Thursday, September 27, 2012

सत्र सालको क्रान्तिको सम्झना - कृष्णविक्रम नेम्वाङ

बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको अनुभव धेरै पाठकका लागि उपयोगी देखिन्छ । यहाँ त्यस सशस्त्र जनसंघर्षका एक अगुवा कृष्णविक्रम नेम्बाङले आफ्नो नयाँ किताब ‘सत्र सालको क्रान्तिको सम्झना’मा लिपिबद्ध गर्नुभएको संस्मरणको एक अंश प्रस्तुत गरिएको छ ।    -सं..



क्रान्तिकारी कारबाहीमा अरु अभावको पूर्ति साहस र आँटले नै गर्नुपर्छ ।

–बी.पी. कोइराला

रूसी इतिहासको एउटा घटना स्मरणयोग्य छ– सन् १८७४ मा देशव्यापी विप्लवको आह्वानमा कोइ एक हजार रूसी विद्यार्थीले किसानी पहिरनमा गाउँगाउँको बाटो पक्रे । उनीहरूलाई ‘नोरोदनिक’ भनियो । तर विडम्बना उनीहरूलाई गाउँवासीले विश्वास गर्न सकेनन् । बरु कतिपयलार्ई उल्टै पक्रँदै जारका पुलिसलार्ई बुझाउन थाले । यसो हुनुमा आम जनता र ती बौद्धिक भनाउँदाहरूबीच पूर्वसम्बन्धको सर्वथा अभाव हुनु थियो ।
दार्जिलिङमा हिउँदे बिदा सुरु भइसकेको थियो । अधिकांश साथीहरू पार्टीको निर्देशन लिएर आ–आफ्नो गाउँ लागिसकेका थिए । स्कुल, कलेज बन्द भएकाले दार्जिलिङ सुनसान प्रायः थियो । हिउँ पनि अलिअलि फुसफुसाउन थालेको थियो । पार्टीको निर्देशनबमोजिम म पनि पाँचथर फर्किहाल्नु थियो । झापाका पर्शुराम भण्डारी र इलामका भद्रसिंह राई (कार्यकर्ता) पार्टीको सन्देश लिएर आफ्नो जिल्ला फर्किसकेका थिए । यसबीचमा काठमाण्डुबाट दार्जिलिङ आइपुगेका धर्मरत्न यमी र राजाका दूत केदारमान व्यथितलाई भेट्ने र आफ्ना कुरा राख्ने अवसर मिल्यो । विघटित प्रतिनिधिसभाका सांसद अच्युतराज रेग्मी र डि.के. शाही अलिपछि कलकत्ताबाट दार्जिलिङ आइपुगे । उनीहरूलाई पनि ‘दिलखुश’ होटलमा भेटियो । यही कारणले मेरो जिल्ला फर्काइ ढिलो हुँदै थियो । तर कतिपय साथीले त मेरो ढिलाइलाई विचार डगमगाएको रुपमा लिएछन् । नरमाइलो लाग्यो ।
म होटल फ्रिडममा बस्थें । पुसको अन्तिमतिर होजस्तो लाग्छ । एकदिन किताब–सिताब थन्क्याएँ । होटल मालिक लि थङ फूलाई सेसन सुरु भएपछि आउने भन्दै म पनि बाटो लागें । हिँड्ने बेलामा फ्रेण्डस स्टुडियोका मालिक नेपालबाट पलायित कांग्रेस कार्यकर्ता रामशंकरलाल श्रेष्ठसँग भेट भयो । उनलाई कुन बाटो नेपाल फर्कंदा उचित होला भनी राय मागें । उनले सिधै पशुपतिनगर–इलामको बाटो गए हुने बताए । दार्जिलिङमा कांग्रेस कार्यकर्ता भनेर म चिनिइसकेको थिएँ । अझ झोलामा पार्टीको चारतारे झण्डा पनि थियो । त्यसैले अलि छलिएर नेपाल प्रवेश गर्ने कि भन्ने विचार थियो मेरो । तर साथीहरूले पनि सिधै मूलबाटो भएर जानु नै राम्रो हुने सल्लाह दिएका थिए । अन्ततः साथीहरूले सुझाएझैं मूलबाटोलाई नै रोजें । सायद मूलबाटो भनेको प्रजातन्त्रको बाटो थियो, जनसंघर्षको बाटो थियो । तै बाटोभरि रूसी नोरोदनिकको सम्झना भने भइरह्यो ।
अंग्रेजकै पालादेखि दार्जिलिङदेखि मिरिक’ गाडी चल्थ्यो । मिरिक जाने गाडीमै फाटकसम्म यात्रा गरें । फाटकबाट पाँच मिनेट पैदल हिँडेपछि बिहानको दस बजे पशुपतिनगर आइपुगें । पशुपतिनगर नाकामा भन्सारका कर्मचारी र पुलिसको बाक्लै चहलपहल थियो । केही अप्ठेरो पर्ला कि भन्ने डर भयो । तर म उनीहरूको आँखामा परिनँ । अरु त के र, झोलामा जो कांग्रेसको चारतारे झण्डा थियो, त्यसैले अप्ठेरो पार्न सक्थ्यो । तर मैले त्यसलाई त पट्याएर झोलामा सबैभन्दा तल राखेको थिएँ ।
पशुपतिनगरबाट विन्देश्वरी–फूलचन्दको ट्रकको डालामा चढें । त्यतिखेर गाडी चढ्न पाउनु पनि ठूलो अहोभाग्य हुन्थ्यो । कच्ची सडकमा ट्रकले यता बल्ड्याङ उता बल्ड्याङ खान्थ्यो । माघे–सुन्तलेपछि शिवालयबाट ठाडो उकालो हुँदै बेलुकी इलामबजार आइपुगें । धुलोले पुरिएर यात्रुहरू नचिनेने भइसकेका थियौं । सायद गणेशमानसिंह : मेरा कथाका पानाहरू (खण्ड–१) मा भनिएझैं यो एकजना सद्दे अनाडीको जीवनमा राजनीतिक यात्राको सुरूवातको दिन थियो ।
बिहीबारे हटियाको दिन परेछ । तिनताक इलाम बजार पाँचथरेहरूको ठूलो किनमेल थलो मानिन्थ्यो । त्यहाँबाट नुन, तेल, फलाम, लत्ताकपडाजस्ता अत्यावश्यक उपभोग्य वस्तुहरू ढाकरमा बोकेर पाँचथरका हाट–बजारमा पुर्‍याइन्थ्यो । हाटको परम्परा अंग्रेजहरूले आफ्नो उपनिवेशकालमा भारतमा ल्याए र हाम्रातिर पनि यसको प्रचलन सरेको हो । ठाउँठाउँमा साता दिने, पन्ध्रदिने हाट लाग्ने । मालसामान हाटबाटै खरिदबिक्री हुने । हटियाका दिन परेकाले होला, ढाक्रेका ताँती देखिन्थे । यस्तो ताँती कि कृष्णप्रसाद कोइरालाले श्री ३ चन्द्र शमशेरलार्ई ‘सौगात’ पठाएको भनिएको जस्तै शरीरमा त्यान्द्रो कपडा फर्फराइरहेका, भारीले पेदूपेदू थिचिएका ।
इलामबाट पाँचथर एक्लै पुग्नु हम्मे पथ्र्यो । बाटोमा खोलाखोल्सी, भीर–पहरा, उकालो–ओरालो थियो । अझ रक्से छिचोलेपछि त घनघोर जंगलले पाँचथरसम्मै ढाकेको थियो । छ न त मसँग त्यस्तो धनदौलत केही थिएन, तै चोरी हुने डर पनि थियो । निक्कैबेर सोचें, आँटें पनि तर एक्लै पाँचथर उक्लने आँटै आएन मलाई । सहयात्रीको खोजीमा बजार चाहार्न थालें । आफ्ना गाउँले सिवाय कसैलार्ई चिन्दिनथें । कुनै गाउँले भेटिएला नि भन्ने आशा थियो । तर अर्कै संयोग पर्‍यो ।
मालापथ पुग्दा ‘सिकारी बूढा’ सँग झ्वास्स भेट भयो । बूढा रेडीको पुरानो खास्टो गम्लङ्ग ओडेर हस्याङफस्याङ हिँडिरहेका रै’छन् । उनको खास नाम चन्द्रमान राई हो । उनीसँग दार्जिलिङमै परिचय भएको थियो । किन हो उनलार्ई सबैले ‘सिकारी बूढा’ भन्थे । उत्तरी इलामको आलुबारी भन्ने गाउँमा जन्मे हुर्केका उनी पार्टीका निष्ठावान कार्यकर्ता थिए । एकछिन उभिएरै कानेखुसी गर्‍यौं । उनी इलामका साथीहरू भेट्न आएका रहेछन् । हामीले बेलुकै भेटघाट सकाउने, बिहान बाँडा होटलमा चिया खाने र पाँचथर लाग्ने योजना बनायौं । सुन्तलाबारीमा साइँली छ्यामाको घर थियो । म वास बस्न सुन्तलाबारीतिर लागें ।
बिहान सखारै बाटो लाग्यौं सिकारी बूढा र म । गफगाफमै पुवाखोला अनि झुत्रेखोलाको झोलुंगे पुल तरेर साखेजुङ्को उकालो लाग्यौं । त्यतिन्जेलसम्म घाम पनि टाउकोमाथि पुगिसकेको थियो । फेरफारे लुगाको झोला पनि गह्रौं–गह्रौं भइरहेको थियो । पेट पनि भर्नु थियो । गमेर ल्याउँदा साखेजुङमा लालबहादुर लोक्त्तामको घर सही लाग्यो । उहाँ मेरो पनि नातेदार र दाइ भूविक्रम नेम्बाङको त साक्खै ससुरा । खाना खान पनि पाइने र जिल्लाको राजनीतिक हलचलका सम्बन्धमा पनि केही न केही थाहा पाइने । लोक्ताम निवास बाँसका ठूलठूला झ्याङदेखि केही पर बाटोको छेवैमा पथ्र्यो । हामी घरलार्ई ताकेर त्यतैतिर सरासर लाग्यौं ।
राजनीतिक दृष्टिले इलाम जिल्लामा साखेजुङ गाउँको ठूलै साख थियो । २०१५ सालको आम निर्वाचनमा कांग्रेसका विजयी सांसद कृष्णबहादुर भट्टराई त्यहीँका निवासी थिए । दार्जिलिङमा हामी छात्रहरूले मिटिङ गरेको उनै के.बी. भट्टराइकैमा हो । कम्युनिस्ट आन्दोलनमा इलाम जिल्लाका शिखर पुरूष तथा २०१५ सालमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार ज्ञानीराम भट्टराई यहीँका थिए । उनले नै इलाम जिल्लामा कम्युनिस्ट पार्टीको जग बसाए । हाल उनी दार्जिलिङ प्रवासिएका थिए । यहाँका बस्नेतहरू अत्यन्त सम्पन्न तथा शिक्षित कहलिन्थे । लक्ष्मण, खम्बसिं बस्नेतहरू भाइभतिजासँग दार्जिलिङ तरिसकेका थिए । लक्ष्मण बस्नेत २०१५ सालमा क्षेत्र नं. २८ बाट स्वतन्त्र उम्मेदवार पनि थिए । खम्बसिंह बस्नेत पछि राष्ट्रिय पञ्चायतको सदस्यसमेत भए । अहिले पनि एमाले अध्यक्ष एवं भूपू प्रधानमन्त्री झलनाथ खनालको गाउँ यही हो ।
दार्जिलिङबाट हिँड्नअघि ज्ञानीराम भट्टराई तथा लक्ष्मण बस्नेतहरुसँग भेटघाट पनि भएको थियो । यी परिवारसँग लोक्ताम लिम्बू परिवारको पनि औधी मिल्ती थियो । हामी पुग्दा एउटा सुखद संयोग र आश्चर्यले पर्खिबसेको रहेछ– भूविक्रम दाइ । दाइ अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । सुदूर पूर्वको राजनीतिक केन्द्रविन्दू इलामबजारै थियो । इलामबजारको निकै नजिकको गाउँ साखेजुङ । दाइ राजनीतिक घटनाक्रमको अध्ययनार्थ सिलौटीबाट साखेजुङ झर्नुभएको रहेछ । दाइसँगको भेटपछि सिकारी बूढा आफ्नो गन्तव्यतर्फ लागे । दाइ र भाइबीच राजनीतिक उथलपुथलबारे कुरा भए । दार्जिलिङमा भएको पार्टी र छात्रहरूको गतिविधिबारे बेलिविस्तार लगाएँ । मैले आफ्नो देशप्रवेशको उद्देश्य सुनाएँ, दाइ साह्रै उत्साहित हुनुभयो ।
झुरुम्म थियो लोक्ताम लिम्बुहरूको बस्ती । बेलुकी स्थानीयहरू भेलिए । तिनमा बिष्णुबहादुर लोक्तामको मात्र नाम सम्झना छ । उनीहरूसँग पनि राजाको ‘कु’का बारे छलफल भयो । भोलिपल्ट बिहानको खाना खाएर पाँचथरतिर लाग्यौं । बाटोमा जनसंघर्षको तयारी गर्ने सल्लाह भयो । यसका लागि अर्धभूमिगत हुने निर्णय पनि भयो । म घर पुगेर सिलौटी लागें । तिनताका भूविक्रम दाइ गभर्मेन्ट कलेज (दार्जिलिङ)को पढाइ र सारतापको ‘बिल्डिङघर’ त्यागेर सिलौटीको पातले गाउँमा अस्थायी रूपमा बस्दै आउनुभएको थियो । उहाँ स्वास्थ्यलाभ गर्दै हुनुहुन्थ्यो । हामी सिलौटी पुग्दा लेकाली बस्तीमा जाडो जवान पुगिसकेको थियो ।
० ० ०
बी.पी.ले आफ्नो कथामा एक ठाउँमा ‘सहरू बेढंगपन छोड्दै गएँ’ भन्नुभएको छ । सुरुसुरूमा सिलौटीमा रहँदा मैले पनि त्यस्तै कठिनाइ बेहोर्नुपर्‍यो ।
हामीमा योजनाबद्ध ग्राम विकासको न इतिहास छ, न परम्परा नै । सामान्यतः एक नेपालीले आफ्नो पैतृक जमिनमा सानो झुप्रो हाल्छ, बस्छ चाहे त्यो रूखो–मलिलो, लेक–बेंसी, पायक–अपायक, सुगम–दुर्गम जहाँ जस्तो होस् । दश हजार फिटको उचाइमा रहेको सिलौटी पर्वत क्षेत्रमा पुग्दा निक्कै भावुक भएँ । गाउँबस्ती नियाल्थें, आकाशमा ताराहरू छरपस्ट झैं अकबरे सुनको गहनामा जडित हिरामोतीका दानाजस्तै लाग्थे ।
सिलौटी क्षेत्रमा इत्थुङ, नाम्दु, सिम्ले, पातलेजस्ता दर्जनौं लेकाली गाउँ पर्छन् । त्यतिखेर सिलौटी क्षेत्रमा विशेषगरी टाटीबेराका घरहरू हुन्थे । बाँस, निगालो, मालिङगोबाट बुनिन्थ्यो चित्रा र यसैलाई घरको वास्तुकलामा ढालिन्थ्यो । केही सम्पन्नहरूको घरमा मात्र ढुंगाको गारो हुन्थ्यो तर छानाचाहिँ चित्राकै हुने । आलु, मकै र केही मात्रामा फापरको खेती हुने । गाई, भैंसी, भेडा, बाख्रा, कसैकसैले घोडा र गाईवस्तुसँगसँगै सुँगुर पनि पाल्थे । खेतीबाट त ३÷४ महिना पनि खान नपुग्ने । त्यसपछिको महिना चौपाया बेचेर आएको पैसाले टार्नुपर्ने । त्यतिले पनि वर्ष नगए मालिंगो परेङको घुम, डोको, थुन्से, डालो, नाङलो आदि बुनेर हाटबजार वा गाउँमा पुर्‍याई खाद्यान्नसँग साटफेर गरी खाद्यसामग्री जुटाउँथे । एक साल काट्नु एक जुनी काट्नुजस्तै दुःख थियो ।
सरकारको सम्बन्ध ‘तिरो’सित मात्र थियो । नागरिकका प्रति केही जिम्मेवारी थिएन । ती लेकालीहरू आफ्नो कठोर श्रम र मिहिनेतद्वारा सदा आत्मनिर्भर हुन उद्यत भइरहन्थे । वैकल्पिक आयआर्जनको कुनै क्षेत्र थिएन । रोग, भोक, गरिबी, अशिक्षा तथा पछौटेपनले ग्रस्त थिए । न पढालेखा छन् न त पेटभरि खान पाएका छन् न अधिकारप्रति सचेत नै छन् । आफ्नै धुनीफानीमा व्यस्त छन् । हामीले यिनलाई संगठित गर्नु, क्रान्तिकारी बनाउनु र प्रजातन्त्रप्रति प्रतिबद्ध बनाउनु थियो । हाम्रो लागि यो कठोर तर अपरिहार्य काम थियो ।
म उनीहरूको नजरमा सभ्य सहरीया सुटेडबुटेड मान्छे थिएँ । सायद टाढैबाट भिन्नै देखिन्थें दार्जिलिङे सेतो पतलुन र कमिजले । उनीहरू मसँग खुलेर कुरा गर्नसमेत हिच्किचाउँथे । यस्तो संवादहीनता थियो त उनीहरूमाझ जनसंघर्षको चेत फैलाउनु हास्यास्पद ठहरिन्थ्यो । त्यसैले सबैभन्दा पहिले पहिरनमा परिवर्तन गर्ने सोच बनाएँ । कहीं पढेको थिएँ, जवाहरलाल नेहरूले बिहारको नीलखेती आन्दोलनमा सरिक हुने क्रममा पहिलोपल्ट चम्पारनमा पश्चिमा भेषभूषा परित्याग गरेका थिए । गान्धीजी दक्षिण अफ्रिकाबाट भारत आउँदा सस्तो किसिमको देशी लिबासमै हुन्थे ।
लिम्बूनीहरूले खुबै तान बुन्ने समय थियो । लिम्बू गाउँमा कोगटी, सादा, चारखाने खाँडीका कपडा यथेष्ट पाइन्थे ।
अब मैले हाँसको बथानमा बकुल्ला नहुन दौरा सुरुवाल पहिरनलाई अपनाउने निर्णय गरें । इम्बुङ गाउँबाट बीस हात खाँडीको कपडा मगाएँ र सारतापमा सिलाउन दिएँ । अब मेरो पहिरन तयार भयो । त्यसो त त्यतिखेर सरकारी जैकारेहरूले ‘यौटै भाषा यौटै भेष’ भन्ने नारा गोरखा परिषदबाट सापट लिन लागेको अवस्था थियो । दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाइएको थियो । मचाहिँ त्यही पोसाक लगाएर पञ्चायती व्यवस्थाविरुद्ध जनसंघर्षको तैयारी गर्दै थिएँ । पहिरनमात्र होइन खानपान, बोलीचाली, रहनसहन, उठबसमा पनि गाउँलेको प्रभाव पर्न थाल्यो । रूसी नोरोदनिकजस्तो सहजाउने म अब पूरै गाउँलेमा परिणत भइसकेको थिएँ ।
सिलौटी क्षेत्रको सेपिलो पाटामा त्यसै पनि ठण्डी । अझ हिउँ पर्न थाल्यो । केशर, जटामसी, गुच्छीच्याउ, यार्चागुम्बुजस्ता जडीबुटी पनि सिलौटी क्षेत्रमा पाइन्थ्यो नै होला, तर तिनलाई पटके औषधिको रुपमा मात्र प्रयोग हुन्थ्यो । बरु गाउँलेहरू जाँड, रक्सी र सुर्तीलाई चिसोको दबाइ मान्थे । चिसोलाई झेल्न न्यानो कपडा पहुँचभन्दा टाढाको विषय थियो । टुप्पी नै ठाडो पार्ने जाडोसँग जुध्न म पनि डबकाको जाँड र कचौराको रक्सीको हरकमा मगमगिन थालें । मकैको खोस्टा नपाए कटुसको पातमा बेरेर लाम्पाते सुर्तीको सर्को पनि तान्न थालें । सिलौटी क्षेत्रका लागि इलाम पानी पँधेरोजस्तै थियो, त्यसैले यहाँ चियाको प्रचलन पनि आइसकेको थियो । चियापत्ती टुट्यो भने मकैको च्याँख्ला भुटेर वा खसु्रको चोपकै भए पनि चिया बनाएर पिउने चलन थियो । तर, चियाले भन्दा पनि जाँड–रक्सीले नै पुस–माघको ठण्डीलाई काबुमा ल्याएजस्तो लाग्थ्यो, खैर यो एउटा ‘ह्याबिच्युअल’ भ्रम किन नहोस् ।
सबै गाउँले अघोरीजस्तै लाग्थे । भक्ष–अभक्षको साँधसीमाना थिएन । अम्मलहरूको स्वादमा जिब्रो रतिँदै जाँदा म पनि अघोरी नै बन्दै गएँ । सिल्भाँ लेभीले नेपाल : नेपाल हिन्दू अधिराज्यको इतिहास (दोश्रो खण्ड)मा भनेका छन् “…यतातिर ठाउँको उचाइबमोजिम मैलोपना पनि बढ्छ, जति माथि उति बढ्ता मैला” । मानिस मैला हुनुको प्रमुख कारण सरसफाइको चेतनाको कमी नै हो, तर सिलौटी क्षेत्रजस्ता उच्च पहाडी शृंखलामा भने चिसोको निहुँ पनि हो । पानी छुँदै आङ जिरिङ जिरिङ हुने यस्तो कठयांग्रिने ठण्डीमा कसले नुहाइधुवाइ गरोस् । गाउँलेहरू मयल कट्कटिएका बाक्ला खापका खाप लुगाले पुरिएर हिँड्थे । कसैको आङमा मयल देख्यो भन्ने लच्छिन हो भन्थे । मैले पनि मयलको लच्छिन बोकेर हिँड्न थालें ।
डा. बी.एस. चौहानको एसिया का प्रादेशिक भूगोल अनुसार ‘‘एसियामा फिलिपिन्समा नै सर्वप्रथम मकैको खेती गरिएको थियो ।’’ र, ‘‘हाम्रो देशको उत्तरी क्षेत्रको बस्ती बिस्तार आलु, मकैको इतिहाससँग आबद्ध छ ।’’ सिलौटी क्षेत्रमा पनि आलु, मकैको खेती निकै पुरानो हो । यसको कारणचाहिँ दार्जिलिङ (भारत) नजिकमा भएकोले हो । अंग्रेजहरूले आफ्नो उपनिवेश भारतमा जति पनि फलफूल, अन्नबाली अथवा अन्य वनस्पति ल्याए, सिलौटी क्षेत्रमा पनि सहजै भित्रियो । गाउँलेहरू बिहान–बेलुकीको छाक उसिनेको आलुले टार्थे । उसिनेको आलु टिम्मुरको अचारमा नचोप्दै जिब्रोले त्यसको स्वाद लिइसक्थ्यो । अल्लो र सिस्नुको हरियो दाल बाह्रैमास प्रयोग हुन्थ्यो । मूला र पातशाहीको साग तरकारी बनाइन्थ्यो । जरिङ्गो, दुङदुङे, जिम्बु, ठोट्ने मौसमी तरकारी थिए । चिङफिङ त खासा चट्नी भइगयो । लिम्बूहरूले मिक्थुम्बा भन्ने अर्खौलोको फल प्रशस्तै पाइन्थ्यो । अर्खौलोको पनि खोलेफाँडो बनाउन सकिन्छ भन्थे बूढापाका । युरोपियनहरूले त ओर्खौलोको फल सँुगुरको चारोका निम्ति संकलन गर्थे रे । पिटर मार्शलको युरोपज् लस्ट सिभिलाईजेसन अनुसार अमेरिकाबाट आलु, मकै पुग्नुअघि पुर्तगालको टोउरा उपत्यकाका बासिन्दाको पनि मुख्य आहार ढाडेकटुस नै थियो ।
यहाँचाहिँ ढाडेकटुस भुटेर खाने प्रचलन थियो । मलाई कुटुक कुटुक ढाँडे कटुस टोक्दा यसको खोलेफाँडोको स्वादचाहिँ कस्तो हुँदो हो लाग्थ्यो ।
राजनीतिक ध्येयका साथ अर्धभूमिगत भएको म सिलौटी क्षेत्रको जीवनशैलीमा ढालिइसकेको थिएँ । बाहिरी अघोरीजस्तै देखिए पनि भित्री रुपमा मेरो राजनीतिक मनसाय प्रस्ट थियो । राजाको कदमका विरुद्धमा प्रचारप्रसार गर्नु, संगठन निर्माण गर्नु र जनसंघर्षका लागि स्वयम्सेवक तयार गर्नु थियो । यसका लागि गाउँ–गाउँ भ्रमण गर्नु थियो । छिट्टै एउटा आमसभा गर्ने तयारी पनि हुँदैथियो । तर मेरो ताल हेरेर गाउँलेहरू त के साथीहरूले सम्म नपत्याउने अवस्था थियो । किनभने राजनीति भनेको त सुकिलोमुकिलो मानिसले गर्ने पो त भन्ने भ्रम थियो । एकदिन स्थानीय दिलबहादुर सुनुवार र साथीहरूले चुनौती दिए, ‘‘लु, एक्लै च्याङ्थापु पुगेर आउनुहोस् त ।’’ सिक्किम–भारत र पाँचथरको सिमाना च्याङथापु नाका रणनीतिक महत्वको थियो । यो सिलौटी क्षेत्रबाट निक्कै टाढा पनि पथ्र्यो । सायद यसैले पनि साथीहरूले मलाई चुनौती दिएको हुनुपर्छ । तर, संयोगको कुरा वोयाम र च्याङथापुमा दार्जिलिङमै चिनेको मेरा साथीहरू थिए ।
एक बिहान च्याङथापु पुगेर आउने अठोटले हिँडें एक्लै । च्याङथापु पैदल हिँडेर दुई दिनमा पुग्न सकिन्थ्यो । सिलौटी क्षेत्रमा सेताम्मै हिउँ परेको थियो । स्याउँस्याउँती जाडो । कञ्चनजङ्गा हिमाल ताकेर हिउँ कुल्चँदै लागें । लालीखर्क हुँदै जोरसाल पुग्दा घाम निक्कै छिप्पिसकेको थियो । औंशी पूर्णे हाट लाग्ने जोरसालमा दुई तीनवटा पसल थिए । एउटा नेवार पसलमा खाना खाएर हेंवाखोलातर्फ ओरालो झरें । ओरालै ओरालो । हेंवाखोला तरेर भारपा उकालो लागें । उकालै उकालो । यस्तो उकालो कि चित्तै फाट्ने खालको । त्यसमा पनि मध्यान्हको चर्को घाम, उकालोमा हाराङराङ तीर्खा लाग्यो तर पानी कहीँ नपाइने । मुनि हेंवा खोला अबिरल बगेर गइरहेछ माथि सुक्खाले भारपा गाउँलाई प्याकप्याक्ती पारिरहेछ । बल्लबल्ल भारपा सिरानको एक तामाङ घरमा दुई आनामा एक लोहोटा पानी किनिखान पाएँ । यहीँबाट सुभाङ जाने बाटो छुट्टिन्थ्यो, सोधें र उतै लागें, करेमकरेम, तेर्सैतेर्सो ।
सुभाङ टेक्दा रात ओर्लनै लागेको थियो । अनिकालको याम थियो । कस्तो घरमा खान पाइन्छ पाइँदैन अड्कल गर्न सक्थें म । बाटोको डिलमाथि बाहाँभरि मकैका झुत्ता झुण्ड्याइएको तीनतले बरण्डा भएको घरतिर उक्लें । संग्रौला परिवारको घर रहेछ । सिकुवामा बास पाएँ । खाटमा आसन जमाएँ । घरमूलीको नाम नेत्रप्रसाद संग्रौला रहेछ । तिनको २५/२६ उमेरका देखिने छोरासँग राति अबेरसम्म पुस १ गतेको घटनाबारे गफियौं । तिनले पनि राजाको कदमलाई मन पराएनन् । निरन्तर सम्पर्कमा राखे यो मानिस काम लाग्छ जस्तो लाग्यो । पछि थुप्रै पटक सम्पर्क गर्न पनि खोजें तर भेट हुनै सकेन ।
संग्रौला परिवारले बिहानको पनि खाना खुवाए । च्याङथापु जाने बाटो बताइदिए । म बिदाबारी भएर चतुरे–जोरपोखरीतिर लागें । उकालोमा चार पाँचवटा खसी बाख्रा डोर्‍याउने दुई जना बेपारीसँग भेट भयो । उनीहरू वोयामका लिम्बुहरू रहेछन् । सँगै बाटोमा गफिँदै गयौं । जोरपोखरी जंगलको कुनै रुख पनि सुनाखरीको नाम्जा नझुण्डिएको थिएन । वारेकबुङ भन्ज्याङतिर त ढुंगा फारिएका, च्यातिएका काप्चाहरूमा पनि सुनाखरी नै सुनाखरी । किसिम–किसिमका सुनाखरी थिए । चौरासे वेपारीहरूलाई नानावली गफ चुट्न कसले भ्याउँथ्यो र ! दिउँसोभर हिँडिएछ, बाटो काटेको पत्तै भएन । बेलुकी वोयाममा एकजना लिम्बुको घरमा वास बसें । वेपारीहरू गफिँदै गफिँदै आ–आफ्ना घरतिर लागे ।
वोयामबाट च्याङथापु खासै टाढा हैन । भोलिपल्ट विहान सहजै च्याङथापु पुगें । पुण्यप्रसाद खरेलको बारे सोध्दैखोज्दै गएँ । ऊ र वोयामको भूपाल खरेल दार्जिलिङका मेरा सँगाती थिए । भूपाल दार्जिलिङमै रहेछ । पूण्य घरैमा भेटियो । तीन दिन पुण्यको घरमा बसें । च्याङथापु क्षेत्रमा कसरी संगठन, प्रचार प्रसार गर्ने छलफल भयो । उसले गढी, जगात घुमायो, स्थानीयहरूसँग भेटघाट गरायो । च्याङ्थापुमा धेरै दिन रहने अवस्था थिएन मेरो । किनभने सिलौटीमा महत्वपूर्ण सभा गर्दैथ्यौं । हाम्रो निम्ति त्यो सभा स्टेट्स जनरल वा लोया जिर्गा समान महत्वको थियो । मेरो च्याङथापु गई छिमेकमा मिलिक्क अगुल्टो लिन गए सरहमात्र भयो । पूण्यप्रसादलाई संगठनको जिम्मेवारी दिएर चौथो दिन म सिलौटी फर्की हालें ।

Wednesday, September 19, 2012

‘भलो कुराको नमुना’बारे -ह्रदयचन्द्र सिंह

आदिवासी जनजातिलाई भुसतिघ्रे, स्वाँठे, जंगली भन्ने राममणि आ.दी.को किताब विमोचनमा मैले भोगेको घोर अपमान



आदिवासी जनजातिलाई भुसतिघ्रे, स्वाँठे, जंगली भन्ने राममणि आ.दी.को किताब विमोचनमा मैले भोगेको घोर अपमान



‘भलो कुराको नमुना’ किताबका लेखक राममणि आ.दी. अपरिचित लेखक होइनन् । खासगरीकन आदिवासी जनजातिहरुलाई भुसतिघ्रे, स्वाँठ र जंगली भनेर हेपाहा दृष्टिकोण राख्ने गरेका कारण उनलाई नकारात्मक रुपमा स्मरण गर्ने गरिएको छ । तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा विमोचित कार्यक्रममा पनि जातीय उचनिचकै आधारमा सहभागीहरुलाई किताब दिने तथा खान्कीमा समेत कसैलाई मान र कसैलाई अपमान गरिएको थियो । त्यसका एक भुक्तभोगी हुन् हृदयचन्द्रसिंह प्रधान । त्यसबारे उनले ‘भलो कुराको नमूना’ शीर्षकमा निबन्ध लेखेका थिए । ‘कुरा साँचो हो’ संग्रहमा संकलित यो निबन्ध नेपाली समाजमा अहिले चलिरहेको बहसबारे बुझ्न ऐतिहासिक स्रोतसामग्री बन्ने ठानेर सामान्य सम्पादनसहित प्रकाशन गरिएको छ । शीर्षक हामीले दिएका हौं– सं. ।

लेखक महासम्मेलनको निम्तो मलाई मीठो लाग्यो । सम्मिलन र सहयोगको आग्रह गरेर श्री राममणि आ.दी.जीले विशेष चिठ्ठी पनि पठाउनुभएकोले मिठास झन् बढेको थियो । त्यसैले ढलमलिरहेको स्वास्थ्यको कारण कमजोरीले पछाडि तानिरहे तापनि आ.दी.जीको आग्रहले मलाई हिँड्ने हौसला दिइरहेको थियो । आफ्नो घरबाट आ.दी.जीको घर झन्डै एक कोसको टाढा छ । आखिर श्री ‘व्यथित’ जीको साथ सकी–नसकी उचित समयमा पुगेर संतुष्ट भइहालें ।
rammani dixit
राममणि आचार्य दीक्षित
पुग्नासाथ स्वागतको रुपमा आ.दी.जीले सस्नेह दुई अँगालो दिनुभयो । मेरो पुड्को, निर्धो र करङ कटुवा खिप्टे आङमाथि उहाँको भीमसेनी शरीर लादिंदा पनि अँगालोको रुपमा भएको हुनाले मलाई कति गह्रौं अनुभव भएन । स्वागत–सत्कार–स्नेह भनेको बस्तु साँच्चि नै मीठो रहेछ । अँगालो नत्र गह्रौं पनि हुने थिएन, म पुड्को र उहाँ भीमसेन जस्ता मोटा र अग्लो हुनुभएकोले मलाई अँगाल्दा नियन्त्रणमा राख्न अलि सक्नुभएन, त्यसैले अँगालो जस्तो प्यारो पदार्थले पनि म अलि थिचिएँ, र सास्तिएँ ।
सभास्थल निकै रवाफिलो देखिन्थ्यो । मञ्च पनि खुबै शानदार थियो । सामन्ती अँगालोमा हुर्केका र राजसी भर्‍याङ उक्लिरहेका मानिस आफ्ना काम–कारबाइमा रौनक चढाउन स्वभावैसित जान्दछन् । त्यसैले रोवरवाफ पुगेर फुर्तिलो भएकोमा सभास्थलको म बढ्ता तारीफ नगरुँ । वास्तवमा सभा उति महत्वपूर्ण नभएता पनि सभास्थल र मञ्च आदि वाह्य पृष्ठभूमिको सजावट त वर्णननीय नै छ । हुन पनि सभाको वास्तविक उद्देश्य सभाको कुनै महत्वपूर्ण आदान–प्रदान वा छलफल वा निष्कर्षको निम्ति पनि त होइन, आफूले साहित्यको उत्थान गरेको पचास वर्ष भइसकेको र त्यो पचास वर्षलाई आफूले गरेको कामको रजत–जयन्ती मानी त्यसभित्र आफूले गरेको सेवा सबैमा विदित गराउनु हो ।
महासम्मेलनमा देवकोटाजी बाहेक प्रायः गन्यमान्य कवि लेखक सबै सम्मिलित हुनुहुन्थ्यो । लेखकहरुको अतिरिक्त माननीय प्रधानमंत्री र अरु पनि धेरै प्रतिष्ठित र महा मानिसहरु पनि उपस्थित हुनुहुन्थ्यो । सभा हुनुभन्दा अगि लावा, फूल, अबीरले सबै अभ्यागतलाई पूजा गरी खुब स्वागत गर्नुभो । त्यसमा पचन्नीहरु पनि राखिएका थिए । नेपालमा भएका आजसम्मका कुनै सम्मेलनमा लेखकहरुले त्यति पूजा र स्वागत कहिल्यै पाएका होओइनन् । अनि सभा शुरु हुनलाग्यो । सभापतिको आसन माननीय प्रधानमंत्री मातृकाप्रसाद कोइरालालाई ग्रहण गर्न राममणिजीले अनुरोध गर्नुभो । अरु धेरै योग्यता र प्रतिष्ठाको साथसाथै उहाँ ब्राह्मणमा पनि शुद्ध ब्राह्मण हुनुभएकोले मातृकाजीलाई रोज्नुभएको रहेछ । सभापतित्वका प्रस्तावमा यही वाक्य थियो । यही यहाँ वाक्य थियो । तर राममणिजीको दाँजोमा मातृकाजी पनि शुद्ध ब्राह्मण हुनु होओइन भन्ने मलाई विश्वास छ । त्यसैले शुद्ध ब्राह्मणको नातामा आफै सभापति पनि बन्नुभएको भए सभा झन् चोखो हुने थियो । यस्तो बिटुलो संसारमा अझ पनि शुद्ध ब्राह्मण बाँकी रहेकोले नै संसार अडिरहेको हो कि कुन्नि !
सभापतिको आसनबाट मातृकाजीले बोल्नुभएको वक्तव्य सुनेर लेखकहरु संतुष्ट भएको देखें । किनभने लेखकहरुले योजना दिएमा नेपाली भाषा, साहित्य र लेखकहरुको राम्रो कदर गर्ने आश्वासन दिइएको थियो । आफ्नो भनाइमा मातृकाजी बाँचिरहनुहोला भन्ने म आशा गर्दछु ।
मैले संझें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ ।
सभापतिजीको भाषणपछि सभाका संयोजक सर्वश्री राममणिजी, कविशिरोमणि लेखनाथजी, पं. मुरलीजी आदिको वक्तव्य दिइनलागे । भाषणको चालमा नै पुस्तक वितरण गर्ने काम पनि चालु भइरहेको थियो । पुस्तकको चाङमा दुईथरीका पुस्तक थिए : एक अजिल्द र एक सजिल्द । मैले ठानेको थिएँ आज दुई किसिमका पुस्तकको दान पाउन लागें । तर पुस्तक बाँड्दा प्रत्येकलाई २/२ पुस्तक दिइएको देखिनँ । कसैलाई अजिल्द चाहिँ, कसैलाई सजिल्द चाहिँ एउटा–एउटा मात्र दिइयो । सबभन्दा पहिले श्री केदारकान ‘व्यथित’जीलाई दिइयो । कुन आधारको निम्नोच्च स्तरमा अजिल्द र सजिल्द पुस्तक बाँडिएका हुन्, त्यस बेला झट्टै मैले बुझ्न सकिनँ । सिद्धिचरण, व्यथित, भिक्षु, भीमनिधि आदि बडे–बडे कविहरुलाई पनि अजिल्द पुस्तक दिइएको देखें, फेरि बालकृष्ण सम र लेखनाथलाई भने सजिल्द । जब जनार्दन समलाई पनि सजिल्द दिइयो, अनि मलाई थाहा भयो, राणा बाबुसाहेब र ब्राह्मण देवतालाई उच्च स्तरमा गन्नुभएको रहेछ । बालचन्द्र शर्मा, बाबु्राम आचार्य पनि ब्राह्मण भएको हुनाले नै सजिल्दका भाग्यमानी हुनुभएको रहेछ । तर भीमनिधि, गोपाल पाँडे पनि ब्राह्मणै हुनुहुन्छ, उहाँहरुलाई भने आजिल्द नै दिइए । धेरै विचार गरिसकेपछि मलाई अनुमान भयो, उहाँहरु कुमाई हुनुभएकोले राममणिजीको दृष्टिमा शायद शुद्ध ब्राह्मण भएन कि ? पूर्वी मात्र उहाँको आँखामा शुद्ध ब्राह्मण ठहरिएको जस्तो मलाई लाग्यो । दर्जाको विचार गरेर बाँड्नुभएको हो भनूँ भने पनि उपमन्त्री जस्तो भइसकेका धर्मरत्न ‘यमि’ पनि अजिल्द, फेरि काजी मीनबहादुरलाई भने सजिल्द । शायद प्रजातन्त्रको दर्जा र मर्यादा उहाँलाई तीतो लाग्यो कि कुन्नि ? मीनबहादुर काजी राणाशाहीको जमानाका काजीसाहेव हुनुहुन्छ । त्यसैले उहाँले सजिल्द पाउनुभएको होला ।
एउटा मानिस त हाएमोपहाँ पनि देखाए, अर्थात् बिना निमन्त्रणामा आएका । उनको निम्ति त ‘लेखक महा सम्मेलन’ एउटा कलेज जस्तो भयो होला, किनभने “तपाईंको नाम त मेरो लिस्टमा छैन” भन्ने बेइज्जत मात्र पाए, कितापको दाम र फलफूलको टपरी–सपरी केही पनि पाएनन् । हाएमोपहाँ भएर जानेहरुलाई यो सानो शिक्षा होइन । उनको लोभी बानीलाई राममणिजीले लोप्पा ख्वाएर ठुलो उपकार गर्नुभयो । किनकि अब उनी कहिल्यै त्यस्ता लोभी हुनेछैनन् ।
पुस्तक वितरणको साथसाथै सभाको चालमा नै टपरीमा राखी फलफूल पनि बाँड्न लगाउनुभएको थियो । मलाई त पुस्तकभन्दा अगि फलफूलको टपरीले मिजास गर्न आयो । मैले संझें, शायद फलफूलमा पनि भेदभाव रहेको होला । अर्काको भागतिर आँखा दौडाउन पनि मलाई लाज लाग्यो, आफुलाई सबै सरह बराबर गरिएको होला भन्ने विश्वास केही गरे पनि भएन । नखाईकन फ्याँकिदिनु पनि मैले भद्दा अशिष्टता देखें । वास्तवमा फलफूलको वितरणमा पनि भेदभाव राखिएकै रहेछ । फलफूल मीठो कुरो भएर पनि मैले मीठो स्वादले खान सकिनँ ।
वक्तव्य दिनेहरुमा पं. मुरलीको पालो आउँदा फलफूल बाँडिन लागेको थियो । मुरलीजीको आग्रह थियो, खाना छोडेर मेरो वक्तव्य नै सुनून् तर उहाँको भनाइमा प्रभाव र कला नभईकन आदेश र उपदेश श्रोताहरुमा लदाउन लागेको जस्तो मानिसहरुलई लाग्यो । उहिले असनमा पुराण भन्दा त्यत्रो प्रभावशाली व्यक्ति, आज किन हो कुन्नि मानिसहरुलाई प्रभावहीन लागेको होला भन्ने उहाँप्रति मलाई माया लाग्यो । हुन त श्रोताहरुले फलफूल खाँदै गरेर पनि उहाँको वक्तव्यमा ध्यान दिनलागिरहेका थिए । त्यसको वास्तै नगरीकन आफ्नो वक्तव्यले लठ्ठ पार्नुसक्नुभएको भए खान रोकेर मानिसले ध्यान बिछ्याउने थिए । खाना पनि राम्रो मानिने, भनिने कुरा पनि राम्रो भएको खण्डमा म त मुख र कान दुवैले उतिकै काम लिनसक्छु । आखिरमा मुरलीजी रिसाएर वक्तव्यै नदिईकन मञ्चबाट वर्लनुभो । उहाँको वक्तव्य सुन्न नपाएकोमा मलाई त अफसोस लाग्यो तर समय किफायत भो भनेर धेरै मानिस खुशी भएको देखें ।
मेरो साथमा आउनुभएको श्री ‘व्यथित’जी त अगावै हिंडिसक्नुभएछ । मैले अड्माल गरें कि पुस्तक–वितरणमा भेदभाव गरिएकोले उहाँ ‘वाक्–आउट्’ रुपमा जानुभएको होला । ‘ठिक हो’ भन्ने विचार गरी म पनि पुस्तक दिन नपाउँदैमा त्यहाँबाट निस्कन खोजें । “कसलाई सजिल्द दिने, कसलाई अजिल्द” भन्ने नामावलीको सूची सभा–बीचमा उभिएर हेरिरहेको जुद्धशमशेरी सिंहदरबारी दृश्य देखेर मलाई बान्ता हुनलागिरहेको थियो, त्यसैले निस्कनु भनी म उठें । तर पुस्तक नलिईकन मैले निस्कन पाइनँ । मलाई पनि अजिल्द पुस्तक दिइयो । पुस्तक हातमा पर्दा मलाई पोइल गएकी आमाको साथमा उनको दाइजो माल बोकी झड्किलो बाबुकहाँ पुर्‍याउन जाने नादान मानिसलाई केही बोल्न नसकेकोले झन् भारी गह्रौं भएजस्तो त्यो पुस्तक अपठ्यारो र गह्रौं भयो । घर आइपुगिसकेपछि केही बोल्न र फ्याँकेर आउन नसकेको आफ्नो कमजोरी देखी घृणा भयो । जुवामा हज्जार हारेर दश जिताउरी लिएर आएको रुपियाँमा जस्तो त्यो पुस्तक लिएर आएकोमा मलाई पछुताउ, बेमज्जा र अपमान अनुभव भयो ।
त्यो वितरणको पुस्तक हातमा लिएदेखि अगाडि पुग्नासाथ स्वागतमा दिनुभएको फूल जस्तो हलुङ्गो, राम्रो र मीठो राममणिजीको अँगालो त राक्षसले थिचेको जस्तो पो गह्रौं अनुभव भयो । गह्रौं अनुभव मात्र होइन, उहाँका ती दुई अँगालो अहिलेसम्म पनि राक्षस बोकिराखेकै जस्तो भइरहेका छन् । स्वस्थानीको ७ वर्षकी गोमा ब्राम्हिणीलाई ७० वर्षको शिवशर्मा ब्राह्मणले अँगाल्दाको तीतो अनुमान कहाँ–कहाँबाट एक्कासी अनुभूत भएर राममणिजीको अँगालोले झन् मलाई राक्षसी धावा गर्‍यो । घर फर्कंदा त कहिले पुगूं जस्तो भयो । बाटो झन् लामो लाग्यो । आउँदा मेटिसकेको थकाइ पनि फेरि फर्केर आयो । तर २/४ सय कदम के आइसकेको थिएँ, प्रधानमन्त्री मातृकाबाबु पनि फर्कनुभएको भेटियो । उहाँले मोटर रोकी आरामसित राखेर घर (काठमाडौं) पुर्‍याइदिनुभो । उहाँको त्यो अनुग्रहको निम्ति कृतार्थ छु ।
त्यहाँ त किताबको नाउँसमेत पनि हेरेको थिइनँ, घर आएर हेर्छु त पुस्तकको नाम रहेछ “भलो कुराको नमूना ।” भलो कुराको नाउँले दिल अलि ठंडा भयो । बाँड्दा भेदभाव भएरै पनि के भो, किताब त भलो कुरा सिकाउने रहेछ भनेर संतुष्टै भएँ । अगाडिको असंतुष्टि बिर्साएर पुस्तक पल्टाउन थालेँ । पुस्तक पल्टाउनासाथै देखें :
नेपालीको भात नै छ नेपालीत्व जगाउने ।
हाम्रो कट्टरतामा छ प्रभाव त्यहि भातको ।।८०।।
प्रभावले भातको नै हाम्रो, रगत शुद्ध छ ।

–भलो कुराको नमुना
यत्रो विज्ञान–महिमा त्यो जावो भातबाट छ ।।८१०
भातैले हाम्रो रक्त बगेको शुद्ध देख्छु ।
ठीमाहा बरु पोपेर दींदैनौं भात बिग्रन ।।८११
भोटे, पोडे, अनी सार्की, दमाई र कसाईमा ।
सरोबरी गरी हाम्रो धज्जी फ्याकल्यान् विचार है ।।८१२
मठयाहा वेग नै पारी सद्देको मान राख्छौ्र ।
यसको अर्थ हो, प्यूरी, फीकेसन् ब्लड स्पष्टमा ।।३१३

यी कुराहरु देखें । त्यो दिन एक निम्तामा भात खाएर आएको थिएँ । निम्तावाल थिए, भात नमिल्दा, एक किसिमका ठिमाहा, मध्याहा न थिए । तर भात खाने निम्त्याहाहरु भने बाहुन पनि थिए, क्षत्री पनि, अझ झण्डै एक दर्जन जातिका मानिस थिए । “जावो भातमा पनि केको नेपालीत्व, यो त झन् नरक पठाउने कुरा पो हो, केको भलो ?” भन्ने मलाइ खट्क्यो । तर एउटा–दुइटा खट्कने कुरा त प्रायः कितापहरुमा हुन्छन् भन्ठानेर कितापहरुलाई नफ्याँकीकन मैले फेरि पल्टाउन थालें, यस्सो पल्टाउँछु त देख्नथालें–
जंगली, पर्वते काँठे, भूसतिघ्रे गँवारको ।
यो देश हो हे भगवान् ! राखी द्यौ यो त्यसै गरी ।।४३६
जंगली हामीमा ऊँचो शिक्षा चाहिन्न क्यै पनि ।
शिक्षाले पेट भर्दैन पेट भर्दछ काम नै ।।४३८
× × ×
तिघ्रे र पर्वते स्वाठे जुन् हाम्रा दाज्यु–भाइ छन् ।
ती तेही रहि बाचून, हुनु पर्दैन सभ्य ती ।। ९०१
× × ×
हरे ! शहर हो खोक्रो पाखँडीहरुको गड ।।९०५
बरु पर्वतकै बासी राम्रो आर्यत्व पालछन ।

यस्तै सरसरी पुस्तक हेर्न थालेको त प्रजातन्त्रको निन्दा (ठीक छैन प्रजातन्त्र पक्षपात जगाऊँछ ।।१०४४) र हुकुमी शासनको समर्थन (राजतन्त्रै छ एऊटा हितसाधक आर्यको । आर्य रैती हामीहरु चाहन्नौं लोक–तन्त्र यो ।।११४४), अनि आर्य जातिको तारीफ र आर्यवाहेक अरु गैह्र जातिको अवहेलना (अरु जातहरुको झैं, पुख्र्यौली आर्यहरुको । डाँका मारी लुटेरा झैं, बसेका पाउँछौ कहीं ? ।।१२९), आर्यमा पनि ब्राह्मणको एकछत्र अधिकार (बाहुन क्षत्रियैवाट मन्त्रिमण्डल जोरनू ।।१२९२ बाहुन क्षत्रियहरुमा पनि उच्च कोटिको ।।१२९३), राणशाहीको फेरि गुन आह्वान (प्रतापयुक्तका धीर, वीर, चन्द्र समानका । अन्यर्थ रैती हूँदा नै यो देश यसरी चढ्यो ।।४४२) इत्यादि मात्रै देखें ।
किताप त साँच्चिकै ‘भलो कुराको नमूनै’ रहेछ, यो हो “२०१० साल अर्थात् बिसौं शताब्दीमा निस्केको किताप” भनेर बन्दमात्र के गरेको थिएँ कानमा जनै बेह्री निदारभरि टीका लगाएका लमटुप्पी एउटा बाहुनबाजे टुप्लुक्क आइपुगे । उनी ‘चोखो चना चमेना भण्डार’ का मालिक पनि हुन्, चाकर पनि । पात महंगो भएर उनी वडो दिकदार थिए, किनभने कागज पनि उनी जे पायो त्यो व्यवहार गर्दैनथे, केही नलागीकन चोखोमात्र भएर पुग्ने होइन, चोखो कुरा लेखिएको पनि हुनुपर्ने भएकोले चना पोको पार्नको लागि सधैं चोखो लेखोट भएको कागज खोजेर हिँड्थे । झोलीमा गरमागरम चना बोकिएको पनि थियो । उनलाई देख्नासाथै मेरा केटाकेटीहरु झुम्मिन थाले । मलाई पनि खाउँ–खाउँ लाग्यो । ‘भलो कुराको नमूना’ लाई देख्नासाथै उनले बडो रुचाए । किनभने त्यसमा शीर्षकको निदारमा “आचारः परमो धर्मः” लेखिएको थियो । एकमाना चना दिने कुरा गरे । मैले पनि विचरा भन्ठानेर ३ रुपियाँ मूल्य लेखिएको किताप भएपनि, ‘लौ’ भनिदिएँ । त्यस्ता मानिसलाई प्रोत्साहन नदिऊँ भने पनि चोखो कागज नपाएर चना बेच्न नै छोडिदिन पनि बेर छैन । अनि श्री राममणिजी जस्ता चोखो भएका, तर गरिब आर्य ब्राह्मणहरुको भोक कहिलेकाहिं चना चमेनाले टरिरहेको पनि एकातिर जानसक्छ । खाली कागजमा पोका पार्नलाई कति पनि त पर्दैन ।
मलाई पनि लाग्यो, एक माना चनामा ३ रुपियाँ जाने ‘भलो कुराको नमूना’ बेचेको भलो कुरा अर्थात् भलो कामै गरेको मानें ।