Monday, February 2, 2015

साहित्यिक पुरस्कारको गिर्दो शाख – कृष्ण अविरल

साहित्यिक पुरस्कारको गिर्दो शाख – कृष्ण अविरल

केही वर्ष अघिसम्म पनि नेपाली साहित्य-वृत्तमा पुरस्कार पाउनुलाई प्रतिष्ठा र गौरवको विषय मानिन्थ्यो । पृरस्कृत व्यक्तित्वलाई सम्मानका दृष्टिले हेरिन्थ्यो । सार्वजनिक समारोहमा इज्जतसाथ मञ्चमा स्थान दिइन्थ्यो । तर अहिले पुरस्कार पाउनु उपहासको विषय बन्न थालेको छ । पुरस्कार गुठीहरुको निर्णय प्रकृया अपारदर्शी र विकृत बन्दै जाँदा स्रष्टाले प्राप्त गरेका पुरस्कारका नाम र संख्यालाई उसको योग्यता, मौलिक सिर्जनशीलता र वौद्धिक प्रखरताका रुपमा नभइ चाकडी क्षमताका रुपमा मूल्यांकन गर्न थालिएको छ ।
पुरस्कार गुठीहरुले आफूलाई समयानुकूल परिवर्तन गरी पारदर्शी बनाउन नसक्नु प्रतिष्ठा गिर्ने प्रमुख कारणको रुपमा देखिएको छ । वर्षका उत्कृट कृतिलाई दिइने मदन पुरस्कार, उत्तम शान्ति, पद्मश्रीलगायतका पुरस्कार गुठीहरुमा स्रष्टाले पुरस्कार पाऊँ भनेर किताब अर्थात् निवेदन दर्ता गर्नुपर्ने परिपाटी छ । घुमाउरो पाराबाट गुठीयारहरुले ‘हाम्रो चाकडी गर’ भनेका कारणले पनि यी पुरस्कारहरु निनु चापागाई, आहुति, विमल निभा, गोविन्द वर्तमान, नयनराज पाण्डे, डा. सन्जिव उप्रेती, श्यामलजस्ता पछिल्लो समयका प्रभावशाली र स्वाभिमानी स्रष्टाको नजरमा पर्न सकेका छैनन् । आमस्रष्टा र साहित्यनुरागीहरुको आदर पाउनबाट वन्चित भइरहेका छन् ।
युवा वर्ष मोती पुरस्कार र सरकारी खर्चबाट दिइने राष्ट्रिय प्रतिभा पुरस्कारको हालत पनि त्यस्तै छ । नेपाली साहित्य परिषदले दिने युवा वर्ष मोती पुरस्कारमा ‘फलानोलाई पुरस्कृत गरियोस्’ भनेर कुनै व्यक्ति वा संस्थाले सिफारिस गरेको हुनुपर्छ । संस्कृति तथा युवा मन्त्रालयको सिफारिसमा सरकारले दिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट अहिलेसम्म पुरस्कृत भएकाहरुको सुचि हेर्ने हो भने खास प्रतिभाले पाउने नभई जुन पार्टी सत्तामा छ त्यसैको नजिक रहेका झोले कार्यकर्ताहरुले पाइरहेको स्थिति छ ।
अपारदर्शी निर्णय प्रकृया
‘नेपाली नोवेल पुरस्कार’ भनिने मदन पुरस्कारसमेत पछिल्ला वर्षहरुमा विवादित बन्दै आएको छ । यद्यपि गुठीले वर्षको उत्कृष्ट कृति छनोटको पारदर्शी मापदण्ड अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । अन्तिम पाँच प्रतिष्पर्धी कुन-कुन कृति थिए, निर्णायकहरु को-को थिए, पुरस्कृत कृति अब्बल ठहरिने आधार के-के थिए भन्नेजस्ता सामान्य कुरासमेत सार्वजनिक नगरिनुले यसको गरिमा र महत्वलाई घटाउँदै लगेको छ ।
आमपाठकले अब्बल ठानेकाले नपाई तुलनात्मक रुपले कमजोर कृति पुरस्कृत हुनु पनि मदन पुरस्कारको शाख घट्ने अर्को प्रमुख कारण हो । आहुतिको ‘नयाँघर (०५०), नयनराज पाण्डेको ‘उलार’ (०५५), गोविन्द वर्तमानको ‘सोह्र साँझहरु’ (०६१), नारायण ढकालको ‘प्रेतकल्प’ (०६४) जस्ता कृति छनोटमा नपरी अन्य कृति पुरस्कृत हुनुले पनि मदन पुरस्कार उत्कृष्टताका आधारमा नभई अन्य ‘भित्री’मापदण्डका आधारमा दिइने पुरस्कार हो भन्ने पुष्टि भइसकेको छ । गत वर्ष ‘जीवन काँडा कि फूल’ दिइँदा त झन् कृतिलाई नभइ अपाङ्ता र आत्मवललाई दिएको भन्ने खालका आलोचना अखबारमा आए । ०६८ मा निस्केमध्येबाट पाठकको नजरमा उत्कृष्ट ठहरिएका नयनराज पाण्डेको ‘लू’, खगेन्द्र संग्रौलाको ‘आफ्नै आँखाको लयमा’, डा. सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’, रमण घिमिरेको ‘अर्थात् हामी’, श्यामलको ‘हतारमा यात्रा’लगायतका कुनै पनि कृति मदन पुरस्कार गुठीको छनोटमा नपर्ने लगभग पक्का छ । ददि सापकोटाको ‘त्यो नेपाल’ विषयवस्तुका दृष्टिले गतवर्षको सर्वोत्कृष्ट भए पनि जगदम्बा प्रकाशन आफैं प्रकाशक भएकाले छनोटमा पर्ने देखिँदैन । कुन कृतिले मदन पुरस्कार पाउला भन्ने चर्चा चलिरहेका बेला नुवाकोटतिरका एकजना युवा स्रष्टाले गरेको टिप्पणीले पनि मदन पुरस्कारको हविगत दर्साउँछ । उनी भन्छन्, ‘साङ्ला मार्ने पाँच उपाय भन्ने पुस्तक बजारमा आएको छ, यस वर्षको मदन पुरस्कार त्यसैले पाउँछ ।’
प्रतिष्ठा धान्ने कमै छन्
मदन पुरस्कार पाउने कोमलनाथ अधिकारी (०२०), लक्ष्मीबहादुर श्रेष्ठ (०२१), स्थिरजंगबहादुर सिंह (०२८), डा. छविलाल गजुरेल (०३६), डा. भवेश्वर पंगेनी (०४९), हरिराम जोशी (०५८) लगायतका कतिपय त पछिल्लो पुस्ताले समेत नचिन्ने गरी सिर्जनाको दुनियाँमा गुमनामप्रायः छन् । कन्चन पुडासैनी (०४१), मोहनराज शर्मा (०४२), दिनेश अधिकारी (०५६), गोपाल पराजुली (०६०), नारायण वाग्ले (०६१), कृष्ण धरावासी (०६२), युवराज नयाँघरे (०६५) कसैले पनि पाठकको अपेक्षाको सम्मान गर्नसकेका छैनन् । पुरस्कृत भएपछि निस्केका उनीहरूका कृतिबाट पाठकले ठगिएको महसुस गर्नुले पुरस्कारका शाख घटेको छ । जगदिश घिमिरे (०६४) को प्रकाशोन्मुख उपन्यास ‘सकस’ले के गर्छ हेर्न बाँकी छ ।
मदन पुरस्कारको झन्नै ६० वर्षको इतिहास केलाउँदा कृष्णचन्द्रसिंह प्रधान (०१५), रमेश विकल (०१८), बालकृष्ण पोखरेल (०२१), ध.च. गोतामे, (०३५), मदनमणि दीक्षित (०३९)ले मात्रै पछिल्ला कृतिमा पाठक अपेक्षाको सम्मान गर्नसकेको देखिन्छ । यसबाट पनि मदन पुरस्कार गुठीको छनोटको स्तर छताछुल्ल हुन्छ ।
विवादित छ मदन पुरस्कार
२०१० साल असारमा चन्द्रसमशेरका छोरा मदनसमशेरको मृत्यु भएपछि कलकत्तास्थित उनको बंगलामा भएका ठूलो परिमाणको अवैध विदेशी रक्सी के गर्ने भन्ने समस्या उत्पन्न भयो । धेरैजसो रातारात खाडलमा, इनारमा हालियो । त्यति गर्दा पनि बाँकी रहेको रक्सी बिक्रीको आम्दानीले मदन पुरस्कार गुठी सुरु गरिएको हो । खाल्डामा पुर्न लागिएको अवैध मदिरालाई बेचेर साहित्यको श्रीबृद्धिमा लगाइनु स्वागतयोग्य काम हो । विडम्बना भन्नुपर्छ, नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिएको यो पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, इतिहासका धुरन्धर बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, माधवप्रसाद घिमिरे, विश्वेश्वरप्रसाद कोइराला, हृदयचन्द्रसिंह प्रधान, गोविन्द गोठाले, केशव पिंडाली, भैरव अर्याल, हरिभक्त कटवाल, भीमदर्शन रोका, डोरबहादुर विष्ट, भवानी घिमिरे, परशु प्रधान, मनु ब्रजाकीलगायतका आफ्नो समयका प्रभावशाली र कालजयी रचनाका स्रष्टाले पाउन सकेनन् । त्यसकारण पनि आलोचकहरुलाई भन्न सजिलो भएको छ, ‘देवकाटा, सम, लेखनाथ, माधव घिमिरे, सिद्धिचरण जस्ता स्रष्टाहरुले समेत नपाएको मदन पुरस्कारको के महत्व ?’ दाहाल यज्ञनिधिलगायतका कतिपयले यो पुरस्कारलाई ‘मदन समशेरको काट्टो’ भनेरसमेत टिप्पणी गर्ने गरेका छन् ।
यद्यपि नारायण गोपाल, केदारमान ब्यथित, इन्द्रबहादुर राई, गोविन्द गोठाले, डायमण्ड समशेर, अम्बर गुरुङ आदिलाई भने पन्चायतकालको ‘रत्नश्री’ शैलीको जगदम्बाश्री दिएर कमल दीक्षितले पश्चाताप पखाल्ने प्रयास गरेका छन् । धर्मराज थापालाई भने ०२५ मा मदन र ०५७ मा जगदम्बाश्री दुवै दिए । ‘गौरी’ खण्डकाब्यमा मदन पुरस्कार नपाएपछि चित्त दुखाएका माधव घिमिरेले चाहिँ जगदम्बाश्री पुरस्कारको प्रस्ताव नै अस्वीकार गरेका थिए । यद्यपि उनको प्रकाशोन्मूख महाकाब्यलाई पुरस्कार दिइयो भनेचाहिँ नौलो नमाने हुन्छ ।
कमल दीक्षितबाट नेपाली साहित्यानुरागीले समेत बिर्सन नसक्ने गरिको अन्याय महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि भएको देखिन्छ । जानकारहरुका अनुसार चर्को आर्थिक संकट भएपछि महाकवि ०१३ सालतिर रानी जगदम्बालाई भेट्न भएका थिए । त्यो बेला जगदम्बा उदार मनले धन दान गरिरहेकी थिइन् । जगदम्बाका निजी सचिव रहेका दीक्षितले महाकविलाई अपमानपूर्वक ढोकैबाट फर्काइदिएका थिए । यद्यपि महाकविले मदन पुरस्कार नपाएको प्रसंग उठ्दा दीक्षित देवकोटाका कृति दर्ता प्रकृयामै नआएको बताउँछन् । तर दीक्षितले चाहेका भए ०१६ सालमा बितेका महाकविका कृतिलाई पुरस्कार दिन असम्भव थिएन । उनको लुनी खण्डकाव्य ०२५ मा, प्रमिथस महाकाव्य ०२८ मा, लक्ष्मी कविता संङ्ग्रह ०३३ मा र पृथ्वीराज चौहान महाकाब्य ०४९ मा प्रकाशनमा आएका थिए । देवकोटाका कतिपय पाण्डुलिपि अझै बोरामा खाँदिएका अवस्थामा रहेको बताइन्छ ।
स्रष्टाको शोषण
मदन पुरस्कार गुठीबाट घोरअन्याय गरिएका र मौका आएपछि भँजाइएका श्रष्टा हुन् विश्वेश्वरप्रसाद कोइराला । उनी नेपाली साहित्यमा नयाँ शैली भित्र्याउने प्रयोगवादी स्रष्टा हुँदै हुन्, आफ्ना सबै कृति समस्तरमा सिर्जना गर्न सक्ने उनीस्तरको स्रष्टा नेपाली साहित्यमा अर्को देखिएको छैन ।
कोइराला ३६ वर्षको उमेरमा २००५ सालदेखि घाँटीको क्यान्सरबाट पीडित भए । ०३९ साउनमा दिवांगत उनले कयौं वर्ष त जेल र निर्वासन भोगे । मानसिक प्रताडनाको पराकाष्ठ नै व्यहोरे । तैपनि उनले आफ्ना व्यक्तिगत पीडा र कुण्ठालाई आफ्ना कुनै कृतिमा पनि स्थान दिएनन् । तर मदन पुरस्कार गुठीले उनका कृतिलाई पुरस्कृत गरेर अभावको घाउमा राह्रतको मल्हम लगाउन अनि सबैतिरबाट लखेटिएका बेला सम्मान दिलाउन सकेन । बरु कसैले वीपीबाबुलाई पुरस्कृत गरौं न भनेर अनुरोध गर्दासमेत कमल दीक्षितले उल्टै टिप्पा लगाउँथे रे । तर ०४६ सालको परिवर्तनपछि भने कमल दीक्षितको परिवारले वीपीको शाख र लोकपि्रयता भँजाएर निकै राम्रो व्यापार गर्‍यो । काम नपाएर संकटमा परेको जगदम्बा प्रेसलाई बँचाउने आधार पनि बनायो । ‘आत्मवृत्तान्त’, ‘जेलजर्नल’, ‘राजा, राष्ट्र र राष्ट्रियता’ आदि यसका प्रमाण हुन् ।
हास्यव्यङ्ग्य लेखनका महारथि मानिने भैरव अर्याल त आर्थिक अभावकै कारण ०३३ साल असोज १९ गते भीरबाट हामफालेर आत्महत्या गर्न विवश भए । उनीजस्तो सटिक र सुरुचिपूर्ण व्यङ्ग्य लेख्ने स्रष्टा नेपाली समाजमा सायदै जन्मिएला तर उनका ‘काउकुती’, ‘जयभुँडी’, ‘गलबन्दी’, ‘दशअवतार’, ‘इतिश्री’ लगायतका कुनै पनि कृति मदन पुरस्कारलायक दरिएनन् । स्थापनाकालदेखि जीवनपर्‍र्यन्त गुठीका कर्मचारी रहेका अर्का प्रभावशाली व्यङ्ग्य लेखक बासुदेव लुईटेल ‘भूतको भिनाजु’ त झन् जगदम्बाश्री पाउन लायक पनि दरिएनन् । जानकारहरुका भनाइमा कमल दीक्षितबाट लुइँटेलमाथि भएको अन्याय र शोषणका बारेमा लेख्ने हो भने ‘माधवी’भन्दा मोटो उपन्यास नै तयार हुन्छ ।
मदन पुरस्कार गुठीमाथि प्रगतिशील लेखकहरुमाथि पूर्वाग्रही भएको आरोप पनि छ । हालसम्म पुरस्कृत ६७ स्रष्टामा प्रगतिशील विचार राख्ने गोपालप्रसाद रिमाल, रमेश विकल, पारिजात, मोदनाथ प्रश्रति, ध.च गोतामे र मदनमणि दीक्षितसहित ६ जना मात्र परेका छन् । त्यस्तै ०४५ सालदेखि सुरु भएको जगदम्बाश्री पाउने २४ स्रष्टा एवम् संस्थामध्येमा २-३ जना मात्र प्रगतिशील पक्षधर छन् । यसबाट पनि मदन पुरस्कार गुठी प्रगतिशील विचार राख्नेहरुप्रति कुन हदसम्मको पूर्वाग्रही छ भन्ने प्रष्ट हुन्छ ।
झन् कन्तविजोग
०६३ सालमा सुरु भएको दुई लाख रुपैयाँ राशी भएको जीवा लामिछाने संरक्षित पद्मश्री पुरस्कारको जग झनै कमजोर छ । गणेश रसिकको ‘दसगजामा उभिएर’ (०६४), भानुभक्त पोख्रेलको ‘हिमवतखण्ड’ महाकाव्य (०६५) र यसवर्ष दिइएको खगेन्द्र संग्रौलाको ‘आफ्नै आँखाको लयमा’ मात्र स्तर धानेका छन् । बाँकी सबै भनसुनवादमा पुरस्कृत गरिएको कुरा गुठी सम्बद्धहरु नै स्वीकार्छन् ।
माओवादी सम्बद्ध सांस्कृति प्रतिष्ठानले युग पाठकको ‘उर्गेनको घोडा’लाई पुरस्कृत गर्नुलाई अनौठो नमानिए पनि ५० हजारभन्दा कम राशी भएका सानातिना पुरस्कारको अवस्था झनै कन्तविजोग छ । केही पुरस्कार गुठीहरुमा त आलोपालो प्रथा पनि छ ।
पुरस्कार गुठीको निर्णायक भएका बेला आफन्त, निकटवर्ती र श्रीमतीका नाममा पुरस्कार दिलाउने स्तरको हरकतसमेत हुने गरेको छ । यसको पछिल्लो उदाहारण हुन् मोदनाथ प्रश्रति । स्रोतका अनुसार चौधरी ग्रुप सम्बद्ध लुनकरणदास प्रतिष्ठानले यसवर्ष दिने पुरस्कार निर्णायक कमिटीमा प्रश्रति आफैं थिए । तर उनले सामाजिक लाजगाल समेत पचाएर आफ्नै श्रीमती कविता पौडेललाई पुरस्कृत गराए । युगकवि सिद्धिचरण श्रेष्ठको सम्मानमा उनका छोरा रविचरणले स्थापना गरेको सिद्धिचरण प्रतिष्ठानले दिने यस वर्षको पुरस्कारमा पनि प्रश्रतिले श्रीमतीलाई पुरस्कृत गराएर आफ्नै हात जगन्नाथ गरे ।
मौलायो चाकडी प्रथा
एकसेएक कृति प्रकाशित गरिसकेका पछिल्लो पुस्ताका स्वाभिमानीहरुले अहिलेसम्म एउटा पुरस्कार पनि नपाउनु तर कृति नै ननिकालेका केहीले बर्षमा तीन वटासम्म पुरस्कार पड्काउनुले पनि पुरस्कारमा कुन हदसम्मको चाकडी र निगाह मौलाएको छ भनेर आंकलन गर्न सकिन्छ । यसको पछिल्लो उदहारण कवि ठाकुर बेल्वासे हुन्, जसले यस वर्ष मात्रै चौधरी ग्रुपले दिने नेपाल नव प्रतिभा पुरस्कार, डा. बेन्जु शर्मालाई रिझाएर एकेडमीले दिने उत्कृष्ट कविता पुरस्कार र युवा वर्ष मोती पुरस्कार हात पारे । सामाजिक लाजगाल पचाएर पुरस्कारका लागि मरिहत्ते गर्ने वेल्वासेजस्ता कथित ‘भाग्यमानी’ थुप्रै छन् ।
स्रोतका अनुसार नेपाली साहित्य परिषदले यसवर्षका लागि दुवसु क्षेत्रीकी श्रीमती पुनम क्षेत्री र नीलम कार्की नीहारिकालाई पुरस्कृत गर्ने निर्णय गरिसकेको थियो । निर्णय सार्वजनिक हुने अघिल्लो दिन सन्चारकर्मीसमेत रहेका स्रष्टा मणि लोहनीले थाहा पाए । निर्णायकहरुलाई फोन गरेर धम्क्याउँदै आफ्नो साथी ठाकुर बेल्वासेलाई जवर्जस्त पुरस्कार दिलाए । पुरस्कारका निर्णायकहरुलाई विदेश घुमाइदिने आश्वासन दिएर कुनै साहित्यिक योगदान नै नभएकी श्रीमतीलाई पुरस्कृत गराउन खोजेपछि आफूले त्यो कदम चाल्नु परेको लोहनीको भनाई छ ।
प्रभाववादका अर्को उदाहारण हुन् दिनेश अधिकारी । जानकारहरुका अनुसार कृष्णहरि बराल, श्रीपुरुष ढकाल र अधिकारी एकै समयमा साहित्य क्षेत्रमा आएका हुन् । सिर्जना विधामा अघोशित प्रतिष्पर्धी देखिने यी तीन हस्तीमध्ये पुरस्कार र सम्मानका दृष्टिले अधिकारी मात्र ‘भाग्यमानी’ ठहरिएका छन् । उच्च सरकारी पदमै भएका कारण उनले मदनलगभग सबै प्रकारका राष्ट्रिय स्तरका पुरस्कार हात पारेको अरोप समकालीनहरुबाट लाग्ने गरेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट अवकाश प्राप्त ढकाल र त्रिविमा कार्यरत बरालले गिनेचुनेका सम्मानमा मात्र चित्त बुझाउनु परेको देखिन्छ । स्रष्टा त्रयको उदहारणबाट पनि हामी कहाँ पुरस्कार वितरणको शैलीको झलक पाउन सकिन्छ ।

(पत्रकार तथा लेखक अविरलले पुरस्कार र सम्मान नलिने घोषणा गरेका छन् ।)

No comments:

Post a Comment