Thursday, May 21, 2015

मधेशका कुरा विनम्रतापूर्वक सुन्ने हिम्मत गर ! (सरिता गिरीको ट्विटर प्रसंग) - आहुति


मधेशका कुरा विनम्रतापूर्वक सुन्ने हिम्मत गर ! (सरिता गिरीको ट्विटर प्रसंग)
सरिता गिरिले मे १६ मा लेखेकी थिइन् : भुईंचालोलाई आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ ।
म यसबारे आफ्ना केही कुरा राख्छु ।
विनम्रतापूर्वक सुन, सभ्य शैलीमा बहस गर
पहाडिया शासक मनोविज्ञानले तराई मधेशमाथि उत्पीडन गरेको हो कि होइन ? हो भने तराई वा मधेशले बोल्ने कुनै पनि कुरा, आफ्नो हितका लागि बोल्ने कुरा पहाडको मानिसले सबैभन्दा पहिला विनम्रतापूर्वक सुन्न सक्नुपर्छ । बेठीकै बोलेको छ भने पनि पहिला विनम्रतापूर्वक सुन्नु त पर्‍यो । त्यसपछि बेठीक बोलेको छ भने उसलाई तर्क, तथ्य र बहसद्वारा सम्झाउनुपर्‍यो । उसको चित्त बुझाउन सक्नुपर्‍यो ।
नेपालमा त कस्तो भयो भने आफ्नो हितका लागि बोल्यो, माग गर्‍यो भने शासक (उत्पीडक)हरु, जसले आफूलाई लोकतान्त्रिक समेत भन्छन्, उनीहरु रिसाउने, उत्तेजित हुने गरिरहेका छन् । यो कुरा गलत छ । यो मानसिकता गलत छ । महिलाका कुरा पुरुषले, मधेशीका कुरा पहाडियाले, दलितका कुरा गैरदलितले, जनजातिका कुरा आर्य–खसले, कर्णालीपारिका जनताको कुरा कर्णाली वारिले, समग्रमा भन्दा इतिहासदेखि उत्पीडक रहँदै आएकाले उत्पीडितको कुरा विनम्रतापूर्वक सुन्ने संस्कृतिबिनाको न लोकतन्त्र हुन्छ, नत लोकतान्त्रिक मानिस नै ।
चितवनका रैथानेका पीडालाई बुझ
नेपालमा राजा महेन्द्रले शासन सुरु गरेपछि नियोजित रुपमा तराई क्षेत्रमा पहाडको पुनर्वासको नाममा जंगल फँडानी गरेर बसोबास गराउने काम गरे । तराई मधेशमाथिको अविश्वासले गर्दा त्यसो गरिएको थियो । अर्कोचाहिँ उनीहरुमाथि आर्य–खस समुदायको प्रभुत्व विस्तार गर्ने योजनाअन्तर्गत भएको थियो ।
त्यतिखेर मधेशीहरुले बोल्न सकेनन् भन्दैमा अहिले पनि बोल्नु हुँदैन भन्नु गलत हुन्छ । त्यतिबेला पो उनीहरु अहिले झैं सचेत नभएकोले बोल्न सकेनन्, अहिले सक्छन् । त्यसैले बोलिरहेका छन् ।
म एउटा सानो उदाहरण दिन्छु ।

चितवन जिल्लामा हजारौं वर्षदेखि बस्दै आएकाहरु को थिए ? थारु, बोटे र चेपाङ । यी जातिहरु अरु जाति गएर बस्नुभन्दा पहिलेका चितवनका आदिवासी हुन् । यो त सबलाई थाहा छ ।
यी तीन जातिको हितलाई वास्ता नगरीकन चितवनमा जब जंगल फँडानी गरेर गोरखा, धादिङ लगायतका जिल्ला र बर्माबाट आएकाहरुलाई समेत बस्ती बसाइयो, त्यसपछि चितवनका ती रैथानेहरुको हालत के भएको छ ?
राज्यले एक ठाउँका मानिसलाई अर्को ठाउँमा संगठित रुपमा बसाउनुपूर्व त्यो ठाउँका मानिसलाई असर गर्छ कि गर्दैन भन्ने ख्याल नगर्ने हो भने रैथानेहरुको विजोग हुने रहेछ । चितवनलाई मात्र हेरे पनि यो कुरा थाहा हुन्छ । मधेश यही कारणले झस्किनुलाई अन्यथा सोच्नु हुँदैन ।
भूकम्पले गर्दा १४–१५ वटा जिल्लाका दर्जनौं बस्ती सार्नुपर्ने अवस्थामा पुगेको छ । उनीहरुलाई पहिलो कुरा पहाडकै खाली टारहरुमा सार्न सकिन्छ । पहाडमा ठाउँ नपाइए भित्री मधेशका खाली ठाउँमा सार्न सकिन्छ । सोझै मधेशको मैदानमा लगेर बस्ती बसाउने हो भने त्यो सही हुन सक्दैन ।
कतिपयलाई लागेको छ– आखिर नेपालै त हो, जहाँ लगेर बस्ती बसाए पनि के फरक पर्छ ? यो तर्कलाई पूरै गलत भन्न सकिँदैन तर आफ्नै देशभित्र पनि त विभिन्न समुदाय राजनीतिक एकाइका रुपमा संगठित भएर बसेका छन् भन्ने कुरा पनि बिर्सनु भएन नि ।
तर स्वाभाविक रुपमा हुने व्यक्तिगत बसाइँसराइलाई चाहिँ अस्वाभाविक रुपमा लिनु हुँदैन । पहाडको मान्छे तराईमा गएर मधेशकै जनतासँग त जग्गा लिएरै बसिरहेको छ । काठमाडौंमा जग्गा लिने मधेशीहरुले नेवारसँगै त जग्गा किनिरहेका छन् । नेवारले खुसीसाथ बेचेको हो । यसमा के समस्या ? त्यसकारण स्वाभाविक रुपमा व्यक्तिगत ढंगले हुने बसाइँसराइलाई कसैले विरोध गर्न मिल्दैन । कसैले विरोध गर्‍यो भने त्यो उसको व्यक्तिगत कुरा मात्र हुनेछ ।
व्यक्तिगत ढंगले स्वाभाविक रुपमा हुने बसाइँसराइले गर्दा कालान्तरमा ठूलठूला उथलपुथलकारी सामाजिक परिवर्तन पनि भएका छन् । त्यो हुनु बेठिक होइन । कतिपय अवस्थामा स्वाभाविक रुपमा हुने बसाइँसराइबाट एउटा जाति अर्को जातिमा रुपान्तरण पनि हुने गरेका छन् । त्यो पनि अन्यथा लिनुपर्ने विषय होइन । यसमा के छ समस्या ? यसले मानवजातिको प्रगति नै हुन्छ । तर, खास समुदायको राजनीतिक हितमा नै असर पर्नेगरी राज्यले संगठित रुपमा गर्ने बसाइँसराइ सही हुन सक्दैन ।
मानौं, भोलि सिङ्गै पहाडमा उथलपुथल भयो अथवा सिङ्गै तराईमा उथलपुथल भयो भने त्यस्तो बेला सोच्न सकिन्छ । त्यो भनेको महाविनाशको समय हुनसक्छ । यस्तो बेला कुनै जाति, समुदायलाई राजनीतिले छुन सक्दैन । तर, अहिले यस्तो बेला होइन ।
सुगौली सन्धि बिर्सेर बुझ्न सकिँदैन मधेशलाई
भारतले जबर्जस्ती भुटानी शरणार्थीहरु नेपालभित्र पठाइदियो । नेपालको पहाडमा बस्नेहरुलाई कतै पनि चित्त दुखेन । भुटानी शरणार्थी आउनु नेपालका कुनै एक जिल्लाको मान्छे अर्को जिल्लामा बसाइँ सरेजस्तै स्वाभाविक रुपमा लिइयो ।
भारतको बिहारबाट त्यति नै संख्यामा मान्छेहरु झापामा आएर बसेको भए कस्तो प्रतिक्रिया हुन्थ्यो ? पञ्चायतले निर्माण गरेको पहाडिया राष्ट्रवादले निर्माण गरिदिएको मनोविज्ञानले गर्दा पहाडीसँग अनुहार मिल्नेलाई मात्र नेपाली ठान्ने मनोविज्ञान छ ।
दार्जीलिङतिरका पहाडिया मूलका घागडान व्यक्तिहरुले पहिले पनि नेपालको नागरिकता लिएका थिए, अहिले पनि लिँदैछन् यसमा कसैलाई चासो छैन । तर, भारतमा पनि जग्गा भएको, नेपालमा पनि जग्गा भएको मान्छेलाई मात्रै भारतीय देख्ने स्थिति बनेको छ ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने सुगौली सन्धिले गर्दा मधेशीहरुको जग्गा नेपालतिर पनि पर्न गयो, भारततिर पनि पर्न गयो । यो त उसको इच्छाले भएको घटना थिएन । दुई राज्यका बीचमा सन्धि हुँदा मधेशी जनताको जगा दुई देशमा पर्न गएको हो । यस्तो ऐतिहासिकता पूरै ओझेलमा परेको छ । अन्तर्राष्ट्रिय सन्धिअनुसार युद्धपछि भएको सीमाङ्कनबाट कुनै पनि देशमा परेको नागरिकले आफ्नो नयाँ देश रोज्न पाउँछ । यो प्रक्रियाबाट दुवैतिर जग्गा हुने एकथरी मधेशी नेपाली नागरिक बन्न आइपुगेको कुरालाई पनि कदापि बिर्सनु हुँदैन ।
जनजाति अनुहारको, आर्य–खस अनुहार भएको र पहाडी अनुहार हुनासाथ जुनसुकै मुलुकको भए पनि नेपालीजस्तो हुने, मधेशी अनुहार हुनासाथ नेपाली नदेखिने कुरा महेन्द्रीय दृष्टिकोणको निरन्तरता हो ।
अहिले नै त कसैले पनि मेहन्द्रले झैं सोचेजस्तो लाग्दैन तर त्यसरी नसोच भनेर प्रश्न उठाउँछ भने त्यसलाई अन्यथा लिनु हुँदैन ।

यदि मधेशका बासिन्दालाई ल्याएर चितवनका १० वटा गाविस ढाक्नेगरी बस्ती बसाउने भइयो भने चितवनका आजका जनताले सजिलै स्वीकार गर्लान् त ? कदापि गर्ने छैनन् । तर, व्यक्तिगत रुपमा चितवनमा आएर जग्गा किनेर बसोबास गर्ने मधेशीप्रति भने आजका चितवनबासीको कुनै विरोध छैन । हुने कुरा पनि होइन । किनकि त्यो स्वाभाविक हो । राज्यले जबर्जस्ती लादेको होइन ।
मधेशी नेताले कुरा उठाउने बित्तिकै ती सामन्त हुन् भनेर चिच्याउने चलन पनि छ । तीमध्ये कोही सामन्त होलान्, कोही निम्नमध्यम वर्गका । तर, म आज भन्न चाहन्छु कि तराई मधेशका सबैभन्दा ठूला सामन्तमध्ये ७५ प्रतिशतभन्दा बढी सामन्तचाहिँ पहाडे मूलका छन् । र, २५ प्रतिशतभन्दा थोरै मात्रै मधेशी मूलका सामन्त छन् । यो तथ्य पनि विचार गर्न लायक छ ।
बौद्धिक : तिमी किन चुप ?
जसले कुरा बुझेका छन् उनीहरु विरोध हुन्छ भन्ने डरले चुप छन् । सत्य कुरा बोल्न आँट नगर्ने हो भने सत्य कुरा कहिले स्थापित हुन्छ ?
उत्पीडितको कुरा उत्पीडितबाट आएकाहरुले मात्र गर्नुपर्ने भएपछि कसरी भत्किन्छ पुरानो कुरा ? उत्पीडक समुदायका प्रगतिशील सोच राख्नेहरुले नबोल्ने हो भने पुरानो सोच भत्किँदैन ।
सत्य कुरा बोल्दा अहिले गाली त खाइन्छ । गाली गर्ने मान्छेको दिमागमा पनि जब ‘यो मान्छेले के कुरा गरेको हो ?’ भन्ने प्रश्न जन्मिन्छ अनि उसले क्रमशः नयाँ तथ्य फेला पार्न थाल्छ । अनि विस्तारै सहमत हुन थाल्छ । फेर्ने, फेरिने तरिका त यही हो ।
बोल्दै नबोल्ने अथवा मान्छेहरु रिसाउँछन् भनेर गलत कुरा बोल्ने हो भने बौद्धिक हुनुको के अर्थ ? बौद्धिकको काम त प्रश्न उठाउने नै हो, जसले जे भन्छ त्यै हो भनेर हिँड्ने अथवा चुप लाग्ने होइन ।
मनोविज्ञानको पुनःसंरचना, बौद्धिक पुनःसंरचना गर्नका लागि बौद्धिकहरुले व्यापक रुपमा प्रश्न उठाउनुपर्छ ।
नेपालका पुरुष महिलाप्रति विनम्र रुपमा प्रस्तुत हुन सक्नुपर्छ । गैरदलित दलितप्रति विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ । पहाडले मधेशको कुरा विनम्रतापूर्वक सुन्नुपर्छ ।
नेपालको खस–आर्य समुदाय अरु समुदायप्रति विम्रतापूर्वक सुन्न तयार हुनुपर्छ । खसभाषीहरुले अरु भाषीहरुका कुरा विम्रतापूर्वक सुन्न तयार हुनुपर्छ । अनि मात्र नेपालमा नयाँ राष्ट्रिय एकता सम्भव छ ।
जो उत्पीडक रहँदै आयो, उही आक्रोशित भएर प्रस्तुत हुने ! उनीहरुले त विनम्रतापूर्वक अरुको कुरा सुन्न पो तयार हुनुपर्छ ।

http://esamata.com/np बाट साभार 
=============================================================

मधेशीहरुका भावनालाई राज्यले वा अन्य समुदायले जति राम्रोसँग बुझेर सम्बोधन गर्नसकेनन् भने उनीहरु राउत-गिरि प्रवृत्तिकै नजिक पुग्नेछन् जुन घातक हुन्छ ।- डेरराज गुरुङ


देश महाविपत्तिमा परेको छ । राज्य लथालिङ्ग भएको छ । जनताहरु चिल्लबिल्ल भएका छन् । मनसुन सुरु हुन लागेको छ तर घरविहीन भएका जनता खुला आकाशमुनि बास बस्न परिरहेको छ । भूकम्पको झट्का सकिएको छैन । फेरि हेर्दाहेर्दै र थाहा हुँदाहुँदै पनि अर्को ठूलो विपत्ति हामीतिर बढिरहेको छ, जसरी सुनामीको लहर हेर्दाहेर्दै आउँछ र देख्ने मान्छे जति सबैलाई बगाएर लान्छ । सुनामी अलि छिटो आइपुग्छ तर हामीले पर्खिरहेको विपत्तिचाहिँ अलि ढिलो आउँछ तर आफूतिर बढिरहेको छ भन्ने चाहिँ यतिखेर हामीलाई थाहा छ । बाढीपहिरो र झरीले गर्न सक्ने जिउधनको क्षति पनि भूकम्पको भन्दा कम हुनेवाला छैन ।
अबको पहिलो काम चाँडोभन्दा चाँडो पुनर्वास गराउने नै हो । सरकारी र जनस्तरबाट स्वाभाविक रुपमा पुनर्वासका विभिन्न विकल्प सोचिँदैछन् । घरविहीन भूकम्पपीडितहरुलाई बाढीपहिरो र झरीबतासबाट तत्काल बचाउन तराईमा अस्थायी आवास बनाएर राख्ने सबैभन्दा उत्तम उपायको रुपमा सोचिँदैछ ।
सबै नेपालीको ध्यान यसैतर्फ केन्द्रित भइरहेको बेला सरिता गिरि पुङ्ग न पुच्छरसँग चिच्याइन्, “पहाडका मान्छेहरुलाई मधेशमा पुनर्वास गर्ने काम मधेशी भूमि अतिक्रमण गर्ने महेन्द्रवादी षडयन्त्र हो ।” उनलाई गालीको वर्षा भयो । फेरि अर्को झनै बहादुर निस्किए सिके राउत । उनले धम्कीपूर्ण भाषामा प्याच्च बोले, “पहाडको मान्छेहरुलाई मधेशमा पुनर्वास गरियो भने गृहयुद्ध हुनेछ ।” उनीमाथि पनि गालीको वर्षा नै हुन थाल्यो । गाली गर्नेहरुमध्ये कसैकसैले राउत र गिरिलाई मात्र हैन सबै मधेशीलाई गाली गर्न भ्याए । मानौं, वर्षौंदेखि मनमा रिस जमेको थियो त्यो पोख्ने मौका मिल्यो ।
त्यसपछि यी राउत र गिरि दुवैले लामो स्पष्टीकरण पनि लेखे जसमा उनीहरुले र सम्पूर्ण उत्पीडित मधेशी जनताले सधैं भनिरहेकै कुरा उल्लेख छ । जे भने पनि शत्रुलाई पनि बिरामी भएर थालिएको बेला आक्रमण गरिँदैन । निको हुन दिइन्छ अनि मात्रै आक्रमण गरिन्छ । यस अर्थमा राउत र गिरिको भनाइ र सोचाइ आफैमा अमानवीयता र समवेदनहीनताको पराकाष्ठा नै हो ।
अर्कोतर्फ गालीगलौज गर्नेहरुमा सर्वसाधारणदेखि लिएर नेताको रुपमा कहलिएकाहरु पनि देखिए । धेरैले उनीहरुलाई जेल हाल्नुपर्छ, देश निकाला गर्नुपर्छ सम्म पनि भने । उनीहरु भारतीय हुन् भन्ने आरोप पनि लगाए । सरकारले कारबाही गर्ने कि हामी जनता आफैले गर्ने हो भन्ने प्रश्न पनि गरे । यी गालीगलौजहरु तर्कसंगत र परिणाममुखी भन्दा पनि मुखको स्वाद फेर्ने खाले मात्रै देखिए । रिस पोख्ने मौका पाइयो भनेर अवसरको फाइदा लिने खालका मात्रै भए ।
राउत र गिरीले त्यस्तो भने भन्दैमा न उनीहरुलाई जेल हाल्न मिल्छ, नत देश निकाला गर्न नै । न उनीहरु भारतीय भएकै प्रमाणित हुन्छ, नत जनताहरु आफैले उनीहरुलाई कारबाही नै गर्न मिल्छ । यतिखेर उनीहरु कस्ता मान्छे हुन् भनेर चिन्न मात्रै सकिन्छ । यस्ता संवेदनहीन र अमानवीय विचार बोक्ने मान्छेहरु मधेशकै जनताको पनि दु:खका साथी बन्न सक्दैनन् भन्ने प्रस्ट हुने मौका मात्रै मिलेको छ ।
अर्कोतर्फ उनीहरु जे भनिरहेका छन्, मधेशी जनताको आडमा नै भनिरहेका छन् । उनीहरुले त्यसो भनिरहँदा पनि मधेशी जनतामा चाहिँ उनीहरुकै विचारको बचाउ गर्ने र त्यसमा सहानुभूति राख्ने सोच देखियो तर पहाडमा बस्नेहरुले जस्तो रिस पोखिएको भने देखिएन । मधेशी जनताले उनीहरुका भनाइलाई कहीँ न कहीँ मधेशकै पक्षमा उठेको आवाजको रुपमा बुझेको देखिन्छ । गिरि र राउतले धेरैजसो पहाडियाको गाली मात्रै खाए, मधेशीहरुको हैन । यो मधेशी जनताको मनमस्तिष्कमा विकास भइरहेको निकै गम्भीर मनोविज्ञान हो । राज्यले उनीहरुप्रति लामो समयदेखि गर्दै आएको विभेदलाई जस्तोसुकै शोकको बेलामा पनि चटक्क भुलिहाल्नचाहिँ मन लागेन मधेशी जनतालाई । राउत र गिरीले राष्ट्रिय विपतको घडीमा यस्तो अभिव्यक्ति दिनु सान्दर्भिक नभएको भन्ने लागे पनि गालीगलौजै गरिहाल्नुपर्ने महसुस भएन मधेशी जनतालाई ।
राउत र सरिता दुई व्यक्ति हुन् । यति धेरै मधेशीको बीचबाट दुई जनाले भनेको कुराले खासै महत्व नराख्नसक्छ र उनीहरुले भन्दैमा पुनर्वासको योजना र अभियान रोकिँदैन पनि । तर सिङ्गै मधेशी जनताले चाहेनन् भने चाहिँ यो योजना र अभियान निश्चित रुपमा अघि बढ्न सक्दैन । मधेशी जनताले कहिले पनि आफूलाई गैरनेपाली भनेर ठानेका छैनन् र कसैले त्यस्तो सोचेको मात्रै पनि उनीहरुलाई ठिक लाग्दैन । यस्ता अभिव्यक्तिले उनीहरुको भावनामा गहिरो दुस्ख पुग्छ । उनीहरुले वर्तमान विपत्तिमा हातमा हात मिलाएर उद्धार र सहयोग गरिरहेका छन् । उनीहरुको मनमा भएको उच्च मानवीय संवेदनशीलता र नेपाली–नेपालीबीचको आत्मीय भावनालाई सम्पूर्ण नेपालीले कदर गर्नुपर्छ, सम्मान गर्न जान्नुपर्छ । उनीहरुको मनमा अरु नेपालीहरुप्रति आउनसक्ने सबै शंका–उपशंका यही राष्ट्रिय शोकको घडीमा निवारण गर्न सक्नुपर्छ । हाम्रा सबैखाले अभिव्यक्ति र गालीगलौजले आममधेशी जनताको भावनामा किमार्थ ठेस पुग्नु हुँदैन ।
स्मरण रहोस्, पहाडिया मूलका जनताले जतिसुकै गालीगलौज गरे पनि राउत–गिरिका भनाइ र सोचाइलाई मधेशी जनताले साथ दिए भने कसैको केही लाग्दैन । उनीहरुका चाहना र भावनालाई राज्यले वा अन्य समुदायले जति राम्रोसँग बुझेर सम्बोधन गर्नसक्छन् त्यति नै हामी उनीहरुको नजिक पुग्छौं र उनीहरु हाम्रो नजिक आउनेछन् । अन्यथा तपाईं हामीले चाहे पनि नचाहे पनि उनीहरु राउत–गिरि प्रवृत्ति र सोचहरुकै नजिक पुग्नेछन् जुन कालान्तरमा सिङ्गै मुलुकको निम्ति घातक सिद्ध हुने पक्का छ ।
दसवर्षे छोराछोरी लुटुपुटु हुँदै बुबासँग सुत्न आउँथ्यो, आफूले जे भने पनि मान्थ्यो भन्दैमा बीस वर्ष पुग्दा पनि त्यसो गरेन भनेर उनीहरुले बुबासँगको सम्बन्ध तोड्न खोजेको हो भन्ने बुझ्नु हुँदैन । समयअनुसार त्यो माया र आत्मीयता कायमै छ भन्ने बुझ्नुपर्छ । अहिले मधेशी, जनजाति र दलितहरु पनि जवान भएका छन् । उनीहरुसँग राज्य र शासकहरुको सम्बन्ध अब राणाकाल र पञ्चायतकालको जस्तो नहुनसक्छ । तसर्थ नयाँ ढंगले उनीहरुका माग र चाहनालाई पनि बुझेर हाम्रो सम्बन्ध र आत्मीयतालाई कायम राख्नुपर्छ ।
यहाँ त उच्च स्तरका नेताहरुदेखि कार्यकर्ता र समर्थकसम्मका केही व्यक्तिहरु मधेशी, जनजाति र दलितप्रति निकै अनुदार देखिन्छन् । उनीहरुबाट बेलाबेला अनेक खालको अवाञ्छित अभिव्यक्ति आउने गरेका छन् र त्यस्ता व्यवहार देखिने गरेका छन् जसले अन्ततस् आम उत्पीडित जनतालाई विद्रोहीहरुको कित्तामा सामेल हुन दिनानुदिन बाध्य बनाइरहेका छन् । यसप्रति हामी सबै सजग बनौं, त्यस्ता अभिव्यक्ति र व्यवहारलाई निरुत्साहित गर्ने जिम्मा हामी सबैले लिऊँ । मनपरी थुतुनो चलाएर समस्याको समधान हुनेवाला छैन । विद्रोहीलाई दबाउने कुरा मात्रै नसोचौं, आम जनतालाई विद्रोहीको पक्षमा जानबाट पनि रोकौं । दूरदृष्टि राखौं । उनीहरुका न्यायपूर्ण र जायज मागको समयमै सम्बोधन गरौँ । अनि राउत–गिरिहरुको आवाज त्यसै सेलाएर जानेछ । यस्ता आवाजलाई जबर्जस्ती दबाउन सक्छु भन्नु चरम मूर्खता हो ।
सबैमा मेरो आग्रह छ, सबै क्षेत्रका जनताका साथी बन्नुस्, उनीहरुको मनोभावना बुझ्नुस् अनि सोहीअनुसार बोल्नुस्, व्यवहार गर्नुस् । राज्यले पनि त्यसै गर्नुपर्छ, राजनीतिक पार्टीहरुले पनि त्यसै गर्नुपर्छ अनि हामी आम नागरिकले पनि त्यसैअनुसार गर्नुपर्छ । अनि मात्रै जन्मन लागेका अरु सिके राउत र सरिता गिरीहरू गर्भमै तुहिने छन् । मधेशी जनताचाहिँ नोकर हुन्, राज्य र सरकार अनि पहाडियाहरुचाहिँ उनीहरुका मालिक हुन् भन्ने नकारात्मक सन्देश प्रवाह गरियो भने नचाहेर पनि धेरै सिके राउत र सरिता गिरिहरु जन्मने छन् । चेतना भया ।


डेरराज गुरुङ

डेरराज गुरुङ


(गुरुङ नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष हुन् ।)


http://esamata.com/np/ बाट साभार 


No comments:

Post a Comment