फोटो :समरम्यागेजिन डटओआरजी
रोल्पा: दसबर्से जनयुद्धमा हाम्रा आफन्तले बगाएको रगत खेर गयो', सशस्त्र युद्धको आधारक्षेत्र मानिएको रोल्पाका सहिद परिवार गुनासो गर्छन्, 'हिजो जनयुद्ध लडेको पार्टी फुट्ने क्रमले हाम्रा आफन्त कसका सहिद हुन् भन्ने अन्योल उत्पन्न भयो।'
२०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरीचौकी आक्रमण गरी सुरु भएको सशस्त्र युद्ध शान्तिप्रक्रिया हुँदै २० वर्ष पुग्दा अझै पनि रोल्पाली पीडितका मन कुँडिएको छ।
युद्धका बेला बुबा र दिदी गुमाएका ओत ५ भित्ताबाङका केशव पुनमगर यतिबेला निकै भावुक बनेका छन्। उनलाई बुबा र दिदी कुन पार्टीका सहिद भए भन्ने अन्योलले पिरोलेको छ।
'प्रचण्ड सरकार हुँदा सहिद परिवार र देशका लागि केही राम्रो काम हुने अपेक्षा गरेको थिएँ तर पार्टी र नेता बिग्रँदै गएपछि त बुबा र दिदीको रगत खेर गएजस्तो लाग्न थालेको छ', पीडित केशव भन्छन्, 'हिजोका नारा सबै ओझेल पारिएको छ। हिजो जे भनेका थिए, त्यसविपरीत हुने कार्यले निराश बनाएको छ।'
युद्धमा आफन्त गुमाएकालाई राज्यले सहिदको दर्जा नदिए पनि पार्टीले सहिद घोषणा गरिदिएको छ। त्यसैले आफन्त गुमाएका रोल्पालीले सहिद परिवार भन्छन्। बर्सेनि हुने 'जनयुद्ध' को वर्षगाँठमा पनि तिनै सहिद परिवारलाई सम्झन छोडिएको छ।
जीविका चलाउन अफसेट प्रेसमा काम गर्दै आएका पीडित केशव २० औं वर्षगाँठमा पे्रसको काममै व्यस्त रहे। 'हामीलाई त अब न राज्य न त पार्टी, कसैले पनि सम्झँदैनन्', केशव भन्छन्।
उनका बुबा मनबहादुर पुनलाई सेनाले २०५८ सालमा घरबाट गिरफ्तार गरी चार महिनापछि हत्या गरेको थियो। दिदी सम्झना पुनमगरको अर्घाखाँची आक्रमणमा २०५९ सालमै मृत्यु भएको थियो।
उनले अझै बुबा र दिदी दुवैको काजकिरिया गर्न पाएका छैनन्। उनले शवसमेत पाएनन्। वर्षगाँठका बेला परिवारलाई सम्झनाले सताउने केशव बताउँछन्।
त्यसो त युद्धका बेला जीवनसाथी गुमाएकी धबाङकी धनमाया पुनमगर पनि निराश छिन्। युद्धमा पतिको रगत बगे पनि सोचेजस्तो परिवर्तन नभएपछि उनी दुखित छिन्।
३० वर्ष हुँदा सिन्दुर पुछिएकी उनी जनयुद्धको वर्षगाँठका बेला लिबाङ बजारमा किनमेलका लागि आएकी थिइन्। वर्षगाँठमा कसैले नसम्झिएकोमा उनको गुनासो छ।
'हिजो भनेको जस्तो परिवर्तन पनि भएन। पीडितलाई संगठित गरेर सान्त्वना दिनेसम्म भएको छैन', धनमाया भन्छिन्, 'देशमा संविधान बनेपछि केही सुबिस्ता हुन्थ्यो होला।'
सरकार र माओवादी कसैले पनि पीडितलाई न्याय नदिएको काका गुमाएकी लिबाङ ९ गुरुङगाउँकी अमृता गुरुङ बताउँछिन्। ुपीडितलाई त वर्षगाँठ मनाएको समेत थाहा दिँदैनन्', गुरुङ भन्छिन्, 'हाम्रा आफन्त गुमेका छन्। कसरी बाँचिरहेका छौं भनेर कसैले सोधखोजसमेत गर्दैन।'
प्रहरीले गिरफ्तार गरेर तारेखमा राखेका बेला माओवादीले लिएर गएका उनका काका जुक्त बहादुर गुरुङलाई सेनाले पक्राउ गरी हत्या गरेको थियो।
२०५८ मा धबाङको गापागाउँमा काकाको क्षतविक्षत शव भेटिएको उनी सम्झिन्छिन्। स्वयं अमृता माओवादी आरोपमा ११ महिना कारागार बसिन्। पीडितका नाममा सरकारले करोडौं बाँडे पनि अमृताले राहत पाएकी छैनन्।
प्रत्येक वर्षको फागुन १ ले पुरानो घाउ बल्झाउने गरेको युद्धमा आफन्त गुमाएकाहरू बताउँछन्। युद्धका बेला जिल्लामा एक हजार ८४ जना मारिएका थिए।
माओवादीले कोटगाउँकी मेघमाली बुढामगरका पतिको हत्या गरिदियो भने सेनाले छोरा बेपत्ता बनाइदियो। वर्षगाँठमा बेपत्ता छोरा सार्वजनिक गरिदिए जाती हुने उनी बताउँछिन्।
युद्धका बेला कुनै न कुनै यातना वा दुस्ख भोगेका रोल्पाली परिवर्तन हुनुपर्ने र संविधान बन्नुपर्ने बताउँछन्। नेताहरू महलमा रमाउँदा हिजोको सपना ओझेलमा परेको रोल्पालीको अनुभव छ।
एमाओवादी, वैद्य माओवादी र विप्लव माओवादीले औपचारिक रूपमा अलगअलग वर्षगाँठ मनाए। तर सहिद परिवार र पीडितको सहभागिता कमै रह्यो। विप्लव माओवादीले थबाङमा विगतको रापताप झल्किने गरी वर्षगाँठ मनायो।
एमाओवादीले महासचिव कृष्णबहादुर महराको आतिथ्यमा कार्यकर्ता प्रशिक्षणसहित वर्षगाँठ मनायो। वैद्य माओवादीको कार्यक्रम कोठामै सीमित रह्यो। विगतको जस्तो वर्षगाँठमा गेट, तुल, ब्यानर र झन्डा थबाङमा बाहेक कतै देखिएन।
No comments:
Post a Comment