Thursday, June 22, 2017

काठमाडौंलाई भीमदत्तको एउटा सेना जीवितै छ भन्दिनू

पूर्णबहादुर रोक्का



















पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही(१९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष जेलमा बसेर रिहा भएपछि उनी जोगबुढास्थित रङ्गुना खोलाको बगरमा गिट्टी कुटेर जीवनको गुजारा चलाइरहेका छन् । उनकै निवासमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश प्रकाशित गरिएको छ)

»»यहाँको जन्म कहिले, कहाँ भएको हो ?

मेरो जन्म वि.सं. १९९४ मा प्युठानमा भएको हो । बाजेहरू डँडेल्धुरा बसाइँ सरेका थिए । पण्डितले दिलबहादुर नाम राखिदिए पनि मलाई पूर्णबहादुर भनेर चिन्छन् । अहिले यही डँडेल्धुराको जोगबुढास्थित रङ्गुनाको किनारमा ऐलानीमा छाप्रो हालेर बसेको छु ।

»»भीमदत्त पन्तसँग तपाईंको चिनजान कहाँ भएको हो ?

२००७ सालमा ब्रह्मदेव नाकामा नुन लिन जाँदा भीमदत्त पन्तसँग मेरो भेटघाट भएको हो । भीमदत्त २००७ सालको क्रान्तिमा भाग लिएका तर दिल्ली सम्झौताबाट असन्तुष्ट कमान्डर रहेछन् । उसबेला मलाई त्यो कुरा थाहा थिएन । जेलबाट रिहा भएपछि भीमदत्तले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । नाकामा भारतीय अत्याचार र सामन्ती कहरका विरुद्ध उनले विद्रोह गरे । म पनि उनको पार्टीको एकजना सिपाही थिएँ ।

»»आन्दोलन कसरी सुरु भएको थियो ? केके गर्नुभयो त ?

काठमाडौँको बेवास्ता र भारतीय ज्यादतीले जनता आजित थिए । तीन वर्षदेखि नेपालमा नुन रोक्का भएको थियो । भारतीयहरूलाई ‘काली स्वास्नीको ४ आना, गोरी स्वास्नीको ८ आना’ कर तिर्नुपथ्र्याे । जाली तमुसकले गरिबलाई उठिबास गराइरहेको थियो । प्रहरीले ती सबैको रक्षा गथ्र्याे । थानाका मुखियालाई बोरामा पोको पारेर जिउँदै महाकाली नदीमा फालिदिए । जनतालाई नुन बाँडिदिए । हामीले नाकाका सबै भारतीय व्यापारीलाई लखेट्यौँ र तिनका पसलमा आगो लगायौँ ।

»»विद्रोहको नेतृत्व कसले गथ्र्याे ? सेना पनि थिए कि ?

छाकमा ५ बोरा चामल खाने फौज थियो । तिमीहरूकै खुन खाएका हुन् भनेर नुन र चामल जनतालाई बाँडिदिन्थ्यौँ । हातले बाँड्दा तलमाथि होला भनेर साबेलले बाँड्थ्यौँ । मुख्य नेता भीमदत्त थिए । फौज थियो । जनता सबै अत्याचारको विरुद्ध उत्रिएका थिए । नेता, जनता, फौजको लर्काे लाग्थ्यो ।

»»भीमदत्तका विषयमा राेचक प्रसङ्ग केही छन् ?

भनेर साध्य नै छैन । उनी असाध्यै दूरदर्शी र जनतालाई माया गर्ने नेता थिए । त्यस्तो मान्छे त देखेकै छैन । उनले श्रीमतीसँग बिदा हुने बेलामा ‘साउनको महिना घर आय आया, नआया तिमी राँडी भयौ’ भन्दै हिँडेका थिए । नभन्दै त्यस्तै भयो, उनी साउनमा घर पुगेनन्, मारिए ।

»»भीमदत्तको फौजलाई तालिम कसले दिन्थ्यो ? हतियार कहाँबाट आउँथ्यो ?

भीमदत्त आफैँ फौजी मान्छे थिए । भारतीय सेनाका अवकाश प्राप्त हबल्दार हाम्रो सेनामा थिए । धनगढीको लडाइँमा उनी भारतीय सेनाद्वारा मारिए । हामीले सरकार र सामन्तका हतियार खोसेर फौज बनाएका थियौँ ।

»» धनगढीको मोर्चामा तपाईंहरूले ठूलो क्षति बेहोर्नुपरेको चर्चा छ नी ?

हामी लगातार ३ दिन ३ रात लडेका थियौँ । धनगढी जित्न पाएको भए नेपालै कब्जा हुन्थ्यो । मेरो टाउकोमा उसबेलाको घाउको दाग अझै छ । हाम्रो ३०० जतिको फौज थियो । हामीसँग लड्न सरकारले भारतीय सेना पनि बोलाएको रहेछ । हाम्रो गोलीगट्ठा सकियो । त्यसपछि कति मरे, लेखाजोखा भएन । म आफैँ घाइते थिएँ । साथीहरूले छोडेर गए । म¥यो भन्ठानेर होला । मैले भने लाससँग मरेझैँ गरेर पल्टिएर ज्यान जोगाएको हूूँ ।

»»भीमदत्त पन्त कसरी मारिए ? केही बताइदिनुहुन्छ कि ?

धनगढीमा क्षति भएपछि फौज पहाडमा क्रियाशील थियो । भारतीय र शाहीसेनाले पछ्याउँदै थियो । कारी गाउँका लालबहादुर बोहोरा प्रहरी थिए । उनी भीमदत्तका मित थिए । उसले विश्वासघात गरेछ । बासको इरामा बन्दुक भित्तामा अड्याएर खाना खान सुरुमात्र गरेका थियौँ, गोली चल्यो । सुरुमै भीमदत्तलाई ताकेर गोली हानेछन् । उनको छातीमा ३ गोली लागेको थियो ।

»»प्रतिरोध गर्नुभएन ? भीमदत्तले केही भन्न भ्याएनन् ?

मर्ने बेलामा ‘मेरो खुन बौरनेछ’ भनेका थिए । दुवै पक्षले फायर नखोल्ने सहमति थियो । उनीहरूले नियम उल्लङ्घन गरे । हामी असावधान भएछौँ । आदेशबिना गोली चलाउन पनि भएन ।

»»तपाईं जेल पनि पर्नुभयो कि ? कहिले छुट्नुभयो ?

२००९ सालमा गिरफ्तार भएर ७ वर्ष जेलमा बसेँ । २०१६ सालमा बहुदल आएपछि रिहा भएँ । जेलमा भीमदत्तका सबै राजबन्दीलाई छोड्ने पत्र माथिबाट जेलमा आएको रहेछ ।

»»तपाईंलाई सङ्गठित गर्न कोही आउँदैनन् ?

एमाले पार्टीका मान्छेहरू आएर तिमी भीमदत्तका सिपाही रहेछौ, पार्टीमा लागौँ भन्थे । धेरैपछि माओवादीहरू लिन घरैमा आए । तर गएको छैन । भीमदत्तजस्ता मान्छे नै देख्दिनँ । जनतालाई माया नगर्नेले जनताको सरकार कसरी बनाउला भन्ने ठान्छु ।

»»भीमदत्तको आज ठूलो महिमा छ । तपाई जिउँदो सहिद भेट्न कोही आउँदैनन् त ?

म त ऐलानी जग्गामा छाप्रो हालेर बसेको छु । बगरका गिट्टी कुटेर जीविका चलाएको छु । सहरमा केके हुन्छ, मलाई थाहा छैन । भीमदत्तकै विषयमा चलचित्र बनेको पनि सुनेको थिएँ । तर पैसा नभएर हेर्न जान सकिनँ ।

»»देशमा गणतन्त्र आयो, कसरी बुझ्नुभएको छ ?

देशमा अब झन् ठूलो उथलपुथल हुनसक्छ । शान्ति हुनेवाला छैन ।

»»अन्तिममा थप केही भन्न चाहनुहुन्छ ?

राजनीतिमा लागियो । जेल, यातना सबै भोगियो । लडाइँ लडेकै हो । जेलबाट छुटेपछि बिहे गरेर यहाँ बसेको छु । लौ हजूर, भीमदत्तको एउटा सेना जिउँदै छ भन्ने खबर काठमाडौँलाई दिनुहोला ।




Tuesday, June 13, 2017

पारिबाट ल्याएका मान्छेले चुनाव रोकिँदैन : उपेन्द्र यादव





संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भारतबाट समेत भाडाका मान्छे ल्याएको आरोप लगाएका छन्।

‘हाम्रो कार्यक्रम बिथोल्न राजपाले पारीबाट मान्छे ल्याएका थिए, तर नेपाली जनता चुनाव चाहन्छन्, पारिबाट ल्याइएका मान्छेले रोकेर चुनाव रोकिँदैन, जनताले डन्डा लगाएर ती मान्छेलाई लखेटेर पठाइदिए,’ यादवले मंगलबार सेतोपाटीसँग भने, ‘जनताको उत्साहजनक उपस्थितिले हाम्रो कार्यक्रम शानदार ढंगले सफल भयो।’

पटक–पटक चुनावको मिति सारेर जनतालाई मतदानको अधिकारबाट वञ्चित पार्न नहुने भन्दै यादवले सरकारले पनि आफूले गरेका बाचा पूरा गर्नुपर्ने बताए।

हाल विराटनगरमा रहेका यादवसँग सेतोपाटीले टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंशः

तराई मधेसमा घुमेपछि निर्वाचनको माहोल कस्तो पाउनुभएको छ?
बीस वर्षपछि हुन गइरहेको गाउँपालिका, नगरपालिका निर्वाचनका लागि जनता लालायित छन्। उनीहरूले यसलाई बडो आकांक्षा र भरोसाका साथ हेरिरहेका छन्। मैले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई मधेसका विभिन्न ठाउँ घुमेँ। सबैतिर जनता चुनावको व्यग्र प्रतीक्षामा छन्। स्थानीय लोकतन्त्र भनेकै जनताका लागि हो। स्थानीय लोकतान्त्रिक संस्था भनेकै गाउँपालिका र नगरपालिका हुन्। यसका लागि जनतामा व्यापक उत्साह मैले पाएको छु।

कतिपय ठाउँमा तपाईंलाई समेत अवरोध भयो नि?
अवरोध गर्न खोजिएको थियो, तर जनताले कुटेर खेदे। यसले पनि निर्वाचनलाई लिएर जनता कति उत्साहित छन् भन्ने थाहा हुन्छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गढ भनिएको सर्लाहीको सबैभन्दा बलियो ठाउँमै मैले कार्यक्रम गरेर आएँ। त्यहाँ सभा गर्न नदिने, हाम्रो पार्टीलाई प्रवेश नै गर्न नदिने भनेर सात दिनदेखि अभ्यास भएको थियो। नेपालबाट मात्र नभएर, भारतबाट समेत मान्छे बोलाइएका थिए। तर, नेपाली जनता चुनाव चाहन्छन्, पारीबाट ल्याइएका मान्छेले रोकेर चुनाव रोकिँदैन। जनताले डन्डा लगाएर ती मान्छेलाई लखेटेर पठाइदिए। जनताको उत्साहजनक उपस्थितिले हाम्रो कार्यक्रम शानदार ढंगले सफल भयो।

तपाईंको विरोध गर्न भारतबाट समेत मान्छे ल्याइयो भन्न खोज्नुभएको हो?
हो, उनीहरूले हामीलाई रोक्न भारतबाट भाडामा समेत मान्छे ल्याएका थिए। हाम्रो कार्यक्रम बिथोल्न खोज्नेलाई जनताले नै लखेटे। हाम्रो सभा बोर्डरको छेउमै थियो। त्यहाँबाट उनीहरू पारी भाग्नुको अर्थ घर उतै हो भन्ने नै बुझिन्छ। राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि। कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी। नेपाली त पछि बनेका हुन्। ढाँटेर नागरिकता लिएका हुन्। हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए। तर, जब नेपाली मधेसीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे। त्यत्रा जनता हाम्रो पार्टीमा प्रवेश गर्न आए। यसले जनता चुनाव चाहन्छन् भन्ने संकेत गर्छ।

तराई मधेसमा तपाईंलाई कसैले रोक्न सक्दैन?
जनता भएपछि कसरी रोकिन्छ? जनतालाई कसले रोक्न सक्छ? जनता त अजेय छन्।

अन्य पार्टीले पनि तराई मधेसमा गएर कार्यक्रम गर्न सक्ने स्थिति बनेको छ त?
कार्यक्रम सबैले गरेका छन्। सबै उम्मेदवार घुमिरहेका छन्। उम्मेदवार बन्न मारामार छ। कांग्रेसको छ, एमालेको छ, माओवादीको छ, राप्रपाले समेत कार्यक्रम गरिरहेको छ। सबैतिर चुनावको चहलपहल छ। ठूल्ठूला आमसभा गरेका छैनन्, त्यो अलग कुरा हो। केही पार्टीका केही कार्यकर्ता भने भ्रममै छन्।

राजपाको समस्या भनेको आन्तरिक हो। पार्टी दर्ता नहुनु, चुनाव चिह्न नहुनु, पुरानो चुनाव चिह्नका लागि एकमत नहुनु, कसैले कसैलाई स्वीकार नगर्नु राजपाका समस्या हुन्। अर्काले टाउको त जोड्दियो तर आत्मा र विचार अरूले जोडेर जोडिन्न नि! त्यही भएर छ जना नेता छतिर फर्किएका छन्। ‘म्याथम्याटिक्स’ त बनाइदिए। एक एक प्लस गरेर छ भयो, तर ‘केमेस्ट्री’ मिलेको छैन। यही आन्तरिक द्वन्द्वका कारण चुनावमा उहाँहरूलाई अप्ठेरो भएको छ। तर, यो जनताको समस्या त होइन, जनताले त चुनावै चाहेका छन्।

दुई नम्बर र पाँच नम्बर प्रदेशमा निर्वाचन सार्ने भन्ने बहस चलाउन खोजिएको छ। यसलाई जनताले स्वीकार्छन्?
जनताले चुनाव चाहेका छन्, अरूले के गर्छन्, सरकारले के गर्छ थाहा भएन। सरकारका गलत नीतिले मुलुक बर्बाद त भइरहेकै छ। पटक–पटक चुनावको मिति सारेको छ। एक चरणको निर्वाचनलाई दुई चरणमा बनाएको राजपाकै लागि हो। चुनावमा भाग लिन्छौं अहिले सार्नुस् भन्छन्। तर, चुनाव सार्नु भनेको समस्या समाधान होइन।

सरकारको पनि बदमासी छ। संविधान संशोधनका विषय समाधान गरौं भनेर सरकारलाई हामीले पटक–पटक भनिरहेका छौं। सरकारले कोशिस गर्यो, तर सकेको छैन। राजबन्दीहरूलाई रिहा गर भनेर हामीले पटक–पटक भनिरहेका छौं। सरकारले एक कानले सुनेर अर्को कानले उडाएजस्तो गर्छ। समस्याको मूल जरो यो पनि हो। सरकारको गलत नीतिका कारण जनताले दुःख पाइरहेका छन्।

राजपालाई निर्वाचनमा ल्याउन तपाईंले कुनै प्रयास गर्नुभएको छैन?
मैले राजपाका नेताहरू सबैलाई भेटेँ। उहाँहरू सबैले निर्वाचनमा भाग लिन्छौं भन्नुभएको छ। सुरुमा चुनाव चिह्न भएन के गर्ने भन्नुभयो, अहिले त त्यसका लागि ऐन पनि संशोधन भइसकेको छ। तैपनि उहाँहरूले निर्णय गर्न सक्नुभएको छैन। कुरा गर्दा चुनावमा भाग लिन्छौं भन्नुहुन्छ। चुनाव चिह्न लिने वातावरण बनेपछि पनि राजपाले निर्णय गर्न सकेको छैन। उहाँहरूले आफ्नो बोलीअनुसार निर्णय गर्न सक्नुभएको छैन। उहाँहरूको आन्तरिक द्वन्द्वले गर्दा नै यस्तो भएको हो।

निर्वाचनमा तालमेल गर्ने विषयमा तपाईंहरूको योजना के छ?
तालमेलका सम्बन्धमा हामीले सबै अधिकार गाउँ–नगर कमिटीलाई दिएका छौं। तलका साथीहरूले तालमेल गर्ने या एक्लै लड्ने निर्णय आफैं गर्नुहुनेछ। हामी त्यसैलाई पालना गर्नेछौं।

http://setopati.com बाट साभार