Sunday, September 1, 2019
Thursday, April 11, 2019
ललिता निवासको जग्गा अपचलनका विषयमा - हरी अधिकारी
नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । प्रधानमन्त्री, प्रधान न्यायाधीश र केही वर्ष पहिलेसम्म राजसभा (परिषद) को अध्यक्षको समेत सरकारी निवास रहेको ठूलो क्षेत्रफल ओगटेको सो जग्गामध्ये करीब १२४ रोपनी भूमाफिया गिरोहको षड्यन्त्र र सरकारी पदाधिकारीहरूको मिलेमतोमा विभिन्न व्यक्तिको नाममा ल्याई खरीद बिक्री गरिएको सबुत प्रमाण भेटिएको छ । सरकारी जग्गा अपचलनको यो घृणित खेलमा जग्गादाता उदारहृदय जनरल सुवर्ण शमशेर जबराका छोरा रुक्म शमशेर राणा स्वयम्को समेत सक्रिय सहभागिता देखिनु चाहिँ यस घृणित खेलको सबैभन्दा दुखद पक्ष रहेको छ । सुकीर्तिवान् पिता जनरल सुवर्णका प्रतापले रुक्म शमशेरले राज्यका ठूल्ठूला ओहोदा समेत प्राप्त गरेको प्रसङ्गमा हेर्दा बाबुले दिएको दानमाथि उनले राखेको कुदृष्टि धेरै नै खेदजनक बन्दछ ।
अहिले सार्वजनिक भएका सरकारी दस्तावेजहरूले खुलासा गरे अनुसार सो सरकारी जग्गा हडप्ने कुत्सापूर्ण योजना मुख्यत: भाटभटेनी सुपर मार्केट चेनका मालिक मीनबहादुर गुरुङ, र घरजग्गा कारोबारी रामकुमार सुवेदी तथा शोभाकान्त ढकालले बनाएको र त्यसलाई आफ्नो समयका शक्तिशाली नोकरशाह + मन्त्रीद्वय छविराज पन्त र माधवप्रसाद घिमिरेले आफ्नो अख्तियारको दुरुपयोग गरी टुङ्गोमा पुर्याएका थिए भन्ने देखिन्छ । आफ्नो समयका ती निकै चल्तापुर्जा नोकरशाहहरूले गरेको अख्तियारको दुरुपयोगलाई रोक्नुपर्ने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपबहादुर बस्नेतले त्यसलाई रोक्नुको सट्टा दुरुत्साहन गरि सो लूटबाट आफ्नो हिस्सा लिएको रोचक प्रसङ्ग पनि हालै उदाङ्ग भएको छ । गुरुङहरूले गरेको लूटबाट हिस्सा हत्याउने काममा दीप बस्नेतलाई धेरैले साथ दिएको देखिन्छ जसमध्ये अलि बढी चर्चा पाएका छन् सत्ताशीन दलका महासचिव, पदाशीन सांसद एवम् पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले । लुम्बिनी अञ्चलका प्रभावशाली वामपन्थी नेता पौडेलले पनि सरकारी जग्गा ब्रह्मलूटमा सामेल भई काठमाडौको उच्चमहत्वको इलाका बालुवाटारको ८ आना बहुमूल्य जग्गामा हातसाफ गरेका रहेछन् ।
ललिता निवासको सो सरकारी जग्गा हिनामिनाको यो ममिलाको अहिले सम्वन्धित सरकारी निकायहरूले छानबीन गरिरहेका छन् । सरकारले हालै क्याबिनेट स्तरको निर्णय गरेर सरकारको नाममा भएको ललिता निवासको सम्पूर्ण जग्गा जसले जे-जस्तो हथकण्डा अपनाएर व्यक्तिको नाममा ल्याएको भए पनि त्यस्ता सबै कारोबारलाई अवैध मान्दै सो जग्गा आफ्नै भोगचलनमा ल्याउने निर्णय गरेको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नारा दिँदै भित्रभित्रै एनसेल, नेवानि वाइड्बडी, टेलिकम फोरजी आदिमा अर्बौँ रूपैयाँ झ्वाम् पार्नेहरूप्रति हदैसम्मको सहिष्णु रहेको खड्गप्रसाद ओली सरकारले यस मामिलाका सन्दर्भमा लिएको सही निर्णयको भने सबैले तारिफ गरेका छन् ।
ललिता निवासको जग्गा षड्यन्त्रपूर्वक दाबेको यो प्रकरण सार्वजनिक भएपछि भूमाफियाहरूको लूटका मतियार बनेका नेकपा महासचिव विष्णुप्रसाद पौडेलले आफूले बालुवाटारको सो जग्गा अमुक व्यक्तिबाट निश्चित मूल्य तिरी खरिद गरेकाले आफू निर्दोष भएको दावी गर्दै विज्ञप्ति निकालेका छन् । तर यथार्थमा निम्न तथ्यहरूले पौडेलको दावीलाई असत्य र पानीमाथि ओभानो हुने असफल प्रयास साबित गर्दछन्:
१. ललिता निवास परिसरभित्र पर्ने सरकारी जग्गा विवादरहित हुन, वैधानिक रूपले अमुक व्यक्तिको स्वामित्वमा आउन र त्यसको किनबेच हुन सक्दैन भन्ने कुरो राजनीतिका चतुर खेलाडी र देशको केन्द्रीय सत्तामा रहेका व्यक्ति पौडेलले थाहा पाएका थिएनन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।
२. विष्णु पौडेलले अफ्ना छोरा नवीन पौडेलका नाममा सो जग्गा प्रतिआना ७ लाखमा किनेको भन्ने कुरो बाहिर आएको छ । बालुवाटारको त्यस इलाकामा कम्तीमा पनि प्रतिआना ५० लाखमा जग्गाको किनबेच भइरहेको त्यसबेलामा ७ लाख आनामा ८ आना जग्गा किन्न पाउँदा नेकपा महासचिवले कुनै गडबडीको आभास पाएका थिएनन् होला भन्ने कुरा पत्याउँन सकिन्न ।
३. वास्तवमा नेकपा महासचिवलाई त्यो षड्यन्त्रको बारेमा पूरापूर जानकारी थियो र सम्भवत: त्यस अपचलनको एक सहजकर्ता भएकाले नै यिनले मात्र ५६ लाखमा करीब ४ करोड पर्ने जग्गा हातलागी गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ । यस सिलसिलामा ललिता निवासको सरकारी जमिन भूमाफियाको पोल्टामा हालिदिन अहम् भूमिका खेलेका आफ्नै भेगका पूर्व मुख्य सचिव र मन्त्री माधवप्रसाद घिमिरेसँग पौडेल महोदयको कुनै प्रकारको कार्यगत सम्बन्ध रहेको पनि हुन सक्दछ भनियो भने त्यसलाई निराधार भन्न मिल्दैन ।
यही कुरो दीपबहादुर बस्नेत र छविराज पन्तका हकमा पनि लागू हुन्छ । नेपालको निजामती सेवामा काम गरेका व्यक्तिहरूमध्ये जागिरकै स्रोतबाट निकै धनाढ्य बन्न पुगेका मानिने बस्नेत र पन्त दुबैले पनि यस मामिलालाई लिएर आफ्नो कुरो नेपाली जनताका सामु राख्लान् नै । तर उनीहरूसँग पनि पानीमाथि ओभानो र साखुल्ले बन्न विष्णु पौडेलको जस्तै लङ्गडो तर्क पेस गर्नु बाहेक उपाय केही हुने छैन भन्ने अनुमान ढुक्कैसँग गर्न सकिन्छ ।
ललिता निवास जग्गा काण्डको सन्दर्भ पारेर अवैध अकूत सम्पत्ति आर्जन गरेका भ्रष्टहरू, सरकारी जग्गा हडप्ने माफिया समूह र कालो धन सेतो बनाउने उद्यममा लागेका डनहरूमाथि अनुसन्धान गरी तिनलाई कानूनी करबाहीको दायरामा ल्याउन सक्ने हो भने नेपाली समाजको सुद्धीकरणको प्रक्रिया केही अगाडि बढ्ने थियो जस्तो लाग्छ । यस्ता बहादुरहरू को को हुन् र तिनले के कस्ता कारनामा गरेका छन् भन्ने कुरा पत्ता लगाउने जिम्मेवारी भने सरकारी निकायको हो ।
प्रसङ्गबश: भाटभटेनीवाला मीनबहादुर गुरुङको कुरा गर्न सकिन्छ । भनिन्छ यी गुरुङले डिपार्टमेण्ट स्टोरको कन्सेप्ट नेपालमा भित्र्याएका हुन् र त्यसैबाट यिनी स्वनिर्मित अर्बपति बनेका छन् । सायद यो कुरो सही हो । तर विगत अढाइ तीन दशकभित्र भाटभटेनी सपिङ मल चेनको तीव्र गतिमा भएको विस्तार, यिनले गरेको लगानीको अंक र यिनको स्वामित्वमा आएको रियल एस्टेटको वृहत् आकारलाई हेर्ने हो भने त्यो सब स्वाभाविक र वैध आर्जनबाट सम्भव छ भनेर कसैको पनि सहज विवेकले स्वीकार गर्न सक्दैन । एउटा पसलेले सामान बेचे बापत वैध रूपमा पाउने १० देखि २० प्रतिशत कमिसनबाट १०/१२ वर्षमा डेढ दर्जन भन्दा बढी वृहदाकारका सपिङ मल कुनै पनि हालतमा बनाउँन सक्दैन । भाटभटेनी गुरुङले सपिङ मल बाहेकका अरू धेरैवटा भवन, जग्गा, ब्याङ्क र चन्द्रागिरी केबल कार जस्ता परियोजनामा गरी अर्बौँ रुपैयाँ लगानी गरेका छन् भनिन्छ ।
गुरुङ जस्तै विगत दुई तीन दशकमा पत्याउँनै नसकिने परिमाणमा धन सम्पत्ति जोड्ने केही दर्जन मानिसहरू छाएका छन् आजको नेपालको सार्वजनिक जीवनमा । अजेयराज सुमार्गीलाई पनि त्यस्तै एक नवकुबेर भन्न सकिन्छ । त्यस्तै महाधनी एक कालु मनाङे छन् र अर्का छन् भुजुङ गुरुङ । कुनै खुमा अर्याल भन्ने छन् र छन् कुनै इच्छाराज तामाङ पनि । यो लिस्ट लामो छ र सबैको नाम थाहा छैन । नाम लिएर साध्य पनि हुँदैन सायद । यी चतुरेहरूले कस्तो अक्किल लगाएर देशको सम्पत्ति ख्वाप्पै आफ्नो पोल्टामा पारे होलान् त भन्ने कुरामा भने यसो घोत्लिन सकिन्छ । मेरो विचारमा अहिले उद्योगपति व्यापारी बाहेकका भुइँफुट्टा अर्बपतिहरूको धन-सम्पत्तिका मुख्य स्रोतहरू तल दिएअनुसार हुन सक्छन्:
१. माओवादीहरूले कथित जनयुद्धका नाममा लुटेको सम्पत्तिको गतिलो अंकमा कमिसन लिई व्यवस्थापन गरेर ।
२. जल विद्युत, सडक र सञ्चार जस्ता ठूल्ठूला परियोजनाहरू आफूलाई पैसा ख्वाउनेहरूका हातमा पार्ने गरी सरकारबाट नीतिगत निर्णय गराएर ।
३. उपत्यकाका धार्मिक, राज र सामाजिक गुठी तथा सरकारी स्वामित्वका जग्गा षड्यन्त्र र भ्रष्टाचारका बलमा हत्याएर ।
४. यिनीहरूले नेपालका निजी क्षेत्रका अधिकांश वाणिज्य ब्याङ्कहरू र फिनान्स् कम्पनीहरूसँग दुरभिसन्धि कायम गरेका छन् । त्यस्ता मित्रवत् ब्याङ्किङ संस्थाहरूबाट यिनीहरू आफूले धेरै गुना लागत बढाएर तयार गरेका परियोजनाका निम्ति ठूलो राशीको कर्जा लिन्छन् र सो रकम अन्यत्र लगानी गर्दछन् ।
५. नेपालको निजामती, सेना र प्रहरी सेवामा काम गरिरहेका र अवकासप्राप्त कर्मचारीहरूले भ्रष्टाचार गरेर कमाएको कालो धनलाई कमिसनमा सेतो बनाएर । यी नवकुबेरहरूले त्यसै प्रयोजनका लागि आफ्नो र विश्वासी कामदारहरूका नाम्मा समेत देश विदेशमा अनेक प्रकारका कम्पनी र व्यावसायिक फर्महरू खोलेका छन् ।
६. आफूले बेच्ने सामान र सेवाको मोल जहिले पनि उचित भन्दा बढी राखेर र वर्षौँदेखि सरकारी कर छलेर ।
७. ती मध्ये केहीले तस्करीका राष्ट्रिय/अन्तर्राष्ट्रिय र्याकेटहरूमाथि मिटर ब्याजमा लगानी पनि गर्दछन् ।
८. करमुक्त आर्थिक कारोबार गर्ने मुलुकहरूमार्फत नेपालमा जम्मा भएको कालो धन सेतो बनाउँने धन्दा चलाएर ।
हाम्रो देशमा काम-धाम, उद्योग-धन्दा, बन्द-व्यापार केही पनि नगर्ने, खाली मुख मात्र चलाउने, के गर्नु हुन्छ ? भनेर कसैले सोध्यो भने फलानो पार्टीमा छु, राजनीति गर्छु भन्ने एउटा ठूलै जमात पनि छ जुन सरदर पढेलेखेको नेपालीको तुलनामा कैयौँ गुना धनी छ, जसले राजधानीमा भव्य घर बनाएको छ, जो कम्तीमा पनि महिन्द्रा कम्पनीको स्कोर्पियो जीप चढ्छ, जसका स्त्रीहरू पाँचतारे बुटिकमा गएर फेसियल गराउँछन् । त्यस्ता राजनीतिबाजहरूका कुलदीपकहरू अस्ट्रेलिया, बेलायत वा अमेरिकाका विश्वविद्यालयहरूमा पढ्छन् ।
हाम्रो समाजका त्यस्ता समतावादी/समाजवादी राजनीतिक अगुवाहरूको आमदानीको स्रोत के होला ? भनेर म कहिलेकाहीँ यसो घोरिन्छु तर छेउ टुप्पो फेला नपरेर हैरान हुन्छु । अब यस कुराको अनुमान लगाउँने जिम्मा तपाइँहरूलाई दिन चाहन्छु । हाम्रो देशका बहालवाला र साबिक मन्त्री- प्रधानमन्त्रीहरूका महाऎश्वर्यशाली पत्नीहरूको शान शौकत देखेर पनि म प्राय: छक्क पर्छु । ज्ञान र सीपका हिसाबले कोर्काली र अधिकांश बेसोमत स्वभाव भएका यी ठस्सादार आइमाईहरू कसरी यति चाँडै यस्ता धनी भएका होलान् भन्ने कुराको पनि मैले भेउ पाउन सकेको छैन । तपाइँलाई पो थाहा छ कि? छ भने कुनै धन्दा नगरी करोडौँ कमाउने मन्त्र मलाई पनि सुनाउनु होला । म मेरी पत्नीलाई सिकाउँछु ।
Saturday, February 16, 2019
आजका पुष्पकमल - खगेन्द्र संग्रौला
वृक्ष असल हो, वृक्षमा लाग्ने ऐजेरु खत्तम । आत्मजीवी वृक्ष आफ्नो खाना आफै बनाउँछ, परजीवी ऐजेरु वृक्षलाई चुसेर जिउँछ । उपकारी वृक्ष अलिकता आफ्नो लागि, अलिकता अरुको लागि जिउँछ, हरिप ऐजेरु केवल आफनो लागि र पूरै आफनो लागि जिउँछ । त्यो पनि हर्दम् अर्काको जिउमा टाँसिएर, अहोरात्र अर्कालाई चुसेर ।
कुरा अब पुष्पकमलको । हिजोका पुष्पकमल आज रहेनन्, आजका पुष्पकलम हिजोका होइनन् । हिजो लोक भन्थ्यो— पुष्पकमल
फयाङ्ला हुन् । काँधमा इतिहासको ठूलो जिम्मेवारी छ, तर जिम्मेवारीको गुरुताको पर्बाह नगरी बोल्छन् । नसोची बोल्छन्, बोलेर बिगार्छन्, बिगारेर सपार्न खोज्दैनन् । यदाकदा मैले बिगारेँ भनिटोपल्छन्, र भन्दाभन्दै भनेको बिर्सिन्छन् । बिगारेर कहिल्यै नसच्याउने बिगार सिंह मिस्टर पुष्पकमल ! यो हो पुष्पकमलको हिजोको औतार । पुष्पकमलले रचेको, लोकले देखेको । देख्नेले देखेको भनेको, सुन्नेले देख्नेले भनेको कहिल्यै नमानेको ।
फयाङ्ला हुन् । काँधमा इतिहासको ठूलो जिम्मेवारी छ, तर जिम्मेवारीको गुरुताको पर्बाह नगरी बोल्छन् । नसोची बोल्छन्, बोलेर बिगार्छन्, बिगारेर सपार्न खोज्दैनन् । यदाकदा मैले बिगारेँ भनिटोपल्छन्, र भन्दाभन्दै भनेको बिर्सिन्छन् । बिगारेर कहिल्यै नसच्याउने बिगार सिंह मिस्टर पुष्पकमल ! यो हो पुष्पकमलको हिजोको औतार । पुष्पकमलले रचेको, लोकले देखेको । देख्नेले देखेको भनेको, सुन्नेले देख्नेले भनेको कहिल्यै नमानेको ।
अनि आजका पुष्पकमल ? यी अर्कै मनुवा हुन् । मूल औतारबाट कायाकल्प भएका । स्खलित अर्थात् जीवनको उदात्त उचाईबाट तल निकृष्ट रसातलमा गिरेका । प्रतीकात्मक अर्थमा भनूँ भने निहित स्वार्थको खुँखार परचक्र्रीका पाउबाट पैदा भएका । यी पुष्पकमल बोल्दैनन् । बालकृष्ण समको भाषामा बोलिहाले तौलीतौली बोल्छन्, मनको ढोका खोल्दैनन् । छनलाई बोल्ने यिनको पुरानो अम्मल छ । बोल्न जिब्रो चिलाउँछ । घरिघरि बोलूँबोलूँ लाग्छ । बरा पुष्पकमलका ओेठ खुल्न के खोज्छन्, उनका आँखा ख्वामित् ओलीमाथि परिहाल्छन् । अनि डर लाग्छ । के को डर ? पदका लागि कृपा नपाइएला कि ? रहलपहल स्वाँगे प्रतिष्ठा खुइलिएला कि ? धनदौलत बटुल्ने मेसो टुट्ला कि ? ठाँठबाँट, ऐसआराम, मोजमज्जा आदिको मुहान सुक्ला कि ? कतै भौतिक अस्तित्व नै पो खतरामा पर्ला कि ? बस्, आदि इत्यादिको डर । बिचरा निरन्तर नानाओली डरहरूको लखेटाइबाट हैरान छन् श्री पुष्पकमल ।
हिजोका कमसल पुष्पकमल ज्याती बकबक गर्थे । तथापि ढङ्ग नपुगे पनि त्यो बकबकमा लोकको अमनचैनको चिन्ता बोल्थ्यो । त्यो पटरपटरमा समयको धड्कन झल्किन्थ्यो । र, त्यो टाइँफाइँकर्ता जानी नजानी इतिहासका पदचाप सुनिरहेको हुन्थ्यो । ती पुष्पकमल धोरथोर जीवन्त थिए । बेढङ्गे थिए, तथापि ती जनताका साथी थिए, शुभचिन्तक थिए, न्यायको संग्राममा सहयोद्धा थिए । अनि आजका असल पुष्पकमल ? यिनको तालै बेग्लै, सुरै बेग्लै । निर्मला हत्याकाण्ड घटित हुन्छ । आजका पुष्पकमलभित्र कताकता हिजोका पुष्पकमलको शेष धुकधुकी सल्बलाउँछ । उनलाई अन्यायविरुद्ध बोल्न खसखस लाग्छ । तर सम्झनामा झल्याँस्स ओली सर आउँछन् । पुष्पकमल देख्छन्— ओली सर निर्मला हत्याका जिउँदा प्रमाणलाई लुकाउन आतुर छन् । पुष्पकमल भयभीत हुन्छन् । र, बोल्न तम्सिएको जिब्रोलाई चिम्टीले च्याप्प अँठ्याउँछन् । किन ? जहाँ श्रीराम बोल्छन्, त्यहाँ नाथे हनुमान बोल्दैन । बोल्न मिल्दैन । अदपले दिँदैन । स्वार्थले बक् बन्द गर्छ ।
मन्त्री र सांसद मध्ये दिनको सूर्यसामु भष्टाचार गर्छन् । पुष्पकमल बोल्दैनन् । किन ? किनभने ओली सरले यिनको भष्टाचारको प्रतिरक्षा गरिसकेका हुन्छन् । राजा बन्न रहर गर्ने राष्ट्रपतिको खर्चालु बिलासले सगरमाथाको शिखर छुन खोज्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने कार्यकारी ओलीका नाकमा राष्ट्रपतिको विलासमोहबाट बास्ना आउँछ । रेल, तेल र पानीजहाजका बतासे किस्सा सुनेर यथार्थवादी लोक अट्टहास गर्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने यी बतासे किस्साहरू कार्यकारी ओलीका मौलिक सिर्जना हुन् । क्रान्तिको रगतपच्छे गर्भबाट जन्मेका नवजात प्रदेशहरू अख्तियार र श्रोतसाधन नपाएर धुरुधुरु रुन्छन् । पुष्पकमल बोल्दैनन् । किन ? स्वयम् ओली प्रभु सिंहदरबारमा सारा अख्तियार र श्रोतसाधन मुठ्याएर बसेका देखिन्छन् । आन्तरिक जनवादको गलो निमोठिँदा पार्टी प्याकप्याक हुन्छ । पुष्पकमल बोल्दैनन् । किन ? अँठ्याउने हात ओली महोदयका हुन्छन् । बजार भाउले आकाश छुन्छ र गरिब जनगण अर्ध–भोको रहन अभिशप्त हुन्छ । पुष्पकमल बोल्दैनन् ।
किन ? सुखसुबिधाको चाङमाथि उभिएका ओली ब्रोको तथ्याङ्कमा बजार भाउ घटेको घटेई हुन्छ । आखिर श्री ओलीसामु पुष्पकमल किन यतिबिधि मौन ? किन यतिबिधि थुरथुर ? किन यतिबिधि निस्तेज ? किन यतिबिधि मृतवत् ? किनभने ओली सर दिने उच्च आसनमा छन्, पुष्पकमल तल माग्ने धूलोमा छन् । किनभने ओली रैथाने हुन्, पुष्पकमल आयातीत । ओली मालिक हुन्, पुष्पकमल ओलीमाथि आश्रित । ओली दम्भी कृपादाता, पुष्पकमल आत्महीन याचक ।
गजप छ बा ! पुष्पकमल आफ्नो इतिहासलाई कुल्चिँदै, आफ्ना एजेण्डालाई थुक्दै, आफ्नै प्रतिबद्धताको तेजोबध गर्दै जहाँ गएका छन्, त्यहाँ उनी असल मानिन्छन् । किन ? किनभने जहाँ यथास्थितिको पूजा हुन्छ, त्यहाँ पूजक असल मानिन्छ । जहाँ सनातनी रुढिको जयगान हुन्छ, त्यहाँ गायक असल मानिन्छ । जहाँ इतिहासको आँधीबेरीबाट उठेका रक्तरञ्जित मुद्दाहरूको बध गर्न हर्दम् यत्न गरिन्छ, त्यहाँ बधकारी नवागन्तुक असल मानिन्छ । बस्, आजका पुष्पकमल असल, हिजोका पुष्पकमल कमसल । कसका दृष्टिमा ? तिनका दृष्टिमा, जो शोषक सत्तामा हिजो ढलिमली गरिरहेका थिए । र, तिनका दृष्टिमा जो उही शोषक सत्तामा आज पनि ढलिमली गरिरहेकै छन् ।
आजका असल पुष्पकमलको चित्तमा आक्कल–झुक्कल हिजोका कमसल पुष्ककमलको शेषांश बोल्न खोज्छ । कन्दै भन्न खोज्छ त्यो— पुकदा सर, खै त्यो हाम्रो समानताको प्रिय मु्द्दा ? खै त्यो हाम्रो पहिचानको दमित आकांक्षा ? खै त्यो हाम्रो बराबरीको मान्यता धर्मनिरपेक्षता ? खै त्यो हाम्रो सर्वसमावेशिताको सपना ? खै त्यो हाम्रो न्यायोचित प्रतिनिधित्वको चाहना ? र, खै त्यो हाम्रो आरक्षणको कामना ? असल पुष्पकमललाई कसोकसो हल्का जङ चल्छ । र, उनी ड्याङ्ग केही भन्न खोज्छन् । तर उनी हठात् झस्किन्छन् । काम्दै यसो हेर्छन्— श्रीरामतुल्य मान्यवर खड्गप्रसाद ओली समीपमा छन् । यी जे जे मुद्दा हुन्, यी सबै तिनका बैरी हुन् । अब भन्नोस्त ब्रो, श्रीरामलाई जे जे मन पर्दैन, मातहती हनुमानलाई त्यो त्योको पैरबी गर्न कसरी मिल्छ ? बरा लोकका याबत् सपनालाई लत्याउँदै आप्mनै तुच्छ स्वार्थको झुत्रे झोला बोकेर श्रीरामसामु भिख माग्न अभिशप्त हनुमानका यी नानाओली दुःख !
www.sansarnews.com बाट साभार
Sunday, January 20, 2019
जनयुद्धको पीडा: हाम्रो भात पनि खाए, १ लाख रुपैयाँ चन्दा लिए र माओवादीहरुले आमालाई पनि मारे ! -
काठमाडाै। २०६० साल साउन ३२ गते हाम्रो गाउँ रामेछापको दोरम्बामा माओबादीले पार्टीकाे योजना निर्माण गर्न भनेर बैठक बसेको थियो । माओवादीले बैठक गर्दैछ भन्ने तत्कालीन शाही नेपाली सेनाले थाहा पाएछ । गाउँको शिक्षक युवराज मोक्तानको घरमा माओबादी नेता तथा कार्यकर्ताहरु छलफल गरेर बसेका रहेछन् । त्यही समय पारेर मन्थलीबाट तत्कालीन मेजर राममणि पोखरेलको नेतृत्वमा आएको नेपाली सेनाले घेराउ गर्दा २१ जना माओबादी नेता तथा कार्यकर्ता मारिए ।
यो घटनापछि हाम्रो गाउँमा ठूलो सन्त्रास छाएका थियो । हामी जस्तो सर्वसाधारण बाच्नको लागि पहिलाभन्दा झनै डरमर्दो अवस्था भयो । किनकि, हामी सबै गाउँलेहरु माओबादी तथा सेनाको निशानामा थियौं । माओबादीलाई संरक्षण दिएको अरोप सेनाले लगाउँथे भने सेनालाई सुराकी दिएर हाम्रो साथीहरु शहिद भएको भन्दै माओबादीहरु आक्रोशित भएका थिए । दोरम्बा घटनाले हाम्रो गाउँमा हैन, देश विदेशमा तरंग ल्याएको थियो । त्यस घटनाको पक्ष तथा विपक्षमा आवाज उठ्न थालिसकेको थियो । त्यो घटना सही वा गलत के थियो हामी जनताले छुट्याउने अवस्था थिएन । हामी अब के हुने हो र कतिबेला मरिने हो भन्ने अवस्थामा थियौं ।
मेरो आमा रेलिमाया तामाङ २०६० साल भदौ १५ गते माओबादीको अपहरणमा पर्नुभयो । ४४ वर्षको एउटा महिलालाई माओबादीले कायरपन देखाएर अपहरण गर्यो । आमा घरमै हुनुहुन्थ्यो २ जना केटी घरमै आए । ‘तपाईलाई तल बोलाएको छ । तपाईसँंग काम छ ’ भन्दै लिएर गए । त्यसपछि हामी सशंकित भयौं । माओबादीहरुले ‘अब कसैलाई बाँकी राख्दैन, सुराकी यही गाउँमै छ’ भन्दै गाउँगाउँ हिडेका थिए । निर्दोष भए पनि बन्दुकको अगाडि नडराउने गाउले कोही थिएनन् ।
माओबादीको डरले गाउँबाट धेरैजसो विस्थापित नै भईसकेका थिए । हामी चाहीँ आमाको कारणले गाउँमै बसेका थियौ । ‘गल्ती नै छैन किन डराउनु’ भन्दै आमा नडराई उनीहरुसँंग जानुभयो । आमालाई लगेको केही समयपछि गोली पड्केको आवाज आयो । हामी झनै शसंकित बन्यौ । हाम्रो आमासँंगै गाविस अध्यक्ष भिमबहादुर तामाङलाई पनि लगेको रहेछ । भिम बहादुर आलु व्यावसाय गर्ने व्यापारी र नेपाली कांग्रेससँंग आवद्व थिए । त्यसैगरि डिकबहादुर तामाङलाई पनि लगेको रहेछ । त्यो दिने त्रासमै बित्यो खबर गर्न नजिकै प्रहरी चौकी थिएन । गाउलेहरु खोज्दै जान असम्भव थियो ।
भोलिपल्ट डाँडामा मेरो आमाको लास भेटियो । गोली ठोेकेर विभत्स तरिकाले रक्ताम्मे पारेर मेरो आमाको हत्या गरिएको थियो । तर लास देखे पनि त्यो लास उठाउने हिम्मत कसैमा थिएन । पर्सीपल्ट सेनाको हेलिकप्टर आएर लास उठाएर गयो । मेरो आमासँंगै अरु २ जनालाई पनि माओबादीले हत्या गरेको थियो । जसको वर्णण म गर्न सक्दिनँ । जनयुद्धमा माओबादीले मारेको पहिलो महिला सर्वसाधारण मेरी आमा हुन् ।आमा स्वास्थ्य कार्यकर्ता हुनुहुन्थ्यो । दोरम्बा हत्याकाण्ड भएको केही समयपछि भदौ ८ गते आमा औषधि लिन काठमाडौं आउनुभएको थियो । काठमाडौं आएर गाउँ फर्किएपछि त्यति अगाडि घटेको घटनाको सुराकीको आरोपमा मेरो आमालाई माओबादीले हत्या ग¥यो । जुन आरोप कुनै पनि तरिकाले सही थिएन । अनुसन्धान नै गरेको भए पनि सही सावित हुँदैन थियो । हामी एमाले कांग्रेस र माओबादी कुनै पार्टीमा संलग्न भएको मान्छे होईनौं । आमा सरकारी कर्मचारी भएको नाताले त्यस्तो गर्नुपर्ने जरुरी नै थिएन । मलाई लाग्छ माहोबादीले सरकारसंँगको बदला हाम्रो परिवारसंँग लियो । नत्र निर्दोष सरकारी कर्मचारीकोे हत्या गर्ने अन्य कुनै कारण थिएन ।
आमा बिहान बेलुका आफ्नै घरमा औषधि पनि बेच्नुहुन्थ्यो । मेरो आमालाई माओबादीले किन मार्यो यसको जवाफ हाम्रो परिवारले पाउन सकेको छैन । जनयुद्वको समयमा हामीले माओबादीलाई धेरै सहयोग गरेका थियौं । सहयोग नगरी बस्ने अवस्था थिएन । बन्दुक देखाकै भरमा गाउँमा गएर भान्सामै पसेर खाने र घरमै बस्ने गर्थे माओवादीहरु । हामीले माओबादीलाई १ लाख रुपैयाँ चन्दा पनि दिएका थियौं । त्यो चन्दा ज्यान बचाउन पहिले नै तिरिएको फिरौति जस्तो हो ।सोलु सल्लेरीको घटनामा घाईते हुँ र बिरामी पर्दा र हात डुँडे हुदाँसमेत मेरो आमाले माओबादीहरुलाई निशुल्क सेवा दिन बाध्य हुनुभयो । रगत र पिप बगेका घिनलाग्दो मानिसहरुको उपचारको बदला मेरो आमालाई माओबादीले हत्या गर्यो । तिनीहरुमा अलिकति पनि मानवता थिएन । जसले आमाबाट उपचार पाए, जसले हाम्रो घरको भात खाए, जो हाम्रो घरमा सुते, तिनीहरुले नै आमालाई मारे ।
तर, त्यस्तो अपराध गर्दा पनि उनीहरुले सजाए पाएनन् । सजाए दिनु त कता हो कता पछि प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै ‘युद्वमा छिटपुट घटना हुन्छन । धान पिस्दा घुन पिसिनु ठूलो कुरा होईन् ’ भन्दै आमालाई पनि घुन बनाइदिए । यस्तो अभिव्यक्तिले हम्रो घाउमा झनै नुनचुक छर्यो ।माओवादीद्वारा हत्या गरिएकी निर्दोष रेलीमाया मोक्ताननिर्दोषको हत्या हुनु र दोषी खुलेआम हिड्नु यो कस्तो न्याय हो रु मलाई थाहा छ यो सबै पैसा र पावरको कारणले भईरहेको छ । यो १३ वर्षमा केही हुन सकेन । अब पनि केही होला भन्ने आश छैन । निर्दोष मेरी आमालाई किन हत्या गरियो रु यसको जवाफ नपाउन्जेलसम्म मेरो परिवारले सन्तोषको सास फेर्न सक्दैन । नत निदाउन नै सक्छ । न त केही गर्न नै यही प्रश्नले विगत १३ वर्षदेखि हामी मानसिक रुपमा विक्षिप्त भएका छौं । अझैपनि भईनै रहेका छौं ।जीवन चलाउन जसो तसो बाच्नु पर्छ । हामी बाच्नु भनेको नै त्यसको जवाफ खोजी गर्नु हो । जनयुद्ध नामका आपराधिक घटनाका हामी पीडित हौं । शहीद परिवारलाई सरकारले छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । छात्रवृत्ति लिन म गाउ गएको थिएँ । तर, अर्कैले झिकेर लगिसकेछ । सरकारले दिने अन्य राहतमा पनि धेरै नै झेल भयो । त्यसको आधिमात्र हामीले किस्ता किस्ता गरेर पायौं, जसको कारण त्यो राहत काम लागेन । आमाको हत्या पछि हामी पूर्ण रुपमा विस्थापित भएका छौं ।
मैले आफ्नो पढाई निरन्तर गर्न पनि पाइनँ । त्यसपछि हामी गाउ फर्कन सकेका छैनौं । आमाको हत्या गरेर पनि माओबादीलाई पुगेन हाम्रो घरको औषधि भाडाकुडा लत्ताकपडा सबै लुटेर ताला लगााईदियो । बुवा ठेक्कापट्टाको काम गर्नुहुन्थ्यो । आमाले मेडिकलमा काम नगरि घर व्यवहार चलाउन गाहे थियो । आमाको हत्यापछि हामी मानसिक र आर्थिक रुपमा विक्षिप्त भएका छौं । त्यसमाथि यत्रो वर्षसम्म न्याय नपाउँदा हाम्रो धैर्यताको बाँध टुटिसकेका छ । मेरो आमालाई अनाहकमा किन मारियो रु यसको जवाफ यो १३ वर्षसम्म पाएको छैन । हामी यसको जवाफको प्रतिक्षामा छौं । गल्ती गरेको हो भने राज्यले प्रमाणित गर्नुपर्यो नत्र सत्य तथ्य छानविन गरेर न्याय दिलाउनुपर्यो ।हामीले धेरै ठाउमा उजुरी गर्यौ न्याय कतैबाट पाईएन । अब त झन न्याय पाउने आश छैन । किनकि, अब दोषी नै सत्ता र त्यसको वरीपरी घुमिरहेको छ । हामीले मनको शाान्तिको लागि भएपनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा मुद्धा दर्ता गरेका हौ । हामी ज्यानको बदला ज्यान भन्दैनौं । किनकी हामी मान्छे हौं । अरुको रगत पिएर खुसी हुने हामी माओवादी पनि होइनौं । हामी आपराधिक मानसिकताका छैनौं ।
युद्धका नाममा भएका हत्या र हत्यारालाई कारबाही गर्दै जाने हो अहिलेका धेरै नेताहरु कारबाहीमा पर्छन । हामी बदला भन्दा पनि हत्याको कारण र न्यायको खोजीमा छौं ।जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड दुई पटक प्रधानमन्त्री बनिसक्नुभयो । उहाँको निर्देशनमा नै धेरै निर्दोष नेपालीहरुले ज्यान गुमाउनुपर्यो । म जस्ता धेरै छोराछोरी टुहुरा भए । धेरै दिदीबहिनीहरुको सिन्दुर पुछियो । धेरै बुवाआमाले निर्दोष छोराछोरी गुमाउनुपर्यो । देश परिवर्तन गरेर हिड्छु भन्ने हाम्रो दाजुभाई शहिद भए । प्रचण्ड बारम्बार भन्नुहुन्छ ‘धान पिस्दा घुन पिसिनु स्वाभाविक हो ।’ हाम्रो निर्दोष आमाको हत्या भएको छ । हामी टुहरा भएका छौं । धेरै दिदी बहीनीको सिउँदोको सिन्दुर पुछिएको छ । यस्तो अवस्थामा उहाँको त्यस्तो अभिव्यक्तिले हाम्रो मन कति दुख्छ । प्रधानमन्त्रीज्यू १ हामीलाई टुहुरो हुँदा भन्नुहुन्थ्यो ‘देश परिवर्तन गर्छु । म जस्ता टुहुरो र विधुवा धेरै भए खोई परिवर्तन खोई विकास खोई न्याय ,खोई हामीलाई जवाफ ।
(रेलीमाया मोक्तानकी छोरी ममता मोक्तानसँंग गरिएकाे कुराकानी ।
www.hamroonline.com बाट साभार
Friday, March 16, 2018
बाहुनहरुले सधै मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे: डोर बहादुर बिष्ट
स्वर्गको आश र नर्कको त्रास देखाउदै एक हिन्दु ठग |
समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार÷सम्पादक गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यस बेला राजतन्त्र ढलि सकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी (पहिचान) को राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको नेपाली समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए । मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन ।
अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन' भनेका थिए । जनआस्था साप्ताहिकले सोही भनाइलाई शीर्षक बनाएर यो अन्तर्वार्ता प्रकाशित गरेको थियो । चर्चा झन चुलियो । प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापु जस्तै थियो । अहिलेको परिस्थितिबाट हेर्दा त्यस बेला विष्टले व्यक्त गरेका यी बिचार, तर्क र उनको यो अन्तर्वार्तामा व्यक्त धारणा विस्फोटक लाग्छन। विष्टका ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’, ‘पिपुल्स अफ नेपाल’, ‘सोताला’लगायत पुस्तक प्रकाशित छन।
दुई दशक अघि यो अन्तर्वार्ता दिएको केही दिनमै विष्ट बेपत्ता भए वा पारिए । त्यस यता उनको खोजी भइरहेको छ । लुईटेल र फोटो पत्रकार सन्तोष पोखरेलले विस्टसँग गरेको यो अन्तर्वार्ता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुने ठानेर (दुई वर्ष अघि अन्नपूर्णमा शिर्षक परिवर्तन गरी प्रकाशित) साभार गरी यहाँ प्रस्तुत गरिएको छ । यहाँ यस अन्तर्वार्तालाई प्रस्तुत गर्दा शिर्षक परिवर्तन गरिएको छ ।
नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात ‘आर्य’ र ‘अनार्य’ भन्ने जस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ । यसको कारण के होला ?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वभाविक हो। नेपालका दुई जाति खस र किराँत मध्ये खस बढी बसाई सरेको जाति हो। खस आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन । उनीहरूले छिटो हिडने जनावरहरू गाई, घोडा, भेडा बाख्रा, कुकुर जस्ता जनावरहरू लिएर हिँड्दा घाँसे मैदानमा धेरै चाँडो हिँडे। किराँत जातिहरू चाहि हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्ड जस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवन शैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुर जस्ता छिटो नहिँड्ने जनावर पाले। किरात वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्व तिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्यो ।
किरात भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ । त्यसले गर्दा खस आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइए पछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइए पछि नाक चुच्चे सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो ।
तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त ?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्यो भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरे पछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो । तर त्यसो होइन, नेपाली भएर बाँच्नु पर्यो । नेपाली मान्छे भए पछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस , मन लागेका ठाँटको घर बनाउनोस मन लागेको पार्टनर छानेर विवाह गर्नोस र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस , कसले के भनेको छ र ?
यथार्थमा ‘बाहुनवाद’ भनेको के हो ?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरि रहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जब सम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौ ,हामी पौरखहीन हुन्छौ । पौरख नगर्ने हामी कहिले खुसी हौंला त ? अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसार भरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो । हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो । त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ । ‘बाहुनवाद’ नफाले सम्म देशले पौरख गर्दैन । पौरख गर्ने जनता नहुन्जेल देशले उन्नति गर्दैन ।
तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ । एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला ?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन । गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन ।
कसैकसैले त्यसलाई ‘मृतःभाषा’ पनि भन्छन किनभने संस्कृत भाषामा बोल्ने चलन कही पनि छैन । यस भित्र अनन्त ग्रन्थ छन, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यस बाट शिक्षा लिनु मात्र हो । संस्कृत भाषाकै विकास गर्नु होइन । चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे । अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो ?
तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नु भएको छ । यसको कारण चाहिँ के हो ?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यस कारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ?
अहिले मैले जुम्लामा बसेर गरिरहेको काम मध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किरातीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर, मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुदेका छन । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौ भन्दै जनै लगाइदिदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई शुद्र हौ भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ ।
तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्ने भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ । अहिले प्रयोग कति सार्थक हुँदैछ ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन। सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें । भाग्यवादले गर्दा हामी पौरखशून्य भयौ । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो परयो । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखि सके पछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर, पूर्वतिर एउटा सकसकी आइसकेको छ, किरात वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गए । योगी नरहरिनाथ पनि खस हुन । उनी आफू बाहुन भएर हिँड्छन । तर, मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन । योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ ।
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन , ऐतिहासिक ढंगले हेरेका छैनन । तर, मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जब सम्म खस भित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ । मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो ।
अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ । यो विवाद तपाईंलाई कस्तो लाग्यो ?
यो कुनै मुद्दा होइन । पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवै पटक राजनीतिक बोली बोलेका हुन । यथार्थ कुरा के हो भने नेपाल आदिकाल देखि गाईखाने देश पनि हो । अहिले सम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौ, खान्छन । नेपाल भित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बने पछि त्यो कामले अन्डरग्राउन्ड हुनु पर्यो ।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । यथार्थमा मूल कारण गाई होइन, गाई खाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन । यो झगडा गर्ने एउटा निहुँ मात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ ।
योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ । तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ ?
म भए त्यसरी उचाल्ने थिइनँ । जेसुकै कुरालाई पनि बढी उचाल्नुको अर्थ हो बढी दंगा मच्चाउनु । दंगा भोलि हिंस्रक पनि हुन सक्छ । व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ । एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन ।
तपाई बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु— तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।
नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ । यसलाई प्रमाणित गर्ने कुरा के हुन ?
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे । राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो । म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन । हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए । नाम देख्ने बित्तिकै यहाँ मुस्लिम भने । तर, मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो । पछि मुस्लिम प्रभाव परे पछि सिंह, खाँ, आदि राखे । चितौनगढबाट भागेर आएका हुन भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नु पर्थियो ? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन । उनकी आमा पनि मगर हुन ।
नेपालमा तीन देवीका मन्दिर छन पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना । त्यहाँका पुजारी मगर मात्र छन अरुले प्रवेश गर्न पाउँदैनन । त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ । अहिले सुँगुरको साटो बनेल जान्छ । यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन । राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ । यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन भनेको को हुँ । मैले कुनै नयाँ कुरा गरेको होइन ।
Thursday, January 25, 2018
माओवादी केन्द्रबाट अलग भएको घोषणा - विष्णु भण्डारी
जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिन । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ । म गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला । कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । हिँजोसम्म हिरा आज किरा भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गरेको गर्दछु ।
Wednesday, January 17, 2018
नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ? - डम्बर खतिवडा
(भाग १)
यतिखेर नेपालमा कम्युनिष्टहरु सफलता र लोकप्रियताको चरमचुलीमा छन् । भर्खरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा उनीहरुले उल्लेखनीय जित हासिल गरेका छन । सबै कम्युनिष्ट पार्टीहरु (एमाले-माओवादी-मसाल-राष्ट्रिय जनमोर्चा) आदिले पाएको लोकप्रिय मत जोड्दा ५० प्रतिशतको नजिक छ भने सीटको हिसाबले उनीहरु झण्डै दुईतिहाईको नजिक छन् ।
केन्द्रमा ‘बाम गठबन्धन’ को सरकार संघारमा छ । देश संघीयतामा गएसँगै पहिलोपटक रचना गरिएका ७ मध्ये ६ प्रदेशसभामा उनीहरुले सरकार चलाउन सुविधाजनक बहुमत पाएका छन् । संघीय मुलुकहरुमा यस स्तरको निर्वाचन परिणाम विरलै पार्टी वा गठबन्धनका पक्षमा प्राप्त हुने गर्दछ । यो सफलतालाई कुनै पनि अर्थमा सानो, थोरै, कमजोर, सामान्य वा अनुल्लेखनीय मान्न सकिन्न ।
कम्युनिष्टहरुको यो सफलतासँगै ‘कम्युनिष्ट’ शब्दको चर्चा र प्रयोग पनि उत्तिकै बढ्दै गइरहेको छ । हुन त कम्युनिष्ट शब्द नेपाली समाजका लागि कुनै नयाँ हैन । २००६ सालमा नेकपाको स्थापना हुनु अगाडिदेखि नै यो शब्द नेपाली राजनीतिमा प्रयोग भइरहेकै थियो । तर, यो शब्दलाई सबैले आ-आफ्नो राजनीतिक स्वार्थ र अनुकुलतामा प्रयोग गरिरहेका थिए/गरिरहेकै छन् ।
कम्युनिष्ट समर्थकहरुले यो शब्दबाट ‘गरिब, विपन्न र सर्वहारा श्रमजीवी वर्गको मुक्तिदाता’ राजनीतिक आन्दोलनको अर्थमा बिम्ब निर्माण गर्न खोजे । विरोधीहरुले हिजोको सोभियत संघ र आजको चीनको जस्तै ‘एकदलीय अधिनायकवादी सत्ता’ को अर्थमा प्रयोग गर्न खोजे ।
यथार्थमा जाने हो भने यी दुबै विम्वमा आ-आफ्नो प्रकारको अर्थसंकट व्यप्त छ । पहिलो तर्कप्रणालीको आधिकारिता स्वयं कम्युनिष्ट पार्टी र त्यसका नेताहरुमा हुनु स्वभाविकै हो । भरखरै एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा यो संकटलाई सबैभन्दा ठूलो कम्युनिष्ट समूह एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेका छन् । उनले भनेका छन- नेपालका कम्युनिष्टहरु ‘फिलोसफिकल’ वा ‘आइडोलजिकल’ कम्युनिष्टहरु हैनन्, ‘पोलिटिकल’ कम्युनिष्टहरु मात्र हुन् । बुझ्नेका लागि यो भन्दा ठूलो स्वीकारोक्ति अरु केही चाहिँदैन ।
दोस्रो तर्क पद्दतिले कम्युनष्टिहरुको जुन विम्व निर्माण गर्न खोजेको छ, त्यो शीतयुद्धकालिन चेतनामा आधारित छ । सन् १९१७ मा रुसी अक्टोबर क्रान्ति हुनुअघि संसारका कम्युनिष्टहरु एकदलीयतामा विश्वास गर्दैनथे । सन् १९८९-१९९१ मा एक दलीय कम्युनिष्ट सत्ताहरुको विश्वव्यापी पतनपछि फेरि कम्युनिष्टहरुले एकदलीयताको मोह त्याग गरेका छन । हुन तः अहिले पनि चीन, उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा एकदलीय कम्युनिष्ट सत्ताहरु कायमै छन् । त्यसमध्ये उत्तरकोरियाको ‘किम वंशको शासन’ सबैभन्दा बदनाम छ ।
क्युवाका फिडेल क्यास्त्रो पनि भाइलाई सत्ता हस्तान्तरण गरेर परलोक भए । यिनै यथार्थहरुलाई आधार मान्ने हो भने ‘कम्युनिष्टहरु सत्ता आए एकदलीय अधिनायकवाद लाद्नेछन्’ भन्ने भाष्य ठीकै हुन्थ्यो होला । तर, यो ०४६ पछि नै नेपाली जनता र मतदाताले नपत्याएको भाष्य हो । नेपाली कांग्रेसले यसपटक पनि त्यही भाष्य उपयोग गर्न खोजेको विदितै छ, जुन बिकेन भनेर सबैले भनिराखेकै छन् ।
यहाँनेर प्रश्न उठ्छ- नेपाली मतदाताले कम्युनिष्टको दोस्रो बिम्ब किन पत्याएनन् त ? यसका मुख्य दुईवटा कारण छन्ः
पहिलो कारण- नेपालका आम मतदाताले संसारका सबै कम्युनिष्ट मुलुकहरुको इतिहास नपढ्को, नदेखेको, नबुझेको, अनुभव नगरेको हुनु स्वाभाविकै हो । तसर्थ ती देशमा के भएको थियो, त्यो नेपाली मतदाताका लागि खासै महत्वको कुरा भएन । नेपालका कम्युनिष्टहरुलाई नेपाली मतदाताले नेपालकै सन्दर्भबाट हेर्छन् । नेपालका सन्दर्भबाट हेर्दा नेपाली कम्युनिष्टहरुले पञ्चायत र राजतन्त्रको विरुद्धमा, सामन्तवाद र रुढीवादका विरुद्धमा आमचेतना र निणर्ायक संघर्ष निर्माण गर्न अभूतपूर्व योगदान, त्याग र वलिदान गरेका छन् । नेपाली कांग्रेसले ‘विदेशी सन्दर्भबाट टिपेका दुईचार वटा आरोप’ लगाउँदैमा मतदाताले पत्याउँने कुरै आउँदैन ।
दोस्रो कारण- स्वयं नेपालका कम्युनिष्टहरुले आफ्नो इतिहास, दर्शन र विचारधारासंगको ‘लिगेसी’ निरन्तर परित्याग गर्दै जानु हो । नेपालका कम्युनिष्टहरुले कहिल्यै पनि ‘लोकतन्त्र, प्रजातन्त्र, बहुदलीय व्यवस्थाका विरुद्धमा जाने छौं’ भन्न सकेका छैनन् । २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले भाग लिएकै थियो । २०१७ पछि पुष्पलालले ‘विघठित संसदको पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन’ गरौं भनेर कांग्रेसलाई भनेकै हुन् । २०३६ सालको जनमत संग्रह ‘केही दिन बहिष्कार’ गरे वापत तत्कालीन मालेले सार्वजनिक आत्मआलोचना गरेर बहुदल पक्षलाई सहयोग गरेकै हो ।
२०४६ सालमा बाममोर्चा पञ्चायतविरोधी जनान्दोलनको एउटा महत्वपूर्ण हिस्सा छँदै थियो । जनयुद्धकै बीचमा माओवादी नेता प्रचण्डले ‘संसदवादी दलहरु गणतन्त्रवादी हुन तयार छन् भने हामी बहुदलवादी हुन तयार छौं’ भनेकै हुन् । उपयुक्त अवसर छानेर उनले ‘प्रचण्डपथ’ स्थगन गरिदिए । आफूलाई ‘जनताको बहुदलीय जनवादी’ भन्ने पार्टीसंग एकता गर्न अहिले उनी राजी छन् ।
जनान्दोलन २०६२/२०६३ मा कम्युनिष्टहरुको योगदान घामजत्तिकै छर्लङ्ग छ, चर्चा गर्न नै जरुरी छैन ।
यहाँसम्म कि एमालेभित्र ‘लेनिनवाद’ परित्याग गर्नुपर्ने बहस चलेकै छ । एमाले-माओवादी एकतापछि लेनिनवाद हट्ने सम्भावना उत्तिकै छ । यहाँसम्म कि वैद्य र विप्लवजस्ता ‘क्रान्तिकारी कम्युनिष्ट’ हरुले पनि ‘हामी संसदीय प्रणालीको मात्र विरुद्धमा हौं, बहुदलीय लोकतन्त्रको विरुद्धमा हैनौं’ भन्दै आएका छन् । यतिको कुरा त कांग्रेसभित्रै प्रदीप गिरी, नरहरि आचार्य र गगन थापाले पनि गरेकै हुन् ।
यी यथार्थले के सिद्ध गर्दछ भने नेपालका कम्युनिष्टहरु लेनिन, स्टालिन, माओ, किम, होचिमिन्ह वा क्यास्त्रोको लिगेसीलाई धान्ने मनोवल भएका वा त्यसलाई सखारेका कम्युनिष्टहरु हैनन् । यी १९१७ अघिका र सन् १९९० पछिको अवस्थाका कम्युनिष्टहरु हुन् जसलाई यी बीचको अवधिको आरोपले खासै काम गर्न सक्दैन ।
यहाँनेर स्मरणीय अर्को कुरा के छ भने नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै चार प्रकारको स्कुलिङ्ग थियो । पहिलो- पुष्पलालको, दोस्रो- मोहनविक्रम सिंहको, तेस्रो-मनमोहन अधिकारीको र चोथो-केशरजंग रायमाझीको ।
आजका मितिसम्म आइपुग्दा यी चारवटै धारहरु एकीकृत भएका छन् । केशरजंग रायमाझीको विरासत उनको पलायनपछि बर्मा, मानन्धरजस्ता समूहले बोेकेका थिए । त्यसको पछिल्लो कडी नेकपा (संयुक्त) यो चुनावमा माओवादी केन्द्रमा विलय भयो ।
मोहन विक्रमसँगको मसाल प्यूठान र बागलुङ्गमा सहकार्य गरेर जोडियो । चुनावी सभाहरुमा उनले पनि ‘एकीकृत कम्युनिष्ट’ पार्टीको युग शुरुवात भएको भाषण गरे । त्यसैको विरासतबाट बनेको माओवादी केन्द्रको स्थिति सबैलाई थाहा छँदैछ ।
मनमोहन र पुष्पलालको स्कुलिङ माले- माक्र्सवादी एकीकरणमै एक भइसकेका थिए । यी दृष्टान्तले के अर्थ दिन्छ भने जसरी नेपालका कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा सन् १९१७ अघिको अवस्थामा छन्, राष्ट्रियरुपमा विस २०१९ भन्दाअघिको अवस्थामा छन् ।
वास्तवमा कम्युनिष्ट थियो के ? यो ऐतिहासिकरुपमा कसरी विकसित भएको थियो ? कुन परिस्थितिले उनीहरुलाई यहाँसम्म ल्याओ ?
कम्युनिष्ट शब्द ल्याटिन भाषाको ‘कम्युनिस’ हुँदै प|mान्सेली भाषामा भित्रिएको थियो । फ्रान्समा मात्र हैन, युरोपका केही देशमा आज पनि स्थानीय राजनीतिक एकाई वा सामुदायिक ढाँचाको संगठनलाई जनाउँन ‘कम्युन’ शब्द प्रयोग गरिन्छ ।
सन् १७७७ मा फ्रान्सेली लेखक भिक्टर डिहुपेले पहिलोपटक ‘कम्युनिज्म’ शब्द प्रयोग गरेका थिए । उनले स्थानीय तहको राजनीतिक एकाई वा सामुदायिक भावनाको सवलतामा जोड दिन यो शब्द प्रयोग गरेका थिए ।
कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा ‘कम्युनिष्ट मेनुफेष्टो’ लेखेपछि यो शब्द विश्व राजनीतिमा तीव्र विस्तार भयो । त्यसअघि युरोपको ‘सामाजिक जनवादी’ आन्दोलनमा ‘कम्युनिष्ट’ को साटो ‘सोसलिष्ट’ मात्र प्रयोग गरिन्थ्यो । घोषणापत्रमा ‘कम्युनिष्ट’ किन लेख्नुपर्यो भन्नेबारे सन् १८८८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रको अंग्रेजी संस्करणको भूमिकामा सहलेखक फ्रेडरिख एंगेल्सले भनेका छन् ‘समाजवाद शब्द सामान्यकृत भयो । वि्रटेनका ओवेनिष्ट र फ्रान्सका फुरियरिष्टहरुले यसको धेरै प्रयोग गरे । यसले मध्यम वर्गको राजनीतिक आन्दोलनलाई बुझाउन थाल्यो । त्यसबाट फरक गर्न, सर्वहारा आन्दोलनको अर्थ दिन, ‘कम्युनिष्ट’ शब्द प्रयोग भएको हो ।’
‘कम्युनिज्म’ को अनुवाद भारोपेली भाषा परिवारका दक्षिण एशियाली भाषामा ‘साम्यवाद’ हुनुपथ्र्यो वा ‘समुदायवाद’, यो अर्को बहसको विषय हो । ‘साम्यवाद’ र ‘समुदायवाद’ झटट् सुन्दा उस्तै लागे पनि दुबैको अर्थ एकै हुँदैन । ‘साम्यवाद’ शब्दले सबै मान्छे सबै हिसाबले बराबर वा एकाम्य भएको/हुनसक्ने अर्थवोध गर्छ, जुन असम्भव कुरा हो ।
त्यसमा पनि साम्यवादको मुख्य जोड आर्थिक समानतामा देखिन्छ । त्यसले मानिसका बहुआयामिक अस्तित्व, चाहना र आवश्यकताबारे कमै महत्व दिएको पाइन्छ ।
‘समुदायवाद’ ले सामुहिकतामा आधारित सामाजिक तथा आर्थिक प्रणालीको अर्थवोध गराउँछ । वर्गविहीन, राज्यविहीन, निजीसम्पतिविहीन र अतिरिक्त मूल्यविहीन समाजको अर्थवोध गराउने पहिलो अर्थबाट नेपालका मात्र हैन संसारभरिकै कम्युनिष्टहरु विमूख भइसकेका छन् । दोस्रो सामुहिकतामा जोड दिने अर्थमा ‘समुदायवाद’ सायद अहिले पनि प्रासंगिक छ । एक क्षणलाई सिद्धान्तको कुरा छोडेर व्यवहारको कुरा मात्र गर्ने हो भने नेपालका कम्युनिष्टहरु ‘साम्यवादी’ त हैनन् हैनन् उनीहरु ‘समुदायवादी’ पनि हुन सकिरहेका छैनन् ।
रुसी अक्टोबर क्रान्तिभन्दा अघि मार्क्सवादी पार्टीहरुले आफूलाई ‘कम्युनिष्ट पार्टी’ भन्दैनथे । स्वयं लेनिनको पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदूर पार्टी’ थियो । २०१७ को अक्टोबर क्रान्तपछि लेनिनले आफ्नो पार्टीको नाम फेरेर ‘कम्युनिष्ट’ बनाएसंगै ‘लेनिनवाद’ समर्थक ‘सोसलिष्ट’हरुले नाम फेरेर कम्युनिष्ट बनाए । कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय संगठनका रुपमा ‘कोमिन्र्टन’ गठन गरियो । ठीक यही परिदृष्य सन् १९९० पछि देखिन्छ । तिनै पार्टीहरुले फेरि आफ्नो नाम फेरेर कम्युनिष्टबाट सोसलिष्ट बनाए । त्यसको सबैभन्दा गतिलो उदाहरण युगोस्लाभियाको स्लोवोदान मिलोशोविचको पार्टी थियो जसले युगोस्लाभियाली कम्युनिष्ट पार्टीको नाम फेरेर सर्वियाली समाजवादी पार्टी बनायो ।
यहाँनेर जोड दिन योग्य अर्को कुरा के हो भने मार्क्सवादी दर्शन वा समाजवादी आन्दोलनका अनुयायीहरुले त्यतिखेरै पनि सबैले आफूलाई कम्युनिष्ट भन्दैनथे । लेनिनवाद माक्र्सवादको एक मात्र आधिकारिक भाष्य थिएन । माक्र्सकै पालामा एडवर्ड बर्नस्टिनले माक्र्सको भन्दा फरक लोकतन्त्र सहितकै समाजवादको कुरा गरेका थिए । कार्ल काउत्स्की वा रोजा लम्जेम्बर्गजस्ता मार्क्सवादी चिन्तकहरुले बहुदलीय लोकतन्त्रसहितकै समाजवादी आन्दोलनमा जोड दिन्थे । सोभियत संघमा स्टालिनको उदयपछि पश्चिम युरोपेली एन्टोनियो ग्राम्स्की, पामिलो ट्याँगिलियाती, मिलोवन द जिलास, सान्टिआगो कैरिल्लो जस्ता चिन्तकहरु बहुदलीय लोकतन्त्रसहितकै कम्युनिष्ट आन्दोलनको पक्षमा थिए जसलाई ‘युरोकम्युनिज्म’ भनिथ्यो ।
कम्युनिष्टहरुले पनि बहुदलीय प्रणाली मान्नुपर्छ भन्ने विचार नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याएर भएको हैन । त्यो लेनिनकै पालादेखिको एउटा फरक धार थियो । तर, अरु मार्क्सवादी चिन्तकहरु लेनिनझैं सत्ता हत्याउन सफल भएनन् । लेनिनले रुसमा सत्ता हत्याउँन सफल भएको कारण लेनिनको धार विश्वव्यापी रुपमा बढी प्रचार भयो । अरु चिन्तकका विचारको खासै प्रचार हुन सकेन ।
नेपालका कम्युनिष्टहरु पनि त्यही धारको शिकार भए । उनीहरुले लेनिनको जन्मदिन अपि्रल २२ को दिन परेर पार्टी स्थापना गरे । तर, आज उनीहरु बुझ्न बाध्य भए कि अबको दुनियाँ लेनिनवादी साम्यवादको हैन, तसर्थ उनीहरुले ऐतिहासिक विरासतलाई छद्म रुपमा जोगाउँदै बर्नस्टिन, काउत्स्की, रोजा, ग्राम्स्की, दजिलास र कैरिल्लोको लाइनमा आएका हुन् ।
नेपालको कम्युनिष्ट साहित्य र बौद्धिक चिन्तनमा कुनै समय ‘एक पार्टी प्रणाली’प्रति विशेष मोह थियो नै । सन् १९९० अघिसम्म उनीहरुले रुसको ‘सोभियत प्रणाली’ र चीनको ‘संयुक्त जनवादी अधिनायकत्व’ लाई आदर्श राज्यप्रणालीमा रुपमा ग्रहण गर्दथे । त्यही अर्थमा उनीहरुले लेनिनवाद/ माओवादलाई मार्गदर्शक सिद्धान्तको मान्यता दिए । ती प्रणालीमा वैचारिक स्वतन्त्रता, दलीय व्यवस्था र आवधिक निर्वाचन हुँदैनथ्यो भन्ने कुरा पनि उत्तिकै प्रष्ट हो । नेपालको कम्युनिष्ट आन्दोलनबाट यस्तो चिन्तनलाई हटाउन मदन भण्डारीले उल्लेख्य भूमिका गरे ।
पूर्वी युरोप र सोभियत संघमा साम्यवादी व्यवस्थाको पतन मदनका लागि उचित अवसर बन्यो । मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ मार्फ्त त्यस्ता सोचमाथि तीव्र प्रहार गरे । उनले रुस, चीन कै दर्शन, विचार र प्रणालीको लिगेसीबाट जन्मिएको पार्टीमा तिनै विचारको रक्षा गरेजस्तो भान वा प्रतिति हुने गरी तिनै विचारलाई पराजित गरे । भण्डारीले बहुदलीय जनवादमा ‘लेनिनवाद कायमै राखेर संसदीय प्रणाली अपनाउँने’ पार्टीका रुपमा एमालेलाई फेरे ।
वस्तुतः भण्डारीले भनेको जनताको बहुदलीय जनवाद र लेनिनवादका बीचमा कुनै तारतम्य र संगति थिएन । यो कुरा भण्डारी राम्ररी बुझ्दथे । तर, व्यक्त गर्दा पार्टीपंक्तिले नपचाउने र कार्यनीतिक स्टेप नमिल्ने हुँदा त्यसलाई उनले अनदेखा छोडिदिए ।
यो कुराको आधिकारिकताका लागि एमालेकै केही जीवित नेताहरु छन् । उनीहरुले यो कुरा यो लेखकसँगको व्यक्तिगत भेटघाटमा स्वीकार गरेका छन् । उहाँहरुको राजनीति जीवनमा पर्ने असरलाई ध्यान दिँदै यहाँ नाम उल्लेख गर्न चाहन्न । तर, उनीहरुको भनाइमा ‘मदन भण्डारी यो कुरा राम्ररी बुझ्दथे, नेपालमा उग्रकम्युनिष्ट चिन्तनको प्रभाव कायमै भएको हुँदा हतारो गर्नुहुँदैन’ भन्ठान्दथे ।
मदन भण्डारीले गर्न नसकेको यही काम आज घनश्याम भुसाल गर्न खोजिरहेका छन । एमालेमा भूसालीय चिन्तनको मुख्य विन्दू वा उनको बौद्धिक लोकप्रियताको आधार यही नै होे । यस अर्थमा एमालेको बहुदलीय लोकतन्त्रप्रतिको निष्ठामा शंका गरिरहन आवश्यक छैन । उसका लागि ‘कम्युनिज्म’ पार्टीको ‘ओरिजिन’ र इतिहासप्रतिको लिगेसी मात्र हो ।
माओवादी केन्द्रको कुरो हिजो फरक थियो । आज भने उसको नियति पनि एमालेकोभन्दा खासै फरक छैन । हिजोआज त प्रचण्ड आफैं ‘मदन भण्डारीको सपना पूरा गर्ने’ वाचा गर्दै हिँडिरहेका छन् ।
तसर्थ नेपालका कम्युनिष्ट पार्टीहरुलाई अब रुसी क्रान्ति अगाडिको समाजवादी आन्दोलनको अवस्थाबाट, शीतयुद्धको अन्त्यपछिका कम्युनिष्टका रुपमा, बहुदलीय व्यवस्थाभित्रको प्रतिस्पर्धी दलका रुपमा हेर्नु बढी सही हुन्छ । उनीहरुसँग प्रतिस्पर्धा गर्ने रणनीति पनि सोहीअनुरुप बनाउनु राम्रो हुन्छ ।
केपी ओलीले आफूहरुलाई दार्शनिक तथा विचारधारात्मक कम्युनिष्टका रुपमा हैन, राजनीतिक कम्युनिष्टका रुपमा मात्र बुझिदिन गरेको आग्रहको सार त्यही हो ।
(भाग २)
कम्युनिष्ट विचार वास्तवमा के हो ? नेपालका कम्युनिष्टहरु ‘नामले मात्र कम्युनिष्ट’ हुन कि साँच्चै ‘कम्युनिष्ट’ हुन् भनेर अझ राम्रो बुझ्न विश्व राजनीतिमा कस्ताकस्ता विचारधाराहरु छन्, तिनीहरुका बीच केके समानता वा भिन्नता छ भनेर बुझ्न आवश्यक हुन्छ ।
विश्व राजनीतिमा भएका विचारधारालाई सरसर्ती १० भागमा बाँड्न सकिन्छ । ती हुन् (उदारवाद (लिवरलिज्म), सम्वर्द्धनवाद (कन्जर्भेटिज्म), साम्यवाद (कम्युनिज्म ), समाजवाद (सोसलिज्म), राष्ट्रवाद ( नेशनालिज्म), फासीवाद (फासिज्म ), धार्मिक कटट्रतावाद (फन्डामेन्टालिज्म), संघवाद (फेेडेरालिज्म) जैविकतावाद (इकोलजिज्म), अराजकतावाद (अनार्किज्म) ।
‘लिबरल’ शब्द ल्याटिन भाषाको ‘लिवर’ बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ- ‘फ्री’ अर्थात् स्वतन्त्र । यो शब्दको प्रयोग पुनर्जागरणकालमा नै प्रारम्भ भइसकेको थियो । विशेषतः कला क्षेत्रमा सिर्जनशील धारलाई ‘लिबरल आर्ट’ भन्ने चलन थियो । भनिन्छ- सन १८१२ मा पहिलो पटक स्पेनमा ‘लिबरल’ शब्दको राजनीतिक गरिएको थियो । लिबरल दर्शनको मुख्य पक्ष फ्रिडम अर्थात् राजनीतिक स्वतन्त्रता हो । बेलायत दार्शनिक, आर्थिक र राजनीतिक- तीनवटै पक्षबाट उदारवादी विचारधाराको जननी मुलुक हो । पछि यसका मुख्य अनुयायी फ्रान्स र अमेरिका बन्न पुगे ।
विश्वका तीन ठूला राजनीतिक क्रान्तिहरु वेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम- यही विचारधारासँग जोडिएका थिए । दर्शनशास्त्रीय हिसाबले जोन लक, अर्थशास्त्रीय हिसाबले आडम स्मिथ र राजनीतिक हिसाबले हृवीङ्ग पार्टीलाई बेलायतमा उदारवादको आधारशिला मान्न सकिन्छ ।
उदारवादी विचारधाराका मुख्य दुई तत्वहरु छन् । फ्री म्यान (स्वतन्त्र व्यक्ति ) र फ्री मार्केट (स्वतन्त्र बजार) । सँगसँगै यसमा केही सहयोगी सिद्धान्तहरु जोडिएर आउँछन् । जस्तै- व्यक्तिको सार्वभौमसत्ता, विचार अभिव्यक्ति र संगठनको स्वतन्त्रता, बहुलवादी राजनीति र दलीय स्वतन्त्रता, आबधिक निर्वाचन, निजी सम्पतिको अधिकार, पेशा व्यवसाय छनौट, अबलम्बन र परित्यागको अधिकार, योग्यतातन्त्र, विधिको शासन, शक्तिपृथकीकरण, स्वतन्त्र न्यायलय, सामाजिक विविधताप्रति सहिष्णुता, धार्मिक स्वतन्त्रता अझ कतिपय देशमा धर्म निरपेक्षता आदि ।
एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ
जसरी लिबरल विचारधाराको मुख्य तत्व ‘स्वतन्त्रता’ हो, त्यसरी नै सम्बर्द्धनवादी (कन्जर्भेटिभ ) विचारधारको मुख्यतत्व ‘परम्परागत संस्कृति, समाजको मौलिक चरित्र र नैतिक मूल्यको संरक्षण’ हो । राजनीतिक क्रान्ति वा सामाजिक परिवर्तनहरुले समाजको परम्परागत सदभाव र मर्यादा, नैतिक मूल्य, पदसोपानक्रम र जीवनपद्दतिलाई खलल नपुर्याओस भन्ने चिन्ताबाट सम्बर्द्धनवादी विचारधाराको जन्म भएको हो । सम्बर्द्धनवादीहरुमा प्रत्यक्ष/परोक्ष दैवीशक्तिको सिद्धान्तमा विश्वास हुन्छ । विशेषतः वेलायती गौरवमय क्रान्तिको सामाजिक प्रभावबाट आत्तिएका कुलिनहरुले यस्तो चिन्तनलाई अगाडि बढाए । वेलायती राजनीतिमा उनीहरुलाई अनौपचारिकरुपमा ‘टोरी दल’ भन्ने गरिन्थ्यो । सन् १८३० देखि उनीहरुले घोषितरुपमा नै ‘कन्जर्भेटिभ पार्टी’ भन्न थाले ।
अमेरिकाका रिपब्लिकनहरु धेरै हदसम्म सम्बर्द्धनवादी विचारको नजिक मानिन्छन् । क्यानडामा सन् १८३४ मा ‘क्यानडाको टोरी’ भनिने ‘लिबरल कन्जर्भेटिभ पार्टी अफ क्यानडा’ बनेको थियो । उन्नाइशौं शताब्दिमा युरोपमा सम्बर्द्धनवादी विचारधारको प्रभावमा ‘क्रिश्चियन डेमोक्र्याटिक’ पार्टीहरु गठन गर्ने लहर नै चल्यो । त्यसमध्ये जर्मनीको ‘क्रिश्चियन डेमोक्र्याटिक पार्टी’ प्रभावशाली र सफल पार्टी मानिन्छ ।
सम्बर्द्धनवादी विचारधाराको प्रभाव युरोप र क्रिश्चियन समुदाय मात्र देखिएको हैन, मुस्लिम, बुद्धिष्ट, हिन्दू समाज र राष्ट्रहरुमा पनि यसको गहिरो प्रभाव छ । विश्वका सबैजसो मुस्लिम जनसंख्या बहुल देशले संविधानमा नै ‘इस्लामिक राष्ट्र’ घोषण गरेकाछन ।
मध्यपूर्वमा भएका इस्लामिक क्रान्तिहरु विशेषतः इरानमा खुमेनीको इस्लामिक क्रान्ति इस्लामिक सम्बर्द्धनवादकै अभिव्यक्ति थियो । जापानको ‘लिबरल डेमोक्र्याटिक पार्टी’ को जन्म हुनुमा ‘जेन बुद्धिज्म’ आधारित चिन्तनको गहिरो प्रभाव थियो ।
तिब्बतको ‘लामा राजनीति’ ‘लामा बुद्धिज्म’ आधारित सम्बर्द्धनवादको प्रतीक हो । इजरायली राजनीतिमा रहेको पालेष्टाइन विरोधी भावना यहुदीवादी सम्बर्द्धनवादमा आधारित देखिन्छ । भारतको जनसंघ तथा शिवसेना राजनीति, विजेपीको उदय र नेपालमा राप्रपाको अस्तित्वआदि सम्बर्द्धनवादी विचारधाराकै उदाहरण हुन ।
सम्बर्द्धनवादी विचारधारामा सामाजिक बेथिति परम्परागत मूल्य, मान्यता, संस्कार र संस्कृति छोडेका कारणले सिर्जना भएको हो । समाज हिजो ठीक थियो । स्वतन्त्रता खोज्ने, समानता खोज्ने नयाँ चिज खोज्ने नाममा पुराना चिजहरुलाई भत्काइए । त्यही भएर समस्या आयो । समाजको मौलिक चरित्र, पुराना संस्था, मूल्यमान्यता, संस्कार र प्रचलनमा फर्किनु पर्दछ, समाज आफै राम्रो हुन्छ भन्ने सम्बर्द्धनवादीहरुको सोच हुने गर्दछ ।
सम्बर्द्धनवाद आफैंमा एक सिर्जनशील विचारधारा हैन । यो क्रान्ति र परिवर्तनको भयबाट उत्पन्न हुने ‘प्रतिक्रियात्मक विचार’ भएको हुँदा यसलाई प्रतिक्रियावादी तथा प्रतिगामी विचार पनि भनिन्छ ।
विश्व राजनीतिको तेस्रो शक्तिशाली विचारधारा साम्यवाद हो । यस विचारधाराकै बारेमा यो लेख केन्द्रित भएको हुँदा यहाँ लामो चर्चा गरिएको छैन । यति भनौं कि जसरी उदारवादको मुख्यचिन्तन तत्व ‘स्वतन्त्रता’, सम्बर्द्धनवादको ‘परम्पराको संरक्षण’ हो, त्यसै गरी कम्युनिष्ट विचारधाराको मुख्यचिन्तन तत्व ‘आर्थिक समानता’ हो । मानव समाजको उत्पति निजीसम्पतिविहीन र वर्गविहीन अवस्थाबाट भएको थियो, कुनै दिन फेरि निजीसम्पतिविहीन र वर्गविहीन अवस्थामा फर्किने छ भन्ने विश्वास नै साम्यवादी विचारधाराको मुख्य विश्वास हो । कम्युनिष्ट विचारधारामा साम्यवादबाहेक सबै शासन तथा समाजव्यवस्था शोषणमा आधारित हुन्छन् भन्ने विश्वास गरिन्छ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ
चौथो समाजवादी (सोसलिष्ट ) विचारधारा हो । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘समानता र स्वतन्त्रता अभिभाज्य छन’, स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन् भन्ने हो । व्यक्ति र समाज अविभाज्य छन् । व्यक्तिविना समाज र समाजविना व्यक्ति हुँदैन । तसर्थ व्यक्तिवाद र सामुहिकताबीचको प्रतिद्वन्द्वीता अर्थहीन छ । आर्थिक हैसियतविना राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैन । राजनीतिक स्वतन्त्रताविना आर्थिक हैसियत प्राप्त हुँदैन । तसर्थ खुशी र सुखी मानव समाज निर्माण गर्न आर्थिक समानता र राजनीतिक स्वतन्त्रता पनि अभिभाज्य छन् । यी दुईबीच सन्तुलन नमिल्दा समाजमा बेथिति पैदा हुन्छ । तसर्थ राजनीतिक स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक अवसरका लागि समाजवाद सँगसँगै हुनुपर्दछ ।
सोसलिष्ट शब्दको पहिलो प्रयोग सन् १८२७ देखि वेलायतबाट शुरुवात भएको विश्वास गरिन्छ । सन् १८३० पछि वेलायतका रवर्ट ओवेनवादी र फ्रान्सका सेन्टसाइमनवादीहरुले आफूलाई औपचारिक रुपमा नै ‘सोसलिष्ट’ भन्न थाले । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको विश्वास गरिन्छ, जसको, अर्थ हुन्छ-संयुक्त वा साझेदारी ।
विश्वको पहिलो समाजवादी पार्टी कुन हो, त्यो प्रष्ट छैन । समाजवादी धारमा दलका विभिन्न नामहरु प्रयोग गर्ने प्रचलन थियो । ‘लेवर पार्टी’, ‘वकर्स पार्टी’, ‘सोसलिष्ट पार्टी’ ‘लेफ्ट-डेमोक्र्याट पार्टी’,’लिबरिटालियन पार्टी’ ‘सोसलिष्ट रिभोल्यूसनरी पार्टी’, ‘सोसल-डेमोक्र्याट पार्टी’ ‘सोसलिष्ट युनिटी एण्ड सोलिडारिटी पार्टी’ ‘लिबरल सोसलिष्ट पार्टी’ आदि नामहरु यस्ता पार्टीले प्रयोग गरेको पाइन्छ ।
विश्व राजनीतिको पाँचौं विचारधारा राष्ट्रवादी (नेशनालिष्ट) विचारधारा हो, जसले साम्राज्यवाद तथा उपनिवेशवाद विरोधी स्वाधिनता आन्दोलनलाई प्रेरित गरेको देखिन्छ । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘देशप्रेम’, ‘राष्ट्रियता’ वा ‘राष्ट्रवाद’ हो । देशको स्वाधिनता, स्वतन्त्रता र मुक्तिलाई राष्ट्रवादी आन्दोलनको मुख्य अभिप्रेरणा मानिन्छ । यसले राष्ट्रको स्वाधिनता विना नागरिकको स्वतन्त्रता कायम हुन नसक्ने विश्वास गर्दछ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ
ल्याटिन भाषाको ‘नेस्की’- अर्थ हो -जन्मनु । ‘न्यासियो’- को अर्थ ‘जन्मले वा जन्मस्थानले एकै प्रकारका मान्छे हुनु’ र ‘नेशन’ को अर्थ हो- जन्म वा जन्मस्थानका कारण एकै प्रकारका भएका मान्छेहरुको समूह । राजनीतिमा ‘नेशनालिज्म’ शब्दको पहिलो प्रयोग सन् १७८९ मा फ्रान्सेली चिन्तक अगस्टिन ब्यारेलले गरेका थिए । फ्रान्सेली राज्यक्रान्तिमा क्रान्तिकारीहरुले ‘हामी फ्रान्सेली जनता’ भन्ने शब्दावली प्रयोग गर्दथे । विस्तारै त्यो भावना ‘हामी जन्मले एक हौं’ ‘भाषा, संस्कृति नियतिले एक हौं’ भन्ने तहमा विकसित भयो । उनीहरुले आफ्नो ‘भूगोल पनि एक बनाउँने’ चिन्तन अगाडि सारे । यसरी ‘महान फ्रान्स राज्य’ को अवधारणा विकास हुँदै जाँदा नेपोलेनिक युद्धको युग आयो ।
नेपोलेनिक युद्धको अवधिमा फ्रान्सले अरु युरोपेली देशहरुमाथि आधिपत्य जमाउन थाल्यो । फलतः आधिपत्य कायम गरिएका देशहरुमा भने स्वतन्त्रता र मुक्तिको चाहना देखा पर्यो । यो अर्को कोणबाट राष्ट्रवादी विचारधाराकै पुनरुत्थान थियो ।
फ्रान्सेलीहरुलाई फ्रान्सको माया छ, फ्रान्स महान लाग्छ भने हामीलाई आफ्नो राष्ट्रको माया छ, हामीलाई हाम्रै राष्ट्र महान लाग्छ । यस्तो सोच फ्रान्सपछि जर्मनी र इटालीमा देखापरेको थियो । इटली र जर्मनीको एकीकरण युरोपेली राष्टवादी आन्दोलनका महत्वपूर्ण घटनाहरु हुन । वेलायती साम्राज्यबाट अमेरिकाको स्वतन्त्रता र नयाँ राष्ट्रको जन्म आफैंमा महत्वपूर्ण घटना थियो ।
यही प्रक्रियामा अनेक साम्राज्यहरुको उदय र ती साम्राज्यबाट मुक्तिको चाहनासंगसंगै अगाडि बढ्दै गए । पहिलो विश्वयुद्धमा जर्मन, आष्ट्रो-हंगेरियन र रसियन साम्राज्यबाट फिनलैण्ड, चेकोस्लोभाकिया, हंगरी, पोलैण्ड र युगोस्लाभियाको मुक्तिलाई महत्वपूर्ण राष्ट्रवादी आन्दोलनको रुपमा हेरिए । दोस्रो विश्वयुद्धताका राष्ट्रवादी विचारधाराको अर्को लहर देखापर्यो । अंग्रेज साम्राज्यवाट भारत र विभिन्न अफ्रिकी मुलुकहरुको स्वतन्त्रता तथा जर्मन र जापानको पराजय यसका महत्वपूर्ण उदाहरणहरु थिए ।
राष्ट्रवादी विचारधाराको सीमा तय गर्न सजिलो भने छैन । कस्तो र कत्रो राष्ट्रको उदयलाई स्वतन्त्रता भन्ने, कत्रो र कस्तो राष्ट्रको उदयलाई विभाजन वा पृथकता भन्ने ? यो प्रश्नको उत्तर कसैका लागि सहज छैन । वेलायती साम्राज्यबाट भारतको स्वतन्त्रता हो भने पाकिस्तान वा वंगलादेशको स्थापना चाहिँ किन विभाजन हो ? इन्डोनेसियाबाट इष्ट टिमोरको स्वतन्त्रता हो, मलेसियाबाट सिंगापुरको स्वतन्त्रता हो भने भने ठीक यस्तै स्वतन्त्रता श्रीलंकामा तमिल, भारतमा कस्मिर, चीनमा तिब्बत, क्यानाडामा क्यूवेक र स्पेनमा क्याटालोनियाले किन पाउन नहुने ? सोभियत संघ र युगोस्लोभाकियाको विभाजन पृथकता हो वा नवराष्ट्रियता ? यी प्रश्नहरु अनुत्तरित छन् ।
प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन्
विश्वराजनीतिको छैठौं विचाराधारा ‘फासिज्म’ शब्द ल्याटिन भाषाको ‘फासेस’ बाट बनेको मानिन्छ । यसको अर्थ रोमन साम्राज्यको समयमा प्रयोग गरिने एउटा विशेष चिन्ह ‘फलामे डन्डीको विटोमा एउटा बञ्चरो बाँधिएको’ चिन्ह भन्ने बुझिन्छ । इटालियन भाषामा यसलाई ‘फासियो’ भनिथ्यो । यो चिन्हले रोमन साम्राज्यको युगमा शासकको शक्ति, प्राधिकार र एकत्वलाई बुझाउँथ्यो । आधुनिक युगमा इटालीमा वेनिटो मुसोलिनीले यही चिन्ह प्रयोग गरे । जर्मनीमा हिटलरको नाजिवाद र स्पेनमा जनरल फ्रान्कोको शासन फासीवादी शासनकै विस्तार मानिन्छन् ।
फासीवादी चिन्तनको स्रोत एकीकरण, प्राधिकार र राष्ट्रवादको एकत्व हो । युरोपमा यी शासनसत्ताहरु पहिलो विश्वयुद्धको पृष्ठभूमिमा जन्मिएका थिए । पहिलो विश्वयुद्धमा यी देशहरुको पराजय र असमान सन्धी सम्झौताले यहाँका जनता र सेना निराश थिए । उनीहरु कुनै नयाँ प्रकारको राजनीतिक शक्तिको खोजी गरिरहेका थिए । त्यही क्रममा फासीवादी सत्ताहरु अस्तित्वमा आए ।
राष्ट्रियता र रक्तसम्बन्ध यस चिन्तनका अनौपचारिक पक्ष हुन् । फासीवादी चिन्तन पद्धतिमा कुनै पनि राज्य वा समाज निश्चित राष्ट्रियताको आधारमा बनेको हुन्छ । त्यस्तो राष्ट्रियताको निर्माणका लागि केही मुख्य जाति, नश्ल तथा भाषिक समुदायले ठूलो भूमिका गरेको हुन्छ । कुनै मुख्य जाति नश्ल वा भाषिक समुदायको नेतृत्वदायी भूमिका विना राज्य र राष्ट्रको गठन, संरक्षण र विकास गर्न सकिन्न । त्यहाँ भएका अन्य जातीय, भाषिक तथा सांस्कृतिक समुदायहरु मुख्य समुदायसँग विस्तारै अन्तर्घुलित हुँदै जान्छन् । प्रकारान्तले राज्य ‘राष्ट्रिय राज्य’ बन्न पुग्छ ।
यस प्रक्रियामा अल्पसंख्यक समूह वैवाहिक प्रक्रिया, रक्तसम्बन्ध, भाषिक तथा सांस्कृतिक अन्तर्घुलनमा सहयोगीको भूमिकामा हुनुपर्दछ । यदि उनीहरु सहयोगी भूमिका गर्न इच्छुक छैनन् भने उनीहरुमाथि दमन गर्नु स्वभाविक आवश्यकता बन्न पुग्दछ । श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न सक्दछन् भन्ने मान्यतालाई फासीवाद भनिन्छ । फासीवादी चिन्तन प्रकारान्तले ‘अन्धराष्ट्रवाद’ र अल्पसंख्यकहरुको ‘जातिहत्या’सम्म पुग्ने गरेको देखिन्छ । दोस्रो विश्वयुद्धमा मुसोलिनी र हिटलरको हारसँगै यो विचारधारा पराजित भएको मानिन्छ ।
राजनीतिक विचारधाराका क्षेत्रमा सातौं विचारधारा धार्मिक कट्टरतावाद (फन्डामेन्टालिज्म) हो । यिनीहरुको बुझाइमा राज्यको आधार कुनै खास धर्म हो । विपरीत धर्मसँगको प्रतिरोधविना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ धर्मयुद्ध स्वाभाविक र जायज हो । निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नै नैतिक रुपमा बलियो हुन्छ । त्यस्तो राज्यले नै विकास र प्रगति गर्न सक्छ ।
अफगास्तिनको तालेवान, मध्यपूर्वको आइएसआइएस यसका उदाहरणहरु हुन । कतिपयले भारतको शिवसेनालाई पनि हिन्दू फेन्डामेन्टालिष्टका रुपमा हेर्छन् ।
आठौं विचारधारा-संघीयतावादी हो । तर, नेपालका सन्दर्भमा संघीयतावादभन्दा जे बुझिन्छ, विश्वराजनीतिमा ठीक उल्टो बुझिन्छ । अमेरिकाको स्थापना हुँदा केन्द्रलाई बलियो बनाउन चाहनेहरुलाई ‘फेडेरालिष्ट’ भनिथ्यो र प्रदेशलाई बलियो बनाउन चाहनेहरुलाई ‘एन्टी-फेडेरालिष्ट’ । तर, नेपालमा भने प्रदेशको रचना गर्न चाहनेहरुलाई संघीयतावादी भनियो । यो धारको राजनीतिलाई पहिचानवादी पनि भन्ने गरेको पाइन्छ । तर, मेरो विचारमा यो धारलाई बहुसांस्कृतिकतावादी (मल्टिकल्चरलिष्ट ) भन्नु बढी उपयुक्त हुन्छ ।
किनकि यो विचारअनुसार कुनै पनि समाज वा राज्य उत्तिकै समरुप हुँदैन । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भुगोलको विविधता र मनोविज्ञानका हिसाबले राज्य बहुसांस्कृतिक बन्न पुग्छ । ती सबै जातीय, भाषिक र सांस्कृतिक समूहहरुको कूलयोग नै राज्य वा समाज हो । सबैको योगदानबाट राज्य वा समाज बनेको हुन्छ । त्यस्ता समुदायहरुले आआफ्नो विशिष्टतामा स्वशासन पाउनुपर्छ । समावेशिता हुनुपर्दछ । अन्यथा तिनीहरुको आत्मनिर्णयको अधिकार स्वभाविक आवश्यकता बन्न पुग्दछ । स्वशासन, समावेशिता र आत्मनिर्णयको अभाव नै पृथकतावादको कारण बन्न पुग्दछ । एउटै राज्य वा देशभित्र विविध संस्कृतिका कल्स्टरहरुको संरक्षणबाट राज्यको सौन्दर्य बृद्धि भई त्यो फूलवारीजस्तो बन्न पुग्छ भन्ने धारणा राखिन्छ ।
नवौं-जैविकतावादी (इकोलजिष्ट) विचार हो । यो विचार युरोपको गि्रन पार्टी र वातावरणवादी आन्दोलनबाट भएको हो । नेपालमा पनि यही अवधारणामा ‘हरियाली पार्टी’ बनाइयो । तर, खासै चलेन । यस विचारधारामा मानवीय दुःखको कारण वातावरणीय विनाश हो ।
तीव्र आर्थिक विकासको लोभमा हुने तीव्र औधोगिकीकरण र तीव्र औधोगिकीकरणले सिर्जना गर्ने प्राकृतिक स्रोतसाधनको दोहन, प्रदुषण नै समस्याका कारण हुन् । प्रकृति स्वयंमा सन्तुलनमा हुन्छ । मान्छेले त्यसको सन्तुलन र सौन्दर्य नष्ट गर्छ । यसलाई रोक्नु नै बेथिति र मानवीय दुःखलाई रोक्नु हो । वातावरणीय संरक्षण, दिगो विकास, भावी पुस्ताका लागि प्रकृति हन्तान्तरण, सुशासनका लागि लोभहीन प्राकृत जीवन पद्धति यही विचारधाराका योगदान हुन् ।
दशौं-अराजकतावादी (अनार्किष्ट) विचारधारा हो । यो विचारधारा युरोपेली समाजवादी आन्दोलनको प्रारम्भमा निकै शक्तिशाली थियो । रुसी चिन्तक मिखायल बाकुनिन र जर्मन राजनीतिज्ञ फर्डिनेन्ड लासालले यो विचारलाई विश्वराजनीतिमा भित्र्याएका हुन् ।
अराजकतावादी चिन्तनमा धार्मिक सामाजिक संस्था वा राज्यको अस्तित्व स्वयंमा खराबीको कारण हो । प्रकृतिले आफ्ना नियमहरु आफैं बनाएको हुन्छ । त्यो आफैंमा पर्याप्त छ । पशु जगतको कुनै राज्य हुँदैन । पंक्षीलाई जुनसुकै देशमा जान कुनै भिसा, पासपोर्ट लाग्दैन । मान्छे पनि प्रकृतिले सिर्जना गरेको प्राणी हो । ऊ चराझैं सामाजिक तथा राजनीतिक संस्थाहरुको नियन्त्रणबाट स्वतन्त्र हुनु पर्दछ, सबै चिज आफै ठीक हुन्छ । जब राज्य ध्वस्त हुन्छ, मान्छेलाई दमन गर्ने कुनै संस्था नै बाँकी रहँदैन । तसर्थ क्रान्तिकारी आन्दोलनको उद्देश्य राज्यलाई ध्वंस्त गर्नु हो ।
यहाँनेर चर्चा गर्न योग्य कुरा के छ भने अबको युगमा यी विचारहरु एक्लाएक्लै बलशाली छैनन् । यी विचारहरु अन्तर्घुलित भएर विभिन्न विचारहरुको जन्म भएको छ । अमेरिकी र भारतीय स्वतन्त्रता संग्राममा उदारवाद र राष्ट्रवादको समिश्रण थियो भने चिनियाँ, भियतनामी क्रान्तिमा साम्यवाद र राष्ट्रवाद समिश्रति भएका थिए । नोर्डिक लगायत पश्चिम युरोपेली मुलुकमा राष्ट्रवाद र समाजवादको समिश्रण छ । बेलायतको लेबोर र अमेरिकाको डेमोक्रयाटिक पार्टीका विचार उदारवाद र समाजवादको समिश्रणबाट बनेका छन् ।
देङपछिको चीनमा साम्यवाद र बजार अर्थतन्त्रको समिश्रणलाई बुझाउन ‘समाजवादी बजार अर्थतन्त्र’ भन्ने नयाँ शब्दाबली प्रयोग गरिएको छ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ ।
प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन् । पहिचानवादीहरुभित्र राजपाजस्तो उदारवादी र फोरमजस्तो समाजवादी दुबै धार छन् ।
वैकल्पिक राजनीतिको कुरा गरिरहेको नयाँ शक्ति पार्टीले समाजवादभित्रको ‘सोसल डेमोक्रेसी’ लाई समात्न खोजेको प्रतीत हुन्छ । तर, नेपालका सन्दर्भमा साम्यवादी आन्दोलनको योगदानलाई पनि उसले नकारेको छैन । विवेकशील साझा भने ‘पोष्ट मोर्डानिज्म’तिर गइरहेको हो कि जस्तो लाग्छ, जो उपरोक्त १० वटै धारभन्दा केही भिन्न विचारधारा हो । ‘पोष्ट मोर्डानिज्म’ अहिलेसम्म दर्शनको तहमा मात्र छ, त्यसले राजनीतिक आकार लिइसकेको छैन ।
संक्षेपमा भन्नु पर्दा आज कुनै पनि राजनीतिक विचारधारा अर्ग्यानिक छैनन् । यस परिप्रेक्ष्यमा कम्युनिज्मको मौलिक विचार के थियो, नेपालका कम्युनिष्टहरुले कुन प्रवृत्ति समात्ने सम्भावना छ भन्ने र नेपालको वस्तुगत यथार्थले कस्तो विचारधारा माग गरिरहेको छ भन्नेबारे अर्को किस्तामा चर्चा गरिनेछ ।
(भाग ३)
अगाडि नै भनियो- मार्क्सवाद समाजवादी आन्दोलनकै एउटा धार थियो । तर, यो अरु समाजवादी धारभन्दा के कारणले भिन्न थियो भन्ने प्रष्ट हुन कार्ल मार्क्सले सन् १८५२ मार्च १ मा जे. बेमेडियरलाई लेखेको चिठ्ठीलाई आधार मान्न सकिन्छ ।
त्यसमा मार्क्स लेख्छन् ‘आधुनिक समाजमा वर्गहरुको अस्तित्व र तिनीहरु बीचको संघर्ष पत्ता लगाएको जस मलाई दिइरहनुपर्दैन । त्यो काम त मभन्दा धेरै अगाडि नै बुर्जुवा इतिहासकार र अर्थशास्त्रीहरुले गरिसकेका थिए । मैले प्रमाणित गरेको नयाँ कुरा त के हो भने एक- वर्गहरुको अस्तित्व उत्पादनसम्बन्धको निश्चित ऐतिहासिक चरणसँग जोडिएको हुन्छ । दुई- त्यस्ता वर्गहरु बीचको संघर्ष अनिवार्यरुपमा सर्वहारा वर्गको अधिनायकत्वतिर अगाडि बढ्दछ । तीन- त्यस्तो अधिनायकत्व तिनै वर्गहरुको विलोप र वर्गविहीन समाज निर्माणको संक्रमण हुने गर्दछ ।’
मार्क्स को विचारसँग मिल्दोजुल्दो पहिलो राजनीतिक क्रान्ति फ्रान्समा भयो । सन् १८७१ मा जर्मनीसँग फ्रान्सेली सेना हारेको थियो । फ्रान्समा अनेक प्रकारका क्रान्तिकारी समूह थिए । १८ मार्चमा उनीहरुले विद्रोह गरे । विद्रोहीहरुले मे २८ सम्म ७२ दिन पेरिसको सत्ता आफ्नो हातमा लिए । तर, त्यो टिक्न सकेन । सफल पेरिस विद्रोह क्रान्तिकारी सत्ताका रुपमा टिक्न नसक्नुमा मार्क्सले मुख्य दुईवटा कमजोरी औल्याएका थिए । क्रान्तिकारीहरुमा रहेको अराजकतावादी चिन्तन र क्रान्तिकारी अधिनायकत्वको अभाव । यही विद्रोहलाई आधार बनाएर लेखिएको मार्क्सको किताब ‘पेरिस कम्युन’ साम्यवाद के हो भनेर बुझ्न अर्को महत्वपूर्ण स्रोत हो ।
यी दुई स्रोतलाई आधार मानेर हेर्दा निम्न प्रकारको राजनीतिक विश्वासलाई कम्युनिज्म भन्नुपर्ने हुन्छ ।
एक- पुँजीवादी समाजमा मुख्य दुई वर्ग हुन्छन- सर्वहारा र बुर्जुवा । सर्वहाराको संख्या ठूलो करिब ९५ प्रतिशत र बुर्जुवाको संख्या थोरै करिब ५ प्रतिशत हुन्छ । ठूलो संख्यामा भएका सर्बहारालाई कम्युनिष्ट पार्टीले संगठित गर्छ र बुर्जुवा समाज उल्टाइदिन्छ । यस्तो घटना सर्वहारा क्रान्ति हुन्छ । त्यसपछि स्थापित हुने सत्ता सर्वहारा सत्ता हुन्छ ।
दुई-सर्वहारा सत्ताले बहुदलीय व्यवस्था अपनाउँदैन । किनकि त्यहाँ बुर्जुवा वर्गमाथि अधिनायकत्व लाद्नुपर्ने हुन्छ । बहुदलीय व्यवस्थामा कुनै एउटा वर्गको अधिनायकत्व लाद्न सकिन्न । तसर्थ सर्वहारा सत्ताले केही समय (कति समय प्रष्ट छैन) सर्वहारा वर्गलाई लोकतन्त्र दिन्छ, तर वुर्जुवा वर्गलाई लोकतन्त्र दिँदैन ।
तीन-मुख्य उत्पादन साधानहरुको राष्ट्रियकरण गरिन्छ । विशेषतः भूमि र उद्योगको राष्ट्रियकरण गरिन्छ । यस्ता उत्पादन साधानहरुको व्यवस्थापन किसान र मजदुरहरु आफैंले निर्वाचित गरेका संस्थाहरुले गर्दछन् । ती संस्थाहरु विस्तारै कम्युनका रुपमा विकास हुन्छन् ।
चार- कम्युन भनेका कार्यकारी, विधायकी र न्यायिक तीनवटै अधिकार एकीकृत कामकाजी संस्था हुन । बुर्जुवा संसदजस्तो गफ गर्ने थलो हैनन् । कम्युनहरुको शक्तिको एकत्व हुन्छ, शक्तिपृथकीकरणले ल्याएका समस्यालाई त्यसले हल गर्दछ ।
पाँच-कम्युनहरु विकसित हुँदै गएपछि राज्य विलोप हुँदै जान्छ । राज्य विलोप हुनु भनेको मुख्य तीन चीज विलोप हुनु हो- तलवी कर्मचारीतन्त्र, सेना, प्रहरी र पेशेवार राजनीतिज्ञ । कम्युनले यी तीन संगठनको काम आफै गर्न थाल्छ । यी संगठनहरु प्रयोजनहीन हुँदै जान्छन् । कम्युनवासीहरुको औसत ज्याला समान बनाउँछ ।
नेपालका कम्युनिष्टहरु आज मार्क्सवादी, लेनिनवादी वा माओवादी हैनन्, मूलतः काउत्स्कीवादी, बीपीवादी वा मदनवादी हुन्
छ- कम्युनको निर्वाचन कम्युनवासीहरुले गर्दछन् । उनीहरुलाई प्रत्याह्वान र अस्वीकारको अधिकारसमेत हुन्छ । कम्युन व्यवस्थापकहरुले कम्युनको व्यवस्थापन गर्न नसके उनीहरुलाई हटाइन्छ र फेरि त्यहाँ अर्को कम्युनस्तरको चुनाव हुन्छ ।
सात-कम्युनमा मान्छेहरु सामुहिक रुपमा काम गर्दछन् । शुरुवात्मा मान्छेहरुले काम अनुसारको दाम पाउँछन् । विस्तारै उत्पादन धेरै हुँदै जान्छ, अब सबैले सकेको काम गर्दछन्, चहिए जति सामान र सुविधा पाउन्छन् । यो अबस्थामा पुगेपछि राज्य पुरै ध्वंस्त हुन्छ । कोही धनी गरिब रहँदैन । सबै समान र बरावर हुन्छन् । कोही शोषित र शोषक रहन्न । कोही शासक र शासित रहन्न ।
के नेपालका कम्युनिष्टहरु आज यी विचारहरुको प्रतिरक्षा र कार्यान्वयन गर्न सक्ने अवस्थामा छन् त ? विल्कूलै छैनन् । कार्यान्वयन गर्न सक्ने अवस्थामा छैनन् मात्र हैन, यस्तो समाज होला, हुन सक्ला भन्ने सैद्धान्तिक विश्वास पनि उनीहरुमा बाँकी छैन । यसर्थमा नेपालका कम्युनिष्टहरु कम्युनिष्ट हैनन् ।
जब मार्क्सवादी विचारबाट सर्वहारा अधिनायकत्वको प्रश्नलाई हटाइन्छ, बहुदलीय व्यवस्था स्वीकार गरिन्छ र बहुदलीय लोकतन्त्रको विकल्पका रुपमा ल्याइएको कम्युन प्रणाली/सोभियत प्रणाली अस्वीकार गरिन्छ, त्यो स्वतः ‘प्रजातान्त्रिक समाजवाद’ हुन्छ । तसर्थ नेपालका कम्युनिष्टहरु आज मार्क्सवादी, लेनिनवादी वा माओवादी हैनन्, मूलतः काउत्स्कीवादी, बीपीवादी वा मदनवादी हुन् ।
नेपाली विचारधारको क्षेत्रमा पृष्ठभूमिको भिन्नता बाहेक बीपीवाद र मदनवादका बीचमा कुनै भिन्नता छैन । खालि व्यक्त गर्ने तरिका र भाषा मात्र फरक हो । त्यो पृष्ठभूमिको भिन्नताले सृजना भएको हो । एउटै सार -संसदीय बहुदलीय लोकतन्त्र र सामाजिक न्यायसहितको मिश्रित अर्थतन्त्र हो । दुई पार्टीले व्यक्त गर्ने शब्द फरक भएपनि व्यवहारमा व्यक्त हुने राजनीतिक र आर्थिक ढाँचामा कुनै भिन्नता बन्दैन । २०४६ यताको करिब ३ दशकमा एमाले र नेपाली कांग्रेसका सरकारहरु बीच कुनै कार्यशैलीगत वा तात्विक भिन्नता देखा नपर्नुको कारण पनि यही हो ।
यहाँनेर ध्यान दिनुपर्ने कुरा के हो भने के नेपाली कांग्रेस चाहिँ वीपीवादी हो त ? जसरी कम्युनिष्टहरु मार्क्सवादी, लेनिनवादी हैनन्, त्यसैगरी नेपाली कांग्रेस पनि वीपीवादी हैन । त्यसको प्रमाण आठौं योजनाको आधारपत्र हो, जसका आधारमा विगत करिब ३ दशक यताको नेपाली अर्थतन्त्र चलेको छ ।
आठौं योजनाको आधारपत्र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, महेश आचार्य अर्थमन्त्री र डा. रामशरण महत अर्थतन्त्री हुँदा बनेको थियो । उनीहरुले नै नेपालमा शिक्षा र स्वास्थ्यको समेत चरम निजीकरण र व्यापारिकरण हुन सक्ने कानुन ल्याएका हुन् । नीति कांग्रेसले ल्याए, एमालेहरुले सिद्धान्तमा विरोध गरेजस्तो गरे तर त्यसको सबैभन्दा बढी फाइदा एमालेहरुले उठाए । हिजो निम्नमध्याम वर्गआधार भएको एमाले आज नवधनाढ्यहरुको पार्टी बन्न पुगेको छ, त्यसको मुख्य आर्थिक क्षेत्र शिक्षा र स्वास्थ्यको व्यापार, जग्गा व्यापार, एनजिओ र म्यान पावर कम्पनीहरु हुन् ।
यसको अर्थ यो हैन कि अर्थतन्त्रलाई पुरानै ढाँचामा राख्नु पर्दथ्यो । यातायात, हवाइसेवा, सञ्चार आदि क्षेत्रमा कांग्रेसको उदारीकरण नीति केही हदसम्म सफल भएकै हो । तर, समग्रमा यसले नेपाललाई कमजोर नियमक राष्ट्र, दलाल पुँजीवाद र छाडा खुल्लातन्त्र वा लुटतन्त्रको स्थितिमा पुर्याएको छ । माओवादीले हिजो यी चिजहरुको विरुद्ध विद्रोह गरेकै हो । एमाले त्यसैको मतियार हुँदै आएको हो । आज दुबै एकै ठाउँमा छन् । हेरौं अब कस्तो आर्थिक नीति लिन्छन् ।
यस विन्दुमा एमाले मित्रहरुको के विमति रहँदै आएको छ भने यो सबै खराबीको कारण कांग्रेस हो, एमालेको बहुमतको सरकार नबनेको कारण हो । यो सत्य हैन । तर, शंकाको सुविधा दिने हो भने आउँदा दुईचार वर्षमा यो तर्कको सीमा पनि प्रष्ट हुनेछ । अब कम्युनिष्टहरुको एकल बहुमतको सरकार बन्दैछ । त्यसो हो भने कम्युनिष्टहरुले निम्न काम गर्न तयार हुनु पर्ने हुन्छ ।
एक-शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम निजीकरण र व्यापारिकरणको अन्त्य गर्न । यी क्षेत्रमा भएका सबै विभेदहरुको अन्त्य गर्न ।
दुई-हलिया, कमैया, सुम्कुम्बासीहरुको न्यूनत्म भूमि तथा आवास अधिकार सुनिश्चित हुने गरी नयाँ भूमिसुधार कार्यक्रम लागू गर्न ।
तीन-ब्यूरोक्रेसीको पुनर्सरचना गर्न । दलीय ट्रेड युनियन खारेज गर्न । आधुनिक सुशासन सिद्धान्तका मानकहरु लागू गर्न ।
चार-जनस्वास्थ्य प्रतिकुल हुने बजारमाथि कडा नियमन गर्न । सेन्डिकेट र कार्टेलिङको अन्त्य गर्न । सामाजिक बजारशास्त्र अवधारणा (सोसाइटल मार्केटिङ कन्सेप्ट) लागू गर्न ।
पाँच-वास्तविक कारोवारको आधारमा कर लगाउँन । प्रगतिशील कर नीति लागू गर्न । आइएन/एनजीओको लगानी लक्षित समुदायसम्म पुग्ने गरी बलियो अनुगमन गर्न ।
छ- देशको उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा फेर्न । देशको व्यापार हटाउन । प्रतिव्यक्ति आय बढाउँन। आउँदो ५ वर्षभित्र नेपाललाई अल्पविकसित देशहरुको समूहबाट बाहिर निकाल्न ।
सात- निर्वाचन प्रणाली र पार्टी प्रणालीलाई सुधार गरी राजनीतिमा स्टेटफन्डिङको व्यवस्था गर्न राजनीतिमा क्रियाशील हुने अपारदर्शी र भद्दा लगानी निरुत्साहित गरी पारदर्शी लोकतन्त्रको सवलीकरण गर्न ।
उनीहरु कम्युनिष्ट त हैनन् हैनन् उपरोक्त सात क्षेत्रहरुमा उनीहरुको सरकारको नीति कस्तो हुने छ, त्यसका आधार उनीहरु ‘प्रजातान्त्रिक समाजवादी’ सम्म चाहिँ रहनेछन् वा नेपाली कांग्रेसझैं ‘लिवरल डेमोक्र्याटस’ मा च्यूत हुनेछन, प्रष्ट हुनेछ ।
यहाँनेर अर्को एउटा ध्यान दिन योग्य कुरा छ- त्यो के भने जसरी अहिले विकास र संमृद्धिको कुरा हुँदैछ त्यसले उपरोक्त सात प्रश्नहरुलाई बर्कोले छोप्ने र केही ठूला योजनाहरु देखाएर मतदाताको मनोवैज्ञानिक शोषण गर्ने संभावना पनि छ । चिनियाँ रेल, छ लेनका सडक, स्मार्ट सिटी, हिन्द महासागरमा पानि जहाज, घरघरमा मिटर रिड गर्दा हुने ग्याँस पाइप, यी सबै भइदिए राम्रो । यी गफ मात्र हैनन्, भने पूरा भएका दिन सबै नेपाली एकसाथ खुशी हुन सकिन्छ ।
तर, राजनीति र अर्थतन्त्रका संचरनात्मक समस्याहरु ज्यूको त्यू राखेर केवल केही ठूला योजनाहरु सम्पन्न गर्दैमा त्यसले अपेक्षित शान्ति, विकास, सुशासन र संमृद्धि दिन सक्ने छैन । समृद्धिको अर्थ केवल नवधनाढ्य वर्गको सुविधा मात्र हैन, समतामूलक संमृद्धि, सबैको संमृद्धिका लागि संरचनागत पक्षहरुमा छिर्नैपर्छ । यस दृष्टिकोणबाट पनि अब नेपालका कम्युनिष्टहरुको अग्निपरीक्षा शुरुवात भएको छ ।
अन्तिम प्रश्न- नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी सिद्धान्तबाट व्यवहारमा उदार लोकतान्त्रिक दलमा च्यूत भएका कारण नेपालको तीन दशक निक्कै कष्टकर रहृयो, यदि कम्युनिष्टहरुले त्यही बाटो रोजे भने नेपालको वैचारिक तथा व्यवहारिक भविष्य के होला ?
त्यतिखेर लोकतन्त्र र समाजवादको प्रश्नलाई पुनर्परिभाषित गर्ने दलको अवश्यकता टट्कारो भएर आउँछ । त्यो भनेको लोकतन्त्रलाई अझ एक तहमाथि- सहभागितामुलक लोकतन्त्रमा र समाजवादलाई अझ एक तहमाथि- समुन्नत समाजवादमा विकसित गर्ने दलको निर्माण गर्नु बाहेक नेपाली जनताका सामु कुनै विकल्प बाँकी रहने छैन । तसर्थ आगामी ५ वर्षको ‘वाम गठबन्धन’ को शासन नेपाली राजनीतिको वैचारिक तथा व्यवहारिक धारलाई निर्धारण गर्ने निर्णायक वर्ष हुनेछन् ।
https://www.onlinekhabar.com बाट साभार
Subscribe to:
Posts (Atom)