Sunday, October 9, 2016

म गान्धारी भएर बस्न सकिनँ कमरेड प्रचण्ड !


सावित्री सुवेदी

महाभारत युद्ध सुरु हुनु अघिल्लो मध्यरात गान्धारी आफ्नो मनको बेचैनीबाट छुटकारा पाउन शिवको प्रार्थना गर्छिन् । भगवान शिवले तिमी के चाहन्छौ भनेर गान्धारीलाई सोध्छन् । गान्धारीले भोलिपल्टदेखि सुरु हुन लागेको महाभारत युद्धमा छोरा दुर्याेधनको जीतको वरदान माग्न खोज्छिन् तर, सक्दिनन् । दुर्याेधन द्रौपदी वस्त्रहरण जस्तो सभ्यता विरोधी अन्यायी भएकाले दुर्याेधनको जीतको पक्षमा उनी शिवसँग वरदान माग्न सक्दिनन् ।  दुर्याेधन आफ्नो छोरा, त्यसैले उनको मातृ स्नेहले छोराको लामो आयुको वरदान माग्छ । तर, दुर्याेधन जिवित रहेसम्म सत्यको जीत हुँदैन भन्ने उनलाई थाहा थियो । द्रौपदी वस्त्ररणजस्तो सभ्यता विरोधी कामलाई उनी समर्थन गर्न सक्दिनथिइन् । त्यसैले उनले आफ्नो मनको विरोधाभाषबाट मुक्त गराउने मात्रै वरदान शिवसँग मागिन् । 


भोलिपल्टै सुरु हुन लागेको युद्धमा आफ्नो छोरा एउटा प्रमुख पक्ष भए पनि उसकी आमा स्वयं मनोवैज्ञानिक रुपमा छोराको पक्षमा उभिन नसक्नु महाभारत युद्धमा दुर्याेधनको पराजयको सुरुवात थियो । जव संसारलाई पक्ष र विपक्षमा विभाजित गर्ने युद्धमा एउटा योद्धाकी आमा नै छोराको पक्षमा हुन सक्दिनन् भने त्यो युद्ध छोराले जित्न सक्दैन भन्ने सन्देश महाभारतको यो कथाले दिन्छ । 

महाभारतको यो कथा प्रसंगबाट म आफू र देशको राजनीतिसँग जोडिएको घटना प्रस्तुत गर्छु । म देशमा परिवर्तन र जनताको समृद्धि खोज्ने एक आम युवा हुँ र म माओवादी केन्द्र निकट रहेको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य थिएँ । राजनीति देशका लागि हुनु पर्छ र देशवासीको प्रगतिका लागि हुनु पर्छ भन्ने मेरो मान्यता छ । आज हाम्रो देश किन प्रगति नसकी अर्काे देशको गुलाम बन्नु परेको छ भन्ने कुराले मेरो युवा मनलाई पिरोलीरहन्छ । गत वर्ष ६ महिनासम्म हामीमाथि भारतले नाकाबन्दी लगायो । भूकम्पबाट थिलथिलो भएका हामी नेपालीले आफ्नो संविधान आफैं बनायौं, भारतका स्वार्थ र आदेशहरु पालना गरेनौं भनेर नाकाबन्दी लगाएको थियो । संविधान जारी गरेपछि बनेको केपी ओलीको सरकारले देशको श्वास प्रश्वास बन्द गर्नेगरी लागेको नाकाबन्दीको प्रभावबाट सधैंका लागि छुटकारा पाउन अर्काे छिमेकी देशसँग पनि आपूर्तिको बाटो खोल्यो ।
ओली सरकारको त्यो कामलाई साथ दिएकाले मैले मेरो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि एक नायकका रुपमा टिप्पणी गरेँ । तर, जव देशले प्राप्त गरेको त्यही उपलब्धीलाई भत्काउन पुष्पकमल दाहाल त्यही नाकाबन्दी गर्ने भारतको स्वार्थका पक्षमा खडा भए तव मैले त्यस कामको समर्थन गर्न सकिनँ । आफ्नो छोराको विजयका लागि भगवान शिवसँग वरदान माग्न नसक्ने गान्धारी झैं मेरो अन्तरआत्माले पुष्पकमल दाहालको उद्धेश्य र मिशनको पक्षमा लाग्न अनुमति दिन सकेन । मैले सामाजिक सञ्जालमा भारतले बनाइदिएको दाहाल सरकारको विपक्षमा आफ्नो मत राखेँ । तव मलाई अखिल क्रान्तिकारीबाट निश्कासन गरिएको विज्ञप्ति आयो । 

मलाई लाग्यो त्यो पार्टी मरणशीलताको उच्चतम विन्दुमा पुगेको छ । म जस्ता सत्यको पक्षमा उभिएका कार्यकर्ताले गान्धारीले आफ्नो छोराको पक्ष लिन नसके झैं आफ्नो पार्टीका कामको पक्षमा खुलेर वकालत गर्न नसक्ने ठाउँमा पुग्नु भनेको त्यो पार्टीको मृत्यु हुनु हो । जसरी महाभारतको युद्ध सुरु नहुँदै गान्धारीको मनोदशाले दुर्याेधनको अग्रिम मृत्यु भइसकेको थियो । 

पार्टी वा कुनै विचारको समुह भन्दा सत्यताको वकालत गर्ने र देशको हितलाई सर्वाेपरी मान्ने मेरो ब्यवहारलाई माओवादी केन्द्र नामको पार्टीले पचाउन सकेन । मलाई लाग्यो त्यो पार्टी मरणशीलताको उच्चतम विन्दुमा पुगेको छ । म जस्ता सत्यको पक्षमा उभिएका कार्यकर्ताले गान्धारीले आफ्नो छोराको पक्ष लिन नसके झैं आफ्नो पार्टीका कामको पक्षमा खुलेर वकालत गर्न नसक्ने ठाउँमा पुग्नु भनेको त्यो पार्टीको मृत्यु हुनु हो । जसरी महाभारतको युद्ध सुरु नहुँदै गान्धारीको मनोदशाले दुर्याेधनको अग्रिम मृत्यु भइसकेको थियो । 

समाजमा विकृतिहरु छन्, जसरी महाभारत कालीन समाजमा पनि थिए । भारी कौरव सभामा द्रौपदीको वस्त्रहरण गर्ने छोरा दुर्याेधनको पक्षमा जसरी आमा गान्धारी लाग्न सकिनन् र आफ्नो छोराको पराजयको पक्षमा उभिन वाध्य भइन् । त्यसैगरी म पनि माओवादी पार्टीको हानिकारक राजनीतिक मिसनको विपक्षमा उभिन वाध्य भएँ । गान्धारीलाई थाहा थियो– दुर्याेधनको दवदवा भएको राक्षसी शासनमा वस्त्रहरण द्रौपदीको मात्रै भएको थिएन, सिंगो मानव सभ्यताकै वस्त्रहरण भएको थियो । आज मलाई पनि थाहा छ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अगाडि सारेर भारतले सुरु गरेको मिसनले म एक विद्यार्थीको मात्रै होइन सारा देशको भविश्य नै अन्धकारमा पुर्याइदिएको छ । 

सामाजिक कुसङ्गतिका विरुद्ध कलम चलाउने मेरो कदमलाई संगठनको मुल्य–मान्यता बाहिर गएको, पार्टी नीति र नेतृत्वको विरोध गरेको भन्दै कार्वाही गरियो । मलाई गर्व छ, जहाँ बसेर सत्यता, जनपक्षीयता र जनतन्त्रको वकालत गर्न पाइदैन त्यहाँ बस्नुको औचित्य थिएन र मैले समयमै छुटकारा पाएँ । कामरेडहरुले प्रिय निर्णय नै गर्नु भयो । मलाई थाहा छ– मान्छेको जिन्दगीमा हजार अवसर आउँछन् तर, दुनियाँ बदल्ने अवसर एकचोटि मात्रै प्राप्त हुन्छ । कैदीजस्तो भएर जिभ्रो सिलाउनुपर्ने अवस्थाबाट खुल्ला जीवनमा पुगेको अनुभव आज मलाई भएको छ । समाजका बौद्धिक साथीहरू, विद्यावारिधी सकेर समाज रुपान्तरणका लागि रचनात्मक र सिर्जनात्मक गतिविधि आवश्यक छ भन्ने साथीहरूको जमातबाट स्थापित नेपाल समाजवादी पार्टीको भातृसंगठन नेपाल प्रगतिशील महिला संगठनको अध्यक्षको रुपमा देखा पर्दैछु । 

म आज पनि भन्न चाहान्छु, वर्गीय आरक्षण आजको आवश्यकता हो । तर, जसरी जातीय आरक्षण बढाइँदैछ त्यसले देशमा हजारौं सीके राउतहरुलाई जन्माउँछ । हाम्रो राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि खेलवाड गर्ने अवसर दिन्छ । जातीयतामा देशलाई बन्धक बनाएर आम नेपालीको समृद्धद हुने सपनामाथि कुठाराघात गरिदैछ र त्यस कामको जननी माओवादी पार्टी भएको छ । राष्ट्रियतामाथि सम्झौता गरेर सरकार चलाउने र भारतीय आशिर्वादमा आफ्नो जीविका चलाउने दिन अब लामो समय रहन सक्दैन । समृद्धका लागि विकसित नेपाल र प्रतिस्पर्धी नेपाल निर्माण गर्ने कि नगर्ने ?

स्वरोजगार, स्वदेशी उत्पादन र विकसित नेपालका लागि पहल गर्ने कि नगर्ने ? मेरो उमेरका युवाहरुले सोच्ने बेला आएको छ । आफ्नो पछाडि आँखा चिम्लेर दौडने जमात बनाएर होइन आँखा खोलेर  भविश्यका लागि लाग्ने पंक्ति देशलाई चाहिएको छ । माओवादी भन्ने पार्टी आज आफ्नै आँखाले हेर्ने र आफ्नै विवेकले चल्ने जमात पार्टी भित्र रहेको देख्न सक्दैन । किनभने उसका लागि यो अन्तिम अवसर रहेको उसले अनुभुती गरेको छ । त्यहाँ रहेका हजारौं कार्यकर्ताले यो बुझेका भए पनि नोकरशाही संयन्त्रले बाहिर निस्कन नसकेका मात्रै हुन् । विस्तारै सबै साथीहरु मेरोजस्तै निश्कर्षमा पुग्नेछन् र आखा चिम्लेर पुष्कमल दाहालहरुले जे जे गरे त्यसको पछि लाग्नेछैनन् । मेरो जस्तै गरी आँखा खोलेर हेर्नेछन् । विवेकको निर्णय गर्नेछन् । 

http://www.chakrapath.com बाट साभार 

No comments:

Post a Comment