मदन पुरस्कार :पैसा कि प्रतिष्ठा !- कृष्ण अविरल
[ जनआस्थामा छापिएको लेखको पूर्ण अंश ।}
धेरै कमलाई थाहा भएको कुरा हो- मदन पुरस्कार गुठी तात्कालीन राणा प्रधानमन्त्री चन्द्र समशेरका पुल्पुलिएका कान्छा छोरा मदन समशेरले संकलन गरेको रक्सी बेचेको पैसाबाट सुरु गरिएको हो । महँगा-महँगा विदेशी रक्सी संकलन र सेवन गर्ने तथा दुनियाँका सुन्दरी युवतीहरु आफ्नो दरबारमा भेला पारेर मस्ती गर्ने अनौठो शोख भएका जन्मँदैका लेफ्टिनेन्ट जर्नेल मदनसमशेर जम्मा ३४ वर्षको अल्पायुमा २०१० सालमा बनारसमा बितेका थिए । उनी बितेपछि कलकत्तास्थित निवासमा कानुनलाई छलेर संग्रह गरिएका लाखौं मूल्य बराबरका दुई ट्रक अवैध रक्सी मदिरा निषेध गर्ने निकायबाट जोगाउन रातारात बगैँचामा खाल्डो खनेर गाडिएको थियो । रक्सी गाड्ने कामको अगुवाइ गरेका कमल दीक्षितले लेखेको स्तुति पुस्तक ुमदनगाथाुमा उल्लेख गरेअनुसार किङ अफ किङ्स, ह्वाइट हस्र, जोनी वाकर, लङ जान, भर्मुथ शेरी, बर्गन्डी भ्याट ६९ लगायत त्यो बेला निकै चर्को मूल्य भएका सर्वसाधारणले देख्नसमेत नपाउने रक्सी गाडिएको थियो । चेप्टा डल्ला छोटो घाँटी भएका लामो घाँटी भएका गरी रित्ता बोतलको पहाडै तयार भएको थियो । ती रक्सीसमेत दुनियाँलाई सित्तैमा बाँडेर बेचको सानो अंश मात्र थियो । एउटा बंगालीको सुझावपछि काठमाडौंको श्रीमहलमा संग्रह गरिएका रक्सीचाहिँ त्योबेलाका नामूद होटलहरुमा बेचियो । आएको सात लाख रुपैयाँबाट २०१२ सालमा यो गुठीको सुरुआत गरिएको थियो ।
भनिन्छ कमल दीक्षित र उनका पिता केदारमणि आ.दी.ले अपुता जगदम्बाको स्वामित्वमा रहेको अथाह सम्पत्ति हत्याउने गुप्त प्रपन्च अन्तर्गत यो गुठीको सुरुआत गरेका थिए । मदन समशेरका भित्रिनी पट्टिबाट गोपाल र यज्ञराज गरी दुई छोरा भए पनि विवाहिता जगदम्बाबाट कुनै सन्तान भएनन् । उनीले पतिको सानिध्य र मायासमेत पाउन सकिनन् । उनै जगदम्बा रानीलाई फस्ल्याङ फुस्लुङ पारेर हात पारेको सम्पत्ति मदन पुरस्कार गुठी साझा यातायात साल्ट ट्रेडिङ साझा प्रकाशन जगदम्बा प्रेस हिमाल एशोसिएसन रातो बंगला स्कुल आदिका नाममा लगानी गरेर हालिमुहाली गर्न पाएका भरमा क.दी. परिवार ‘प्रतिष्ठित’ हुँदै आएको छ । फेसबुकको साइटमा युवा श्रष्टा सम्राट मल्लले गरेको टिप्पणी निकै हदसम्म सत्य छ- ‘अहिले पनि कमल दीक्षितलाई मदन पुरस्कार गुठीको हर्ताकर्ताको हैसियतबाट अलग गरिदिने हो भने एउटा मामूली संस्मरणकारबाहेक नेपाली भाषा-साहित्यमा उनको कुनै हैसियत देखिँदैन ।’ मदन पुरस्कारका गुठीका एकल हर्ताकर्ता भएकै कारण उनले जे लेखे पनि पत्रपत्रिकामा छापिनु त्रिविको पाठ्यक्रममा पर्नु स्वाभाविक हो । एकान्तिक साधक मनुजबाबु मिश्रका शब्दमा उनी ‘एउटा ल्यापटपको कथा’ स्तरका चल्ला किताबहरुका लेखक मात्रै हुन् । तर दीक्षित परिवार यति ठूलो दम्भ राख्छन् मानौं कमल दीक्षितभन्दा महान र स्तुत्य साहित्यकार नेपाली साहित्य फाँटमा जन्मिएकै छैन !
नजिकबाट चिन्नेहरु कमल दीक्षितलाई ‘बहुरुपि महासामान्त’ भन्न मन पराउँछन् । उनी कुन हदसम्मका सामान्त थिए भन्ने कुराचाहिँ मदन पुरस्कार गुठीको स्थापनापछि जीवनपर्र्यन्त २०५४ सालसम्मका ४२ वर्ष कमल दीक्षितका ‘हजुरिया’ भएका बासुदेव लुइँटेल प्रमाण हुन् । २०१२ सालमा गुठीको सचिवका रुपमा सेवा सुरु गर्दा मासिक तलब २ सय पाउने भूतका भिनाजुले ४२ वर्षपछि १२ सय तलबमा अवकाश पाएका थिए । त्यो बीचमा उनले आफ्नो तलब बढाइदिन क.दी.सँग कयौँपटक बिन्ती गरे । तर उनले सामन्ती हप्काइबाहेक अरु केही पाउन सकेनन् । परैबाट गोबर र घोडाको लिदी गन्हाउने अँध्यारो कार्यकक्षमा बस्ने उनलाई दीक्षितले कयौँपटक कुकुरको गूहुसमेत हातले उठाएर फाल्न विवश बनाएका छन् । क.दी. व्यवहारका बारेमा आफ्नो स्मरणको एक ठाउँमा लुइटेलले लेखेका छन्- ‘कमलबाबूले आफ्नो मुखबाट ठूलो खकारको ढिक्का निकालेर वासुदेवजी आँ गर्नुस् भन्नु भो र मेरो मुखमा हालिदिनु भो भने पनि त्यो निलिदिन्छु । किनभने जीवनमा लास हुन पनि जान्नु पर्दोरहेछ ।’
जानकारहरुका भनाइमा बासुदेव लुइटेल गुठीमा कार्यरत रहँदासम्म नाम चलेका प्रायः सबै साहित्यकार उनलाई भेट्न गइरहन्थे । आर्थिक अवस्था कमजोर भएका कतिपय श्रष्टा पुरस्कारको आशले अनुहार देखाउन जान्थे भने कतिपयचाहिँ विद्धान बासुदेवसँग भलाकुसारीका लागि जान्थे । बासुदेवजीको कोठामा चहलपहल देख्नासाथ क.दी. पनि आफ्नो कार्यकक्षबाट आइपुग्थे । तर उनको विशेषता के थियो भने हरेकपटक कसैन कसैलाई होच्याउँथे । ‘सार्वजनिक रुपमा अरुलाई होच्याएर आनन्द लिनु कमलमणिको विशेषता हो ।’ दुईपटक साह्रै नमिठो अपमान व्यहोरेपछि वासुदेवजीलाई भेट्न जान छाडेको जानकारी दिने एकजना बयोबृद्ध श्रष्टा भन्छन् ‘उनको होच्याइ र अपमानबाट महाकवि त बचेनन् भने अरु को बचेको होला र !’
तर कमल दीक्षितले जतिसुकै चर्को अपमान गरे पनि प्रतिकारमा कोही बोल्न वा सार्वजनिक रुपमा लेखेर धतुरो झार्ने आँट विरलैले मात्र गरे । कलासाधक एवम् निर्भिक श्रष्टा मनुजबाबु मिश्रले एउटा निबन्ध लेखेर दीक्षितलाई कसाइ कंश कलाकारको हात काट्ने कि्रष्टफर लि। आदिसँग दाँज्दै ‘साहित्यसेवी भनिएका महासामान्त’ समेत भनेका छन् । ‘बान्धवी व्यवहारमा ब्वाँसोको चरित्र पाउँछु’ भन्दै निकै खरो भाषामा आलोचना गरिएको उक्त निबन्धमा दीक्षितको असली चरित्र उजागर गरिएको छ । तर नरेन्द्रराज प्रसाईँको षडयन्त्रका कारण उक्त निबन्धले सार्वजनिक हुने मौकै पाएन । दीक्षितबाट यस्तै पटकौँको होच्याइबाट हैरान भएपछि भरतराज पन्तले चाहिँ एक ठाउँमा लेखेका छन्-
देख्दाका कमलझैँ राम्रा बोल्दा शब्द विलक्षण
छाम्दा हृदयमा कैंची धूर्तका तीन लक्षण !
साहित्य वृत्त मात्र होइन उनी पारिवारिक नातागोताहरु माझ पनि उत्तिकै आलोच्य र घृणित छन् । यद्यपि उनी सबैतिरबाट आफ्नो स्तुति र जयगान होस् भन्ने चाहन्छन् । यसको प्रमाण ७२ वर्ष पुगेको अवसरमा उनले निकाल्ने तयारी गरेको अर्चना-ग्रन्थ यसको प्रमाण हो । त्यसका लागि उनले आकर्षक पारिश्रमिकसहित सम्पादक मण्डल बनाएर त्यसमध्येका एकजनालाई आफूले नजिकका ठानेका ७७ जना लेखकहरुको नामसमेत उपलब्ध गराए जसमा भान्जा दीपक ज्ञवाली भतिजाहरु अजय दीक्षित अर्जुनमणि आ।दी। सम्धी द्ववारिकानाथ खनाल सम्धिनी अंगुरबाबा जोशीलगायत मदन पुरस्कार र जगदम्बाश्रीद्वारा विटुल्याइएकाहरुको नाम थियो । आश्चर्य नै मान्नु पर्छ त्यहाँ भएमध्ये तीन जनाले मात्रै उनको अर्चना लेखे कन्चन पुडासैनी गोपाल पराजुली र मुकुन्दशरण उपाध्यायले । यतिसम्म कि दिनेश अधिकारीले पनि लेखेनन् पुरस्कार पाएवापत् स्तुति गायो भन्ने आरोप लाग्छ भनेर । भतिजाहरुले स्तुति लेख्ने कुरा सुन्नसमेत चाहेनन् । ‘उहाँले हाम्रा लागि के गर्नु भएको छ ? समाजका लागि के राम्रो गर्नु भएको छ र लेख्ने !’ कमल दीक्षितका भान्जा एवम् चर्चित जलस्रोतविद् दीपक ज्ञवालीले त ती सम्पादकसँग ठाडै भनेका थिए । सम्पादकको निकै अनुरोधपछि दीपकले भने ‘मैले लेखेको एक अक्षर पनि नकाट्ने हो भने लेख्छु । सक्नुहुन्छ ? त्यो वाक्य कमल दीक्षितलाई हुबहु सुनाउँदा उनको डरपोक प्रतिकि्रया थियो ुकहाँ हुन्छ त्यस्तो !
त्यसपछि त्यो अर्चनाग्रन्थ निकाल्ने जिम्मा दीक्षितले नरेन्द्रराज प्रसाईँलाई दिए । मोमिला जोशी प्रयागराज वशिष्ठ युवराज नयाँघरे ज्ञानेन्द्र विवश र यादवप्रसाद भट्टराईको सम्पादक मण्डल पनि बनाइयो । तर त्यो स्तुतिग्रन्थ गर्भमै तुहियो । अहिले त्यसको आरोप दीक्षितले प्रसाईँलाई र प्रसाईँले दीक्षितलाई लगाउँछन् ।
आफूलाई महान् ठान्ने कमल दीक्षितको परिवारिक व्यवहार पनि निकै आलोच्य छ । कुसेऔंसीका दिन जन्मेका कारण ‘औंस्याहा’ भनेर चिनिने उनलाई त्यसबेला हुनेखाने परिवारका कसैले पनि बिहेका लागि छोरी दिन तयार भएनन् । कमलमणिका पिता केदारमणि छोराको बिहे गरिदिन नपाएर हैरान भएको देखेपछि मदन समशेरले आफ्ना रखौटीहरु देखाउँदै भन्थे ‘ए च्वाँचे तँलाई कुन मन पर्छ छानेर एउटी लैजा ।’ स्मरण रहोस् तीन वर्षको वाल्यकालदेखि मदन समशेरको दरबारको जुठोपुरो खाएर हुर्केका कमल दीक्षितलाई मदन समशेरले बोलाउने नाम ‘च्वाँचे’ थियो । यसबारेमा दीक्षित आफैँले लेखेका ‘चल्ला किताब’हरुमा समेत उल्लेख छ ।
काठमाडौं वरपरका कसैले छोरी नदिएपछि कमल दीक्षितको बिहे रौतहटतिर घर भएका आर्थिक रुपले विपन्न पौडेल परिवारकी छोरी अन्जुसँग गरियो । लोकाचारका लागि ‘देवी’ भनेर पुकारिने गरिए पनि अन्जुको िसंगो जीवन प्रताडनामै बित्यो । पारिवारिक रुपमा जानकारहरका भनाइमा उनले बिहेपछिको जीवनमा कहिल्यै पनि आनन्दको श्वास फेर्न पाइनन् । ‘सासुससुरा छउन्जेल सासुससुराबाट यातना पाइन् त्यसपछि पति र छोराहरुबाट ।’ विगत १२ वर्षअघिदेखि पति र छोराहरुलाई देख्नै नहुने अल्जिमायस्र रोगले ग्रस्त भएर थलिएकी उनका बारेमा स्रोत भन्छ ‘उनको जीवन लाससरह छ ।’ चिकित्सकहरुका भनाइमा अल्जिमायस्र रोग लाग्ने प्रमुख कारण अतियातना हो । विडम्बना भन्नुपर्छ कनकमणि र कुन्द दीक्षितहरु नै यो देशका सबैभन्दा ठूला मानवअधिकार रक्षक भएका छन् ! उनीहरुको घरभित्रको चरम मानवअधिकार उलंघनका बारेमा कसले खोजीनीति गर्ने ?
केही वर्षअघि साझा यातायातमा आन्दोलन चलेका बेला कनकमणिका बारेमा लेखेर व्यानरमा टाँगिएको एउटा कवितांश यहाँ सान्दर्भिक नै हुन्छ-
सामन्तका छोरा कनक, हामीलाई नउठाउ सनक
कुनै दिन पर्नसक्छ तिमीमाथि हाम्रो दनक
अहिल्यै बुझिहाल यो कुराको छनक ।
विडम्बना भन्नु पर्छ नेपाली साहित्यकारहरु त्यस्ताहरुको तजविजीमा रहेका पुरस्कार थापेर विटुलिन तँछाड र मछाड गर्छन् । यदि दुई-दुई लाख रुपैयाँ नहुन्थ्यो भने कुनै राजनीतिक र सामाजिक हैसियत नभएका मदन र जगदम्बा समशेरका नाममा राखिएको पुरस्कार लिन को तयार हुन्थ्यो होला ! कमल दीक्षित र उनका छोराहरुको चाकरी गर्दै जयगान गाउने लाइनमा को उभ्भिन्थ्यो होला !
No comments:
Post a Comment