नयाँ शक्तिको बहसबारे
- रवीन्द्र श्रेष्ठ
नेपालमा ‘नयाँ शक्ति’को आवश्यकताबारे फेरि बहस शुरु भएको छ । ‘नयाँ शक्ति’ भन्नाले अहिले भैरहेका राजनैतिक दलहरू भन्दा भिन्न पार्टीको आवश्यकता र संभावनाबारे भैरहेको बहस हो । यस्तो नयाँ पार्टीको वैचारिक आधार, कार्यक्रम, संगठनात्मक स्वरुप र नेतृत्वको बारेमा भैरहेको बहस हो । जसले, जहाँबाट, जुनसुकै इच्छाले शुरु गरेको भए पनि यो बहसले नेपाली राजनैतिक क्षेत्रमा सकारात्मक महत्व राख्नेछ ।
नयाँ शक्तिको बहसमा केही समय अगाडिसम्म बाबुराम भट्टराइ पनि थिए । त्यो बेला बाबुरामका दोधारे कुरा थिए । उनले नयाँ शक्ति बनाउन मुख्यत दुई तरिका अपनाउने बताएका थिए । पहिलो, अहिले भएकै पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेर नयाँ शक्ति बनाउने । दोस्रो, त्यसरी कोशिश गर्दा नभएमा अर्को नयाँ पार्टी बनाउने । बाबुरामले नयाँ शक्तिको बहसमा भाग लिएर बहस चलाउन थाल्दा उनमाथि पार्टीभित्र प्रचण्डलाई धम्क्याउने र घुक्र्याउने उद्देश्यले मात्र यो नयाँ बहस चलाएका हुन भन्ने आरोप लगाइएको थियो । अहिले आएर यो आरोप प्रमाणित भएको छ । जब प्रचण्डले बाबुरामलाई उधारो अध्यक्ष पदको लोभ देखाए, तवदेखि बाबुरामको मुखमा बुजो लागेको छ । अहिले बाबुराम मधेसवादी र जनजातीवादी दलहरू भन्दा पनि बढी जातीवादी भएर जातीय युद्धको समेत चेतावनी दिइरहेका छन् ।
बाबुरामले नयाँ शक्ति पक्षधरहरूलाई धोका दिए पनि नयाँ शक्ति पक्षधरहरूको बहस भने जारी नै छ । यो सकारात्मक पक्ष हो । नयाँ शक्तिका पक्षधरहरू विभाजित छन् र यो स्वभाविक पनि हो । माक्र्सवादी वैचारिक आधारमा एउटा नयाँ शक्तिको जन्म भैसकेको छ । विप्लवको नेतृत्वमा नेकपा माओवादीको जन्म माक्र्सवादी वैचारिक आधारमा नयाँ शक्ति हो । घोर दक्षिणपन्थी धार्मिक अतिवाद र राजतन्त्रको पुनस्र्थापनाको उद्देश्यसहित स्थापित राप्रपा नेपाल पनि नयाँ शक्तिको रुपमा दोस्रो संविधानसभाभित्र आइसकेको छ । अहिले केही मित्रहरूले चलाउनु भएको बहस भने लोकतान्त्रिक परोपकारवादको वैचारिक आधारमा नयाँ पार्टी बनाउने भन्ने हो । उहाँहरूले लोकतान्त्रिक परोपकारवाद भन्नाले स्वीडेन, डेनमार्क, नर्वे , फिनलैन्ड जस्ता नोर्डिक देशहरूको जस्तो आर्थिक विकासको मोडेलमा देशको विकास गर्ने भन्ने व्याख्या गर्नुभएको छ ।
यी देशहरूकै उदाहरण र लक्ष्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामै परिवर्तन गर्दै सामाजिक डेमोक्रेटिक पार्टी बनाउने प्रस्ताव रघु पन्तजीले राख्नुभएको यहाँ स्मरण गर्नु उपयुक्त होला । तर त्यो बेलाको समय बेग्लै थियो । त्यसैले उहाँ सफल हुनु भएन । लैटिन अमेरिकाका केही देशहरूमा चुनावी नरम वामपन्थीहरूको विजयपछि पनि नेपालमा नयाँ शक्तिको बहस चलेको थियो । तर समय क्रममा त्यो हरायो । गत वर्ष यो बहस शुरु हुनुमा नयाँ दिल्लीमा ‘आप’को विजय र नेपालमा एमाओवादीको असफलताले आधार भूमिको काम गरेको थियो । अहिले नयाँ दिल्लीमा ‘आपको महा विजय’ले नेपालमा नयाँ शक्ति पक्षधरहरूमा पुन: नयाँ बहस थाल्ने उत्साह पैदा गरिदिएको छ । सायद टाढा भएकोले र वामपन्थी कलर लागेकोले ग्रीसमा भएको सिरिजा नामक नरम वामपन्थी पार्टीको विजयले भने नेपालमा त्यति प्रभाव पारेन वा नयाँ शक्तिका केही मित्रहरूलाई वामपन्थी नाम मन नपरेकोले त्यसको नामसम्म पनि उच्चारण गर्न मन लागेन । जे भए पनि नेपालमा अहिले नयाँ शक्तिको लागि आधारभुमि र वातावरण तयार हुँदैछ भन्ने प्रष्ट छ ।
अहिले भएका दलहरू प्रति जनताको एउटा ठूलो हिस्सा असन्तुष्ट हुने क्रम तीब्र छ । तर असन्तुष्टि र आक्रोशलाई अर्को वैकल्पिक दलले सही ढंगले समयमै सदुपयोग गर्न सकेनन् भने त्यो समय क्रममा सेलाउँछ र खेर जान्छ तथा यथास्थिति कायम रहन्छ । विकल्प भएन भने पुरानै दलहरूलाई मत दिनुभन्दा जनतासँग अरु उपाय नरहने स्थिति आउने हुन्छ । त्यसैले नयाँ शक्ति पक्षधर मित्रहरूले यस्तो नयाँ राजनैतिक पार्टी छिटो बनाउनु पर्यो भन्नेमा जोड दिन थाल्नु सहि हो । तर गत सालदेखि शुरु गर्नु भएको प्रयासको ठोस थालनी अहिलेसम्म पनि भएको देखिएको छैन । उहाँहरूले जसरी यस नयाँ शक्ति बनाउने कामको शुरुआत होस् भन्ने चाहनुभएको छ, त्यो नै शायद गलत छ । उहाँहरूको चाहना छ कि एमाले, कांग्रेस, प्रहरी र अन्य पेशाका केही चर्चामा आएका अनुहारहरूले आफ्नो दल वा पेशा छोडेर एकढिक्का भएर नयाँ पार्टी गठनको घोषणा होस् । तर ती चर्चामा आएका अनुहारहरूले आफ्नो दलबाट विद्रोह गर्ने र पेशा परित्याग गरेर राजनीतिमा लाग्ने तथा ती सबै एउटै पार्टीमा मिलेर काम गर्ने सम्भावना अहिले देखिँदैन । त्यसरी चर्चामा आएका मानिसहरूको आस गरेर बस्नु गलत हुनेछ । बरु अहिले नयाँ शक्तिको आवश्यकताबारे सहमत भएका जो–जो छन् र जस्ता छन्, मिल्न सक्नेहरू मिलेर नयाँ राजनैतिक पार्टीको घोषणापत्र र संगठनात्मक स्वरुपको तयारमा गम्भीर भएर लाग्नु र नयाँ दलको घोषणा गर्दै जानु सही तरिका हुन सक्दछ । साथै नयाँ राजनैतिक दलको गठन र घोषणा आगामी निर्वाचनमा कम्तीमा सामान्य बहुमत आउने ग्यारेन्टी भएपछि मात्र गर्ने भन्ने आशयको रवीन्द्र मिश्रजीको तर्क पनि सही होइन । यस्तो ग्यारेन्टी पर्खदै बस्ने हो भने नयाँ शक्ति नै बन्दैन । शुरु मै यस्तो शक्ति एक मात्र बनाउनु पर्दछ भन्ने तर्क पनि व्यवहारिक नहोला ।
विचार र कार्यक्रम एउटै शु रुमै नहुन पनि सक्दछ यस्तो स्थितिमा अनेकौं दलहरू बन्ने र पछि क्रमश धु्रवीकरण हुँदै एउटा बलियो वैकल्पिक शक्ति बन्ने पनि हुन सक्दछ । ग्रीसको सिरिजा पार्टी जस्तै, जुन पार्टी एक दर्जनभन्दा बढी साना दल र मोर्चाहरू मिलेर बनेको हो । बीपीले कांग्रेस पार्टीको शुरुआत गर्दा होस् वा पुष्पलालले कम्युनिष्ट पार्टी शुरुआत गर्दा होस्, उहाँहरू शुरु मै चर्चित अनुहारका थिएनन् । बीपीले कांग्रेस पार्टी गठन गर्दा केवल ३३ वर्षका थिए र पुष्पलालले कम्युनिष्ट पार्टी गठन गर्दा केवल २६ वर्षका थिए । एमालेको शुरुआत गर्दा पनि सीपी मैनाली, मोहनचन्द्र अधिकारी, मदन भण्डारी, माधव नेपाल, केपी ओली, झलनाथ खनाल आदि सबै युवा अपरिचित अनुहार नै थिए र शायद सबैको उमेर तीसको हाराहारी नै थियो वा कम थियो । प्रचण्ड पार्टीको महासचिव हुँदा ३६ वर्षका थिए र चर्चित अनुहारका थिएनन् । जनयुद्ध शुरुआत भएपछि पनि प्रचण्डको अस्तित्व नै छ कि छैन भन्ने विवाद वा भ्रम थियो कयौंमा । यी उदाहरणहरूको अर्थ यो हो कि नयाँ राजनैतिक पार्टी बनाउन चर्चित अनुहार शुरु मै चाहिन्छ भन्ने होइन, नयाँ युवाहरू वा चर्चामा नभएकाहरूले पनि यो कामको शुरुआत गर्न सक्दछन् ।
नयाँ शक्ति पक्षधरहरूबीच काल्पनिक राजनीति र यथार्थ राजनीतिबीचको भिन्नता पनि स्पष्ट हुनु पर्दछ । कतिपय मानिसहरू राम्रा चर्चित मानिसहरूले नेतृत्व गरेर घोषणा गर्ने वित्तिकै देशव्यापी संगठन सञ्जाल बन्छ र आगामी चुनावमा सामान्य बहुमत आउने आशा गर्छन् । तर अहिलेका दलहरूका असक्षमता र गलत राजनीतिविरुद्ध आन्दोलन नगरिकन यो सम्भव देखिँदैन । आन्दोलन वा समायोचित संघर्ष बिना सजिलै देशव्यापी संगठन बन्ने र चुनावमा बहुमत आउने कुरा यथार्थ कम र काल्पनिक बढी हुनेछ । दिल्लीको आप पार्टीको सफलता पनि भ्रष्टाचार विरोधी आन्दोलनको परिणाम हो भन्ने यथार्थ आत्मसात नगर्नु भुल हुनेछ । त्यस आन्दोलनले उच्च गति लिइरहेको बेला यस पंक्तिकार नयाँ दिल्ली मै रहेर नजिकबाट प्रत्यक्ष देख्न पाएको थियो । त्यो बेलाको भ्रष्टाचार विरोधी आन्दोलन नेपालको ०६२/६३ को ज्ञानेन्द्रतन्त्र विरोधी आन्दोलनभन्दा कम थिएन । त्यस आन्दोलनबाट दिल्लीका प्रत्येक झुपडी र महलहरू प्रभावित भएको थियो । दिल्लीवासी पूरै आन्दोलित भएको थियो त्यो बेला । दिल्लीवासीहरूमा नयाँ जागरण र आशाको संचार गराइदिएको थियो । त्यसैले ठूलो आन्दोलनको नीति र योजना बिना नयाँ राजनैतिक शक्ति स्थापित हुन शायद गारो छ र चुनावमा विजयी बन्न पनि गारो छ । आन्दोलन भन्ने बित्तिकै बन्द मात्रै बुझ्ने गल्ती पनि गर्नु हुँदैन ।
ठूल्ठूला क्रान्ति पनि स–साना नारा र कार्यक्रमहरूबाट सम्पन्न भएका छन् । रुसी अक्टोवर क्रान्तिको बेला समाजवाद र माक्र्सवाद आदिभन्दा पनि शान्ति, रोटी र जमिनको नारा अत्यधिक लोकप्रिय थियो र यसैको आधारमा लेनिनले महान क्रान्ति सफल पारे भनिन्छ । यहाँ पनि नोर्डिक देश जस्तै बनाउने नाराभन्दा पनि ग्यास आपूर्ति, रोजगारी, भ्रष्टाचार मुक्त सरकार र छिटो संविधान घोषणाको नारा लोकप्रिय हुन सक्दछ । जनयुद्धको बेला संविधानसभाको नाराभन्दा पनि रक्सीको घैटा फुटाउने नारा लोकसप्रय र प्रभावकारी बनेको थियो । तर रक्सीबिना बाँच्न नसक्ने प्रचण्ड र हिसिलाका कारण त्यो नारापछि भुत्ते बनाइयो र संविधानसभा भन्न थालियो । तर संविधानसभाले अरबौं रुपैयाको खोलो बगाएर पनि एक थान संविधान दिन सकेको छैन । नयाँ शक्ति पक्षधर मित्रहरूले पहिला संविधान बनाउने बारे नै आफ्नो धारणा सार्वजनिक गर्ने र त्यसका लागि दबाब आन्दोलन गर्नुपर्ने हो कि ?
No comments:
Post a Comment