Saturday, August 2, 2014

श्यामार्पाको लागि बहादुर शाहले युद्ध रोजे‌‌‌‌... - Ekantipur

श्यामार्पाको लागि बहादुर शाहले युद्ध रोजे‌‌‌‌...



Syamarpa
काठमाडौ, श्रावण १७ - मृत्युको यो अनौठो संयोग नै मान्नुपर्छ। श्यामार्पा रिम्पोछे जर्मनीमा मृत्युबारे प्रवचन दिइरहेका थिए। उनले भनेका रहेछन्,
'मृत्युका बेला पनि कसरी ध्यान गर्ने हो, त्यो जानियो भने मृत्युलाई लिएर कोही डराउनुपर्ने छैन।' रेन्चेन उल्मको बोधिपथ बौद्ध केन्द्रमा भइरहेको त्यही प्रवचनकै क्रममा उनको निधन पनि भयो, हृदयाघातका कारण।
त्यसको ४९ दिनपछि रानीवनको श्यार मिन्हुन इन्स्टिच्युटमा उनको अन्त्येष्टि गरियो। त्यसका लागि काग्युपा सम्प्रदायका सबैभन्दा ठूलो धार्मिक गुरु कर्मापा आफैं काठमाडौं आएका थिए। अन्त्येष्टिपछि पनि धार्मिक पूजा एक साता चलिरहनेछ र त्यसमा पनि कर्मापाले भाग लिनेछन्। यी कर्मापा तिनै हुन्, जसलाई १७ औं अवतारका रूपमा दिवंगत श्यामार्पा रिम्पोछेले पहिचान गरेका थिए।
तिब्बतेली बौद्ध धर्ममा चार सम्प्रदाय पाइन्छ- निङ्मापा, काग्युपा, शाक्यपा र ग्यलुपा। काग्युपामा दुई प्रमुख धर्मगुरु हुने गर्छन्। एक कर्मापा हुन् भने अर्को श्यामार्पा। परम्परागत रूपमा उनीहरूबीच गुरु/चेलाको सम्बन्ध हुने गर्छ, किनभने श्यामार्पाको निधनपछि उनको नयाँ जन्म कहाँ हुनेछ, त्यसको घोषणा कर्मापाले गर्ने गर्छन्। कर्मापा रहेनन् भने नयाँ जन्मबारे श्यामार्पाले घोषणा गर्छन्।
हालका कर्मापा १७ औं हुन् भने श्यामार्पा १४ औं। अब कर्मापाले १५ औं श्यामार्पाको पहिचान गर्नेछन्। दिवंगत श्यामार्पाको वास्तविक नाम छोक्यी लोड्रो हो र उनको जन्म सन् १९५२ मा भएको थियो। सन् १९५९ यता उनले तिब्बत छाडेर सिक्किमलाई आपmनो केन्द्र बनाएका
थिए। दलाई लामा ग्यलुपा सम्प्रदायका हुन्। उनी राजनीतिक रूपमा बढी चर्चित हुने गर्छन्। तर धर्मको प्रचारमा भने काग्युपा र यिनै श्यामार्पाको सबैभन्दा ठूलो योगदान रहेको मानिन्छ, विशेषतः पश्चिममा। जिन वज्रधरले देशना गरेको गुह्य तान्त्रिक विद्या र मूल गुरुको आज्ञालाई अक्षरशः पालना गर्ने सम्प्रदाय नै काग्युपा हो। भुटानको राजकीय बौद्ध धर्म पनि काग्युपा सम्प्रदायमा पर्छ। दिवंगत श्यामार्पाले आफ्ना अनुयायीलाई सिकाउने मूल विषय मानसिक तालिम हो, जसलाई 'लोजोङ' भनिन्छ।
महामुद्रा नै लोजोङ हो। शून्यताको ध्यान र परम्परागत बौद्ध धर्ममा उनको विशेष दख्खल थियो। नेपालमा पनि काग्युपा र श्यार्मापा लोकप्रिय रहेको छ, विशेषतः नेपालमण्डलका बौद्ध अनुयायीहरूमा। नेपाली इतिहाससँग पनि श्यार्मापाका अवतारहरूको सम्बन्ध रहेको पाइन्छ । दसौं श्यामार्पाले नेपालमा शरण लिएपछि सन् सत्र सयतिर तिब्बतसँग युद्ध भएको थियो ।
तत्कालीन शासक बहादुर शाहले आफ्नो शरणमा आएकालाई मरण दिनु हुन्न भनेर दसौं श्यामार्पालाई तिब्बतमा फिर्ता पठाएनन्, बरु युद्ध रोजे। पछि दसौं श्यामार्पाको काठमाडौंमै निधन भएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुआत र त्यससँग नेपालको व्यापारिक सम्बन्ध सुरुयतादेखि नै काठमाडौंमा त्यसको प्रभाव परेको मानिन्छ। जुन अझसम्म कायम छ। त्यसैले श्यामार्पा रिम्पोछेको सम्झनामा
नेपालमण्डलको पम्पराअनुसार पूजा पनि गरिएको थियो, जसको नेतृत्व नरेशमान वज्राचार्यले गरेका थिए।
आठौं श्यामार्पाको जन्म हेलम्बुमा भएको विश्वास गरिन्छ। दसौं श्यामार्पाको अस्थिधातु काठमाडौं असनको तक्ष बहालमा सुरक्षित रहेको मानिन्छ, जसको पहिचान १४ औं श्यामार्पा रिम्पोछेले गरेका थिए।
लगभग १२ वर्ष अगाडि तक्ष बहालको एक आँगनको पुनर्निर्माणका क्रममा काठको सन्दुक भेटिएको थियो। त्यस सन्दुकबारे त्यति बेला नै जानकारी नभए पनि पछि श्यामार्पा रिम्पोछेले त्यसलाई पहिचान गरे र त्यो नै दसौं श्यामार्पाको अस्थिधातु भएको बताएका थिए। त्यति बेला श्यामार्पा रिम्पोछे स्वयं आफ्नो कुल घर खोज्ने क्रममा त्यहाँ आइपुगेका थिए। त्यस क्रममा त्यहाँ ठूलो पूजा चलेको थियो र
श्यामार्पा रिम्पोछेले त्यस अस्थिधातुलाई आफूसँगै लगेका थिए। अहिले भने १४ औं श्यामार्पा रिम्पोछेको अस्थिधातु राखेर रानीवनको श्यार मिन्हुन इन्स्टिच्युटमा चैत्य निर्माण हुनेछ र यसले तीर्थस्थलकै रूप लिने विश्वास गरिएको छ। इन्स्िटच्युटको निर्माण पनि बौद्ध धर्मको अध्ययनकै लागि भएको थियो।
प्रकाशित मिति: २०७१ श्रावण १७ १०:०४ 

No comments:

Post a Comment