुँजीवादी व्यवस्था एउटा यस्तो व्यवस्था हो जसले आफ्नो अस्तित्व रक्षा र पुँजी एकत्रीकरणको बढावा दिनका लागि निरन्तर गैरपुँजीवादी उत्पादन सम्बन्धको सिर्जना गरिरहनुपर्छ । साथै उक्त गैरपुँजीवादी क्षेत्रको उत्पादकत्व नष्ट गरिरहनुपर्छ । आज भारत र चीनको तीव्र आर्थिक वृद्धि त्यही गैरपुँजीवादी क्षेत्र (जसको तुलनमा पुँजीवादी क्षेत्र समर्ग अर्थतन्त्रमा एउटा आइसबर्गको टुप्पोजस्तो मात्रै हो) को दोहनका कारण सम्भव हुन सकेको हो ।
यहाँनिर के तर्क हुनसक्छ भने उक्त गैरपुँजीवादी क्षेत्र सामन्ती उत्पादनसम्बन्धको रहलपहल मात्र हो जुन कालान्तरमा सजिलै गायव हुने छ । तर तथ्यांकहरुले यस्तो दाबीको खण्डन गर्दछन् । उक्त गैरपुँजीवादी क्षेत्र (जसमा अनौपचारिक क्षेत्र पनि पर्दछ) प्रतिरोधात्मक ढंगले आइरहेको छ, अलप हुन अस्वीकार गरिरहेको छ र हराउँदै जानुको साटो पुनः उत्पादन भइरहेको छ । गाउँको त कुरै छाडौं आज सहरमै पनि अनौपचारिक श्रमक्षेत्रको किन डरलाग्दो ढंगले विस्तार हुँदै गइरहेको छ? त्यो अरु कुनै कारणले नभई पुँजीवादी भित्री वा औपचारिक घेरामा पुँजीको एकत्रीकरणलाई बढवा दिनका लागि वा पुँजीवादकै अस्तित्वका लागि हो । उक्त गैरपुँजीवादी क्षेत्र वा बाहिरीघेरा पुँजीवादी प्रणालीकै तर्कसंगत परिणति हो । गैरपुँजीवादी बाहिरीघेरा बिना पुँजीवादी भित्रिघेराको अस्तित्वको कल्पनासम्म पनि गर्न सकिन्न ।
यदि यसो हो भने सबै अर्थतन्त्रलाई पुँजीवादीकरण गरेर पुँजीवादको अन्त्य किन नगर्ने भन्ने तर्क आउन सक्छ । तर, यस्तो पहिलो त पुँजी एकत्रीकरणको नियमअनुसार सम्भव छैन भने अर्कोतर्फ यसो गर्न खोज्नु नैतिक रुपमा पनि निकै समस्याग्रस्त छ । यसो भन्नु भनेको सबभन्दा पहिले म बलपूर्वक सबैलाई सडकछाप बनाउँछु अनि तिमी सडकछापले पुँजीवादलाई बलपूर्वक फ्याँकेर समाजवादी क्रान्ति ल्याउनु भनेजस्तै बहुलठ्ठीपूर्ण तर्क हुनजान्छ । त्यसकारण, पुँजीवादको विकास गरेर समाजवादको निर्माण हुनसक्दैन । रोजा लग्जेम्बर्गको तर्क के थियो भने कि त हामी समाजवादमा पुग्ने छौं, नभए बर्बरतामा । पुँजीवादको विकास गरेर समाजवादको निर्माण गर्न खोज्दा तत्कालीन सोभियत संघ बर्बरतातर्फ हानियोे । अरुले पनि बाटो पछ्याए । पुरानो सोभियतकालीन जडसूत्रलाई रटेर कतै कमरेडहरुले नचाहेरै भए पनि नेपाललाई त्यही बाटोमा हिँडाउनु हुने त होइन? प्रश्न निकै गम्भीर छ ।
baburam-bhattarai
सोभियत संघको समाजवाद निर्माणको समस्याको समाधानका लागि माओले चीनमा पहल गर्नुभएको हो । तर उहाँ पनि सफल हुन सक्नुभएन । तैपनि उहाँले उक्त सन्दर्भमा गाउँ र सहर, ठूला, साना र मझौला उद्योगबीचको सन्तुलन, समाजवादको आफ्नै उत्पादनको प्रविधि अथवा अन्तरकालिक प्रविधि आदि विषयमा जुन बहस उठाउनुभएको थियो ती समाजवाद निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छन् । सत्य कुरा के हो भने समाजवादी प्रविधिबिना समाजवाद निर्माण एउटा कोरा कल्पना मात्रै हो । र, प्रविधिको चरित्र पनि राजनीतिक हुन्छ । पुँजीको बेलगाम एकत्रीकरणको प्राविधिक विधिबाट समाजवाद निर्माण गर्न खोज्नु समुद्रतिरको बाटो लागेर सगरमाथा चढ्छु भनेजस्तै हो ।
यो सबैका पछाडिको दार्शनिक जरो बीसौं शताब्दीमा माक्र्सवादको बुझाइमा रहेको समस्यामा छ । त्यो भनेको के भने बीसौं शताब्दीमा माक्र्सवादको व्याख्या मूलतः ‘उत्पादक शक्तिको विकासको सिद्धान्त’को रुपमा भयो । यदि हामीले आजको एक्काइसौं शताब्दीमा माक्र्सवादको व्याख्या एवं समृद्धीकरण उत्पादक शक्तिको विकासको सिद्धान्त होइन शोषणको सिद्धान्त एवं त्यसबाट मुक्तिको दर्शनका रुपमा गर्न सकेनौं भने हामी कहिल्यै समाजवादमा पुग्ने छैनौं । कम्तीमा पनि म समाजवाद अवश्यम्भावी छ भन्नेमा विश्वास गर्दिन । रोजाले भने झैं दुइटै सम्भवना छन्– समाजवाद र बर्बरता । कतातिरको बाटो सोझ्याउने आज तपाईं हामीकै हातमा छ । त्यसैले कमरेडले आफ्नो अडानमाथि पुनःविचार गर्नुुहुने छ भन्ने आशा राखेको छु । बुझ्नेलाई इशारै काफी !
उही तपाईंको
ध्रुवराज अधिकारी
कोब्रेट नेशनल पार्क, उत्तराखण्ड

http://kathmandutoday.com बाट साभार 

No comments:

Post a Comment