Tuesday, December 26, 2017

'सङ्गठनात्मक रूपमा नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन भएको छ' - विश्वभक्त दुलाल ‘आहुति’



विगत साढे तीन दशकदेखि कम्युनिस्ट आन्दोलनमा रहेका विश्वभक्त दुलाल ‘आहुति’हाल माओवादी केन्द्रका नेता तथा माक्र्सवादी चिन्तक हुन् । हाल उनी– ‘नेपालमा कम्युनिस्ट आन्दोलनको आजको युग अनुसारको नयाँ चक्रको थालनी गर्नुपर्छ’ भन्ने अभियानमा लागेका छन् । उनै आहुतिसँग नेपालको कम्युनिस्ट आन्दोलन, एमाले–माओवादी गठबन्धनलगायत विषयमा रातोपाटीका लागिनरेश ज्ञवालीले गरेको अन्तरवार्ता ।  
नेपाली कम्युनिस्ट आन्दोलनको उतार–चढावलाई कसरी हेर्नुभएको छ ?
नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुआत सामन्तवादभित्र पुँजीवादको विकास हुन थालेपछि विशेषतः विराटनगर जुटमिल, काठमाडौँको एयरपोर्ट, त्रिचन्द्र कलेज, नयाँ सडक जस्ता केही चीजहरू सुरु भएपछि भएको हो । जसको मुख्य लक्ष्य साम्राज्यवाद, विस्तारवाद र सामन्तवादबाट नेपाली समाजलाई मुक्त गरेर कम्युनिस्टहरूको नेतृत्वमा पुँजीवादको विकास गर्दै समाजवादतर्फ जाने भनेर अगाडि बढ्नुथियो ।
यदि जनयुद्धलाई आधार मान्ने हो भने के नेपालको कम्युनिस्ट आन्दोलनलाई जनयुद्धपूर्व, जनयुद्धपछि र जनयुद्धको अवधिभर भनेर हेर्न मिल्छ ?
टुक्र्याएर हेर्न पनि मिल्छ तर म टुक्र्याउनुको धेरै अर्थ देख्दिनँ । नेपालको कम्युनिस्ट आन्दोलनमा सशस्त्र विद्रोहहरू कुनै बेला थोरै पैमानामा र कुनै बेला ठुलो पैमानामा भएका छन् । त्यसकारण त्यसलाई शृङ्खलामा जोडेर हेर्नुपर्छ । संश्लेषित रूपमा भन्ने हो भने सामन्तवादविरोधी कम्युनिस्ट आन्दोलनले नेपालको सामन्तवादलाई एकै चोटि फाल्न नसके पनि आफ्नै मौलिकतामा चिथोरी–चिथोरी ६० वर्ष लगाएर राजनीतिक र अर्थतन्त्रको क्षेत्रमा पराजित गरेको छ । मेरो बुझाइमा यो परिघटनासँगै नेपालमा सामन्तवाद विरोधी कम्युनिस्ट आन्दोलनको चक्र सकियो । त्यो चक्र सकिएसँगै आज आएर सङ्गठनात्मक रूपमा कम्युनिस्ट आन्दोलन पनि विसर्जन हुन पुग्यो ।
पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ परिघटना थपिएको छ, संसदवादी धाराको प्रतिनिधित्व गर्ने एमाले र तुलनात्मक रूपमा क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने माओवादी केन्द्रको जसरी पार्टी एकता हुने भनिएको छ, यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?
वि.स. २०४४ सालमा माओविचारधारालाई छोडेर जसरी एमालेको निर्माण भयो । त्यसलेपछि क्रमशः शान्तिपूर्ण प्रक्रिया हुँदै पञ्चायतसँग बार्गेनिङमा जाने तय गर्यो । त्यसै वरपर एमालेले पञ्चायतमा जनपक्षीय उम्मेदवार उठाउने राजनीतिक लाइन लियो । पछि जनताको बहुदलीय जनवाद भन्यो । जनताको बहुदलीय जनवादको तात्पर्य ‘मल्टी पार्टी डेमोक्रेसी’ हो । जनवाद भनेको ‘डेमोक्रेसी’ र ‘डेमोक्रेसी’ अर्थात् पुँजीवाद । भन्नुको अर्थ, एमालेले वर्तमान पुँजीवादी व्यवस्थाभित्रको बहुदलीय अभ्यासमा प्रतिस्पर्धात्मक राजनीति गरेर क्रमशः व्यवस्थालाई सुधार गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यो । हामीले त्यसलाई माक्र्सवादबाट विचलन भन्यौँ ।
सन् १९९० पछि संसारभर कथित कम्युनिस्ट सत्ताको पतन सुरु भयो । त्यो सँगसँगै एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले ‘कम्युनिस्ट’ शब्द हामीले ‘टे«डमार्क’को रूपमा राखेको हो भनेपछि स्वतः के सिद्ध भयो भने एमाले कम्युनिस्ट पार्टीका रूपमा क्रियाशील पार्टी नै थिएन । बरु ऊ एउटा ढुलमुल वामपन्थी चरित्र बोकेको पार्टीका रूपमा भने क्रियाशील थियो । एमालेको नेतृत्व गरेर आउने नेताहरूको मूल सपना पञ्चायत फाल्ने मात्र बन्न पुग्यो । त्यहीँबाट एमालेले आफ्नो सपनामा पूर्णविराम लगाएको देखिन्छ । यही चिन्तन र सोच हावी भएका कारण एमालेको नेतृत्वलाई गणतन्त्र आउँछ भन्नेमा विश्वास लागेन । सपनामा पूर्णविराम लगाएको पार्टी र नेतृत्वले गणतन्त्रको सपना देख्नुपर्छ र हामी अगाडि जानुपर्छ भन्ने कहिल्यै ठानेन् । ०४६ पछि पुँजीवादी राजनीतिक विचारधारा बोकेको नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गर्ने भएपछि उहाँहरूले पार्टी र आफ्नो जीवनलाई पुँजीवादी पार्टीको समानान्तर बनाउन पुँजीवादी आर्थिक प्रणालीमा आफूहरूलाई समाहित गर्न लाग्नुभयो ।
त्यसरी समाहित हुन खोज्दाका परिणामहरू सतहमा के देखिए भने पुँजीवादीहरूले प्रतिस्पर्धाका निम्ति जे–जस्तो हत्कण्डा अपनाउँछन्, एमालेले पनि त्यही हत्कण्डा अपनाउन थाल्यो । हुँदाहुँदा एमालेको नेतृत्वको आधारभूत आर्थिक नैतिकता, संस्कृति, जीवनशैली, सोच्ने तरिका पुँजीपति वर्गकै जस्तो हुन पुग्यो, बढीमा मध्यमवर्गको माथिल्लो तप्काले सोच्ने भन्दा फरक सोच्न नसक्ने अवस्था रह्यो ।
कुनै पनि कम्युनिस्ट पार्टी चल्ने भनेको पद्धति, प्रक्रियामा हो तर माओवादी पार्टीको नेतृत्व डफ्फाले सैद्धान्तिक जवाफ दिनुपर्ने कयौँ प्रश्नमा आँखा चिम्लँदै व्यक्तिवादी कार्यशैली अपनाउन थाल्यो । ठूलो नेताले जे भन्यो त्यही हुने स्थिति बन्न थाल्यो ।
माओवादी धाराको कुरा गर्ने हो भने, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सशस्त्र जनयुद्ध गर्नुपर्छ भन्ने मान्यता राख्नेहरू त्यो आन्दोलनबाट आएका हुन् । तर शान्ति प्रक्रियामा आउने निर्णयसँगै उहाँहरूले तीन चार कुरामा चिन्तन गर्नु भएन । पहिलो, सशस्त्र सङ्घर्षमा पूर्णकालीन भएकाहरूको व्यवस्थापन कसरी गर्ने ? त्यो चिन्तन गर्न नसक्दा परिणाम के देखियो भने हजारौँ युवाहरू सदरमुकाम र राजधानीमा केन्द्रित भए तर उनीहरूलसँग त्यसको व्यवस्थापनको कुनै आर्थिक प्रणाली र योजना थिएन । फलस्वरूप ठूलो भागदौड, रस्साकस्सी र समस्याको जालमा युवाहरूको जमात फस्यो । अर्कोतर्फ नेतृत्वको डफ्फाले आफूलाई टिकाउन आर्थिक रूपमा निश्चित पारदर्शी प्रणालीमा व्यवस्थित गर्न सकेन ।
दोस्रो, कुनै पनि कम्युनिस्ट पार्टी चल्ने भनेको पद्धति, प्रक्रियामा हो तर माओवादी पार्टीको नेतृत्व डफ्फाले सैद्धान्तिक जवाफ दिनुपर्ने कयौँ प्रश्नमा आँखा चिम्लँदै व्यक्तिवादी कार्यशैली अपनाउन थाल्यो । ठूलो नेताले जे भन्यो त्यही हुने स्थिति बन्न थाल्यो । जबकि ती सबै सैद्धान्तिक प्रश्नहरूका जवाफ माक्र्सवादी कोणबाट छलफल गरेर त्यसलाई हल गर्नुपर्ने थियो । समग्रमा पार्टीलाई विधिमा ढाल्नुपर्ने थियो । तर उहाँहरूले त्यसको विपरीत गर्न थाल्नुभयो र प्रश्नको विकल्पमा नयाँ नयाँ भ्रम दिने विधिको खोजी गर्न थाल्नुभयो । यसको परिणाम स्वरूप पद्धति प्रक्रिया मिच्ने, व्यक्तिले पार्टी चलाउने र मनपरेको व्यक्तिलाई मात्र पहुँच दिने हुन थाल्यो । यतिसम्म कि माक्र्सवादी नै नभएको व्यक्तिलाई केन्द्रीय समितिको बैठकै नबसी केन्द्रीय सदस्य बनाउने स्थितिसम्म विकृति बढ्यो ।
तेस्रो, शान्ति प्रक्रियामा प्रवेशसँगै ठूलो सैद्धान्तिक बहस गर्नुपथ्र्यो । तर, उहाँहरूले त्यसलाई निषेध गर्नुभयो । मुखपत्र प्रकाशन गर्न छाड्नु भयो । मुखपत्र प्रकाशन गरिहालेमा भाषण छाप्न थाल्नुभयो । आफ्ना साप्ताहिक पत्रिका बन्द गर्ने, पार्टीभित्रको स्कुल नचलाउने, प्रशिक्षण भनेर भाषण गर्ने हुन थाल्यो । यसको परिणाम के देखियो भने कार्यकर्ता वैचारिक समस्याको जङ्गलमा फस्न पुगे । वैचारिक छलफलमा कसैले ध्यान नदिने सिलसिला चल्यो । फलस्वरूप वैचारिक रूपमा खोक्रो राजनीतिक कार्यकर्ता पङ्क्ति लडेको मुढो सरह अन्योल र भ्रममा जेलिँदै जान थाल्यो । यसले उसलाई बाँच्नका निम्ति जे पनि गर्नुपर्ने अवस्थामा पुर्याइदियो ।
यसको विकल्पमा प्रतिक्रियावादसँग लड्न पार्टीसँग स्पष्ट माक्र्सवादी राजनीतिक दिशा चाहिन्थ्यो तर उहाँहरूले माक्र्सवादी विचारधारालाई प्रवद्र्धन गर्नेभन्दा पनि आफू ‘सेटल’ हुने तर्फ लाग्नुभयो । म कसैलाई भ्रष्ट भन्ने पक्षमा छैन तर पार्टीको अधिकांश नेतृत्व आर्थिक अपारदर्शिताको जङ्गलमा जेलिन पुग्यो । यो दुःखद कुरा थियो । नीतिगत कुरा गर्दा जुन व्यक्ति, संस्था आर्थिक रूपमा अपारदर्शी हुन्छ, त्यसको नैतिक मृत्यु अनिवार्य छ । यस कुराले नेतृत्वको मूल डफ्फामा अब माक्र्सवाद, क्रान्तिकारी आन्दोलनको पुनर्गठन सम्भव छैन भन्ने सोच हावी हुन गयो । तर आम कार्यकर्ता पङ्क्तिसमक्ष यो कुरा भन्न सकिने अवस्था थिएन ।
न्यूनतम आर्थिक अनुसाशनलाई समेत भताभुङ्ग पारी अपारदर्शितामा आधारित समग्र क्रियाकलापले नेतृत्व डफ्फाको हिजोको वर्ग र आजको वर्गमा ठूलो खाडल पैदा भइसकेको थियो । यदि नेतृत्वको वर्ग (निम्नमध्यम) हिजोकै ठाउँमा रहेको भए उहाँहरू सर्वहारावादी हुन कोसिस गर्नु अझै सक्नुहुन्थ्यो तर पुरानो वर्गबाट च्युत भ्इसकेको नेतृत्वका लागि अब पुरानो कुरा पुरानै भइसकेको थियो । यथार्थमा भन्ने हो भने माओवादी केन्द्रको मूल नेतृत्व डफ्फा आज राजनीतिक नोकरशाही पुँजीपतिवर्गमा रूपान्तरित भइसकेको छ । त्यसैले उहाँहरू माक्र्सवादलाई विकास गर्न नसक्ने अवस्थामा पुग्नु भयो । उहाँहरूले अब चाहेर पनि माक्र्सवादलाई विकास गर्न सक्नु हुन्न । उहाँहरूले अपनाएको षडयन्त्रकारी कार्यशैलीको मूल जड पनि उहाँहरूले अपनाएको नयाँ वर्गीय धरातल हो भन्दा अनुपयुक्त हुँदैन ।
माओवादी केन्द्रको अहिले देखिएको बाहिरी रूप त्यो घरको पालीको त्यो फर्सी जस्तो हो जो भित्रभित्रै कुहिएको छ तर बाहिर बोक्रा चाहिँ राम्रो देखिन्छ । त्यहाँ कुनै विरालोले छोयो भने मात्र त्यो फ्यात्त झर्छ । यही अवस्थामा चुनावको जोखिम आइपुग्यो । चुनावले कुहिएको फर्सीको वास्तविकता सबैका अगाडि नङ्ग्याइदियो । उसले हामी पनि एमाले जस्तै हौँ । एकता गर्ने नै हो भनेर आफ्नो सारअनुसारको रूप प्रकट गर्यो, एमाले–माओवादी एकताको प्रकरण यही नै हो ।
यो एकता के कुराको द्योतक हो त ?
मेरो विचारमा यो एकता पहिलो, नेपाली कम्युनिस्ट आन्दोलनको औपचारिक रूपमा सङ्गठनात्मक विसर्जन हो । दोस्रो, यो एकताले अहिलेसम्म लडेर संविधानमा स्थापित गरेको जातीय, क्षेत्रीय, लैङ्गिक र दलितलगायतका मुद्दालाई क्रमशः सङ्कुचनमा लैजाने कडीको सुरुवात हो । मेरो स्पष्ट अडान के हो भने यो एकताले सबै उत्पीडित वर्ग र समुदायको अधिकारलाई कटौतीतर्फ लैजान्छ । यसको कारणका खुट्याउन तपाईं यी पार्टीहरूको सामाजिक, सांस्कृतिक बनोटतर्फ फर्किनुपर्ने हुन्छ ।
माओवादी पार्टीको मूल नेतृत्व डफ्फाको प्रवृत्ति उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी थियो (सारमा कठोर नै) त्यसको मूल कारण जनयुद्धमा महिला, दलित, मधेसी, आदिवासीले बगाएको रगत र ती कार्यकर्ताहरूको गर्जनका अघि नेतृत्वले कड्केर यसो गर्दिनँ, त्यो नारा ठीक छैन भन्ने अवस्था थिएन । बरु ऊ– हामीले गर्न खोजेकै हो तर अरूले रोके भनेर नरम ढङ्गले पेश हुन्थ्यो । यस्तो चरित्र भनेको रूपमा उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी चरित्र थियो ।
माओवादी पार्टीको मूल नेतृत्व डफ्फाको प्रवृत्ति उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी थियो (सारमा कठोर नै) त्यसको मूल कारण जनयुद्धमा महिला, दलित, मधेसी, आदिवासीले बगाएको रगत र ती कार्यकर्ताहरूको गर्जनका अघि नेतृत्वले कड्केर यसो गर्दिनँ, त्यो नारा ठीक छैन भन्ने अवस्था थिएन । बरु ऊ– हामीले गर्न खोजेकै हो तर अरूले रोके भनेर नरम ढङ्गले पेश हुन्थ्यो । यस्तो चरित्र भनेको रूपमा उदार हिन्दु सामन्तवादी ब्राह्मणवादी चरित्र थियो ।
एमालेको मूल नेतृत्वको वास्तविक प्रवृत्ति भनेको चाहिँ कठोर हिन्दु सामन्तवादी ब्राह्मणवादी हो । उनीहरू हाक्काहाकी हामीले सबै कुरा दिई सक्यौँ अब पनि तिमीहरूलाई के कुरा चाहिँयो भन्ने डफ्फा हो । अब यो दुई पार्टीको एकताले के हुने भयो भने अब बन्ने पार्टीमा हिन्दु सामन्तवादी ब्राह्मणवादी प्रवृत्ति नेतृत्वमा दुई तीहाई बहुमतमा पुग्ने भयो । यसको परिणाम स्वभाविक रूपमा उत्पीडित समुदायको अधिकार कटौती हुने प्रष्ट छ किनभने हिजो एमालेभित्रको ठूलो तप्काले र माओवादी केन्द्रभित्रको सानो तप्काले उत्पीडित समुदायका सीमित अधिकारहरू संविधानमा सुनिश्चित गर्दा नै छाती दुखेको अनुभव गरिरहेको दृश्य सबैले देखेकै हो ।
हामीले यस कुराको राम्रो उदाहरण दुवै पार्टीहरूले अहिलेको चुनावमा उठाएका उम्मेदवारहरूमा महिला र दलितको सङ्ख्या हेरे पुग्छ । १६५ सिटमा दुबै पार्टीले जम्मा आधा दर्जन महिलालाई उम्मेदवार बनाए । जम्मा ३ जना दलितलाई स्थान दिइयो । यसबाट के प्रष्ट हुन्छ भने उहाँहरू संविधानमा स्थापित मूल्य–मान्यताहरूलाई कटौती गर्न कम्मर कसेर लाग्नु भएको छ । निष्कर्षमा यो एकता एकतिर सङ्गठनात्मक रूपमा कम्युनिस्ट आन्दोलनको विसर्जन हो भने अर्कातिर जनयुद्ध र जनआन्दोलनद्वारा संविधानमा स्थापित उत्पीडित वर्ग र समुदायका सीमित अधिकारहरू पनि कटौती गर्ने यात्राको प्रस्थान विन्दु पनि हो ।
तपाईं कम्युनिस्ट आन्दोलनमा जति दशकदेखि हुनुहुन्छ त्यो आन्दोलन विघटनतर्फ जाँदैछ भन्ने कुरा तपाईंले पहिले नै उठाउनुपर्ने होइन र ? अब आन्दोलन विघटित भयो भनेर भन्नु भनेको तपाईंको पनि असफलता र अदूरदर्शिता होइन ?
तपाईंले उठाएको कुरा ठीक छ र त्यो पनि समीक्षाको विषय हुनुपर्छ । तर यो विषय मैले आजभन्दा साढे दुई वर्षअघि खुला रूपमा ‘खबरडबली डटकम’ अनलाइन पत्रिकामा– नेपालमा सङ्गठित रूपमा कम्युनिस्ट पार्टी छैन भनेर उठाएको थिएँ । कम्युनिस्टहरू छन् । कम्युनिस्ट पार्टी बनाउन चाहने र कम्युनिस्टलाई मन पराउने जनसमुदाय पनि छन् । तर सङ्गठित रूपमा कम्युनिस्ट पार्टी छैन भनेर ‘विरक्तिएको माओवादी आन्दोलन’ शीर्षकमा लेखको शृङ्खला लेखेको थिएँ ।
त्यहाँ मैले के भनेको थिएँ भने यसलाई सच्याउन र नयाँ ढङ्गले विकास गर्नतर्फ नलाग्ने हो भने माओवादी पार्टी पनि कम्युनिस्ट पार्टीको रूपमा फर्किने सम्भावना छैन । बहस त्यहाँबाट सुरु गरिएको थियो तर सँगसँगै जनताले लडेर ल्याएको अधिकारलाई संविधान बनाएर बढीभन्दा बढी सुरक्षित गर्नुपर्ने कार्यभार पनि हामी माझ थियो । त्यसकारण हामीले पार्टीभित्रको त्यो बहसलाई रोक्यौँ । केन्द्रीय समितिमा हाम्रो के समझदारी भएको थियो भने संविधान बनाइसकेपछि एउटा महाबहस सृष्टि गरेर महाधिवेशनतिर जाने र एउटा नयाँ पार्टी निर्माणमा लाग्ने । त्यसकारण हामीले बहस पर्खेर बस्यौँ ।
नेतृत्वको डफ्फाले छापामार शैलीमा कुनै कमिटीको बैठक नराखी एमालेसँग पार्टी एकताको सात बुँदे ल्याएर– एमालेसँग पार्टी एकता गर्ने भइयो, तपाईंहरूले अनुमोदन गरिदिनु पर्यो भनेर प्रस्ताव होइन निर्णय सुनायो । यो निर्णय त्यस्तो अनौपचारिक वैठकमा ल्याइएको थियो, जहाँ चुनावका लागि टिकट दिन सिफारिस गर्ने कार्यदलको बैठक डाकिएको थियो । त्यस्तो अवस्थामा छलफलको कुनै सम्भावना थिएन ।
तर नेतृत्वको डफ्फाले छापामार शैलीमा कुनै कमिटीको बैठक नराखी एमालेसँग पार्टी एकताको सात बुँदे ल्याएर– एमालेसँग पार्टी एकता गर्ने भइयो, तपाईंहरूले अनुमोदन गरिदिनु पर्यो भनेर प्रस्ताव होइन निर्णय सुनायो । यो निर्णय त्यस्तो अनौपचारिक वैठकमा ल्याइएको थियो, जहाँ चुनावका लागि टिकट दिन सिफारिस गर्ने कार्यदलको बैठक डाकिएको थियो । त्यस्तो अवस्थामा छलफलको कुनै सम्भावना थिएन । यस विषयमापछि मैले के भने भने यो त ३० वर्षदेखि दुवै पार्टीहरूले कार्यकर्तालाई एउटा कुरा भनेर प्रशिक्षित गर्ने र पछि अर्कै काम गर्न लगाउने कुरा भयो । के त्यत्रो समयदेखि भनिएको र प्रशिक्षित गरेको कुरा कार्यकर्तालाई ढाट्नका लागि थियो ?
वास्तवमा संसारले देख्ने गरी दुवै पार्टीले सैद्धान्तिक रूपमा ३० वर्षदेखि जुन मूल्य, मान्यता बोक्र्दै आए । त्यसलाई एक झट्कामा फेरेर, आफ्नो बैंस सिध्याएका, जीवनको बलिदानी दिएका मानिसहरूलाई, एक घण्टा पनि सोच्न नदिई निर्णय मान भन्ने यति ठूलो स्तरको अपमानको दृष्टान्त मैले आजसम्मको कम्युनिस्ट आन्दोलनमा कहीँ पढेको छैन । यो त कस्तो भयो भने आमाले भोलिपल्ट उठ्ने बित्तिकै बच्चाहरूलाई तेरो बाउ अर्कै हो भने जस्तो भयो ।
त्यसैले यो एकता कम्युनिस्ट वा वामपन्थीको रूपमा अभिनय गर्ने मध्यमवर्गको माथिल्लो हिस्सा र राजनीतिक नोकरशाही पुँजीपतिवर्गको हैसियतमा पुगिसकेका नेताहरूको डफ्फामा मच्चिएको गैरसर्वहारा भागदौड हो । यो एकता सर्वहारावर्गको निष्ठाबाट च्यूत हुनुको पछिल्लो निकृष्ट उदाहरण हो । यो माक्र्सवादको विकास गर्न गरिएको कुनै महान एकता हुँदै होइन ।
एमाले–माओवादीको एकतापछि यो पार्टी कस्तो बन्ला भनेर केही आँकलन गर्न सकिन्छ ?
यसको जवाफ केपी ओलीजीले दिइसक्नु भएको छ । त्यो वामपन्थी अथवा कम्युनिस्ट पार्टी हुँदैन भनेर उहाँ आफैले प्रष्ट भन्नुभएको छ । उहाँको कुरालाई कसैले खण्डन गरेको छैन । वाम गठबन्धनको नेता केपी ओलीजी हो किनभने जुन पार्टी ठूलो हुन्छ, त्यसकै नाममा गठबन्धन बन्ने हो । त्यसकारण यो एमाले गठबन्धन हो । जसको नेतृत्व सारमा एमाले अध्यक्ष ओलीजीले गर्ने हो । उहाँले प्रष्ट भनेको हुनाले के बुझिन्छ भने उहाँ नेतृत्वको भावि पार्टीको चरित्र सामाजिक जनवादी खालको बुर्जुवा पार्टी वा ढुलमूल वाम प्रजातान्त्रिक पार्टी हुनेछ ।  
मलाई के लाग्छ भने सामाजिक जनवादी खालको पार्टी उहाँले बनाउन सक्नुहुन्न किनभने त्यसका लागि नेतृत्व राजनीतिज्ञ मात्र हुनुपर्ने हुन्छ । उहाँहरू त उद्योग, कलेज, अस्पताल, सञ्चारमाध्यम आदिको प्रत्यक्ष–अप्रत्यक्ष सेयरधनी भएर पुँजीपतिका रूपमा बसी सक्नुभएको छ । यस स्थितिमा सामाजिक जनवाद लागू गर्न उहाँहरू सक्नुहुन्न । अर्कोतर्फ वाम प्रजातान्त्रिक भूमिका पनि ठोस रूपमा खेल्न सक्नु हुन्न किनभने उहाँहरू पहिचानलगायतका उत्पीडित वर्ग र समुदायको आधारभूत अधिकारको पक्षमा पनि हुनुहुन्न । उहाँहरू बढीमा आफूलाई काङ्ग्रेसभन्दा पृथक देखाउन राष्ट्रवाद, समाजवाद जस्ता कुरा उठाएर एउटा नयाँ पुँजीवादी पार्टी चलाउन सक्नुहुन्छ ।
एमाले–माओवादीको नेतृत्व पुँजीवादीकरण हुनुका सामाजिक आयामहरू के होलान् त ?
उहाँहरू कम्युनिस्ट आन्दोलनमा लागेपछि सङ्घर्ष गर्नु भयो, त्याग गर्नु भयो, रगत–पसिना बगाउनुभयो । त्यसबेलासम्म उहाँहरूमा कम्युनिस्ट स्प्रिट नै थियो । तर आज बदलिएको परिस्थितिमा नेपाली क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरा आयो, उहाँहरू चुक्नुभयो । विचार निर्माणको सन्दर्भमा उहाँहरूको चेतनाले काम गर्न छोडेको देखिन्छ । हामीले बुझ्नुपर्ने के छ भने उहाँहरूले सुरु गरेको आन्दोलन मेसिनको युगको कम्युनिस्ट आन्दोलन हो । मेसिनको युगको कम्युनिस्ट आन्दोलनले धक्का दिने भनेको सामन्तवादलाई मात्र हो । सामन्तवादविरुद्ध उहाँहरू निकै सानदार ढङ्गले लड्नुभयो ।
भन्नुको अर्थ मेसिनको युगमा विकास भएको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नेताको रूपमा उहाँहरू लड्नुभयो । तर आज विश्व धेरै अघि बढी सकेको छ । आजको विश्व हार्डवेयरबाट सफ्टवेयर अर्थात डिजिटलमा पुगिसकेको छ । आज मेसिन उत्पादक शक्तिको नायक होइन । आजको उत्पादक शक्तिको नायक विज्ञान प्रविधिको गुणात्मक उन्नतस्तर हो । जसलाई हामी बोलीचालीको भाषामा डिजिटल भन्न सक्छौँ । डिजिटल युगमा प्रवेश गरेपछि अबको कम्युनिस्ट क्रान्ति र समाजवाद कस्तो हुने भन्ने कुरालाई उहाँहरूले छिचोल्न सक्नुभएन ।
आफ्नो वर्गबाट च्यूत भइसकेको नेतृत्वमा नयाँ कुराको आविष्कार गर्नुपर्छ भन्ने चेतना आउने कुरा पनि भएन । आजको डिजिटल युगमा माक्र्सवादको विकास र क्रान्तिको मोडेलमाथि नै नयाँ संश्लेषण नगरिकन कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन ।
यो कुरालाई उहाँहरूले छिचोल्न सकेको भए अबको वैज्ञानिक समाजवादी क्रान्तिको मार्ग के हुन्छ भन्न सक्नुहुन्थ्यो तर त्यो सम्भावना रहेन । त्यसमा उहाँहरूको निष्ठाको कुरा पनि जोडिन्छ, त्यसमा समेत उहाँहरू खरो उत्रन सक्नुभएन । नभएपछि अब के गर्ने त भन्दा जे छ त्यसमै सुधार गरेर आफ्नो अस्थित्व धान्नेतर्फ उहाँहरू लाग्नुभयो । आफ्नो वर्गबाट च्यूत भइसकेको नेतृत्वमा नयाँ कुराको आविष्कार गर्नुपर्छ भन्ने चेतना आउने कुरा पनि भएन । आजको डिजिटल युगमा माक्र्सवादको विकास र क्रान्तिको मोडेलमाथि नै नयाँ संश्लेषण नगरिकन कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन ।
केही महिनायता तपाईं कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आवश्यकतामा जोड दिइरहनुभएको छ, समग्र कम्युनिस्ट आन्दोलनकै पुनर्गठनको कुरा उठाउनुभएको अथवा माओवादी आन्दोलनको ?
म आफ्ना थोरै कुरा सन्दर्भसहित विस्तारमा राख्ने प्रयास गर्छु । माक्र्सवादले समाज व्यवस्थामा समाज परिवर्तनको मुख्य उत्प्रेरक शक्ति ‘उत्पादक शक्ति’ हो भन्छ । बाँदरबाट मानिसतर्फ सङ्क्रमण हुन लागेको बेलामा जब मानिसले आगोको विकास गर्यो मानिस पूर्णरूपमा पशुबाट अलग भयो । आगो उत्पादक शक्ति हो अथवा ज्यावल हो । त्यही मानिसले जब तीरको आविष्कार गर्यो, जङ्गली घुमन्ते युगको विकास भयो । त्यसमा जब तामा र फलामको आविष्कार थपियो, दास युगको विशाल पाहाड हाम्रा अघिल्तिर उभियो (फलामले खोस्रेर उत्पादन बढाउन थालेपछि दास युगको सुरुवात भयो) । त्यसमा जनावरले जोत्ने हलो र प्राविधिक रूपमा आरनको विस्तारसँगै त्यसले परिमिड र ताजमहल बनाउने सामन्तवादको निर्माण गर्यो (भूदास/मोही किसान र सामन्तहरूको युग) ।
त्यसपछि आरनलाई विस्तापित गरेर फलाम गाल्ने भट्टी र इन्जिनको आविष्कारले सामन्तवादलाई विस्तापित गरेर पुँजीपति वर्गको निर्माण भयो । त्यसले किसानलाई मजदुरमा परिणत गरिदियो र विशाल मजदुरहरूको फौज खडा भयो । अनि पुँजीपतीले मजदुरमाथि लुट मच्चाउन थालेपछि त्यो लुटविरुद्ध लड्नलाई मजदुरलाई एउटा हतियार चाहिएको थियो । त्यसपछि त्यस्तो वैचारिक हतियारका रूपमा माक्र्सवादको जन्म भयो । भन्नुको अर्थ हरेक युगलाई उल्ट्याउन केले काम गरेको छ भन्दा औजारको गुणात्मक विकासले । मात्रात्मक होइन गुणात्मक विकासले हो ।
लेनिनको युगसम्म के देखियो भने मेसिनमा मात्राहरूको विकास भयो । ५ मिटर बुन्ने मेसिनले १० मिटर बुन्न थाल्यो । सय मिटर बुन्नेले एक हजार मिटर बुन्न थाल्यो । तर युग चाहिँ मेसिनकै थियो । सन् १९५० सम्म मेसिनकै युग थियो । मेसिन नै उत्पादनको नायक थियो । कम्युनिस्ट आन्दोलन पनि त्यही मेसिनमा आधारित भएर रणनीतिहरू बुन्थ्यो । मेसिनका कारण मजदुरहरू कारखाना जान्थे । कारखानाहरूमा कमिटी, टे«ड युनियन बन्थ्यो, जहाँ तिनलाई क्रान्तिकारी बनाएर विद्रोह गरी सत्ता आफ्नो हातमा लिन सकिन्थ्यो ।
सन् १९५० पछि क्रमशः संसार डिजिटलाइज हुन थाल्यो । सन् ८० र ९० को दशकमा पुग्दा विकसित भनिएका मुलुकहरूमा मेसिनको नायकत्व खोसेर सफ्टवेयर वा डिजिटलले नायकत्व लियो । समग्रमा भन्दा गुणात्मक रूपमा समृद्ध भएको विज्ञान प्रविधिले नायकत्व लियो । अब मेसिन डिजिटली चल्न थाले । यसले विश्वको पर्यावरण फेर्दै लग्यो र मेसिनको युगमा सत्तासिन भएको कम्युनिस्ट आन्दोलन ९० कै दशकमा ढल्न थाल्यो । त्यसबेलाका नेताहरूदेखि आन्दोलन सबै मेसिन युगका थिए तर नायकत्व डिजिटलमा ‘सिफ्ट’ भइसकेको थियो । मनमोहन अधिकारीले कम्युनिस्ट पार्टी भन्ने नाम हामीले ‘टे«डमार्क’को रूपमा राखेको हो भन्नु त्यसैको द्योतक थियो । तर नेपालमा अन्तरविरोध बेस्सरी पाकेको हुनाले त्यसले सबै कम्युनिस्टलाई निल्न सकेन ।
पहिले रूपलाल विश्वकर्मालाई र पछि एमालेलाई झण्डा मात्र राख्ने तर काम अर्कै गर्ने बनाइदियो । त्यसपछि जनयुद्ध सुरु भयो । शान्ति प्रक्रियामा आइसकेपछि त्यसले बाबुरामजीलाई लिएर गयो र अहिले सबैलाई लिएर गयो । त्यसकारण मेसिनको युगबाट सुरु भएको कम्युनिस्ट आन्दोलन, मेसिनले उत्पादक शक्तिको नायकत्व गुमाउने क्रमसँगै मेसिनको युगको कम्युनिस्ट आन्दोलनको चक्र पनि संसारभर सकियो भन्ने मेरो निष्कर्ष छ । अब उत्पादक शक्ति डिजिटल भएपछि, आज चिन्तकहरू केसम्म भन्छन् भने विगत आठ हजार वर्षमा प्रविधिमा भएको विकास र सन् १९५० देखि अहिलेसम्म भएको विकासलाई हेर्ने हो भने आठ हजार वर्षको भन्दा यो ५० वर्षको प्रविधिमा विकास बढी छ । यो विकास विज्ञान–प्रविधिको मात्रै विकास होइन । त्यसैले अब हाम्रो सोच्ने तरिकादेखि काम गर्ने शैली पनि फेरिनुपर्ने हुन्छ ।
सफ्टवेयरको सङ्केतमा मेसिन चल्न थालेदेखि मजदुरहरू कारखानाबाट विस्थापित हुन थाले र सेवाको क्षेत्रमा छरिन बाध्य भए । जस्तै– नेपाल बाहिर गएका ३०–४० लाख युवाहरूको एक प्रतिशत मान्छे पनि उत्पादनको क्षेत्रमा छैनन् । कोही पसलमा छन्, कोही बुढाबुढी स्याहार्नेमा । कोही एयरपोर्टमा पाले छन्, कोही हङकङमा सुरुङ खनिरहेका छन् । कोही कतारमा घर र बाटो बनाइरहेका छन् । आज अरबौँ मानिस सेवाको क्षेत्रमा छन् । हिजो लेनिनले भने जसरी मजदुरहरू कारखानामा केन्द्रित हुन सक्ने स्थिति अब भएन । बरु कारखानाबाट विस्थापित भएर असङ्गठित सेवाको क्षेत्रमा जान बाध्य भए । ती मजदुर र श्रमिकलाई अब कसरी सङ्गठित गर्ने ? त्यस कुराको उपाय पनि हामीलाई विज्ञान प्रविधिले दिएको छ ।
आजको गुणात्मक रूपमा विकसित विज्ञान प्रविधि र ज्ञानका सबै शाखाहरूलाई उपयोग गरेर असङ्गठित श्रमीकहरूलाई तीव्र रूपमा सङ्गठित गर्न सकिने र क्रान्तिपछि मात्र समाजवादको निर्माण होइन बरु अहिलेदेखि नै पुँजीवादसँग समानान्तर रूपमा समाजवादी समाजको भ्रुणहरू हुर्काउँदै जान सकिने एउटा महान परिस्थिति खडा हुन पुगेको छ । अबको नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलन मुख्य उत्पादक शक्तिको स्तरमा विकसित आजको विज्ञान प्रविधि र लेनिनले भनेझैँ आफ्नो युगको ज्ञानको सबै शाखामा विकसित चेतनालाई मुख्य हतियार बनाएर कार्यनीति र रणनीति निर्माण गर्ने हुन्छ । यसरी मात्र नयाँ युगमा नयाँ चरणको थालनी गर्नुपर्ने वस्तुगत आवश्यकताले साकार रूप लिन सम्भव छ । त्यसकारण मैले भन्न खोजेको के भने यो वस्तुगत आवश्यकतालाई पक्रेर १६–३५ वर्षका युवाहरूले सपना देख्न सक्ने गरी, त्यो पुस्ताले नै क्रान्तिको वास्तविक नेतृत्व लिएर वैज्ञानिक समाजवादी व्यवस्थामा जानका निम्ति नवीन कम्युनिस्ट आन्दोलनको चक्र सुरु गर्नु आवश्यक छ । हामी त्यसैमा चिन्तनरत र त्यसैको तयारीमा छौँ ।
महिला जसलाई आधा आकास भनिन्छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने महिला नेतृत्वको निकै अभाव देख्छौँ । यसका के कारण हुन् र महिला नेतृत्वको फौज तयार पार्न के–के चुनौतीहरू छन् ?
यो छोटो अन्तरवार्तामा धेरै विषयमा विचार राख्न सम्भव छैन । अबको कम्युनिस्ट आन्दोलन निर्माण गर्न हामीले कतिपय परिमार्जन गर्दै र कतिपय नवीन अवधारणाहरू संस्लेषण गर्दै अगाडि बढ्नुपर्ने आवश्कता छ । त्यसमध्येका दुइटा कुरा म तपाईंलाई भन्न चाहन्छु । पहिलो, महिलाकै विषय हो भने दोस्रो दक्षिण एसियामा रहेको जात व्यवस्था ।
विश्वको आधा जनसङ्ख्यामा रहेका महिलाहरूको बारेमा कम्युनिस्ट आन्दोलनमा जुन उचाइका साथ नीतिहरू बनाइनुपर्ने थियो, त्यो नबनाइएकै हो । भन्नुको अर्थ सिङ्गो १७० वर्षको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको विषयमा गम्भीर त्रुटि भएको छ । आज पनि महिलालाई एउटा पुँजीवादी कार्यकर्ताले जुन दृष्टिकोणका साथ हेर्छ, कम्युनिस्ट पार्टीको कार्यकर्ताले पनि आधारभूत रूपमा त्यही दृष्टिकोणले हेर्छ ।
माक्र्स–एङ्गेल्सले महिलाहरूको मुक्तिको सन्दर्भमा जे अवधारणा ल्याउनु भयो, त्यो पितृसत्ता विरोधी अवधारणा हो । कम्युनिस्ट पार्टीहरूले राजनीतिक आन्दोलनमा ल्याउनका निम्ति महिलाहरूलाई अपिल गरे र ल्याए पनि । तर महिला पर्यावरणलाई हेर्ने माक्र्सवादी अवधारणाद्वारा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई प्रशिक्षित गर्न सकेनन् । महिला भनेको सामान्य लिङ्गको प्रश्न मात्रै थिएन र होइन । आदिम साम्यवादी युगपछि सबै युगमा महिला यो समाजको उत्पीडित र प्रतिपक्षी समुदाय हो । किसानको मुक्ति सामन्तवादको अन्त्यपछि हुन्छ । मजदुरको मुक्ति पुँजीवादपछि प्राप्त हुन्छ । तर महिलाको सम्पूर्ण मुक्ति सम्पूर्ण मानवजातिको मानवताको मुक्तिसँगै जोडिएको छ ।
विश्वको आधा जनसङ्ख्यामा रहेका महिलाहरूको बारेमा कम्युनिस्ट आन्दोलनमा जुन उचाइका साथ नीतिहरू बनाइनुपर्ने थियो, त्यो नबनाइएकै हो । भन्नुको अर्थ सिङ्गो १७० वर्षको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको विषयमा गम्भीर त्रुटि भएको छ । आज पनि महिलालाई एउटा पुँजीवादी कार्यकर्ताले जुन दृष्टिकोणका साथ हेर्छ, कम्युनिस्ट पार्टीको कार्यकर्ताले पनि आधारभूत रूपमा त्यही दृष्टिकोणले हेर्छ । राजनीतिक भाषणमा महिला यस्तो हुनु पर्छ, त्यस्तो हुनुपर्छ भन्छ तर आधारभूत सामाजिक हेराइमा ऊ पनि फेरिन सकेको छैन ।
म एउटा सानो उदाहरण दिऊँ– समाजको निरन्तरताको निम्ति प्रजनन अनिवार्य छ । प्रजननमा निर्णायक र आधारभूत भूमिका महिलाको हुन्छ । तर आजसम्म कम्युनिस्ट पार्टीको कार्यशैली र कार्यविधि हेर्ने हो भने महिलाहरूले बच्चा जन्माएकै आधारमा उसको अङ्क घट्ने गरेको छ । यसको जरो हाम्रो परिवारको सामाजिक बनोटमा गएर जोडिन्छ । किनभने परिवारहरूको बनोट पितृसत्तात्मक संरचनामा आधारित छ । समग्र महिला र ती महिला कार्यकर्तालाई हेर्ने कम्युनिस्ट अवधारणाको निर्माण परिवारहरूको पुनर्गठन गरेर गर्नुपर्ने थियो । तर हामीले परिवार गठनको पितृसत्तात्मक ढाँचालाई परिवर्तन गर्न सकेनौँ ।
त्यसैले आजको कम्युनिस्टले यस विषयलाई पनि नयाँ ढङ्गले सोच्न जरुरी छ । उसले महिलाहरूले बच्चा पाउने भनेको समाजको, क्रान्तिको निम्ति प्राथमिक कुरा हो भनेर किन नबुझ्ने ? पार्टीमा सक्रिय महिलाहरू सन्तान उत्पादनमा लाग्दा पार्टीहरूले उनीहरूका लागि क्षतिपूर्तिसहितको विशेष प्रशिक्षण किन नचलाउने ? समाजको निरन्तरता र क्रान्तिका निम्ति तपाईंले थप एउटा मानिस जन्माउनुभयो भनेर उनीहरूलाई सम्मान किन नगर्ने ? त्यस कारण यस विषयमा कम्युनिस्टहरूबाट गम्भीर त्रुटि मात्र होइन कि कसुर नै हुन पुगेको छ । त्यसैले यसलाई परिवर्तन गर्नुपर्ने गम्भीर आवश्यकता छ ।
त्यसैगरी दक्षिण एसियाको सन्दर्भमा अर्को महत्वपूर्ण जात व्यवस्थाको बारेमा माक्र्सवादीहरूले ध्यान दिन सकेनन् । जात व्यवस्था भएको समाजमा वर्ग निर्माणमा जात व्यवस्थाको कस्तो भूमिका छ भन्ने बारेमा र वर्ग र जात व्यवस्थाको अन्तरसम्बन्धका बारेमा कम्युनिस्टहरूले ध्यान दिन सकेनन् । माक्र्सवादी ढङ्गले यस विषयमा हामीले कहिलै पनि सही धारणा बनाउन सकेनौँ र त्यसको अपनत्व पनि लिन सकेनौँ । दक्षिण एसियाको समाज भनेको मूलतः जात व्यवस्थामा आधारित समाज हो ।
भन्नुको अर्थ जात व्यवस्थामा आधारित समाजको वर्ग निर्माणमा जातको जबरजस्त भूमिका छ । हामीले वर्गको कुरा गर्दा जात व्यवस्था छोडिदिने जात व्यवस्थालाई सांस्कृतिक रूपमा मात्रै हेर्न मिल्दैन । जात व्यवस्था भनेको समग्र अर्थराजनीतिक प्रणाली हो । अनि यसलाई खुट्याउनै नचाहने । यसलाई चलायो कि वर्वाद भइन्छ भन्नु भनेको गलत सोच हो । बरु कम्युनिस्टहरूले अन्तरविरोधलाई चलाएर बर्बाद भइन्छ होइन कि त्यसको सही सञ्चालन गरेर हल पो गर्छन् । त्यसकारण संसारकै हकमा महिला र दक्षिण एसियाको सन्दर्भमा दलित अथवा जात व्यवस्थाबारे नयाँ युगका कम्युनिस्टहरूले ठीक ढङ्गले परिभाषित गर्नुपर्नेछ ।
पहिलो संविधानसभाको निर्वाचनपछि देशमा एउटा कुरालाई निकै जोडतोडका साथ उठाइएको छ त्यो हो– समृद्धि र आर्थिक विकास । के हामी अहिलेकै समाजिक संरचनामा समृद्धि र समाजवादतर्फ जाने हो अथवा त्यो समृद्धि र समाजवाद आएमा कस्तो र कसका लागि भन्ने प्रश्न रहँदैन ?
पहिलो कुरा त पुँजीवादीहरूले परिभाषित गरेको समृद्धि र माक्र्सवादीहरूले परिकल्पना गरेको समृद्धि एउटै हो कि होइन ? जसले समृद्धि भनिरहनु भएको छ, उहाँहरूले यो उत्तर दिनुपर्छ कि पर्दैन ? यहाँ त कस्तो देखिएको छ भने घोर पुँजीवादी र आफूलाई माक्र्सवादी हुँ भन्नेले पनि समृद्धिको खास अवधारणा पेश गर्न सकेका छैनन् । भन्नुको अर्थ समृद्धि भन्ने वित्तिकै एउटै र उस्तै हो भने जस्तो । तर कुरा के हो भने फरक–फरक वर्गको स्वार्थका निम्ति गरिने समृद्धि एकै प्रकारको हुँदैन ।
उदाहरणका लागि पुँजीवादीहरूले समृद्धिभन्दा ठूलो सडक– आफ्ना धेरै कार गुडाउन र सपिङ कम्प्लेक्स– साना पसलेलाई सकेर मुनाफा आफूमा केन्द्रित गर्नका लागि भनिरहेका हुन्छन् । तिनको कार र मुनाफा कटाइदिने हो भने किन चाहियो ठूलो सडक र सपिङ मल ? लुटेर खाने वर्गका निम्ति ठूलो सडक बनाउने भन्दा भूमिहीनहरूलाई उत्पादनका निम्ति जमिन उपलब्ध गराए हुँदैन ? पुँजीवादी विकास र समृद्धि भनेको मुठ्ठीभर मानिसका लागि भव्य विलासिताको सृजना गर्ने र बहुसङ्ख्यक जनतालाई १८ घण्टा काम लगाएर जीवनभर एउटा फ्ल्याटको ऋण तिर्न नसक्ने गरी मेसिन बनाउनका लागि हो ।
अहिले समृद्ध भनिएका पुँजीवादी मुलुकहरू कसरी समृद्ध भए त ? यो गम्भीर प्रश्न हो । युरोप, अमेरिका आज जुन अवस्थामा छ के त्यो उनीहरूले आफैले गरेर अथवा के त्यो उनीहरूको आफ्नै साधान स्रोतले भएको हो त ? भन्दा जवाफ सजिलो छ– होइन । युरोपियनहरू आजको जस्तो खाले समृद्धिमा पुगेका छन्, के त्यो सबै उनीहरूले युरोपमै उत्पादन गरेको हो ? होइन । अफ्रिका, ल्याटिन अमेरिका र एसियामा २–३ सय वर्ष लुट मच्चाएर, उनीहरूको साधान स्रोतबाट उनीहरूलाई नै बेदखल गरेर आजको युरोप, युरोप भएको हो ।
मेसिन के अर्थमा भनेको भने मेसिनले ऊर्जा खान्छ तर उसले आफ्नो बारे भने कहिलै पनि सोच्दैन । मेसिनले समाजका बारे सोच्दैन । मेसिनले सिङ्गो पर्यावरणीय विनासका बारेमा सोच्दैन । पुँजीवादी समृद्धिले मानिसलाई यस्तै खाले मेसिनमा परिणत गरिदिन्छ । पुँजीवादी समृद्धिको मूल मर्म कमजोरको शोषण र दोहन गरेर आफूले विलासिताको उपभोग गर्ने भन्ने हो । हामीले चाहेको समृद्धि त्यही हो ? यस्तो खाले समृद्धिले विश्वको पर्यावरण ध्वस्त पार्दैछ । स्टेफेन हकिङसको शब्दमा पुँजीवादी समृद्धिले हामीलाई चन्द्रमामा भाग्नुपर्ने अवस्था ल्याउँदैछ ।
यसमै अर्को महत्वपूर्ण कुरा भनेको अहिले समृद्ध भनिएका पुँजीवादी मुलुकहरू कसरी समृद्ध भए त ? यो गम्भीर प्रश्न हो । युरोप, अमेरिका आज जुन अवस्थामा छ के त्यो उनीहरूले आफैले गरेर अथवा के त्यो उनीहरूको आफ्नै साधान स्रोतले भएको हो त ? भन्दा जवाफ सजिलो छ– होइन । युरोपियनहरू आजको जस्तो खाले समृद्धिमा पुगेका छन्, के त्यो सबै उनीहरूले युरोपमै उत्पादन गरेको हो ? होइन । अफ्रिका, ल्याटिन अमेरिका र एसियामा २–३ सय वर्ष लुट मच्चाएर, उनीहरूको साधान स्रोतबाट उनीहरूलाई नै बेदखल गरेर आजको युरोप, युरोप भएको हो ।
विश्वका मानिसहरूलाई रद्दीको टोकरीमा फालिनलायक भन्ने अमेरिका के आफ्नै साधन स्रोतमा ठडिएको हो ? होइन । विश्व अर्थतन्त्रमाथिको उसको पकड के उसले पसिना बगाएर निर्माण गरेको हो ? होइन । सारा ल्याटिन अमेरिकालाई चिहान बनाउने को हो ? अरबका अस्पताल र विद्यालयमा बम खसालेर प्रजातन्त्रको कुरा गर्ने को हो ? डिप्रेसनका रोगीहरू कहाँ छन् ? जवाफ सजिलो छ, सारा अफ्रिका, ल्याटिन अमेरिका र एसिया लुटेर अमेरिका त्यो ठाउँमा पुगेको हो ।
हाम्रा केही नेताहरू चीन गएर आएपछि सास पनि फेर्न नसक्ने गरी विकास भएको सुनाउनु हुन्छ । चीन कसरी विकास भयो ? जिम्बाब्बेले आफ्नो नोटसमेत चलाउन नसक्ने गरी चिनिया युआन चलाउन बाध्य भएको छ । सारा अफ्रिका, ल्याटिन अमेरिका र एसिया लुटेर निर्माण गरिएको समृद्धिको के अर्थ छ ? मानिलिनुस नेपालले लुटेरै भए पनि समृद्ध हुने भयो भने कसको लुट्ने ? त्यसकारण समृद्धिको अहिले भइरहेको बहसको प्रस्तान विन्दु नै गलत छ ।
उहाँहरूले भनेजस्तो यदि त्यस्तो समृद्धि निर्माण भयो भने पनि त्यो दुःखद हुनेछ । किनभने त्यो समृद्धिले आम नागरिकको समस्या हल गर्ने होइन कि समस्या बल्झाउने छ । नेपाल मुठ्ठीभर मानिसहरूका लागि स्वर्ग र बहुसङ्ख्यकका लागि मृत्युको नारकीय खाडल हुनेछ । साथसाथै हामीले जोगाएर राखेको अलिहेसम्मको पर्यावरण समेत ध्वस्त हुनेछ । संसारको पर्यावरण बचाएर मानव जातिको अस्तित्व जोगाउन र न्यायपूर्ण वितरण प्रणालीमा आधारित वैज्ञानिक समाजवादी समृद्धितिर नगईकन पुँजीवादले ल्याएका विनासकारी समृद्धिविरुद्ध जुध्न सम्भव नै छैन् भन्ने कुरा प्रष्ट छ ।
अनि समाजवाद ?
समाजवाद त नेपालमा ठट्टा भएको छ । जर्मनीमा हिटलरले पनि आफूलाई समाजवादी भन्थे । भारतमा इन्दिरा गान्धीले घोषणा गरेको सङ्कटकाल पनि समाजवाद ल्याउने नाममा नै थियो । नेपालमा केपी ओली र प्रचण्डले भनेको पनि समाजवाद नै हो । कहाँसम्म भने देउवाले भनेको पनि समाजवाद नै हो ।
पदावलीकै कुरा गर्ने हो भने पनि कम्युनिस्टहरूले भनेको घिसेपिटे समाजवाद होइन, वैज्ञानिक समाजवाद हो । समाजवाद समृद्धि आउने वित्तिकै अथवा धनी हुने वित्तिकै आउने कुरा पनि होइन । यदि त्यसो हो भने सबैभन्दा पहिले समाजवाद अमेरिकामा आउनुपर्ने हुन्थ्यो । अहिले होइन, त्यो पनि धेरै पहिले । बेलायतमा आउनुपर्ने हुन्थ्यो अहिले होइन, धेरै पहिले । सारा युरोप समाजवादमय हुनुपर्ने थियो । त्यो पनि आज होइन धेरै पहिले ।
समाजवादी क्रान्तिमा जान समृद्धि अथवा धेरै उद्योगधन्धा भएर मात्र गइँदैन । त्यहाँ सिद्धान्तनिष्ट कम्युनिस्ट पार्टी, त्यसमा पनि सिद्धान्तनिष्ट नेतृत्वको डफ्फा र आम श्रमिक सर्वहारालाई कम्युनिस्टको रूपमा सङ्गठित गरिएको समाज चाहिन्छ । के अहिले पनि माक्र्सवाद क्रमिक सुधारको अथवा विकासवादी सिद्धान्त हो भन्छन् कि क्या हो यहाँका कम्युनिस्टहरू ? अनि बल प्रयोगको सिद्धान्त मान्दैनन् भने समाजवाद आउँछ कसरी ? कपाल काट्न पनि बल प्रयोग गर्नुपर्ने हुन्छ । अपरेशन गर्नुपर्छ भन्ने तर चक्कु चलाउनुपर्दैन भन्ने ? यो कुरा मिल्ने कुरा होइन ।
निरपेक्ष रूपमा जहिले पनि बल प्रयोग हुन्छ, त्यो पनि होइन । अर्को विरोधी वर्ग अरर्बौंको वार्षिक बजेट छुट्याएर सेना र ट्याङ्क लिएर बसेको छ अनि तपाईं भन्नु हुन्छ विकास गर्दै समाजवाद आउँछ ? आजको युवा यति मूर्ख छैन, जसले त्यस्तो कुरा पत्याओस् । आजको युवा जसलाई समाजवाद चाहिएको छ, त्यसले आफ्नो भविष्य र भावि पुस्ताका निम्ति लड्छ । जसले आफ्नो आस्था, निष्ठा, विगतप्रतिको इतिहासलाई समेत धमिलो बनाएर हिँडेको छ, त्यो पुस्ताको मान्छेले समाजवाद ल्याउँछु भन्नु हास्यास्पद हुन्छ । आज नयाँ युवा आएको छ, जसले डिजिटल युगको बारे सोच्छ, त्यो युवाले समाजवादको सपना देख्छ र त्यसले नै समाजवादी क्रान्तिलाई अघि बढाउँछ ।
http://ratopati.com बाट साभार 

Monday, December 25, 2017

विषयःआठौं राष्ट्रिय महाधिवेशन आयोजना गरियोस् । - गोपाल किराती

आदरणीय कमरेड प्रचण्ड,
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
राष्ट्रिय महाधिवेशन आयोजक समिति ।

विषयःआठौं राष्ट्रिय महाधिवेशन आयोजना गरियोस् । 

उपलब्धी र कमजोरी सहितको संविधान कार्यान्वयन गर्ने निर्वाचन सम्पन्न भइसकेको पृष्ठभूमिमा स्वतन्त्रतापूर्वक माओवादी आन्दोलनको समीक्षा र नेपाली समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिमा विकास तथा आमस्पष्टताका निम्तिपार्टीको राष्ट्रिय महाधिवेशन ऐतिहासिक एवं वस्तुगतआवश्यकता बनेको छ । बृहतकम्युनिष्ट केन्द्र बनाउने लोकप्रिय नारामा माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) को पथप्रदर्शक सिद्धान्तमाथि प्रश्न उठेको छ, समाजवादी क्रान्तिको महान जनआधार इलाका पहिचानको मुद्दाहलगर्ने राजनीतिककार्यदिशामाप्रश्नउठेको छ र पार्टीमा जनवादी केन्द्रीयताको अभ्यासबारे प्रश्न उठेको छ । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई गणतन्त्रसम्म ल्याई पु¥याउने माओवादी आन्दोलनको स्वतन्त्र समीक्षाबेगरै पार्टीलाई संसदवादमा विलय गर्ने दक्षिणपन्थी भड्काव विरुद्ध गम्भीर प्रश्न उठेको छ । नेकपा (माओवादी केन्द्र) को जीवनमा यी असाधारण प्रश्नहरु हुन् । यी प्रश्नहरुको वैज्ञानिक जवाफ निर्माण गर्न र निर्णय प्रक्रियामा नेतृत्वलाई विवादरहित तुल्याउन पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन आयोजना एकमात्र सही समाधान हो । पार्टीको विद्यमान केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशन आयोजक समिति हो र महाधिवेशन आयोजना गर्नु यस समितिको प्रमुख कर्तव्य हो । वृहत कम्युनिष्ट केन्द्र बनाउने प्रश्नमा पनि के आधारमा एकता र के को निम्ति एकता? माओवादी धाराको स्वतन्त्र जवाफ जरुरी छ । पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म छैन । मालेमा र पहिचान मुद्दालाई धरापमा पारेर एमालेसित एकता महाधिवेशन आयोजक समिति गठन गर्दा पनि एमालेहरु दशौं महाधिवेशन भन्नेछन् भने माओवादी केन्द्रको इतिहासमा आसन्न महाधिवेशन आठौं हुनेछ । ४०–६० को उम्मेद्वार अनुपात संगठनमा पनि लागु हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०% तथा एमालेको भागमा ६०% हुनेछ । जबकि ५१% ले नीति र नेतृत्व ठेगान लगाउँछ । अतः विकसित दुनियाँमा मालेमाको रक्षा, प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धी यावत प्रश्नहरुको जवाफ महाधिवेशनले निर्माण गर्न पाउनुपर्छ र मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहित नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रियम हाधिवेशन अपरिहार्य आवश्यक छ । कार्यकर्ताको जीवनमा खेलवाड् गर्नु हुँदैन । विद्यमान चार हजार जनाको महाधिवेशन आयोजक समितिमा बहुसंख्यक युवा कमरेडहरु हुनुहुन्छ । माओवादी केन्द्रको राजनीतिक तथा संगठनात्मक जीवनमा उहाँहरुले के सिक्ने ? मुख्यतःपार्टीले उहाँहरुलाई के सिकाउने ?कार्यकर्ताको बिस्कुन लगाउने, कार्यकर्तालाई उपहासको पात्र बनाउने प्रवृत्तिले वस्तुतः उत्तरआधुनिकतावादको सेवा गर्छ, माक्र्सवादको होइन । अतः चारहजार जनाको आयोजक समिति र त्यस मातहत लाखौं पार्टी सदस्यलाई सर्वहारा क्रान्तिको दिशामा प्रशिक्षित एवं परिचालन गर्न पनि आठौं महाधिवेशन अत्यावश्यक छ । पार्टीको सर्वोच्च निकायद्वारा उपरोक्त प्रश्नहरुको संस्थागत संवोधनका निम्ति केन्द्रीय कार्यालयसमक्ष तत्काल आठौं राष्ट्रिय महाधिवेशनको मिति निश्चित गर्न मागगर्दछु । त्यस निमित्त तत्काल गर्नुपर्ने संगठनात्मककाम र संक्षिप्तमा वैचारिक–राजनीतिक प्रश्नहरु समेत यहाँ समावेश गरेको छु । 

तत्कालगर्नुपर्ने संगठनात्मककामहरु 

१.पार्टीको केन्द्रीय सचिवालय वा पोलिटव्युरो बोलाइ आठौं राष्ट्रिय महाधिवेशनको मिति, स्थान र प्रतिनिधि निर्वाचन कार्यक्रम निर्धारण गर्ने ।आयोजक समितिमा तहत विभिन्न उप–समितिहरु गठन गरी ठोस कार्य विभाजन गर्ने । 

२. तीन तहको निर्वाचनमा केन्द्रीत हुँदा बाँकी रहन गएका गाउँ÷नगर सम्मेलनहरु तुरुन्त सम्पन्न गर्ने । जिल्ला र प्रदेश सम्मेलनको मिति र कार्यक्रम ठोस गरी सम्पन्न गर्न युद्धस्तरमा लाग्ने । 

३. पार्टीको स्थानीयदेखि केन्द्रीय समितिसम्मनिर्माणगर्दा ‘नेकपा (माओवादी केन्द्र) को संगठनात्मक कार्यविधि–२०७३’ अनुसार गर्ने । पार्टीको हरेक तहको सम्मेलन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दा पार्टी समर्थित प्रत्येक जनवर्गीय संगठन र प्रत्येक राष्ट्रियमोर्चा संगठनबाट एक महिला सहित २ जना अनिवार्य प्रतिनिधित्व गराउने । 

४. वैचारिक–राजनीतिक प्रतिवेदन र विधान समितिले तुरुन्तकाम शुरु गरी स्थानीयपार्टी सम्मेलनमा उक्त प्रतिवेदनहरु उपलब्ध गराउने । मूल प्रतिवेदनमा मतभेद राख्ने सदस्यहरुले स्वतः फरक मतको प्रतिवेदन प्रस्तुतगर्नेछन् । वैचारिक–राजनीतिक प्रश्नहरु :

१.मानवमुक्तिको सर्वोच्च विज्ञान, २१ औं शताब्दीमा सर्वहारावर्गको धारिलो वैचारिक हतियार मालेमाकोपथप्रदर्शक सिद्धान्तलाई दह्रोगरी पक्डेर यसको रक्षा, प्रयोग र विकास गर्दै साम्यवादको लक्ष्यमा दृढतापूर्वक अघिबढ्ने कि संसदवादतर्फ आत्मसमर्पणगर्ने ? 

२. मालेमाको विज्ञान नै हो, जसले नेपालमामहानजनयुद्धको रुपमाकम्युनिष्टआन्दोलन उठायो र एकात्मक सामन्ती राजतन्त्रअन्त्यग¥यो । यस विज्ञानको,माओवादीकम्युनिष्टआन्दोलनको भूमिकाबारे संश्लेषणनगरीआन्दोलन विसर्जन गर्न खोज्नु ऐतिहासिकभौतिकवादहुन्छ? 

३. पहिचानको मुद्दालाई वर्गसंघर्षको जनआधार इलाकामा स्थापितनगरी कसरी हुन्छ नेपालमा समाजवादीक्रान्ति?उत्पीडित समुदायको आन्तरिक राष्ट्रियमुक्तिको अभावमादिइने बाह्य राष्ट्रियता र आर्थिक समृद्धिको नाराले कुनवर्ग–समुदायको सेवागर्छ ? 

४. एमालेसितएकताबाटगरिने समाजवादीक्रान्तिको दार्शनिकआधार र वैचारिक–राजनीतिकदिशा के हो ? के को निम्तिएकता? वैज्ञानिक समाजवादको निम्ति कि मरणासन्न संसदवादको निम्ति? 

५. वैज्ञानिक समाजवादको निम्तिएकताहो भने मालेमाको पथप्रदर्शक सिद्धान्त स्वीकार गर्न एमाले समूहतयार छ ?अन्तर्राष्ट्रिय गैरसरकारी संस्थानिर्भर एमालेसमूहदलालतथा नोकरशाहीपुजीहठात राष्ट्रियकरणगर्न तयार छ ?बिनामुआब्जा भूमिसुधार गर्न तयार छ ?एमालेसितएकीकृत पार्टीको सम्पत्ति स्वामित्वबारे नीति के हुनेछ ? 

६. श्रमिकवर्गको स्वामित्वमा राष्ट्रियपुजीनिर्माणगर्न वाम–गठबन्धनले चुनावमाभनेको समाजवादले विश्व बैंक, अन्र्तराष्ट्रियमुद्रा कोष जस्तावित्तीय साम्राज्यवादीचंगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्तगर्छ कि गर्दैन ?गर्छ भने कुनसिद्धान्तको आाधारमागर्छ र गर्दैन भने त्यो कसरी हुन्छश्रमिकवर्गको समाजवाद? 

७. माओवादी केन्द्रको संगठनात्मक सिद्धान्तजनवादी केन्द्रीयता हो कि प्रचण्ड केन्द्रीयता?के प्रचण्ड केन्द्रीयताले स्टालिन र माओको कमजोरीबाटशिक्षालिएर निरन्तर क्रान्तिको मार्गदर्शन गर्छ ? 

८. क. नारायणकाजीश्रेष्ठको ‘प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवाद’ अब के हुन्छ?मालेमावादी बल प्रयोगको सिद्धान्तमा प्रतिबद्धता तथा एकतामहाधिवेशनबाट कार्यदिशा संश्लेषणगर्ने तेह्र बुँदे आधारपत्रबारे क. बादलको जवाफ के ? क. मातृका यादवको आन्तरिक उपनिवेशविरुद्धको लडाई कसरी लड्ने ? 

९. ताजाइतिहासको महानतथागौरवशालीमाओवादीआन्दोलनलाई सर्वहारा साँस्कृतिकक्रान्तिविपरीत चरित्रमाधकेलेर डाइनोसरउन्मुख गराउनपार्टीका अधिकांश नेताहरुको सम्भ्रान्तवर्गीय जीवनशैली र तदर्थवादीकार्यशैलीजिम्मेवार छ कि छैन ? 

१०. के आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतासहित इतिहासको एक चरणमाओवादी नै भएर वर्गसंघर्ष लड्ने विचारले कात्रो बेरेकै हो ? के महानजनयुद्ध र जनआन्दोलनका सहिदतथा वेपत्ता योद्धाहरुको सपना संसदवादमापतन नै हो ? कि हरेक पार्टी सदस्यसम्मकठोर सार्वजनिकआत्मसमीक्षाको सर्वहारा साँस्कृतिकआन्दोलन चलाएर पार्टी पुनःनिर्माणको निर्णायक योजनामा माओवादी केन्द्रलाई बोल्सेभिक शक्ति बनाएरै छाड्ने संकल्पगर्ने हो ? उपरोक्तप्रश्नहरुको मालेमावादीजवाफआमजनदिशाआधारित आठौं राष्ट्रियमहाधिवेशनमा खोज्नुपर्छ । हामीलाई लाग्छ, नेपाली सर्वहारावर्ग र उत्पीडित समुदायको नेतृत्वगर्दै माओवादी नै भएर अघिबढ्न तथा समाजवादीक्रान्तिको नेतृत्वगर्न सम्भव छ । सर्वहारा साँस्कृतिक रुपान्तरणको शर्तमा नेपालबाटविश्वक्रान्तिको सेवा सम्भव छ । लालसलाम सहित ! 

गोपाल किराती नेकपा (माओवादी केन्द्र), 
सचिवालय सदस्य २२ मंसीर २०७४

लेखेर राख्नुहोस् प्रचण्डले पार्टी एकता गर्दैनन् गरीहाले पनि फेरी पार्टी फुटाईहाल्छन् ! - प्रदीप गिरी



नख्खु जेलमा बस्दा मैले एकदुई पटक किशुनजीलाई देखें। यो २०२५ सालको कुरा हो। त्यससमय म नेपाल विद्यार्थी संघको उपाध्यक्ष थिएँ र रामचन्द्र पौडेल महामन्त्री हुनुहुन्थ्यो। प्रजातान्त्रिक आन्दोलनको सिलसिलामा जेल बस्दा मैले किशुनजीलाई भेटेको हो।
कृष्णप्रसाद भट्टराईले भन्नुभयो– म हिन्दुस्तानपनि जान्नँ, हतियारपनि उठाउँदिन, सुवर्ण शम्शेरको प्रस्तावपनि स्वीकार गर्दिनँ। एकदिन पचास हजार नेपालीले उठेर दरबार घेर्छन्, म त्यसदिनको प्रतिक्षामा धैर्यपूर्वक बस्छु।
कृष्णप्रसाद भट्टराई अलिकति अध्यात्मिक भाषा बोल्नुहुन्थ्यो। तपस्या गर्छुपनि भन्नुहुन्थ्यो। जनताको साधना गर्छु भन्नुहुन्थ्यो कहिलेकाहिँ। किशुनजीले त्यसरी भनेको सुन्ने प्रारम्भिक विद्यार्थी युवकमध्ये मपनि थिएँ। विपीले सशस्त्र संघर्षको आह्वान गरिसक्नु भएको थियो, सुवर्ण शम्शेर कलकत्तामै हुनुहुन्थ्यो। राजालाई सम्झाई बुझाई, फकाई फुल्याई प्रजातन्त्रको मार्गमा ल्याउँछु भनेर लाग्नुभएको थियो। किशुनजीले संविधानका दुई वटा धाराभन्दा पृथक धाराको वकालत गर्नुभएको थियो। सुवर्ण शम्शेरले भनेजस्तो राजालाई प्रयोग गर्ने, न विपीले भनेजस्तो हतियावद्ध क्रान्ति गर्ने। जेलभित्रै बस्ने, भारत नजाने, अहिंसात्मक पद्धतिबाट जनतालाई प्रेरित गरेर, संगठित गरेर ५०औं हजार मानिसद्वारा नारायणहिटी दरबार घेर्न लगाउने।
यसको कुन आयाम छ? यसको राजनीतिक आयाम होला, यसको आर्थिक सामाजिक आयामपनि होला, यसको अन्तर्राष्ट्रिय आयामपनि होला। भारतले नाकाबन्दीपनि गरेको थियो। त्यतिमात्र होइन नेपालमा पूर्व पश्चिम राजमार्ग बनेको थियो, स्कुल कलेज खुलेका थिए, छापाहरु व्यवस्थित रुपमा आएका थिए। एकजना व्यक्तिले दरबार घेर्ने भन्दैमा ज्योतिषीले भनेजस्तो सजिलो थिएन। नेपाली कांग्रेसका दुईजना सबभन्दा शक्तिशाली नेता र गणेशमानजी समेत एक ठाउँमा उभिएका बेला, संगठनमा कुनै पकड नभएका किसुनजीमा त्यो आँट कहाँबाट आयो? सुवर्ण शम्शेरले भनेको बाटोपनि ठिक छैन भनेर एक्लै हिँड्न सक्ने, एक्लै उभिन सक्ने व्यक्ति हुनुहुन्थ्यो किसुनजी।
नेपाली कांग्रेसमा देखिएका कमिकमजोरी, वैचारिक विचलन, मूल्य हिनताका विरुद्धमा बोल्न खोज्दाखेरी तपाईँ युवाहरुमध्ये कसैलाई ‘म एक्लै भएँ, मेरो कुरामा कसैले पनि समर्थन गरेन, कसैले पनि थपडी बजाएन’ भन्ने लाग्दा हतोत्साहित नहुनुहोला। सहि कुरामा एक्लै लड्दाखेरीपनि यथासमय बोल्नेको प्रतिष्ठा हुन्छ। सहि कुरा भन्दा सुरुमा मान्छेहरुले ध्यान दिँदैनन्, उपहास गर्छन्।
आश्चर्य लाग्ला, किसुनजीले यो कुरा गर्दा स्वयं कांग्रेसभित्रका मान्छे ‘किसुनजी बौलाएजस्तो छ’ भन्थे। के कुरा गरेको होला, कहाँबाट हुन्छ भन्थे। त्यसबेला उनीहरू मलाई नै कानमा भन्थे, ‘प्रदिप तिमी किसुनजीको कुरा नसुन, उहाँ त बौलाएजस्तो छ।’
सुन्दासुन्दा मलाई पनि हो कि जस्तो लाग्थ्यो। दाउपेच र नेतृत्वको लडाइँ आफ्ना ठाउँमा छन्, ती राजनीतिका अनिवार्य अंगहरु हुन्, तीबाट भाग्न सकिन्न। तर मनमा लागेको कुरामा एक्लै उभिन सक्ने क्षमता लिएर ४–५ जनाले काम गर्नुभयो भने कांग्रेसको केहिपनि बिग्रिँदैन। झन् पुष्पित, पल्लवित भएर अगाडि बढ्छ।
एकजना मित्रले भने– सारा विश्वबाट कम्युनिष्ट गए। नेपालमाचाहिँ किन कम्युनिष्ट आए? एउटा कुरा बुझ्न जरुरी छ, यो बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुन्छ। नामले के हुन्छ? कांग्रेसको जन्म १९४७–४८ सालमा भयो। द्वितिय महायुद्ध भर्खर सकिएको थियो। विश्व दुई चिरा भएको थियो। एउटा सोभियत संघले नेतृत्व गरेको कम्युनिस्ट शिविर अर्को अमेरिकाले नेतृत्व गरेको शिविर।यसलाई कुटनीतिक भाषामा शीतयुद्ध भनिन्छ। यो कहिले नबिर्सनु, नेपाली कांग्रेस शीतयुद्धको सन्तान हो। कांग्रेसमात्र होइन, तेस्रो विश्वका थुप्रै सोसल डेमोक्रेटिक पार्टीहरु। हामीहरु अन्ध कम्युनिस्ट विरोधमा हुर्कियौँ। विपीले पनि आजीवन कम्युनिस्टको विरोध गरेको ग¥यै गर्नुभयो। गणेशमानजी नहुनुहुँदो हो त २०४६ सालको जनआन्दोलन सफल हुने थिएन, सम्भवै थिएन। त्यसैले अब अन्ध कम्युनिस्ट विरोधी मानसिकता हटाइदिनुस्। यी रुसका कम्युनिस्ट होइनन्, यी भियतनामका कम्युनिस्ट होइनन्, क्युवाका कम्युनिस्ट होइनन्। यी नेपाली हावापानीमा हुर्किएका कम्युनिस्टहरु हुन्।
पञ्चायतकालमा राजा महेन्द्रको थेगो थियो– हावापानी सुहाउँदो व्यवस्था बनाउँछु भन्ने। नेपालका कम्युनिष्टहरू राजा महेन्द्रकै कोखबाट उत्पन्न भएका हावापानी सुहाउँदा कम्युनिस्ट हुन्। हामीपनि किसुनजी र गणेशमानजीको पालाका कांग्रेस होइनौं। एक दुईजना अपवाद होलान्, नसकेर मौका नपाएर भएका तर हामी अधिकांस त्यो कांग्रेस होइनौं। हामी अलि बेग्लै खालका कांग्रेस हौं, यिनीहरु पनि बेग्लै खालका कम्युनिस्ट हुन्। त्यसैले तपाईँहरुले कम्युनिस्टहरुसँग लड्ने बारेमा कम्युनिस्ट बारेको भ्रान्ति र भय मनबाट हटाइदिनुस्। तपाईँहरुले भनिरहनुभएकै छ, मिडियाले लेखेको लेख्यै छन् कम्युनिस्टले धेरै भोट ल्याए भनेर। हेर्नुस्, चुनावमा ल्याएको भोटको केहि भर हुँदैन। १९७१ मा इन्दिरा गान्धीले प्रचण्ड बहुमत ल्याएकी थिइन्। तीन वर्ष बित्दा नबित्दै जयप्रकाश नारायणले आन्दोलन शुरु गरे। इन्दिरा गान्धीले नमज्जाले चुनाव हारेर विलिन भएजस्ती भइन्। इन्दिरा गान्धीपछि राजीव गान्धीले १९८४ मा तीन चौथाइ बहुमत ल्याएका थिए। आमा, बाजेभन्दा बेसी थियो उनको मत। विश्वनाथप्रकाशजीको आन्दोलनले त्यो बहुमतलाई पल्टाइदियो।
तपाईँहरुलाई त्यत्रो ज्यादा कम्युनिस्टसँग भय छ भने भ्रष्टाचारको विरोध गर्न कम्मर कस्नुस् कम्युनिस्टको नेतृत्वको यो सरकारले पाँच वर्षपनि संसद चलाउन सक्दैन। भारतका समाजवादी नेता डा. राममनोहर लोहिया भन्थे, ज्युँदो जातीले परिवर्तन गर्न पाँचवर्ष पर्खिनुपर्दैन। म संसदीय परम्परामा विश्वास गर्छु, शान्तिमा विश्वास गर्छु तर यो भन्दापनि ठूलठूला तानाशाही सरकार आन्दोलनबाट गएका छन्। त्यसैले हतार नगर्नुस्, ढुक्क बस्नुस्, ६–७ महिना बोल्ने कामै छैन। अहिले पार्टीलाई चुस्त दुरुस्त बनाउनुस्, पार्टीभित्रका कमीकमजोरीलाई हटाउनुस्। कम्युनिस्टसँग, कम्युनिस्ट नामधारीसँगको डर हटाइदिनुस्।
तपाईँहरुको यो डर देख्दा म महाभारतको लडाइँ सम्झिन्छु। म कुनै उपदेश दिने ठाउँमा छैन र कृष्ण होइन। अर्जुनले डराएर भिष्म पितामह, द्रोणाचार्य, कर्णसँग कसरी लड्नुभयो? मेरो हात काँप्दै छ भन्दा कृष्णले जवाफ दिएका थिए।
000
पहिलो सन्देश म किशुनजीको बारेमा के दिन चाहन्छु भने उहाँ एउटा छाता टेकेर टुकुटुकु घरजाँदा उहाँसँग ४–५ जना हुनुहुन्थ्यो। यहाँ त म थुप्रै मान्छे देख्दैछु। त्यसैले पहिलो कुरा हृदयबाट कम्युनिस्टको आतंक हटाइदिनुस्। र थाहा पाउनुस्, यिनीहरु ती कम्युनिस्ट होइनन्, नेपाली हावापानीमा हुर्किएका कम्युनिस्ट हुन्।
हामीमा परिस्कार चाहिएको छ। मलाई लाग्छ, किसुनजीकै पालाको जस्तो त्याग तपस्यापनि अब जरुरत छैन र सम्भवपनि छैन। मैले भन्न खोजेको के हो भने देशकाल र परिस्थिती बदलिन्छ। विपीको जीवनकालमा सोभियत युनियनको बिघटनपनि भएको थिएन, पूर्वी युरोपपनि टुटेको थिएन, भुमण्डलीकरण आएको थिएन। अहिले कम्युनिस्टले अधिनायकवाद ल्याउँछ भन्छन्, सके त ल्याउँथे तर भुमण्डलीकरणको अगाडि चीनमै अधिनायकवाद ल्याउने स्थिति छैन। नेपालका कम्युनिस्टले अधिनायकवाद ल्याउन चाहन्छन् भने बेग्लै कुरा हो, तर अधिनायकवाद आउँदैन। यिनीहरुको मानसिकता अधिनायकवादी छ, तर यिनीहरुले अधिनायकवाद ल्याउँदैनन्। त्यसैले हामीले मौलिक ढंगले सोच्नुपरेको छ।
संगठनका कमिकमजोरी आफ्ना ठाउँमा छन् तर मुलुकको सामाजिक, आर्थिक परिस्थितीको विश्लेषणमा कांग्रेस कहाँ चुकेको छ? र कसका लागि चुकेको छ? व्यक्ति विशेषको नाम लिएर पार्टीका साथीको आलोचना अशोभनीय हुन्छ। तर कसलाई थाहा छैन, कांग्रेसको आर्थिक नीति हामीले दुई वा एक तथाकथित अर्थशास्त्रीलाई जिम्मा लाइदियौं भन्ने? र त्यो अर्थशास्त्रीले कहिलेपनि जनमुखी कल्याणकारी कार्यक्रममा ध्यान दिएन। नेपालगञ्ज महासमितिमा डा. रामशरण महतले ल्याएको आर्थिक नितीको मैले अत्यन्त कडा आलोचना गरेको थिएँ। उल्टो दिशामा जाँदैछौं हामी भनेको थिएँ। तर हलले त्यसैलाई पारित ग¥यो।
गिरिजा बाबुले हात उठाएर, ‘प्रदिप गिरीले भनेको त ठिक हो तर रामशरण महतको पारित गर्नुपर्छ’ भनेपछि तर्रर ताली बज्यो। हामीले जनमुखी कार्यक्रम बनाउँदै बनाएनौं। एकातर्फ संगठनमा छलफल नहुने, बहस नहुने, ब्याख्या नहुने। सबैले बिधि विधानको कुरा गर्ने तर सभामुखले बिधान मिचेर नियुक्ति दियो भने पनि त्यो नियुक्ति तपाईँलाई चाहिएकै हुने। सानाबाट किन कुरा गर्ने, ठूलैबाट कुरा गरौं न। रामचन्द्र पौडेललाई गिरिजा कोइरालाले एकचोटी संसदीय बोर्डबाट हटाइदिनुभयो। रामचन्द्रजीले कमिटिमा नोट अफ डिसेन्ट लेखे, र मैलेपनि नोट अफ डिसेन्ट लेखिदिएँ उहाँलाई अन्याय भयो भनेर।
पछि गिरिजाले नियुक्ति गर्नुभयो, उहाँ सुटुक्क जानुभयो। पार्टीको संसदीय बोर्डमा २५ जना मान्छे बस्छन्। २५ जना राख्नेमात्र उल्लु हो कि जानेपनि उल्लु हो? संसदीय बोर्डमा त कम्तिमा ६–७ मान्छे राखे भइहाल्यो। जित्ने कुरा के थियो? त्यहाँ ‘टिकट मलाई दिनुस्, म बाहेक अरुले जित्दै जित्दैनन्’ भन्छन्। गाउँपालिकामा चुनाव भइसकेको थियो, मेयरको चुनाव भइसकेको थियो। अनि २५ जनाको बोर्ड बनाएर के गर्न खोजेको? पार्टी अब शुद्धिकरण, परिष्करण हुनुपर्छ। यो परिपाटी किशुनजी, गणेशमानजी र गिरिजाबाबुको पालामा थिएन। त्यसैले पार्टी शुद्धिकरण गर्दा कार्यकर्ताको पंक्तिबाट, दोस्रो तहका नेताको पंक्तिबाट, तेस्रो तहका नेताको पंक्तिबाट पनि एकदमै गम्भिरतापूर्वक आफूमाथि नजर राख्नुपर्छ।
सबै महत्वाकांक्षी युवाहरु १६–१७ वर्षे उमेरमा दुनियाँ नै बदल्छु भनेर हिंड्छन्। भकुण्डोजस्तो विश्वलाई नचाउँछु भन्छन्। यो कुरा किसुनजीले पनि भन्नुहुन्थ्यो। उमेर छिप्पिँदै जाँदा दुनियाँ त होइन नेपाललाई चाहिँ बदल्छु कि जस्तो लाग्छ। नेपालपनि सकिएन अब नेपाली कांग्रेसलाई बदल्छु जस्तो हुन्छ। त्यो पनि सकिएन सिरहा जिल्ला बदलुँकी जस्तो हुन्छ। त्यो पनि सकिएन, गाउँलाई बदलुँ भन्ने विचार आउँछ। त्यो पनि नसकेपछि आफैंलाई बदलेपनि पुग्छ। ए बाबा! के को दुनियाँ बदल्ने, आफैंलाई बदल्न पाए पुग्नेरहेछ भन्ने लाग्छ। त्यसैले आजका मितिमा कांग्रेसका चार पाँच जना सदस्यले आफैंलाई बदलेर कांग्रेसमा नयाँ कुरा ल्याउनुभयो भने अहिले कम्युनिस्ट आए भनेर जुन भय छ, आतंक छ त्यो स्वतः दुर भएर जान्छ।
सत्तामा कम्युनिस्ट आउने बित्तिकै उहाँहरुले निश्चित रुपमा नामुद भ्रष्टाचार गर्नुहुन्छ। हामीले उहाँहरुलाई जति सिकाएका छौं त्योभन्दा बढी उहाँहरुले सिकिसक्नुभयो। त्यसको गणना गर्नलाई प्रचण्ड प्रधानमन्त्री भएपछि गोरखापत्रमा भर्ती गरेका मान्छे हेर्नुस्। कांग्रेसले भर्ती ग¥यो भनेर विरोध गर्ने, आफुले पाए डबल भर्ती गर्ने।
प्रचण्डजीको जुन चमत्कारिक शैली छ, त्यसमा अब दुईवटा कुरामात्र बाँकी छ। अहिले नै उहाँ एमालेसँग एकीकरणमा जानुहुन्न अथवा एकीकरणमा गए त्यहीँका मान्छे लिएर ४० प्रतिशत बनाएर पार्टी तोड्नुहुन्छ। तपाईँहरु नआत्तिनुहोला, अहिले जाँदापनि जान दिनुहोला, ४० प्रतिशत लिएर आउनुहुन्छ। त्यो पार्टी एक रहन सक्दैन। त्यो पार्टी एक रहनेबारे चिन्ता नगर्नु। चिन्ता के मा गर्नुस् भने हाटहुट गर्दागर्दै हाम्रो पार्टीमा पनि त्यही नहोस्। हाम्रो पार्टीमा एकता रहोस्। आलोचना, प्रत्यालोचनामा उत्रनुस्, सार्वजनिक रुपमा पनि गर्नुस्। तर अन्तत्वगत्वाः एउटै कमिटीमा बस्नुपर्ने अवस्थाबाट तपाईँहरु कहिलेपनि टाढा नजानुस्। तपाईँहरुलाई थाहा छ, एकदम अपमान सहेरपनि किसुनजीले पार्टी एकता टुट्न दिनुभएन।
(कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा आयोजित ‘किसुनजी र उनको नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा शुक्रबार गिरीले राखेको मन्तव्यको सम्पादित अंश)

http://namastekhabar.com बाट साभार 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असली अनुहार


मार्क्सवाद-लेनिनवाद-माओवादबाट धेरै पर पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर ‘लाल झण्डाको विरुद्ध लाल झण्डा’ को भूमिका पूरा गर्दै साम्राज्यवाद र भारतीय विस्तारवादका सच्चा सेवकका रूपमा आफूलाई परिचित गराएका छन् । विडम्बनाको विषय के छ भने अझै उनले पार्टीका नामसित माओवाद जोडेका छन् र आम जनता तथा कार्यकर्तालाई भ्रम दिइरहेका छन् । आश्चर्यको विषय चाहिँ के छ भने, माओवादी आन्दोलनलाई प्रतिक्रियावादीहरूले भन्दा बढी नोक्सान पुर्याउने प्रचण्डले नै पार्टीको नाम माओवादी केन्द्र राखेका छन् । 

भासमा जाकिएर रसातलमा पुगेका प्रचण्ड अझै पनि आफू सगरमाथाको टाउकोमा अवस्थित छु भनेझैँ गरी आफूलाई प्रस्तुत गरिरहेका छन् । उनी र उनको पार्टीले माओ र माओदिवसको कुरा गर्दा प्रचण्ड माओका नाममा के षड्यन्त्र गर्दैछन् भनेर चिन्तित हुनुपर्ने स्थिति छ, किनभने उनको वर्ग फेरिएको छ र वर्गसखाहरू फेरिएका छन् । उदाहरणका लागि भारतमा जनयुद्ध लडिरहेका माऔवादी कमरेडहरूका विरुद्ध उनले सोनिया गान्धीलाई लेखेको चिठीलाई लिन सकिन्छ । यसबाट उनको वर्ग पक्षधरता कता पट्टी रहेछ भन्ने प्रस्ट हुन्छ । वास्तवमा विश्वका माओवादीहरूले प्रचण्डले नेपालको माओवादी आन्दोलनप्रति मात्र नभएर विश्वकम्युनिस्ट आन्दोलनप्रति नै गद्दारी गरेको भनेर जुन निष्कर्ष निकालेका छन्, यो एकदमै सही र वैज्ञानिक छ ।

भारतीय प्रतिक्रियावादले ‘अपरेसन ग्रिन हन्ट’ ले नपुगेर स्थानीय तहमा प्रहरी र गुन्डाहरूको टिम तयार पारी ‘सलवा जुडुम’ नाम दिएर हत्या, लुट र बलात्कारको आतङ्ककारी अभियान चलायो । यसको चौतर्फी विरोध भयो र जनताले पनि ठाउँठाउँमा प्रतिरोध अभियान चलाए । यसै क्रममा माओवादीको कमान्डमा छत्तिसगढमा मे २५, २०१३ मा एउटा एम्बुस कारबाही भयो । काङ्ग्रेस आइका स्थानीय नेताहरूसहित उच्चस्तरका नेता पूर्वमन्त्रीसमेत यसमा परे । सिङ्गो भारतीय प्रतिक्रियावाद हल्लियो । 

सो घटनापछि त्यो क्षेत्रका केन्द्रीय नेता तथा प्रवक्ता गुडसा उसेन्डीले वक्तव्यमार्फत् घटनालाई यसरी प्रस्ट पारे : 

''यो घटनाबाट हामीले ‘सलवा जुडुम’ का गुन्डा तथा सरकारी सशस्त्र फोर्सद्वारा गरिएको हजारौँ आदिवासी जनताको हत्याको बदला लिएका छौँ । हामीले सयौँ आमाहरू तथा दिदी–बहिनीहरूमाथि भएको अपमान, हत्या, र बलात्कारको बदला लिएका छौँ ।" 

सत्ताधारी काङ्ग्रेसका केन्द्रीय तथा स्थानीय नेताहरू परेको यो घटनामा सूर्यबहादुर थापा, सुशिल कोइरालाहरूले दुखः प्रकट गर्नु स्वाभाविक थियो । तर सबैभन्दा अगाडि सरेर प्रचण्डले “ठूलो पीडा” भएको भनेर दलाली गरेर सोनिया गान्धीलाई जसरी समवेदना संदेश पठाए, यसले आश्चर्यमा पार्नु स्वाभाविक छ । नेपाली सञ्चारमाध्यम तथा मिडिया र कार्यकर्तासमेतलाई थाहा नदिएको समवेदना सन्देश माओवादी आनदोलनका लागि कलङ्क नै थियो/ हो । भारतीय माध्यमहरूले बाहिर ल्याएको यो ‘समवेदना सन्देश’ ले प्रचण्डको वर्ग पक्षधरता र मित्रतालाई राम्रोसित उजागर गर्छ । तल त्यसको पूर्ण पाठ दिइएको छ :

-----------------------------------------------------------------


श्रीमती सोनिया गान्धी
अध्यक्ष, भारतीय राष्ट्रिय काङ्ग्रेस
नयाँ दिल्ली, भारत


मदाम गान्धी
म र मेरो पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), हालै भारतको छत्तीसगढमा भारतीय माओवादीद्वारा गरिएको तपाईँको पार्टी–भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता तथा कार्यकर्ताको हत्याले हामीलाई हृदयदेखि नै मर्माहत पारेको छ र दुखित तुल्याएको छ । 

यो नृशंस आक्रमणको घटना, जसमा भारतीय राष्ट्रिय काङ्ग्रेसका २७ जनाको हत्या भएको छ र तपाईँको पार्टीका नेता भिसी सुक्लासहित ५२ जना घाइने भएका छन्, यसप्रति म र हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ र यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस घटनामा हामी तपाईँको साथमा रहेको कुरा अवगत गराउँछौँ । हामीलाई के विश्वास छ भने कुनै पनि समस्यालाई हल गर्न सकिन्छ, खोज्नुपर्छ र यो शान्तिपूर्ण किसिमले गर्न सकिन्छ, यो नै प्रजातन्त्रको सुन्दरता हो । म र खासगरेर मेरो पार्टीको तर्फबाट हत्या गरिएकाहरूको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु र आक्रमणमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

म के कुरामा आशावादी छु भने तपाईँको पार्टी यस घटनाले उत्पन्न गरेको पीडाबाट मुक्त हुनेछ र भारतीय जनताको सुखसमृद्धिका लागि आफूलाई समर्पित गर्नेछ । 


न्यानो अभिवादनका  साथ
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
युसिपिएन–माओइस्ट
काठमाडौँ, नेपाल
मे २९, २०१३



http://janamel.com बाट साभार 

Sunday, December 17, 2017

प्रचन्डले भने क्रिश्चियन भन्नु र कम्न्युष्ट भन्नु एउटै हो

समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ ।
यसकाे पहिलाे निशाना माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि परेकाे छ । प्रचण्डलार्इ फकाएर सांसद बन्न एक निर्माण व्यवसायीले घर नै दिएकाे चर्चा माअाेवादी केन्द्रभित्रै चलेकाे छ । पाँचवर्षदेखि लाजिम्पाटमा बस्दै अाएका प्रचण्ड शुक्रबार मात्र उक्त बङ्गला छाडेर ललितपुरकाे खुमलटारमा सरेपछि याे चर्चा गाइगुइ चल्न थालेकाे हाे । निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले अाफ्नाे घर प्रचण्डलार्इ बस्नका लागि दिएपछि प्रचण्ड लाजिम्पाट छाडेर खुमलटारमा सरेका छन् । 
स्राेतका अनुसार निर्माण व्यवसायी समेत रहेका अधिकारी सां‌सद हुने दाैडमा छन् । उनी माअाेवादी केन्द्रबाट निर्वाचन अायाेगमा पेश गरिएकाे समानुपातिक सांसदकाे सूचीकाे ३३ अाै नम्बरमा रहेकाे बताइन्छ । माअाेवादी केन्द्रले समानुपातिकमा कति सिट पाउँछ भन्ने एकिन छैन । त्यसैले अधिकारीले अहिलेदेखि नै प्रभावमा पारेर सांसद बन्न याे घर प्रदान गरेकाे माअाेवादी केन्द्रभित्र चर्चा छ ।
तर, प्रचण्ड निकट स्राेतले अस्थायी रुपमा मात्र अधिकारीकाे घरमा डेरा सरेकाे दावी गरेकाे छ । अर्काे उपयुक्त घर पाउने बित्तिकै खुमलटारबाट पनि सर्ने उनीहरुकाे याेजना छ । याे अस्थायी रुपमा बसेकाले चलाइने हल्लाहरु अाफै झुट सावित हुने उनी निकट स्राेतकाे दावी छ ।
उसाे त अाफ्ना एकमात्र छाेरा प्रकाशकाे निधन लाजिम्पाट दरवारमै भएपछि प्रचण्ड र उनकाे परिवार उक्त घर छाेड्ने मनस्थिति बनाइरहेकाे थियाे । छाेरा प्रकाशकाे पनि निधन हुनु र लाजिम्पाटकाे निवासमा जाने बाटाे पनि साँघुराे भएका कारण उनले घर सर्ने सल्लाह अाफू निकट केही व्यक्तिहरुसँग गर्दै अाएका थिए । घर खाेजिरहेका बेला अधिकारीले अाफ्नाे घर पनि दिन तयार भएपछि उनी सरेकाे बुझिएकाे छ ।
यसअघि पनि प्रचण्डले निर्माण व्यवसायी अधिकारीकाे घर भने अन्य प्रयाेजनका लागि प्रयाेग गर्दै अाएका थिए । यसअघि पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले अधिकारीकै अर्काे घर प्रयोग गर्दै आएका थिए । ललितपुरकै मानभवनमा रहेकाे अधिकारीकाे अर्काे घरमा दुर्इ दलका नेताहरुले प्रयाेग गरेर पार्टी एकता र वाम गठबन्धन बनाउने सल्लाह गरेका थिए ।
अधिकारी शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष हुन । उनी उक्त विजनेश ग्रुपका कार्यकारी निर्देशक पनि हुन् ।

Wednesday, December 6, 2017

‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन' - केपी ओली


‘जूनलाई टाढैबाट हेर
नजिकबाट हेर्दा दाग देखिन सक्छ
धब्बा देखियो भने
फेरिफेरि नजिक हेर्न मन नलाग्न सक्छ'

नेकपा एमालेका अध्यक्ष केपी ओलीले हरिभक्त कटुवालका यी पंक्ति सुनाएर कुराकानी थाले। रातको नौ बजेको थियो। ओली लामै बात मार्ने मुडमा थिए। कोठामा कालो चिया ल्याइयो । ओलीले प्रसंग अगाडि बढाए। ‘हरिभक्तले त्यसो भन्नु पछाडि कारणहरू थिए । तर मचाहिँ के ठान्छु भने, मानिस नजिकबाट हेर्दा अझ दागरहित, अझ बढी प्रिय देखिनु पर्छ । हाम्रो जिन्दगी नजिकबाट हेर्दा पनि राम्रै देखिनु पर्छ।'

कसले हेर्दा ओलीजी ? आफूले हेर्दा कि अरूले ?
अरूले हेर्दा । आफूले आफैंलाई हेर्न सक्नु त धेरै माथिल्लो तहको क्षमता हो। सजिलो कुरा होइन। म यहाँ सामान्य तहको कुरा गर्दै छु । सामान्य जीवनमा कसैले हामीलाई नजिकबाट हेरे पनि वा टाढाबाट हेरे पनि त्यो घृणा गर्न लायक हुनु हुँदैन।

तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए- ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे।' पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें- ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ ? तपाईंका कुरा पत्याउन सक्दिनँ म।' पण्डितजी आगो भए । तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।

अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।

राजनीतिमा हिंसाको प्रयोगबारे तपाईंका धारणाहरू आज के छन् ? २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष, तपाईंहरूको ‘झापा विद्रोह' र ‘माओवादी विद्रोह' मा भएको हिंसा र प्रतिहिंसालाई पछाडि फर्केर हेर्दा आज कस्तो महसुस हुन्छ ?
संघर्षको रूपलाई सिद्धान्तको विषय बनाउन सकिन्न । तत्कालीन परिस्थितिको सन्दर्भमा राखेर मात्र यो प्रश्नलाई हेरिनु पर्छ । कांग्रेसले निरंकुश राणाशाहीविरुद्ध गरेको सशस्त्र संघर्षलाई सकारात्मक रूपले हेरिनु पर्छ । झापा संघर्षलाई पनि निरंकुश पञ्चायती तानाशाहीको परिप्रेक्षमा हेरिनु पर्छ । तत्कालीन दमनको वातावरणमा जनताका लागि शान्तिपूर्ण प्रतिरोधका सबै झ्यालढोका बन्द थिए । झापा आन्दोलनको महत्व यसकारण पनि छ कि, २०१८ सालमा दरबारले कांग्रेसको ढाडै भाँचिदिएको बेला त्यो आन्दोलन नेपालमा गणतन्त्र स्थापनाका लागि पहिलो संघर्ष थियो।

अनि माओवादी आन्दोलनमा भएको हिंसा ?
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो। त्यसैले तपाईंले भनेका तीनवटा संघर्षलाई एकै ठाउँमा राख्नु त्रुटिपूर्ण हुन्छ। कसैलाई मन पर्छ भन्दैमा त्यो गर्न सकिन्न।


म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? हुनुपर्ने कुरै होइन। नेपालको हित चिताउने कोही पनि एन्टी इन्डियन हुन सक्दैन।

साधनका रूपमा हिंसाको प्रयोग नगरेको भए नेपालमा गणतन्त्र यति चाँडो आउँदैनथ्यो भन्ने तर्कसँग तपाईं सहमत हुनु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गर्नु पर्थ्यो। सरकारले छानबिन गर्नु पर्थ्यो त्यसपछि त्यो परिस्थिति बेग्लै ढंगले जानेथ्यो । नेपालमा राजतन्त्र त दरबार हत्याकाण्ड भएकै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो। माओवादी हिंसाबाट राजतन्त्र गएको हो र ? सेना त छँदै थियो नि। सेना पराजित भएको थियो र ? सेना त जस्ताको त्यस्तै बाँकी नै थियो । नेपाली जनताको अभिमत र दबाबबाट राजतन्त्र गएको हो। नेपालमा मात्र होइन, विश्वका कयौं देशमा त्यही भएको छ । इरानको राजालाई कसले हटायो ? सशस्त्र संघर्षबाट होइन। मास मुभमेन्टबाट हटाइयो । मैले त गिरिजाप्रसाद कोइरालालाई भनेकै थिएँ, ‘दरबार सिल गर्नुस्। तपाईं निर्वाचित प्रधानमन्त्री हो। स्थिति नियन्त्रणमा लिनुस्।'

तपाईं त्यसो भने भन्नु हुन्छ, तर तपाईंकै पार्टीका नेता माधव नेपालजी त नयाँ राजा ज्ञानेन्द्रलाई दाम राख्न जानु भयो!
... ...(लामो मौनपछि फिस्स हाँस्दै) त्यो मानसिकताको कुरा हो। मानिसका वैयक्तिक मानसिकता हुन्छन्।


माओवादीको हिंसात्मक संघर्षका कारण राजतन्त्र पतनको गति तीव्र भएको थियो भन्ने बुझाइ तपाईं मानिरहनु भएको छैन ?
त्यसलाई मान्दा र नमान्दा दुवै अवस्थामा यथार्थमा कुनै फरक पर्दैन विजयजी । यस विषयमा हामी लामो छलफल कुनै अर्को दिन पनि गर्न सक्छौं।

तपाईं धेरै लामो समयदेखि पार्टीमा रहेर पनि नेतृत्वमा आउन सक्नुभएन, किन ?
मैले लिडरसिपतिर हेर्ने कोसिस नै गरिन। म अलिकति फरक बनावटको मानिस हुँ। प्रकृति, जगत्, जीवन आदिबारे मेरो अलिकति फरक दृष्टिकोण छ। कतिपय मान्छेले यसलाई आध्यात्मिक दृष्टिकोण पनि ठान्दछन्। म त्यसलाई भौतिकवादी दृष्टिकोण भन्छु। अध्यात्मले मरेपछि परलोकको कुरा गर्छ, म इहलोकको कुरा गर्छु, परलोकको होइन। मान्छे बढी बाँचे सय वर्ष बाँच्ला। पृथ्वी अर्बौं वर्ष पुरानो छ । मलाई मेरो बाजेभन्दा अगाडिको पुस्ताबारे केही थाहा छैन । हामी क्षणभरका निम्ति यहाँ पृथ्वीमा छौं। यस्तो अवस्थामा मान, पद, प्रतिष्ठा, धन आदिका पछाडि म साह्रै जाँगर गरेर हिँड्न सक्ने मान्छे नभएकाले पनि लिडरसिपमा आउने परिस्थिति नबनेको हुन सक्छ । म निरन्तर राजनीतिमा रहें। आफ्नो काम गरें। लागेको बोलें। परिणामको प्रतीक्षा गरिनँ।


महाकाली सन्धिका बारे म स्पष्ट छु । त्यो कुनै नयाँ सन्धि होइन। पुराना गल्ती हामीले सच्याएको हो।

तर २०७० सालमा आइपुग्दा मैले निर्णय गरें, अब यसरी भएन। म व्यापक सक्रियताका साथ अघि सर्छु भन्ने निर्णय गरें। साथीहरूले सहयोग गरे। संसदीय दलको नेता चुनिएँ । पार्टीको अध्यक्ष भएँ। संसदीय दलको नेतामा लड्दा मेरो स्वास्थ्य राम्रो थिएन। पार्टी अध्यक्षको निर्वाचनका बेला त म मर्दामर्दै बाँचेर फर्केको थिएँ। पार्टी अध्यक्ष भएपछि मैले निर्णायक तरिकाले काम गर्ने मौका पाएँ । कामप्रतिको समर्पण मसँग हमेशा थियो। तर देखाउन पाएको थिइन, धेरैले देखेका थिएनन्। म छन् त थिएँ हुलमा, तर खेतको डिलमा नबसुन्जेल मान्छेले देख्या थिएनन्। भएको त्यति मात्र हो।

त्यसपछि संविधान निर्माणमा पनि तपाईंको भूमिका रह्यो। त्यसैक्रममा भारतसँग तपाईंले जसरी स्ट्यान्ड लिनुभयो, त्यसलाई देखेर धेरै मान्छे छक्क परे, दुवै देशमा । किनभने ‘महाकाली सन्धि' पछि तपाईंलाई भारत समर्थक भनेर हेरिएको पृष्ठभूमिमा सोधेको।
महाकालीमा हामी लामो समयदेखि असमानपूर्ण व्यवहार भोग्दै आएका थियौं । सीमा नदीको अन्तर्राष्ट्रिय मान्यताविपरीत काम गरेको लामो इतिहास थियो । मैले पाएको जानकारी र सूचनाहरूअनुसार ‘एकीकृत महाकाली र पञ्चेश्वर परियोजना विकास सन्धि' ले गर्दा भारतले आफ्ना गल्ती सुधार्‍यो र हामीले आफ्नो हक स्थापित गर्‍यौं । महाकाली सन्धिका बारे म स्पष्ट छु । त्यो कुनै नयाँ सन्धि होइन । पुराना गल्ती हामीले सच्याइएको सन्धि हो । त्यसैले म त्यो सन्धिको पक्षमा उभिएको हुँ ।


माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्घान्तिक भूल थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो।

भारतका सम्बन्धमा तपाईंका दृष्टिकोणहरूमा निरन्तरता छ कि मौसमअनुसार तात्ने र सेलाउने बानी छ ?
म एक देशभक्त नेपाली हुँ। नेपालको भूमि, नेपाली जनताको स्वाभिमान र भलाइप्रति बफादार छु। मैले अन्त कतैको शपथ गरेको छैन, नेपालको गरेको छु । हो, मैले पाहुना भएर अन्त खाएको पनि हुँला। पाहुना बफादार हुँदैन धेरै। आफ्नो घरप्रति बफादार हुने हो। कोही पाहुना आयो, तपाईंले उसलाई नास्ता गराउनु भयो भन्दैमा उसबाट धैरै बफादारीको अपेक्षा गर्नु पनि हुन्न। ऊ आफ्नै घरप्रति बफादार हुन्छ भन्ने सोच राख्नु बुद्धिमानी हुन्छ। मेरो कुरा त्यही हो।

मैले हाम्रो देश, हाम्रो भूस्थिति, हाम्रा छिमेकीहरूको अर्थ राजनीतिक व्यवस्थाहरू पनि बुझेको छु। उनीहरूसँग मैत्री सम्बन्ध राखेर मात्रै हाम्रो हित हुन्छ भन्ने पनि मलाई थाहा छ । छिमेकीसँग अनावश्क झमेला बोक्नु हुन्न भन्ने मलाई थाहा छ। हामी कुनै छिमेकीका विरुद्ध केही गर्न सक्ने हैसियतका पनि छैनौं। हामी कसैको कुभलो चिताउन्नौं। हामी फगत आफ्ना हितको रक्षा गर्छौं। यो कुरा हाम्रो कुनै दाउपेच होइन। तर छिमेकीले पनि सम्मानजनक व्यवहार गरून् भन्ने अपेक्षा गर्नु हाम्रो गल्ती हो र ? म विनम्रतापूर्वक भन्न चाहन्छु छिमेकीहरूलाई- सके हामीलाई मद्दत गर्नुस्। नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोलिदिनुस्।

अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा म तीन कुरा भन्छु। पहिलो, हामीले सबैले आआफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्छ । दोस्रो, आआफ्नो राष्ट्रिय हित हेर्दा त्यसभित्र न्याय हुनुपर्छ । मेरो ज्याकेट खोसेर लगेर तपाईंको भलो होला, न्यानो होला । तर मलाई त जाडो हुन्छ नि। न्याय त हुनुपर्‍यो नि। तेस्रो, अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको पनि सबैले ख्याल गर्नुपर्छ। ठूलाठूला देशहरूको प्रतिस्पर्धा होला । भारत र चीनको होला रे। वा अरूको होला रे। हामी सानालाई त्यसमा फस्नु छैन। हामीलाई त बाटो देऊ साथी हो, थिचोमिचो नगर, रगडामा नफसाऊ भन्ने चाहना मात्र छ।

काठमाडौंमा एकथरी वर्षौंदेखि ‘नेपालले चीन र भारतबीच समदूरी (इक्विडिस्टेन्स) राख्नुपर्छ' भन्छन्। के त्यो सम्भव छ ? इक्विडिस्टेन्स (समदूरी) मान्ने कि इक्विप्रोक्सिमिटी (समसामीप्य) ?
म ‘समदूरी' शब्द प्रयोग गर्दै गर्दिन। समसामीप्य (इक्विप्रोक्सिमिटी) रुचाउँछु। छिमेकीसँग मात्र होइन, सबैसँग पनि त्यही हो। निकटताको कुरा हो। दूरीको कुरा होइन। कसैको शरीरमा दुई मिटर कपडाले कोट बनाउन पुग्छ । कसैको शरीर अलि ठूलो होला कपडा अलि बढी लाग्ला । असमानता होइन त्यो। मित्रता भन्ने कुराको गणितीय मापन हुन सक्दैन।

तर जब हामी भारत र चीनसँग समसामीप्यको कुरा गर्छौं, भारतसँग जुन विविध आयामहरूमा सम्बन्ध फैलिएका छन्, त्यो प्रसंगमा मैले यो कुरा झिकेको हो।
समानता र समसामीप्यबाटै यसलाई हेर्नुपर्छ। सम्बन्ध बराबर नहुँदा भनेको के हो ? एउटाले भनेको अलि बढी मान्ने अर्कोले भनेको अलि थोरै मान्ने हो र ? पक्कै होइन । हामी दुवैको उत्तिकै हित चिताउँछौं। हामी आफ्नो राष्ट्रिय स्वार्थअनुसार गर्छौं। सुदामा र कृष्णको मित्रतालाई हेर्नुस् न। दुवैको दिने क्षमतामा धेरै अन्तर थियो। सुदामाले कनिका दिए, कृष्णले घरबंगला दिए। तर त्यसले मित्रतामा फरक पर्‍यो र!

मैले उठाउन खोजेको सन्दर्भ त्यति सजिलो होइन ओलीजी। दुनियाँमा कुन देश यस्तो छ, जसको दुई देशसँग बराबरीको सम्बन्ध छ ? बेलायतको अमेरिका र रूससँग वा जापानको चीन र अमेरिकासँग सम्बन्ध उत्तिकै बराबर छ र ? हुन सक्छ र ?
(लामो मौन) बराबर सम्बन्ध भनेको व्यापार हो ? रिलेसनसिप भनेको व्यापारको परिमाण मात्र होइन। तपाईंले आवागमनका कुरा गर्नु होला, तपाईंले भौगोलिक सहजताका कुरा गर्नु होला। हामीले यहाँनेर छिमेकीसँग बराबरी भनेको हो । घच्चापच्ची नसहने भनेको हो। पारस्परिक सम्मानको कुरा गरेको हो। एकअर्काका जायज, संवेदनशील स्वार्थ र गुनासालाई ध्यान दिनुपर्छ भन्या हो। हामी कसैका विरुद्ध छैनौं। दुवैका विरुद्ध उत्तिकै छैनौं। यो व्यापार र आवागमनको कुरा मात्र होइन।


अरूको कुरै छोडौं, मेरै पार्टीका कतिपय मान्छे पनि साम्यवादको त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ ।

उदाहरणका लागि मेरो घरछेउमा दुई पसल छन्। एउटा रासन पसल अर्को पान पसल। दुवै मेरा निम्ति जरुरी छन्। एउटाबाट म महिनाको एकपटक रासन किन्छु। धेरै रकम खर्च हुन्छ। महिनामा एकपटक मात्र जान्छु। पान पसलको मित्रकहाँ मेरो धेरै रकम खर्च हुन्न। तर म त्यहाँ दिनको दुईपटक जान्छु। तर दुवैसँग मेरो मित्रता छ। लेनदेनको वा आवागमनको मात्रा तलमाथि होला तर मित्रता दुवैसँग छ।

अहिले हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण कुरा अहस्तक्षेपको हो। हामी फगत यति चाहन्छौं, सके मद्दत गर्नुस्। नसके हाम्रो आन्तरिक मामिलामा हात हालेर नगिजोलिदिनुस्। सबैभन्दा मुख्य कुरा त्यो हो।

भारत सायद यसकारण अत्यधिक चासो राख्छ किनभने सिमाना खुला छ, नेपालको बाटो भएर भारतमा आतंक मच्चाउन चाहनेहरूको विगत पनि त छ नि । अथवा तिब्बतलाई असन्तुलित बनाउन पनि त सकिन्छ नि ?
त्यो दुवै कुरा गर्न पाइँदैन। मिल्दैन। हुन दिइँदैन। छिमेकी मित्रहरूका जायज चासो रक्षा गर्न हामी यहाँ छैनौं र ? सरकार छैन र ?

तर नेपालको राज्य यति कमजोर छ कि भारतीयले हाम्रो विश्वास नगर्न पनि सक्छन् नि। वा नेपाल सरकारको क्षमता बाहिरका कुरा पनि हुन सक्छ नि ती कुराहरू ?
अनि, बिर्सनु भो अमेरिकामा पनि टिन टावर खस्या होइन ? पेन्टागनमा प्रहार भएको होइन ? अब अमेरिकाले कसलाई अपजस लगाउने ?

यति वर्षदेखि यहाँ जुन प्रकारका गतिविधिहरू भए, त्यसले गर्दा भारतले के हासिल गर्‍यो ?
केही न केही। केही पाएन। एउटा-एउटा मान्छे बोकेर उसले पनि बेकारको हैरानीबाहेक केही पाएन। एजेन्सीहरूका केही मान्छेहरूको निजी अहम् तुष्टि भयो होला। भारतका केही जायज संवेदनशीलता होलान्, हामी बुझ्छौं तिनीहरूलाई। हाम्रा पनि केही जायज संवेदनशीलता छन्। खोइ हामी त त्यहाँ हात हाल्न जाँदैनौं। फलानो मन्त्री चाहियो, फलानो सचिव चाहियो भनेर भन्छौं र ? भारतले पनि बुझिदिनु पर्छ।

म के भन्न चाहन्छु भने नेपाल भारत अत्यन्तै सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ। नेपाल चीन सम्बन्ध पनि अत्यन्तै सुमधुर र विश्वसनीय हुनुपर्छ। हामीले एकअर्काप्रति वैरभाव किञ्चित मनमा पनि राख्नु हुँदैन । आशंका पनि गर्नु हुदैन। सहयोगी भावना हुनुपर्छ। एकअर्काका जायज संवेदनशीलतालाई सबैले बुझिदिनुपर्छ।


मरेपछि मलाई सम्झिराख्नु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्तााले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हाने अलिकति चित्ता दुख्छ।

उनीहरूले आफ्ना जायज संवेदनशीलता र चासोहरू व्यक्त गरे त्यो तपाईंले हेर्नुहुन्छ ?
किन नहेर्ने ? जायज सरोकार छन् भने जरुर हेरिन्छ।

भारतले आफ्ना संवेदनशीलताहरू ‘आफ्ना खास' मान्छे सत्तामा पुगेपछि मात्र सम्बोधन हुन्छन् भन्ने मानसिकताबाट मुक्त भएर नेपालमा जोसुकै सरकारमा होस्, छिमेकमा जोसुकै सरकार होस्, त्यसको हातमा संवेदनशीलताको सूचीपत्र थमाएर अगाडि बढ्ने नयाँ थालनी गर्दा बढी राम्रो हुन्छ कि ? बेकारको अन्तहीन, गैरउपलब्धिमूलक उछलकुद भन्दा ?
हो, गर्नुपर्ने त्यो हो। हामी पनि त्यही गर्छौं। हाम्रा पनि कुनै जायज विषयहरू छन् भने हामी भारतलाई प्रस्ट भन्छौं, चीनलाई पनि भन्छौं। उहाँहरूका पनि केही छन् भने, हामीलाई प्रस्ट भन्नुहोला। यहाँ उछलकुद गर्ने होइन। हामी त्यसलाई सम्बोधन गर्छौं। मैले सन् २००० तिरै भारतका केही नेतासँग कुरा गरेको थिएँ । भनेको थिएँ, ‘अब हामी नेपाल भारत सम्बन्ध सञ्चालनका पुराना मान्यता, तौरतरिका परिवर्तन गरौं। विश्वव्यापी सर्वस्वीकार्य तरिकाले अगाडि बढौं। हामीलाई सबैभन्दा चित्त दुख्ने कुराचाहिँ हाम्रा राजनीतिक मामिलाहरूमा हस्तक्षेप हो।

सत्तरी वर्षयताको अनुभव हेर्दा भारतले यहाँ आफैं हस्तक्षेप गर्छ कि हामी नै उसलाई हस्तक्षेपको निम्तो दिन्छौं अनि बेकारको हल्ला गर्छौं ?
यो तपाईंले बहुतै महत्वपूर्ण कुरा उठाउनुभयो। सही हो त्यो कुरा। ताली एकोहोरो बजेको छैन । पहिलेदेखि बानी पर्‍यो तिनीहरूलाई। भारतमा बेलायती शासन चल्दा पालादेखि यो क्रम पनि चल्दै आएको छ। कानमा उसले मन्त्र फुक्दा हामीलाई जतिसुकै अप्रिय लागे पनि, आफ्ना अप्रसन्नता हामीले जाहेर गर्न सकेनौं । यता हामीलाई पनि मानसिकता बन्दै गयो कि उता नसोधी हुँदैन। त्यो एउटा समस्याका रूपमा रह्यो । आज म तपाईंलाई फगत यति मात्र भन्दै छु कि यो परम्परालाई छोडेर आपसी सम्बन्धको नयाँ युग थालनी गरौं।


दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गरी छानबिन गर्नुपथ्र्यो। राजतन्त्र त त्यसै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो।

तपाईंले यसो भन्नुभयो भन्दैमा तपाईंलाई ‘एन्टी इन्डियन' त ठानिनु हुँदैन नि।
म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? कसरी हुने ? हुनुपर्ने कुरै होइन। कोही पनि नेपालको हित चिताउने मान्छे एन्टी इन्डियन हुन सक्दैन। त्यसो भनेर यो अर्थ नलागोस् कि इन्डियाले हेप्दाखेरी नसहनु एन्टी इन्डियन हुनु होइन। इन्डियाले बुझ्नुपर्छ, हामी थिचोमिचोभित्रका एउटा रैती राज्य होइनौं। मित्र हौं।

विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्‍यो, त्योबापत के पायो त ?
केही पनि पाएन। केही मान्छेहरू... केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे । दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ । त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।

भारत नेपालका प्रति विल्कुलै निरपेक्ष बस्यो भने खाली भएको ठाउँमा चीनलाई ल्याउने ? अमेरिकालाई ल्याउने ?
खाली किन ? यहाँ हामी छैनौं ? हामी सरकार चलाउन सक्दैनौं र ? आपसी मित्रताका सकारात्मक र प्रभावकारी नीति बनाउन सक्दैनौं र ?

बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो। भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन ।

अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन' हो या ‘कम्युनिस्ट गठबन्धन' हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?
यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन' पनि होइन र यो ‘वामपन्थी गठबन्धन' पनि होइन । कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय' हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्‍यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।

‘साम्यवाद' एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो । हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि । अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।

हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।

तपाईं यो भन्दै हुनुहुन्छ कि आज फिलोसफिकल कम्युनिस्ट वा आइडियोलजिकल कम्युनिस्टको होइन, पोलिटिकल कम्युनिस्टको युग छ ?
अहिले मेरो अगाडि एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ विजय कुमार पाण्डे (हाँस्दै), उहाँ भन्ने गर्नुहुन्छ, आजको युग ‘वैश्य युग' हो । त्यो भनाइमा सत्यता नभएको होइन । वैश्य युग भनेको पसल वा बजारमा मात्र सीमित कहाँ छ र ! राजनीतिमा पनि त त्यो हावी हुँदैछ।

हो ओलीजी, वैश्य युगको अप्रभावित कुन क्षेत्र पो छ र ? मिडियामा पनि त्यसको प्रभाव टडकारो छ।
हो । त्यसकारण, कम्युनिस्ट पार्टीभित्र पनि त्यो छ । यो कुरा धेरैका लागि कन्फ्युजिङ जस्तो लाग्न सक्छ। यो कुरा बुझ्न सजिलो छैन।

माओवादीसँग तपाईंको गठबन्धन अब कति लामो चल्छ ?
अब हामी पार्टी नै एकीकरण गर्छौं।



के म अहिले नेपालको भावी प्रधानमन्त्रीसँग कुराकानी गर्दै छु ?
म जुन जिम्मेवारीमा छु, त्यहाँ बसेर मैले यो प्रश्नको जवाफ आजै दिन मिल्दैन। जनता र पार्टीको निर्णय प्रतीक्षा गर्नुपर्छ। केही दिनमा नै तपाईंले थाहा पाउनु हुनेछ।

एकथरी भन्दैछन्, यदि तपाईंहरूले जित्नुभयो भने, नेपालमा अधिनायकवाद स्थापित हुनेछ ?
तपाईंलाई के लाग्छ ? त्यसो होला ? म जति डेमोक्रेसीका लागि दुःख पाएको मान्छेले त्यसो गर्ला ? जब म जेलमा थिएँ, बाँचेर प्रधानमन्त्री हुँला भनेर त सोच्न पनि सक्दिनथें । लोकतन्त्रप्रतिको मेरो निष्ठा सौदाबाजीको विषय होइन । जुन कुरा मैले जीवनभरि गरिन, अब गरूँला ?

अब अन्तमा, सबथोक त जनतालाई विकासको ‘डेलिभरी' हुन्छ कि हुन्न भन्नेमा टुंगिनेछ। जनताको जीवनमा सुधार हुन्छ कि हुन्न भन्ने प्रश्नमा सबै प्रश्न समाप्त हुनेछन्। काठमाडौंका मेयरको असफलताका अनेकन उदाहरण हाम्रै अगाडि छ । राजनीतिक स्थिरता त पञ्चायतमा पनि थियो नि!
बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो । भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन। ढंग पुर्‍याइएन भने ‘स्ट्याबिलिटी' (स्थिरता) स्ट्याग्नेसन (जडता) मा परिणत हुने खतरा पनि हुन्छ । हामी त्यो विषयमा सतर्क छौं।

अब तपाईंको के राजनीतिक महत्वाकांक्षा छ ?
केही छैन। देशमा विकास भइदिए हुन्थ्यो भन्ने महत्वाकांक्षा चाहिँ छ।

मान्छेले तपाईंलाई कसरी सम्झून् जस्तो लाग्छ ?
सम्झनु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्ताले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हानेको अलिकति चित दुख्छ। मरेपछि मलाई कसैले लात्ताले हाने भने म चित्त दुखाउन्न।

तपाईं आफ्नो जीवनसँग सन्तुष्ट हुनु हुन्छ ?
म जेलको काल कोठरीमा हुँदा पनि सन्तुष्ट थिएँ। आज पनि सन्तुष्ट छु।

तपाईं आफ्ना राजनीतिक विपक्षीलाई ज्यादै निर्मम कटाक्ष प्रहार गर्नु हुन्छ। एकताका प्रचण्डजीमाथि गर्नु हुन्थ्यो आजभोलि त्यो देउवाजीमा सरेको छ।
सत्यमाथि मेरो विश्वास मूर्खताको हदैसम्म छ भन्दा हुन्छ । विगतमा कसैले बेठीक गरेको बेला आक्रमण गरेको हो। आज पनि मेरो बानी त्यही हो।

नेपाली जनताका आउने दिन कस्ता होलान्। जस्ताको त्यस्तै रहला कि फरक पर्ला ?
पुरानै हालतमा हामी छैनौं । विगतमा क्षेत्रमा उपलब्धि भएका छन्। अलि उतारचढावमा हामी रह्यौं । राजनीतिक स्वार्थ धेरै हावी भए। बोक्ने, उचाल्ने, पछार्ने काम अलि बढी भए । अपेक्षित विकास भएन । तर केही भएन भन्नु गलत हो। सत्तरी वर्षअघि त हामी अन्धकार युगमा थियौं । अब हामी राम्रा दिनहरूतर्फ अगाडि बढ्ने छौं।



यति भनेर ओली रोकिए। घडीले रातको साढे दस बजाउँदै थियो। फर्कने बेला, ढोकामा मैले उनलाई त्यही कविता स्मरण गराएँ, जो उनैले मलाई सुनाएका थिए।

छुट्टिने बेला हात समातेर ओलीले भने, ‘नजिकबाट हेरियो भने पनि म त्यति खराब देखिने छैन विजय।'

मैले दुई शब्दको जवाफ फर्काएँ- हेर्दै जाऔं। साथै मनमनै यो पनि सोचें उनलाई म हरिभक्त कटुवालको भाखामा हेरू कि उनको आफ्नै शैलीअनुसार बुझूँ।
फर्कने बाटोमा म यो पनि सोच्दै थिएँ, के साँच्चिकै नेताहरूले सोचेजस्तो गरेर एमाले र माओवादी पार्टीका भोटहरू एकअर्काको चिह्नमा सरुवा होलान् त ? समानुपातिक कोटामा जनताले शीर्ष तहमा भएका गठबन्धनहरूलाई गणितीय हिसाबले सदर गर्लान् त ?

http://annapurnapost.com बाट साभार