लेखनाथ न्यौपाने
पछिल्लो समयमा माओवादीका जुन स्तरका कार्यकर्तासँग छलफल गरे पनि ‘इतिहास बरबाद भयो । आन्दोलन खत्तम भयो । पार्टी कम्युनिस्ट पार्टीजस्तो हुँदै भएन’ भन्ने गुनासो वा असन्तुष्टि सुनामीकै गतिमा सुनिन्छ । असन्तुष्टिको चाङ लाग्दै जाँदा वैचारिक बहस, सैद्धान्तिक छलफल, योजना निर्माण र पहलकदमी औपचारिकतामा सीमित भएको छ । गतिहीनता छिप्पिँदै जाँदा पार्टी जीवनकै क्रमशः हत्या हुँदै जाने त होइन भन्ने चिन्ता बाक्लिँदो छ । आन्दोलनमा गतिहीनता भित्रिनुको खास कारण के हुन सक्छ ? भनेर अन्तर्यमा पस्दा ‘पार्टी केन्द्रमा कार्यकर्ता नीति नहुनु र कार्यकर्ताले पार्टी आन्दोलनमा आफ्नो भविष्य नदेख्नु अथवा पार्टीको कामलाई दोस्रो र आफ्नो निजी कामलाई पहिलो प्रथमिकतामा राख्नु’ नै देखिन्छ । यस अर्थमा माओवादी आन्दोलनभित्र कार्यकर्ता (सिएमदेखि पिएमसम्म) नीतिबारे गम्भीर बहस गर्न जरुरी भइसकेको देखिन्छ ।
कार्यकर्ता नीति
कार्यकर्ता नीतिको अर्थ पार्टीको राजनीतिक लाइनअनुसार कार्यकर्ताको खोजी र संगठन निर्माण गर्नु पहिलो सर्त हो । दोस्रो, त्यस्ता कार्यकर्तालाई पार्टी लाइनप्रति प्रस्ट, प्रतिबद्ध र गतिशील बनाउनु हो । तेस्रो, कार्यकर्ताको दैनिक समस्या (बसोबास, खानपिन र खर्चबर्च आदि) हल गर्न पार्टीले वातावरण बनाइदिनु वा सहयोग गर्नु हो । कार्यकर्ता नीतिसम्बन्धी माथि उल्लेख भएका तीनवटै विषय आज हामी माओवादीको दिमागमा खासै छैन । परिणामस्वरूप आन्दोलनमा नयाँ कार्यकर्ता आकर्षित र भर्ती हुने वातावरण लगभग बन्ध्याकरणजस्तै भएको छ भने पुराना कार्यकर्ता गम्भीर दोधारमा रुमल्लिएका छन् । एक अवधि पार्टी आन्दोलनमा बिताएको र पुरानो कार्यकर्ता हुनुको नाताले एकातिर पार्टी पूरै छाडेर निष्क्रिय निजी जीवन बिताउन पनि नसक्ने, अर्कोतिर परिवार पाल्ने, बालबच्चा हुर्काउने र पढाउने एवं दैनिकी चलाउन आयआर्जनस“ग जोडिनुपर्ने बाध्यता छ । यो बाध्यताले एकातिर पार्टीलाई दिन्छु भनेको समय दिन नसक्दा गतिहीनताको आलोचना खेप्नुपर्ने, अर्कातिर कार्यकर्ताले पार्टी योजना कार्यान्वयनमा समय कम वा दिँदै नदिँदा स्वतः असफलता हात लाग्ने यथार्थ छ ।
कार्यकर्ताको क्षमता पहिचान
माओवादी आन्दोलनमा कार्यकर्ताको अभाव होइन । अभाव केमा हो भने कुन कार्यकर्ता कस्तो क्षमताको हो ? कुन कार्यकर्ताको रुचि कुन क्षेत्रमा छ ? कुन–कुन कार्यकर्ता विषयगत ज्ञानका हिसाबले सम्भावना बोकेका हुन् ? भनेर परख गर्ने एवं संरक्षण गर्ने कामको हो । कति कार्यकर्ता पार्टी काममै छन् र कति पार्टीको नाममा पार्टीहितविरुद्ध काम गरिरहेका छन् भनेर निरीक्षण गर्ने संरचना नै नभएको पार्टी कति दिन चल्ला ? एउटा कार्यकर्ता जिउँदै छ कि म¥यो, खाएको छ कि भोकै छ, कुन हालतमा बाँचेको छ ? परिवार, बालबच्चाको स्थिति के कसो छ ? भनेर जब हामी कार्यकर्ताबारे चासो राख्दैनौँ, तब बुझ्नुपर्छ कि पार्टीको कार्यकर्ता–नीति छैन । यस्तो अवस्थामा पार्टी भावनात्मक सम्बन्ध मरेको बेमतलबीको झुन्डमा रूपान्तरित हुन्छ ।
बचेखुचेका युद्धकालीन कार्यकर्ता बढी नै छट्पटाउनुको पहिलो कारण गतिका साथ आजको आवश्यकतामा उठ्न र योग्य बन्न नसक्नु हो भने दोस्रो थपिएको पारिवारिक भार र दैनिकी कसरी चलाउने भन्ने चिन्ता हो । पार्टीमा खट्ने कार्यकर्तालाई आजको समस्या (वैचारिक, सैद्धान्तिक र राजनीतिक) छिमल्ने योग्यतासहितको गतिमा संगठित गर्न नसक्दा एकातिर नयाँ पुस्तामा आन्दोलन पुग्न सकिरहेको छैन भने अर्कातिर आन्दोलन औपचारिकतामा खुम्चिएर परिणामविहीन बन्न पुगेको छ । यसका लागि कार्यकर्तालाई दैनिकी चलाउने समस्याबाट मुक्त गरेर वैचारिक, सैद्धान्तिक स्तर विकासका लागि नियमित पढ्ने र पढाउने व्यवस्था पार्टी स्कुलले अनिवार्य गर्नुपर्छ तर यो संरचना जीवित छ कि मरिसक्यो ? कार्यकर्तालाई नै थाहा छैन ।
कार्यकर्तामा पलाएको द्विविधा
लामो समय पार्टीमा काम गरेका कार्यकर्ता यतिखेर घोर द्विविधामा छन् । उसले आफ्नो नेतृत्वस“ग ‘मेरा निजी व्यावहारिक समस्या यस्ता छन् । समय विन्यास गरेर यति समय पार्टीको कामलाई र यति समय व्यक्तिगत काम जसले आय आर्जन गर्छ, लाई दिन्छु’ भन्न सकिरहेको छैन । यसरी कार्यकर्ताले स्पष्टसँग आफ्ना समस्या पार्टीमा राख्ने वातावरण नबन्नु र कार्यकर्ताले साहससाथ राख्ने हिम्मत पनि गर्न नसक्नुका कारण कसैले खोजेका छैनौँ । पार्टीभित्रका अतिवादी वा उत्ताउला खाओवादीले त्यस्ता कार्यकर्तालाई ‘दक्षिणपन्थी, पलायनवादी र भगौडा’ भनेर आक्रमण गरिहाल्छन् । यसको स्वाभाविक परिणामस्वरूप पार्टीका कार्यकर्ता दिशाविहीन बन्दै छन्, योजना कार्यान्वयनमा नकारात्मक असर पर्दै छ र गतिहीनता बढ्दै छ ।
हरेक माओवादी कार्यकर्ताले आफैँले आफैँलाई प्रश्न सोध्नुपर्ने भएको छ कि म माओवादी आन्दोलनमा किन लागेको हुँ ? सेवाभावलाई कमजोर हुन नदिन वा नाफाको खेती गर्न ? हामीले कम्युनिस्ट पार्टीको सदस्यताको अर्थ, मूल्य र गौरव बुझ्नु एवं भित्री र बाहिरी प्रतिकूलतासँग जुधेर पार्टी सदस्यताको अर्थ, मूल्य र गौरवलाई कमजोर हुन दिन्न“ भन्ने प्रतिबद्धता व्यवहारमा उतार्न सक्ने कि नसक्ने ? कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले मैले के गर्न हुन्छ र के गर्न हु“दैन भनेर निष्कर्ष हामी आफैँले निकाल्नुपर्ने हो कि होइन ? हामीले यी विषयमा गम्भीरतापूर्वक आत्मसंघर्ष चलाउन ढिला भइसकेको छ । यसरी मात्र माओवादी कार्यकर्ता माओवादी जस्तै हुन सक्छन् । अन्यथा, माओवादी, एमाले वा कांग्रेसी कार्यकर्तामा फरक छुट्टिनेछैन । यसो हुँदा माओवादी आन्दोलनको आवश्यकता नै अन्त्य हुने खतरा बढ्छ ।
चरम उपभोक्तावादको कारण आज अन्य राजनीतिक पार्टीका अतिरिक्त हामी माओवादी कार्यकर्ता पनि पद, पैसा र पावर (३ पी) का लागि जे गर्न पनि अप्ठ्यारो नमान्ने विषयमा केन्द्रित छौँ । यो गलत विषय पार्टी केन्द्रदेखि सेलसम्म अनौपचारिक रूपमा संस्थागत छ । पदले पैसा कमाउने, पैसाले पावर किन्ने र पावरले पुनः पद हत्याउने अनन्त चक्र जब कम्युनिस्ट पार्टीमा संस्थागत हुन्छ, तब नाम, ब्यानर र झन्डा कम्युनिस्ट पार्टीको भए पनि सारका हिसाबले यो कम्युनिस्ट पार्टी हुन सक्दैन ।
पद, पैसा र पावर
कारण जे–जे भए पनि आज हामी माओवादी कार्यकर्ता व्यक्तिवादी बन्दै गएका छौँ । पद, पैसा र पावर (३ पी) यति घनीभूत हुँदै छ कि हामी सबै कार्यकर्तालाई पद चाहिएको छ । जसले पैसा र पावरको सि“ढी चढाउ“छ भन्ने भ्रमपूर्ण बुझाइ व्यक्ति–व्यक्तिभित्र संगठित छ । त्यसैले आजभोलि हामी अधिकांश कार्यकर्ता सिंहदरबार, बालुवाटार र पेरिसडाँडामा ठेलमठेल उपस्थित भइरहेका छौँ । इतिहास, इतिहासको निरन्तरता र आजको आवश्यकता सम्बोधन गर्ने क्षमता र गति हामी कसैलाई चाहिएको छैन । यसप्रति आँखा चिम्लँदै आधारविना ‘मै सिनियर, मेरो यत्रो इतिहास, मै योग्य । त्यसैले मैले नै फलानो पद पाउनुपर्छ’ भन्ने अति व्यक्तिवादी अभिव्यक्ति आजको हाम्रो सकसपूर्ण समस्या हो कि होइन ? कम्युनिस्ट हुनुको नाता, आफ्नोबारे आफैँले विषय राख्ने सन्दर्भ निकै अप्ठ्यारो हुनुपर्ने हो, तर हामी कसैलाई अप्ठ्यारोको अनुभूति भएको छैन । मैले मेरा बारेमा चढाई–बढाई विषय राख्दै गर्दा मेरो दायाँतिर बस्ने कमरेडको इतिहासको हत्या भइरहेको छ कि वा बायाँतिर बसेको सहयोद्धाको क्षमता र गतिले कुरीकुरी पो गरिरहेको छ कि भनेर एक चिम्टी पनि कसैले सोच्दैनौँ । अरूहरूको जेसुकै होस् तर पद मैले र मेराले पाउनुपर्छ भन्ने बुझाइ र दाबीले कसरी आन्दोलन बन्ला ? भन्ने चिन्ता हरेक कार्यकर्ताको हुनुपर्ने हो । तर, लाजको विषय, आपूmले चाहेको वा मागेको पद पाइएन भने एउटा माओवादी पार्टी छाड्नेसम्मको धम्की र अर्को माओवादी भट्टी पसलेसँग पदका लागि मोलतोल गर्ने राजनीतिक बेइमानी सतहमा आएकै छ ।
जब कार्यकर्ताको योग्यता, क्षमता र गतिको संस्थागत पहिचान गरिँदैन र तत् ठाउँमा जिम्मेवारी मूर्त गरी दैनिक परीक्षामा सहभागी गराइँदैन, तब पार्टी ‘३ पी’वालाको कब्जामा जान्छ नै । आज माओवादी आन्दोलन कमजोर मात्र होइन, धराशयी बन्दै जानुको कारण हाम्रो दिमागमा सवार ३ पी नै हो भनेर निष्कर्ष निकाल्न लाज मान्नुपर्दैन । जब ३ पी वाला माथि उक्लन्छ वा जिम्मेवारीको श्रीपेच लगाउँछ, तब जनतासँगको पार्टी सम्बन्ध कट्ने र बिग्रने मात्र होइन कि उसले आफूभन्दा माथि चाकरी बजाउँछ र तल शासनको डन्डा चलाएर कार्यकर्ताबाट नेतालाई अलग्याइदिन्छ । यसरी ३ पी वालाले श्रीपेच लगाउन्जेल र डन्डा चलाउन्जेल न कार्यकर्ता रहन्छन्, न त माओवादी आन्दोलनलाई नै कुनै माइकालालले बचाउन सक्छ ।
माओवादी आन्दोलन बचाउने हो भने
माओवादी आन्दोलन यदि बचाउने हो भने माओले विकास गरेको कार्यकर्ता नीतिबारेको निम्न विषय सबैले मुख्यतः हामी अगुवा कार्यकर्ताले जीवन व्यवहारमा उतार्नैपर्छ । माओ भन्छन्, ‘पहिलो, तिनीहरूलाई उनीहरूको काममा स्वतन्त्र छाडिदिनु, जसले गर्दा उनीहरूमा जिम्मेवारी बहन गर्ने साहस होस् । दोस्रो, कार्यकर्ताको स्तर उठाउनु अथवा तिनीहरूलाई अध्ययन गर्ने अवसर प्रदान गरेर शिक्षित बनाउनु । तेस्रो, कार्यकर्ताको कामको जाँच गर्नु र तिनीहरूलाई अनुभवको सार निकाल्न, उपलब्धिलाई अघि बढाउन र गल्तीलाई सच्याउन मद्दत गर्नु । चौथो, सामान्य रूपमा गल्ती गर्ने कार्यकर्ताको सम्बन्धमा आग्रह तरिकाको प्रयोग गर्नु, र गल्ती सच्याउन मद्दत गर्नु, गम्भीर गल्ती गर्ने कार्यकर्ताप्रति संघर्षको तरिकाको प्रयोग गर्नु र पाँचौँ, कार्यकर्तालाई अप्ठ्यारो पर्दा मद्दत गर्नु अथवा जब कार्यकर्ता बिरामी, अभाव वा घरेलु वा अन्य दुःखको फलस्वरूप अप्ठ्यारोमा परेका हुन्छन् । पार्टीले तिनीहरूलाई सकेसम्म राम्रो स्याहार सम्भार गर्ने तरिका यही हो ।’
अन्त्यमा
माओवादी केन्द्रित यी पंक्ति लेख्दै गर्दा कांग्रेस, एमालेलगायत शक्ति माओवादीभन्दा सही छन् भन्ने निष्कर्ष कदापि निकाल्नु हुँदैन । नयाँ मान्यतासहित आएको माओवादीसँग जति अपेक्षा छ, त्यति अपेक्षा परम्परागत मान्यता बोकेका कांग्रेस, एमालेसँग हुने कुरै भएन । तर, यी शक्तिभित्रका कार्यकर्ताले आफ्नो पार्टीभित्रका विविध समस्या मूख्यतः ३ पी प्रवृत्तिविरुद्ध बहस छेड्नेछन् भन्ने आशा पंक्तिकारको छ ।
(न्यौपाने माओवादी केन्द्रका सचिवालय सदस्य हुन्)
No comments:
Post a Comment