|
नेपाली समाज’ भनेर थोक भाषामा सिंगो नेपाली समाज बुझिँदैन । शासक खलकका सहरीया सम्भ्रान्तहरुको एउटा समाज छ । क्रान्तिकारी पार्टी पंक्तिमा आबद्ध भएकाहरु, पार्टीप्रति शुभचिन्ता राख्नेहरु, जनयुद्धदेखि जनआन्दोलनसम्म लडेकाहरुको अर्को पंक्ति छ । दूरदराजसम्म गाउँ–देहातमा बस्ने मौन मानिसहरुको विशाल बहुसंख्या छ, जो यस घडीमा के सोच्दा हुन् नेताहरु र मिडिया कसैलाई थाहा छैन । जनयुद्धकालमा समाजका विपन्न, निमुखा, बञ्चित, बहिष्कृत मानिसहरु माओवादी आन्दोलनको झण्डामुनि गतिमान् भएका थिए । तिनका आफ्नै आकांक्षा थिए, तिनका आफ्नै सपना थिए । तिनका चित्तमा उत्पीडनबाट बनेका घाउहरु थिए । तिनै घाउको उपचार गराउन ती जीवन–मरणको जनयुद्धमा डटेका थिए । आज ती कहाँ कुन हालतमा, कुन मनोदशामा छन् ?
माओवादी १२ बुँदे सहमति हुँदै जब रोल्पाबाट काठमाडौं आयो, समाजको विशाल गरिखाने जनगणसँग उसको सम्बन्ध टुट्यो । अरु त अरु, माओवादी नेतृत्वको आफ्नो कार्यकर्ता पंक्तिसँगको सम्बन्ध पनि टुट्यो । केन्द्रसँग जिल्लाको सम्बन्ध भएन, जिल्लासँग गाउँतहको सम्बन्ध रहेन । गाउँतहका राजनीतिक कार्यकर्ताको गाउँका जनसाधारणसँग सम्बन्ध भएन । माओवादी पार्टीको शक्तिको मुहान जनताको गोलो थियो । त्यो गोलोबाट माओवादी विमुख भयो । र, जनताविमुख माओवादीमा अनेकथरीका असङ्गति, ह्रास र ओरालीहरु सुरु भए । आज ती झ्याङ्गिएका छन् ।
अचेल प्रत्यक्ष मिडिया र साइबर जगत्बाट संविधानबारे जे जस्ता मतहरु प्रकट भइरहेका छन्, तिनमा सामान्य जनताको अभिमतको अभिव्यक्ति म ज्यादै न्यून देख्छु । जनता यी मिडियाबाट बहिष्कृत भएका छन् । सहरका सुकिला मुकिलाहरु, जो मुद्रण मिडियामा छन्, सामाजिक सञ्जालमा पनि तिनै छन् । ती नेपालका अल्पसंख्यक हुन् । ती सत्ताको वृत्त वरिपरि घुम्ने र सकेसम्म यथास्थितिलाई कायम राख्न खोज्ने तत्वहरु हुन् । संविधानमा आम मानिसको भाग्य र भविष्य लेखिनुपर्ने कुरामा तिनलाई कुनै चासो छैन । चासो त बरु त्यसको उल्टो छ ।
अहिले प्रक्रियाबाट संविधान जारी गर्ने कुरा कांग्रेस एमालेले गरिरहेका छन् । उनीहरुले चुनावी परिणामलाई ब्रह्मास्त्र ठानेका छन् । हो, चुनावी परिणामका दृष्टिले सभामा कांग्रेस–एमालेको संख्या ठूलो छ । तर चुनावी परिणामको गणितले सबै कुराको निर्धारण गर्दैन । त्यसले जनमतको त प्रतिनिधित्व गर्ला तर जनादेशको भने प्रतिनिधित्व गर्छ नै भन्ने जरुरी छैन । चुनावको नेपथ्यमा अनेक कुराको खेल हुनाले गर्दा यसो भनिएको हो । ०६२/०६३ मा अभिव्यक्त आन्दोलनको आकांक्षा निर्वाचन परिणाममा अभिव्यक्त भएको देखिएन, भएन । कारणहरु बुझिएकै छन् । म यहाँ तिनको चर्चा गर्दिनँ ।
प्रगतिशील परिवर्तनकाहरु मुद्दाहरु उठाएको मुख्यतः नेकपा (माओवादी)ले हो । माओवादीले नेपालको इतिहासमा पहिलोपटक बन्दुकमाथि एकाधिकार कायम गरेको राज्यलाई बन्दुकैले चुनौती दियो । चुनौतीको त्यो आवजले उत्पीििडत समाजलाई ब्यूँझायो । ब्यूँझिएको भनिने त्यो समाज अहिले कहाँ छ ? राजनीतिक कृयाकलापका दृ्श्यहरुमा त्यो कतै देखिंँदैन । मैले माथि नै भनिसकेँ, अहिले माओवादीको निरीह दशाको कारण यही हो । माओवादीले जनतालाई बिस्र्यो, जनताले माओवादी त्यागिदियो । र, माओवादीको शक्तिको मुहान सुक्यो । खोलाको मुहान सुकेपछि तल खोलो उजाड हुन्छ । खाल्डाखुल्डीका पानीका रहेमा लेउ लाग्छ । र, फोहोर जम्छ । अहिले माओवादीमा त्यही भएको छ । यो फोहोर सफा गर्ने जुक्ती मुहानको शरण पर्नु र मुहानबाट तल प्रवाह उत्पन्न गर्नु हो । जनता साथमा हुँदा हुन त त्यत्रो क्रान्तिको कर्ता, त्यत्रात्यत्रा एजेण्डाहरुको संवाहक माओवादीको यो गति हुने थिएन । चुनावी नतिजामा पछि परेपनि उत्रो फरक पर्ने थिएन ।
माओवादी नेतृत्व सहरमा छ । ऊ संविधानसभाको वृत्तमा घुमिरहेको छ । ऊ सत्ताको वृत्तमा घुमिरहेको छ । सिंहदरबार वरिपरि घुमिरहेको छ । मलाई माओवादी बनाउने, मेरो पहिचानको निर्माण गर्ने, मेरो मुद्दा उठाउने मान्छे, गाउँ–देहातामा छ भन्ने कुराको माओवादी नेतृत्वलाई हेक्कै नहोला त कसरी भनुँ, तर उनीहरुमा त्यसको धेरै चिन्ता देखिँदैन । नेपाली राजनीति प्रतिक्रान्तितर्फ ढल्किनुको पृष्ठभूमिमा रहेको मूल कारण यही हो । हो, निःसन्देह देश प्रतिक्रान्तितर्फ ओरालो लागेको छ । राजनीतिको रथ ओरालो लागिसक्यो, अब यसलाई रोक्न सकिएला भन्ने मलाई लाग्दैन । इतिहासको रथ जब डिलबाट ओरालो लाग्छ, फेदीमा बज्रिनुअघि त्यसलाई कुनै शक्तिले रोक्न सक्दैन । अब प्रतिक्रान्ति त टुंगोमा पुग्ने नै छ । तथापि यो प्रक्रियाको प्रतिकार गरिनुपर्छ । यो प्रतिकार यसप्रति जनताको असहमतिको अभिव्यक्ति हो । यो जनता जिउँदो छ भन्ने कुराको सबुत पनि हो । यो प्रतिकारको अगुवाइ गर्ने परिवर्तनका मुद्दालाई जोगाउने र यी मुद्दाका वरिपरि व्यापक जनतालाई गोलबन्द गर्ने मूल दायित्व माओवादीकै हो ।
निर्वाचनको परिणाममा आफ्नो गणीतीय संख्या खुम्चिएपछि माओवादीको प्राथमिकता संविधानसभा होइन गाउँबस्ती हुनुपथ्र्यो । त्यति शक्तिको मुहान सुक्दै थियो । संविधानसभामा प्रतिकात्मक उपस्थिति दिए पुग्थ्यो । सभाको दायित्व कनिष्ट नेताहरुलाई दिन सकिन्थ्यो । प्रचण्ड र बाबुरामहरु त गाउँगाउँ जानुपथ्र्यो । तर गएनन् । माओवादीको एक वर्षको समय नयाँ संविधानसभा वरिपरि घुम्दाघुम्दै, झगडा गर्दागर्दै, घुर्की लाउँदा लाउँदै र माग्दा माग्दै बित्यो । एक समय थियो, जब माओवादीले दिने ठाउँमा थियो । अहिले माओवादी माग्ने ठाउँमा झरेको छ । आप्mनो गुमेको शक्ति र शानलाई पुनःजीवित तुल्याउने उपाय शक्तिको मुहानतिर फर्किनु हो । जनतामा जानु हो ।
माओवादी नेतृत्वको जनतासँगाको नाताको कडी टुट्नुका पछाडि केही कारण छन् । बलिदानीपूर्ण संघर्षपछि जनतामा ठूल्ठूला आकांक्षाहरु जागेर आउँछन् । यो जितेको क्रान्ति थिएन । क्रान्ति जितिएको भए राज्यमा उपलव्ध स्रोतहरुलाई जनतातिर सोझ्याउन सकिन्थ्यो होला । जनताका केही पीरमर्का घटाउन सकिन्थ्यो होला । क्रान्ति सम्झौतामा टुङ्गियो । त्यसकारण माओवादीसँग त्यो सामथ्र्य थिएन । तैपनि केही न केही त गर्न सकिन्थ्यो होला । हो, माओवादीका दुईदुई जना प्रधानमन्त्री हुँदाखेरी सामान्य जनताको दैनिक जीवनमा प्रभाव पार्ने सुधार–राहतका केही न केही काम गर्न अवश्य सकिन्थ्यो । तर त्यतातिर चेष्टै गरिएन । खालि संरचनागत परिवर्तनतर्फ ध्यान दिइयो । तर त्यो ध्यान फलदायी भएन । जनतासँग माछापानीको सम्बन्ध कायम राख्न, जनताको आशा र विश्वासलाई ओइलाउन नदिन र जनतालाई हर्दम् गतिमान राख्न तिनले आफ्नो दैनिक जीवनमा अनुभूत गर्ने गरी आफ्नो सामथ्र्यको सीमाभित्रबाट केही ने केही गर्नैपथ्र्यो । आदर्शले जनताको पेट भर्दैन भन्ने कुरा बुझ्नुपथ्र्यो । तर ख्याल गरिएन । हो, कुरो यहीँनेर गडबड भो । र, मुहान सुक्यो ।
अहिले विशाल माओवादी पार्टी छिन्नभिन्न छ । केन्द्र जिल्लासँग, जिल्ला गाउँसँग जोडिएको छैन । नेता कार्यकतासँग, कार्यकर्ता जनतासँग जोडिएको छैन । यो पार्टी छरपस्ट भएको रोडाजस्तो छ । एउटा रोडालाई अर्कोसँग जोड्ने कुनै तन्तु देखिँदैन । विचारधारा एउटा तन्तु हो । संगठन अर्को तन्तु हो । प्रशिक्षण अर्को तन्तु हो । जिम्मेवारीको बाँडफाँड अर्को तन्तु हो । यी सबै तन्तु छिनेका छन् । माओवादी समाजभरि छ । तर संरचनामा आबद्ध छैन । माओवादीसँग परिवर्तनको एजेण्डा छ तर जनता उसँग छैनन् ।
अहिले जनता चुपचाप छन् । गाली गर्दै भए पनि तिनले माओवादी नेतृत्वलाई सम्झिरहेका होलान् । उसका क्रियाकलाप, उसको सामाजिक सम्पर्क र उसको जीवनशैली नियालिरहेका होलान् । जनताको त्यो सम्झना माओवादीको निधि हो । माओवादीको शक्तिको मुहान हिजो पनि त्यही थियो, भोलि पनि त्यही हुनेछ । मुहानको हेक्का राखे माओवादी रहन्छ, हेक्का नराखे माओवादी सकिन्छ ।
साभार रातोपाटी
No comments:
Post a Comment