Tuesday, December 8, 2015

नयाँ शक्ति ‘एसेम्बलिङ’ मात्र - मणि थापा

असान्दर्भिक बहिर्गमन 

बाबुराम भट्टराईले जुन नयाँ शक्तिको घोषणा गर्नुभयो, त्यसको लामो पृष्ठभूमि माओवादी आन्दोलनभित्र छ । माओवादीमा हुँदा उहाँले विभिन्न समयमा फरक मत राख्नुभयो, तर तिनलाई निष्कर्षमा पुर्‍याउनुको सट्टा बीचमा सम्झौता गरिरहनुभयो । पछि उहाँले आफ्नो विचारका आधारमा यो शान्ति प्रक्रिया भएको भन्ने गर्नुहुन्छ । तर, यो शान्ति प्रक्रिया अझै पनि टुंगिएको छैन । जनयुद्धका मुद्दा सम्पूर्ण रूपमा सम्बोधन भइसकेका छैनन् । नयाँ संविधानले पनि ती सबैलाई समेट्न सकेको छैन । संविधानसभाभित्र रहेको एमाओवादी र बाहिर भएका हामी अन्य माओवादी घटकको पनि यसमा समान मत छ । त्यसैले उहाँले बीचैमा आएर जसरी ब्रेक गर्नुभएको छ, त्यो त्यति प्राकृतिक छैन । जनयुद्धका मुद्दा नै सम्बोधन नभएका वेला जनयुद्धको धारबाट उहाँको बहिर्गमन देखापर्‍यो, त्यसले इतिहास र वर्तमानलाई बुझ्ने सन्दर्भमा उहाँको कमजोरी रहेको देखिन्छ । इतिहासको सही विश्लेषण गरी वर्तमानमा नीति तय गर्नुपथ्र्यो तर उहाँले इतिहासलाई बिर्सेर वर्तमानलाई मात्र जोड दिनुभएको छ । नयाँ शक्ति आकाशबाट आउँदैन, धर्तीबाट फल्दैन । त्यो त ऐसिहासिक पृष्ठभूमिबाट आउँछ । उहाँले जनयुद्धबाट आफूलाई अलग्याएर जुन नयाँ शक्ति भन्नुभएको छ, त्यो नयाँ शक्तिको आधार हुँदै होइन । अहिले जनताले सबै माओवादी वा माओवादी घटक एक ठाउँमा आऊ भनिरहेका छन् । एकप्रकारले मनोवैज्ञानिक दबाब दिइरहेका छन् । जनताको यो आह्वानबाट यताउता जानु विचलन हो । हामी त भन्छौँ नै उहाँ स्वयं जनयुद्धका मुद्दा पूरा नभइसकेको भन्नुहुन्छ, यस्तो स्थितिमा माओवादी कोर्सबाट अन्यत्र जानु जनताप्रतिको धोका पनि हो । उहाँलाई यसो गर्ने अनुमति इतिहास र सहिदको रगतले दिँदैन । इतिहासको निरन्तरताको धाराबाट उहाँले जुन अलग धारा बनाउने कोसिस गर्नुभएको छ, त्यहाँसम्म एमाले पनि पुगेको छैन । एमालेले कमसेकम माक्र्सवाद–लेनिनवाद भनिरहेको छ ।

 बासी अवधारणा 

नयाँ शक्तिको अवधारणा नै खासै कुनै नौलो अवधारणा होइन । युरो कम्युनिज्मका नाममा होस् वा न्यु लेफ्टका रूपमा यसको पर्याप्त बहस र अभ्यास भइसकेको छ । तर, बाबुराममा यसभन्दा पनि अघि बढेर माक्र्सवाद–लेनिनवाद–माओवादभन्दा बाहिर जाने सोच पनि देखिन्छ । रूपमा वा नाममा नयाँ हुनसक्छ, तर सारमा अन्तर्राष्ट्रियस्तरमा र नेपालमा पनि यसको प्रयोग भइसकेको छ । डा. बाबुराम भट्टराईले भनेपछि नयाँ हुन्छ भने अलग कुरा भयो । बाबुरामले नयाँ–नयाँ भनिरहनु भएको छ । तर, उहाँले जे अवधारणा बाहिर ल्याइरहनुभएको छ, त्यो विचारभन्दा विभिन्न विचारको ‘एसेम्बलिङ’ बढी देखिन्छ । धेरै टुक्राटाक्री मिलाएर नयाँ केही बनाउन खोजेको जस्तो देखिन्छ । जो नयाँ आविष्कार होइन । बाबुरामले अहिले भइरहेका सबै शक्तिको औचित्य सकियो भन्नुहुन्छ विशेषत: माओवादीको । तर, नयाँ जन्मिने पनि इतिहासको गर्भबाट हो । माक्र्सवादले पनि भन्छ, सामन्तवादको गर्भभित्र पुँजीवाद हुन्छ र पुँजीवादको गर्भभित्र समाजवाद छ । त्यसभित्रको अन्तर्संघर्ष र वर्गसंघर्षबाट मात्रै त्यसको जन्म हुन्छ । तर, बाबुरामले नेपालको जनयुद्ध र जनआन्दोलनको कोर्स पूरा नहुँदै जुन नयाँ गर्नेे प्रयत्न गर्नुभयो, त्यो संगतिपूर्ण छैन । नेपालमा २००६ सालदेखि क्रियाशील पुँजीवादी र साम्यवादी दुईथरी शक्ति नै २००७ सालदेखि अहिलेसम्म परिवर्तनका आधार हुन्् । अहिले पनि नेपालमा वामपन्थी र प्रगतिशीलहरूको औचित्य सकिएको छैन । डेमोक्रेटहरूको अस्तित्व सकिएको छैन । पुरानो सकिन र नयाँ बन्न एउटा निश्चित प्रक्रिया पूरा हुनुपर्छ । अर्थात् त्यसको कोर्स पूरा हुनुपर्छ । जुन बाबुरामले भनेझैँ भएको छैन ।

 फ्युजनको प्रयास 

अहिले पनि विश्वमा राजनीतिका मूलत: दुइटा धारा नै छन् : पुँजीवादी र समाजवादी । भलै यी दुवैका अलग–अलग मोडेल छन् । तर, बाबुरामले पुँजीवाद र समाजवादलाई मिलाएर जुन नयाँ धारा बनाउँछु भन्नुभएको छ, त्यो कहीँ पनि छैन । त्यसो गर्न भएका प्रयत्न असफल भएका छन् । उहाँले यहाँ ‘एसेम्बलिङ’ को सिद्धान्त लागू गर्न खोज्नुभएको छ । तर, यस्तो सिद्धान्त व्यापारमा हुन्छ । प्रविधिमा हुन सक्छ । विचारमा हुन सक्दैन । पछिल्लो समय नेपालको राजनीतिमा समानुपातिक सहभागिता, समावेशिताजस्ता नयाँ अवधारणा आएका छन् । यी कुरा कहीँ समाजवादीले सम्बोधन गरेका छन् भने कहीँ पुँजीवादले पनि । यो अभ्यास नेपालमा पनि भएको छ । तर, पुँजीवाद र उदारवाद नै मिलाएर नयाँ बनाउने भन्नेचाहिँ सम्भव छैन । उहाँले आर्य–खसको एउटा ब्लक, मधेसीको एउटा ब्लक र आदिवासी–जनजाति (मंगोल) को अर्को ब्लकको अवधारणा बाहिर ल्याउनुभएको छ । तर, त्यसरी एसेम्बलिङ गरेर पनि पार्टी बन्दैन । अर्को, उहाँले जुन नयाँ शक्ति अभियानको गठन गर्नुभयो, त्यसमा हिजो माओवादी आन्दोलनमा हुँदा उहाँलाई समर्थन गर्ने मानिस पनि छैनन् । यो हेर्दा बाबुरामजीले नेपाली समाजको बनोट, चरित्र अझै बुझ्नुभएको देखिएन । र, नेपाली समाजमा पछिल्लो समय आएका जटिलता पनि बुझ्नुभएको देखिएन । उहाँले नेपालमा राजनीतिक पार्टीहरूको निर्माण कति कष्टसाध्य प्रक्रियाबाट हुन्छ भन्ने पनि बुझ्नुभएको देखिएन । इन्जिनियरले रेखा कोरेजस्तो यसरी बाटो बन्नसक्छ, यसरी घर बन्नसक्छ जस्तो गरी समाजलाई हेर्न खोज्नुभएको छ । उहाँले नयाँ बनाउँछु भनेर जुन परिभाषा गर्न खोज्नुभएको छ, त्यसको प्रतिबिम्ब उहाँको संगठनमा देखिएन । बाहिरबाट जुन नयाँ मानिस ल्याउने सोच बनाउनुभएको थियो, त्यसमा पनि राम्रो प्रतिक्रिया आएन । यसले पनि उहाँको पहिलो कदम नै असफल भएजस्तो देखिन्छ । उहाँले इतिहासको सही मूल्यांकन गर्न पनि सक्नुभएन । 

समृद्धिको नारा 

बाबुरामजीले समृद्धिको नारा खुबै लगाइरहनुभएको छ । हो, सबैलाई समृद्धि चाहिएको छ । तर, त्यो प्राप्त गर्ने कसरी, कस्तो भन्ने मात्र हो । उहाँले समृद्धिको यो नारा राष्ट्रियता सबैभन्दा कमजोर भएका वेला गरिरहनुभएको छ । नाकाबन्दीपछिको स्थितिमा हाम्रो साम्राज्यवाद र विस्तारवादसँगको लडाइँ अझै सकिएको रहेनछ भन्ने देखिन्छ । त्यसैले प्रश्न उठेको छ, अहिले समृद्धि प्रधान हो कि राष्ट्रियता ? हाम्रो त गणतन्त्र पनि सुदृढ भइसकेको छैन । गणतन्त्र पूर्ण हुन बाँकी छ । समृद्धिमा मात्र हाम्रो फोकस हुन्छ कि राष्ट्रियताको सुनिश्चितता, गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वमा ? समृद्धिको नाराले मात्र नेपालमा कुनै राजनीतिक शक्तिलाई ‘ड्राइभ’ गर्न सक्दैन । त्यो सँगसँगै उठाउनुपर्ने थुप्रै सामाजिक र राजनीतिक मुद्दा बाँकी छन् । 

यो हुनसक्थ्यो नयाँ शक्ति 

संविधान घोषणा भएको तर संस्थागत नभएका वेला, माओवादी शक्ति सबै एकै ठाउँमा आउनुपर्ने आवश्यकता रहेका वेला बाबुरामले नयाँ पार्टी घोषणा गर्नुभएको छ । पहिलो त यो विधिसम्मत छैन । त्यो माक्र्सवादी पनि देखिएन । उहाँ त पार्टीभित्रको दुई लाइन संघर्षलाई छाडेर बाहिरिनुभएको छ । देशको राष्ट्रिय परिस्थिति असाध्यै प्रतिकूल भएका वेला, राष्ट्रियता कमजोर भएका वेला, अपूरै भए पनि संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व रहेका वेला उहाँले जुन नयाँ पार्टी बनाउनुभएको छ, यो जन्मँदा नै स्वस्थ छैन । असमयमै वा अस्वस्थ जन्मिएको बच्चालाई जसरी अधिक पौष्टिक आहार चाहिन्छ, उहाँको शक्तिलाई पनि कसैले ‘पौष्टिक आहार’ दियो भने त्यो स्वस्थ भएर बढ्न पनि सक्छ । नेपालजस्तो देश जहाँ, रातारात नेता बनाइन्छ र झारिन्छ, त्यस्तो नहोला भन्न पनि सकिन्न । त्यसो भयो भने उहाँ नेता पनि हुन सक्नुहोला । तर, बाबुराम भट्टराईलाई माओवादी आन्दोलनले ठूलो अवसर पनि दियो, अझै बाँकी थियो । उहाँको ‘ग्राभिटी’ बढिरहेकै थियो । तर, यो ‘ग्राभिटी’बाट बाहिर गएर अर्को ‘सेन्टर’ बनाउने कोसिस गर्नुभएको छ, माओवादी आन्दोलन बाहिरबाट सेन्टर बन्नसक्ने अवस्था देखिन्न । भ्ट्टराईले त समयको धड्कन सुन्ने प्रयास पनि गर्नुभएको छैन । अहिले नयाँ शक्ति सबै माओवादी शक्तिबीचको एकीकरण, रूपान्तरण र त्यहाँभित्र हुने महान् बहसबाटै आउँथ्यो । उहाँले त्यसो गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्थ्यो । तर, त्यसो गर्न छाडेर उहाँले भिन्न रूपले जसरी नयाँ शक्ति भन्नुभयो, त्यो माओवादी आन्दोलनमाथिको घात पनि हो । अहिलेको आवश्यकता पहिलो चरणमा माओवादी शक्तिहरूको धु्रवीकरण र एकता हो । त्यसपछि देशभक्त, पहिचान पक्षधर, जातीय तथा क्षेत्रीय उत्पीडनविरुद्ध लड्ने शक्तिहरूको धु्रवीकरण दोस्रो चरणको आवश्यकता हो । त्यही आवश्यकताबाट बन्ने शक्ति स्वत: नयाँ हुन्छ । र, बाबुराम भट्टराई माओवादी आन्दोलनलाई एकता र रूपान्तरण गर्नबाट बाहिरिनुभयो । यो गम्भीर विचलन हो भन्ने हामीलाई लाग्छ । समय अझै बाँकी छ कि उहाँले जुन कोर्समा काम गरिरहनुभएको छ, त्यहाँबाट माओवादी आन्दोलनको धु्रवीकरण र रूपान्तरणको कोर्समा आउनु उहाँको लागि पनि हितकर हुनेछ । 

(एमाओवादीमा रहँदा केही वर्ष भट्टराईलाई समर्थन गरेका थापा हाल क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव हुन्) 

http://www.enayapatrika.com बाट साभार 

No comments:

Post a Comment