Monday, February 9, 2015

किन विभाजित गरिँदैछ नेपालीलाई ? - छेवाङ शेर्पालामा

किन विभाजित गरिँदैछ नेपालीलाई ?



Tsewang-Sherpalama
















- छेवाङ शेर्पालामा

“जातीय प्रदेश” भन्ने शब्दहरु नेपालको राजनीतिक, सामजिक र संचारमाध्यममा रोप्ने, उमार्ने, निफोन्ने काम शिक्षित भनाउँदा खसहरुले नै गरेका हुन् । जात–जातीय संकुचित जुत्ताबाट बाहिरिएर मानब दृष्टिमा मुल्यांकन गर्ने हो भने, वर्तमान र बिगतका शासकीय प्रणालीहरुले गर्दा जनजातिहरु जति रुष्ट छन् त्यतिनै खस जातिहरुको पनि बेहाल भएको छ । 

नेपालमा नयाँ संविधान निर्माण कार्यमा एकथरी भन्छन् “जातिय पहिचानसहितको संघिय प्रदेश” हुनुपर्छ । अर्कोथरि भन्छन् –“हुँदैन जात–जातिय पहिचान प्रदेश” । एकथरी गर्छन् हिन्दु राष्ट्र । अर्कोथरि धर्मनिरपेक्ष राष्ट्रको निरन्तरता । यस्ता गन्ज्याङगुन्जुङ सोचले अहिले मेरो देश आक्रान्त छ, जसले म जस्ता परदेशमा रहेर पनि सँधै नेपाली र नेपालीको भलो सोच्ने नेपालीहरु समेत पीडामा बाँच्न विवश छन् र छौँ ।
मुलुक भनेको प्रकृतिको श्रृष्टि हो । यसर्थ, प्रदेशको नामाकरण मुलुकको प्राकृतिक चिनारीहरुबाट हुनु नै राष्ट्रको दिर्घकालिन उन्नति, शान्ति र राष्ट्रबासीको हितमा हुनेछ । प्रदेशको नामाकरण गर्दा त्यहाँ बसोबास गरिरहेका बहुसंख्यक नागरिकहरुको भाषामा गर्न सकिने व्यवस्थामा कन्जुसाई गर्नु पनि एकल भाषी दमन हुनेछ ।
हुम्लाको होस् या सोलुको, समाज र राष्ट्रले जन्मिँदै नै मानवलाई एकल जात–जातिको मेटाउनै नसकिने टिको लगाइदिएको हुन्छ । न त्यो बाहुन को दोष हो, न शेर्पाको, न अन्य कसैको – सबै जन्मेको मानवकै रुपमा हो ।
जहाँसम्म, जात–जातियताको कुरो छ, हाम्रो शेर्पा भाषामा जात–जाति भन्ने शब्द भाषाविद्हरुले निफोनर पनि पाइदैँन । यस अर्थमा, “शेर्पा जातीय प्रदेश” भन्ने शब्दहरु नेपालको राजनीतिक, सामजिक र संचारमाध्यममा रोप्ने, उमार्ने, निफोन्ने काम शेर्पाहरुले नभएर, शिक्षित भनाउँदा खसहरुले नै गरेका हुन् । यसमा शेर्पा समुदायको कुनै दोष छैन् । यसको प्रमुख दोषीहरु क्रमशः माओवादी नेताहरु, अन्य पार्टीहरुका महानेताहरु, पत्रकारहरु र राजा महेन्द्र जस्ले नै “सेतामगाराली” भूमिगत जातीय संस्था स्थापना गरेका थिए – समेत रहेका छन् । यो तितो सत्य हो, अमिलो नमान्नु होला । यसर्थ, शेर्पा प्रदेशको नारा आउनुमा शेर्पा समुदायमात्रै जिम्मेवार छैनन् । शेर्पा समुदायलाई खुसी पार्ने नाममा या शेर्पा समुदायलाई भोट बैंक बनाउने नाममा अगाडि सारिएको हो । जुन नेपालमा रहेका शेर्पाले मात्रै होइन्, संसारभर छरिएका नेपाली शेर्पा समुदायले बुझेका छन् ।
जात–जातीय संकुचित जुत्ताबाट बाहिरिएर मानब दृष्टिमा मुल्यांकन गर्ने हो भने, वर्तमान र बिगतका शासकीय प्रणालीहरुले गर्दा जनजातिहरु जति रुष्ट छन् त्यतिनै खस जातिहरुको पनि बेहाल भएको छ । यो तितो यथार्थलाई न जातले न जातिले सम्बोधन गरेको पाइन्छ । र, मैले त आफैले देखेको छु, हाम्रा घरमा काम गर्ने बाहुन र छेत्री खेताला र कामदारहरुको पारिवारिक दुर्गतिपूर्ण करुण कर्महरु ।
अब रह्यो, मेरो जाति के हो ? मेरो पहिचान के हो ? मेरो बुवा श्री आङबाबु लामाज्युको शब्दमा “सक्छौ भने तिमी पहिला एउटा असल मान्छेको पहिचान देउ, बाँकी…” ।
बुवाको शब्दहरुलाई सिरोपर गर्दै, आफैलाई निष्पक्ष र सत्य जवाफ दिँदा, सबैभन्दा पहिले म एउटा मानब रुपमा जन्मेको हुँ भन्ने निष्कर्ष मैले निकालेँ र त्यसपछि, म एउटा मानवको रुपमा शेर्पा बुबा र शेर्पा मुमाको सम्बन्धको प्रतिफल शेर्पा आमाको कोखबाट जन्मलिने सौभाग्य पाएँ भन्ने बुझेँ । शेर्पा बुबा र शेर्पा आमाको जन्मसिद्ध छोरो भएको कारणले, समाज र राष्ट्र दुबैले मलाई मेरो जाति “शेर्पा” हो भन्ने परिचय दियो । मेरो समाज र राष्ट्रले, म कुन जात–जातिको भन्न चाहन्छु, सोधेन । “शेर्पा“ बाहेक कुनै अन्य जात–जाति भन्ने या नभन्ने अथवा जातबिहीन हुने स्वतन्त्रता मलाई कहिले पनि दिइएन । म शेर्पा हुनुमै खुशी छु, मलाई शेर्पा मात्र भएर यो जुनी बिताउनुपर्ने बाध्यतामा मेरो कुनै गुनासो छैन्
ल म शेर्पा जाति भएँ, तर मेरो पहिचान के हो त ?
“जब तिमीलाई विश्वास हुन्छ..“ भन्ने सिदार्थ बुद्धको उपदेशलाई मार्ग राखेर अब मेरो पहिचान पनि भन्छु: मेरो एकजना साथी छ, उ पनि म जस्तै नेपालीनै हो र समाज र राष्ट्रको जात–जातिय परिभाषा मुताबिक उसको जात बाहुन हो । तर, सानैमा उसको बुबामुमा स्वर्गीय भएकोले उसलाई एउटा शेर्पा परिवारले हुर्काएछ, आफ्नै छोरोको दर्जामा । उसले (बाहुन) शेर्पा खाना खायो, शेर्पा भाषा बोल्न थाल्यो, शेर्पा स्यब्रु (नाच) पनि नाच्न थाल्यो, हुर्काउने शेर्पालाई पाला–मम (बाबा–आमा) भनी सम्बोधन गर्दछ । बिस्तारै बिस्तारै ऊ शेर्पा जाति परिवारको संस्कारमा हुर्कियो । हुँदा हुँदा, ऊ बाहुन संस्कारको घेराबाट पुरै बाहिरियो र अहिले शेर्पा जातिको संस्कृतिमा खुशी साथ जीवन बिताइरहेको छ । यो मेरो साथीको जीवित उदाहरण । यही अर्थमा मलाई विश्वास भयो कि जात–जाति रोज्न नपाउने टिका । पहिचान (संस्कार) रोज्न पाउने र सक्ने स्वतन्त्रता रहेछ । हुन सक्छ, मेरो बाहुन जातको साथीले शेर्पा जातिको संस्कारमा हुर्केको जस्तै, कुनै शेर्पा जातिको छोरो पनि बाहुनको संस्कारमा हुकिर्रहेको होला । यस्तो अवस्थामा, जसरी मेरो साथीको असली जात बाहुन र सही पहिचान शेर्पा भएझैँ, असली शेर्पा जातिको सही पहिचान पनि बाहुन हुन सक्ने देखियो ।
माथिको अर्थमा, मेरो आफ्नै पहिचान पनि मैले रोजेँ । म शेर्पा जाति, सानै देखि विकृतिका शेर्पा संस्कृतिहरुलाई नकार्दै सामजिक कल्याण र प्रगति हुने खालका शेर्पा संस्कृतिको मात्र पालन गर्दै आएको छु । त्यस्तै बाहुन लगायत अन्य जात–जातिहरुको सामजिक कल्याण र प्रगति हुने खालका संस्कारहरु मात्र पालन गर्दै, विकृतिका बाहुन र अन्य जातजातिका संस्कृतिहरुलाई नकार्दै आएको छु । आधा शेर्पा जातिको राम्रा संस्कृति र आधा बाहुन लगायत अन्य जात–जातिहरुको राम्रा संस्कृति मात्र पालन गर्दै हुर्केको म बहुपहिचानबादी पो भएछु । मलाई बहुपहिचानबादी हुननै मनपर्छ । बहुपहिचानबादी भएर नै म सबै जात–जाति बीच अटाउन सकेको छु । आफ्नो जाति संस्कारमा नभेटाइएका राम्रा संस्कृतिहरु अन्य जात–जातिहरुको संस्कारमा सिक्न पाएको छु ।
अझ, सामजिक बिज्ञानबिद्हरुले त भनेका छन, “जात–जाति भनेको १९औँ, २०औँ शताब्दीहरुका उपज हुन । २१औ शताब्दीका साथै, अन्तरजातजाति बैबाहिक सम्बन्धको विस्तारसँगै बिस्तारै बिस्तारै सबै एकल जात–जातिहरु बहुजाति हुनेछ” ।
यही अर्थमा, नानाथरिका नेता, उपनेता र चल्तापुर्ता एकल मनस्थिति रहेकाहरुको पित्–सोच भन्दा, यी सामजिक बिज्ञानबिद्हरु सही हुनेछन् भन्ने विश्वास लिएको छु । ताकि आज समाज र राष्ट्रले म शेर्पा र मेरो साथी बाहुनलाई एकल जातजाति भई जीवन बिताउनु पर्ने टिका लगाए तापनि, भोलि हाम्रा छोराछोरीहरुले बहुजाति बहुपहिचानको जीवन रोज्ने स्वतन्त्रता पाउनेछन् ।
समाज र राष्ट्रले आधिकारिक रुपमा लगाइदिएको टिको शेर्पा जातिको पहिचान दिन मलाई सजिलो छ । शेर्पा संस्कृतिको पहिचानमा बाँच्न मलाई कति सजिलो ! मैले शेर्पा संस्कृतिलाई अंगाले पुगिहाल्ने ! तर मलाई थाहा छ – मैले हाम्रो छोराछोरीहरुलाई उनीहरुको आफ्नो पहिचान खोज्ने र रोज्ने जिम्मेवारी र अधिकार व्यक्तिगत स्वतन्त्रता दिएँ भनेँ मैले उल्टोसुल्टोबाट ५५ बर्षमा मेरो बुबा र देशलाई दिन नसकेको “एउटा असल मान्छे“को पहिचान मेरो छोराछोरीले मलाई र उनीहरुको देशलाई दिन त्यति गाह्रो नहोला !
लेखक अमेरिकाका नेपाली समुदायका अगुवा हुन् ।

- See more at: 

http://dainiknepal.com/2015/02/38245.html#sthash.SLgrIPAP.mSDsAdXm.dpuf

No comments:

Post a Comment