पदम खड्का |
इञ्जिनयरिङ अध्ययन संस्थानका तर्फबाट घर निरीक्षण गरेर सल्लाह दिने काममा हामी पनि लागिरहेका छौं। चिनेजानेका, आफन्त र टोलवासीको अनुरोधमा पनि धेरै घरको अवस्था हेर्ने मौका मिलिरहेकै छ।
खासै क्षति नभएका वा सामान्य मर्मत गरेर पूर्ण सुरक्षीत हुने घरका धनी र डेरावाल अनावश्यक त्रास लिइरहेका छन्। खुला चौर खेतबारी, स्कूल वा सडकबाट घरभित्र छिरे पनि ढुक्कसँग निदाउन सकेका छैनन्। ‘बनको बाघले खावस नखाओस मनको बाघले खाने’ अवस्था छ।
‘भूकम्पले गर्नुजति क्षति गरिसक्यो। अब यो भन्दा बढी क्षति हुनेवाला छैन। त्यसैले घर भत्केको छैन सामान्य टुटफुट हेरेर चिन्ता नलिनुस्। निर्धक्कसँग निदाउनुस्,’ हामी इञ्जिनियरले सुझाव दिनु परिरहेको छ।
म पुगेका मध्ये घरबेटी, डेरावाल र छिमेकीले ठूलै क्षति भयो भनि ठानेका काठमाडौं, ललितपुर, भक्तपुर नगरभित्रका धेरैजसो घर केहि पनि नगरि बस्न सकिने अवस्थामा छन्।
सामान्य क्षति भएकै घरको पनि सामान्य मर्मत नै काफि हुने अवस्था छ। तैपनि मानिसहरु अनावश्यक त्रास पालेर बसेका छन्। सबैभन्दा पहिला यो डरको मनोवैज्ञानिक उपचार जरूरी छ।
उपत्यकाका पिलर सिष्टमको घर हेर्दा मैले के देखे?
१.चर्केको गारो र प्लास्टर
अवस्था: म इञ्जिनियरिङमा स्नातकोत्तर गरेको मान्छे। मेरै घरको गारो अलिअलि क्र्याक छ। त्यसको मैले किञ्चित पनि वास्ता गरेको छैन।
म निरीक्षणमा गएको धेरै घरहरुमा पनि गारो वा प्लास्टरमा देखिएको सामान्य क्र्याकलाई मानिसहरु पहाड बनाएर बसेका छन्। मान्छेको सातो गएको छ। यस्ता सामान्य क्र्याकको कारण भैंचालो नहुन पनि सक्छ। भैंचालोपछि हामी घरको जगदेखि ट्याङ्कीसम्म माइक्रोस्कोप लगाएजसरि हेरिरहेका छौं। त्यसले अघिपछि याद नगरेको र अनदेखा गरेका टुटफुट, गारोका चर, चर्केको प्लास्टर देखिन्छ नै। अनि हामीलाई त्यहीँ भयाबह जस्तो लाग्छ।
चार इञ्चको पार्टेसन गारो लगाउँदा भएको सामान्य त्रूटी वा मसला राम्ररी नखाँदेको कारणले पनि चर्केको हुनसक्छ। चार इन्च गारो फुटाएर कन्सिल वायरिङ गरेर राखिएको पोलिथिन पाइपले पनि प्लास्टर कमजोर बनाउँछ। प्लास्टरको टिकाउ सिमेन्ट, बालुवाको गुणस्तर, मात्रा र क्युरिङ (पानी हाल्ने)मा भर पर्छ।
उपचार: गारोको क्र्याक वा उप्किएको प्लस्टरले मनमा चिरा परिसकेको छ भने मर्मत गरेर आश्वस्त हुन सकिन्छ। यस्ता क्र्याकले घर असुरक्षित हुने हैन। त्यसैले अहिले नै हतारहतार बालुवा, सिमेन्टको जोहो गरेर डकर्मी खोज्न कुद्नुपरेन। फुर्सदमा टालटुल गरे हुन्छ।
चर्केको ठाउँबाट दुई इन्च तल र माथिबाट वारपार फुटाउने, त्यो ठाउँ पानीले पखाल्ने। सानो किलाले बालुवा चाल्ने जाली ठोकेर अड्याउने। राम्रो मसला बनाएर प्लास्टर गर्ने। केहि दिन पानी हाल्ने । सेट भइसकेपछि रङ लगाएर टल्काएपछि जस्ताको तस्तै हुन्छ।
२. बिम र पिलरको सामान्य क्र्याकबाट
अवस्था: पिलर र बिममा डण्डी बाँध्ने क्रममा भएको कमजोरीले सामान्य क्र्याक आएको हुनसक्छ। यो पनि भैंचालो अघिकै धेरै छ। पहिला ख्याल नगरेको क्र्याक अहिले देखेर आत्तिएको अवस्था छ।
डण्डी बाँध्ने क्रममा पिलर वा बिमको चुरीको दूरी, चुरीको टुप्पाको एङ्गल, डण्डीको क्र्याङ वा कटपिसमा सामान्य हेक्का नपुगेका कारण भैंचालो अघि वा पछि क्र्याक देखिएको हुनसक्छ। फर्मा राख्दा डण्डीभन्दा कम्तीमा एक इन्च बाहिर नढाकेको कारणले पनि यो क्र्याक देखिन्छ।
यो सामान्य क्रयाक भनेको पिलर वा बिमको डण्डीभन्दा बाहिर देखिएको हुन्छ। पिलर वा बिमको वारपार क्रयाक छैन भने यसलाइ मर्मत गर्न कुनै हतार गर्नुपर्दैन।
उपचार: चर्केको जति भाग फुटाउने। बालुवा, रोडा र सिमेन्टको मसला बनाएर ढलान गर्ने। कम्तीमा २८ दिन फर्मा राख्ने। मजबुतीका लागि पानी हालेर भिजाइरहनु पनि उत्तिकै जरुरी छ।
३.पिलरको फेदमा क्र्याक
अवस्था: कतिपय घरमा पिलरको फेदको ढलान र प्लास्टर फ्याँकिएर डण्डी देखिएका छ्न्। देखिएका डण्डी बांगिएको छैन, भित्रको मसला इन्ट्याक्ट छ र पिलरको एक साइडमा मात्र उप्किएको छ भने क्रयाक सजिलै मर्मत गर्न सकिन्छ।
उपचार: माथि भनेजस्तै यस्तो पिलरको पिन बिग्रेको जति भाग उप्क्काउ। अनि राम्रो ढलान मसला बनाएर हालौं। मसलालाई अझ मजबुत बनाउने केमिकलहरू पनि बजारमा पाइन्छ। यो ढलानलाई फर्माले ढाकेर झण्डैं चार हप्तासम्म पानी हाल्नुपर्छ। घको धेरैवटा पिलरमा यस्तो समस्या आएको छ भने मर्मत गरेर मात्र बस्नु राम्रो हुन्छ।
४. पिलर र बिम गासिको ठाउँ खोक्रो
अवस्था: उदाहरणको लागि नौं वाइ नौं इन्चको पिलर र नौं वाइ नौं इन्चकै बीम छ। डण्डी बान्ने बेलामा पिलर र बिमको क्रसमा कम्तिमा सोह्र वटा डण्डी क्रस पर्छ। अरू ढलानभन्दा त्यहाँ मसला खाद्न निकै ध्यान पुर्याउनुपर्छ। त्यस्तो जोर्नीमा बासले राम्ररी खाँद्ने वा भाइब्रेटर लगाउनुपर्ने हुन्छ। होस नपुर्याएको कारणले भित्र खोक्रो भयो भने संरचना कमजोर हुन्छ। भैंचालोले धक्का दिँदा त्यहीँ भागमा क्र्याक आएको पनि देखियो। यसबाट घर बनाउने जिम्मा लिएर बसेका परिवारका सदस्य सबैभन्दा खिन्न र सबैजना भयभित देखिन्छन्।
उपचार: यो पनि उपचार नै नभएको रोग हैन। यस्ता गाँसको दायाँबायाँका बिममा टेका दिएर मर्मत गर्न सकिन्छ। यसको पनि एउटै शर्त पिलर र बिमको डन्डी भाँचिएको वा पर्लक्क बटारिएको भने हुनुहुँदैन।
मसला नखाँदिएको भाग जति पत्ता लगाएर फुटाउन सकिन्छ। अनि भक्तपुरको जुजु धौं जस्तो सबै मात्रा मिलेको लटक्क परेको मसला खाद्न सकिन्छ। डण्डीलाई ढलानले कम्तीमा एक इन्च ढाक्नुपर्छ। यो क्रसको ढलान चार हप्ताजित टेका राखेर पानी दिइरहनुपर्छ। नयाँ जत्तिकै बलियो हुन्छ।
५. पिलरको डण्डी बटारिएको
अवस्था: कतिपय चारपाँच तले घरको माथिल्लो तला पुरापूर सहिसलामत छन्। तर भूइँतलामा पिलरका डण्डी बटारिएका छन्। घरको अरु अवस्था ठीकठाक छ भने पनि मर्मत नगरि यी घरमा बस्नुहुन्न।
पिलर घरको खुट्टा हो। यसले बोक्न सक्ने भारी भन्दा घरको तौल कयौं गुना बढी भएकाले यो समस्या आएको हो। मानौं त्यस्तो घर पाँच तले छ र पिलर ‘नौं बाइ नौं इन्च’ को छ भने त्यसलाई बढाउन सकिन्छ।
उपचार: इन्जिनियरिङ भाषामा हामी यसलाई ‘रेट्रोफिटिङ’ भन्छौं। यसमा हात्तिपाइलेदेखि नै पिलरको क्षमता बढाउन सकिन्छ। अघिकै उदाहरणको कुरा गरौं घरलाई जगैदिख टेका दिएर आवाश्यकता अनुसार पुनर्निर्माण गर्न सकिन्छ। अघिकै उदाहरण लिऊ न त्यो पिलरलाई डण्डी रिङ थपेर आवाश्कयता अनुसार ९ वाइ १२ वा १२ वाइ १२ इन्च बनाउन सकिन्छ।
अन्त्यमा उसै आयु सकिएका, धेरै पूराना वा इटामाटोबाट बनेको बाहेक उपत्यकाका ९९ प्रतिशत घर सुरक्षीत छन्। आफ्नो जीवनभरिको कमाइको लगानी र भावना जोडिएको घरसँग नडराउनुस्।
कुनै क्र्याकले अझैपनि तँपाइलाई अत्ताइरहेको छ भने प्राविधिक सल्लाह लिनहोस्। मर्मत गर्नुहोस्। ढुक्क हुनस् तँपाईँको घर पहिला जस्तै बलियो हुन्छ।
(इन्जिनियरिङ अध्ययन संस्थानका प्रध्यापक खड्कासँग कुराकानीमा आधारित)
No comments:
Post a Comment